Nepali Grammar
नेपाली व्याकरण
शब्दवर्ग
एकाइ १: नाम
• के ? = सुन्तला, आँप, कलम, पुस्तक, सिन्को, साइकल, सिसा, सिसाकलम, लुगा, गाडी, बस, बाघ, गाई, जुत्ता, साइकल, भेडो…. आदि ।
• को ? = हरि, गणेश, धने, शिव, सीताराम, पुष्पलाल, घटराज, दाजु, गीताञ्जली, भूषण, कृष्ण, सरोज, गौतम, विनोद…. आदि ।
• को को ? = कृष्ण, कमल र रुपक, सालो र भेना, दाजु र भाउजू, रूपा, गणेश र सञ्जिता… आदि ।
कुनै पनि व्यक्ति, वस्तु वा ठाउँ आदिलाई तोकेर बोलाउँदा वा चिनाउँदा प्रयोग गरिने शब्द चिह्न वा प्रतीक नै नाम हो । नामलाई संज्ञा पनि भनिन्छ । नाम शब्द ‘के र को ?’ प्रश्नको उत्तरमा पनि आउँछन् ।
२. नामका प्रकारहरू :
नामलाई परम्परागत र अन्य गरी दुई आधारमा विभाजन गर्न सकिन्छ :
परम्परागत आधारमा
(क) व्यक्तिवाचक नाम
सिङ्गो व्यक्ति, वस्तु वा ठाउँ आदिलाई तोकेर चिनाउँदा वा देखाउँदा प्रयोग गरिने प्रतीक शब्दलाई व्यक्तिवाचक नाम भनिन्छ ।
• कमल, सेते, कविर, रवि, ज्ञानुवाकर, सुवीर, करुणा, कृतन, सन्दीप, सुकृति, संस्कृति, मानस, निशान्त…. आदि ।
• नेपाल, भारत, चीन, पाकिस्तान, भुटान, म्यानमार, पोल्याण्ड,… आदि ।
• मोरङ, झापा, धनकुटा, ताप्लेजुङ, काठमाडौँ, सुनसरी,… आदि ।
• राधानगर, बेलबारी, कपन, चाबहिल, पशुपति, धरान,…… आदि ।
• प्रशान्त, आन्द्र, हिन्द, एटलान्तिक,.. आदि ।
• गण्डकी, कोसी, कर्णाली, मेची, महाकाली,…. आदि ।
• पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चल,… आदि ।
• एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका,…. आदि ।
• चन्द्र, सूर्य, पृथ्वी, शुक्र, यम,…. आदि ।
• सगरमाथा, अपी, नाम्पा, सयपाल, कान्जिरोवा, गणेशहिमाल, गौरीशङ्कर, माछापुच्छ्रे आदि ।
• होली, माघे सङ्क्रान्ति, तिहार, छठ, गौरा, इद, ल्होसार, एकादशी, जनैपूर्णिमा, श्रीपञ्चमी,.. आदि ।
(ख) जातिवाचक नाम
कुनै पनि वस्तु, व्यक्ति वा पदार्थको जात विशेषलाई बुझाउने नामिक शब्द नै जातिवाचक नाम हो । व्यक्तिवाचक नामको सामूहिक रूपलाई बुझाउने शब्दलाई जातिवाचक संज्ञा भनिन्छ । यसमा सजीव/निर्जीव सबै वस्तुहरू पर्दछन् ।
• मानिस, केटाकेटी, महिला, पुरुष
• देश, राष्ट्र, नागरिक, खोला, नदी, पहाड, महासागर, विकासक्षेत्र, पिण्ड, महादेश, हिमाल, टाकुरा
• पुस्तक, कलम, लुगा, रुमाल, हँसिया आदि ।
(ग) समूहवाचक नाम
व्यक्ति, वस्तु आदिको जमात वा एकमुस्ट रूप नै समूहवाचक संज्ञा हो । यसले निश्चित वा अनिश्चित झुण्डका गणनीय वा अगणनीय नामलाई समूहवाचक नाम भनिन्छ ।
• गणनीय: हुल, बथान, पार्क, समूह, लाइन, लस्कर, पल्टन, जत्था
• अगणनीय: थुप्रो, थाक, रास, कुनियो, झुण्ड, मण्डल, ताँती
• समग्रतामा समूहवाचक नामहरू: हुल, रास, खलियो, ताँती, लाइन, लस्कर, पल्टन, पार्क, घार, झुण्ड, बथान, बगाल, काइँयो, घरी, बजार, चुल्ठो, गुच्छा, जन्ती, मलामी, पाना, कुनियो, लाछी, डल्लो, थाङ्ग्रो, थास, रास, पल्टन, परेड, चुल्हो, चाङ, गोठ, माला, नर्सरी, वन, निकुञ्ज, भ्याङ, गड्डी, जमात, झुप्पो, दर्जन…
(घ) द्रव्यवाचक नाम
छुन देख्न सकिने र जोखेर लिन दिन मात्र गरिने नामिक शब्दलाई द्रव्यवाचक नाम भनिन्छ । यसमा बग्ने, पोखिने, चुहिने आदि पर्दछन् ।
• दुध, दही, मही, चिनी, सख्खर, आलु, बन्दा, काउली, चामल, पिठो, नुन, तेल, बेसार, पानी, खानेतेल, भुटुन, माटो, पेट्रोल, डिजेल, साग, दाल, चियापत्ति, धुलो, सुठो आदि ।
(ङ) भाववाचक नाम
छुन, देख्न नसकिने अनुभव मात्र गर्न सकिने नामिक शब्दलाई भाववाचक नाम भनिन्छ ।
• माया, प्रेम, घृणा, स्नेह, दया, रिस, क्रोध, मानवता, ईश्वरीय, खानु, लेख्नु, हिँड्नु, जानु, पाउनु, राम्रोपन, ठालुपन, मङ्गापन आफ्नोपन, भावुकता, समानता आदि ।
४. नामले गर्ने कार्यहरू
(क) नामले उद्देश्यको काम गर्छ । (ख) सकर्मक क्रियाको कर्म भएर काम गर्छ । (ग) विशेषणको विशेष्य भई काम गर्छ । (घ) नाम पदले कारक भई काम गर्छ । (ङ) नामले रूपायन भई काम गर्छ । (च) क्रिया लिने पूरकापेक्षीको पूरक भई काम गर्छ । (छ) नामले पुलिङ्ग र स्त्रीलिङ्गको रूपमा काम गर्छ ।
एकाइ २: सर्वनाम
नामको सट्टामा प्रयोग हुने शब्दलाई सर्वनाम भनिन्छ । सर्वनाम जब नाम भन्ने वा प्रयोग गर्ने बेला कुनै व्यक्ति, वस्तु, ठाउँ आदिका सट्टामा प्रयोगमा आउँछन् । सर्वनाम शब्द शब्दको सट्टामा, पदावलीको सट्टामा र वाक्यको सट्टामा पनि सर्वनाम प्रयोग हुन्छ ।
• शब्दको सट्टामा: कमला, कविर र कौतुप आए । उनीहरू तुरुन्त फर्किहाले । दाजु आउनुभयो । उहाँ आज बास बस्नुहुन्छ रे । केदार र सपना विद्यालय गए । ती पढेर आउँछन् ।
• पदावलीको सट्टामा: कुवेर जस्ता साथीहरू मिलेर काम गर्छन् । उनीहरू मिलेरै हिँड्छन् पनि । गरेको काम सबै बिग्रियो । त्यो सम्हाल्न सकिएन । लागेको गोली डाक्टरले झिके । त्यो तिघ्रामा गाडिएको रहेछ ।
• वाक्यको सट्टामा: मिहिनेती हरिले अन्ततः प्रथम नतिजा ल्यायो । यो प्रशंशनीय कार्य हो । दाजुका छोराले सधैं मिहिनेत गर्न थालेको छ । त्यो सुधार हुने लक्षण हो ।
२. सर्वनामका प्रकारहरू
१. पुरुषवाचक सर्वनाम
व्यक्ति जनाउने शब्दको सट्टामा प्रयोग हुने सर्वनामलाई पुरुषवाचक सर्वनाम भनिन्छ । पुरुषवाचक सर्वनाम पहिलो व्यक्ति, दोस्रो व्यक्ति र तेस्रो व्यक्तिको सट्टामा प्रयोग हुन्छन् ।
• (क) प्रथम पुरुष: म, हामी, हामीहरू (कुरा कोट्याउने पहिलो व्यक्तिको सट्टामा) ।
• (ख) द्वितीय पुरुष: तँ, तिमी, तपाईं, हजुर, तिमीहरू, तपाईंहरू, हजुरहरू (कुरा सुन्ने दोस्रो व्यक्तिको सट्टामा) ।
• (ग) तृतीय पुरुष: ऊ, उनी, उनीहरू, तिनी, तिनीहरू, उहाँ, उहाँहरू, त्यो, ती (जसको बारेमा कुरा गरिन्छ, त्यस तेस्रो व्यक्तिको सट्टामा) ।
२. प्रश्नवाचक सर्वनाम
प्रश्न जनाउने शब्दहरू नै प्रश्नवाचक सर्वनाम हुन्छन् । कहाँ, कहिले, किन, कसरी, कस्तो, कत्रो, कति, कुन, के, कुन कुन, कति कति, कहाँ कहाँ आदि प्रश्नवाचक सर्वनाम हुन् ।
• उदाहरण: ऊ कुन काम गर्छ रे ? तिमी कतिजना साथी बनाउँछौ ? हजुर कहिले जाने र ?
३. निज वा आत्मवाचक सर्वनाम
आफूले आफैँलाई बुझाउन प्रयोग गरिने वा आफ्नो सट्टामा प्रयोग हुने सर्वनाम नै आत्मवाचक सर्वनाम हो ।
• उदाहरण: आफूले त गृहकार्य सकियो । आफैं गर्छ आफ्नो काम । स्वयम्ले निम्त्याएको दुःख हो यो । निजैको हो यो घर ।
४. दर्शकवाचक सर्वनाम
नजिक वा टाढाको वस्तुलाई देखाउँदा वा चिनाउँदा त्यस व्यक्ति वा वस्तुको सट्टामा प्रयोग गरिने सर्वनामलाई दर्शकवाचक सर्वनाम भनिन्छ ।
• (क) अदूरवर्ती वा निकटवर्ती: यो हाम्रो घर हो । यी मेरा गाई हुन् । यहाँ बसेर पढ । (यो, यी, यिनी, यिनीहरू)
• (ख) दूरवाचक वा परवर्ती: त्यो हाम्रो घर हो । ती मेरा गाई हुन् । त्यहाँ बसेर पढ । (त्यो, ती, तिनीहरू, उनीहरू, उहाँ)
५. सम्बन्धवाचक सर्वनाम
व्यक्तिको वस्तुसँग, व्यक्तिको व्यक्तिसँग वा व्यक्तिको अन्यसँग सम्बन्ध देखाउँदा त्यो व्यक्ति वा वस्तुको साटो प्रयोग हुने सर्वनाम सम्बन्धवाचक सर्वनाम हो ।
• (क) निश्चितवाचक सर्वनाम: निश्चित व्यक्ति वा वस्तुको सट्टामा प्रयोग हुने सर्वनाम हुन् । जस्तै : जो, जे, जुन, जोजो, जेजे, जुनजुन ।
• (ख) अनिश्चितवाचक सर्वनाम: अनिश्चित वा किटान नगर्ने व्यक्ति वा वस्तुको सट्टामा प्रयोग हुने सर्वनाम हुन् । जस्तै: जोसुकै, जुनसुकै, जहाँसुकै, जहिलेसुकै, जोjosukai, जुनjunsukai आदि ।
६. सर्वनामले गर्ने कामहरू
(क) सर्वनामले उद्देश्यको काम गर्छ । (ख) नामको सट्टामा आई काम गर्छ । (ग) सर्वनामले विभिन्न पुरुष चिह्न लिएर काम गर्छ । (घ) सर्वनामले कर्ता, कर्म, करण, सम्प्रदाय, अपादान र अधिकरण कारक भई काम गर्दछ । (ङ) सर्वनामको सरल र तिर्यक रूप पाइन्छ ।
एकाइ ३: विशेषण
कुनै पनि व्यक्ति, वस्तु, ठाउँ आदिको गुण, दोष, सङ्ख्या, विशेषता, अवस्था, स्थिति बुझाउने शब्दलाई विशेषण भनिन्छ । विशेषण शब्द वाक्यमा कुनै पनि नामको अगाडि आउने गर्छ ।
• प्रश्नको जवाफमा आउने विशेषणहरू:
o कस्ता/कस्तो/कस्ती : सेतो, रातो, धमिलो, अमिलो, नुनिलो, राम्री, मोटी
o कत्रो : सानो, ठुलो, आधा, अग्लो, होचो, ग्याँचे, पुड्को
o कति : धेरै, थोरे, अलिकति, निक्कै, औधि, ज्यादै, निकै, पिलिक्क
o कुन : जुन, त्यही, यो, त्यो, ती
२. विशेषणका प्रकारहरू
१. गुणबोधक विशेषण: राम्रो, नराम्रो, कालो, गोरो, होचो, पुड्को, अग्लो, धमिलो, नुनिलो, पिरो, चर्को, भत्केको, चर्केको, भक्कानिएको, लडेको, भिजेको, स्याउले, पाखण्डी, झर्किने, भवाँक्की, आँटी, बहादुर, वीराङ्गना, धैर्यवान्, बलवान, वर्तमान, आगामी, पूर्वीय, एशियाली, बलौटे, घरेलु, गफाडी, कुरूप, किताबी आदि ।
२. सङ्ख्याबोधक विशेषण:
• स्थान, दर्जा, श्रेणी जनाउने: पहिलो, दोस्रो, तेस्रो, पाँचौं, सयौँ, हजारौं, लाखौँ, प्रथम, द्वितीय, तृतीय, चौथो,……. अन्तिम ।
• आवृत्ति जनाउने: चारहाते, एकहाते, तीनहाते ।
• अङ्कहरू सबै: एक, दुई, चार, दश, एघार, सय, लाख, करोड, अरब आदि ।
३. परिमाणबोधक विशेषण: धरे, त्यति, अलिकति, निकै, निक्कै, औधी, थोरै, पितिक्क, आधा, भरी, पुरै, ज्यादा, ज्यादै, चुली…. (मात्रा जनाउने वा कति ? प्रश्नको उत्तरमा आउने) ।
४. सार्वनामिक विशेषण: कुनै पनि नामका अगाडि तोकेर वा किटान गरेर कुनै पनि सर्वनाम शब्द आएमा त्यो सर्वनाम शब्द सार्वनामिक विशेषण हुन्छ ।
• तोकेको अवस्था (विशेषण): जो मान्छे, ती केटाहरू, तीती कामहरू, त्यो ब्याग, जुन पुस्तक, जेसुकै काम, त्यो भकुण्डो, यो शिक्षार्थी, यी नानीहरू ।
५. भेदक विशेषण: षष्ठी विभक्ति (को, का, की, रो, रा, री, नो, ना, नी) लागेका नाम वा सर्वनाम भेदक हुन्छन् भने त्यसका पछाडि प्रयोग भएको नाम शब्द भेद्य हुन्छ ।
• उदाहरण: उसको छोरो, उनका सामान, दाजुकी साथी, तेरो पाउ, हाम्रा सामानहरू, तिम्री दिदी, आफ्नो मान्छे, आफ्ना कामहरू, आफ्नी साली ।
६. कृदन्त विशेषण: धातुमा जोडिएको कृत् प्रत्यय लागेको कृदन्त शब्दले त्यस पछाडिको नाम शब्दको विशेषता जनाएमा उक्त कृदन्त शब्द कृदन्त विशेषण हुन्छ ।
• उदाहरण: कुदेको केटो, जलेका हात, जमेका मन, पढेकी छोरी, हिँड्ने मान्छे, पस्ने ठाउँ ।
७. विशेषणले गर्ने कार्यहरू
(क) विशेषणले नामको विशेषता जनाउँछ । (ख) पूरकापेक्षी क्रियापदको पूरक भएका काम गर्छ । (ग) विशेषणले क्रियाविशेषणको विशेष्य भएर काम गर्छ । (घ) सरल र तिर्यक रूपमा प्रयोग हुन्छ । (ङ) विशेष्य (नाम) को भेदकको रूपमा काम गर्छ । (च) विशेष्य (नाम) को अर्थलाई निश्चित सीमामा सीमित गर्छ ।
एकाइ ४ : क्रियापद
कर्ताले गरेको कामको बोध गराउने वा कर्तासँग निकट सम्बन्ध राखी कार्य व्यापार गर्ने विकारी शब्द नै क्रिया हो । क्रिया एक्लै प्रयोग हुँदा मात्र क्रिया बन्छ भने वाक्यमा प्रयोग हुँदा क्रियाले आफ्नो पद ग्रहण गर्ने हुनाले क्रियापद हुन्छ । क्रियापद बन्न धातु अनिवार्य तत्त्व हो ।
२. क्रियापदका प्रकार
१. वाक्य टुङ्ग्याउने आधारमा क्रिया:
• (क) समापक क्रिया: जुन क्रियाले वाक्य समापन गर्छ । जस्तै: चढ्यो, फुटाएछ, हुने छ, डुबेछ, आउनुहोला ।
• (ख) असमापक क्रिया: वाक्य समापन नगर्ने नटुङ्ग्याउने वा लम्ब्याउने क्रिया । (कृदन्त क्रिया पनि भनिन्छ) । जस्तै: सकेर, हाली, गर्दा, हिँडेको, गर्न ।
२. ध्रुवीयताका आधारमा:
• (क) करण क्रिया: काम हुन्छ वा हो साथै सकारात्मक अर्थ दिने क्रिया । जस्तै: आउँछ, खायो, गरे, पढ्ली, सुत्लान् ।
• (ख) अकरण क्रिया: हुन्न, हुँदैन, होइन वा नकारात्मक अर्थ दिने क्रिया । (अकरण बोधक ‘न’ जोडिएको हुन्छ) । जस्तै: नखा, आउँदैनथे, आएनछ, भएन ।
३. कर्म लिने आधारमा:
• (क) सकर्मक क्रिया: क्रियाले कर्म लिएर आए सकर्मक क्रिया हुन्छ । जस्तै: पकाई, दियो, पढ्छ ।
• (ख) अकर्मक क्रिया: कर्म नलिने क्रिया अकर्मक क्रिया हो । जस्तै: रोयो, आएछ, हाँसी ।
४. अर्थका आधारमा:
• (क) मुख्य क्रिया: मुख्य अर्थ दिने क्रिया । जस्तै: लडेको छ, राखेकी थिई, पढ्दै थिए मा (लडेको, राखेकी, पढ्दै) ।
• (ख) सहायक क्रिया: संयुक्त क्रियामा मुख्य अर्थ नदिई सहायक भूमिका खेल्ने क्रिया । जस्तै: थिए, छन्, थिई, छौ, होली ।
५. क्रियापदले गर्ने कार्यहरू
(क) क्रियापदले वाक्यमा विधेयको कार्य गर्दछ । (ख) क्रियापदले कारकहरूसँग सम्बन्ध राख्ने कार्य गर्दछ । (ग) क्रियापदले वाक्य समापन गर्ने कार्य गर्दछ । (घ) क्रियापदले वाक्यमा घटना, कार्यव्यापार, स्थिति वा अवस्था बुझाउने कार्य गर्छ । (ङ) क्रियापद रूपायन हुन्छ । (च) क्रियापदले कुनै पनि कुराको उपस्थिति वा अनुपस्थिति बुझाउँछ ।
एकाइ ५ : अव्यय
रूप नचल्ने वा लिङ्ग, वचन, पुरुष, काल, पक्ष, भाव, ध्रुवीयता आदिका आधारमा परिवर्तन नहुने शब्दहरू अव्यय हुन् । यिनलाई अविकारी पनि भनिन्छ । अव्यय भनेको खर्च नहुने हो ।
• नामयोगी: वारि, तल, नजिक, सँग
• क्रियायोगी: खाँदै, बिस्तारै, भुसुक्क, बिहान
• संयोजक: र, अनि, पनि, तर
• विस्मयादिबोधक: ओहो, अरे, ला, ज्या, थुक्क
• निपात: र, पो, त, लौ, नि, खै
२. अव्ययका प्रकारहरू :
१. क्रियायोगी
क्रियाको, विशेषणको तथा क्रियाविशेषणको विशेषता बुझाउने अव्यय शब्दलाई क्रियायोगी भनिन्छ ।
• (क) क्रियाको विशेषता बुझाएमा: ऊ विस्तारै आयो । भाइ फटाफट हिँड्छ ।
• (ख) विशेषणको विशेषता बुझाएमा: त्यो luगा अति राम्रो थियो । तपाईं ज्यादै असल हुनुहुन्छ ।
• (ग) क्रियायोगीले क्रियायोगीको विशेषता बुझाएमा: चङ्गा अत्ति माथि उड्यो । तिमी निक्कै तल पुग्यौ ।
• (घ) अनुकरणात्मक शब्दहरू: प्याट्ट, पुट्ट, ह्वात्त, घप्लक्क, मुसुक्क, सुटुक्क, बुर्लुक्क, दनदन आदि ।
• (ङ) समयसूचक शब्दहरू: आज, भोलि, पर्सि, हिजो, अब, भरे, बिहानै, दिउँसो, साँझ, राति, सधैं, अचेल आदि ।
• (च) कृदन्त वा असमापक क्रियाहरू: लेख्न, लेख्दा, लेख्तै, लेखेर (पछाडि नाम नआएको खण्डमा) ।
• (छ) कारण/परिमाण/स्थान बुझाएमा: पढेकाले, हुनाले (कारण); प्रशस्तै, धेरै, अलिकति (परिमाण); वरपर, भित्र, बाहिर, त्यहाँ (स्थान) ।
२. नामयोगी
नाम, सर्वनाम, विशेषण तथा अन्य क्रियायोगी आदि शब्दको पछाडि अनिवार्य जोडिएर आउने अव्यय शब्दलाई नामयोगी भनिन्छ ।
• वर्गीकरण:
1. समयवाचक: खेर, बित्तिकै, पहिले, पूर्व, पछि
2. स्थानवाचक: नजिक, माथि, मुनि, भित्र, बाहिर, वरिपरि, निर
3. रीतिवाचक: बमोजिम, भन्दा, अनुसार, समान, सरि
4. दिशावाचक: तिर, पट्टि, सामुन्ने, तर्फ, छेउछाउ
5. सहभाववाचक: समेत, सँग, सित, सहित, साथै
6. कारणबोधक: निम्ति, निमित्त, कारण, लागि
7. अभावबोधक: बाहेक, बिना, शिवाय, अतिरिक्त
३. विस्मयादिबोधक
आश्चर्य, विस्मय, दुःख, खुसी, ग्लानी, चिन्ता, अपशोच आदि व्यक्त गर्ने अविकारी वा अव्यय शब्दलाई विस्मयादिबोधक भनिन्छ ।
• प्रकारहरू: आश्चर्य वाचक (ओहो, आम्मै), तिरस्कार वाचक (छि, छिछि), सम्बोधन वाचक (ए, ओ, हे), शोक वाचक (हाय, कठै, बिचरा), प्रशंसा वाचक (वा, क्यावात्, हुर्रे, स्याबास्, आहा) ।
४. निपात
आफ्नो स्वतन्त्र अर्थ नभएको वाक्यमा आउँदा, बोल्दा वा लेख्दा मिठास दिन प्रयोग हुने अव्यय शब्दलाई निपात भनिन्छ । निपात वाक्यबाट झिक्ने हो भने पनि वाक्यको अर्थ विचलन हुँदैन ।
• जस्तै: त, पो, र, लौ, नि, खै, क्यारे, ब्यारे, अँ, हँ, नै, रे, क्या, खोइ ।
५. संयोजक
दुई वा दुईभन्दा बढी शब्द, पदावली, उपवाक्य साथै वाक्य जोड्न प्रयोग हुने, सेतुको काम गर्ने अव्यय शब्दलाई संयोजक भनिन्छ ।
• (क) सापेक्ष संयोजक: यद्यपि, यदि, भने, भन्ने, जब…तब, जहिले…तहिले, जहाँ…त्यहाँ ।
• (ख) निरपेक्ष संयोजक: र, अनि, पनि, ताकि, तथापि, किन्तु, परन्तु, वा, अथवा, त्यसैले, किनकि, अन्यथा, नत्र ।
