कृषिशालामा एक दिन संवाद पाठ पढ्नुहोस् ।
पाठ १० : कृषिशालामा एक दिन
(परियोजना कार्यका लागि गएका विद्यार्थी कृषिशालाभित्र छिर्छन् । त्यहाँ उनीहरूको भेट बद्री विश्वकर्मासँग हुन्छ)
डोल्मा गुरुमा : नमस्कार बद्रीजी । आराम हुनुहुन्छ ? हामी त आयौं नि ।
बद्री : नमस्कार । आराम छु हजुर । बेलैमा आउनुभएछ त । ल है, यताउता मिलेर बसौं । किसानको घरमा बस्ने ठाउँ साँघुरो काम गर्ने ठाउँ फराकिलो हुन्छ क्यारे । नास्पाती खाऊँ है त, म टिपेर ल्याउँछु ।
डोल्मा गुरुमा : अहिले पर्दैन बद्रीजी । पहिला घुमौं न । खानेकुरा त पछि खाउँला नि ।
बद्री : जाने त ? लौ हिँड्नुहोस् त उसो भए ।
विद्यार्थीहरू : जाऔं, जाऔं ।
डोल्मा गुरुमा : सुन्नुहोस् त विद्यार्थी भाइबहिनीहरू, बद्रीजीले अर्थशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । अध्ययनपछि उहाँले दश वर्षजति सरकारी सेवामा काम गर्नुभयो । अहिले चाहिँ जागिर छोडेर उहाँ यतातिर लाग्नुभएको हो । उहाँसँग दुवै समूहका प्रतिनिधिले आआफ्ना जिज्ञासा राख्नुहोला । पूरक प्रश्न चाहिँ अन्य विद्यार्थीले पनि गर्न सक्नुहुने छ । साँच्चै, कति वर्ष भयो बद्रीजी तपाईंले कृषि कार्य गर्न थाल्नुभयो ?
बद्री : भयो नि छसात वर्ष ।
म्हेन्दो : अनि तपाईं त यत्रो पढेलेखेको मान्छे, सरकारी जागिर पनि रहेछ। पक्कै राम्रै हुँदो हो, यतातिर लाग्ने सोच कसरी बनाउनुभयो ?
बद्री : सायद म महत्त्वाकाङ्क्षी मान्छे रहेछु क्यारे । मेरो स्वभावसँग त्यो जागिर त्यति मिलेन । त्यसैले म मेरो नजरको कुनै सार्थक काम गरेर बाँकी जीवन बिताउन चाहन्थें । त्यसका लागि मैले धेरैतिर खोजें । अन्ततः कृषिकर्मले मलाई आकर्षित गन्यो ।
म्हेन्दो : तपाईंले कृषिलाई नै महत्त्व गर्नुको कारण चाहिँ के हो नि ?
बद्री : हेर्नुस्, व्यक्तिलाई कृषक बन्ने कि नबन्ने भनी छान्ने छुट होला तर मानव जातिलाई कृषि गर्ने कि नगर्ने भनी छान्ने छुट छैन । जुन दिन वैज्ञानिकहरूले नखाईकन पनि बाँच्ने मानिसहरू जन्माउन थाल्लान् । त्यसपछि मात्रै कृषि मानव जातिका लागि वैकल्पिक पेसा हुने छ। आजका दिनमा चाहिँ एउटाले नगरे अर्काले, अर्काले नगरे तेस्रोले, कसै न कसैले त किसान हुनु नै छ । त्यसैले कृषिकर्म व्यक्तिगत रुचिअरुचिको काम मात्रै होइन, यो मानव जातिको अस्तित्वसँग जोडिएको आधारभूत काम पो हो त ।
डोल्मा गुरुमा : हेर म्हेन्दो, बाँच्नका लागि आवश्यक पर्ने सम्पूर्ण पोषणको मुख्य स्रोत नै खाद्य पदार्थ हो । खाद्य पदार्थ नै हामीलाई बचाउने औषधी हो, अमृत हो। कृषि नभई खाद्य पदार्थको उत्पादन कसरी हुन्छ र ? त्यसैले कृषि पेसा त आफूलाई मात्र होइन, संसारलाई बचाउने कर्म पनि त हो नि ।
बद्री : डोल्माजीले भन्नुभएको कुरा सही हो। अर्कातिर अहिले खेतीयोग्य जमिन बाँझो हुने क्रम बढिरहेको छ । प्राकृतिक र जैविक विविधतायुक्त उर्वर जमिन भएर पनि खाद्य पदार्थ विदेशबाट किन्नुपर्ने बाध्यता छ । यसले स्वदेशको पैसा विदेशतिर गइराखेको छ । कृषि उपजमा समेत वैदेशिक व्यापार घाटा छ । यस्तो बेलामा तपाईं हामी जस्ता पढेलेखेका मान्छेले यस विषयमा नसोच्ने हो भने कसले सोच्छ र ? मलाई लाग्छ, सामान्य जागिर खानुभन्दा बाँझो जमिनमा अन्न, फलफूल, तरकारी फलाउनु बढी महत्त्वको कुरा हो । यसबाट राज्यले कल्पना गरेको समृद्धि, स्वरोजगार र पर्यावरण संरक्षणको क्षेत्रमा योगदान हुन्छ ।
रामभरोस : कृषि पेसालाई दुःखी पेसा भन्छन् । दुःख त तपाईंले पनि पाउनुभएकै होला । कहिलेकाहीं त खुरुखुरु जागिरै खाएको भए हुने रहेछ जस्तो लागेको छैन हजुरलाई ?
बद्री : आआफ्नो सोचको कुरो हो यो पनि। हेर्नुहोस्, आनन्द भन्ने कुरा पनि सापेक्षित हुँदो रहेछ । स्वस्थ जीवनका लागि शारीरिक श्रमको महत्त्व नबुझेको भए पसिना बगाउँदा मलाई दुःख लाग्थ्यो होला । आफूले रोपेको बिरुवा हुर्किँदा मलाई आफ्नै सन्तान हुर्कँदै गरेको जस्तो लाग्छ । पछि परन्तुको कुरा होइन, अहिले तत्काल नै म हुर्किंदै गरेका बिरुवा हेरिएर रोमाञ्चित हुन्छु। फुल्दै गरेका फूल र फल्दै गरेका फलले मेरो जीवन सार्थक बनाए जस्तो लाग्छ । साँच्चै भन्नु भने संसारको सबैभन्दा राम्रो काम गर्ने अवसर मलाई यहीं मिलेको जस्तो लाग्छ ।
म्हेन्दो : यो त भावनाको कुरा भयो, खासमा खेतीपाती गरेर जिन्दगी चलाउन गाह्रो हुँदैन र ?
बद्री : जीवनको गाह्रोसारो पनि भावनासँग नै जोडिने कुरा हो नि । सामान्यतः मन परेको काममा कमाइ थोरै भए पनि चित्त बुझ्छ । फेरि मैले जुन पद्धतिको खेतीपाती गरिरहेको छु, त्यसबाट हाम्रो परिवार मज्जाले चलेको छ । सामान्यतः हामी मल, बिउ, औषधी बजारबाट किन्दैनौं । रासायनिक खेती भएको भए किसानको धेरै पैसा बजारतिर जान्थ्यो । यो तो प्राकृतिक खेती हो । त्यसैले हामी उत्पादन कार्यका लागि प्रायः केही किन्दैनौं, उपज भने खुरुखुरु बेच्छौं । उत्पादनमा लागत कम छ तर उत्पादित वस्तुको मूल्य चाहिँ धेरै पाइन्छ । स्वास्थ्यमैत्री हुनाले हाम्रो उत्पादन सजिलैसँग यहींबाटै बिक्छ, बजारको कुनै समस्या छैन ।
भगतसिंह : अनि मल र औषधी नहालीकन पनि राम्रो उत्पादन हुन्छ त ?
बद्री : मैले मल र औषधी नै हाल्दिनँ कहाँ भनेको हो र ? बजारबाट किनेर हाल्दिनँ पो भनेको त । मैले आफूलाई चाहिने मल र औषधी यहीं बनाउँछु नि ।
रामभरोस : कसरी नि ?
बद्री : मल बनाउने त सजिलो तरिका छ । यी हेर्नुहोस्, यस भाँडामा २०० लिटर पानी, दश लिटर गहुँत, दश किलो गोबर, एक किलो गुँड, एक किलो दालको पिठो र वरपिपलको फेदको एक मुठी माटो राम्रोसँग मिसाइएको छ । यसलाई मैले आज बिहान तयार पारेको हुँ। पर्सि बिहानसम्म यसलाई यसरी नै ढाकेर राख्नुपर्छ । साँझ बिहान लौराले चलाउनुपर्छ । त्यसपछि यो लेदोलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । महिनामा एक पटक सर्सर्ती बोटबिरुवाका फेदमा छर्किएपछि त बिरुवालाई मलैमल भइहाल्छ नि ।
भगतसिंह : औषधी कसरी बनाउनुहुन्छ त ?
बद्री : औषधी पनि सजिलै बनाउन सकिन्छ । सामान्यतः गाईवस्तुले नखाने खालका दशबाह्र थरी रुखका पातको रस गहुँतसँग मिसाएर बोटबिरुवामा छर्ने हो भने अधिकांश रोगको नियन्त्रण गर्न सकिन्छ । त्यसमा खुर्सानी, निम, लसुन, बेसार, बोझो जस्ता जडीबुटी मिसाउने हो भने त सुनमा सुगन्ध भइहाल्यो ।
म्हेन्दो : ए त्यसो भए तपाईंले रासायनिक मल र औषधीको प्रयोग फिटिक्कै गर्नुभएको छैन त ?
बद्री : छैन, त्यसैले हाम्रो उत्पादन मानव स्वास्थ्यका लागि हानिकारक छैन । अघि गुरुआमाले खाद्यान्न अमृत हो भन्नुभएको थियो नि, त्यो चाहिँ यस्तै उत्पादनलाई भन्नुभएको हो ।
हर्कध्वज : हैन तपाईंले त खेतबारीलाई पुरै जङ्गल जस्तो पो बनाउनुभएको छ त ?
बद्री : हो त, यो वनजङ्गलकै पारामा गरिने खेती प्रणाली हो। हामीले यहाँ विशेषतः फलफूल र औषधीका बोट लगाएका छौं । यहाँ यो उचाइमा पाइने सबै अग्लाहोचा रुखलाई पञ्चस्तरीय ढाँचामा व्यवस्थित गरिएको छ । बिच बिचमा जलप्रबन्धनका लागि नाली पनि छन् । हेर्नुहोस् त, मैले गरेको कृषिमा बोटबिरुवाको सहअस्तित्वलाई स्वीकार गरिएको छ । यहाँ एउटा फसलले अर्को फसललाई सहयोग गर्छ । एउटाले नचाहिने भनेर माटामा फ्याँकेको तत्त्व अर्को बिरुवाले मलका रूपमा लिन्छ । एउटा बिरुवाको बासनाले अर्को बिरुवामा रोग लाग्दैन। केही न केहीको उत्पादन बर्सेभरि भइरहन्छ, बेचिरहन पनि पाइन्छ ।
भगतसिंह : भनेपछि फलफूल बेच्ने अनि अन्न र तरकारी चाहिँ बजारबाट किन्ने ?
बद्री : होइन, मैले अन्न र तरकारीका लागि उः परको ठाउँ छानेको छु । त्यहाँ वरिपरि ठुला ठुला रूख छन् जसले हावाको गति र रोगको आक्रमणलाई रोक्नुका साथै अन्न र तरकारीको उत्पादनका लागि उपयुक्त खालको प्राकृतिक वातावरण तयार पार्छन् ।
(सबै जना त्यतैतिर लाग्छन् ।)
रामभरोस : यी भर्खर रोपेका बेर्नाका फेदमा सुकेका पातपतिङ्गर किन हाल्नुभएको नि ?
बद्री : ए यो, मैले यसलाई आच्छादन भन्ने गरेको छु । यसो गरेपछि बालीमा अनावश्यक झारपात पनि उम्रिँदैनन् अनि जमिनको चिसोपन पनि सुक्न पाउँदैन । अघि देखाएको लेदो हल्का छरिदिएपछि बिस्तारै यो कुहिन्छ र बिरुवालाई मल पनि हुन्छ । हामीले खाने उत्पादित फसलबाहेक बाँकी रहेको सबै भ्यासभुस यसरी नै आच्छादन गरेपछि बिरुवालाई मलको अभाव नै हुँदैन नि । माटामा जति थियो त्यति नै रहेन त ? लिएको फसलको बदलामा महिनामा एक पटक लेदो छर्किने। हिसाबकिताब बराबर ।
हर्कध्वज : उता चाहिँ जङ्गलकै ढाँचामा खेती गर्नुभएको छ । यता पनि खेतबारीको वरिपरि रुखहरू रोप्नुभएको छ । यसैको छायाले बालीनाली बिगार्दैन ?
बद्री : सबै बिरुवालाई उत्तिकै घाम चाहिन्न। एक पटक तपाईं जङ्गलको वातावरण अनुमान गर्नुहोस् । त्यहाँ अनगिन्ती रुखबिरुवा हुन्छन् । सबै बाँचेकै छन्, हुर्केकै छन्, फलेकै छन् । जङ्गलका बिरुवामा तपाईं जाच्नुहोस्, कुनै तत्त्वको कमी हुँदैन । त्यही विज्ञान यहाँ लागु हुन्छ ।
म्हेन्दो : तर एउटा कुरा हजुर, जङ्गलमा त मल, पानी र खनजोत केही त गरिँदैन । खेतीमा पनि त्यही नियम ल्याउन खोजेर हुन्छ होला त ?
बद्री : हुन्छ । उताको मेरो बागवानी त्यही नमुनाको त हो नि, भइराखेको छ ।
भगतसिंह : तपाईंको कुरा अलि अनौठो लाग्यो । त्यसो भएदेखि रासायनिक मल र विषादीको प्रयोग गरेर खेती गर्नु नै हुँदैन त ?
बद्री : मैले प्रयोग गर्नुहुँदैन भनेको छैन । कुरो यत्ति हो कि मैले प्रयोग गरेको छैन । प्रयोग नगरी पनि यसरी नै गजबसँग उत्पादन गर्न सकिन्छ भने किन प्रयोग गर्नुपन्यो र ? यदि कसैले गर्ने नै विचार गर्छ भने कृषिविद्को सल्लाहमा माटो, हावा, पानी नबिग्रने गरी गर्नुपन्यो। मानव स्वास्थ्यलाई विचार गरेर गर्नुपन्यो । जमिनलाई उर्वर बनाउन गर्नुपन्यो, बन्जर बनाउन होइन । खासमा कृषि क्षेत्रमा जथाभावी रूपमा रासायनिक मल र विषादीको प्रयोग गर्नाले हामीले खाद्यपदार्थसँगै विष खाइराखेका छौं । त्यति मात्रै होइन, रासायनिक मल तथा विषादीहरूको अत्यधिक प्रयोग गरेर पानीका स्रोत र सास फेर्ने हावासमेत विषाक्त बनाएका छौं। माटोसमेत बर्बाद बनाएर असङ्ख्य जलचर र स्थलचर जीवहरूको हत्या गरेका छौं । प्राणीहरूको जीवन रक्षाको आदर्शलाई भुलेर यसरी विषादी प्रयोग गर्नु अपराध कर्म होइन ? मलाई लाग्छ, यो राम्रो भइराखेको छैन । त्यसैले त बेला बेलामा प्रकृतिले अनेक रोगका नाममा हामीलाई पनि सजाय दिइराखेको छ, हैन र ?
डोल्मा गुरुमा : ठिक कुरा हो बद्रीजी, रासायनिक मल र विषादीको प्रचुर प्रयोगबाट गरिने उत्पादन प्राकृतिक उत्पादन नै होइन । त्यो त मानवनिर्मित कृत्रिम पदार्थ हो । खासमा त्यो खानेकुरा नै होइन, खानेकुरा जस्तै देखिने विषालु वस्तु हो ।
बद्री : हेर्नुस् डोल्माजी, हामीले त नेपालको कृषि क्षेत्रमा रहेका परम्परागत ज्ञान र अनुभवलाई जोगाउनुपर्ने छ । हाम्रा पुर्खाले जोगाएर हामीलाई सुम्पेका बिउबिजन हराउँदै गएका छन्, भविष्यका लागि तिनको संरक्षण र प्रवर्धन गर्नुपर्ने छ । कृषि कर्मलाई सम्मानित कर्मका रूपमा स्थापित गर्नुपर्ने छ । तर के गर्नु ? नेपालको करिब दुई तिहाइ जनसङ्ख्या कृषि क्षेत्रमा आश्रित छन् तैपनि आजका प्रायः विद्यार्थीले आफूलाई भोलिको किसान भन्ने सोचेको छैन । कृषिकै अध्ययन र अनुसन्धानमा लागेका कृषि वैज्ञानिक, नीति निर्माता, जिम्मेवार पदाधिकारी तथा कर्मचारी वा कृषि अभियन्ताले पनि आफ्ना सन्तानलाई किसान बनाउन खोजेका छैनन् । पढेलेखेको मान्छेले म अब कृषि कर्म अपनाउँछु भनी निर्णय लियो भने त्यसलाई अर्कै नजरले हेर्ने वातावरण छँदै छ । यो मनोविज्ञानलाई नबदलेसम्म हामी कसरी समृद्ध बन्न सक्छौं र ?
डोल्मा गुरुमा : तपाईंको कुरा मननीय छ बद्रीजी । तपाईंको यो कृषिशाला कृषिशाला मात्रै होइन, ज्ञानशाला पनि रहेछ । तपाईंलाई धेरै धेरै धन्यवाद । ल विद्यार्थी साथीहरू, हामी अब फर्कने तरखर गर्नुपर्छ है ।
बद्री : पख्नोस् पख्नोस्, फलफूल खाएर मात्रै फर्कनुपर्छ । म टिपिहाल्छु ।
(सबै विद्यार्थी गुरुमाको अनुहारतिर हेरेर हाँस्छन् ।)
शब्दभण्डार (पाठ १० का शब्दार्थ)
- मननीय: सोच्न लायक, मनन गर्न योग्य।
- उपज: बालीनाली, पैदावार।
- सार्थक: अर्थपूर्ण, सफल।
- जलचर: पानीमा बसेर जीविका गर्ने प्राणी।
- विषाक्त: विषयुक्त, विषालु।
- आच्छादन: बिउ वा बेर्ना छरेपछि माटालाई सुकेका पातपतिङ्गरले छोप्ने प्रक्रिया।
- पञ्चस्तरीय: एउटै स्थानमा पाँच फरक उचाइ र तह हुने गरी वृक्ष लगाउने ढाँचा।
