Second Term Examination Nepali 2082
अर्धवार्षिक परीक्षा २०८२
कक्षा : ११ समय : ३ घण्टा पूर्णाङ्क : ७५
विषय : अनिवार्य नेपाली उत्तीर्णाङ्क : २७
१. दिइएको अनुच्छेदका रेखाङ्कित वर्णहरूको उच्चारण स्थान र घोषत्व छुट्याई लेख्नुहोस् । (३)
म प्रकृतिको काखमा रमाउने मान्छे केही समय त सहरमा घुलमिल हुन पनि कठिन भयो । बिस्तारै सहरका गल्ली, कोलाहल र भिडभाडसँग परिचित हुन थालेँ ।
२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : (३)
मेरो मानशपटभरि परिछनको सोर मडारिदै थियो – “गाउँका घटना हरू राखेर एउटा खुव रामरो नाटक लेखिदेऊ ।
३. अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् । (२)
अलि हाँसेर यात्रीले भन्यो- “ए, त्यसो हो भने के लाग्छ, पाए जत्तिकैमा सन्तोष गर्नुपर्ला ।” “अब म जाऊँ त ?” सानीले सोधी ।
४. दिइएका प्रश्नको उत्तर दिनुहोस् । (२+२ = ४)
(क) दिइएको अनुच्छेदबाट दुई दुईओटा तत्सम र आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस्।
विज्ञान र प्रविधिको विकाससँगै कक्षाकोठामा ल्यापटप, मोवाइल तथा प्रोजेक्टरको माध्यमबाट शिक्षण गर्ने क्रम बढ्दैछ । प्रविधिज्ञहरु त एआइले ठुलो परिवर्तन गर्न बाँकी नै छ भन्छन् ।
(ख) दिइएका शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस् ।
विज्ञान, साहित्य, आविष्कार, परिवर्तन
५. दिइएको अनुच्छेदबाट तीनओटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् । (३)
रवि नपुगेको ठाउँमा कवि पुग्छ भन्छन् । हुन त काव्यशास्त्रका ज्ञाता वा दर्शनशास्त्रका प्राध्यापकहरुले भन्ने भनाइ हो यो । साहित्यमा यसको विशेष अर्थ भने छँदैछ ।
अथवा
दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द, एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
केही न काम गर, ईलमीको भागमा माछा र मासु, अल्छीको भागमा आँसु भन्छन् भनेर दाइले धेरै सम्झाए पनि कानमा तेल हालेर बस्थ्यो रोजेश । हुन त कसैले मुखै फोरेर अल्छे तिघ्रो स्वादे जिब्रो भन्दा पनि ऊ गमक्क परेर नै बस्थ्यो ।
६. कुनै दुई प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) अनुच्छेदबाट दुईओटा उपसर्ग र दुर्इओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
पर्यावरण संरक्षण आजको प्रमुख आवश्यकता हो, किनकि प्रदूषणले मानव जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ । त्यसैले पनि समाजका अशिक्षित व्यक्तिहरुलाई सचेतना आवश्यक छ ।
(ख) अनुच्छेदबाट दुईओटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी दोहोरिएको अंश छुट्याउनुहोस् :
गाउँघरका मानिसहरू सुखदुःख बाँड्छन् । घरआँगन सफा राख्नु र सरसापट गरेर जीवन चलाउनु तिनीहरुको विशेषता नै हो । ससानो कुरामा झैझगडा भए पनि अन्ततः मेलमिलाप गर्छन् ।
(ग) अनुच्छेदबाट चारओटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नु होस् :
मैले साथीको जन्मोत्सवमा उत्तरोत्तर प्रगति र दीर्घायुको कामना गरेँ । ऊ त्यतिखेर पुस्तकालयमा थियो । मेरो शुभकामनाको स्वागत गर्दै हर्षोल्लास व्यक्त गर्यो । मैले त्यसमा अझै थपेर हरेक सूर्यास्तपछि हुने सूर्योदयको कान्ति जस्तै बनोस् भनिदिएँ ।
७. दिइएको प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) दिइएको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
भाइले कविलाई भेट्यो । युवती धेरै लजाईन् । ऊ एउटा असल कलाकार थियो । नर्सले बिरामीको उपचार गरिन् ।
(ख) दिइएको अनुच्छेदलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
युवतीहरु पनि विदेश गए । उसले विदेशमा दुःख पायो । हामी चाहिँ आफ्नै देशमा बस्यौँ । त्यो केटो चाहिँ कहाँ होला ?
८. तलका प्रश्नको उत्तर दिनुहोस् । (२+२=४)
(क) तलका गद्यांशबाट दुईओटा उद्देश्य र विधेय तथा दुईओटा उद्देश्य विस्तार र विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस् :
कविशिरोमणि लेखनाथ पौड्यालले ऋतुविचार काव्य लेखे । साहित्यका पाठकहरुले किताब खोजी खोजी पढे । उनका कृतिहरु धेरैले मन पराए । पछि तिनै कविले पुरस्कार पाए ।
अथवा
दिइएको अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् :
बहिनीले गृहकार्य गरेको छ । युवाहरु कामका लागि विदेश गयो । के यो काम तपाइँले गरेको हो ? तिमी असल व्यक्ति बन्छस् त ?
(ख) दिइएको वाक्यलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
म बिहान सधैँ चाँडो उठ्थेँ । म साथीलाई कहिल्यै सहयोग गर्दिनथेँ । उसलाई सबैभन्दा महान् बन्नु थियो । म अब सबैलाई सम्झाउनेछु ।
अथवा
दिइएका वाक्यहरूलाई प्रत्यक्ष भए अप्रत्यक्ष र अप्रत्यक्ष भए प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :
(अ) गुरुले भन्नुभयो, “गृहकार्य कहिले पूरा गर्छौ ?”
(आ) श्यामले साथीसँग खाजा खान आग्रह गर्यो ।
(इ) सम्पादकले पत्रकारलाई भने, “आजको कार्यक्रममा गएर समाचार ल्याउनुस् ।”
(ई) महिला नेतृले नारी दिवस मनाउनुपर्छ भनेर भन्नुभयो ।
९. दुवै प्रश्नको उत्तर दिनुहोस् । (४+४=८)
(क) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको छोटो उत्तर लेख्नुहोस् :
आधुनिक भौतिक विज्ञानले विश्वमा एउटा नयाँ क्रान्तिको जन्म दिएको छ । भौतिक विज्ञानका प्रणेता न्युटनलाई मानिन्छ । तर न्युटन मात्र नभएर ग्यालिलियो र आइन्स्टाइन यी तीनै जना भौतिक विज्ञानका प्रणेता मानिन्छन् । न्युटनले चालको नियम, ग्यालिलियोले खगोल विज्ञान र आइन्सटाइनले सापेक्षता (आफू स्वतन्त्र नभएर अर्कासित सम्बद्ध हुने गुण वा अवस्था) को नियम पत्ता लगाएका हुन् । भौतिक विज्ञानको आरम्भ प्राचीन ग्रिकबाट भएको मानिन्छ । यसले शक्ति र बलसँग सम्बन्धित समय र स्थानबाट चाल र पदार्थको अध्ययन गर्दछ । अर्थात् यसले वस्तुको चाल र त्यसमा बलको असरका बारेमा अध्ययन गर्दछ । त्यति मात्र नभएर यसले विद्युत् तरङ्ग र त्यसको असरको पनि अध्ययन गर्दछ । विद्युत् तरङ्गकै माध्यमबाट सात समुद्रपारिका मानिससँग प्रत्यक्ष कुराकानी गर्न सकिन्छ । यसको अध्ययनको क्षेत्र असीमित छ । भौतिक विज्ञानकै माध्यमबाट प्रकृति र जीवन जगत्का विविध पक्षको अध्ययन गरिन्छ । यस विज्ञानले स्थान, काल, गति, विद्युत्, प्रकाश, ऊर्जा, भूगर्भ तथा खगोल आदि अनेक विषयको प्रामाणिक अध्ययन गर्दछ । समग्रमा प्रकृति, जीवनजगत् तथा ब्रह्माण्डसमेतको बृहत् क्षेत्रलाई यसले आफ्नो अध्ययनमा समेटेको छ ।
प्रश्नहरू
(क) भौतिक विज्ञानका प्रणेता को को हुन् ?
(ख) भौतिक विज्ञानका आधारमा शक्ति र बलमा के भिन्नता छ ?
(ग) भौतिक विज्ञानको आरम्भ कहाँबाट भएको मानिन्छ ?
(घ) भौतिक विज्ञानले कसरी प्रकृतिको व्यापक क्षेत्रलाई समेटेको छ ?
ख) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
जमाना थियो म र परिछन लँगौटिया यार थियौ । गाई चराउँथ्यौ सँगसँगै । सिजनमा बदाम, मकै चोरेर ओरहा खान्थ्यौँ र गीत गाउँथ्यौँ, “गाई चरवाहा टुअर-टापर, भैँस चरवाहा चोर । बकरी चरवाहा छिनर-छानर, ताके चारो ओर ।” ती दिनहरू अब धेरै पछाडि छुटिसके । त्यै गीत अचेल परिछनको छोराले गाउँदो हो गोठालो लागेका बेला परिछनको छोरो पनि बाउको बिँडो थाम्दै । पछि, अलि उमेरदार भएपछि हली बस्ला । परिछन पनि पहिले गोठालो थियो, लगभग छसात वर्षकै उमेरदेखि । चौधपन्ध्रको किशोर वय नहुँदै बनी कमाउन थाल्यो र पछि हली बस्यो, सायद ज्यालादारीमा। छोरालाई पनि त्यही काम सिकाउँछ र पछि छोराले पनि आफ्नो छोरालाई पनि त्यही काम सिकाउला । यसरी एवम् रितले यो परम्परा अनन्त परिछनहरूका बलिया पाखुरीहरूबाट क्रमशः हस्तान्तरण हुँदै रह्यो । हुन त सायद म पनि त्यही नै हुन्थेँ होला तर कता, कहाँनिर गल्ती वा सही भयो र मैले काला अक्षरहरूसित मितेरी गाँसेँ । टोलका मानिसहरूले मेरा आमाबालाई हुटहुटी लगाइदिए, “चलाख छ, कुरो चाँडै टिप्छ । विद्यालय पठाइदिनुस्, भविष्य राम्रो हुन्छ ।” म विद्यालय जान थालेँ काठको पाटी बोकेर । यहीँदेखि परिछन र मबिचको अन्तराल बढ्न थाल्यो । हामी, म परिछनदेखि र परिछन मदेखि, तर्की तर्की हिँड्न थाल्यौँ । धेरैपछि जब म केही बुभन थालेँ अनि मैले पहिलोपटक अनुभव गरे परिछनहरूसँग अन्तराल कदापि बढ्न दिइनुहुन्न र जो हुँदै छ त्यो गल्ती गरिँदै छ । यसपछि परिछनलगायत ती बालदौँतरीहरूसँग फेरि सम्बन्ध कायम गर्न मैले निकै श्रम गर्नुपयो । विद्यालय बिदा परेको बेला कहिले ओरहा खाने, कहिले गिर खेल्ने, कहिले कपर्दी खेल्ने वा त्यस्तै केही निहुँ पारेर म उनीहरूसँग मिसिन्थें ।
प्रश्नहरू
(क) कथाकार र परिछनको बाल्यकालको मुख्य काम के थियो ?
अ. विद्यालय जाने आ. गाई चराउने
इ. व्यापार गर्ने ई. घरमै बस्ने
(ख) कथावाचक र परिछनबीच अन्तराल बढ्नुको मुख्य कारण के हो ?
अ. झगडा हुनु आ. कथावाचक विद्यालय जानु
इ. परिछन गाउँ छोड्नु ई. काम नपाउनु
(ग) कथावाचकले पछि के महसुस गरे ?
अ. परिछनसँगको सम्बन्ध आवश्यक छैन आ. पढाइ व्यर्थ हुन्छ
इ. बाल्यसाथीहरूसँगको अन्तराल बढ्न दिनु गलत हो ई. गाउँको जीवन खराब हुन्छ
(घ) परिछनको परिवारमा देखाइएको परम्परा के हो ?
अ. सबैले विद्यालय जानु आ. पुस्तौँदेखि एउटै श्रमप्रधान काम हस्तान्तरण हुनु
इ. शहर बसाइँ सर्नु ई. व्यापार विस्तार गर्नु
१०. अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तृतीयांशमा सारांश लेख्नुहोस् । (२+२=४)
वर्तमान तथ्याङ्कले प्रतिवर्ष लगभग एघार लाख विदेशी पर्यटक नेपाल भित्रिने गरेको देखाउँछ । नेपाल सरकारले त्यसलाई अझ वृद्धि गर्ने लक्ष्य राखेको छ । पर्यटक ती हुन्, जसले आफ्नो फुर्सद बिताउनका लागि पैसा खर्च गर्दछन् । जे जस्तो लक्ष्य लिएर आए तापनि हामी अतिथिको स्वागत गछौँ, हाम्रो बासस्थान अर्थात् हाम्रो घर नेपालमा। हाम्रो घर व्यवस्थापन अर्थात् हाम्रो पारिस्थितिक प्रणालीभित्र तिनको स्वागत हुन्छ । तिनको उपस्थितिले हाम्रो वातावरणलाई प्रतिकूल प्रभाव पर्न र पार्न दिनुहुँदैन । पर्यटन व्यवसायमा घरधनी र पाहुना दुवै सचेत हुनुपर्छ । पर्यावरणसम्मत क्रियाकलापका आधारमा सम्पन्न हुने पर्यटन व्यवसायलाई मात्रै पर्यापर्यटनको दायराभित्र व्याख्या गर्न सकिन्छ ।
११. कुनै एक प्रश्नको उत्तर दिनुहोस् । (४)
(क) तपाइँको विद्यालयलाई कम्प्युटर शिक्षक आवश्यक परेको एउटा विज्ञापनको नमुना तयार गर्नुहोस् ।
(ख) सामाजिक क्षेत्रमा योगदान पुऱ्याउने कुनै एक व्यक्तित्वको योगदानको कदर गर्दै प्रदान गरिने सम्मान पत्रको नमुना तयार पार्नुहोस् ।
१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् । (४)
(क) आफ्नो विद्यालयको दुई दिने भलिबल प्रतियोगिता कार्यक्रमको अवसरमा भएका गतिविधिहरुलाई समेटी १५० शब्दसम्मको प्रतिवेदन लेख्नुहोस् ।
(ख) ‘शिक्षा र अनुशासन : आदर्श समाज निर्माणका आधार’ विषयमा १५० शब्दसम्मको वक्तृता तयार पार्नुहोस् ।
१३. नेपालमा बढ्दो साइबर अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? १२५ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस् । (४)
१४. कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस् । (४+४ = ८)
(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला
वेत्रावती किनारभरि पौरखको चिनो होला
वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो
सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।
प्रश्नहरू
(अ) कवितांशमा हाम्रा पुर्खाहरूका बारेमा बताइएका कुराहरु के के हुन् ?
(आ) हामीले हाम्रा पुर्खाको गौरव कसरी जोगाउन सक्छौ ?
(ख) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् :
सन्न्यासी जीवन सुरु गरेसँगै योगमायामा सामाजिक चेतना सलबलायो । उनी धार्मिक, सामाजिक, प्रशासनिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा विद्यमान सबै खाले विकृतिहरूका बारेमा खुलेर विरोध गर्न थालिन् । उनी छुवाछुतलाई मानव सभ्यताको सबैभन्दा ठुलो कलङ्क ठान्थिन् । त्यसैले कुनै पनि सामाजिक कार्यमा मानिसहरूलाई छुत र अछुत तथा माथिल्लो जात र तल्लो जातमा छुट्याउनु घोर अपराध मान्थिन् । सनातनी परम्पराको नाममा जातका आधारमा फरक फरक कानुन प्रचलनमा रहेको त्यस समयको समाजमा छुवाछुत र जातपात नमान्नु घोर आपत्तिको विषय हुन्थ्यो । त्यस्ता व्यक्तिहरू विभिन्न दण्डका भागी हुन्थे । त्यस्तो कठोर राणाकालीन समयमा पनि उनले छुवाछुत तथा वर्णाश्रमको खुलेर विरोध गरिन्। पूजा, आराधना, भजन, कीर्तन, प्रसाद वितरण र ग्रहणमा तिनीहरूलाई सहभागी गराएर उनले आफ्नो धारणालाई व्यवहारमा पनि उतारिन् । उनका थुप्रै भक्तहरू कथित दलित पनि थिए र उनीहरू सबै जना विनाभेदभाव सबै गतिविधिमा संलग्न हुन सक्थे । उनको आश्रममा प्रचलित यस किसिमको छुवाछुतरहित वातावरण देखेर कथित सनातनीहरू योगमायाको खुब आलोचना गर्थे ।
प्रश्नहरू
(क) योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
(ख) योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस् ।
(ग) दिइएको नाट्यांशको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
ठिक भन्नुभो बाबा । सन्तानको सुख र शिक्षाका लागि भन्दै म रातदिन खटिएँ तर मैले मेरो छोरालाई समय दिइनँ । उससँग बसेर उसको पढाइका बारेमा कुरा गरिनँ । उसका साथी को को छन् भनेर कहिल्यै सोधखोज गरिनँ । ऊ कहाँ गयो, के गर्यो, के खायो भनेर ख्याल गरिन । म त खालि मेरो व्यवसाय, बैठक आदि भन्दै दौडधुप गरिरहेँ । उसले मागे जति पैसा दिइरहेँ तर ऊ त धेरै पहिलेदेखि दुर्व्यसनको सिकार भइसकेको रहेछ र आज मैले यो दिन भोग्नुपर्यो।
प्रश्नहरू
(अ) यस नाट्यांशमा वक्ताले आफ्ना के कस्ता कमजोरी रहेको स्विकारेका छन् ?
(आ) यस नाट्यांशमा व्यक्त समस्या कसरी समाधान गर्न सकिएला ?
१५. कुनै एक प्रश्नको उत्तर दिनुहोस् । (८)
(क) सुन्दर छन्त्यालले सफलता प्राप्त गर्नुअघिका सङ्घर्षहरु कस्ता थिए ? विवेचना गर्नुहोस् ।
(ख) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ ? समीक्षा गर्नुहोस् ।
१६. दिइएका मध्ये कुनै एक शीर्षकमा २५० शब्दसम्ममा नघटाई निबन्ध लेख्नुहोस् ।(८)
(क) नेपालमा सांस्कृतिक पर्यटन
(ख) राष्ट्रप्रति मेरो कर्तव्य
(ग) सामाजिक सञ्जालको सदुपयोग
समाप्त
