First Term Examination Nepali 2082
प्रथम त्रैमासिक परीक्षा २०८२
कक्षा : ११ समय : २ घण्टा पूर्णाङ्क : ५०
विषय : अनिवार्य नेपाली उत्तीर्णाङ्क : १८
१. दिइएको अनुच्छेदका रेखाङ्कित वर्णहरूको उच्चारण स्थान र प्राणत्व छुट्याई लेख्नुहोस् । (३)
जीवन एउटा प्रवाहशील नदी हो । यो सामुद्रिक नाविकहरूको यात्रा जस्तै हो, जसलाई हामी निरन्तर दौडाइरहेका हुँदा रहेछौं ।
२. अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् । (२)
घाम लगभग चर्कदै थियो र म – कृष्ण, गाउँ पुग्ने लालसमा एकोहोरो एक सुरमा तर्कनाहरूबिच रम्दै धुलौटे सडक नाप्दै थिएँ ।
३. दिइएका प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) दिइएको अनुच्छेदबाट दुई दुईओटा तत्सम र आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस्।
विज्ञान र प्रविधिले विश्वमा छिटोछिटो परिवर्तन ल्याएको छ । यसमा मोवाइल, कम्प्युटर, इन्टरनेट आदि उपकरणहरुको ठुलो भूमिका रहेको छ ।
(ख) दिइएका शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस् ।
वकिल, शिक्षक, कर्मचारी, अभिनेता
४. दिइएको अनुच्छेदबाट दुईओटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् । (२)
लोकतन्त्रको उपभोग गर्दा अधिकारको खोजी गर्दै कर्तव्य पालना गर्नुपर्छ । देशको अर्थतन्त्र बलियो बनाउन नागरिकहरु लाग्नुपर्दछ । तबमात्र गर्व गर्न लायक इतिहास कोरिन्छ ।
अथवा
दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द र एउटा उखान पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
विदेश गएको भन्ठानेको मेरो साथी एकदिन फुत्त घरमा आइपुग्यो । मेरो काम भएकोले ऊ आउँदा मलाई त ढुङ्गा खोज्दा देउता मिल्यो भने झैँ भयो । तर एकैछिनमा ऊ लुसुक्क कता लाग्यो मलाई भने हात्ती आयो हात्ती आयो फुस्सा भने झैँ भयो ।
५. कुनै एक प्रश्नको उत्तर दिनुहोस् । (२)
(क) अनुच्छेदबाट दुईओटा उपसर्ग र दुर्इओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
विज्ञान र प्रविधि, सूचना र सञ्चारले विश्व तीव्र रुपमा विकसित भयो । मानिसका असीमित इच्छाहरु पनि पूरा हुँदै गए । यसले सामाजिक, सांस्कृतिक मूल्य मान्यतालाई पनि परिवर्तन गर्दै लग्यो ।
(ख) अनुच्छेदबाट दुईओटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी दोहोरिएको अंश छुट्याउनुहोस् :
गाउँघरमा समाजसेवा गर्नेहरुबिच परोपकारजस्ता मूल्यहरूले भरिएको जीवन अनि ससाना बच्चा, छरछिमेक आदिको पनि सरसल्लाहबाट चल्नुपर्ने दायित्व हुन्छ । सानाठुला सबै मानिसले झैझमेला नहोस् भन्नेतर्फ सचेत हुनु आवश्यक छ ।
६. दिइएको प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) दिइएको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
ऊ सहरमा प्रसिद्ध नायक थिए । उनी कवयित्री बन्ने धुनमा थिइन् । उसकी दिदी सहरमा छिन् । उसले खाजा खाएछ ।
(ख) दिइएको अनुच्छेदलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
सम्पादकले बैठक आह्वान गर्यो । साथीहरुले भ्रमणका कुराहरु सुनाए । गीतकार गीत रचना गर्दै थियो । उनीहरु पक्कै घर फर्के होलान् ।
७. तलका प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) तलका गद्यांशबाट दुईओटा उद्देश्य र विधेय तथा दुईओटा उद्देश्य विस्तार र विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस् :
कवि भूपी शेरचनले प्रगतिवादी कविता लेखे । उनका कवितालाई पाठकहरुले धेरै मन पराए । अरु थुप्रै कविहरुले पनि उनको प्रशंसा गरे । नेपाली जनताहरुले धेरै सम्मान दिएका छन् ।
अथवा
दिइएको अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् :
कविले एउटा कविता लेखेकी थिईन् । छोरीले विद्यालयमा पुरस्कार पाएछ । मेरो खेल देखेर दाजु हाँस्यो । आकाशमा चराहरु उडेको थियो ।
(ख) दिइएको वाक्यलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमीले कविता लेखेका रहेछौ । ऊ मलाई कहिल्यै गुनासो गर्दैनथ्यो । यसपटक जसरी पनि पोखरा जान्छु । हिजोको भोजमा मैले केही खाइनँ ।
अथवा
दिइएका वाक्यहरूलाई प्रत्यक्ष भए अप्रत्यक्ष र अप्रत्यक्ष भए प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :
(अ) गुरुले भन्नुभयो, “एउटा राम्रो कविता लेखेर सुनाऊ ।”
(आ) शिक्षामन्त्रीले कम्प्युटर शिक्षा पढाउने आदेश दिनुभयो ।
(इ) डाक्टरले बिरामीलाई भन्यो, “समयमै औषधी खानुहोस् ।”
(ई) रमेशले साथीसँग आफूलाई फोन नगरेकोमा गुनासो गर्यो ।
८. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको छोटो उत्तर लेख्नुहोस् : (४)
जीवविज्ञानका विषयमा सर्वप्रथम आफ्ना विचारहरू प्रकट गर्ने एक महान् युनानी दार्शनिक अरस्तु हुन् । उनकै पालादेखि नै जीवविज्ञानको क्रमबद्ध रूपमा विकास भएको हो । उनले नै जीवजन्तुका विभिन्न पक्षका विषयमा आफ्ना विचार प्रकट गरेका छन् । जीवविज्ञानको एउटा शाखा प्राणीविज्ञान वा प्राणीशास्त्र हो । अङ्ग्रेजीमा यसलाई जुलोजी भनिन्छ । यसले जीवलाई सङ्केत गर्दछ । जीव पनि प्राणी र वनस्पति आदि विभिन्न प्रकारका हुन्छन् । विज्ञानको एक शाखा जसले प्राणीहरूको सूक्ष्म अध्ययन गर्दछ, त्यो नै प्राणीविज्ञान हो । यसअन्तर्गत विभिन्न प्राणीहरूका बारेमा अध्ययन अनुसन्धान गरिन्छ । प्राणीशास्त्रको अध्ययन विभिन्न क्षेत्रसँग गाँसिएको हुन्छ । यसको अध्ययन शाखा पनि बृहत् छन् । यसले चिकित्सा विज्ञान, नर्सिङ विज्ञान, आयुर्वेद विज्ञान, प्रयोगशाला विज्ञान आदि विभिन्न विषयको गहन अध्ययन गर्दछ । यो त हाम्रो दैनिक जीवनसँग पनि जोडिएर आएको छ । प्राणीशास्त्रको अध्ययनले हामीलाई प्रकृतिसँग नजिक बनाउँछ । यसले गर्दा मानिस र प्रकृतिबिचको दूरी कम गर्दछ । हरेक प्राणी यस धर्तीका अभिन्न अङ्ग हुन् । हामीले तिनीहरूको सुरक्षा गर्नुपर्छ भन्ने ज्ञान लिन सकिन्छ । यदि प्राणीको दोहन भएमा जैविक विविधतामा ह्रास आई पृथ्वी नै सङ्कटमा पर्न सक्छ । किनकि प्रत्येक प्राणी हाम्रो पारस्परिक चक्रका लागि आवश्यक छन् । तसर्थ प्राणीशास्त्र जीवन जगत्को महत्त्वपूर्ण अङ्ग हो ।
प्रश्नहरुः (क) प्राणीशास्त्रले कुन विषयको अध्ययन गर्छ ?
(ख) जीवजन्तुको दोहनले प्रकृतिमा कस्तो असर पर्न सक्छ ?
(ग) प्राणीशास्त्रको अध्ययनले हामीलाई कसरी प्रकृतिसँग नजिक बनाउँछ ?
(घ) ‘दोहन‘ र ‘पारस्पारिक‘ शब्दको अर्थ लेख्नुहोस् ।
९. दिइएको अनुच्छेदलाई एक तृतीयांशमा सारांश लेख्नुहोस् । (३)
नेपाललाई सगरमाथाको देशका साथै नदीनालाको देश पनि भनिन्छ । नेपालमा ठुला मझौला र साना गरी छ हजारभन्दा बढी खोलानालाहरू बग्दछन् । यीमध्ये कतिपय स्रोतहरू हिमालयका हिमजलबाट परिपोषित भएका छन् । नेपालबाट बग्ने नदीनालाहरूबाट १७० अरब क्युबिक मिटर पानी बहने गर्दछन् । यो जलप्रवाह गङ्गा नदीमा मिली बङ्गालको खाडीमा पुग्दछ । यस पानीबाट हामीले खास उपयोगिता लिन नसकेका मात्र होइनौं अपितु आफ्नो देशको मूल्यवान् माटालाई समेत यसले देशबाहिर पुयाएको कुरा सर्वविदितै छ । यसरी सम्भाव्य आर्थिक मेरुदण्डका रूपमा रहेको जलसम्पदालाई उपयोगमा ल्याई देशमा विद्यमान खाद्यान्न, ऊर्जा र अन्य समस्याहरूको निराकरण गर्नु आजको चुनौती रहेको छ । देशको आर्थिक विकासका लागि विद्युत् शक्ति महत्त्वपूर्ण र सर्वोपरि देन हुन सक्छ । नेपालमा उपलब्ध जलसम्पदाबाट प्रचुर मात्रामा जलविद्युत् शक्तिको विकास गर्ने गुन्जायस भएको र कोइला, ग्याँस, खनिज, तेल आदि अन्य शक्तिको स्रोत पनि पत्ता लागिसकेको हुँदा यी सबै ऊर्जा शक्तिको विकास गर्नेतर्फ जोड दिएर अघि बढ्नु आजको समयको माग हो ।
१०. देशका युवापुस्ता रोजगारी र अध्ययनको सिलसिलामा विदेशिने प्रवृत्ति बढेको छ । यसलाई कसरी रोक्न सकिन्छ ? १२५ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस् । (४)
११. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् । (४)
(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र
वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र
गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो
पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।
प्रश्नहरू : (अ) नेपालीहरूको कस्तो पौरखले नेपालको रचना भएको हो ?
(आ) हाम्रा वीरपुर्खाको गौरव गाथालाई कवितांशका आधारमा वर्णन गर्नुहोस् ।
(ख) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् :
संस्कृति हाम्रो परिचय हो, हाम्रो पहिचान हो र हाम्रो अनुभूति हो । संस्कृति हाम्रो बोल्ने, विचार गर्ने र बाँच्ने तरिका पनि हो । हाम्रो संस्कृति बाँच्नुपर्छ, त्यसैले हाम्रा सांस्कृतिक मूल्यहरू बाँच्नुपर्छ । दसै हाम्रो संस्कृति हो, तिहार हाम्रो संस्कृति हो । तिज, बुद्ध पूर्णिमा, छठ, उँधौली, उँभौली, ल्होसार, गौरा, माघी, सिरुवा, क्रिसमस, इद सबै हाम्रा संस्कृति हुन् । सभ्यताको यस यात्रामा म बारम्बार सोध्छु र सोच्छु, यस्ता सुन्दर अवसरलाई हामीले सदुपयोग गर्नैपर्छ । संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ, भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन् । ती कुरा हट्नुपर्छ र संविधानले यसको सुनिश्चितता पनि गरेको छ ।
प्रश्नहरू (अ) संस्कृति भनेको के हो ?
(आ) संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषयहरू के के हुन् ?
१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् । (७)
(क) ‘गाउँको माया’ कथामा कस्तो समाजको चित्रण गरिएको छ ? विवेचना गर्नुहोस् ।
(ख) सत्यनिष्ठा र समतामूलक समाजको स्थापनामा योगमायाले दिएको योगदानको चर्चा गर्नुहोस् ।
१३. दिइएका मध्ये कुनै एक शीर्षकमा २०० शब्दसम्ममा नघटाई निबन्ध लेख्नुहोस् ।(७)
(क) नेपालको जलस्रोत (ख) राष्ट्रप्रति मेरो कर्तव्य
(ग) प्राविधिक शिक्षा : आजको आवश्यकता
समाप्त
