पाठ ४ : योगमाया
तलको जीवनी ध्यानपूर्वक पढ्नुहोस् र मुख्य घटनाक्रम एवं सामाजिक सन्देश बुझ्ने प्रयास गर्नुहोस्।
योगमाया
जीवन र मृत्यु मानिसका स्वभाविक प्रक्रिया हुन् । मान्छेको जीवनको सार्थकता उसको गतिशीलता र रूपान्तरणबाट सिद्ध हुन्छ । योगमाया यस्तै गतिशील महिला हुन् । भोजपुर जिल्लाको नेपाले डाँडाको सिम्ले भन्ने सानो गाउँमा जन्मेकी देश विदेशको यात्रा तय गर्दै विद्यमान कुरीति, महिला विभेद र जातीय कुरीतिका विरुद्ध बोल्ने प्रखर महिलाका रूपमा उनी चिनिन्छिन् । विद्यालयीय शिक्षाको अवसर नपाएर पनि स्वअनुभव र स्वसिकाइका माध्यमबाट अध्यात्म, मानवता र सामाजिक सांस्कृतिक परिवर्तनको पक्षमा आवाज उठाउने योगमायालाई नेपाली समाजमा प्रेरणादायी महिलाका रूपमा लिने गरिन्छ । जीवनमा काम, क्रोध, लोभ र मोहबाट मुक्त भई वैराग्यलाई अँगालेर विद्रोहको नयाँ शैलीलाई अपनाउने योगमाया नेपाली समाजकी एक उदाहरणीय महिला हुन् । सामाजिक सुधारका लागि गरिएको विद्रोहको माध्यम अग्निसमाधि र जलसमाधिको त्यो शैली वर्तमान समयमा उपयुक्त नभए पनि तत्कालीन राणा शासनको विरुद्धमा गरिएको आन्दोलनको एउटा स्वरूप थियो ।
योगमायाको जन्म वि.सं. १९२४ मा श्रीलाल न्यौपाने र चन्द्रकला न्यौपानको पहिलो सन्तानका रूपमा भएको हो । योगमाया पुष्पलाल र अग्निधर नामका दुई भाइकी एक्ली दिदी थिइन् । सामाजिक परम्पराअनुसार सात वर्षको कलिलो उमेरमा नै उनको विवाह भयो । बाल स्वभाव र गुणका आधारमा उनले घरपरिवार र समाजको तिरस्कार भोग्नुपऱ्यो । यही कारण उनी शारीरिक र मानसिक यातनाको समेत सिकार भइन् । यसरी अत्याचारका सबै खाले स्वरूपलाई सहँदै उनी झन्डै चौध वर्षको उमेरसम्म घरमै बसिन् । विवाह गरेर गएको घरको कठिन बुहार्तन सहन नसकेपछि उनी भागेर माइत गइन् । माइतीमा पनि उनले घर गरिखान नसकेकी भनेर प्रशस्त निन्दा सहनुपऱ्यो । आमाबुबा र माइतीतिरका सबैले त्यस वेलाको सामाजिक प्रचलनअनुसार उनलाई आफ्नै घर फर्काउन प्रयत्न गरे । यसरी माइती र घर दुवैतिरबाट उपेक्षित योगमायामा बिस्तारै विद्रोहको चेतना पलाउन थाल्यो । उनी घर र माइतीका बिचमा विद्रोह गर्दै कँडेल थरका व्यक्तिसँग साथ लागेर आसाम पुगिन् । आसाम पुगेर उनले एक्लो अनुभव गरिन् । प्रवासमा उनको रेखदेख र संरक्षण गर्ने उनै कँडेल थरका व्यक्तिसँग विवाह गरिन् । काही वर्षपछि उनका पतिको मृत्यु भयो । पतिको मृत्युपछि उनी भावविह्वल भइन् । कँडेलको निधनपछि उनले आसाममै डोटेल थरका व्यक्तिसँग विवाह गरिन् । उनीहरूबाट नैनकला नामकी छोरी जन्मिइन् । केही समयपछि उनका पति डोटेलको पनि निधन भयो ।
योगमाया अब सामाजिक क्रियाकलापमा सहभागी हुन थालिनन् । त्यस समयमा सबैभन्दा प्रचलित सामाजिक गतिविधिका रूपमा पूजा प्रार्थना आदि रहेका थिए । उनले यस्ता क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै नेतृत्वको भूमिका निर्वाह गरिन् । यस्ता सामाजिक, धार्मिक कार्य, आर्यसमाजीहरूको सुधार चेतना र साधुसन्तहरूको सङ्गतले योगमायामा जीवन र समाजलाई हेर्ने नयाँ चेतना जागृत भइरहेको थियो । यसबाट उनी बिस्तारै बिस्तारै प्रभावित हुँदै गइन् । अङ्ग्रेज विरोधी आन्दोलन र धार्मिक आध्यात्मिक क्रियाकलापको सहभागिताले उनको चेतना अभिवृद्धि हुँदै गयो । बाल्यकालदेखिका आफ्ना भोगाइ र आफू बाँचेको समाजका विसङ्गतिका कारण उनी आर्थिक र सामाजिक सञ्जालको मोहबाट मुक्त हुँदै गइन् । यसले उनीमा वैराग्यचेतको बीजारोपण गरायो । यही चेतलाई सार्थकता प्रदान गर्ने हौसला पनि जागृत भयो । यसका लागि उनले तपस्या गर्ने योजना बनाइन् । तपस्याका लागि आफ्नो जन्मथलो नै उनलाई उपयुक्त लाग्यो । आफ्ना भाइलाई लिन आउने सन्देश पठाएर भाइकै साथ लागी उनी आफ्नै जन्मथलो भोजपुर आइपुगिन् । वि.सं. १९७३ को एक साँझ उनी आफ्नी छोरी नैनकला र भाइका साथ मझुवाबेंसी पुगिन् ।
मझुवाबेंसीमा योगमायाको आगमन त्यहाँका मान्छेका लागि उत्सुकताको विषय बन्यो । त्यही उत्सुकतालाई समेट्दै योगमायाले गाउँलेहरूसँग घुलमिल हुन थालिन् । सामाजिक रूपमा समावेश हुँदै घरमा हुने पूजा, पुराण र चौतारीहरूमा सामूहिक सहभागिता जनाउँदै गइन् । आसाममा सिकेका ज्ञान र अनुभवलाई उनले त्यहाँ प्रयोग गर्ने अवसर पाइन् । यही ज्ञान र अनुभवका आधारमा पण्डितहरूसँग शास्त्रार्थ गर्ने तथा समाजका अगुवा पुरुषसँग बहस पनि गर्न थालिन् । यसैबिच उनी प्युठानको स्वर्गद्वारीमा रहेका महाप्रभु अभयानन्द द्वितीयकहाँ पुगी दीक्षा लिइन् र सन्न्यासी बनिन् । सन्न्यासी बनेपछि घरायसी वातावरण त्याग गर्नुपर्ने भएकाले उनी मझुवाबेंसीमै कुटी बनाएर एक्लै बस्न थालिन् । योगमाया आफ्नो ज्ञान र बुद्धिका माध्यमबाट साधक बनेकी त्यस समाजकी अगुवा महिला भएकाले उनको योग साधना पनि त्यतैतर्फ लक्षित भयो । उनमा धाराप्रवाह प्रवचन दिन सक्ने खुबी थियो । यही खुबीका कारण उनका वरिपरि मानिसहरूको घुइँचो लाग्न थाल्यो । भोजपुर आसपासका धेरै मानिस उनका प्रवचन सुन्न आउन थाले र उनीप्रति श्रद्धाभाव बढ्न थाल्यो । भक्तजनको घुइँचो लागेपछि मझुवाबेंसीका कुटीले उनलाई पुगेन । उनी उफ्रौलीटारमा रहेको फराकिलो जमिनमा सरिन् र भक्तजनलाई समेट्ने गरी कुटी पनि निर्माण गरिन् । उफ्रौलीटारको कुटी पनि वि.सं. १९८८ मा अरुणमा आएको ठुलो बाढीले बगाएपछि उनी इखुवापारिको गौडिनीमा सरिन् । उनी जहाँ जहाँ बसाइँ सर्थिन्, भक्तजन त्यहीँ त्यहीं पुग्थे । उनको योगसाधना र तपस्याबाट प्रभावित पनि हुन्थे । उनले तपस्याका निराहार, जलाहार, अल्पाहार जस्ता कठोर विधिको प्रयोग गर्थिन् । शरीरलाई मौसम र वातावरणअनुसार समायोजन गर्न कहिले कैयौं दिन अरुण नदीमा आधा शरीर डुबाएर बस्थिन् । कहिले गर्मी याममा पञ्चाग्नि ताप्थिन् । यस्ता कठोर तपस्याले उनको दृढ बनाउँथ्यो । यही दृढताले गर्दा उनी वि.सं. १९९२ मा आफ्ना अनुयायीसहित खाम्पालुङ हिमाल पार गरेर तपस्यासमेत गरिन् । यतिमा मात्र उनको साधनाको यात्रा टुङ्गिएन । वि.सं. १९९७ मा उनले भोजपुरकै उच्च पहाडी क्षेत्र चायाँबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर २३ दिनसम्म तपस्या गरिन् । यी विभिन्न ठाउँमा गरिएका तपस्याको मुख्य उद्देश्य साधनाको प्राप्ति र सबै प्रकारका मोहबाट उन्मुक्तिको चाहना नै थियो । यी तपस्याका विविध मोडहरूका मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारका चाहना राख्नु थियो ।
सन्न्यासी जीवन सुरु गरेसँगै योगमायामा सामाजिक चेतना सलबलायो । उनी धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा विद्यमान सबै खाले विकृतिका बारेमा खुलेर विरोध गर्न थालिन् । उनी छुवाछुतलाई मानव सभ्यताको सबैभन्दा ठुलो कलङ्क ठान्थिन् । त्यसैले कुनै पनि सामाजिक कार्यमा मानिसलाई छुत र अछुत तथा माथिल्लो जात र तल्लो जातमा छुट्याउनु घोर अपराध मान्थिन् । जातका आधारमा फरक फरक कानुन प्रचलनमा रहेको त्यस समयको समाजमा छुवाछुत र जातपात नमान्नु घोर आपत्तिको विषय हुन्थ्यो । त्यस्ता व्यक्ति विभिन्न दण्डका भागी हुन्थे । त्यस्तो कठोर राणाकालीन समयमा पनि उनले छुवाछुत तथा वर्णाश्रमको खुलेर विरोध गरिन् । पूजा, आराधना, भजन, कीर्तन, प्रसाद वितरण र ग्रहणमा तिनीहरूलाई सहभागी गराएर उनले आफ्नो धारणालाई व्यवहारमा पनि उतारिन् । उनका भक्त अन्य समुदायका साथै कथित दलित समुदायका पनि थिए । उनीहरू सबै जना विनाभेदभाव सबै गतिविधिमा संलग्न हुन सक्थे । उनको आश्रममा प्रचलित यस किसिमको छुवाछुतरहित वातावरण देखेर उनले चालेका कदममा असन्तुष्ट हुनेहरूले योगमायाको खुब आलोचना पनि गर्थे ।
योगमाया लैङ्गिक विभेदको पनि कट्टर विरोधी थिइन् । उनी बालविवाहको विपक्षमा उभिन्थिन् तर स्वैच्छिक विधवा विवाहको समर्थन गर्थिन् । सती प्रथा र दास प्रथाको घोर विरोध गर्थिन् । यद्यपि कानुनी रूपमा सती प्रथा त पहिल्यै उन्मूलन भएको थियो । वि.सं. १९८२ मा दास प्रथा अन्त्य भएको घोषणा हुँदा उनी अत्यन्त हर्षित भइन् । उनले राणा प्रधानमन्त्री चन्द्रसमसेरको यस्तो कार्यको खुलेरै प्रशंसा गरिन् । उनी तत्कालीन न्यायिक परिपाटीको विरोधी थिइन् । उनी समाजका ठुलाबडा साहुमहाजनले गरिबको ढाड सेक्ने गरी ब्याज लगाउने चलनको निन्दा गर्थिन् । दिँदा सानो पाथी र लिँदा ठुलो पाथी प्रयोग गर्ने साहुमहाजनको उनी खुब विरोध गर्थिन् । गरिबदुःखीले निसाफ नपाउने, महाराज दरबारबाहिर आएर नहेर्ने, विचारीले उल्टो निसाफ दिने कुराको निन्दा गर्थिन् ।
योगमायाका दृष्टिमा कर्तव्य नै धर्म हो । उनी धर्मलाई मानव हित मान्थिन् र धर्मलाई मानवताका पक्षबाट हेरिनुपर्छ भन्ने मान्यता राख्थिन् । धर्मलाई राज्यले पनि मानवताका कोणबाट हेर्नुपर्छ भन्ने धारणा राख्ने योगमाया समन्यायमा जोड दिन्थिन् । यसका लागि उनले तत्कालीन शासकहरूसँग आग्रह पनि गरिन् र धर्मराज्यको भिक्षा माग्न मानिस पनि पठाइन् । उनका धर्मराज्यका मुख्य माग यस्ता थिए :
“चर्को व्याज लिन नपाउने होस् । महिलाको इच्छाबेगर सौता हाल्ने माथि प्रतिबन्ध लगाइयोस् । एक समान माना पाथी कायम होस् । घुस खान नपाउने व्यवस्था अपनाइयोस् । घुस खानेलाई कडा सजाय दिइयोस् । जात काढ्न, मुढ्न अन्त्य होस् । विधवाले विवाह गर्न चाहेमा स्वीकृति दिइयोस् । छुवाछुत मुक्त समाज होस् । केटाकेटीको उमेर पुगेर मात्र विवाह होस् । केटाकेटीको मञ्जुरीविना भएको विवाह बदर होस् । शिक्षामा भेदभाव नहोस् । महिला र अन्य सबै जातिले वेद पढ्ने व्यवस्था होस् । गरिबको ऋण मिनाहा होस् । खेतियोग्य जमिन बाँझो राख्न नपाउने होस् । गाउँमै खादी कपडा बुन्ने र लगाउने व्यवस्था होस् । भूदान यज्ञ गरी गरिबलाई जग्गा दिइयोस् । पुराना ऐन खारेजी र नयाँ ऐन जारी गरी देशभरि लागु गरियोस् ।”राणा प्रधानमन्त्री जुद्धसमसेरका पालामा पण्डित प्रेमनारायणलाई यस किसिमको धर्मराज्यको भिक्षा माग्न पठाउने कार्य यहाँ प्रशंसनीय छ । त्यति हुँदा पनि त्यो भिक्षा आश्वासनमा मात्र सीमित रह्यो । यसबाट उनी निराश भइन् तर त्यस निराशालाई शक्तिमा बदल्न आफै काठमाडौं जाने निहो गरिन् । काठमाडौँ गएर वि. सं. १९९३ को महानवमीका दिन श्री ३ जुद्धसमसेरलाई भेटी उक्त आश्वासन पूरा गर्न आग्रह गरिन् । जुद्धसमसेरले पुनः वचनबद्धता जनाए तर लामो पर्खाइपश्चात् पनि उक्त आश्वासन कार्यान्वयनमा आएन । यस घटनाले उनलाई झन् विद्रोही बनायो । योगमायाले वि.सं. १९९५ को कात्तिक २७ गते शनिबारका दिन सरकारले धर्मराज्यको भिक्षा नदिए आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गरिन् । अग्निसमाधिको दिन नजिकिँदै गयो । मानिसहरू बिस्तारै भेला हुन थाले । उफ्रौलीटारको मैदानमा ठुलो यज्ञस्थल बनाइयो । यज्ञका लागि जङ्गलबाट प्रशस्त काठ बटुलिए । अग्नि कुण्डमा हवन गर्न श्रीखण्ड र घिउ जम्मा पारियो । अग्निसमाधि लिन २४० जना जति भक्तले स्वेच्छाले नाम लेखाए तर उनको अग्निसमाधिको योजनालाई सरकारले सफल हुन दिएन । अग्निसमाधिको घोषणा मितिभन्दा एक दिन पहिले नै धनकुटाका बडाहाकिम माधव समसेर र भोजपुरका बडाहाकिमको नेतृत्वमा खटिआएको ठुलो फौजले घेरा हाली उक्त अग्निसमाधिमाथि प्रतिबन्ध लगायो । यसै क्रममा ११ जनालाई धनकुटाको जेल चलान गरियो र योगमाया तथा उनका महिला भक्तलाई भोजपुरको एउटा पाटीमा केही दिन बन्दी बनाइयो । नेपालको इतिहासमा महिलाहरूलाई बन्दी बनाइएको यो पहिलो घटना थियो । यसरी निरङ्कुश सरकार र तत्कालीन सामन्ती सत्ताको विरुद्धमा एउटी महिलाले नेतृत्व लिएको विश्व इतिहासमै अनौठो र साहसिक विद्रोहलाई बलपूर्वक दबाइयो । अहिलेको समाजमा विद्रोहको यस्तो शैली उपयुक्त नरहे पनि त्यस वेलाका लागि यो सशक्त विद्रोह नै थियो ।
अग्निसमाधि घोषणा असफल भएपछि योगमायामा झन् वैराग्यसहितको विद्रोह झन् बढ्न थाल्यो । उमेरले ७० काटे पनि उनी झन् बढी साधना, ध्यान र तपस्यामा डुब्न थालिन् । उनमा राज्यबाट ‘धर्मराज्य’ को भिक्षा प्राप्त होला भन्ने आशा थियो तर राणा शासकले ती विद्रोही महिलाको आवाज सुनेनन् । अग्निसमाधि काण्डका कारण शासक चिढिएका थिए । निरङ्कुश राज्यसत्ता उनीप्रति झन्झन् दमनकारी र बर्बर हुँदै गयो । सामन्ती व्यवस्थाका पक्षधर, ठुलाठालु साहुमहाजन योगमाया जस्ता विद्रोही र समाज परिवर्तनको अपेक्षा गर्ने जोसुकैलाई दुःख दिन्थे, दण्डित गर्थे । यसैबिच शासकको यस उपेक्षा विरुद्धका विद्रोहका रूपमा योगमायाले गोप्य रूपमा जलसमाधि लिने योजना बनाइन् । राणा प्रधानमन्त्री तथा सिङ्गो शासन व्यवस्थालाई अग्निसमाधि र जलसमाधि जस्ता विद्रोहका शैली चुनौती त थियो नै, उनी र उनका अनुयायीको विचारमा मुक्ति प्राप्तिको सही मार्ग पनि थियो । त्यसैले अग्निसमाधि काण्डका पक्राउ परेका सबै जना जेलमुक्त भएपछि उनले ६८ जना भक्तसहित वि.सं. १९९८ असार २२ गते हरिशयनी एकादशीका दिन सूर्योदय नहुँदै “अधर्मतको अन्त्य होस्, धर्मराज्य स्थापना होस्, मुक्तिको द्वार खुलोस्” भन्दै अरुण नदीमा समर्पित भएर जलसमाधि लिइन् ।
योगमाया छुवाछुतरहित, शोषणरहित र भ्रष्टाचाररहित नेपाली समाजको खोजीमा लागिन् र शासकहरूका विरुद्ध विद्रोह गरिन् । उनले योगसाधना, ध्यान, तपस्या, प्रवचन र सामाजिक व्यवहारका माध्यमबाट सामाजिक कुरीतिबाट मुक्त न्यायपूर्ण समाज निर्माण गर्ने प्रयास गरिन् । तत्कालीन सामन्ती समाजका अगुवाले यसलाई सुनेनन् । समाजमा सचेत विद्रोहको रूपमा रहे पनि पुराना विचारका मान्छेका लागि उनका विचार रुचिकर थिएनन् । सबैतिरबाट आफ्नो विचारलाई नस्विकारिएपछि सामूहिक जलसमाधिका माध्यमबाट विद्रोहको नेतृत्व लिने योगमाया भौतिक रूपमा जलसमाधिकै मितिदेखि हामीसामु रहिनन् । सत्यनिष्ठा र समतामूलक समाजको सपनाका लागि अनौठो क्रान्ति गर्ने योगमायाको देन मानव सभ्यताको स्मृतिमा अमीट रहेको छ । उनको स्मृतिमा वि.सं. २०१४ मा उनका विचारको सङ्ग्रह ‘सर्वार्थ योगवाणी’ नामक कृतिसमेत प्रकाशन भएको छ । नेपाली इतिहासकार, लेखक, पत्रकार र अनुसन्धानदातालेका उनका बारेमा लेखेका छन् । उनका बारेमा अमेरिकी लेखक बारबरा निम्री अजिज र बेलायती विद्वान् माइकल हटका अनुसन्धानात्मक कृति र लेख प्रकाशन भएका छन् । उनका जीवनीमा आधारित ‘योगमाया’ शीर्षकको उपन्यास पनि प्रकाशित छ ।
शब्दार्थहरू
कुरीतिसमाजमा चलिआएको नराम्रो चलन / खराब परम्पराअग्निसमाधिआगोमा समर्पित भएर प्राण त्याग्ने कामजलसमाधिपानी वा नदीमा डुबेर प्राण त्याग्ने कामबुहार्तनविवाह गरेर गएकी बुहारीले घरमा भोग्नुपर्ने दुःख वा कठिन कामशास्त्रार्थपण्डित वा विद्वानहरूका बिच शास्त्रका विषयमा गरिने बहस वा छलफलधाराप्रवाहविनाअड्काउ लगातार बोल्न सक्ने खुबीअनुयायीकसैको विचार वा सिद्धान्तलाई पछ्याउने व्यक्तिहरूवर्णाश्रमसमाजलाई ब्राह्मण, क्षत्री, वैश्य र शूद्र गरी चार वर्णमा बाँडिएको व्यवस्थानिसाफइन्साफ / न्यायबर्बरक्रूर / अमानवीय दमनअमीटकहिल्यै मेटिन नसक्ने / अमिट छाप