एसईई नेपाली नमुना प्रश्नपत्रहरु
सेट-१
१. समूह ‘क’ र ‘ख’ जोडा मिलाउनुहोस्:
समूह ‘क’
(नन्दन,
उदात्त, पतन, खुद),
समूह ‘ख’ (अवनति, स्वर्गको बगैँचा, महान्/उदार, वास्तविक/खास, शिर नभएको)।
२. उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस्:
गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया वर्गभित्र पर्छ। मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ र यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। गाईको बथान चौरमा चर्छ।
(क) ‘मानिस’ को पर्यायवाची शब्द…….हो। (ख) ‘स्वस्थ’ को विपरीतार्थी शब्द…….हो।
(ग) …….अनेकार्थी शब्द हो। (घ) ‘गाईको समूह’ बुझाउने शब्द…….हो।
३. एउटा टुक्का र अनुकरणात्मक शब्द पहिचान गरी फरक वाक्यमा प्रयोग गर्नुहोस्: खास आफ्नो बच्चामाथि अरूले जाइलाग्न लागेको देखेपछि कुन चाहिँ सिंहिनी कानमा तेल हालेर बस्ली? म पनि मेरो गन्तव्यमा हिँडिरहेको थिएँ, अचानक एउटा यात्रुवाहक बस घरनजिकै आएर घ्याच्च रोकियो।
४. (क) शुद्ध शब्द छानी लेख्नुहोस्:
(अ) असम्भव/असमभव/अशम्भव (आ) आश्वसन/आश्वासन/आस्वासन
(ख) शुद्ध पारी लेख्नुहोस्: गरिब वर्गको उथान नभई देश सम्वृद्ध बन्दैन।
५. रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस्:
फुवा(नाम) असल(विशेषण) विद्यार्थी हुन्। उनी(सर्वनाम) सोलुखुम्बु जिल्लाको जनजागृति माविमा(नाम) १० कक्षामा पढ्दै(कृदन्त) छन्(क्रियापद)।
६. (क) अनुच्छेदबाट उपसर्ग र प्रत्यय लागेका दुई/दुई शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्:
आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान प्रविधिलाई व्यापक र व्यावहारिक बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक संस्था स्थापना भएका छन्।
(ख) समस्त शब्द विग्रह, विग्रह पदावलीको समस्त शब्द र द्वित्व शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्:
हामी सबै दाजु र भाइ, दिदी र बहिनी मिलेर आआफ्ना घर तथा करेसाबारीको राम्रोसँग सरसफाइ गरेनौँ भने घरमा लामखुट्टे लाग्न सक्छ।
७. वर्तमान कालको पूर्ण पक्षमा परिवर्तन गर्नुहोस्: हरिनाथ जनता कलेजमा प्राध्यापन गर्छन्। उनी घरबाट कलेजमा हिँडेर जान्छन्। उनी विद्यार्थीलाई नेपाली साहित्यको शिक्षा दिन्छन्। उनी विद्यार्थीलाई पढाउँदा मार्करले शैक्षणिक पाटीमा लेख्छन्।
८. (क) सम्भावनार्थक भावका फरक क्रिया प्रयोग गरी चार वाक्यमा भविष्यको लक्ष्य वर्णन गर्नुहोस्।
(ख) प्रथम पुरुषका वाक्यलाई तृतीय पुरुष (उनी) मा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्:
म आज भातसात केही खान्न भन्दै डाँडाघरे सान्कान्छा माघेसङ्क्रान्तिमा नुहाउन भनी गण्डकीतिर हिँडेँ। त्यहाँ मैले धेरै रमाइलो गरें।
९. कोष्ठकका आधारमा वाक्य परिवर्तन गर्नुहोस्:
(क) परिश्रमी विद्यार्थीले जाँचमा राम्रो अङ्क ल्याउँछ। (मिश्र वाक्य)
(ख) म त खुसीले उम्लेछु। (भाववाच्य)
(ग) तिमी साइबर अपराधबारे सिक्छौ। (प्रेरणार्थक)
(घ) शिक्षकले भन्नुभयो, “साइबर अपराधबाट जोगिनुपर्छ।” (अप्रत्यक्ष कथन)
१०. अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:
गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो। प्राचीनकालमा शिक्षकलाई आचार्यका रूपमा लिइन्थ्यो र त्यहाँ पढ्ने विद्यार्थीलाई उनको परिवार समान मानिन्थ्यो। त्यसैले त मातापिता र आचार्यलाई अति उच्चकोटिमा राखी मातृदेवो भव, पितृदेवो भव र आचार्यदेवो भव भनिन्छ।
(क) ‘प्राचीनकालमा शिक्षकलाई आचार्यका रूपमा लिइन्थ्यो।’ (अकरणमा बदल्नुहोस्)
(ख) ‘गुरुकुलमा’ (कारक र विभक्ति लेख्नुहोस्)
(ग) ‘विद्यार्थीले शिक्षा ग्रहण गर्छन्।’ (उद्देश्य र विधेय पहिचान गर्नुहोस्)
(घ) ‘गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो।’ (संयुक्त वाक्यमा बदल्नुहोस्)
सेट-२
१. समूह ‘क’ र ‘ख’ जोडा मिलाउनुहोस्:
समूह ‘क’ (चहक, पतिङ्गर, श्रद्धेय, विलाप), समूह ‘ख’ (भुइँमा झरेका पात, प्रकाश/कान्ति, बिलौना, आदरणीय, मनको विचार/राय)।
२. उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस्:
कृषि बजारीकरण प्रक्रियामा कृषकलाई आवश्यक मल, बिउ, अनुदान रकम आवश्यकताअनुसार प्रदान गरिन्छ। उत्पादनमा रासायनिक मलभन्दा प्राङ्गारिक मलको उपयोगमा जोड दिने, सिँचाइ, बाटो र सञ्चारको उचित व्यवस्था कृषकलाई सरकारले मिलाइदिने काम हुन्छ। बजारमा अभाव सिर्जना हुँदैन। बिहानै किसानको ताँती खेततिर जान्छ।
(क) ‘खेतीपाती गर्ने व्यक्ति’ को पर्यायवाची शब्द…….हो। (ख) ‘अनावश्यक’ को विपरीतार्थी शब्द…….हो।
(ग) …….अनेकार्थी शब्द हो। (घ) ‘समूह’ बुझाउने शब्द…….हो।
३. एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी फरक वाक्यमा प्रयोग गर्नुहोस्:
अकबरी सुनलाई कसी लाउनु पर्दैन भनेझैँ इमानदार मानिसलाई धेरै परीक्षण गरिरहनु पर्दैन। आजभोलि बिरामी हुँदा एलोप्याथिक औषधीको प्रयोग गर्ने चलन बढेको छ।
४. (क) शुद्ध शब्द छानी लेख्नुहोस्:
(अ) व्यक्तित्व/ब्यक्तित्व/ब्यक्तीत्व (आ) दृष्टिकोण/दृष्टीकोण/दृस्टिकोण
(ख) शुद्ध पारी लेख्नुहोस्: मलाई धिकार छ मेरा यि औंला त्यो दिन किन त्यो म्यासेज थिच्न पुगे होलान्।
५. रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस्:
अहा!(विस्मयादिबोधक) कति सुन्दर दृश्य, पल्लो(विशेषण) गाउँका परिश्रमी किसानहरू बिहानै(क्रियायोगी) खेतमा(नाम) पुगेछन्(क्रियापद)।
६. (क) उपसर्ग र प्रत्यय लागेका दुई/दुई शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्:
स्वस्थ तनलाई खुसी मनको आधार मानिन्छ। मानिसका आफ्नै असावधानीका कारण रोगव्याधिले शरीरमा अनधिकृत रूपमा प्रवेश पाउँछन् र तिनले शारीरिक शक्ति तथा मनका खुसी लुट्न पुग्छन्।
(ख) समस्त शब्द विग्रह, विग्रह पदावलीको समस्त शब्द र द्वित्व शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्:
जीवन भोगाइका क्रममा देखेका र भोगेका यावत् विषयवस्तुलाई विभिन्न सिर्जनामार्फत प्रस्तुत गर्नु नै उनको सिर्जना यात्रामा देखापरेको विविधता हो। कोही जानी नजानी यस्तो संसारमा पसेका छन्, फसेका छन्, त्यसबाट उम्किने उपाय खोज्छन्।
७. अज्ञात भूत कालमा परिवर्तन गर्नुहोस्:
भरतले काठमाडौँबाट भरतपुरका लागि टिकट काट्छ। ऊ सधैँ विराटनगरको टिकट काट्छ। जनककुमारीले चाहिँ जनकपुरको टिकट काट्छिन्। उनी सधैं आफ्नै कारमा जान्छिन्।
८. (क) आज्ञार्थक भावका फरक फरक क्रिया प्रयोग गरी चार वाक्यमा भाइबहिनीलाई असल काम गर्न उपदेश दिनुहोस्।
(ख) पुंलिङ्गी वाक्यलाई स्त्रीलिङ्गी वाक्यमा परिवर्तन गर्नुहोस्:
मेरो भाइ निकै मिहिनेती छ। ऊ सधैं प्रथम हुन्छ। ऊ गुरुहरूको आदर गर्छ। उसले भविष्यमा देशको सेवा गर्नेछ।
९. कोष्ठकका आधारमा वाक्य परिवर्तन गर्नुहोस्:
(क) पानी परेर बाटो हिलो भयो। (संयुक्त वाक्य)
(ख) रामेले काम बिगाऱ्यो। (कर्मवाच्य)
(ग) मानिसले दुःख पाएको देख्दा उनको हृदय छिया छिया हुन्थ्यो। (प्रेरणार्थक)
(घ) निकिताले भनिन्, “बालबालिका काँचो माटो जस्तै हुन्।” (अप्रत्यक्ष कथन)
१०. अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्: देवकोटालाई विभिन्न समयमा देशविदेश घुम्ने अवसर मिल्यो। उनले पाएको त्यो अवसर सिङ्गो नेपाल, नेपाली जनता र नेपाली साहित्यको गौरव वृद्धिको अवसर बन्यो। उनी जहाँ जहाँ पुग्थे त्यहाँ त्यहाँ ओजस्वी भाषणद्वारा सबैलाई मन्त्रमुग्ध पार्थे।
(क) ‘उनी जहाँ जहाँ पुग्थे त्यहाँ त्यहाँ ओजस्वी भाषणद्वारा सबैलाई मन्त्रमुग्ध पार्थे।’ (सरल वाक्यमा बदल्नुहोस्)
(ख) ‘देवकोटालाई’ (कारक र विभक्ति लेख्नुहोस्)
(ग) ‘उनले पाएको अवसर गौरव वृद्धिको अवसर बन्यो।’ (उद्देश्य र विधेय पहिचान गर्नुहोस्)
(घ) ‘उनले पाएको त्यो अवसर सिङ्गो नेपालको गौरव वृद्धिको अवसर बन्यो।’ (मिश्र वाक्यमा बदल्नुहोस्)
