First Term Examination Nepali 2082
प्रथम त्रैमासिक परीक्षा २०८२
कक्षा- १२ पूर्णाङ्क- ७५
विषय : अनिवार्य नेपाली [Nep. 002] समय- ३ घण्टा उत्तीर्णाङ्क – २७
विद्यार्थीले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्ने छ ।
१. तलको वाक्यमा रेखाङ्कित शब्दहरुको अक्षर संरचना (अक्षरीकरण) देखाई अक्षर सङ्ख्या समेत लेख्नुहोस् : (३)
आफ्नो सपनामा दमयन्तीले त्यो बाक्लो जङ्गलबिच त्यस्तै एउटा फराकिलो खुला ठाउँमा ऋषिहरूका आश्रमका छाप्रा देखिन् ।
२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : (३)
सपनामै तीनले मानब आवाज सुनिन्, “शुन्दरी !” आफ्नो रूप लाई आफैँले विकृत तुल्याइसकेकी तिनलाई सम्झना भयो तरपाइलो अघि सरिरह्यो
३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (२)
(क) दिइएका अंशबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :
देशको अर्थतन्त्र सुदृढ बने पो लुरुलुरु अर्काको देशमा जागिर खोज्न जानुपर्दैनथ्यो । अहिले त डाक्टर, इन्जिनियरहरु नै एकाएक विदेशिनु पर्ने अवस्था आएको छ ।
(ख) दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
पसलमा सामान किन्न जाँदा साहुजीले अकबरी सुनलाई कसी लगाउनु पर्दैन ढुक्कले किन्नुस् भने तर घरमा लैजानेबित्तिकै बाँदरको हातमा नरिबल जस्तो गरे भने के मज्जा भनेर मैल त्यत्तिकै बाटो तताएँ । साहुजी बोलाइरहेका थिए तर मैले कानमा तेल हालेर हिँडे ।
४. तलको अनुच्छेदमा रेखाङ्कित शब्दको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् : (३)
प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ ।
५. तलको अनुच्छेदबाट दुईओटा तत्सम शब्द र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : (२)
समाजमा सत्य, धर्म, न्याय, र करुणा आवश्यक मानिन्छन् । घर, बजार, बस, र अस्पताल जस्ता स्थानहरूमा सदाचारपूर्ण व्यवहारले मात्र मानवता देखिन्छ । सबैले एक–अर्काको सम्मान गरेमा समाजमा शान्ति कायम रहन्छ ।
६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (३)
(क) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
सामाजिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न गाउँले सचेत नागरिक तथा अगुवा अभिभावकहरु पनि जुटेका छन् । राष्ट्रिय लहरमा ग्रामीण या सहरियाको विभेद नगर्नु त खुसीको कुरा हो ।
(ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको दोहोरिएको अंश देखाउनुहोस् :
हिजोआज गाउँघर, सहरबजार बदलिँदै गएको छ । तन, मन र धनको त्रिवेणीबाट राष्ट्रनिर्माण कार्य तीव्र हुँदै गएको छ । होहल्ला होइन सरसल्लाह बढ्दै गएको छ भने आआफ्नो टोलबस्ती सुधारका लागि फटाफट काम हुँदै गएको पनि छ । अब त सबै बुद्धिजीवी जस्ता देखिन्छन् ।
७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) तलको अनुच्छेदमा रेखाङ्कित पदहरुका कारक पहिचान गरी तिनको नाम लेख्नुहोस् :
गुरुले विद्यार्थीहरुलाई पुस्तक दिनुभएको थियो । केही विद्यार्थी घरबाट भर्खर कक्षाकोठामा आइपुगेका थिए । ढिलो आउनेलाई गुरुले कलमले कापीमा सूची बनाउन लगाउनुभयो ।
(ख) तलका वाक्यलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् ।
हरिकी बहिनी विदेश गईछे । उनी नायिका हुन् । ऊ विद्वानको रुपमा परिचित छ । कविले कविता लेखेर सुनायो ।
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) इच्छार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा राष्ट्रको उत्थान र विकासको बारेमा वर्णन गर्नुहोस् ।
(ख) तलको अनुच्छेदका वाक्यलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गर्नुहोस् :
तिमी मलाई सधैँ माया गर्थ्यौ । तिमीलाई सबैले विश्वास गर्थ्यो । उसले मेरो कुरा सुनेनछ । जो आएन उसले केही देखेन ।
९. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) तलका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :
बुबाले छोरालाई भन्नुभयो, “तिमीले जसरी पनि परीक्षा पास गर्नुपर्छ?”
छोराले भने, “पास भइनँ भने के हुन्छ ?”
बुबा, “तिम्रै भविष्य अन्धकारमा पर्नेछ”
छोरा, “हस् बुबा ! अब मेहनतका साथ पढ्नेछु ?”
(ख) तलका वाक्यलाई ४ वाक्यमा विश्लेषण गर्नुहोस् :
पर्यटकहरु पोखरा गएर माछापुच्छ्रे हिमालको दर्शन गरी फेवातालमा पुगी डुङ्गा पनि चढे ।
१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : ५
आयुर्वेद पूर्वीय प्राचीन चिकित्सा पद्धति हो । ‘आयुर्वेद’ शब्दको अर्थ ‘आयुको ज्ञान’ भन्ने हुन्छ । यसलाई आयुर्विज्ञान पनि भनिन्छ । आयुको ज्ञान भन्नाले जीवनमा पूर्ण आयु जिउने विषय र कलाको ज्ञान हो । पूर्ण आयु जिउन स्वास्थ्य पहिलो आवश्यकता हो । स्वस्थ व्यक्ति नै पूर्णायुको जीवन जिउँछ भन्ने आयुर्वेदको मान्यता हो । यसैले आयुर्वेदमा जीवन स्वस्थ राख्ने उपायका बारेमा विस्तृत रूपमा चर्चा गरिएको छ । जीवन स्वस्थ राख्नु भनेको सकभर शरीरमा रोगको प्रवेश हुन नदिनु हो र कदाचित् रोगको प्रवेश भइहाले पनि उपचारका माध्यमबाट शरीरबाट त्यसको निष्कासन गर्नु हो । आयुर्वेदमा रोगको उपचारका लागि कायचिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, भूतविद्या, कौमारभृत्य, अगद तन्त्र, रसायन तन्त्र र बाजीकरण तन्त्र गरी आठ अङ्ग रहेका छन् । यीमध्ये कायचिकित्सामा शारीरिक रोग, शल्य तन्त्रमा चिरफार गर्नुपर्ने रोग, शालाक्य तन्त्रमा नाक, कान, घाँटी वा अन्य कुनै कारण भएको टाउकाको रोग, भूतविद्यामा भूत, ग्रह वा मानसिक कमजोरीका कारण लागेको मानसिक रोगको उपचारको पद्धति प्रस्तुत गरिएको छ । यस्तै कौमारभृत्यमा गर्भवती स्त्रीलाई लाग्ने रोग र बालरोग, अगद तन्त्रमा शरीरमा विषालु पदार्थको प्रवेशका कारण उत्पन्न भएको रोग, रसायन तन्त्रमा वृद्धावस्थामा हुने रोग, बाजीकरण तन्त्रमा शरीरमा धातुको कमीका कारण हुने रोगको उपचारको पद्धति समाविष्ट छ । आयुर्वेदका अनुसार मुख्य रूपमा शरीरमा वात, पित्त र कफ यी त्रिदोषको असन्तुलनका कारण रोगको प्रवेश हुन्छ । यी तीन दोषबाट बच्ने मुख्य उपाय भनेको उचित आहार र उपयुक्त जीवनशैली नै हो । उपयुक्त आहार र जीवनशैलीबाट शरीरमा रोगसँग लड्ने ओज वा जीवनी शक्ति सशक्त रूपमा क्रियाशील बन्छ । जीवनी शक्तिको सशक्तता हुँदा शरीरमा रोगले प्रवेश नै गर्न पाउँदैन, कदाचित् प्रवेश गरिहाले पनि त्यो प्रभावहीन हुन्छ । प्रभावहीन त्यस रोगलाई पनि स्थानीय जडीबुटी र खनिजको उपयोग गरी शरीरबाट सहजै निष्कासन गर्न सकिन्छ । यसैले उचित आहार, उपयुक्त जीवनशैली र उपलब्ध स्थानीय जडीबुटीको सेवनबाट स्वस्थ रहेर पूर्णायुको जीवन जिउन सकिन्छ भन्ने कुराको मार्गनिर्देशन गर्ने चिकित्सा पद्धति नै आयुर्वेद हो ।
प्रश्नहरू
(क) आयुर्वेदका आठ अङ्ग के के हुन् ?
(ख) कायचिकित्सा र शल्य तन्त्रमा कुन कुन रोगको उपचार पद्धति प्रस्तुत गरिएको छ ?
(ग) शरीरमा रोगको प्रवेश हुनुको कारण के हो ?
(घ) शरीरमा प्रभावहीन रोगलाई कसरी निष्कासन गर्न सकिन्छ ?
(ङ) आयुर्वेदले जीवनमा पूर्णायु जिउन के गर्नुपर्ने सुझाव दिएको छ ?
११. दिइएको अनुच्छेद पढी मुख्य मुख्य चार बुँदा टिपोट गर्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् : २+३=५
त्यो विशाल सरोवर अति रमणीय र सुन्दर थियो । राप र जङ्गलको उकुसमुकुसयुक्त निश्चलतामा पिल्सिएको र निस्सासिएको त्यो सार्थ एकैछिन सरोवरको किनारमा अड्यो । शुचिभद्रले भनेर केही युवकले सरोवरको किनारमा बस्न, नुहाउन र भोजन बनाउन मिल्ने ठाउँ खोजे । त्यस ठाउँमा पुगेपछि सार्थका खड्गधारी धनुर्धर रक्षक दलले आफ्नो ठाउँ लियो । सबै जना घोडा र गाडाबाट ओर्लिएर रुखका छहारीमा सुस्ताउन थाले । सार्थसँगसँगै पैदल आइरहेकामा विभिन्न रूप, रङ, भाषा र भेषका सातआठओटी नारी पनि थिए । ती नारीलाई देखेपछि दमयन्तीको मन चञ्चल भएर आँखा भिज्न थाले । दमयन्तीले तिनीहरूसित सामान्य कुरा गर्दै रुखका छहारीमा सुस्ताइन् । सार्थसँग गाडामा रहेका र पैदल यात्रीसमेतले केहीबेर सुस्ताएर सरोवरमा जलक्रीडा गरे । दमयन्ती पनि पानीमा उत्रिइन् र एक्लै पौडिँदै निकै टाढा टाढासम्म गइन् ।
१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) तपाईँको टोलमा बस्ने कुनै व्यक्तिले ऋण लिँदा बनाइने तमसुकको नमुना तयार गर्नुहोस् ।
(ख) तपाईँको विद्यालयलाई कम्पयुटर शिक्षक आवश्यक भएको एउटा विज्ञापनको ढाँचा तयार पार्नुहोस् ।
१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ५
(क) विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका क्रियाकलापहरु समेटी १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् ।
(ख) किशोर अवस्थामा मोबाइलको लत छुटाउन के गर्नु पर्ला ? १५० शब्दसम्मको प्रतिक्रिया लेख्नुहोस् ।
१४. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !
(ख) यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।
१५. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
हो र आमा !
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मिठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।”
प्रश्नहरू
(क) आमाको सपना के थियो ?
(ख) ‘त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ’ भन्नुको तात्पर्य के हो ?
(ख) तलको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
टाउकामा चिप्लो न चिप्लो बरफको केश फुलाएर आफ्नो अररो वृद्ध शरीरमा काला रुखको जिङ्ग्रिङ्गे भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ । यो मान्छेहरूसित रिसाएको छ, अग्घोरै रिसाएको छ, अघोरी गाड जत्तिकै रिसाएको छ अनि पोखरेली सेती जत्तिकै रिसाएको छ । सेती नदी पृथ्वीको पेटमा भासिँदै जाओस्, यो चाहिँ ठडिएको ठडियै छ । यसले कहिल्यै त टाउको झुकाउला कि भनेर मैले निरीक्षण गरिहेरेँ तर त्यस्तो लक्षण कतै भेटिएन । उल्टो यो झन् झन् दृढ हुँदै गइरहेको पो मैले पाएँ ।
प्रश्नहरू (क) सेती नदी र घनघस्याका बिचमा रहेका समानता र भिन्नता के के हुन् ?
(ख) घनघस्यालाई कसरी मानवीकरण गरिएको छ ?
१६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) घनघस्याको उकालो यात्राका क्रममा यात्रामा सहभागीहरुले भोग्नुपरेका समस्याहरु आजका युवायुवतीहरुमा कत्तिको मेल खान्छ या खादैँन ? तर्क दिई लेख्नुहोस् ।
(ख) वियोगले मानिसलाई बलियो बनाउँछ कि कमजोर ? विरहिणी दमयन्तीलाई आधार बनाएर यस विषयमा आफ्ना तर्कहरु लेख्नुहोस् ।
१७. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ८
(क) ‘एक चिहान’ उपन्यासमा नेपाली समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ, उपन्यासको आधारमा वर्णन गर्नुहोस् ।
(ख) “दृढ इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ।” यस भनाइलाई विलियम हकिङको जीवनीका आधारमा पुष्टि गर्नुहोस् ।
१८. कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ८
(क) राष्ट्रनिर्माणमा युवावर्गको भूमिका (ख) हाम्रा पाहुना पर्यटक
(ग) प्राविधिक शिक्षा :आजको आवश्यकता
समाप्त
