वीर पुर्खा कविता पाठ पढ्नुहोस् ।
पाठ १: वीर पुर्खा
वासुदेव त्रिपाठी
कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र
वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र
गरुडको वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो
पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।
पूर्व टिस्टा तिमीलाई सम्झी अझै रुन्छ होला
पश्चिम राबी तिम्रो अझै रक्तधारा धुन्छ होला
काँगडा र कलङ्गाको ढुङ्गा माटो बोल्छ होला
वीर पुर्खा ! तिम्रो गीत गङ्गाभरि गुँज्छ होला ।
डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला
वेत्रावती किनारभरि पौरखको चिनो होला
वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो
सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।
नाका थुनी नेपालीलाई कसले छेक्न सकेथ्यो र
हिमालको हिमनदी कसले रोक्न सकेथ्यो र
वीर पुर्खा ! तिम्रै रगत नेपालीका नसाभरि
उही गीत उही गौरव चन्द्रसूर्य ध्वजाभरि ।
शब्दार्थहरू (पृष्ठका आधारमा क्रमशः)
पाठ १ (वीर पुर्खा) का शब्दार्थहरू:
- गरुड: गिद्ध प्रजातिको ठुलो पक्षी विशेष
- वेग: प्रवाह / गति
- डोब: डाम / चिन्ह
- नाका: गौंडा / सिमानाको मुख्य बाटो
- पौरख: पुरुषार्थ / बहादुरी
