गाउँको माया कथा पाठ पढ्नुहोस् ।
पाठ २: गाउँको माया
इस्माली
लगभग दुई वर्षपछि गाउँतिर फर्केको थिएँ । यी दुई वर्षका बिचमा धेरै पटक प्रयास गरें गाउँतिर जाऊँ भनेर । हरेक पटक एउटा अल्झो आइपर्थ्यो र प्रयास केवल प्रयासै रहन जान्थ्यो । यस पटक बल्लतल्ल उम्केर आउन सकेको थिएँ । बाटाभरि आँखामा गाउँ नै नाचिरह्यो । मानसपटलभरि गाउँ नै सलबलाइरह्यो । बुधना, परिछन, रामदरस, बखतबहादुर, कान्छो भाइ, आमा, बा, घर, छिमेक, टोल र गाउँ, सुल्ताना डाँकुको नौटङ्की, महावीरजीको झन्डामेला, हाटबजार …. अनि यस्तै यस्तै थुप्रै घटना । एक समय गाउँका यी घटना, भिडभाड, चहलपहलको म प्रत्यक्षदर्शी थिएँ । त्यति मात्र होइन, म पनि तिनमै थिएँ । अहिले आएर ती सबको पृथक्ताबोध कता कता च्वास्स बिझाउँछ आफैलाई । गाउँमा बस्न नपाउनुको पीडाबोध हलक्क मौलिन्छ छातीभरि । अस्ति भर्खर मात्र भाइले चिठी लेखेथ्यो, “दाजु ! अचेल त परिछनको टोलमा बेलुकी बेलुकी ‘रबिन हुड’ को नाटक रिहर्सल गर्दै छन् ।” आहा ! चिठी पढेर म कति खुसी भएथें । चिठी पढिसकेपछि जीवनमा मैले लगभग पहिलो पटक बोध गरें, हाम्रो गाउँमा पनि साँच्चैका मान्छे रहेछन् जो जीवनलाई बुझ्दै छन् । हाम्रो गाउँ पनि केही हो र केही हुन सक्छ र यही ‘केही हुनु’ नै मेरा लागि अथवा हाम्रा लागि माने म, बुधना, परिछन र बखतबहादुरका हकमा जीवन खुल्दथ्यो अर्थात् जीवनको, बाँच्नुको माने लाग्दथ्यो ।
एक पटक स्वयम् परिछनले पनि सायद मेरो भाइद्वारा नै हुन सक्छ, लेखाएर पठाएथ्यो, “किसन भाइ ! तिमीहरू त लेखपढ गरेर ठुला मान्छे भयौ । सँगैका साथी हामी, लाग्छ, धेरै पछाडि छुटिसक्यौं । कठै ! तिमी पनि गाउँमा बसिदिँदा हौ त हामी जस्ता गँवारले पनि दुईचार कुरा जान्ने मौका पाउने थियौं ।” हुन त परिछनले सोझो हिसाबले नै भनेको होला, तर मलाई कता कता लाग्यो कि मलाई ठुलो मान्छे बनाएर परिछन ममाथि व्यङ्ग्य कस्दै छ । परिछनको यो गुनासोसँगै गाउँ बस्न नपाउनुको पीडाबोध मभित्र फेरि पनि जीवन्त भएथ्यो ।
म लगभग गाउँनजिक आइपुगिसकेको थिएँ । चैते बतास उन्मुक्त भई छारो उडाउँदै थियो । घाम लगभग चर्कदै थियो र म, कृष्ण गाउँ पुग्ने लालसमा एकोहोरो एक सुरमा तर्कनाहरूबिच रम्दै धुलौटे सडक नाप्दै थिएँ ।
“जयरामजीकी, किसन भाइ !”
सुनेर सहसा म झस्कें । वरपर हेरें, कताबाट आयो यो परिचय स्वर ? परिछन हो कि ? अथवा बुधना पो हो कि ? अथवा रामदरस पो हो कि ? स्वर खुट्याउन गाह्रो भइरहेथ्यो । हुन सक्छ यतै कतै हलो जोतिरहेको होला अथवा घाँस खुर्किरहेको होला । नभन्दै सिमलको आडबाट परिछन टुप्लुक्क देखा पर्यो, जोत्दाजोत्दैको हलगोरु अड््याएर ऊ हस्याङफस्याङ गर्दै मतिर लम्कँदै थियो ।
“आऊ बसौं, सियाँलमा एकछिन । घाममा धापिएर आयौ । कहाँबाट यति बेला ? किन यति दिनमा ? कुनै चिठीपत्र पनि छोडेनौ ? अचानक !” म नजिक आइनपुग्दै परिछनले मेरा सामु थुप्रै प्रश्नहरू ओइऱ्याइदियो ।
जमाना थियो, म र परिछन लंगौटिया यार थियौं । गाई चराउँथ्यौं, सँगसँगै । सिजनमा बदाम, मकै चोरेर ओरहा खान्थ्यौं र गीत गाउँथ्यौं । ती दिन अब धेरै पछाडि छुटिसके । त्यै गीत अचेल परिछनको छोराले गाउँदो हो गोठालो लागेका बेला, परिछनको छोरो पनि बाउको बिँडो थाम्दै । पछि, अलि उमेरदार भएपछि हली बस्ला । परिछन पनि पहिले गोठालो थियो, लगभग छसात वर्षकै उमेरदेखि । चौधपन्ध्रको किशोर वय नहुँदै बनी कमाउन थाल्यो र पछि हली बस्यो, सायद ज्यालादारीमा । छोरालाई पनि त्यही काम सिकाउँछ र पछि छोराले पनि आफ्नो छोरालाई पनि त्यही काम सिकाउला । यसरी एवम् रितले यो परम्परा अनन्त परिछनहरूका बलिया पाखुरीहरूबाट क्रमशः हस्तान्तरण हुँदै रह्यो । हुन त सायद म पनि त्यही नै हुन्थें होला तर कता, कहाँनिर गल्ती वा सही भयो र मैले काला अक्षरहरूसित मितेरी गाँसें । टोलका मानिसहरूले मेरा आमाबालाई हुटहुटी लगाइदिए, “चलाख छ, कुरो चाँडै टिप्छ । विद्यालय पठाइदिनुस्, भविष्य राम्रो हुन्छ ।” म विद्यालय जान थालें काठको पाटी बोकेर । यहींदेखि परिछन र मबिचको अन्तराल बढ्न थाल्यो । हामी, म परिछनदेखि र परिछन मदेखि, तर्की तर्की हिँड्न थाल्यौं । धेरैपछि जब म केही बुझ्न थालें अनि मैले पहिलोपटक अनुभव गरें, परिछनहरूसँग अन्तराल कदापि बढ्न दिइनुहुन्न र जो हुँदै छ त्यो गल्ती गरिदै छ । यसपछि परिछनलगायत ती बालदौतरीसँग फेरि सम्बन्ध कायम गर्न मैले निकै श्रम गर्नुपर्यो । विद्यालय बिदा परेको बेला कहिले ओरहा खाने, कहिले गिर खेल्ने, कहिले कपर्दी खेल्ने वा त्यस्तै केही निहुँ पारेर म उनीहरूसँग मिसिन्थें ।
सिमलको फेदमा झोला बिसाउँदै लामो खुई काढेर म रुमालले अनुहारको पसिना पुछन थालें ।
“प्यास लाग्यो होला, पानी पिउँछौ ?”
“यहाँ कहाँ पाउनु र पानी ?”
“अरे, के कुरा गर्छौं, सर्बत बिर्साउँछ यहाँको पानीले । पख ….” भन्दै ऊ दगुर्दै गयाे र जोतिँदै गरेको कोलाको आलीमा रहेको लोटा टिपेर खोलामा झर्यो ।
खोलो अचेल फेरि गाउँतिर सोझिएको रहेछ । यो खोलाले पनि गाउँलाई धुरुक्कै रुवायो । हुन त रुवायो मात्रै भन्नु खोलाप्रति अन्याय ठहर्ला । यो खोलाले गाउँलाई पालेको पनि छ । हाम्रो विगतको लगभग आधा उमेर यही खोलाको डिल र बगरमा बितेको थियो । कहिले ओरहा खाने निहुँमा त कहिले गाईभैंसी चराउने निहुँमा । खोलामा बाढी आएको बेला हामी गाईको पुच्छर समाएर बाढी तर्ने गथ्यौँ अथवा यस्तो बेलामा हामी खोलाको किनारमा बसेर बाढीको आनन्द लुट्थ्यौं । तर्न डराउने कोही मानिस आए भने हामी तीनचार जना एकअर्काको हात समाउँदै बाढीमा हेलिन्थ्यौं र किनारमा पर्खिरहेको मानिसलाई तारिदिन्थ्यौं । यस्तो काममा खास गरी परिछनकै विशेष रुचि थियो । “यहींनिर कुवा छ, गए सालको वर्षामा मूल फुटेको एकदम चिसो र मिठो पानी छ ।” ऊ पानी लिएर आइसकेको थियो ।
“आजकाल गाउँमा तीन पाटी भयो, किस्ना ।”
पानी पिउँदै गर्दा लगभग उदास र आर्द्र उसको स्वर मेरो कानमा गुन्ज्यो । उसले जसरी अँध्यारो मुखमुद्रामा विनाभूमिका मलाई यो खबर सुनायो । सहसा मलाई लाग्यो, गाउँमा सायद अब अङ्ग्रेजहरूको रोग सर्दै छ, डिभाइड एन्ड रुल । परिछनहरू भाँचिदै छन् । परिछनहरूको सगबगाउँदो चेतनासँगै गाउँका ठालुहरू नयाँ जुक्ति सोच्दै छन् ता कि तमाम परिछनहरू परिछन नै रहुन् । अर्थात् क्रीतदासरूपी हलीगोठाला नै रहुन् र मालिकहरूकै कृपापात्र भएर रहुन्, जुन एउटा परम्पराका रूपमा तिनका पुर्खाहरूले तिनका हातमा नासो छोडेर गएका थिए ।
“अँ ! यो तेस्रो पार्टी कहाँबाट कसरी आयो त ?”
“किसुन भाइ ! यो दुईतीन बरसमा गाउँमा धेरै उथलपुथल भयो । गए साल रोपाइँको बेलामा हामीले चार किलो बनीको कुरालाई लिएर हडताल गयौँ । सुरुमा त सब राम्रै थियो । तीन दिनसम्म काम ठप्प भयो । हामीले फेकन र शनिचरलाई अगुवा बनाएका थियौं । पछि उनीहरूले धोखा दियो र धनीहरूसँग मिल्यो । चार चार मन धान दिन्छु भनेका थिए रे र त्यै लोभमा हडताल बिच्काइदियो । पछि त्यही कुरालाई लेकर हामीले तिनीहरूलाई केरकार गऱ्यौँ, झगडाफसाद भयो र हामीले उनीहरूलाई आफ्नो पाटीबाट हटाइदियौं । पछि मालिकहरूले पनि एक मनभन्दा बढी धान दिएन रे । त्यसपछि उनीहरू छुट्टै पाटी बनाएर बस्या छन् । हडताल पनि बिच्किहाल्यो, न बनी बढ्यो, उल्टै हाम्रो एकता टुट्यो ।” ऊ वरपर छरिएका सिमलका राता फूलहरू जम्मा पार्दै थियो, सायद गोरुलाई खुवाउन ।
“हुन त यो एक किसिमले राम्रो पनि भयो, एक किसिमले नराम्रो पनि भयो । यस्तो भइरहन्छ तर हामीले हिम्मत हार्नु हुँदैन । कमसेकम अब हाम्रो पार्टीमा धोखेबाजहरू त रहेनन् कि !”
“त्यही कुराको खुसी छ, हिम्मत त किन हारिन्थ्यो र अरे, एक साल भएन त अर्को साल कहाँ जाला ! जब उत्तर गए रण पे तो पिछे हटना क्यों ? एउटा कुराको दुःख छ भाइ । यस्तो बेलामा, किसुन भाइ ! तिमी पनि गाउँमा हुँदा हौ त हामीलाई धेरै आडभरोस मिल्थ्यो, बल मिल्थ्यो, आखिर हामी त मूर्ख र गँवार न हौं । तिमी लेखपढ गरेको मान्छे । तिमी भन्या गाउँको अभिमान हौ, हाम्रो इज्जत हौ । तर तिमी पनि परदेशी भइदिँदा गाउँ मालिकहरूको एकलौटी रजाइँमा पर्छ…।”
यस पटक परिछनको कुरो सुनेर म मर्माहत भएँ ।
“परिछन ! यसो भनेर किन मलाई लज्जित पार्छौ । गाउँ तिमीहरूकै हो । तिमीहरूकै हँसिया, खुर्पी, कोदालो र पाखुरीका बलमा गाउँ बाँचेको छ, गाउँका इज्जत भनेका तिमीहरू नै हौ । तिमीहरूकै आडमा गाउँ अभिमानी भएको छ । तिम्रो पाखुरीले यो खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त…!”
“किसुन भाइ ! तिमीलाई कुरामा जित्न सकिंदैन । खैर, जे होस्, यसपालि महावीरजीको झन्डाको मेलामा हामी नाटक खेल्छौं । गाउँका घटना राखेर एउटा खुब राम्रो नाटक लेखिदेऊ । अहिले भोकाएका पनि हौला…। भरे फेरि भेटौंला ।”
यसपछि हामी छुट्यौं, भरे भेट्ने वाचामा । मेरो मानसपटलभरि परिछनको स्वर मडारिँदै थियो, “गाउँका घटना राखेर एउटा खुब राम्रो नाटक लेखिदेऊ ।” नाटक लेख्न नजान्ने म यो धुनमा सोच्दै हिँडिरहेथे कि नाटक कसरी र कहाँबाट थालौं ….? गाउँमा टेक्न पनि नपाउँदै परिछनले ममाथि गहन जिम्मेदारी सुम्पिदिएको थियो ।
धेरै पर पुगिसक्दा पनि म उसको स्वर सुन्दै थिएँ, “हँ गोला, फुर्ती से चाल बढाके ।”
पाठ २ (गाउँको माया) का शब्दार्थहरू:
- ओरहा: पूर्ण नपाकेको मकै, गहुँ आदिलाई पोलेर तयार पारेको खानेकुरा
- आर्द्र: नरम, रसिलो / ओसिलो
- क्रीतदास: पैसा दिएर दास बनाइएको व्यक्ति
- कोला: खेतको गरो
- ठालु: गाउँबस्तीमा आफ्नो हैकम जमाउने मान्छे
- उन्मुक्त: स्वतन्त्र
- गिर: कपडाको भकुन्डो
- अल्झो: अड्काउ / बाधा
- पृथक्ताबोध: भिन्न हुनाको अनुभव
- बनी: अर्काको काम गरिदिएबापत पाइने पारिश्रमिक / ज्याला
- अभिमान: इज्जत / गौरव
