वार्षिक परीक्षा २०८२
वार्षिक परीक्षा २०८२
कक्षा : ९ (नौ) पूर्णाङ्क : ७५
विषय : नेपाली समय : ३ घण्टा उत्तीर्णाङ्क : २७
तलका सबै प्रश्नहरू अनिवार्य छन् ।
१. समूह ‘क‘ मा दिएका शब्दको अर्थको समूह ‘ख‘ बाट पहिचान गरी जोडा मिलाउनुहोस्: (२)
समूह ‘क‘ समूह ‘ख‘
निशा चिसो हावा
अड्डा प्रयत्न, कोसिस
सिरेटो रात
चेष्टा कार्यालय
प्रवल इच्छा वा तीव्र चाहना
२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : (२)
मेरो एकजना मित्रले चरातिर फर्केर तीर हानेको देख्दा मलाई दया लाग्यो । उसलाई त्यसो नगर्न कर गरेँ तर मानेन । मैले सम्झाउँदै वैरीलाई पनि यसो गर्न हुन्न भनेँ । ऊ भने यो धर्तीमा यस्तै हो भन्दै थियो ।
(क) ‘पृथ्वी’ को पर्यायवाची शब्द ……………… हो ।
(ख) ‘वैरी’ को विपरीतार्थी शब्द…………….हो ।
(ग) ………………अनेकार्थी शब्द हो ।
(घ) ‘तिर’ को श्रुतिसमभिन्नार्थी शब्द………………. हो ।
३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : (२)
स्याबास! हुने बिरुवाको पात भनेको यही हो । यसरी नै निरन्तर मिहिनेत गरेर पढ्यौ भने एकदिन सफल हुन्छौ; नत्र भोलि ‘आफैँ महादेव उत्तानो परे कसले देला वर’ भनेझैँ भएर धुरुधुरु रुने दिन नआओस् भनेर गुरुले विद्यार्थीलाई सम्झाउनुभयो ।
४. (क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (१)
(क) (अ) पुरुसार्थ (आ) पुरुषार्थ (इ) पूरुसार्थ (ई) पूरुषार्थ
(ख) (अ) श्रद्धाञ्जली (आ) श्रद्धाञ्जलि (इ) स्रद्धाञ्जली (ई) श्ररद्धाञ्जलि
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : (२)
भोलीपल्ट बिहान शबेरै उठेर कालजितले बाहिर बाट धेरै दाउरा आँगनमा जम्मा पारेछ र अगेनामा आगो फूकेछ ।
५. रेखाङ्कित शब्दका शब्दवर्ग छुट्याउनुहोस् : (३)
समाजमा गरिब मानिसहरु पनि बस्छन् तर गरिबले बरु मनभित्र माया बोकेर हिँड्न सक्ने रहेछ ।
६. तलका दुवै प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेद पढी दुईओटा उपसर्ग र दुईओटा प्रत्यय शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् : (२)
गाउँले होस् या सहरिया, सचेत नागरिकले अधिकार खोज्नु सही कार्य हो तर कर्तव्यको पालना गरेमा कसैले पनि अन्याय भएको, असमानता भएको महसुस गर्नु पर्दैन ।
(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् : (२)
वनजङ्गलको छेउछाउमा लामखुट्टेले सताएपछि गाउँघरमा दाजु र भाइहरुले सरसल्लाह गरी आआफ्नो टोल र बस्तीमा सरसफाइ गर्ने निधोमा पुगे ।
७. दिइएको अनुच्छेदलाई अज्ञात भूतकालमा परिवर्तन गर्नुहोस् : (२)
मेरो साथी किताब पसल गयो । उसले किताब र कापी किन्यो । बजारमा केही बेर अलमल गर्यो । ऊ साँझ अबेर घर फर्क्यो ।
८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (२)
(क) आज्ञार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा भाइलाई पढ्नको लागि अनुरोध गर्नुहोस् ।
(ख) दिइएको अनुच्छेदलाई द्वितीय पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
उसले विदेश जाने कुरा गर्यो । ऊ देशको माया पनि गर्छ । ऊ छिट्टै देश फर्कनेछ । उसले भविष्यमा गाउँको विकास गर्नेछ ।
९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (४)
(क) पर्यटकहरु भच्चेक गए । पर्यटकहरुले हिमाल हेरे । (वाक्य संश्लेषण)
(ख) आशिका माला गाँस्छे । (कर्मवाच्य)
(ग) भाइले चिठी लेख्यो । (प्रेरणार्थक)
(घ) गुरुले भन्नुभयो, “परिश्रमी विद्यार्थी सफल हुन्छ ।” (अप्रत्यक्ष कथन)
१०. दिइएको अनुच्छेद पढी उत्तर लेख्नुहोस् : (४)
गाउँमा गएपछि गाउँलेसँग सोधपुछ गरी उसले आफ्नो घर पत्ता लगाएछ । आफ्नो घरमा राक्षस बस्ने गरेको कुरा पनि उसले सुनेछ । ऊ आफ्नो घरमा जाँदा ढोका बन्द देखेर ढोका ढकढक्याएछ । भित्रबाट राक्षसले गजँदै भनेछ, “ढोका ढकढकाउने को हो ?” “मामा म तपाईंको भान्जो हुँ” कालजितले राक्षसलाई बाहिरबाटै भनेछ । भान्जो साइनो सुन्नेबित्तिकै उसले ढोका खोलिदिएछ । कालजित भित्र पसेछ र “ल मामा खानुहोस्” भन्दै आफ्नी आमाले बनाएका मिठा मिठा रोटी राक्षसलाई खान दिएछ । राक्षसले चिल्ला र गुलिया रोटी असाध्यै मिठो मानेर खाएछ र कालजितसँग खुसी हुँदै भनेछ, “ओहो भान्जा ! रोटी त ज्यादै मिठा पो छन् त ।” कालजितले भनेछ, “हेर्दै जानुहोस् न मामा, म तपाईंलाई अझै कति मिठा मिठा चिज खुवाउँछु !” यसरी कालजितले हरेक दिन गाउँमा गएर मिठा मिठा खानेकुरा ल्याएर राक्षसलाई खुवाउन थालेछ र दुवै जना मिलेर बस्न थालेछन् । कालजित र राक्षस सँगसँगै बसेको देखेर गाउँले पनि चकित परेछन् ।
प्रश्नहरू :
(क) ‘रोटी त ज्यादै मिठा पो छन् त ।’ यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित शब्द ‘राक्षसले‘ को कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) ‘गाउँमा गएपछि गाउँलेसँग सोधपुछ गरी उसले आफ्नो घर पत्ता लगाएछ ।’ यस वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गरी लेख्नुहोस् ।
(घ) ‘कालजितले हरेक दिन गाउँमा गएर मिठा मिठा खानेकुरा ल्याएर राक्षसलाई खुवाउन थालेछ ।’ यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् : (४)
सामान्यतया प्राणी जातिको हित विपरीत कुनै पनि कुरालाई झ्वाट्टै विश्वास गर्नु र त्यही विश्वास अनुरूपका कार्य गर्नु अन्धविश्वास हो । अन्धविश्वास मानसिक र सामाजिक रोग हो जसले महारोग बनेर नेपाली समाजलाई क्षतविक्षत् पारेको छ । यसले शिक्षित, अशिक्षित, धनी, गरिव, सभ्य-असभ्य सबैलाई छोएको छ । नेपाली समाजमा अझै पनि कतिपय ठाउँमा चुहिएको छानो छाउन साइत हेराउनुपर्छ । चेलीले माइत जान तिथि हेर्नुपर्छ । झाडापखालाले सिकिस्त हुँदा पानी पिउन नदिई देवीदेवताको दोष भनी कालो भाले चढाउने परम्परा छ । कसैले कसैलाई हेर्दा बिरामी भएको भनी बोक्साबोक्सीको आरोप लगाउँदै निन्दनीय र अमानवीय कार्य गर्ने चलन छ । यहाँ जसले मन्दिरको गजुर बनाउँछ, ऊ मन्दिर छिर्न पाउँदैन । एक्काइसौँ शताब्दीमा पनि आजको मान्छे शिक्षा र चेतनाको अभावमा अन्धविश्वासको भक्त बनी अकालमै जीवन गुमाउन बाध्य छ । त्यसलाई हटाउनका लागि गाउँगाउँमा शिक्षा र चेतनाको ज्योति बाल्नुपर्छ, उत्तम विचार र प्रगतिशील सोचविचार अनि अग्रगमनको यात्रा चलाउनुपर्छ र यस्ता अमानवीय र निन्दनीय कार्यमा संलग्न जो कोहीलाई पनि कानुनको कठघरामा उभ्याउनुपर्छ अनि मात्र स्वच्छ, समुन्नत समाजको निर्माण गर्न सकिन्छ ।
प्रश्नहरू
(क) के कारणले नेपाली समाज क्षतविक्षत् भएको छ ?
(ख) अन्धविश्वासले क-कसलाई छोएको छ ?
(ग) के कारणले मानिसले अकालमै ज्यान गुमाइरहेका छन् ?
(घ) स्वच्छ र समुन्नत समाजको निर्माण कसरी गर्न सकिन्छ ?
१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : भूपी शेरचन
जन्मस्थान : धौलागिरि अञ्चल, मुस्ताङ जिल्लाको थाक, टुकुचे
जन्म मिति : वि.सं. १९९३ पुस १० गते
शिक्षा : बी.ए. सम्मको औपचारिक शिक्षा हासिल
पिता : सुब्बा हितमान शेरचन
पुरस्कार र सम्मान : साझा पुरस्कार, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य
प्रवृत्ति र विशेषता : स्वच्छन्दतावादी प्रगतिवादी धाराका उत्कृष्ट कवि, युगीन विकृति र विसङ्गतिप्रति तीव्र विरोध, सर्वसाधारण जनताका दुःख र पीडालाई कवितामा उतार्ने, प्रसिद्ध व्यङ्ग्यवादी कवि, प्रकृतिप्रेमी एवम् देशप्रेमी कवि, प्रखर क्रान्तिचेतना, झ्याउरे तथा गद्य लयमा कविता लेख्न सिपालु, थोरै कविता रचे पनि धेरै पाठकका प्रिय कवि बन्न सफल
मृत्यु : वि.सं. २०४६
(ख) ‘सामाजिक सञ्जालको सदुपयोग‘ शीर्षकमा संवादको नमुना तयार पार्नुहोस् ।
१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (४)
(क) विद्यालयमा स्वच्छ, सफा खानेपानीका लागि आर्थिक सहयोगको अनुरोध गर्दै आफ्नो वडाका वडाध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
(ख) विद्यालयको वार्षिकोत्सव समारोहमा अतिथिहरुलाई आमन्त्रण गरिने निमन्त्रणा पत्रको नमुना तयार पार्नुहोस् ।
१४. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् : (२)
हामीले छिरुवा छिचोल्नुपर्छ आजै तर लामो थियो तय गर्नुपर्ने यात्राको लम्बाइ । गन्तव्यका लागि हाम्रा पाइला अघि बढे । कदम उठायौं हामीले । ताप्लेजुङको आँगनबाट यसो तलतिर चियाएर हेर्यौँ । चञ्चले तमोर नदी सल्बलाइरहेको दृश्यले झनै म मोहित भएँ । तमोर नदीको साँघुरो उपत्यकामा जताजतै हरियाली पोतिएको छ । बादलका टुक्राटाक्री तमोर माथिका अग्ला पहाडका बिचमा छुनमुनाइरहेका थिए । चञ्चल वायु र चराचुरुङ्गीका कलरव श्रवण गर्दै हामीले जोसिला पाइला चाल्यौँ । मेरो मनले तमोर सेरोफेरोका प्राकृतिक सौन्दर्यको आकाशमा उडान भर्न थाल्यो । त्यसैले त पदयात्रा झन्झन् रोमाञ्चक हुँदै गयो । अनगिन्ती उकाली ओराली आए र एकपछि अर्को पहाडका छाती टेक्दै आस्वादन गरेका प्राकृतिक मनोरम दृश्यले क्षणिक नै किन नहोस् भोकतिर्खा टर्दो रहेछ । सिस्ने पुगेपछि खाना खानका लागि एकछिन रोकियौं । तावागाउँको पातलो बस्ती हुँदै गन्तव्यतर्फ निरन्तर अगाडि बढ्यौं र त्यो दिनको पदयात्रा छिरुवामा पुगेर टुङ्ग्यायौं ।
१५. दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : (३)
पर्यावरणमा भएका विभिन्न स्रोतसाधनको प्रयोग गरेर नै हाम्रो जीविका चलेको हुन्छ । पृथ्वीमा भएका प्राणीमध्येको मानिस सर्वोत्कृष्ट प्राणी भएकाले ऊ आफ्नो चेतना र ज्ञानको प्रयोग गरी पृथ्वीमा उपलब्ध स्रोतसाधनको उत्खनन र प्रशोधन गरी भरपुर प्रयोग गर्छ । भूमिगत तेल, भूमिगत पानी, विभिन्न धातु, वनजङ्गल, जडीबुटी, नदीनाला सबैको प्रयोग गर्न सक्ने क्षमता मानिसमा रहेको छ । कतिपय मानिसले यी स्रोतसाधन प्रयोग गरी मनग्य आर्थिक उपार्जन पनि गर्ने गरेका छन् । यस्ता स्रोतसाधनलाई नवीकरणीय र अनवीकरणीय स्रोत गरी दुई वर्गमा विभाजन गर्न सकिन्छ । एक पटक प्रयोग गरिसकेपछि पनि पुन उपयोग गर्न सकिने स्रोतलाई नवीकरणीय ऊर्जा स्रोत भनिन्छ । जमिन, वनजङ्गल, जडीबुटी, भूमिगत पानी आदि नवीकरणीय ऊर्जाका स्रोत हुन् । एक पटक प्रयोग गरिसकेपछि फेरि उपयोग गर्न नसकिने स्रोतलाई अनवीकरणीय स्रोत भनिन्छ ।
१६. तलका प्रश्नको उत्तर दिनुहोस् : (४+४=८)
(क) दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् :
सत्यमोहन जोशी नेपाली भाषा, लोक साहित्य, संस्कृतिलगायतका क्षेत्रमा अनवरत् रूपमा योगदान दिने विशिष्ट व्यक्तित्व हुन् । उनको जीवनका महत्त्वपूर्ण योगदानमा प्रज्ञा प्रतिष्ठानबाट गाईजात्रा महोत्सवको प्रवर्धन, कलाकार अरनिकोबारे अन्वेषण, प्राचीन नेपाली मुद्राको खोजी आदि अविस्मरणीय छन् । त्यस्तै नेपाल भाषा एकेडेमीको स्थापना, चिनियाँ कविताको नेपाली अनुवाद तथा कर्णाली लोकसंस्कृतिको अनुसन्धानमा समेत उनको अहम् योगदान रहेको छ । उनी व्यक्तिगत जीवनभन्दा राष्ट्र र राष्ट्रियताका लागि अनवरत रूपमा समर्पित हुने कर्मशील व्यक्ति हुन् । सत्यमोहनमा रहेको अथक प्रयास र कामप्रतिको लगावबाट हामी सबै निष्ठावान् भई देशसेवामा लाग्यौँ भने सजिलै देशको काँचुली फेर्न सकिन्छ भन्ने सन्देश प्राप्त गर्न सकिन्छ । सत्यमोहन जोशीले नेपाली भाषा र नेपाल भाषा दुवैमा दर्जनौँ कृतिको रचना गर्नु चानचुने कुरा होइन । बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रलाई सशक्त र भावनात्मक रूपमा एकताको सूत्रमा बाँध्ने उनका प्रेरणादायी कार्यप्रति सिङ्गो राष्ट्र गौरव बोध गर्दछ ।
प्रश्नहरू : (क) सत्यमोहन जोशीले दिएका योगदानहरु के के हुन् ?
(ख) सत्यमोहन जोशीको जीवनीबाट पाइने सन्देश के हो ?
(ख) दिइएको कवितांशको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
आमा !
मैले यहाँ दुःखले कमाएको पैसाले
म जन्मेको घरको दैलो पोतेनछ
झिसमिसेमै गएर ल्याएनछ पानी पँधेराबाट
गोठको भकारो फालेनछ घाँस काटेनछ
खोरियाबाट दाउरा ल्याएनछ जङ्गलबाट ।
प्रश्नहरू :
(क) कविले आमासँग कुन–कुन काम गर्न नसकेको गुनासो व्यक्त गरेका छन् ?
(ख) माथिको कवितांशको आशय लेख्नुहोस् ।
१७. दिइएको प्रश्नको तार्किक उत्तर लेख्नुहोस् : (४)
‘स्वाद‘ कथाका पात्रहरु लोग्ने वा स्वास्नीमध्ये तपाइँलाई कस्को भूमिका मन पर्यो ? किन ? आफ्ना तर्क राख्नुहोस् ।
१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : (४)
(क) भइन् पृथ्वी तन्ना, चउर छ गलैंचा मखमली
दुलाहाको रातो झलल पगरी भो हिमचुली ।
(ख) तिमीसित आमाको हृदय छ भने मसित पनि बुबाको हृदय छ ।
१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (७)
(क) तलको निबन्धांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
हाम्रा नेपाली लोकबाजामा मान्छेलाई लठ्याउने शक्ति र कलाको अनन्त जादु भएकैले यिनको ठुलो महत्त्व छ । नेपालका पञ्चेबाजाले शुभकार्यको सङ्केत दिन्छन्, त्यसैले त विवाह होस् वा अन्य कुनै शुभकार्य पञ्चेबाजालाई अघि लगाइन्छ । ती बाजा घन्किन थालेपछि सारा अशुभ सङ्केत कुलेलम ठोक्छन् भन्ने विश्वास गरिन्छ । मलामी जाँदा बजाउने एकोहोरो शङ्खमा भूतप्रेत भगाउन सक्ने शक्ति हुन्छ भन्ने परम्परित विश्वास एकातिर छ भने अर्कातिर शङ्ख फुक्दा फोक्सोको व्यायाम हुन्छ भन्ने पनि मानिन्छ ।
(अ) नेपाली लोकबाजाका विशेषता कस्ता छन्, निबन्धका आधारमा समीक्षा गर्नुहोस् ।
(ख) तलको कथांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
त्यही रात भान्सा सकेर पार्वती छोरालाई सुताउने कोसिस गर्दै थिइन् । नरेशले आफ्ना साना साना बाहुले आमाको गाला छोपेर लाडे स्वरमा भन्यो, “आमा, आजदेखि मैले बन्दुक फालिदिएँ है । पछि म ठुलो भएर जर्मनी जान्छु, जर्मनहरूलाई साथी बनाउँछु र म पनि उनीहरूले जस्तै रोगीलाई निको पार्ने औषधी बनाउँछु ।” छोराको कुरा सुनेर पार्वतीको कण्ठ भरिएर आयो । तिनले “हुन्छ बाबु” सम्म भन्न सकिनन् । तिनको गला रुद्ध थियो, आँखामा हर्षाश्रु थियो । छोराको भविष्य आज तिनले निर्माण गर्न सकिन् । छोरो निदाइसकेर मिठो स्वप्नमा खेलिरहँदा पनि आमा चाहिँ छोराको भविष्य निर्माणमा झुलिरहेकी थिइन् ।
(अ) नरेशको भविष्य निर्माणमा आमा पार्वतीको भूमिका कस्तो रहेको छ ? कथाको आधारमा विवेचना गर्नुहोस् ।
२०. कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : (७)
(क) मेरो कल्पनाको नयाँ नेपाल
(ख) दिगो विकास आजको आवश्यकता
(ग) विज्ञान र प्रविधिको प्रयोग
समाप्त
