साथीलाई चिठी पाठ पढ्नुहोस् ।
पाठ ५ : साथीलाई चिठी
मिति २०७७/०५/१७
पेनाङ, मलेसिया
प्रिय मित्र सुरज
नमस्कार र धेरै धेरै सम्झना ।
तपाईंले पठाएको पत्र पाएँ । पत्रमार्फत गाउँघरमा तीव्र रूपमा हुँदै गरेको विकासको कुरा थाहा पाएर अत्यन्त हर्षित छु । पत्र पढ्दा खुसी पनि लागेको छ ।
मित्र सुरज, धन कमाउने रहरमा गाउँघर छोडेको पनि लगभग नौ वर्ष जति भइसक्यो । मैले बाइस वर्षको लक्का जवानीमा गाउँ छोडेर विदेसिँदा मलाईं तपाईंले पढाइ छोडी विदेश नजान आग्रह गर्नुभएको थियो । मलाई तपाईंले अलिकति धैर्य र सकारात्मक सोच राख्न सुझाव दिनुभएको थियो । म भने परदेशमा सुनको बोट हुन्छ र त्यो सुन टपाटप टिपेर धनी बनिन्छ भन्ने सपना देखेको थिएँ । तपाईंको सुझावलाई लत्याएर यता आएँ । अहिले मलाई मेरो जीवनको त्यो निर्णय सबैभन्दा दुःखद हो भन्ने लागेको छ ।
सुरजजी । तपाईंले भन्नुभएकै थियो, परदेश देश जस्तो कहिल्यै हुँदैन । सुरु सुरुमा त मलाई तपाईंको भनाइ सही जस्तो लागेन । काम कठिन नै भए पनि महिना मर्नासाथ आठ सय रिङ्गेट जति हातमा पर्दा खुसीले सगरमाथा नै चढे जस्तो अनुभूतिमा रमाएँ । आमाबुबा, अभिभावक, छरछिमेक वा चिनेजानेका मान्छेबाट टाढा हुँदा केही भन्ने अवस्था पनि भएन । त्यसैले स्वतन्त्रताको सही नाम यही रहेछ भन्ठानेर म खुब मस्तीमा डुबें । बुढ्यौलीतिर लाग्दै गरेका आमाबुबाको एक्लो छोरो र आशाभरोसाको केन्द्र म नै हुँ भन्ने कुरा पनि बिर्से । मैले उहाँहरूलाई चिठीपत्र पठाइनँ । फोन सम्पर्क पनि गरिन र खर्चपर्च पनि पठाइनँ । केवल मन लागेको समयमा र गोजीमा सुको सिद्धिएपछि मात्र काम गरें । म सधैं रमाइलामा डुबें ।
दिनहरू न हुन्, बितिरहे । उमेर पनि उकालो चढिरह्यो । घरबाट पनि चिठीपत्र र फोनसम्पर्क हुन छाड्यो । एक दिन अचानक म काम गर्दागर्दै तेस्रो तलाबाट भुईंमा बजारिएँ । मेरो दायाँ हात र बायाँ खुट्टा भाँचियो । अस्पतालमा एक महिना बस्नुपयो । गोजीमा भएको पैसा सकियो । चिनेका साथीसँग ऋण सापटी माग्नुपयो । अलि महिनासम्म यही क्रमले जीवन चलिरह्यो । दुई महिनापछि काममा फर्कंदा कम्पनीले पनि राखेन । कम्पनीको व्यवस्थापकसँग रोइकराई गर्दा पनि फेरि काममा फर्कन दिइएन । त्यति वेला मात्र मलाई थाहा भयो, देश र परदेशको अन्तर ! नागरिक हुनु र अनागरिक हुनुको अन्तर । यति कुरा बुझ्न धेरै ढिला भइसकेको थियो । त्यसपछि भने घर फर्कने इच्छा तीव्र हुन थाल्यो तर कुन मुख लिएर घर फर्कने अब ? मोजमस्तीमा लागेर एक सुको बचाइनँ । फेरि घाइते भएपछि ऋण पनि लागेको थियो । जीवनप्रति वितृष्णा पलाइरहेको थियो, मनमा उथलपथल मच्चिरहेको थियो । यस्तैमा म जस्तै केही दुखिया साथीको सहयोगले अर्को कम्पनीमा काम पाएँ । त्यो काम चाहिँ पहिलेको भन्दा अझ कठिन र ज्याला चाहिँ थोरै । हातमुख जोड्न र साथीहरूको ऋण तिर्न पनि यस्तो काम गर्नै पर्यो । अब विदेशमा यसरी धेरै दुःख गर्दिनँ । अब छिट्टै नेपाल फर्केर आफ्नै माटोमा परिश्रम गरी जीवन निर्वाह गर्ने विचारमा छु । अबको तीन महिनाभित्र म आफ्नो जन्मथलो, आफ्ना आमाबुबाको काख र मेरा प्रियजनको माझमा हुने छु ।
मित्र सुरज । अवश्य नै पढाइ छोडेर धन कमाउन परदेशिने मेरो निर्णय अत्यन्त गलत थियो । धन कमाउन नसके पनि आफ्नो गाउँ, आफ्नो परिवार, इष्टमित्र, समाज र देश सम्झेर घर फर्कने यो मेरो निर्णय गलत हुने छैन । त्यसो त निर्णय आफैंमा सही वा गलत हुँदैन । त्यसलाई सही वा गलत बनाउने त हामी आफैले हो । त्यसैले घर फर्कने मेरो यो निर्णयलाई म जसरी पनि सही साबित गर्छु ।
अहिले म सम्झन्छु, हाम्रो देशमा अन्न मात्र होइन, मृतसञ्जीवनी बुटीहरू उम्रन्छन् । हिमालको हिउँ पग्लेर बग्ने कञ्चन जलराशिमा संसारकै मानिसहरूको प्यास मेटाउन सक्ने सामर्थ्य छ । ठुलो भूखण्ड सिञ्चन गर्ने र प्रकाशमय बनाउन सक्ने क्षमता छ । संस्कृति र भाषाको विशाल भण्डार छ । तातो चाहिए ४५ डिग्रीको तापक्रम र चिसो चाहिए शून्य डिग्रीभन्दा धेरै तलसम्मको हावापानी छ । तल जानुपरे समुद्रको छेवैसम्म पुगिन्छ, माथि चढ्दा संसारकै सबैभन्दा अग्लो सगरमाथा छ । यी सब हुँदाहुँदै पनि हाम्रो देशको विकासले किन गति लिन सकिरहेको छैन ? यस्ता सबै सवालको जबाफ एउटै रहेछ र त्यो जबाफ हो, त्यो देशका जनताको दृढ इच्छाशक्ति र इमानदार प्रयत्न । म त्यही इच्छाशक्तिको दियो बोकेर मेरो देश फर्कदै छु र त्यही दियोले अरू धेरै दियो सल्काउँछु । मैले परदेशमा सिकेको सिपलाई आफ्नै गाउँठाउँमा खन्याउँछु । अपुरो मेरो पढाइ पूरा गर्छु । गाउँसमाजको विकास र उन्नतिमा तपाईंहरूसँगै हातेमालो गर्दै एक इँटा भए पनि थप्छु । धन कमाउने लोभमा बिदेसिन हत्तारिने युवालाई देश र परदेशको अन्तर बुझाउँदै उनीहरूको युवा जोस र जाँगरलाई आफ्नै मुलुकको माटामा खन्याउन अभिप्रेरित गर्छु । बुढेसकालतिर लम्कँदै गर्नुभएका आमाबुबाको सहारा बन्छु । यसरी अबका बाँकी जीवन तपाईंहरूकै पथगामी भएर सार्थक बनाउँछु ।
ओहो ! घर फर्कन पाउने सपना चाँडै नै साकार हुने कुराले उद्वेलित भएको मन शब्दमा पोखिदै जाँदा चिठी त निकै लामो भएछ । तपाईंलाई भन्न चाहेका कुराहरूको एक छेउ पनि यहाँ लेख्न सकिनँ । आजलाई यत्ति नै बाँकी कुरा भेटमै गरौंला ।
तपाईंको शुभचिन्तक
पूर्णविक्रम बस्नेत
१. दिइएका अर्थसँग मिल्ने शब्दहरू:
(क) मलेसियाको मुद्रा: रिङ्गेट
(ख) विदेश: परदेश
(ग) नागरिक नभएको अवस्था: अनागरिक
(घ) मर्न लागेकालाई बचाउने: मृतसञ्जीवनी
(ङ) सफा: कञ्चन
(च) उथलपुथल: क्रान्ति / हलचल
(छ) जन्मेको ठाउँ: जन्मथलो
(ज) कार्य गर्ने क्षमता भएको: सामर्थ्य / क्षमता
