Second Term Examination Nepali 2082
प्रि-वोर्ड परीक्षा २०८२
कक्षा- १२ पूर्णाङ्क- ७५
विषय : अनिवार्य नेपाली [Nep. 002] समय- ३ घण्टा उत्तीर्णाङ्क – २७
१. तलको वाक्यमा रेखाङ्कित शब्दहरुको अक्षर संरचना (अक्षरीकरण) देखाई अक्षर सङ्ख्या समेत लेख्नुहोस् : (३)
पत्तै नपाई सूर्य अस्ताचलमा डुब्ने वेला भइसकेछ । सूर्यका किरण पश्चिम क्षितिजमा लुकिसक्दा पनि लुम्बुर हिमालमा ठोकिएर आएको रातो आभाले उज्यालो दिइरहेको थियो ।
२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : (३)
केही महिनाअघि को कुरा हो, एउटा सनिबार सदा झैँ म झ्यालमा बसेर उहाँको वाटो हेर्दै थिएँ । मेरो दशवर्षीए ठुलो छोरा भर्खर नूहाएर कोठामापस्यो ।
३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (२)
(क) दिइएका अंशबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :
नेपाली कविता साहित्यमा लेखनाथ पौड्याल परिष्कारवादी धारा र लक्ष्मीप्रसाद देवकोटा चाहिँ स्वच्छन्दतावादी धाराका कवि भनेर चिनिन्थे । शास्त्रीय छन्दमा कविता लेख्नु पौड्यालको काव्यात्मक विशेषता थियो भने स्वच्छन्द भाव अभिव्यक्त गर्नमा देवकोटा सिद्धहस्त मानिन्थे ।
(ख) दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
शुभराम जस्तो समाजसेवीलाई ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन’ भने झैँ गाउँलेहरुले चिनिसकेका थिए । त्यसैले जसले जति कान फुके पनि चुनावमा उनले विजयको बाटो तताए । चुनावपछि भने ‘काम गर्ने हनुमान जस पाउने ढेडु’ भने झैँ उनको वरिपरी घुम्नेहरुको लर्को देखियो तर उनले त्यतातिर टेरपुच्छर लगाएनन् ।
४. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गरी लेख्नुहोस्:(३)
हामीले हाम्रा सपनाहरुलाई पूरा गर्न कम्मर कसेर लाग्नुपर्छ । परिश्रम नगरीकन त कसले पो सफलता पाएको छ र ?
५. तलको अनुच्छेदबाट दुईओटा तत्सम शब्द र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : (२)
विज्ञान र प्रविधिको युगमा भाषा, धर्म र संस्कृतिको पनि जगेर्ना हुन जरुरी छ । तर एआई अनि रोवोटहरुपछिको यो विश्व कस्तो होला ? के ल्यापटप, मोबाइल पनि विस्थापन हुन सक्ला ? विद्वानहरुले यस्तो परिवर्तनलाई कसरी लिएका होलान् ?
६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (३)
(क) तलको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न शब्द र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
मौसममा आउने परिवर्तन अनुकूल हुन्छ या प्रतिकूल तथापि पर्यटकहरुको गन्तव्य अझै हिमाली उचाइमा पुग्नु रहेको छ । दैनिक रुपमा हिँडाइ भएर होला उनीहरु शारीरिक रुपमा त्यति साह्रै थकित पनि देखिँदैनन् ।
(ख) तलको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व शब्दको दोहोरिएको अंश देखाउनुहोस् :
आजकल गाउँघरमात्र होइन, सहरबजारमा पनि विकासप्रेमी, समाजसेवी हुँ भनी दावी गर्ने मानिसहरु प्रशस्त छन् । तर सरसल्लाह नगर्ने, आआफ्नै ढिपीमा अडिग रहने, उस्तै परे झैझगडा गर्ने प्रवृतिका मानिसहरु छन् । जहाँ बुद्धिजीवीहरुको खाँचो छ, त्यहीँ पेलपाल गर्ने, पिटपाट गर्ने झुन्ड पो बढ्दै गएको छ ।
७. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) तलको अनुच्छेदमा रेखाङ्कित पदहरुका कारक पहिचान गरी तिनको नाम लेख्नुहोस् :
राजधानीबाट आएका नेताले जनताका लागि गाउँमा बजेट ल्याइदिए । यस अवसरमा गरिएको कार्यक्रममा नेताले कैँचीले रिवन काटी उद्घाटन गरे । गाउँमा केही दिनदेखि यही कुराको चर्चा चलिरहेको छ ।
(ख) तलका वाक्यलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् ।
मेरी साथीले जागिर पाइछे । नायकले सिनेमा खेलेको छ । दाङकी युवती बुटवल आएकी छिन् । कविले कविता वाचन गरे ।
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) सम्भावनार्थक क्रियापदको प्रयोग गरी आफ्नो भावी जीवनको बारेमा वर्णन गर्नुहोस् ।
(ख) तलको अनुच्छेदका वाक्यलाई करणमा परिवर्तन गर्नुहोस् :
तिमी धेरै जिम्मेवार छौ । तिमी कामलाई गम्भीरतापूर्वक लिँदैनौ । तिमी समयको साह्रै कदर गर्छौ । तिमीले आफ्नो लक्ष्य स्पष्ट बनाएका छैनौँ ।
९. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) तलका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :
शिक्षकले भन्नुभयो, “वार्षिक परीक्षा आइसक्यो ।” विद्यार्थीले भने, “ठिकै छ हामी परीक्षाको तयारी गर्छौँ ।” शिक्षकले भन्नुभयो, “परीक्षामा राम्रो अङ्क ल्याउनुपर्छ ।” विद्यार्थीले भने, “हामी सक्दो मेहनत गर्छौं ।”
(ख) तलका वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :
पर्यटकहरु नेपाल आए । पर्यटकहरु पोखरा पुगे । पर्यटकहरुले माछापुच्छ्रे हिमालको दर्शन गरे । पर्यटकहरुले फेवातालमा डुङ्गा चढे ।
१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : ५
नेपालले हेलसिन्की ओलम्पिक (सन् १९५२) देखि ओलम्पिक खेलमा भाग लिएको बताईन्छ तर यसको पुष्टि हुन सकेको छैन । सन् १९६० को रोम ओलम्पिकमा नेपालले एक जना पर्यवेक्षक पठाएको भनिएको छ । नेपालको पहिलो औपचारिक ओलम्पिक खेलको सहभागिता भने सन् १९६४ को टोकियो ओलम्पिकबाट भएको देखिन्छ । सन् १९६३ मा नेपालमा पहिलोपल्ट ओलम्पिक ज्योति ल्याइएको थियो । सन् १९६४ को टोकियोमा भएको १८ औं ओलम्पिक खेलकुदमा छ जना नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सन् १९६८ को मेक्सिको ओलम्पिकमा नेपालले सहभागिता जनाएन । सन् १९७२ मा जर्मनीको म्युनिखमा सम्पन्न २० औं ओलम्पिकमा नेपालबाट दुई जना धावकले भाग लिएका थिए । २१ औं मोन्ट्रियल ओलम्पिकमा वैकुण्ठ मानन्धरले म्याराथुनमा सहभागिता जनाए । सन् १९८० को मास्को ओलम्पिकमा १२ जना नेपाली खेलाडीले भाग लिए । सन् १९८४ को लस एन्जलस ओलम्पिकमा एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा नै ११ नेपाली खेलाडीले भाग लिएका थिए । सन् १९८८ मा सोलमा भएको २४ औं ओलम्पिक भने नेपालका लागि ऐतिहासिक भयो । ओलम्पिकमा पहिलो पटक प्रदर्शनी खेलका रूपमा समावेश गरिएको तेक्वान्दो खेलबाट नेपालका विधान लामाले काश्य पदक जितेर ओलम्पिक संसारलाई चकित तुल्याए । प्रदर्शनी खेलका कारण सो पदक आधिकारिक पदक तालिकामा भने परेन । त्यसपछि सन् १९९२ को २५ औं ओलम्पिकमा पाँच खेलाडी, सन् १९९६ को एटलान्टा ओलम्पिकमा छ खेलाडी, सन् २००० को सिड्नी ओलम्पिकमा पाँच खेलाडीले सहभागिता जनाए जसमा सुटिङकी भगवती खत्रीले वाइल्ड कार्ड प्राप्त गरिन् । सन् २००४ को २८ औं एथेन्स ओलम्पिकमा भने नेपालले नयाँ इतिहास रच्यो । सो ओलम्पिकका लागि वैङ्ककमा सम्पन्न एसियाली छनोट चरणमा काश्य पदक जितेर सङ्गिना वैद्यले पदकको ढोका खोलेकी थिइन् । २९ औं बेइजिङ ओलम्पिक (सन् २००८) मा दीपक विष्टले सङ्गिना वैद्यको पाइला पछ्याए । उनी पनि छनोट चरण पार गरी बेइजिङ पुगेका हुन् । भियतनाममा भएको एसियन ओलम्पिक्स छनोट चरणमा काश्य पदक जित्दै उनले सो सफलता पाएका हुन् । बेइजिङमा तेक्वान्दो, एथ्लेटिक्स, पौडी, जुडो र सुटिङ खेल गरी आठ खेलाडीको प्रतिनिधित्व थियो । लन्डन ओलम्पिक (सन् २०१२) मा नेपालले वाइल्ड कार्ड पाएर सहभागिता जनाउन पाएको थियो । ब्राजिल ओलम्पिक (सन् २०१६) मा नेपालले पाँच खेलमा सहभागिता जनाएको थियो । सन् २०२० मा जापानमा हुने ओलम्पिक खेल कोरोना भाइरसका कारण रोकिएकाले २०२१ मा सम्पन्न भयो ।
प्रश्नहरू
(क) ओलम्पिक खेलमा नेपालको प्रवेश कहिले र कहाँबाट भएको हो ?
(ख) ओलम्पिकमा नेपालको सहभागिता कुन कुन खेलमा हुने गरेको छ ?
(ग) सन् १९८० को मास्को ओलम्पिकमा कति जना नेपाली खेलाडीले भाग लिए ?
(घ) नेपालले ओलम्पिक खेलमा पाएको सफलता कस्तो छ ?
(ङ) सन् १९८८ को सोल ओलम्पिक नेपालका लागि किन ऐतिहासिक मानिन्छ ?
११. दिइएको अनुच्छेद पढी मुख्य मुख्य चार बुँदा टिपोट गर्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् : २+३=५
आजको युग प्रतिस्पर्धाको युग हो, एकाधिकारको होइन । हामीले राम्रा र उपयोगी वस्तुको उत्पादन गर्न सक्यौँ भने बजारको समस्या हुँदैन । विश्वव्यापीकरणको आजको युगमा नेपाली संसारभर छरिएर रहेका छन् । विश्वको जुनसुकै कुनामा पुगे पनि नेपालीले आफ्नो मौलिकता र पहिचानलाई भुलेका छैनन् । उनीहरू उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन् । आज विश्वभर कृत्रिम र विषादीयुक्त खानपानका कारण अनेक रोग निम्तिएका छन् । नेपाल जस्तो प्रकृतिको सुन्दर देशमा हामीले अर्गानिक तथा प्राकृतिक वस्तुको उत्पादन गर्न सक्यौं भने हाम्रा उत्पादन संसारभर बिक्ने छन् । त्यसैले प्रतिस्पर्धीहरू थपिँदैमा आत्तिनु पर्दैन । बजारको विस्तारसँगै कुनै एउटा उद्योगका उत्पादनले मात्र सबैको माग र आवश्यकता पूरा गर्दैन । कुनै एक क्षेत्रमा स्थापित उद्योगले सबैको चाहना र आवश्यकताको परिपूर्ति सम्भव छैन ।
१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
क) तपाइँको गाउँमा साहुसँग एकजना आसामीले लिएको ऋणको साँवा र ब्याज तिर्ने तमसुकको नमुना तयार पार्नुहोस् ।
ख) लाइसेन्स बिना नै सवारी साधन चलाउँदा यातायातमा हुने प्रतिकूल असरका बारेमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन एक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकलाई लेख्ने चिठीको नमुना तयार पार्नुहोस् ।
१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ५
(क) तपाइँको जिल्लामा साहित्यिक संस्थाले गरेको कविता गोष्ठीका गतिविधिहरु समेटेर १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् ।
(ख) सामाजिक सद्भाव कायम गर्न के गर्नु पर्ला ? १५० शब्दसम्मको प्रतिक्रिया लेख्नुहोस् ।
१४. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : ४
(क) त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो
(ख) दृढ इच्छा शक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका सामु शारीरिक रोग शक्तिहीन हुन्छ ।
१५. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : ४
(क) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
बाटामा एउटा रमणीय ठाउँ भेटियो । देब्रेपट्टि पर्खालले घेरेको ढिस्कामा राम्रो मन्दिर थियो, जसको छानाको मर्मत हुँदै थियो । पर्खालबाहिर फलामे सालीको अग्लो पिङ थियो । त्यसमा मच्चिएर मैले उत्तर पश्चिमतिरका हिमचुचुरा देखेँ । सात आठ पसल थिए, जसका वरिपरि भेडाका बथान नुन र चामलका बोरा बोकेर उग्राइरहेका थिए । ठाउँ ठाउँमा बारी थिए, वन थिए र चरनहरू थिए । गाई चराउँदै गोठाला गोठाल्नी विरहलाग्दा गीत कुर्लिरहेका भेटिन्थे । आउने जाने मान्छेका समूह पनि प्रशस्तै देखिन्थे । धेरैमाथि पुगेपछि हिउँले ढाकेको पाखो देखियो ।
नेपाल हिमाली मुलुक हो तापनि धेरैजसो नेपालीले हिउँ कुल्चन पाएका हुँदैनन् । मैले २००१ सालको विशाल हिउँ वर्षा हुँदा फिक्कलमा हिउँमा खेल्नबाहेक र दार्जिलिङमा एक दुई पटक हिउँ फुस्फुसाएको देखेबाहेक हिउँको राम्रो परिचय बेलायतमा मात्र पाएको थिएँ । बेलायती हिउँभन्दा सतबाँझका लेकको हिउँ बेग्लै थियो । यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।
प्रश्नहरू :
(क) यात्राको क्रममा लेखकले बाटामा देखेका रमणीय दृश्यहरू के–के हुन् ?
(ख) लेखकका अनुसार सतबाँझका लेकको हिउँ बेलायती हिउँभन्दा किन फरक र विशेष लागेको हो ?
(ख) दिइएको कथांशको अंश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
सुबोध एक्कासि जुरुक्क उठ्नुभयो । मलाई गढेर आँखा तर्नुभयो तीर जस्तै बनाएर । सुइँसुइँती जानुभयो । केही बोल्नुभएन । राती भइसकेको थियो । मुटुको स्पन्दन शान्त भयो । विजयोल्लासको वातावरण चारैतर्फ फैलियो । छोराछोरी पलङमा सुतिसकेका थिए । यस्तो अनुभव गरें कि एउटा कालो पोलिने असत्यमाथि सत्यको चिसो पानी खन्याए जस्तो लाग्यो । धेरै समयदेखि पाकेको पिलो घाउ फुटेर सन्चो भए जस्तै ठानेँ । घाँटीमा वौं झुन्डिएको ढुङ्गा खसेर हलुङ्गो भएको सम्झेँ । सुबोध अब कहिल्यै पनि मेरो घरमा नआइदेओस् ।
प्रश्नहरू :
(क) ममताको मन किन हलुङ्गो भयो ?
(ख) ममता र सुबोधका बिच मनमुटाउ हुनुको कारण के हो ?
१६. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : ४
(क) ‘गोर्खे’ कथामा पेशल र सतपालमध्ये कसको भूमिका मुख्य रहेको छ ? आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।
(ख) छिरिङको जीवन सङ्घर्षबाट के शिक्षा लिन सकिन्छ, आफ्नो विचार लेख्नुहोस् ।
१७. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : ८
(क) ‘एक चिहान’ उपन्यासमा नेपाली समाजको कस्तो अवस्थाको चित्रण गरिएको छ, वर्णन गर्नुहोस् ।
(ख) आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरा ‘विरहिणी दमयन्ती’ कथाका आधारमा पुष्टि गर्नुहोस् ।
१८. कुनै एक शीर्षकमा कम्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : ८
(क) नेपालमा पर्यटन उद्योग
(ख) मेरो राष्ट्र : मेरो गौरव
(ग) कृत्रिम बौद्धिकताको प्रयोग
समाप्त
