दोस्रो त्रैमासिक परीक्षा
द्वितीय त्रैमासिक परीक्षा २०८२
कक्षा : ९ (नौ) पूर्णाहक : ७५
विषय : नेपाली समय : ३ घण्टा उत्तीर्णाङ्क : २७
तलका सबै प्रश्नहरू अनिवार्य छन् ।
१. समूह ‘क‘ मा दिइएका शब्दको अर्थको समूह ‘ख‘ बाट पहिचान गरी जोडा मिलाउनुहोस्: (२)
समूह ‘क‘ समूह ‘ख‘
वसन गर्भवती
अनुपम कपडा, वस्त्र
दोजिया उपमा नभएको, बेजोड
मियो चिसो हावा, शीतलहर
दाइँ गर्न खलामा गाडिएको खम्बा
२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : (२)
कुनै साल त पृथ्वीमा एक थोपो पानी नपरेको पनि उदाहरण पाइन्थ्यो । सुक्खा लागेर धर्ती मरुभूमितुल्य हुन्थ्यो । सबै मानिस आकाशतिर फर्केर हेर्थे तर पातालमा पानीको अभाव भएको कुरा कसले पो बुझ्थ्यो र ?
(क) ‘पृथ्वी’ को पर्यायवाची शब्द ……………… हो ।
(ख) ‘पाताल’ को विपरीतार्थी शब्द…………….हो ।
(ग) ………………अनेकार्थी शब्द हो ।
(घ) ‘पानी’ को लघुतावाची शब्द …………… हो ।
३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : (२)
नेताले गाउँमा बजेट त ल्याए तर हात्तीको मुखमा जिरा भने झैँ भयो । जनताले गुनासो गरे पनि झट्ट नसुन्ने बरु काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने झैँ तिनीहरु सरासर आफ्नै बाटोमात्र हिँड्छन् ।
४. (क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (१)
(क) (अ) बिबिधता (आ) विविधता (इ) विवीधता (ई) बिवीधता
(ख) (अ) पृस्ठभूमी (आ) पृष्ठभुमि (इ) पृष्ठभूमि (ई) पृश्ठभूमि
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : (२)
रामनाथले एतिन्जेल मन भित्र गुम्सीएका तितो ओकले । आनन्दी रुन छोडी पतिको मूख हेरी टोलाइन् ।
५. रेखाङ्कित शब्दका शब्दवर्ग छुट्याउनुहोस् : (३)
सानो छोरा पनि नफर्किने सुरसार देखियो त्यसैले आनन्दीको मनमा सधैँ चिन्ताको बादल पो मडारिन थाल्यो ।
६. तलका दुवै प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेद पढी दुईओटा उपसर्ग र दुईओटा प्रत्यय शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् : (२)
कुलतमा नलागुन्, कुबाटोमा नहिँडुन् भनेर अभिभावकहरु आफ्ना बालबालिकाहरुको बारेमा सोच्छन् । तर आजका सन्तानहरु होसियार नहुँदा दुःखी हुन्छन् । सचेत र शिक्षितहरुको घरमा भने अरुमा भन्दा फरकपन पाइन्छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् : (२)
लाम्खुट्टे नियन्त्रणका लागि सहरबजारका मानिसहरुले सरसल्लाह गरे । सबैले आआफ्ना सुझावहरु दिए । तर आफ्नै साथी र भाइहरु आफूलाई जान्नेसुन्ने ठाने पनि अरुलाई गोबर झैँ गणेश जस्तै ठान्थे । खासखुस नगर फटाफट एउटा निर्णय गरौँ भनेर सबैजना लागे ।
७. दिइएको अनुच्छेदलाई अभ्यस्त भूतकालमा परिवर्तन गर्नुहोस् : (२)
सन्तोष साइकल चलाउँछ । गायक गीत गाउँदैछ । साहित्यकारले साहित्य लेख्यो । बालक धुरुधुरु रोएछ ।
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (२)
(क) आज्ञार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा भाइलाई पढ्नको लागि अनुरोध गर्नुहोस् ।
(ख) दिइएको अनुच्छेदलाई प्रथम पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
तिमीले उपन्यास पढ्यौ । ऊ फुटबल खेल्दै थियो । उसले सिनेमा हेर्यो । उनीहरु शैक्षिक भ्रमणमा जादैछन् ।
९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (४)
(क) जनताले आन्दोलन गरे । देशमा लोकतन्त्र आयो । (वाक्य विश्लेषण)
(ख) सविनद्वारा कविता लेखियो । (कर्तृवाच्य)
(ग) प्रशान्तले व्यायाम गरेछ । (प्रेरणार्थक)
(घ) समीरले भन्यो, “म भविष्यमा समाजसेवा गर्छु ।” (अप्रत्यक्ष कथन)
१०. दिइएको अनुच्छेद पढी उत्तर लेख्नुहोस् : (४)
“ए मामा ! त्यसो भए तपाईं भगवानलाई भेट्न आजै गइहाल्नुहोस् । यस्तो कुरामा ढिलो गर्नु उचित हुँदैन । बरु, जाँदा भगवानसँग मेरो परमआयु पनि सोधेर आउनुहोस् है ।” राक्षसले हुन्छ त भनेछ तर ऊ गएनछ किनभने उसलाई एकातिर भगवानले के भन्नुहुन्छ भन्ने भय रहेछ भने अर्कातिर राक्षसलाई बसी बसी खाने बानी परेर अल्छी भइसकेको रहेछ । कालजितले दिनदिनै यो कुरो दोहोऱ्याउन थालेपछि र सारै करकर गरेपछि राक्षस एक दिन भगवानलाई भेट्न भनेर हिँडेछ । एकहप्ता जति त्यो राक्षस त्यस गाउँबाट अलप भएछ । मान्छेको बस्तीमा बसी काल नआएका मान्छेलाई जथाभावी खाएर नियम कानुन मिच्दै हिँडेको राक्षसलाई भगवानले पक्कै पनि हप्काएको भएर होला निन्याउरो मुख लगाउँदै राक्षस फर्केर आएछ । यता राक्षस फर्केर आएपछि यसलाई कसरी मार्ने ? भन्ने युक्ति सोच्दै कालजित त्यसैको तयारीमा लागेछ । नभन्दै एक हप्ता पुगेका दिन राक्षस आइपुगेछ । तिनीहरूका बिच कुराकानी चलेछ ।
प्रश्नहरू :
(क) ‘यस्तो कुरामा ढिलो गर्नु उचित हुँदैन ।’ यस वाक्यलाई करणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित शब्द ‘राक्षसले‘ को कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) ‘राक्षसले हुन्छ त भनेछ तर ऊ गएनछ ।’ यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गरी लेख्नुहोस् ।
(घ) ‘एकहप्ता जति त्यो राक्षस त्यस गाउँबाट अलप भएछ ।’ वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : (४)
कवि स्रष्टा हो, ऊ सृष्टि गर्छ । सय पङ्क्तिमा लेख्दा पनि जुन कुरा व्यक्त गर्न सकिदैन, कविले त्यसलाई एकै पङ्क्तिमा राम्ररी भन्न सक्छ । प्रभातका एकै किरणमा सारा रङ र रूपको रमाइलो ढोका उघ्रन्छ । एकै धर्के प्रिय मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ । आमाको एउटै काखमा आशीर्वादका अनन्त फूल फक्रिन्छन् । स्रष्टाका कलाको तेस्रो आँखाले अर्कै रूप र अर्कै अभिप्राय देख्छ । एक जना अन्तरिक्ष यात्रीले भनेका थिए, “यहाँबाट मैले सृष्टि सौन्दर्यको जो विचित्र रङ र आभा देखेको छु त्यसको वर्णन म गर्न सक्दिनँ । यसका निम्ति कवि नै चाहिन्छ ।” सृष्टिमा जे जति छ, त्यति नै यति विचित्र छ कि त्यसको भाषा पाइँदैन तर कविका विचित्र वाणीमा त्यसको महिमा मुखरित हुन्छ । वैशाखी रातमा कुहुकुहु गर्दै जसरी कोइली विस्मय र आश्चर्यमय भई पखेटा खोलेर उड्छ र वसन्तलाई बोलाउँछ । बिहानीपख सूर्यका किरण जसरी छिरबिराउन थाल्छन् त्यसरी नै धोबिनी चरीका कलकण्ठबाट उसका चिरबिर वाणी चिरबिराउन थाल्छन् । अरू कोही एक शब्द पनि बोल्न सक्दैनन् तर यसमा कवि सहस्र सुन्दर र सरल शब्द बोल्न सक्छन् । यसरी कविको कवित्व शक्ति अतुलनीय हुन्छ ।
प्रश्नहरु :
(क) आशीर्वादका अनन्त फूल कहाँ फक्रिन्छन् ?
(ख) अन्तरिक्ष यात्रीले कविका बारेमा कस्तो अभिव्यक्ति दिएका छन् ?
(ग) सृष्टिको विचित्रता केमा मुखरित हुन्छ ?
(घ) ‘कवि स्रष्टा हो, ऊ सृष्टि गर्छ’ भन्नुको आशय के होला ?
१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : अरुणा लामा
जन्म : वि.सं. २००२ साल भदौ २४ गते
जन्मस्थान : भारतको दार्जिलिङ
विशेषता :
– स्वरका सुकोमलता र सुमधुरता
– अन्तर्मनका मर्म र करुणाको स्वर प्रतिध्वनित
– विशिष्ट भावपूर्ण र करुणापूर्ण स्वर
– जातीय सचेतना र मानवीय संवेदनाको उत्कर्ष
सम्मान :
: सीताराम प्रज्ञा प्रतिष्ठानले स्वरकिन्नरीको रूपमा सम्मानित, छिन्नलता पुरस्कारद्वारा सम्मानित, कान्छी चलचित्रका लागि उत्कृष्ट गायिका
पुरस्कार :
: ‘उर्वशी’ चलचित्र पुरस्कार, भारतस्थित कलकत्ताको ‘दिसारी’ पुरस्कार
मृत्यु :
: वि.सं. २०५४ माघ २२ गते ।
(ख) ‘पर्यटनको महत्त्व‘ शीर्षकमा संवादको नमुना तयार पार्नुहोस् ।
१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) विद्यालयमा छात्राबासको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् ।
(ख) गोरखा प्रतिभा मञ्चद्वारा आयोजित नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका छात्रलाई दिइने बधाई पत्रको नमुना तयार पार्नुहोस् ।
१४. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : (२)
पर्यावरणमा भएका विभिन्न स्रोतसाधनको प्रयोग गरेर नै हाम्रो जीविका चलेको हुन्छ । पृथ्वीमा भएका प्राणीमध्येको मानिस सर्वोत्कृष्ट प्राणी भएकाले ऊ आफ्नो चेतना र ज्ञानको प्रयोग गरी पृथ्वीमा उपलब्ध स्रोतसाधनको उत्खनन र प्रशोधन गरी भरपुर प्रयोग गर्छ । भूमिगत तेल, भूमिगत पानी, विभिन्न धातु, वनजङ्गल, जडीबुटी, नदीनाला सबैको प्रयोग गर्न सक्ने क्षमता मानिसमा रहेको छ । कतिपय मानिसले यी स्रोतसाधन प्रयोग गरी मनग्य आर्थिक उपार्जन पनि गर्ने गरेका छन् । यस्ता स्रोतसाधनलाई नवीकरणीय र अनवीकरणीय स्रोत गरी दुई वर्गमा विभाजन गर्न सकिन्छ । एक पटक प्रयोग गरिसकेपछि पनि पुनः उपयोग गर्न सकिने स्रोतलाई नवीकरणीय ऊर्जा स्रोत भनिन्छ । जमिन, वनजङ्गल, जडीबुटी, भूमिगत पानी आदि नवीकरणीय ऊर्जाका स्रोत हुन् । एक पटक प्रयोग गरिसकेपछि फेरि उपयोग गर्न नसकिने स्रोतलाई अनवीकरणीय स्रोत भनिन्छ ।
१५. दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : (३)
करेसाबारीमा खेती गर्न उपयुक्त हुने गरी मौसमका आधारमा तरकारीलाई हिउँदे, बसन्ते र बर्खे तरकारीका रूपमा पनि वर्गीकरण गरिन्छ । नेपालमा भदौदेखि असोजसम्म बिउ बेर्ना रोपेर कात्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारीलाई हिउँदे तरकारी भनिन्छ । यो समूहका तरकारी बालीको उत्पादन लिन चिसो मौसम र छोटो दिनको आवश्यकता पर्छ । पुसदेखि फागुनसम्म बिउ र बेर्ना रोपेर फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारीलाई बसन्ते तरकारी भनिन्छ । वैशाखदेखि असारसम्म बिउ बेर्ना रोपी असारदेखि भाद्रसम्म उत्पादन लिन सकिने तरकारीलाई बर्खे तरकारी भनिन्छ । यो समूहका तरकारीमा लामो समयको वर्षा सहने गुण हुन्छ । यसो हुँदाहुँदै पनि हिजोआज बेमौसमी खेतीका कारण जुनसुकै मौसममा जुनसुकै तरकारीको खेती गर्ने चलन पनि चलेकै छ ।
१६. तलका प्रश्नको उत्तर दिनुहोस् : (४+४=८)
(क) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् :
भोलिपल्ट बिहान गाडी चढेर कञ्चनजङ्घा आधार शिविरलाई गन्तव्य बनाई झापाको बिर्तामोडबाट चारआलीतर्फ लाग्यौँ । हामी पूर्वपश्चिम राजमार्गलाई चारआलीनेरै छाडेर मेची राजमार्गतर्फ उकालियौँ । सात घण्टाको पहाडी बाटामा कैयौँ पहाडको फन्को मार्दै साँझ ताप्लेजुङ पुग्यौँ । मेची राजमार्गमा गुड्दै गर्दा पहाडका मायालु काखमा बसेका मानव बस्ती, मनोरम थुम्काथुम्की र तरेली परेका खेतबारी विपरीत दिशातिर वेगिइरहेको भान हुन्थ्यो । मान्छे आफ्नै खाले दिनचर्यामा देखिन्थे । कोही खेतबारीमा पसिना चुहाउँदै गरेका, कोही कोही सडकछेउ बसेर फलफूल बेचिरहेका, कोही घाँसको भारी त कोही दाउरा बोकेर घर फर्किरहेका । यी दृश्य हेर्दा मैले गाउँमा छँदा ठुलीवनबाट आफैले घाँस दाउरा गरेको झलझली सम्झेँ ।
प्रश्नहरू (क) माथिको अनुच्छेदमा कस्तो भौगोलिक परिवेश वर्णन गरिएको छ ?
(ख) त्यहाँका मानिसहरुले अपनाउने पेसा व्यवसाय के कस्ता थिए ?
(ख) दिइएको जीवनीको अंश पढी सोधिएको प्रश्नको उत्तर भन्नुहोस् :
सत्यमोहन जोशी नेपाली भाषा, लोक साहित्य, संस्कृतिलगायतका क्षेत्रमा अनवरत् रूपमा योगदान दिने विशिष्ट व्यक्तित्व हुन् । उनको जीवनका महत्त्वपूर्ण योगदानमा प्रज्ञा प्रतिष्ठानबाट गाईजात्रा महोत्सवको प्रवर्धन, कलाकार अरनिकोबारे अन्वेषण, प्राचीन नेपाली मुद्राको खोजी आदि अविस्मरणीय छन् । त्यस्तै नेपाल भाषा एकेडेमीको स्थापना, चिनियाँ कविताको नेपाली अनुवाद तथा कर्णाली लोकसंस्कृतिको अनुसन्धानमा समेत उनको अहम् योगदान रहेको छ । उनी व्यक्तिगत जीवनभन्दा राष्ट्र र राष्ट्रियताका लागि अनवरत रूपमा समर्पित हुने कर्मशील व्यक्ति हुन् । सत्यमोहनमा रहेको अथक प्रयास र कामप्रतिको लगावबाट हामी सबै निष्ठावान् भई देशसेवामा लाग्यौँ भने सजिलै देशको काँचुली फेर्न सकिन्छ भन्ने सन्देश प्राप्त गर्न सकिन्छ । सत्यमोहन जोशीले नेपाली भाषा र नेपाल भाषा दुवैमा दर्जनौँ कृतिको रचना गर्नु चानचुने कुरा होइन । बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रलाई सशक्त र भावनात्मक रूपमा एकताको सूत्रमा बाँध्ने उनका प्रेरणादायी कार्यप्रति सिङ्गो राष्ट्र गौरव बोध गर्दछ ।
प्रश्नहरू : (क) सत्यमोहन जोशीले दिएका योगदानहरु के के हुन् ?
(ख) सत्यमोहन जोशीको जीवनीबाट पाइने सन्देश के हो ?
१७. दिइएको प्रश्नको तार्किक उत्तर लेख्नुहोस् : (४)
‘स्वाद’ कथाका पात्र कर्मचारीले साबुन नभई ननुहाउने तर गरिब जस्तो भएर बाँच्ने होइन भन्ने विचार तपाइँलाई कस्तो लाग्यो ? आफ्ना तर्क राख्नुहोस् ।
१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : (४)
(क) भइन् पृथ्वी तन्ना, चउर छ गलैंचा मखमली
दुलाहाको रातो झलल पगरी भो हिमचुली ।
(ख) यो आयु भावीले जुन दिन जति लेख्यो, लेख्यो । त्यसलाई घटाउन पनि सकिँदैन, बढाउन पनि सकिँदैन ।
१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (७)
(क) तलको कविताको अंश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
जन्मे यहीँ बुद्ध अनि भृकुटी र सीता
यही माटामा कर्मयोग सिकाउँछ गीता
ज्ञानभूमि, तपोभूमि, स्वप्नभूमि यही
गर्वसाथ गाउने गर्छ, जय धर्ती माता !
(अ) सारङ्गीमा देश कवितामा प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताको कस्तो चित्रण गरिएको छ ? विवेचना गर्नुहोस् ।
(ख) तलको कथांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
सानो छोरा पनि नफर्किने सुरसार देखेपछि आनन्दीको मनमा सधैं चिन्ताको बादल मडारिन थाल्यो । सानो छोराको बिहे गरी नातिनातिना खेलाई सुखपूर्वक बाँकी जीवन बिताउने उनको सपना तुहिएकामा उनी हुनसम्म विचलित भइन् । उनलाई अब संसारै अँध्यारो भए जस्तै लाग्न थाल्यो । उनी आफूप्रति दिन प्रतिदिन लापरवाह गर्न थालिन् । रामनाथ मनमनै बिरक्तिएर आफ्नै काममा व्यस्त रहन थाले । आनन्दीका दिन तथा रातहरू बिरानोसित बित्न थाले ।
- रमानाथ र आनन्दीले सन्तानबाट कस्तो आशा राखेका थिए ? कथाको आधारमा विवेचना गर्नुहोस् ।
२०. कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : (७)
(क) मेरो जीवनको लक्ष्य
(ख) समाज रुपान्तरणमा विद्यार्थीको भूमिका
(ग) विज्ञान र प्रविधिको प्रयोग
समाप्त
Download
Second Term 2082
