Final Term Examination Nepali 2082
वार्षिक परीक्षा २०८२
कक्षा : ११ समय : ३ घण्टा पूर्णाङ्क : ७५
विषय : अनिवार्य नेपाली उत्तीर्णाङ्क : २७
१. दिइएको अनुच्छेदका रेखाङ्कित वर्णहरूको घोषत्व र प्राणत्व लेख्नुहोस् ।(३)
योगमाया लैङ्गिक विभेदको पनि कट्टर विरोधी थिइन् । उनी बालविवाहको विपक्षमा उभिन्थिन् तर स्वैच्छिक विधुवा विवाहको समर्थन गर्थिन् ।
२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : (३)
जिवन यउटा प्रवाहसिल नदी हो । यो सामुद्रिक नाविक हरुको यात्रा जस्तै हो, जस लाई हामी निरन्तर दौडाइरहेका हूँदा रहेछौँ ।
३. अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् । (२)
त्यस सानीमा कुनै प्रकारको सामञ्जस्य रहेनछ ! आशाले अझसम्म बुद्धिलाई धोखा दिइरहेको थियो, सानी शिथिल,क्लान्त झैँ हुन गई । उभिइरहनमा शरीर साह्रै नै गलेको जस्तो भान हुन लाग्यो र त्यसै द्वारमा थचक्क बसी ।
४. दिइएका प्रश्नको उत्तर दिनुहोस् । (२+२ = ४)
(क) दिइएको अनुच्छेदबाट दुई दुईओटा तत्सम र आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस्।
विद्यालयमा शिक्षा, अनुशासन र सहकार्य आवश्यक हुन्छ । विद्यार्थीहरूले किताब, टेबल र कम्प्युटर प्रयोग गरी ज्ञान आर्जन गर्छन् । ज्ञान आर्जन र प्रगतिका लागि मोबाइल र प्रोजेक्टर उपयोगी हुन्छन् ।
(ख) दिइएका शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस् ।
विकास, उन्नति, प्रगति, गति
५. दिइएको अनुच्छेदबाट तीनओटा पारिभाषिक/प्राविधिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् । (३)
संसदमा नियमित अधिवेशन नहुँदा अध्यादेशमार्फत् ऐन, कानुनहरु ल्याइन्छ । यो त संविधानमा नै भएको प्रावधान हो । प्रधानमन्त्रीले यस्ता अध्यादेशहरु राष्ट्रपतिसमक्ष पेश गर्ने गर्छन् ।
अथवा
दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द, एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
एकदिन अल्छी विद्यार्थीले जीवनमा सफलता प्राप्त गर्ने तरिकाको बारेमा भाषण गरेको देख्दा अरु साथीहरुले आफू त महादेव उत्तानो पर कसले देला वर भनेर आलोचना गरे । हरिले चाहिँ खुसुक्क यो त नमच्चिने पिङको सय झड्का भनेजस्तै भएन र भनेर बतायो तर अर्को साथी कानमा तेल हालेर बस्यो ।
६. कुनै दुई प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) अनुच्छेदबाट दुईओटा उपसर्ग र दुर्इओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
नागरिकले अधिकार र कर्तव्य दुवैलाई बुझ्नुपर्छ । गाउँले र सहरियाबिचको विभेद हटाउने, सामाजिक विकृति, विसङ्गतिहरु निर्मूल पार्ने, एकताको सूत्रमा आबद्ध हुने काममा पनि अगाडि बढ्नुपर्छ । सचेत र शिक्षित अभिभावकहरुकै आवश्यकता सधैँभरि भइरहन्छ ।
(ख) अनुच्छेदबाट दुईओटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी दोहोरिएको अंश छुट्याउनुहोस् :
देशभक्त नागरिकले सरासर अधिकारमात्र नखोजेर कर्तव्य पूरा गर्ने कार्यमा समेत सहभागी हुनुपर्छ । देशविकासका लागि सबैको सरसहयोग हुनु आवश्यक छ । एकापसमा हुने झैझगडा र मतभेद बिर्सिएर ठुलोसानो, धनीगरिब केही नभनी घरघरमा शान्तिको सन्देश बाँड्नुपर्छ ।
(ग) अनुच्छेदबाट चारओटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नु होस् :
विद्यालयमा पुस्तकालय भएमा विद्यार्थीहरुले सहज ढङ्गमा ज्ञानार्जन गर्न सक्छन् । दैनिक स्वाध्ययनको लागि पनि यो अत्यावश्यक छ । महर्षिहरुका सूक्तिहरु पठन गर्ने हो भने पनि नैतिक सन्देशहरु मनन गर्न सकिन्छ ।
७. दिइएको प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) दिइएको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
नायकले अभिनय गरेका थिए । भाउजूले खाना पकाउनुभयो । ऊ गाउँबाट सहर फर्कियो । उसले मेरो कुरा बुझेकी होली ।
(ख) दिइएको अनुच्छेदलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
आकाशमा ताराहरु देखिए । साथी बजार गएको रहेछ । कविहरुले कविता वाचन गर्दै थिए । मैले लेखकलाई भेटेँ ।
८. तलका प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) तलका गद्यांशबाट दुईओटा उद्देश्य र विधेय तथा दुईओटा उद्देश्य विस्तार र विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस् :
कविशिरोमणि लेखनाथ पौड्यालले पद्यकविता लेखे । गाउँका नेताले कार्यक्रम उद्घाटन गरे । विद्यालयका प्रधानाध्यापकले भाषण गर्नुभयो । सहरका मानिसले पसले खोले ।
अथवा
दिइएको अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् :
अब त दिदी घर आइपुग्यो होला । भाइले कलम ल्याइदिनु भनेकी थिईन् । विद्यार्थीहरु धेरै मिहिनेती थियो । तँ अब कहाँ जान्छौ हँ ?
(ख) दिइएको वाक्यलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
म सधैँ सपना देख्छु । ऊ साथीलाई पर्खेर बस्थ्यो । उसले विहेमा कसैलाई बोलाएन । तिमीले कत्ति पनि गल्ती गरेका छैनौँ ।
अथवा
दिइएका वाक्यहरूलाई प्रत्यक्ष भए अप्रत्यक्ष र अप्रत्यक्ष भए प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :
(अ) गुरुले भन्नुभयो, “सबै विद्यार्थीले परियोजना कार्यहरु बुझाउनू ।”
(आ) डाक्टरले बिरामीलाई समयमै औषधी खान अह्राए ।
(इ) निर्देशकले नायकालाई भने, “घाम डुब्नुअघि नै सुटिङ सक्नुपर्छ ।”
(ई) महिला नेतृले महिला एकजुट हुनुपर्ने कुरा बताउनुभयो ।
९. दुवै प्रश्नको उत्तर दिनुहोस् । (४+४=८)
(क) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको छोटो उत्तर लेख्नुहोस् :
वर्तमान युग विज्ञान र प्रविधिको युग हो । विज्ञानले विविध क्षेत्रमा गरेको प्रगतिले वर्तमान युग सुविधायुक्त बन्न पुगेको छ । टेलिफोनको आविष्कारले गर्दा संसारका कुना कुनामा तुरून्तै सम्पर्क गरी दोहोरो कुराकानी गर्न सम्भव भएको छ । रेडियो र टेलिभिजनका माध्यमबाट विश्वमा घटेका विभिन्न घटनाहरूका बारेमा घरैमा बसी बसी समाचार सुन्न र हेर्न सक्ने सुविधा सबैलाई उपलब्ध भएको छ । यसै गरी रेल, मोटर, पानीजहाज, हवाईजहाज जस्ता यातायातका साधनहरूले टाढा टाढाको गन्तव्यलाई पनि सुगम तुल्याइदिएका छन् । वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले गर्दा घरायसी कामदेखि लिएर कृषि, उद्योग, वाणिज्य आदि क्षेत्रमा मानवीय जीवनपद्धति सुखी, सम्पन्न र सुविधायुक्त बन्न पुगेको छ । मानिसले आर्जन गरेको अभूतपूर्व ज्ञान, निरन्तर कडा मिहिनेत र अनुसन्धानको परिणाम स्वरूप ’यन्त्रमानव’ आविष्कार गर्ने महत्त्वपूर्ण कार्यमा समेत सफलता प्राप्त भएको छ । यन्त्रमानव भनेको मानिसले जस्तै काम गर्न सक्ने एउटा स्वचालित यन्त्र हो । यसले मानिसलाई वैज्ञानिक, औद्योगिक, घरायसी आदि विविध क्षेत्रमा सघाउने काम गर्छ ।
प्रश्नहरुः (क)सञ्चारका माध्यम तथा यातायातका साधनले संसारलाई कसरी नजिक बनाएको छ ?
(ख) यन्त्रमानवले मानिसलाई कसरी सघाउँछ ?
(ग) वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ ?
(घ) ‘वैज्ञानिक’ र ‘अनुसन्धान’ शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।
ख) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
तर सानीको त्यस प्रश्नको समाधान भएन । त्यो यात्री फर्केन । केही दिनपछि सानीको बिहा पनि भयो । त्यो आफ्नो घरमा गई। घर गृहस्थीको कर्तव्य र लोग्नेको प्रेम, माया, ममता इत्यादि पनि साधारण नियमजस्तै समातिन थाले । उनीहरूका कार्यमा सानीबाट केही अस्वाभाविकता पनि परेन । तर सानीको गाउँले संस्कृति भएको सुदूर अन्तरको एउटा मनले भगवान्को वरदान जस्तो समातेको त्यो प्रश्न- “त्यो फेरि फर्कला !” ले दिनमा दुई चार पटक अवश्यै चियाउने प्रयत्न गरिहाल्थ्यो । लोग्नेको घरमा रहेका बखत कहिलेकाहीं एउटा शड्काले भयानक अन्तर सङ्ग्राम मच्चाइदिन्थ्यो, “म यहाँ छु, यात्री फर्केर गइहालेको भए …?” तर यस प्रश्नको विश्लेषण गर्ने साहस त्यस बखतसम्म त्यसमा रहनै जान्नथ्यो । कस्तो गहुङ्गो, कस्तो भयानक, कस्तो पीडाप्रद शङ्का हो ! बरु यात्री कहिल्यै पनि नफर्कोस्, त्यसको पथ हेर्दा हेर्दै यस जीवनको पनि अन्त भइजाओस् तर सानीलाई नभेटी त्यो त्यसै गइहाल्ला भन्ने विधिविधानको स्वागत गर्ने शक्ति त्यसमा थिएन । त्यो तृष्णा, त्यो अनन्तकालीन प्रतीक्षा, त्यो दिनहुँको अभ्यस्त निराशाको धक्का त्यसको सासमा मिसिइसकेको थियो । त्यही त्यसको जीवन थियो, त्यही त्यसको जीवनक्रम । त्यसैलाई समातेर त्यो आफ्नो जीवन गृहस्थीको गृहिणी थिई, आफ्नी सासूकी बुहारी र पोइकी जोई । तर कदाचित् कुनै हठात् अभिशापले त्यहीं छिन्नभिन्न गरिदिएको अवस्थामा पनि त्यो सानी चाहिने गृहिणी, बुहारी र लोग्नेकी स्वास्नी भइरहन सक्ली ? कुन हृदयबाट यस्तो आशा गर्ने?
प्रश्नहरू (क) सानीको मनमा कुन प्रश्नले बारम्बार चियाउने प्रयत्न गरिरहेको थियो ?
अ. उसको बिहा कहिले हुनेछ ? आ. त्यो यात्री फेरि फर्कला ?
इ. उसको जीवनमा खुशी कहिले आउनेछ ? ई. उसले गृहस्थीको जिम्मेवारी कसरी निभाउने ?
(ख) सानीले कस्तो जीवनक्रम अपनाएकी थिई ?
अ. यात्रीको प्रतीक्षा गर्दै एक्लै बस्ने ।
आ. गृहस्थीको गृहिणी, सासूकी बुहारी र लोग्नेकी स्वास्नीको भूमिका निभाउने ।
इ. यात्रीको लागि आफ्नो जीवन त्याग्ने ।
ई. गाउँको संस्कृति बदल्ने ।
(ग) सानीको मनमा कस्तो तृष्णा रहेको थियो ?
अ. गाउँ छाडेर शहर जाने । आ. यात्री फर्केर आउँदा उसले के गर्ने भन्ने ।
इ. उसले आफ्नो लोग्नेलाई छाड्ने । ई. गाउँको संस्कृति बदल्ने ।
घ. माथिको अनुच्छेदमा व्यक्त ‘अभिशाप’ कस्तो शब्द हो ?
अ.समस्त शब्द आ. उपसर्ग व्युत्पन्न इ. द्वित्व शब्द ई. प्रत्यय व्युत्पन्न
१०. अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तृतीयांशमा सारांश लेख्नुहोस् । (२+२=४)
योगमाया लैङ्गिक विभेदको पनि कट्टर विरोधी थिइन् । उनी बालविवाहको विपक्षमा उभिन्थिन् तर स्वैच्छिक विधवा विवाहको समर्थन गर्थिन् । सती प्रथा र दास प्रथाको घोर विरोध गर्थिन् । कानुनी रूपमा सती प्रथा त पहिल्यै उन्मूलन भएको भनिए पनि व्यवहारमा त्यस समयसम्म प्रचलित नै थियो । वि.सं. १९८२ मा दास प्रथा अन्त्य भएको घोषणा हुँदा उनी अत्यन्त हर्षित भइन् । चन्द्रसमसेरका यस्तो कार्यको खुलेरै प्रशंसा गरिन् । उनी तत्कालीन न्यायिक परिपाटीको विरोधी थिइन् । उनी समाजका ठुलाबडा साहुमहाजनले गरिबको ढाड सेक्ने गरी ब्याज लगाउने चलनको निन्दा गर्थिन् । दिदा सानो पाथी र लिँदा ठुलो पाथी प्रयोग गर्ने साहुमहाजनको उनी खुब विरोध गर्थिन् । गरिबदुःखीले निसाफ नपाउने, महाराज दरबारबाहिर आएर नहेर्ने, विचारीले उल्टो निसाफ दिने कुराको निन्दा गर्थिन् ।
११. कुनै एक प्रश्नको उत्तर दिनुहोस् । (४)
(क) आफ्नै उद्योगबाट उत्पादन गरिएको मिनरल वाटरको बजार प्रवर्धनका लागि प्रभावकारी व्यापारिक विज्ञापन तयार गर्नुहोस् ।
(ख) तपाईंको छिमेकमा कुनै व्यक्तिको मृत्यु हुँदा बनाइने एउटा श्रद्धाञ्जली तथा समवेदनाको ढाँचा तयार पार्नुहोस् ।
१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् । (४)
(क) आफ्नो विद्यालयबाट आयोजना गरिएको शैक्षिक अवलोकन भ्रमणको अवसरमा भएका गतिविधिहरुलाई समेटी १५० शब्दसम्मको प्रतिवेदन लेख्नुहोस् ।
(ख) ‘कृत्रिम बौद्धिकता (एआई)को प्रयोग’ विषयमा १५० शब्दसम्मको वक्तृता तयार पार्नुहोस् ।
१३. समाजमा फैलँदै गएको अपराधलाई कसरी निर्मूल गर्न सकिन्छ ? १२५ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस् । (४)
१४. कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस् । (४+४ = ८)
(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र
वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र
गरुडको झैं वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो
पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।
प्रश्नहरू: (क) नेपालीहरूको कस्तो पौरखले नेपालको रचना भएको हो ?
(ख) कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरव गाथाको वर्णन गर्नुहोस् ।
(ख) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् :
संस्कृति हाम्रो परिचय हो, हाम्रो पहिचान हो र हाम्रो अनुभूति हो । संस्कृति हाम्रो बोल्ने, विचार गर्ने र बाँच्ने तरिका पनि हो । हाम्रो संस्कृति बाँच्नुपर्छ, त्यसैले हाम्रा सांस्कृतिक मूल्यहरू बाँच्नुपर्छ । दसैं हाम्रो संस्कृति हो, तिहार हाम्रो संस्कृति हो । तिज, बुद्ध पूर्णिमा, उधौली, उभौली, ल्होसार, क्रिसमस, इद सबै हाम्रा संस्कृति हुन् । सभ्यताको यस यात्रामा म बारम्बार सोध्छु र सोच्छु यस्ता सुन्दर अवसरलाई हामीले सदुपयोग गर्ने पर्छ । संस्कृतिका नाममा लिङ्ग, वर्ग, जातिका आधारमा हुने भेद विकृति हुन् । ती कुरा हट्नुपर्छ र संविधानले यसको सुनिश्चितता पनि गरेको छ ।
प्रश्नहरू (अ) संस्कृति भनेको के हो ?
(आ) संविधानले सुनिश्चित गरेका सांस्कृतिक विषयहरू के के हुन् ?
(ग) दिइएको नाट्यांशको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
योग, ध्यान र स्वास्थ्यका बारेको रुचि मेरो सानैदेखिको रुचि हो । एक पटक तौलिहवाको घरमा छँदा एक जना बौद्ध भिक्षुले ध्यान र मनको सम्बन्धका बारेमा दिएको प्रवचन मेरो मनमा ताजै छ । यसैबाट लोभिएर मैले लुम्बिनीका स्तूप र चैत्य पनि चाहारेको छु । अहिले सामाजिक सञ्जालभरि यसका बारेका शिक्षा पनि पाइन्छन् । म त्यसमा लोभिएर कति बिहान बिताउँछु पनि । साँच्चै मलाई गोठाटारले तान्ने कुरा पनि त यही हो । पिपलको रुखमुनि बसेर गरिने प्राणायाम र नजिकैको देवालयको खुला मैदानमा गरिने योगासन मेरो दिनचर्या नै भएको छ । कहिले पशुपतिछेउको मैदानमा पुग्ने आकर्षण पनि यही हो । यही कारण म धुलिखेलको आजको यस कार्यक्रमका बारेमा पनि तानिदै गएँ । डाक्टर युरेन्द्र झाले “हजारौं माइलको यात्रा एउटा सानो पाइलाबाट सुरु हुन्छ” भन्ने उखानबाट आफ्ना कुरा सुरु गरेको मलाई रमाइलो लाग्यो । “योग र ध्यानको यात्रा पनि यस्तै हो” उनले भने । “त्यसको उदाहरण यस मञ्चमा रहनुभएका सुन्दर छन्त्याल हुनुहुन्छ । उहाँको जीवन योग साधनाले नै फेरिदियो । आज उहाँ योग साधना र स्वास्थ्यका बारेमा राम्रो प्रवचन दिन सक्ने हुनुभएको छ । युवाहरूले समयमै स्वास्थ्यका बारेमा ध्यान दिनुपर्ने कुरालाई उहाँ राम्ररी बुझ्न र बुझाउन सक्ने हुनुभएको छ । “योग चिन्तन हो, ज्ञान हो, मनको एकाग्रता हो र यो समाधितर्फको यात्रा पनि हो ।” उनले थपे । त्यसपछि वक्ताहरूको लामो ताँती सुरु भयो ।
प्रश्नहरू:
(क) डा. युरेन्द्र झा कसरी योग ध्यानतर्फ आकर्षित भए ?
(ख) मानिसको जीवनमा योग ध्यानको कस्तो महत्त्व रहेको छ ?
१५. कुनै एक प्रश्नको उत्तर दिनुहोस् । (८)
(क) ‘गाउँको माया’ कथामा कस्तो समाजको चित्रण गरिएको छ ? विवेचना गर्नुहोस् ।
(ख) दिगो कृषि पद्धतिका लागि के के कुरामा ध्यान पुर्याउनुपर्छ ? समीक्षात्मक उत्तर लेख्नुहोस् ।
१६. दिइएका मध्ये कुनै एक शीर्षकमा २५० शब्दसम्ममा नघटाई निबन्ध लेख्नुहोस् । (८)
(क) नेपालको जलस्रोत
(ख) समाज रुपान्तरणमा मेरो भूमिका
(ग) समयानुकूल शिक्षा : आजको आवश्यकता
समाप्त
