रारा भ्रमण दैनिकी पाठ पढ्नुहोस् ।
पाठ ११ : रारा भ्रमण
२०७७ जेठ २३ गते
सधैं ६ बजे उठ्ने म आज त बिहानै साढे तीन बजे नै उठें। अरू दिन जस्तो कहाँ हो र ! आज त विशेष दिन थियो ! किनकि नेपाली प्रकृतिको अनुपम छटाले भरिएको कर्नाली प्रदेशको मुगुमा अवस्थित रारा जाने दिन पो थियो आज ! आँखाका ढकनी त आज साढे तीन बजे पो खुलिसकेछन् ।
झटपट नित्यकर्म सकेर म लागें मलाई नै पर्खेर बसिरहेको जिपतर्फ । गुल्मी आँपचौर तल्लाफाँटको ‘राष्ट्रिय कफी विकास केन्द्र’ अगाडि कुरेर बसिरहेको जिपमा म पुग्दा अन्य साथी आइसकेका रहेछन् । आँपचौरको तल्लाफाँटबाट सुर्खेत पुग्नका लागि बिहान चारै बजे हाम्रो जिप निकै हतारिँदै थियो, किनकि आज जिपलाई करिब चार सय किलोमिटर लामो बाटो गुड्नुपर्ने थियो । नवीन दाजु, ललिता भाउजू, गोविन्द गुरुङ, धनलाल सर, प्रवेश भाइ, मनमाया र मसहित छ जना राराका घुमक्कड टोली बोकेर जिप तल्लाफाँटबाट सुर्खेतका लागि कुद्यो ।
ढोरपाटनबाट बग्दै आएको रुद्रावती नदीका काखमा अवस्थित तल्लाफाँटबाट रुद्रावती नदीलाई दाहिने पारेर किनारै किनार हामी अघि बढ्यौं । उहिल्यैदेखिको कच्ची तर अहिले ग्राबेल हुँदै कालोपत्रेको पर्खाइमा रहेको तल्लाफाँटदेखि रिडीसम्मको ३० कि.मि. अर्धकच्ची बाटाका जोल्ठिङमा हामीलाई हर्त्याङढुलुङ पारेर हल्लाउँदै जिप हुइँकिँदै थियो र झिसमिसेमै मजुवा, चोरकाटे, उल्लीखोला, खैरेनीका फाँट छिचोल्दै हामीलाई बिहान साढे पाँच बजे रुद्रवेणी पुऱ्यायो । तल्लाफाँटबाट हामी सँगसँगै आएको रुद्रावती र मुस्ताङको दामोदर कुण्डदेखि लामो यात्रा गर्दै आएको काली गण्डकी एकअर्कामा समाहित भएको ठाउँ हो रुद्रवेणी । त्यहाँबाट स्याङ्जा गुल्मी र पाल्पा जिल्लाको मिलन बिन्दु रुरुक्षेत्रका नामले प्रसिद्ध तीर्थ एवम् पर्यटकीय स्थल रिडी पुग्यौं ।
हाम्रो जिप अर्गली, जोर्ते, लगुवा, हार्थोक हुँदै पाल्पा तानसेन पुग्दा साढे सात बजिसकेको थियो । तानसेनको बतासेडाँडादेखि नागबेली बाटाका घुम्तीमा बटारिँदै गुडिरहेको हाम्रो जिप पर्वास पुग्यो । हामीले पाल्पाको जोरधारामा पुगेर पकौडा, चुकाउनी र चिया खायौँ ।
हामी नौ बजे बुटवल पुगिसकेका थियौं र हाम्रो जिप बुटवलबाट पश्चिमतर्फ मोडियो । गोरुसिङ्गे, चनौटा, भालुवाङ, लमही हुँदै हामी साँझ चार बजे कोहलपुर पुग्यौं । बुटवलदेखि भेट भएको पूर्व पश्चिम राजमार्गलाई छाडेर हामी उत्तरतर्फ लाग्यौं । कोहलपुरमा पूर्वपश्चिम राजमार्गसँग बिदा भएर कर्नाली राजमार्गतर्फ अगाडि बढेको हाम्रो टोली चिसापानी, हात्तिसार र हरेको लेक हुँदै छिन्चुमा पुग्यो । हाम्रो जिप भेरी नदी तरेर कोहलपुरदेखिको करिब ७५ किलोमिटरको यात्रा छिचोल्दै सुर्खेत पुग्यो र साँझ नौ बजे सुर्खेत बसपार्ककै एक होटलमा बस्यौं ।
२०७७ जेठ २४ गते
हिजो दिनभरि जिपमा कुँजिएर बस्दा र जिपले हुइक्याउँदा थाकेर लखतरान भई हिजो दश बजे सुतेका हामी बिहान चारै बजे उठ्न बाध्य भयौं । किनकि हाम्रो जिपका गुरुबाट हामीलाई पाँचै बजे तयार हुन भन्ने सङ्केत भइसकेको थियो ।
२४ गते बिहान पाँचै बजे सुर्खेतबाट राराको यात्रामा निस्क्यौं । एकछिन त्यहीं बसेर सुर्खेतको सुन्दर उपत्यकालाई हेर्ने रहर हुँदाहुँदै पनि यस पटकको हाम्रो गन्तव्य रारा भएकाले हामी सुरम्य उपत्यका र बजार छोडेर अघि बढ्न विवश थियौं । हाम्रो जिप बड्डीचउर पाताल खोला हुँदै तल्लो डुङ्गेश्वर झर्यो। हामीले त्यहीं नै चियानास्ता गन्यौँ ।
चिसो हिमाली जल बोकेर तातो तराई झर्दै गरेको कर्नाली नदीको तिरैतिर हामी अघि बढ्यौं । यस्तो लाग्थ्यो, मानौं कर्नाली घाम ताप्न तल तल झर्दै छ र हामी शीतलताको खोजीमा माथि माथि सर्दै छौं । राकम कर्नाली, खिड्की जिउला हुँदै हामी जितेगाढ पुग्यौं । सिन्जाबाट र जुम्लाबाट झरेका दुई बहिनी जस्ता हिमा र तिला नदी नाग्मगाढमा मिसिएर सुसेली हाल्दै यही जितेगढमा आएर कर्नालीमा हेलिएका थिए । यही दोभानबाट हामी कालिकोटको सदरमुकाम मान्म र पिली हुँदै हामी नाग्मगाढमा पुग्यौं । तिला र हिमा नदी मिसिएको यो ठाउँबाट हामी हिमा नदीको किनारै किनारको राजमार्गलाई नछाडी सिँजा उपत्यकातिर उकालो लाग्यौं ।
नाग्मबाट करिब डेढ घण्टापछि सिंजा उपत्त्यका प्रवेश गन्यौ । सिँजाका वरिपरिका रमणीय बस्ती र खेतलाई हिमा नदीले अभिसिञ्चन गरी जीवनदान दिएकी रहिछन् । बाइसे खस राज्यको राजधानी, नेपाली भाषाको उद्गम स्थल र रातो मार्सी धान उत्पादनको मूल थलो सिँजा उपत्यकाभित्र थुप्रै गाउँ रहेछन् । नराकोटबाट सिँजा प्रवेश गरेपछि त्यस उपत्त्यकामा पाण्डवगुफा हुँदै गोठीजिउला पुग्यौं । नेपाली भाषाको उद्गम भूमि र मार्सी चामलको भूमि रहेछ सिँजा उपत्त्यका । गोठीजिउलामा पुगेर जिपबाट ओर्लंदै जिपभित्र कुँजिएको जिउ तन्कायौं अनि होटलमा खाना बनाउन लगायौं ।
दुई सय वर्ष पहिले बाइसे राज्यका समयमा यो सिँजा कति गुल्जार थियो होला ? भनिन्छ, यही सिंजाले राणाकालमा दरबारका भान्सामा मार्सी चामल पठाउँथ्यो रे। मोटर बाटाले छोएपछि भने सिँजा अहिले दङ्ग परेको जस्तो मैले अनुभूत गरें ।
खाना खाएपछि पवित्र र ऐतिहासिक सिँजालाई आँखाभरि सजाउँदै हामी जिप चढ्यौं । लुड्कु, हाटसिँजा र मालिका बोता जस्ता सहर हुन रहर गर्दै गरेका रमणीय बस्ती छिचोल्दै अघि बढ्यौं । हामी ऐतिहासिक सिँजा उपत्यकालाई छोड्दै मालिका बोतादेखि सुरु हुने चट्टान चिरेर बनेको राजमार्गलाई पछ्याउँदै गयौं र चौंथा भन्ने ठाउँमा पुग्यौं । होटल र खानपानको व्यवस्था भएको यस ठाउँबाट उकालिँदै घुच्चीको लेकमा पुग्दा रारा राष्ट्रिय निकुञ्जको चेक पोस्टसँग हाम्रो जम्काभेट भयो । रारा आइपुग्यो कि क्या हो ? भनेर सोधेपछि थाहा भयो, अझै केही ओरालो र जङ्गलपछि मात्र पो रारा ताल पुगिने रहेछ । त्यहाँबाट अघि बढेर पिनागाउँ हुँदै हामी रारा ताल नजिकैको सल्लेरीको जङ्गलमा पुग्यौं । गाडी त्यहीं रोकेर झोला बोकी करिब एक घण्टा हिड्यौं । रात परेकाले होला, बाटाको जङ्गलका फाट्टफुट्ट रुखका ठुटाहरू मान्छे धुम्धुम्ती बसे जस्तै देखिए । म एक्लै आएको भए त तर्साउँथे होलान् । केही छिनपछि हामी रारा पुग्यौं । हामीले राराकै छेउमा अवस्थित रिसोर्टमा थाकेका झोला बिसायौं ।
बेलुका नै रिसोर्टमा बसेर आगो ताप्दै गर्दा देखिएको राराको रात्रिकालीन सौन्दर्य र स्थानीयबासीहरूबाट सुन्न पाइएको देउडाको प्राकृतिक स्वाद पनि कम्ती स्वादिलो थिएन । रिसोर्टमा पुग्ना साथ हामीलाई तातो हर्बल चियाले स्वागत गरियो । जति पिए पनि थपिदिने चलन रहेछ । मुख र पेट हर्बलले ताते पनि शरीरसँग सिँगौरी खेल्न भन्दै चिसो हावा आफ्नै गतिमा बगिरहेको थियो ।
रारा भ्रमणमा आएका विदेशी मात्रै होइन स्वदेशी पर्यटक आआफ्नै समूहहरू रिसोर्ट क्षेत्रभित्रै नाचगान र ख्यालठट्टा गर्दै रमाइरहेका दृश्य पनि कम्ती रोचक थिएनन् ! चिसिएको शरीरलाई बलिरहेको आगाका रापमा सेकाउँदै आआफ्नै भाषा र संस्कृतिपरक प्रस्तुति दिइरहेका दृश्यले यस स्थानलाई सिङ्गो विश्वकै सास्कृतिक केन्द्र बनाइरहेको थियो। यसको प्रत्यक्षदर्शी म आफै बनिरहेको थिएँ ।
तराईको गर्मीमा बाफिँदै उकालिएको हाम्रो जिउ रारामा आइपुग्दा पुरै चिसिएको थियो । हामी गुल्मीको भन्दा कैयौं धेरै गुना चिसो ठाउँमा पुगिसकेका थियौं । एकछिन अघिसम्म आगाको कृत्रिम तातो र राराको प्राकृतिक चिसोको तीव्र द्वन्द्व अनि लामो यात्राको थकानले लखतरान भएको अनुभव गरेको थिएँ । राराको सौन्दर्यपान गर्ने खुसीले मन भने फुरुङ्ग थियो ।
२०७७ जेठ २५ गते
आज पनि सबै जना बिहान पाँच बजे नै उठ्यौं। हामी हाम्रो सपनाको गन्तव्य राराको आँगनीमा पुगेर एक टकले सारा रारालाई आँखाका साना नानीभित्रै अटाउन खोज्यौं ।
बिहानै मिर्मिर उज्यालो भएपछि हामी रारा ताल हेर्न, छुन र त्यसबाट आनन्द लिन राराकै छेउमा पुग्यौँ । किनारमा छचल्किँदै आउने रारा तालका बेताल लहर बैंसले छचल्किएका हुन् या हामीसँग पिरती गाँस्न हतारिएका हुन्, हामीलाई ठम्याउन गाह्रो पर्यो । सौन्दर्य हेर्न आउने जति सारा पर्यटकको दिल चोर्ने जादुमयी राराको मादकतामा नलट्ठिने कोही हुँदा रहेनछन् । कवि म.बी.बी. शाहको ‘रारा कि अप्सरा’ भन्ने कविता सम्झेपछि मलाई लाग्यो, रारामा त शासकलाई समेत एकै नजरमा साहित्यकार र कवि बनाइदिन सक्ने जादु पनि रहेछ । आफू कवि नभए पनि मलाई राराका जुन कुनै दृश्य कविताका सुन्दर पङ्क्ति लागिरहे । सम्पत्ति, सुख र वैभवका पछाडि कुद्दाकुदै कृत्रिमताको मैलोले कटकटिएको मानव मनलाई धोइपखालिदिएर प्राकृतिक मान्छे बनाउने जादु पनि यिनै रारामा रहेछ । सुन्दरता यस्तो वस्तु रहेछ जसलाई जति हेरे पनि नअघाइँदो रहेछ र अझै भोक जागिरहँदो रहेछ ।
हामीले रारा राष्ट्रिय निकुञ्जको कार्यालयको दक्षिण फर्केको गेटनजिकै बसेर पनि रारालाई हेन्यौँ । राराकै किनारमा बस्दा राराका छाल छचल्किँदै हामीसँग जिस्किन आइपुगे र हामीलाई त्यो चिसो पानीले छुँदा रारा नानीको न्यानो मायाले जिउ नै सिरिङ्ग पारेको अनुभूत भयो । हामीले राराको वरिपरि करिब पाँच किलोमिटर हिँडेर एक फेरा पनि लगायौं । चारैतिरबाट सदाबहार वनस्पतिले भरिएका पहाडले डिल लगाए जस्ता डाँडाले घेरिएको यो रारा र यसको गाढा हरियो पानी हेर्दाको दिव्य अनुभूतिको वर्णन शब्दबाट मात्र सम्भव थिएन ।
मलाई लाग्यो, शुक्ल पक्षमा चाहिँ राराका तालभित्र दिउँसो र राती, घाम र जून पालो बाँडेर आलोपालो पौडिंदा होलान् । रातीको यस्तो मादक दृश्य देखेर दिउँसो आकाशमा देखिने बादलका दल, नजिकै ठडिएका हरिया पहाड तथा सैपाल, सिस्ने र कान्जिरोवा जस्ता हिमाल पनि तँछाडमछाड गर्दै राराका लहरमा हाम्फाल्दै लहरिएर अपूर्व आनन्द लुट्दा होलान् ।
त्यहाँको कञ्चन जल देख्दा लाग्यो, राराको यो जल साधारण होइन, असाधारण छ । यो जल राराकै सरोफेरोको घना जङ्गलमा रहेका सयौं प्रकारका असङ्ख्य जडीबुटीका जराका वनौषधीहरूको अनुपम रसायन र सम्मिश्रणबाट बनेको छ । त्रेता युगमा लक्ष्मण घाइते हुँदा हनुमान्जी सञ्जीवनी बुटी लिन हिमाली भेगमा आउँदा कुन चाहिँ सञ्जीवनी बुटी हो ठम्याउन नसकी सिङ्गो पर्वत नै उठाएर लगेको मिथक भनूँ वा किंवदन्ती भनौं त्यो कल्पना मात्र होइन कि भन्ने कुरालाई त्यस दृश्यले पुष्टि गर्थ्यो ।
रारालाई पहरा दिएर बसेका वरिपरिका पहाड र त्यहाँ सुषुप्त वनस्पति सम्झेर मेरो छाती गर्वले फुल्यो । म आफूभित्र नेपाली हुनाको गौरवको नयाँ सगरमाथा उभियो ।
समुद्री सतहदेखि २९७२ मिटरको उचाइमा अवस्थित यस तालको लम्बाइ अधिकतम पाँच किलोमिटर र चौडाइ चाहिँ अधिकतम ३.२ किलोमिटर रहेछ । १०.८ वर्ग किलोमिटर ओगटेको क्षेत्रफल स्वयम्ले नै यस तालको विशालता, उच्चत्ता र भव्यताको साक्ष्य प्रस्तुत गरेको रहेछ । बिहान सूर्य उदाउँदा काँच झै टलल टल्किनु, दिउँसो चल्ने बताससँगै राराको पानी आफै हावामा लहरिँदै तरेली खेल्नु र आकाशमा बादल लाग्दा सोही बादललाई तानेर पुरै तालभरि नै ओछ्याई दिनभरमा तीन पटक सौन्दर्य सज्जा गर्दै पर्यटक लठ्याउनका लागि रारा नानीले अनेक रूप फेर्दिरहिछन् । रारा नजिकै करिब दुई घण्टाको हिँडाइबाट पुगिने मुर्माटप भन्ने अत्यन्त महत्त्वपूर्ण ठाउँ रहेछ । राराको पुरै दृश्यावलोकन गर्न अपी, कान्जिरोवा र सिस्ने जस्ता हिमाल हेर्न पाइने उक्त ठाउँमा पुग्न हामी सकेनौं ।
हामीले पनि हिजो राति एक जना देउडा गायकले गाएको र राराबाट छुट्टिएर जाँदा हामीलाई घत लागेको यो देउडा गीत गुनगुनायौं :
भोल उठी बाइजान्या हौं बसेइ है रारा ताल
आक्को साल फेरि आउँला नबिर्सन्या मायाजाल ।
इसरी रारालाई हेर्ने र अघाउने धोको अधुरै छाडी अर्कोपल्ट अघाउन्जेल हेर्न आउने वाचाका साथ हामी साँझ सात बजेतिर पुनः रिसोर्टमै फक्यौं । हामी हतारिएका थियौं किनकि हामीलाई भोलि बेलुकी सुर्खेत र पर्सिसम्म आफ्नै जन्मथलो पुग्नु थियो ।
शब्दभण्डार (पाठ ११ का जोडा मिलाउने खण्ड)
- विविधतायुक्त वैभव: भिन्नताले भरिएको सम्पत्ति।
- सञ्जीवनी बुटी: जीवन बचाउने औषधी।
- अवलोकन भ्रमण: विभिन्न दृश्यको अवलोकनका लागि गरिने भ्रमण।
- दिव्य अनुभूति: अलौकिक अनुभूति।
- शुक्ल पक्ष: कृष्णपक्ष पछिको पन्ध्र दिन (उज्यालो पक्ष)।
- सदावहार वनस्पति: सधैं हरियो हुने रुखबिरुवा।
- गुल्जार: हराभरा भएको, चहलपहलपूर्ण, आबाद भएको।
- जम्काभेट: आकस्मिक वा अचानक हुने भेट।
