पर्यापर्यटनका सम्भावना र आयाम निबन्ध पाठ पढ्नुहोस् ।
पाठ ७ : पर्यापर्यटनका सम्भावना र आयाम
मान्छे, प्रकृति र वातावरणबिचको सम्बन्ध र सन्तुलनलाई लिएर आजभोलि ‘इकोफ्रेन्ड्ली’, ‘इकोटुरिजम’, ‘इकोटोरोरिजम’ आदि ‘इको’ उपसर्ग जोडिएका थुप्रै लवज प्रयोग हुन थालेका छन् । यस्ता अभिव्यक्तिको आधार ‘इकोलोजी’ र ‘इकोसिस्टम’ शब्द हुन् । सन् १८६९ मा अर्नस्ट हिकेल नामक एक जर्मन वैज्ञानिकले ‘इकोलोजी’ शब्द प्रयोगमा ल्याएका हुन् । यसमा ग्रिक भाषाका ‘ओइकस’ र ‘लोगस’ दुई शब्द समाविष्ट छन् । शाब्दिक अर्थमा घरलाई बुझाउने ‘ओइकस’ लाई अङ्ग्रेजीमा ‘इको’ लेखिन थालियो । त्यस्तै अध्ययन, अनुसन्धान, चर्चा, परिचर्चा हुने विद्यालाई जनाउने शब्द ‘लोगस’ ‘लोजी’ प्राप्त गरेर ‘इकोलोजी’ शब्द निर्माण भयो । यो विद्या अर्थात् ‘इकोलोजी’ अनुसार हामी बस्ने घर अर्थात् वासस्थानका विषयमा अध्ययन, अनुसन्धान, चर्चा, परिचर्चाले गर्दा त्यहाँको प्राकृतिक परिवेशभित्रको सम्पूर्ण जैविक पदार्थ (जीव, प्राणी र वनस्पति) तथा निर्जीव पदार्थ (जल, जमिन, हावापानी, घामपानी एवम् रासायनिक द्रव्यहरू) को आपसी सम्बन्धबारे बुझ्ने काम हुन्छ । कुनै वासस्थानका प्रणाली निरन्तर चलिरहनका लागि त्यहाँ सृष्टि र उत्पादनसँगै तिनको खपत र सम्भारको प्रक्रिया पनि निरन्तर चलिरहनुपर्छ । अर्थात् जन्म र जीवनको चक्रसँगै मृत्यु र संहार पनि चल्दै गर्नुपर्छ । संहार कार्यले पुनः सृष्टिलाई सघाइरहेको हुन्छ । सृष्टि, पालन र संहारको कार्य सम्पादन प्रणालीलाई वातावरण विज्ञानले ‘इकोसिस्टम’ अर्थात् पारिस्थितिक प्रणाली भन्छ ।
कुनै एउटा पोखरी, ताल वा सिमसारको पारिस्थितिक प्रणालीलाई हेर्यौँ भने त्यहाँ वनस्पति घाँस, पात, लेउ, भ्याउ एवम् सूक्ष्म जीवात्माले सौर्य शक्तिको सहायतामा खाद्य पदार्थ निर्माण गरिरहेका हुन्छन् । ती खाद्यवस्तु खपत गरेर जलचर प्राणी र माछाहरू मौलाउँछन् । माछा एवम् अन्य किराफट्याङ्ग्रा खान चराचुरुङ्गी वा गोही सर्पहरू त्यहाँ विचरण गरिरहेका हुन्छन् । त्यहाँ पशुपन्छी वा वनस्पति मरेर, सडेर जल र जमिनलाई पोषण गरिरहेका हुन्छन् । यसै गरी समुद्रको पारिस्थितिक प्रणालीमा पनि सूक्ष्म वनस्पति र अरू भ्याउ लेउले सौर्य शक्तिको सहायतामा माछाको आहारा निर्माण गर्छन् । माछालाई आहारा बनाएर ह्वेल माछालगायतका विभिन्न प्राणी बाँचिरहेका हुन्छन् । विश्वको सबभन्दा ठुलो प्राणी ह्वेलको आहाराको आधार ससाना माछामा निहित हुन्छ । सानो पोखरी होस् वा विशाल सागर त्यहाँको पारिस्थितिक प्रणालीभित्र आहाराको सञ्जाल निकै जटिल हुन्छ । सबैसँग सबै गाँसिएका हुन्छन् । त्यस्तै कुनै वनजङ्गलभित्रको पारिस्थितिक प्रणाली अध्ययन गर्यो भने सौर्य शक्ति र वनस्पतिले आहाराको प्रारम्भिक आधार खडा गरेपछि तिनलाई खपत गर्ने तृणाहारी हरिण, मृगहरू त्यहाँ जीवन निर्वाह गर्न आइपुग्छन् । तिनलाई आहार बनाउने बाघ, चितुवा हुन्छन् । बाघ, चितुवा एवम् अरू पशुपन्छी र वनस्पति मरेपछि सडेर गलेर फेरि माटो र हावाकमा लीन हुन्छन् । पारिस्थितिक प्रणाली यसरी ही चलिरहन्छ । यही प्रणालीलाई आफ्नो वासस्थान बनाएर जीवात्मा पृथ्वीमा जन्मन्छन्, बाँच्छन् र मर्छन् ।
विहङ्गम दृष्टिले विचार गर्दा सम्पूर्ण पृथ्वी एउटा घर हो । यहाँ जल, स्थल, वायु, आकाश र तेज (प्रकाश) यी पाँच तत्त्व (पञ्चतत्त्व) का बिच जलचर, स्थलचर, नभचर र सबै चराचर आफ्नो जीवन बिताउँदछन् । पृथ्वीलाई छोडेर अन्य ग्रहमा जीवात्माको अस्तित्व भेटिएको छैन । त्यसैले हामी सबैले यहीं बाँच्नुपर्छ, यहीं मर्नुपर्छ । यो सिवाय अरू जाने ठाउँ छैन । पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व सङ्कटमा पर्छ । हालका दिनमा जलवायु परिवर्तनका विषयमा विशेष गरेर वायुमण्डल प्रदूषणका कारण पृथ्वी सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर विशेष चिन्ता र चासो हाम्रा सामु तेर्सिएको छ ।
पृथ्वी एउटा जीवन्त ग्रह हो । यसको पारिस्थितिक प्रणालीभित्र विभिन्न उपप्रणाली छन् । पृथ्वीको भूगोलमा यी प्रणालीलाई सञ्चालन गर्ने जलवायुका प्रमुख चार कटिबन्ध छन् । भूमध्यरेखाको उत्तर तथा दक्षिणतिर क्रमैले उष्ण, उपउष्ण, शीतोष्ण एवम् हिमाच्छादित ध्रुवीय कटिबन्ध रहेका छन् । पृथ्वीमा जलवायुको विविधता अक्षांशका आधारमा वर्गीकरण गरिन्छ । पर्वतीय परिवेशमा चाहिँ जलवायु विविधता उचाइअनुसार कायम हुन्छ । हिमालय क्षेत्रमा १००० मिटरभन्दा होचो भागमा उष्ण जलवायु त्यसभन्दा उच्च भूभागमा २००० मिटरसम्म उपउष्ण जलवायु, त्यसभन्दा उच्च क्षेत्रमा ३०००० मिटरसम्म शीतोष्ण कटिबन्ध, त्यसभन्दा माथिको शीतप्रधान कटिबन्ध उपलेकाली ४००० मिटरसम्म र त्यहाँबाट ५००० मिटरसम्म लेकाली हावापानी हुन्छ । ५००० मिटरभन्दा उच्च भागमा हिमाच्छादित क्षेत्र हुन्छ । त्यसैले हिमालयलाई तेस्रो ध्रुव पनि भनिन्छ ।
जलवायुका कटिबन्धभित्र विभिन्न प्रकारका पारिस्थितिक प्रणाली पहिचान गर्न सकिन्छ । पारिस्थितिक प्रणालीको पहिचानमा वन्य पारिस्थितिक प्रणाली, घाँसे मैदान अर्थात् तृणप्रधान पारिस्थितिक प्रणाली, सिमसार पारिस्थितिक प्रणाली एवम् कृषि पारिस्थितिक प्रणाली छुट्याउन सकिन्छ । लेकाली क्षेत्रमा बुट्यान पारिस्थितिक प्रणाली पनि पहिचान हुन्छ । वन पनि विभिन्न प्रकारका हुन्छन् । चितवन राष्ट्रिय निकुञ्जभित्रको वन्य पारिस्थितिक र अन्नपूर्ण संरक्षित क्षेत्रमा वन्य पारिस्थितिक बिलकुलै भिन्न हुन्छन् । चितवनको घाँसे मैदान र मुस्ताङको घाँसे मैदान एकै हुँदैन । रारा दहको सिमसार र बेगनास तालको सिमसार पनि बेग्लै प्रकृतिका हुन्छन् ।
नेपालको पर्यावरण र यसका पारिस्थितिक प्रणालीलाई सरलसँग बुझ्न र बुझाउन नेपाललाई बार्दलीसहितको एउटा पाँच तले घर कल्पना गर्न सकिन्छ । भुइँतलामा तराई, पहिलो तलामा चुरे मधेस तथा टारबेंसी, दोस्रो तलमा पहाडी प्रदेश, तेस्रो तलामा पर्वतीय (उपलेकाली) प्रदेश, चौथो तलामा उच्च पर्वतीय (लेकाली) भाग र त्यसको शिरमा हिमाच्छादित छानाका रूपमा हिमाली शिखरहरू अवस्थित रहेको कल्पना गर्न सकिन्छ । यस भवनको उत्तरी मोहडामा बार्दली झै निस्किएको भोट प्रदेश पर्न आउँछ । पर्वतीय धरातले गर्दा यस घरको पर्यावरणीय जटिलतालाई पर्वतीय पारिस्थितिक प्रणाली भन्ने चलन छ । पर्वतीय धरातले प्रदान गरेको प्राकृतिक विविधता र तिनका विलक्षण छटाहरूको आकर्षणका कारण विश्व समुदायबाट नेपाल आउने पर्यटकहरूको घुइँचो बढ्दो छ । पर्यावरण, प्राकृतिक सम्पदा तथा सांस्कृतिक विविधताको आकर्षणमा मौलाउने पर्यटनलाई विशेष प्रकारको व्यवस्थापन आवश्यक हुन्छ । त्यसलाई चलनचल्तीमा पर्यापर्यटन भन्ने गरिन्छ ।
पर्यापर्यटनको प्रमुख दायित्त्व पर्यावरणलाई शुद्ध राख्ने र तिनका बिथोल्ने कुनै क्रियाकलाप नगर्ने जिम्मेवारी वहन गर्नु हो । यस व्यवसायले प्रकृति संरक्षण कार्यलाई आर्थिक एवम् प्राविधिक स्रोत साधन जुटाएर सहयोग पुर्याउनुपर्छ । त्यसका अतिरिक्त स्थानीय जनसमुदायको जीविकामा आर्थिक टेवा पनि अनिवार्य रूपमा पुग्नै पर्ने हुन्छ । प्रकृति संरक्षण र पर्यटनबिच सामाजिक सद्भाव कायम भएन भने पर्यापर्यटन विफल हुन्छ, भत्किन्छ । पर्यापर्यटनका विशेषतालाई निम्नलिखित दृष्टिले हेर्नुपर्छ :
(क) यो व्यवसाय प्रकृति र पर्यावरणको आकर्षणमा आधारित हुनु आवश्यक हुन्छ । त्यो सगरमाथा पनि हुन सक्छ वा सारस पनि हुन सक्छ ।
(ख) यस उद्योगको दिगोपनलाई पर्यावरणले सघाउनुपर्छ । जल, जमिन र स्वच्छ वातावरण कायम हुनुपर्छ ।
(ग) यसका क्रियाकलाप प्रकृति, प्राकृतिक सम्पदा र स्थानीय सांस्कृतिक निधि संरक्षण गर्ने हुनुपर्छ । संरक्षण शिक्षामा यसको योगदान कायम हुनुपर्छ । पर्यटक अनुपम अनुभव र नयाँ चेतना लिएर फर्कन पाउनुपर्छ ।
(घ) यस उद्योगले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउनुपर्छ ।
(ङ) यस उद्योगबाट प्रकृति संरक्षण र संवर्धनलाई आर्थिक रूपमा सहयोग पुग्नुपर्छ । चितवन राष्ट्रिय निकुञ्ज होस् वा स्याङ्जाको सिरुबारी पर्यटनको आम्दानी नै संरक्षण कार्यमा खर्च हुने व्यवस्था मिल्नुपर्छ ।
(च) यसका सम्पूर्ण क्रियाकलाप र व्यवस्थापनबाट पाहुनाहरू सन्तुष्ट र खुसी हुनुपर्छ । बर्दिया राष्ट्रिय निकुञ्जका बाघ देखेर अमेरिकी एक अभिनेताले नेपालका बाघ संरक्षणमा तीन लाख डलर सहयोग गरेको घटनाबाट प्रेरणा लिएर अरू दाता पनि उत्साहित हुने परिस्थिति बनाउनुपर्छ ।
(छ) यस उद्योगमार्फत अन्तर्राष्ट्रिय सद्भाव र भाइचारालाई सहयोग पुर्याएर नेपालको छवि उच्च बनाउन सफल हुनुपर्छ । विश्व बन्धुत्वमा नेपालको प्राकृतिक सम्पदाले पुर्याएको योगदानलाई अहिले हामीले लेखाजोखा गर्न सकेका छैनौं ।
वर्तमान तथ्याङ्कले प्रतिवर्ष लगभग ११ लाख विदेशी पर्यटक नेपाल भित्रिने गरेको देखाउँछ । नेपाल सरकारले त्यसलाई अझ वृद्धि गर्ने लक्ष्य राखेको छ । पर्यटक ती हुन्, जो नेपालको पुरातात्त्विक, प्राकृतिक र सांस्कृतिक पक्षको अवलोकन गर्न र मनोरञ्जन लिन आउँछन् । जे जस्तो लक्ष्य लिएर आए तापनि हामी अतिथिको स्वागत गर्छौं, हाम्रो वासस्थान अर्थात् हाम्रो घर नेपालमा । हाम्रो घर व्यवस्थापन अर्थात् हाम्रो पारिस्थितिक प्रणालीभित्र तिनको स्वागत हुन्छ । तिनको उपस्थितिले हाम्रो वातावरणलाई प्रतिकूल प्रभाव पर्न र पार्न दिनुहुँदैन । पर्यटन व्यवसायमा घरधनी र पाहुना दुवै सचेत हुनुपर्छ । पर्यावरणसम्मत क्रियाकलापका आधारमा सम्पन्न हुने पर्यटन व्यवसायलाई पर्यापर्यटनको दायराभित्र व्याख्या गर्न सकिन्छ ।
पर्यटकीय गतिविधि जल, स्थल र आकाशमा समेत सञ्चालन हुने गर्छन् । पर्वतारोहण, पदयात्रा, जङ्गल सफारी, वन्यजन्तु अवलोकन, भिर माहुरीको मह सङ्कलन जस्ता अद्वितीय परम्पराको दृश्यावलोकन, पर्वतीय बाइक यात्रा, घोडसवार, रक क्लाइम्बिङ, प्राकृतिक गुफा अन्वेषण र अवलोकन, हिउँचिप्लेटी, गल्फलगायतका अरू खेलकुद पनि स्थलगत क्रियाकलाप हुन् । ती सबै प्रकारका क्रियाकलाप सम्पन्न गर्न पर्यापर्यटनका विभिन्न आचारसंहिता पृथक् रूपमा निर्माण गरेर तिनको सम्मान गर्न र गराउन सक्नुपर्छ । त्यस्तै जलक्रीडा याफ्टिङ, कायाकिङ, क्यानोइड, बोटिङ, मत्स्य विहार आदिका सम्बन्धमा पनि पर्यापर्यटनका सिद्धान्त र आचारसंहिता पालना हुनुपर्छ । आजभोलि नेपालको आकाशमा पर्वतीय उडानहरू, ह्यान्ड ग्लाइडिङ, पाराग्लाइडिङ, अल्ट्रा लाइट एयर क्राफ्ट, हट एयर बेलुन, स्काइ डाइभिङ आदि विभिन्न पर्यटकीय क्रियाकलापसँगै बन्जी जम्पिङ जस्तो साहसी पर्यटन पनि लोकप्रिय बन्दै छ । पर्यावरणको दृष्टिले स्वच्छ वायु र स्वच्छ आकाश कायम गर्न पर्यटकीय क्रियाकलापलाई पर्यावरणमैत्री बनाउनै पर्ने हुन्छ ।
पर्यापर्यटनको बृहत् दायराभित्र ग्रामीण पर्यटन, सांस्कृतिक पर्यटन, तीर्थाटन, धार्मिक तथा आध्यात्मिक पर्यटनलगायत शैक्षिक भ्रमण एवम् अनुसन्धानमूलक पर्यटन पनि फस्टाउन थालेको छ । यी सबै क्रियाकलाप हाम्रो पारिस्थितिक प्रणालीभित्रै सम्पन्न हुने कुरा हुन् । हाम्रो पारिस्थितिक प्रणालीलाई स्वस्थ र दिगो बनाइराख्न पर्यावरणमैत्री नीति, नियम, कानुन र आचारसंहिताको पालना हुनुपर्छ ।
आफ्नो गाउँ र ठाउँका पर्यटकीय आकर्षण (प्राकृतिक एवम् सांस्कृतिक) का बारेमा हामी आफै सचेत हुनुपर्छ । स्थानीय गौरव र गाथाका प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरूको छायाबाट नयाँ पिँढीलाई रोजगारका अवसर मात्र हैन, स्वाभिमानसमेत हौस्याउने अवस्था सिर्जना हुन्छ । नयाँ पिँढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो, हाम्रो नेपालको ।
शब्दार्थ
पारिस्थितिक प्रणाली – परिस्थितिका कारण निम्तिने प्रणाली
विहङ्गम दृष्टि – आकाशमा उडिरहेको चराले जस्तै कुनै कुरालाई हेर्ने काम
तृणाहारी – दुबो, पराल, खर आदि घाँसपात खाने
कटिबन्ध – पृथ्वीका दुई ध्रुवका बिचका भूभागलाई हावापानी आदिका हिसाबले बाँडिने भाग
पर्यापर्यटन – पर्यावरण, प्राकृतिक सम्पदा तथा सांस्कृतिक विविधताका कारण हुने पर्यटन
जलक्रीडा – पानीमा गर्न सकिने विभिन्न खेल, मनोरञ्जन
पर्यावरणमैत्री – वातावरण सुहाउँदो
प्रतिकूल प्रभाव – पक्षमा नभएको प्रभाव
हिमाच्छादित छाना – हिउँ नै हिउँले ढाकिएको छाना
