SEE Nepali 2083 Supplementary
SEE (Grade Increment) 2082 (2026) GI – 1021
अनिवार्य नेपाली
समय : ३ घण्टा
पूर्णाङ्क : ७५
दिइएको निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर लेख्नुहोस् :
१. समूह ‘क’ मा दिइएका शब्दको अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस् : २
समूह ‘क’ समूह ‘ख’
उदात्त विज्ञापन गर्दै सामान बेच्ने मानिस
हकर शारीरिक रोग
व्याधि महान्
अचाक्ली उदाहरण
हुनुपर्ने भन्दा बढी
हक र अधिकार
२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : २
पुस्तक पढ्नु असल बानी हो। अध्ययनशील मानिससँग धेरै ज्ञान हुन्छ । नपढ्ने मानिस प्रायः नचाहिने कुराको गथासो सुनाउँदै बस्छन् । उनीहरू सानातिना समस्या पनि सजिलै समाधान गर्न सक्दैनन् । सानोतिनो असफलतामा पनि हरेस खाइहाल्छन् । अध्ययनशील मानिस कहिल्यै हार खाँदैनन् । उनीहरू आशावादी हुन्छन् । यो कुरा त कुची लगाउनेदेखि धुलोका कण खेलाउने मानिसलाई पनि थाहा छ ।
(क) ‘किताब’ को पर्यायवाची शब्द ……… हो ।
(ख) ‘खराब’ को विपरीतार्थक शब्द ……… हो ।
(ग) ………. अनेकार्थी शब्द हो ।
(घ) ‘कुचो’ को लघुतावाची शब्द ……….. हो ।
३. दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : २
घाँटी हेरी हाड निल्न नसक्दा मलाई खुसी घाँटीमा अड्किए जस्तो भयो । मैले आमालाई गम्लङ अँगालो हालें र मातृवात्सल्यको अभिनव आयाममा गुटुमुटु भइरहें । त्यसपछि आमाको छातीबाट न्यानो प्रसार भएर मन हलुङ्गो भयो ।
४. (क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) सञ्चालक सन्चालक सम्चालक संचालक
(आ) बढ्बा वढुवा बढुवा वढुबा
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : १
लालले भन्यो, मितज्यु तपाईंलाई घरकोभन्दा बढ्ता माया गर्ने बतासे पनी यतै आएपछि अब कसलाई पो सम्झनुहोला र ?
५. दिइएको वाक्यमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : ३
यो पत्रिकामा प्रकाशित भएको सूचना सुसूचित गर्ने माध्यम हो भन्ने कुरा हामीले बुझ्नुपर्छ है !
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : २+२= ४
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
हामीले नैतिक शिक्षा पढ्नुपर्छ । अरूको अपमान र अश्रद्धा गर्नुहुन्न भनेर जान्नुपर्छ । हामी मानसिक विकृति हटाउन प्रतिबद्ध हुनुपर्छ । यसले जीवनलाई सौन्दर्य थप्न मदत गर्छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :
हामी सबै दाजुभाइ, दिदीबहिनी आआफ्नो क्षेत्रबाट राष्ट्रको निर्माणमा लागौँ । राष्ट्रको हित भए मात्र देशवासीको हित हुन्छ । आपस आपसमा सरसहयोगको भावना राख्दै देशभक्त नागरिकको परिचय दिऔं ।
७. दिइएका वाक्यलाई वर्तमान कालको अपूर्ण पक्षमा परिवर्तन गर्नुहोस् : २
मुना विज्ञान विषय पछिन् । उनले डाक्टर बन्ने कुरा सोचेकी छिन् । उनी बिरामीको सेवा गर्छिन् । सबैले उनको प्रशंसा गर्छन् ।
८. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : २
(क) सम्भावनार्थक भावका फरक फरक क्रियाको प्रयोग गरी चार वाक्यमा आफ्नो देशको वर्णन गर्नुहोस् ।
(ख) दिइएका एक वचनका वाक्यलाई वाक्य ढाँचासहित बहुवचनमा परिवर्तन गर्नुहोस् :
मेरी बहिनी विद्यालय जान्छिन् । उनी राम्ररी पढ्छिन् । उनी विद्यालयमा ज्ञानगुनका कुरा सिक्छिन् । उनी भविष्यमा राष्ट्रसेवा गर्छिन् ।
९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : ४
(क) उसलाई पैसा चाहिएकाले आमासँग माग्यो । (वाक्य विश्लेषण)
(ख) म त निकै थाकें। (भाववाच्य)
(ग) तिमी गीत लेख्न सिक्छौ । (प्रेरणार्थक)
(घ) गुरुले विद्यार्थीलाई भन्नुभयो, “परिश्रम गरे मिठो फल पाइन्छ ।” (अप्रत्यक्ष कथन)
१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
साइबर अपराधको सिकारबाट जोगिन आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलमा चलाइने सामाजिक सञ्जाललगायतका पासवर्ड कसैलाई दिनुहुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । अपरिचित व्यक्ति वा संस्थाबाट आएका इमेल खोल्नुहुँदैन । इमेलमा काम गरिसकेपछि साइन आउट वा लग आउट गर्नुपर्छ । इमेल तथा सामाजिक सञ्जालमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भ्रममा पर्नुहुँदैन । यस्ता इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ । अँ, साच्ची मैले पुलिसलाई फोन गरेको भए त म यसरी फस्ने नै थिइनँ नि ! के गर्नु ? कुनै पनि मेल वा म्यासेन्जरमा लिङ्क आएमा पहिला लिङ्क सही हो वा होइन पत्ता लगाएर मात्र लिङ्कमा क्लिक गर्ने गर्नुपर्छ । त्यसै गरी गैरकानुनी रूपमा अरूको वाइफाइ प्रयोग नगर्ने, मोबाइल हराएमा नजिकको दूरसञ्चार सेवा प्रदायकलाई जानकारी गराई आफ्नो सिम ब्लक गराउन लगाउनुपर्छ ।
प्रश्नहरू
(क) ‘अपरिचित व्यक्ति वा संस्थाबाट आएका इमेल खोल्नुहुँदैन ।’ यस वाक्यलाई करणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित ‘पुलिसलाई’ शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) ‘म यसरी फस्ने नै थिइनँ’ यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) ‘इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ ।’ यस वाक्यलाई मिश्र वाक्यमा बदल्नुहोस् ।
११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : ४
बालस्वास्थ्य र शिक्षामा गरिने खर्च सबैभन्दा उत्पादक लगानी सावित भइसकेको छ । यसैले सार्वजनिक खर्चको विवरण र बाँडफाँटको परम्परागत अवधारणा र अभ्यासमा बालअधिकारमुखी समायोजन आवश्यक छ । उच्च शिक्षा वा उपचारात्मक स्वास्थ्य सेवामुखी बजेट विनियोजन प्रणालीमा जनमुखी सुधार गरेमा बालअधिकारको सम्मान गर्न पुगेको रकम जुटाउन कठिन हुने छैन । राष्ट्रिय ढुकुटीबाट गरिने खर्चमा बालबालिकाले प्राथमिकता पाउन थालेपछि बाह्य सहायता जुटाउन पनि सजिलो हुने छ । निजी क्षेत्रसँग पूँजी मात्र होइन, व्यवस्थापनको सिप र कल्पनाशीलता पनि प्रचुर मात्रामा रहेको छ । राज्यले यथार्थमा नै प्राथमिकता प्रदान गरेका अवस्थामा निजी क्षेत्रलाई बालहितका पक्षमा पहिचान र प्रयोग गर्न सकिने छ । यस्तै बालअधिकार चेतनाको अभावले पनि अहिले बालबालिकाले सास्ती भोगेका छन् । बालअधिकारका पक्षमा जनचेतना जगाउन र समुदायलाई पहिचान गर्न जनसञ्चार माध्यम र गैरसरकारी संस्थानहरूको समन्वित प्रयास प्रभावकारी हुने छ । बालबालिका स्वयम् पनि यस कार्यका निम्ति अत्यन्त उपयोगी माध्यम हुन्छन् । नेपालमा मात्र होइन, संसारभर नै बालसहभागिताबाट हुने लाभ लिनका लागि आवश्यक प्रयासको विशेष खाँचो छ ।
प्रश्नहरू
(क) बालअधिकारको सम्मान गर्न पुग्ने रकम जुटाउन के गर्नुपर्छ ?
(ख) बाह्य सहायता कसरी जुटाउन सकिन्छ ?
(ग) निजी क्षेत्रसँग कुन कुन कुरा प्रचुर मात्रामा छन् ?
(घ) बालबालिका कुन कार्यका निम्ति उपयोगी माध्यम हुन्छन् ?
१२. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् : ४
एक जना बुढा किसान हुनु…… श्रीमती आफ्ना तीनओटा छोरा नहुर्कदै परलोक हुनु छोराहरूको लालनपालन बुढाले नै गर्नु. तीनै जनाको बिहाबारी सम्पन्न गर्नु…….. बुहारीको बुद्धि र विशेषता बुझ्न बुढालाई इच्छा लाग्नु……… प्रत्येक बुहारीलाई छ छ गेडा धान दिनु .. धानका गेडा पछि आफूले माग्न सक्छु भन्नु कान्छीले ती धानका गेडा मिल्काउनु…… माहिलीले ती … जेठीले भने खेतमा रोप्नु…. एक बुहारीहरू छक्क पर्नु.. धानका गेडा बाँसका ढुङ्ग्रामा राख्नु. वर्षपछि बुढाले धान माग्नु कान्छीले भकारीबाट धान झिकेर दिँदा यो त आफूले दिएको धान होइन भन्नु…….. माहिलीले किराले खाएका धान दिनु…… जेठीले पाँच पाथी धान दिनु……… जेठीको बुद्धि देखेर बुढा खुसी हुनु…… प्राप्त वस्तुको सदुपयोग गर्नु नै बुद्धिमानी हो भन्ने सन्देश ।
(ख) वक्तृत्वकला प्रतियोगितामा प्रथम भई पुरस्कृत हुँदा आफ्नो मनमा उठेका भावनालाई समेटी एउटा मनोवाद लेख्नुहोस् ।
१३. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) आदर्श पुस्तक पसल, हेटौंडाका तर्फबाट केही साहित्यिक पुस्तकको माग गर्दै साझा प्रकाशन, ललितपुरलाई लेख्ने चिठीको नमुना तयार पार्नुहोस् ।
(ख) आफ्नो गाउँमा उत्पादन हुने कुनै फलफूल खेतीको प्रवर्धनका लागि एउटा विज्ञापनको नमुना तयार पार्नुहोस् ।
१४. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : २
ससाना कार्यबाट प्राप्त हुने ठुल्ठुला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । ससाना कुरा मात्र हेरौं न ! नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले झरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्कँदा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सेवाग्राहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ । यसरी एकअर्काले आआफ्नो स्थानबाट कर्तव्य निर्वाह गर्दा समाज सभ्य र व्यवस्थित हुन्छ । त्यसैले कर्तव्य पालना अधिकार प्राप्तिको लक्ष्यभन्दा विशिष्ट छ ।
१५. दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : ३
बाल्यकालमा सन्दुक निकै चञ्चले स्वभावका थिए तर त्यहाँको बसाइले उनको जीवन सङ्घर्षशील बन्न पुग्यो । उनी जन्मेदेखि कहिल्यै लामो यात्रामा निस्किएका थिएनन् । त्यसैले घरबाट धेरै टाढा आफन्त कोही नभएको ठाउँमा बस्नुपर्दा उनलाई निकै नरमाइलो लाग्यो । उनले अनेक पीडा र अभावको सामना पनि गर्नुपर्यो । त्यहाँ बस्दा संसारमा आफू एक्लो भएको र आफन्तजति सबै सकिएका हुन् कि जस्तो महसुस गरे । वर्षमा दुईपल्ट पन्ध सोह्र दिन लाग्ने हुनाले चार पाँच वर्षसम्म उनको घर परिवारसँग सम्पर्क हुन सकेन । अहिले जस्तो सञ्चारको सुविधा पनि त्यो समयमा थिएन । वर्ष दिनमा एक पटक उनलाई भेट्न पुग्ने बुबासँगै आमाले पठाइदिएका कोसेलीपातको पोकोमा सायद उनी आफ्नी आमाको अनुहार देख्थे । बुबालाई भेट्न पाउँदा उनको खुसीको कुनै सीमा हुँदैनथ्यो ।
१६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : ४+४=८
(क) दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
खेतमा गोरु नारेर तन्नेरी हुन्छ
र बेग्लाबेग्लै मान्छेका ओठहरू भएर
दिनभरि फलाकिरहन्छ
दिनभरि हतारिरहन्छ
आज जन्त जानुपर्छ, दलबिरेको बिहे छ
आज पर्म जानुपर्छ, घिसिङको छानो छाउनु छ
आज धामी बसाल्नुपर्छ, हिरेको छोरो सिकिस्त छ
प्रश्नहरू
(अ) कवितांशमा ग्रामीण किसानको दैनिकी कसरी बितेको छ ?
(आ) कवितांशमा कस्तो परिवेशको चित्रण गरिएको छ ?
(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
को बस्छ यस्तो ठाउँमा ? अघाइयो मलाई त यहाँ जे पनि गन्हाउने पो हुन लाग्यो । खान थाल्यो भुटुन गन्हाउने, पिउन थाल्यो पानी गन्हाउने, रेल गन्हाउने, यो त ठाउँ नै गन्हाउने पो रहेछ । आफ्नो गाउँमा त भकारो कै छेउमा गुन्द्री हालेर सुत्दा पनि गन्हाउँदैनथ्यो, मलकै भारी बोक्दा पनि गनाउँन्नथ्यो । फेरि तातो पानी, तातो हावा, यस्तो दुःख खाएर को बस्न सक्छ यहाँ । भोकै परे पनि बरु आफ्नै देशमा कुवाको चिसो पानी पिएर वरको चौतारीमा शीतल हावा खाएर सुतौला नि ।
प्रश्नहरू
(अ) एकाङ्कीका पात्रलाई विदेश मन नपर्नुको कारण के हो ?
(आ) एकाङ्कीको अंशमा देशप्रेम कसरी झल्किएको छ ?
१७. यदि तपाईं ‘घरझगडा’ कथाको पात्र राजेन्द्रलक्ष्मीका ठाउँमा हुनुभएको भए घरझगडालाई कसरी मिलाउनुहुन्थ्यो ? कथाका आधारमा तर्कसहित लेख्नुहोस् । ४
१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै !
(ख) हामी दुबै चाहन्छौँ, एउटा त्यस्तो दुनियाँ सिर्जना गरौं, जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् ।
१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) दिइएको कथांश पढी सोधिएको प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
घटनालाई बिर्सन प्रयत्न गर्दै कृष्ण राय निदाउने निहुँले बिछ्यौनामा बड्ड लडे । शत्रुताको पनि कस्तो व्यापक सम्बन्ध रहेछ ? दुनियाँमा कोही पनि मित्र हुँदैनन् सबै शत्रु, सबै बैरी नै हुन्छन् । कसले भन्छ अकारण नै कोही शत्रु हुँदैन ? माने अकारण कोही कसैको शत्रु हुँदैन तर झगडाको निहुँ कति सजिलै पाइन्छ ? कृष्ण रायले धेरैसँग सङ्गत गरेनन् तर जतिसँग गरे सबैलाई तिनीसँग ‘बापवैर साध्ने’ कुनै न कुनै निहुँ दिए । कस्तो अचम्म, निर्दोष क्रामा पनि विषालु साप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ ।
प्रश्न :
(अ) ‘शत्रुताको व्यापक सम्बन्ध हुन्छ’ भन्ने भनाइलाई कथांशसहित पाठका आधारमा पुष्टि गर्नुहोस् ।
(ख) दिइएको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :
आयुर्वेद चिकित्साका धेरै सकारात्मक पक्ष हुनाका साथै यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको हुँदा यसको वर्तमान सुन्दर र भविष्य उज्यालो देखिन्छ । यसमा पञ्चकर्म आयुर्वेदको महत्त्वपूर्ण उपचार प्रक्रिया हो । शरीरको शुद्धीकरण एवम् रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि यसको उपयोग गरिन्छ ।
प्रश्न :
(अ) आयुर्वेद चिकित्साको लोकप्रियता किन दिनानुदिन बढ्दै गएको छ ? निबन्धांशसहित पाठका आधारमा समीक्षा गर्नुहोस् ।
२०. कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ७
(क) विकासमा जनसहभागिता
(ख) राष्ट्रप्रति मेरो कर्तव्य
(ग) नेपालमा पर्यटन व्यवसाय
