• के ? = सुन्तला, आँप, कलम, पुस्तक, सिन्को, साइकल, सिसा, सिसाकलम, लुगा, गाडी, बस, बाघ, गाई, जुत्ता, साइकल, भेडो.... आदि ।
• को ? = हरि, गणेश, धने, शिव, सीताराम, पुष्पलाल, घटराज, दाजु, गीताञ्जली, भूषण, कृष्ण, सरोज, गौतम, विनोद.... आदि ।
• को को ? = कृष्ण, कमल र रुपक, सालो र भेना, दाजु र भाउजू, रूपा, गणेश र सञ्जिता... आदि ।
कुनै पनि व्यक्ति, वस्तु वा ठाउँ आदिलाई तोकेर बोलाउँदा वा चिनाउँदा प्रयोग गरिने शब्द चिह्न वा प्रतीक नै नाम हो । नामलाई संज्ञा पनि भनिन्छ । नाम शब्द 'के र को ?' प्रश्नको उत्तरमा पनि आउँछन् ।
नामलाई परम्परागत र अन्य गरी दुई आधारमा विभाजन गर्न सकिन्छ :
सिङ्गो व्यक्ति, वस्तु वा ठाउँ आदिलाई तोकेर चिनाउँदा वा देखाउँदा प्रयोग गरिने प्रतीक शब्दलाई व्यक्तिवाचक नाम भनिन्छ ।
• कमल, सेते, कविर, रवि, ज्ञानुवाकर, सुवीर, करुणा, कृतन, सन्दीप, सुकृति, संस्कृति, मानस, निशान्त.... आदि ।
• नेपाल, भारत, चीन, पाकिस्तान, भुटान, म्यानमार, पोल्याण्ड,... आदि ।
• मोरङ, झापा, धनकुटा, ताप्लेजुङ, काठमाडौँ, सुनसरी,... आदि ।
• राधानगर, बेलबारी, कपन, चाबहिल, पशुपति, धरान,...... आदि ।
• प्रशान्त, आन्द्र, हिन्द, एटलान्तिक,.. आदि ।
• गण्डकी, कोसी, कर्णाली, मेची, महाकाली,.... आदि ।
• पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल,... आदि ।
• एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका,.... आदि ।
• चन्द्र, सूर्य, पृथ्वी, शुक्र, यम,.... आदि ।
• सगरमाथा, अपी, नाम्पा, सयपाल, कान्जिरोवा, गणेशहिमाल, गौरीशङ्कर, माछापुच्छ्रे आदि ।
• होली, माघे सङ्क्रान्ति, तिहार, छठ, गौरा, इद, ल्होसार, एकादशी, जनैपूर्णिमा, श्रीपञ्चमी,.. आदि ।
कुनै पनि वस्तु, व्यक्ति वा पदार्थको जात विशेषलाई बुझाउने नामिक शब्द नै जातिवाचक नाम हो । व्यक्तिवाचक नामको सामूहिक रूपलाई बुझाउने शब्दलाई जातिवाचक संज्ञा भनिन्छ । यसमा सजीव/निर्जीव सबै वस्तुहरू पर्दछन् ।
• मानिस, केटाकेटी, महिला, पुरुष
• देश, राष्ट्र, नागरिक, खोला, नदी, पहाड, महासागर, विकासक्षेत्र, पिण्ड, महादेश, हिमाल, टाकुरा
• पुस्तक, कलम, लुगा, रुमाल, हँसिया आदि ।
व्यक्ति, वस्तु आदिको जमात वा एकमुस्ट रूप नै समूहवाचक संज्ञा हो । यसले निश्चित वा अनिश्चित झुण्डका गणनीय वा अगणनीय नामलाई समूहवाचक नाम भनिन्छ ।
• गणनीय: हुल, बथान, पार्क, समूह, लाइन, लस्कर, पल्टन, जत्था
• अगणनीय: थुप्रो, थाक, रास, कुनियो, झुण्ड, मण्डल, ताँती
• समग्रतामा समूहवाचक नामहरू: हुल, रास, खलियो, ताँती, लाइन, लस्कर, पल्टन, पार्क, घार, झुण्ड, बथान, बगाल, काइँयो, घरी, बजार, चुल्ठो, गुच्छा, जन्ती, मलामी, पाना, कुनियो, लाछी, डल्लो, थाङ्ग्रो, थास, रास, पल्टन, परेड, चुल्हो, चाङ, गोठ, माला, नर्सरी, वन, निकुञ्ज, भ्याङ, गड्डी, जमात, झुप्पो, दर्जन...
छुन देख्न सकिने र जोखेर लिन दिन मात्र गरिने नामिक शब्दलाई द्रव्यवाचक नाम भनिन्छ । यसमा बग्ने, पोखिने, चुहिने आदि पर्दछन् ।
• दुध, दही, मही, चिनी, सख्खर, आलु, बन्दा, काउली, चामल, पिठो, नुन, तेल, बेसार, पानी, खानेतेल, भुटुन, माटो, पेट्रोल, डिजेल, साग, दाल, चियापत्ति, धुलो, सुठो आदि ।
छुन, देख्न नसकिने अनुभव मात्र गर्न सकिने नामिक शब्दलाई भाववाचक नाम भनिन्छ ।
• माया, प्रेम, घृणा, स्नेह, दया, रिस, क्रोध, मानवता, ईश्वरीय, खानु, लेख्नु, हिँड्नु, जानु, पाउनु, राम्रोपन, ठालुपन, मङ्गापन आफ्नोपन, भावुकता, समानता आदि ।
(क) नामले उद्देश्यको काम गर्छ । (ख) सकर्मक क्रियाको कर्म भएर काम गर्छ । (ग) विशेषणको विशेष्य भई काम गर्छ । (घ) नाम पदले कारक भई काम गर्छ । (ङ) नामले रूपायन भई काम गर्छ । (च) क्रिया लिने पूरकापेक्षीको पूरक भई काम गर्छ । (छ) नामले पुलिङ्ग र स्त्रीलिङ्गको रूपमा काम गर्छ ।
नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ । सर्वनाम जब नाम भन्ने वा प्रयोग गर्ने बेला कुनै व्यक्ति, वस्तु, ठाउँ आदिका सट्टामा प्रयोगमा आउँछन् । सर्वनाम शब्द शब्दको सट्टामा, पदावलीको सट्टामा र वाक्यको सट्टामा पनि सर्वनाम प्रयोग हुन्छ ।
• शब्दको सट्टामा: कमला, कविर र कौतुप आए । उनीहरू तुरुन्त फर्किहाले । दाजु आउनुभयो । उहाँ आज बास बस्नुहुन्छ रे । केदार र सपना विद्यालय गए । ती पढेर आउँछन् ।
• पदावलीको सट्टामा: कुवेर जस्ता साथीहरू मिलेर काम गर्छन् । उनीहरू मिलेरै हिँड्छन् पनि । गरेको काम सबै बिग्रियो । त्यो सम्हाल्न सकिएन । लागेको गोली डाक्टरले झिके । त्यो तिघ्रामा गाडिएको रहेछ ।
• वाक्यको सट्टामा: मिहिनेती हरिले अन्ततः प्रथम नतिजा ल्यायो । यो प्रशंशनीय कार्य हो । दाजुका छोराले सधैं मिहिनेत गर्न थालेको छ । त्यो सुधार हुने लक्षण हो ।
व्यक्ति जनाउने शब्दको सट्टामा प्रयोग हुने सर्वनामलाई पुरुषवाचक सर्वनाम भनिन्छ । पुरुषवाचक सर्वनाम पहिलो व्यक्ति, दोस्रो व्यक्ति र तेस्रो व्यक्तिको सट्टामा प्रयोग हुन्छन् ।
प्रश्न जनाउने शब्दहरू नै प्रश्नवाचक सर्वनाम हुन्छन् । कहाँ, कहिले, किन, कसरी, कस्तो, कत्रो, कति, कुन, के, कुन कुन, कति कति, कहाँ कहाँ आदि प्रश्नवाचक सर्वनाम हुन् ।
उदाहरण: ऊ कुन काम गर्छ रे ? तिमी कतिजना साथी बनाउँछौ ? हजुर कहिले जाने र ?
आफूले आफैँलाई बुझाउन प्रयोग गरिने वा आफ्नो सट्टामा प्रयोग हुने सर्वनाम नै आत्मवाचक सर्वनाम हो ।
उदाहरण: आफूले त गृहकार्य सकियो । आफैं गर्छ आफ्नो काम । स्वयम्ले निम्त्याएको दुःख हो यो । निजैको हो यो घर ।
नजिक वा टाढाको वस्तुलाई देखाउँदा वा चिनाउँदा त्यस व्यक्ति वा वस्तुको सट्टामा प्रयोग गरिने सर्वनामलाई दर्शकवाचक सर्वनाम भनिन्छ ।
व्यक्तिको वस्तुसँग, व्यक्तिको व्यक्तिसँग वा व्यक्तिको अन्यसँग सम्बन्ध देखाउँदा त्यो व्यक्ति वा वस्तुको साटो प्रयोग हुने सर्वनाम सम्बन्धवाचक सर्वनाम हो ।
(क) सर्वनामले उद्देश्यको काम गर्छ । (ख) नामको सट्टामा आई काम गर्छ । (ग) सर्वनामले विभिन्न पुरुष चिह्न लिएर काम गर्छ । (घ) सर्वनामले कर्ता, कर्म, करण, सम्प्रदाय, अपादान र अधिकरण कारक भई काम गर्दछ । (ङ) सर्वनामको सरल र तिर्यक रूप पाइन्छ ।
कुनै पनि व्यक्ति, वस्तु, ठाउँ आदिको गुण, दोष, सङ्ख्या, विशेषता, अवस्था, स्थिति बुझाउने शब्दलाई विशेषण भनिन्छ । विशेषण शब्द वाक्यमा कुनै पनि नामको अगाडि आउने गर्छ ।
राम्रो, नराम्रो, कालो, गोरो, होचो, पुड्को, अग्लो, धमिलो, नुनिलो, पिरो, चर्को, भत्केको, चर्केको, भक्कानिएको, लडेको, भिजेको, स्याउले, पाखण्डी, झर्किने, भवाँक्की, आँटी, बहादुर, वीराङ्गना, धैर्यवान्, बलवान, वर्तमान, आगामी, पूर्वीय, एशियाली, बलौटे, घरेलु, गफाडी, कुरूप, किताबी आदि ।
धरे, त्यति, अलिकति, निकै, निक्कै, औधी, थोरै, पितिक्क, आधा, भरी, पुरै, ज्यादा, ज्यादै, चुली.... (मात्रा जनाउने वा कति ? प्रश्नको उत्तरमा आउने) ।
कुनै पनि नामका अगाडि तोकेर वा किटान गरेर कुनै पनि सर्वनाम शब्द आएमा त्यो सर्वनाम शब्द सार्वनामिक विशेषण हुन्छ ।
तोकेको अवस्था (विशेषण): जो मान्छे, ती केटाहरू, तीती कामहरू, त्यो ब्याग, जुन पुस्तक, जेसुकै काम, त्यो भकुण्डो, यो शिक्षार्थी, यी नानीहरू ।
षष्ठी विभक्ति (को, का, की, रो, रा, री, नो, ना, नी) लागेका नाम वा सर्वनाम भेदक हुन्छन् भने त्यसका पछाडि प्रयोग भएको नाम शब्द भेद्य हुन्छ ।
उदाहरण: उसको छोरो, उनका सामान, दाजुकी साथी, तेरो पाउ, हाम्रा सामानहरू, तिम्री दिदी, आफ्नो मान्छे, आफ्ना कामहरू, आफ्नी साली ।
धातुमा जोडिएको कृत् प्रत्यय लागेको कृदन्त शब्दले त्यस पछाडिको नाम शब्दको विशेषता जनाएमा उक्त कृदन्त शब्द कृदन्त विशेषण हुन्छ ।
उदाहरण: कुदेको केटो, जलेका हात, जमेका मन, पढेकी छोरी, हिँड्ने मान्छे, पस्ने ठाउँ ।
(क) विशेषणले नामको विशेषता जनाउँछ । (ख) पूरकापेक्षी क्रियापदको पूरक भएका काम गर्छ । (ग) विशेषणले क्रियाविशेषणको विशेष्य भएर काम गर्छ । (घ) सरल र तिर्यक रूपमा प्रयोग हुन्छ । (ङ) विशेष्य (नाम) को भेदकको रूपमा काम गर्छ । (च) विशेष्य (नाम) को अर्थलाई निश्चित सीमामा सीमित गर्छ ।
कर्ताले गरेको कामको बोध गराउने वा कर्तासँग निकट सम्बन्ध राखी कार्य व्यापार गर्ने विकारी शब्द नै क्रिया हो । क्रिया एक्लै प्रयोग हुँदा मात्र क्रिया बन्छ भने वाक्यमा प्रयोग हुँदा क्रियाले आफ्नो पद ग्रहण गर्ने हुनाले क्रियापद हुन्छ । क्रियापद बन्न धातु अनिवार्य तत्त्व हो ।
(क) क्रियापदले वाक्यमा विधेयको कार्य गर्दछ । (ख) क्रियापदले कारकहरूसँग सम्बन्ध राख्ने कार्य गर्दछ । (ग) क्रियापदले वाक्य समापन गर्ने कार्य गर्दछ । (घ) क्रियापदले वाक्यमा घटना, कार्यव्यापार, स्थिति वा अवस्था बुझाउने कार्य गर्छ । (ङ) क्रियापद रूपायन हुन्छ । (च) क्रियापदले कुनै पनि कुराको उपस्थिति वा अनुपस्थिति बुझाउँछ ।
रूप नचल्ने वा लिङ्ग, वचन, पुरुष, काल, पक्ष, भाव, ध्रुवीयता आदिका आधारमा परिवर्तन नहुने शब्दहरू अव्यय हुन् । यिनलाई अविकारी पनि भनिन्छ । अव्यय भनेको खर्च नहुने हो ।
क्रियाको, विशेषणको तथा क्रियाविशेषणको विशेषता बुझाउने अव्यय शब्दलाई क्रियायोगी भनिन्छ ।
नाम, सर्वनाम, विशेषण तथा अन्य क्रियायोगी आदि शब्दको पछाडि अनिवार्य जोडिएर आउने अव्यय शब्दलाई नामयोगी भनिन्छ ।
आश्चर्य, विस्मय, दुःख, खुसी, ग्लानी, चिन्ता, अपशोच आदि व्यक्त गर्ने अविकारी वा अव्यय शब्दलाई विस्मयादिबोधक भनिन्छ ।
आफ्नो स्वतन्त्र अर्थ नभएको वाक्यमा आउँदा, बोल्दा वा लेख्दा मिठास दिन प्रयोग हुने अव्यय शब्दलाई निपात भनिन्छ । निपात वाक्यबाट झिक्ने हो भने पनि वाक्यको अर्थ विचलन हुँदैन ।
जस्तै: त, पो, र, लौ, नि, खै, क्यारे, ब्यारे, अँ, हँ, नै, रे, क्या, खोइ ।
दुई वा दुईभन्दा बढी शब्द, पदावली, उपवाक्य साथै वाक्य जोड्न प्रयोग हुने, सेतुको काम गर्ने अव्यय शब्दलाई संयोजक भनिन्छ ।