Lesson
पाठ ३: संस्कृतिको नयाँ यात्रा
— सुधा त्रिपाठी —
बाल्यकालको दसैंको स्मृति मेरो हृदयमा अझसम्म ताजै छ । पूर्वी नेपालको पहाडमा जन्मेकी म मेरो गाउँ झन्डै झन्डै दसैंको एकल संस्कृतिमा जम्थ्यो र त्यसमै रमाउँथ्यो । एक वर्षको दसै सकिएको चारपाँच महिनापछि म अर्को पटकको दसै कहिले आउला भन्ने जिज्ञासामा हुन्थे । आमाबुबाको ‘भ्याउँकिरी कराएको तीन महिनापछि’ भन्ने उत्तर पाएपछि म भ्याउँकिरी कहिले कराउला र दसैं आउला भन्ने सोचमा मग्न हुन्थें । नभन्दै कुनै साँझ भ्याउँकिरी पनि कराउँथ्यो, वर्षाले सिङ्गो पहाडलाई छोप्थ्यो । कलकल गर्दै बग्ने झरना र निलो कोसी नदी उर्लन थाल्थे र बिस्तारै यी सेलाउँथे । लेखनाथ पौड्यालले भने झै झरी, बाढी र हिलो पनि हट्दै गएर शारदीय शोभामा रमाएको धर्तीमा दसैं आउँथ्यो । पुर्खाले बनाएको यो प्राकृतिक र सांस्कृतिक समन्वय मलाई अति प्रिय लाग्थ्यो । बाल्यकालको यो मेरो दसैं लुगा, पिङ, मिठो खाना, केरा, कुराउनी, सेलरोटी, मासुचिउरा र अन्य परिकार र दक्षिणासमेत बोकेर आउँथ्यो । वास्तवमा एउटी बालिकाका रूपमा यो मेरो बाल्ययात्राको सुखद प्राप्ति थियो । दसैं र दसैंपछि आउने तिहार मेरा खुसी थिए । यी खुसी मेरा जीवनकला र शैलीसँग जोडिएका थिए । जब म यो नै मेरो संस्कृति हो भनेर बुझ्न थालें त्यस बेलासम्म र अझै पनि यी पर्व मेरो जीवन र मनोविज्ञानमा सदैव रहिरहेकै छन् ।
जीवन एउटा प्रवाहशील नदी हो । यो सामुद्रिक नाविकहरूको यात्रा जस्तै हो, जसलाई हामी निरन्तर दौडाइरहेका हुँदा रहेछौं । यो मनुष्यको यस्तो गतिशील यात्रा रहेछ, जसलाई हामी भोग्ने, बुझ्ने सम्झने र विचार गर्ने गर्दा रहेछौं । यही यात्राकै सिलसिलामा म दुर्गम भनिएको पहाड छाडेर काठमाडौं पुगें । म प्रकृतिको काखमा रमाउने मान्छे केही समय त सहरमा घुलमिल हुन पनि कठिन भयो । बिस्तारै सहरका गल्ली, कोलाहल र भिडभाडसँग परिचित हुन थालें । काठमाडौंको एउटा कन्या विद्यालयमा भर्ना भएर पढ्न थालेपछि मलाई थाहा भयो नेपाल त व्यापक रहेछ । यही व्यापकतामा मैले त्यहाँ मेरा तामाङ, गुरुङ, मगर, लिम्बू, राई, झा, यादव, नेवार आदि साथीहरू पाएँ । त्यहाँका हामी कोही शरद्को दसैं मनाउँथ्यौं तर कोही भने अर्कै समय र अर्कै दिनलाई दसैं मनाउँथे । कोही बुद्ध पूर्णिमाको कुरा गर्थे, कोही उँधौली उँभौलीको कथा सुनाउँथे, कोही क्रिसमसको गीत गाउँथे । कोही ल्होसारलाई आफ्नो मूल चाडका रूपमा मनाएको कुरा गर्थे, कोही माघीको परिकार बताउँथे र कोही देउडाको भाका गाउँथे । त्यसपछि म सिङ्गो नेपाल चिन्न सक्ने भएँ र म महाकाली र मेचीको सिङ्गो परिवेशमा नव नव संस्कृतिको अनुभव गर्न थालें । भिन्न धर्म, भिन्न संस्कृति, भिन्न पहिरन, भिन्न पहिचान मलाई बल्ल थाहा भयो नेपाली जीवन त यी विविधता र विभिन्नताको सुन्दर साङ्लो पो रहेछ । नेपाल त मेचीदेखि महाकाली र उत्तर | हिमालयदेखि दक्षिण तराई मधेससम्मको उदात्त चेतना र भावमा फैलेको रहेछ । यही विद्यालयीय जीवन हो जहाँ मैले काठमाडौंको नेवार संस्कृति, मुस्ताङको थकाली संस्कृति, पूर्वको किराँत संस्कृति बुझें । उत्तरको शेर्पा संस्कृति, तराई मधेसको मधेसी संस्कृति, पश्चिमको मगर र थारु संस्कृति बुझें । दार्चुला, कर्नाली हुँदै काठमाडौं उपत्यकाको कञ्चनजङ्घाको काखसम्मको संस्कृति र कलासँग परिचित हुने अवसर प्राप्त गरें । नेपालकाे लामो इतिहास र सभ्यताले निर्माण गरेका यी साझा संस्कृति मेरै संस्कृति थिए, मेरै देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरू थिए । म पनि त्यही फूलबारीकी एउटी बिरुवा थिएँ र साझा बनेर फुल्ने र फक्रने तर्खरमा थिएँ ।
मनुष्य जीवनको सार्थकता भन्नु नै चेतना हो । गरिब वा धनी हुनु के हो र किन मानिस गरिब वा धनी हुन्छ ? यो कुरा मैले विद्यालयमा पढ्न पाइनँ किनभने त्यो समय यस्ता विषयमा पढाउने परिपाटी नै थिएन र यस किसिमको चेतना बिस्तारको वातावरण पनि थिएन । त्यस वेला क्याम्पसमा पनि यस्ता कुरा पढ्न पाइन्नथ्यो । निजी अध्ययन मेरो यस्तो जीवनबोधका लागि सार्थक समय थियो । वास्तविक ज्ञानको खोजीकै लागि म निजी अध्ययनतर्फ तानिएँ । मैले त्यहाँ पढ़ें, वास्तवमा मानिस जन्मँदा जुन शरीर लिएर आउँछ त्यो प्राकृतिक रहेछ र त्यो त जीववैज्ञानिक विषय रहेछ । जन्मेपछि मानिस विविध कारणले धनी वा गरिब हुँदो रहेछ र त्यही आधारमा हामी एक थरीलाई सभ्य र बौद्धिक भन्दा रहेछौं । हामी मानिस नै अर्का थरी मानिसलाई असभ्य र मूर्ख भन्दा रहेछौं । यस्तो भन्नु गलत संस्कृति हो भन्ने कुरा मैले बुझें र समाजमा धनी र गरिबको भेद गर्ने संस्कृति खराब हो भन्ने बोध गरें । श्रमिक वर्गको आफ्नो संस्कृति हुँदो रहेछ । त्यस्तो संस्कृति श्रममा नै फल्ने, फुल्ने र फक्रने रहेछ । लोकजीवन, लोकसंस्कृति, लोककथा तिनका जीवनका संस्कार थिए, संस्कृति थिए र आत्मा थिए भन्ने पनि बुझें । श्रम तिनका जीवनको मात्र नभएर राष्ट्रकै प्रतिष्ठा थियो भन्ने पनि थाहा पाएँ । त्यही कारण श्रमका आधारमा मान्छेमा भेद हुन्न भन्ने संस्कार मैले सिकें । मैले श्रम गर्ने कुरा त महत्त्वपूर्ण संस्कृति रहेछ भन्ने बुझें र आज विश्वमा श्रम, सिप र जाँगरले नै मान्छेले प्रगति गरेको रहेछ भन्ने पनि थाहा पाएँ ।
म महिला र मेरो एउटा छुट्टै वर्ग, मभित्र एकाकार हुने वर्ग महिला । अब मैले महिलाका बारेको कुरा पनि बिस्तारै बोध गर्न थालें । महिला भएकै कारण म किन उत्पीडित भएँ ? यो मेरा मनमा सधैं उब्जने प्रश्न थियो । मेरा लागि किन छाउपडी ? मेरो प्राकृतिक जीवनमा आउने मेरो शारीरिक परिवर्तन, मैले भोग्ने रजस्वलाको समय, मेरो लागि विशेष सुरक्षा, म महिला, म कमजोर जस्ता कुरा किन ? किन मान्छे मान्छेमा यो भेद ? किन समाजमा हामी पुरुष र महिलाको सामाजिक भूमिका भिन्न ? किन मैले रातदिन काम गर्दा पनि मेरो श्रमको मूल्य भएन ? खोई मेरो पहिचान ? म किन बोल्न सक्दिनँ ? म यी प्रश्नमा घोरिन थालें । मलाई लाग्यो प्रश्न गर्नु आलोचनात्मक हुनु हो र प्रश्नले मानिसलाई विवेकी बनाउँछ, तार्किक बनाउँछ र बुद्धि दिन्छ । प्रश्न नगरेको भए ग्यालिलियो ग्यालिलियो हुने थिएनन् । गार्गी र मैत्रेयी गार्गी, मैत्रेयी हुने थिएनन् । अलिकति विद्रोह त चाहिन्छ नै समतामूलक समाज बनाउन । मैले मङ्गलादेवी सिंह, साहना प्रधान सम्झें, मैले राजराजेश्वरी, योगमाया र विद्रोही धेरै महिला सम्झें । यो समानताका यात्रामा मैले धेरै पुरुषलाई सम्झें, जो महिलासँगै मिलेर न्यायपूर्ण साझा संस्कृतिको निर्माण गर्न चाहन्थे । यस महान् स्वतन्त्रताका यात्रालाई पूर्णता दिन चाहन्थे । मैले यस यात्रामा सामेल भएर आवाज दिएँ । देशमा लोकतन्त्र आयो, देशमा गणतन्त्र आयो । संविधानले सांस्कृतिक पहिचान स्थापित गर्यो । समानताका विषय ल्यायो तैपनि हामीले न्याय खोज्नु छ, संविधानको कार्यान्वयन खोज्नु छ र सुन्दर संस्कृतिको निर्माण गर्नु छ । हामीले प्राप्त गर्ने न्याय पनि यही हो । नयाँ नेपालको सांस्कृतिक दिशा र गति पनि त यही हो ।
म बारम्बार सम्झन्छु, घोरिन्छु र चिन्तित पनि हुन्छु । भावुकता मेरो दिमागमा सधैं किन यसरी खेल्छ र खेलिरहन्छ ? समाजमा किन यस्तो संस्कृति बन्यो र बनाइयो ? मान्छेको भेद किन जन्म्यो ? रङको भेद, वर्णको भेद, जातिको भेद, लिङ्गको भेद, यी भेदबाट मुक्त समाज कसरी बन्ने र बनाउने ? सभ्य र विकसित भनिएका कतिपय देशमा पनि आजसम्म एक जातिले रङको आधारमा अर्को जातिमाथि दमन गरेको समाचार सुनिएकै छ । हामी पनि कहाँ मुक्त छौं र ? किन यस्तो भएको होला ? समाजमा श्रम विभाजनले मान्छेलाई भिन्न भिन्न काम गर्ने बनायो । हामीले त्यही आधारमा जात बनायौं । त्यसकै आधारमा विभेदको परम्परा सुरु भयो । कोही दलित भयौं, कोही ब्राह्मण, कोही जनजाति । हाम्रा आफ्ना संस्कार छन्, हाम्रा आफ्ना परम्परा छन्, हाम्रा आफ्ना खानपान छन्, हाम्रा आफ्ना वेशभूषा छन् । हाम्रो रङ भिन्न छ, कोही काला हौंला, कोही गहुँगोरो । हाम्रो अनुहार भिन्न होला । कसैको नाकको उचाइ फरक होला, कसैको आँखाको आकार र स्वरूप भिन्न होला । म फेरि घोरिन्छु, अत्तालिन्छु र सोच्छु, यही आधारमा मानिसकमा भेद किन ? मनुष्यको मनुष्यत्व र मानवको मानवता नै सबैभन्दा ठुलो कुरा हो । धर्म पनि यही हो, कर्तव्य पनि यही हो । समाजले सामाजिक, सांस्कृतिक विषयलाई भेदको विषय बनायो । हामी छुट्टियौं, हामी टुक्रियौं, हामी भिन्न भयौं र हामी मनुष्यले नै यी भेद जन्मायौं । यो भिन्नता मान्छेले जन्माएको भिन्नता हो नत्र मानिस एकै हो, हामी सबै प्रकृतिका साझा सन्तान हौं, साझा वरदान हौं ।
संस्कृति हाम्रो परिचय हो, हाम्रो पहिचान हो र हाम्रो अनुभूति हो । संस्कृति हाम्रो बोल्ने, विचार गर्ने र बाँच्ने तरिका पनि हो । हाम्रो संस्कृति बाँच्नुपर्छ, त्यसैले हाम्रा सांस्कृतिक मूल्यहरू बाँच्नुपर्छ । दसैं हाम्रो संस्कृति हो, तिहार हाम्रो संस्कृति हो । तिज, बुद्ध पूर्णिमा, छठ, उँधौली, उँभौली, ल्होसार, गौरा, माघी, सिरुवा, क्रिसमस, इद सबै हाम्रा संस्कृति हुन् । सभ्यताको यस यात्रामा म बारम्बार सोध्छु र सोच्छु, यस्ता सुन्दर अवसरलाई हामीले सदुपयोग गर्नैपर्छ । संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ, भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन् । ती कुरा हट्नुपर्छ र संविधानले यसको सुनिश्चितता पनि गरेको छ ।
म बाँचेको पृथ्वी साझा छ हाम्रा भावना साझा छन् र मन साझा छ । सभ्यताको यात्रामा कोहीलाई दमक बनाइयो कोही दमित जस्ता भइयो, बनाइयो । कोही मूलमा र कोही बहिष्कारमा परे जस्ता पनि भइयो । यस्तो संस्कृति संस्कृति नभएर विकृति हो । हामी न्यायपूर्ण समाजको निर्माणको यात्रामा र यस यात्राको निरन्तरतामा पनि छौं ।
बाल्यकालमा दसैं मनाउन मामाघर गएको स्मृतिमा अटाएको मन पङ्खफुका छ आज । वीरगन्जको यात्रामा देखेका धान खेत र चौधरी काकाका घरको माघीको माछा र परिकार आज पनि मेरो स्मृतिमा ताजै छ । सिराहाकी यादव साथीको घरका छठ पर्वको अतिथि बनेको अनुभूति पनि जिउँदो छ । उदयपुरकी राई बहिनीको परिवार र तिनको संस्कृतिले पनि लोभिएकै हुँ । रोल्पाका मगर साथीको घरमा पनि पुगेकी हुँ र त्यहाँको संस्कृतिको परिचय पनि पाएकै हुँ । धेरै समयपछि बर्दियामा मनाएको माघीले पनि मलाई तानेकै छ । हामी के हिमाल, के तराई, के पहाड, एउटै साझा संस्कृति निर्माणको समयमा छौं र भिन्नता र भेदबाट मुक्त समाजको निर्मितिमा छौं । मेरो छ दशक लामो यस यात्रामा परिवर्तन देखेकी छु र रमाएकी पनि छु । यति भएर पनि म अझै सन्तुष्ट छैन । नयाँ समाज र नयाँ संसारको खोज मेरो जीवनयात्रा हो । यो यस्तो यात्रा हो, जसले सांस्कृतिक सत्यलाई स्वीकार गरोस् र सांस्कृतिक न्यायलाई स्थापना गरोस् । “वसुधैव कुटुम्बकम्” को संस्कृतिलाई स्थापित गरोस् । एउटा उज्यालो बाटाको यो यात्रा निरन्तर र अविचलित गतिमा अघि बढिरहोस् । म त यस यात्राकी साक्षी मात्रै हुँ, अबको नयाँ पुस्ताले नयाँ बाटो बनाओस् । नयाँ पुस्ता एउटा नयाँ उज्यालो हो र तिनका आँखामा मैले देखेको उज्यालो ज्योति यही हो ।
📖 पाठ ३ (संस्कृतिको नयाँ यात्रा) का शब्दार्थहरू
— इज्जत / मान-सम्मान
— एकै किसिमको / एकापसमा मिल्ने
— पीडा दिइएको / दमन गरिएको
— ठुलो विरोध / क्रान्ति
— योजनाअनुसार विधिपूर्वक व्यवहारमा ल्याउने काम
— निरन्तर बगिरहने
— प्राकृतिक र सांस्कृतिक सम्बन्ध / मिलाप
— यात्रा वा घटनालाई प्रत्यक्ष हेर्ने दर्शक
— सांस्कृतिक हिसाबले प्राप्त गर्ने न्याय
— विचलित नहुने यात्रा / अडिग
— सबैको हक लाग्ने सन्तति / प्रकृतिका सन्तान
