लौ आयो ताजा खबर लघु नाटक पाठ पढ्नुहोस् ।
पाठ ८ : लौ आयो ताजा खबर
पात्र परिचय
१. दाह्री बाबा : करिब ५५/६० वर्ष
२. व्यक्ति (कुमारका बुबा) : करिब ४०/४५ वर्ष
३. दीनदयाल (रामदयालका बुबा) : करिब ५० वर्ष
४. नरहरि (नरेन्द्रका बुबा) : करिब ५०/५२ वर्ष
५. पत्रिका बेच्ने केटो : करिब १७/१८ वर्ष
६. दोर्जे (लाक्पाका बुबा) : करिब ४०/४५ वर्ष
७. तुयुमै (न्हुच्छेकी आमा) : करिब ३०/३५ वर्ष
८. सलिम (कुमारको विद्यालयको साथी) : करिब २०/२१ वर्ष
(रङ्गमञ्चको पर्दा खुल्ने क्रमसँगै नेपथ्यमा एम्बुलेन्सको साइरनको आवाज सुनिन्छ । रङ्गमञ्चमा छरिएको मधुरो प्रकाश चहकिलो हुन्छ र रङ्गमञ्च सज्जा स्पष्ट देखिन थाल्छ । रङ्गमञ्चको बायाँपट्टि बिजुलीको खम्बा देखिन्छ । खम्बाको तारमा चङ्गा झुन्डिएको देखिन्छ । रङ्गमञ्चको मध्य भागको भित्तामा विभिन्न किसिमका पोस्टर पम्पलेट टाँगिएको देखिन्छ । बायाँपट्टिको भित्तासँगै चौतारीसहितको एक जोर वरपिपल राखिएका छन् । चौतारीको एकापट्टि सानो कुटी देखिन्छ । चौतारीको अर्कोपट्टि ‘बस बिसौनी’ लेखिएको बोर्ड देखिन्छ । चौतारीमा बसेर बस बिसौनीतिर हेर्दै गरेका दाह्री बाबा देखिन्छन् ।)
दाह्री बाबा : (आफ्नै तालमा कराउँदै) हा…. हा…. लगे । मान्छेले एउटा बेवारिसे मान्छेको लास लगे । मलाई थाहा छ, अब यिनीहरूले ब्रह्माजीको सिर्जनालाई मसानघाटमा लगेर पोल्ने छन् । खरानी बनाउने छन् । त्यसपछि पत्रिकामा छापिने छ ।
पत्रिका बेच्ने केटो : (प्रवेश गर्दै, बिचैमा) लौ आयो आजको खबर, राजधानीको मुटुमा एउटा अज्ञात युवकको लास भेटियो । लौ आयो आजको ताजा खबर ।
दाह्री बाबा : ताजा खबर ? हा… हा… अरे, त्यो लास त हिजोदेखि यही सडकको पेटीमा थियो । त्यही बासी लासको खबर छाप्ने तिम्रो अखबार कसरी ताजा हुन्छ हँ ?
केटो : चुप लाग्नुस् । (कराउँदै) लौ आयो आजको…
दाह्री बाबा : (बिचैमा) बासी खबर, हा… हा… (केटो रिसाएर जान खोज्छ ।) ए, रिसाएको भाइ ? पर्ख न । (ठुटो चुरोट देखाएर) चुरोट खान्छौ ?
केटो : खान्नँ । ठुटो चुरोटमा बढी निकोटिन हुन्छ ।
दाह्री बाबा : (हाँस्दै) हा…. हा…. ठुटो चुरोटमा बढ्ता निकोटिन हुन्छ । अनि सिङ्गो चुरोटमा चाहिँ के हुन्छ नि ? प्रोटिन हुन्छ ?
केटो : मलाई आफ्नो काम गर्न दिनुस् ।
दाह्री बाबा : कसले रोकेको छ र ? हेर, काम गर्ने मान्छेले जुनसुकै वातावरणमा पनि काम गरेर छोड्छ । भो, यस विषयमा कुरै नगरौं । (प्रसङ्ग बदलेर) के लेख्या छ पत्रिकामा ? त्यो केटाको आफन्त भेटियो ?
केटो : थाहा छैन ।
दाह्री बाबा : अर्थात् अब त्यो केटाको लासमाथि पनि राजनीति चल्छ होला । एउटा पार्टीले भन्ला, त्यो फलानो पार्टीको निन्दनीय कार्य हो । अर्को पार्टीले थप्ला, होइन यो त ढिस्काना पार्टीको घिनलग्दो षड्यन्त्र हो । यसै विषयलाई लिएर नारा, जुलुस बन्द, हड्ताल हुन्छ । सत्तामा पुग्ने र सरकार परिवर्तन गर्ने खेल हुन थाल्छ । मर्ने मरिसके अब यही विषयमा हजारौं मारिन्छन्, सर्वसाधारण जनताले सास्ती भोग्नुपर्छ । दैनिक ज्यालादारी गरी भोकभोकै बस्नुपर्ने हुन्छ । यस घटनाले गर्दा पार्टीहरू चलायमान हुन्छन् । विद्यालय विश्वविद्यालय बन्द हुन्छन् । कलकारखानामा काम बन्द हुन्छ । हा… हा… लासमाथि राजनीति, छि ?
केटो : तपाईंले उसको अनुहार देख्नुभएको थियो ?
दाह्री बाबा : अँ, देखेको थिएँ । व्यस्तताको कारणले यो सडकमा हिँड्ने मान्छेका हजारौं आँखाले देखे पनि नदेखे झै गरेर हिँडे । अघि नै एम्बुलेन्सले लानुभन्दा अगाडिसम्म पनि म उसलाई हेर्दै थिएँ । त्यो केटाको अनुहार एकदमै विक्षिप्त थियो । सायद त्यसका आफन्तले भेट्टाए पनि चिन्दैनन् होला ! अब त चिनेकर पनि फाइदा छैन ।
केटो : किन ?
दाह्री बाबा : यतिखेर त ऊ सरकारी निःशुल्क दाउरासँगै खरानी भइसक्यो होला । बिचरो युवा नै थियो । बाँचेको भए राष्ट्र र आफ्ना लागि केही गर्न सक्थ्यो । तर खत्तम । एउटा जीवनको अध्याय नै समाप्त भयो । इतिहासमा अब उसको नाम पनि लेखिँदैन होला ? च्व… च्व … !!
केटो : लौ आयो ताजा खबर (प्रस्थान गर्छ ।)
(नरहरि र दीनदयाल हातमा पत्रिका बोकेर हस्याङफस्याङ गर्दै प्रवेश गर्छन् ।)
नरहरि : (आत्तिएको भावमा) सुन्नुस् त । अघि बिहान एउटा युवकको लास भेटिएको ठाउँ यही हो ?
दाह्री बाबा : हो, किन ?
नरहरि : लास कस्तो थियो ?
दाह्री बाबा : जस्तो हुनुपर्ने हो त्यस्तै थियो । लास कस्तो हुन्छ ? अचेत, हिउँ जस्तो चिसो, धड्कनविहीन, सासविहीन …
दीनदयाल : हमारा मतलब उसले कस्तो पोसाक लगाइलिएको थियो ?
दाह्री बाबा : उसले ? (सम्झिँदै) अँ उसले हिजोआजका युवाले लगाउने खालको पाइन्ट, सर्ट लगाएको थियो ।
नरहरि : पाइन्ट, सर्ट ? पाइन्ट कालो थियो अनि सर्ट चाहिँ सेतो थियो, हो ?
दाह्री बाबा : मैले पाइन्टको त ख्याल गरिनँ तर सर्ट चाहिँ सेतै थियो ।
नरहरि : सेतो सर्ट ? त्यसो भए त्यो पक्कै मेरो छोरो हुनुपर्छ ।
दीनदयाल : होइन । सेतो सर्ट त मेरो छोरा रामदयालले पनि लगाइलिएको थियो । त्यो पक्कै मेरो छोरो हुनुपर्छ । (रुँदै) यह क्या कर दिया रामदयाल बेटे ?
नरहरि : (रुँदै) त्यसको नाकनेर कालो कोठी पनि थियो ।
दाह्री बाबा : थाहा छैन । अनुहार एकदमै विक्षिप्त थियो ।
नरहरि : (छाती पिटेर रुँदै) त्यो पक्कै मेरो छोरो नरेन्द्र हुनुपर्छ । दुई दिन भो घर छोडेको । आज संसार नै छोडेर गयो । नरेन्द्र, मेरो छोरा ।
दीनदयाल : नहीं…। वह अपना छोरा रामदयाल नै हो ।
दाह्री बाबा : हैन, के हो तमासा यो ? मैले त केही बुझिनँ ।
नरहरि : अब बुझ्ने नै के बाँकी रह्यो ? आमा चाहिँ त भन्थी, छोराले लागुपदार्थ खाएर हिँड्छ भनेर तर के गर्नु ? कामको बेफुर्सदीले त्यतातिर ध्यानै दिन पाइनँ । सुरुमा त आफ्नो छोरा यस्तोसम्म गर्न सक्छ भन्ने पत्यार पनि लागेन । आज आएर … नरेन्द्र ! मेरो छोरा !
दीनदयाल : अरे ओ रामदयाल । तु बाप से रूठ कर कहाँ चल दिया रे ? बेटे । (दाह्री बाबा अचम्म मानेर दुवैलाई नियालेर हेर्न थाल्छ ।)
तुयुमै : (रङ्गमञ्चको बायाँतिरबाट प्रवेश गर्दै) यः पुत्ता न्हुच्छे । छ गन वना ?
दाह्री बाबा : न्हुच्छे ?
तुयुमै : हाम्रो न्हुच्छे, यहीं मरेको हो ?
दाह्री बाबा : को न्हुच्छे ?
तुयुमै : (पत्रिका देखाएर) यो पत्रिकामा लेखेको मान्छे ।
दाह्री बाबा : ए । त्यसो भए, त्यो तिम्रो छोरा पो । आ, हिजोदेखि यही सडकको फुटपाथमा मरेर सडिरहँदा उसका आफन्त भन्नेहरू कोही आएनन् । तर आज … ? यो त गजबै भो बा … ।
दीनदयाल : बहन, वह तिम्रो छोरो होइन । मेरो रामदयाल हो ।
नरहरि : होइन । त्यो मेरो नरेन्द्र हो ।
तुयुमै : मखु मखु । त्यो हाम्रो न्हुच्छे हुनुपर्छ । ऊ पनि घरमा नआएको दुई दिन भयो । (रुँदै) यः न्हुच्छे दः नं. काःवाः ।
(दोर्जे दायाँतिरबाट प्रवेश हुन्छ ।)
दोर्जे : सुन्नुस् ता । यहाँ हाम्रो लाक्पा मरेको देख्यो ?
दाह्री बाबा : (दर्शकतिर हेरेर) उः फेरि अर्को आफन्तको आगमन भयो । वाह दुनियाँमा केवल दुइटै मान्छे राम्रा हुँदा रहेछन्, एउटा मरेको मान्छे, अनि अर्को जन्मिँदै नजन्मेको मान्छे । अघिसम्म मैले त्यो मर्ने केटालाई अभागी हुन सक्छ भन्ने सोचेको थिएँ तर त्यो अहिले गलत साबित भयो । अहिले जसका तीन तीन जना त बाउ नै निस्किसके । एउटी सिङ्गै आमा त प्रकट भइसकिन् । के थाहा, दिनभरिमा अझै कति बाउआमाहरू आउने हुन् ?
दोर्जे : (दाह्री बाबासँग) ओ । तिमीले हाम्रो लाक्पा मरेको देख्यो ?
दाह्री बाबा : मरेको त देखें तर त्यो मर्ने केटो तिम्रो लाक्पा हो कि, ऊ त्यो दिदीको न्हुच्छे हो कि अथवा ऊ ती दाइहरूका रामदयाल र नरेन्द्रमध्ये को हो ? मैले चाहिँ छुट्याउन सकिनँ ।
दोर्जे : त्यसको हातमा इन्जेक्सन जस्तो वस्तु थियो, देख्यो ?
दाह्री बाबा : (सम्झिँदै) हिजो राति मर्नुभन्दा अगाडि उसको हातमा इन्जेक्सन लगाउने सुई देखेको थिएँ । हो, ऊ इन्जेक्सन लगाउँदै थियो । अचम्म एक छिनपछि ऊ कालो निलो भएर त्यही पेटीमा डडङ्ग्रङ्ग ढल्यो ।
दोर्जे : हो । त्यो पक्का पनि मेरो लाक्पा नै हो । मैले त त्यसलाई त्यस्तो खराब चिज नाखा नाखा भनेको थियो । ट्रेकिङमा विदेशीले सिकाएको कुरा राम्रो हुन्छ भनेर मेरो कुरा मानेन । आजु खात्तम भायो, मेरा लाक्पा । लु, आबु मैच्याङलाई कासोरी मुख देखाउने ? मैले आउने ल्होसारमा छोरालाई साँगै लिएर आउँछु भानेको थियो । लु के गार्ने, मेरो लाक्पा मार्यो । मेरो लाक्पा मान्यो ।
दाह्री बाबा : (हाँस्दै) हा….. हा…. तमासा । घोर तमासा । सायद कलियुगको चरम बिन्दु हो, यो । जिउँदो हुँदा कसैलाई आफ्नो छोराको ख्याल आएन । छोरो कुन कारणले दुर्व्यसनी बन्यो, सोच्ने फुर्सत नै भएन । आज मर्यो । दुई थोपा प्रकृतिले दिएका फोकटको आँसु बगाउन जम्मा भए सब । छि !
दीनदयाल : (भावविभोर भएर) मेरो रामदयाल ।
नरहरि : मेरो नरेन्द्र ।
तुयुमै : यः न्हुच्छे ।
दोर्जे : लाक्पा । खेराङ्ङ्ग खा वा दु ? (तिमी कता छौ छोरा ?)
दाह्री बाबा : (दर्शकतिर हेरेर) तपाईंहरू किन मौन बस्नुभएको ? आउनुस् बुझ्नुस् । त्यो अघि मर्ने केटो रामदयाल, न्हुच्छे, लाक्पा वा नरेन्द्र नभएर तपाईंको आफ्नै छोरो पनि हुन सक्छ ? आउनुस् कतै तपाईंहरूकै छोरो यो पेटी, गल्ली र चोकमा लागुपदार्थ खाएर मरेको त छैन ? बुझ्नुस्, आउनुस् ।
दीनदयाल : होइन । मलाई पक्का विश्वास भयो । त्यो मेरो छोरा रामदयाल नै हो ।
नरहरि : होइन, नरेन्द्र हो ।
तुयुमै : मखु मखु । होइन, व न्हुच्छे नै हो ।
दोर्जे : कुन्युसुम, त्यो मेरो लाक्पा नै हो ।
(दर्शकमध्येबाट कुमारका बुबा (एक जना अधबैंसे) र अर्को सलिम (युवा) गरी दुई जना आउँछन् ।)
कुमारका बुबा : चुप लाग्नुस् तपाईंहरू, त्यो अरू कसैको छोरो होइन । मेरो छोरा कुमार हो । मैले यही बुढो हातले मेरो सहारा भविष्यको लट्ठी कुमारलाई दागबत्ती दिएर आउँदै छु । कुमार ! मेरो छोरा (व्यक्ति रुँदै खम्बामुनि बस्दै) मैले कस्तो कस्तो मिठो सपना साँचेर राखेको थिएँ । अब सब मिथ्या भो । तिम्रो चिताको दाउरा जस्तै मेरो सपना खरानी भयो । सब खरानी भयो ।
दीनदयाल : (रुन छोडेर) क्या कहा ?
नरहरि : उसो भए त्यो हाम्रो नरेन्द्र होइन ?
तुयुमै : (आँसु पुछ्दै) म त हाम्रो छोरा न्हुच्छे होला भनेर कस्तो डराएको ।
दोर्जे : (हाँस्दै) ए ! त्यसो भए त्यो लाक्पा होइन हागि । टासिदेले रिम्पुछे । टासिदेले ।
(सबै जना खुसी मानेर जान खोज्छन् । कुमारको बाबा भने भक्कानिँदै रुनुहुन्छ ।)
सलिम : काका नरुनुस् यसरी । अब कुमार फर्केर आउँदैन । मैले त्यसलाई धेरैपटक नखा भनें । त्यस्तो कुरा खाने साथीहरूसँग नहिँड भनें । त्यसले मेरो कुरा सुन्दै सुनेन । उल्टै मलाई नै तैले जिन्दगी केही बुझेको छैनस् भनेर भन्थ्यो । कतिपटक त मैले उसलाई रोक्न खोजें । मलाई नै उल्टै घिच्याउन खोज्थ्यो । अब सब सकियो । तर हामी छौं काका । हामी पनि तपाईंका छोरा नै हौं ।
दाह्री बाबा : पर्खनुस् । जानुभन्दा पहिला अरूको आँसुको मूल्य पनि बुझेर जानुस् । तपाईं आफ्नो आपत्मा विचलित हुनुहुन्छ तर अरूको आपत्मा हाँस्नुहुन्छ । एउटा चेतनशील मान्छे भएर पनि तपाईंभित्र खै अपनत्वको भावना ? अरूलाई खाने बाघले तपाईंलाई पनि खान सक्छ । अरूलाई पर्ने समस्या तपाईंलाई पनि पर्छ । देश नबने हामी कोही बन्दैनौं । यो देश कुनै एक व्यक्तिको मात्र होइन । सबैको देश हो । तपाईं हामी सबैको देश हो । त्यसैले एकअर्काको सुखदुःख साटफेर गरी मिलेर बाँचौं । मिलेरै समस्यासँग लडौं । होइन भने भोलि यही पेटीमा तपाईंको न्हुच्छे, तपाईंको रामदयाल, तपाईंको नरेन्द्र अनि तपाईंको लाक्पा भेटिने छन् । समय अझै बितिसकेको छैन । यो दुर्व्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन । यो अभियान असल छोराछोरीको अनि कर्तव्यनिष्ठ अभिभावकको सामूहिक अभियान हो । यो अभियान एक सचेत नागरिकको हो । यो अभियान तपाईं र हाम्रो हो । त्यसैले यो काम सबै मिलेर गरौं, मिलेर गरौं ।
कुमारका बुबा : ठिक भन्नुभो बाबा । सन्तानको सुख र शिक्षाका लागि भन्दै म रातदिन खटिएँ तर मैले मेरो छोरालाई समय दिइनँ । उसँग बसेर उसको पढाइका बारेमा कुरा गरिनँ । उसका साथी को को छन् भनेर कहिल्यै सोधखोज गरिनँ । ऊ कहाँ गयो, के गर्यो, के खायो भनेर ख्याल गरिन । म तो खालि मेरो व्यवसाय, बैठक आदि भन्दै दौडधुप गरिरहें । उसले मागे जति पैसा दिइरहें तर ऊ त धेरै पहिलेदेखि दुर्व्यसनको सिकार भइसकेको रहेछ र आज मैले यो दिन भोग्नुपर्यो । (एक छिन रोकिएर नरहरि, रामदयाल, तुयुमैं तथा दोर्जेतिर हेर्दै ) तपाईंहरू सबैलाई मेरो बिन्ती छ । अहिल्यै खोज्नुहोस् आफ्ना छोराहरू र उपचार गर्नुहोस् । आवश्यक परे सुधारगृहमा लगेर राख्नुहोस् तर ढिला नगर्नुहोस् नत्र सब थोक बर्बाद हुन्छ । (रुन थाल्छ । सबैले गोलाकार भएर कुमारका बुबाको काँधमा सान्त्वना दिँदै हात राख्छन् ।)
केटो : (प्रवेश गर्दै) लौ आयो, आजको ताजा खबर ।
दाह्री बाबा : होइन भाइ । जब तिमी हाम्रो देशमा चेतनाको बिहानी लिएर उदाउँछौ, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर लिएर आउँछौ अनि मात्र तिम्रो पत्रिकाको खबर ताजा र स्वच्छ हुन्छ । होइन भने…
केटो : होइन भने ?
दाह्री बाबा : होइन भने तिम्रो खबर बासी नै हुन्छ ।
(सबै गलल्ल हाँस्छन्, दृश्य मूर्तिवत् हुन्छ ।)
यहाँ सोधिएका पाठहरूको मागअनुसार अभ्यास र सारांश बुँदाहरू बाहेक, केवल पाठ्यसामग्री तथा प्रत्येक पाठको अन्त्यमा रहेका शब्दार्थहरूलाई क्रमशः युनिकोडमा रूपान्तरण गरी तल प्रस्तुत गरिएको छ।
पाठ ९ : सफलताको कथा
पत्रकारिता पेसा मेरो रुचि र गौरवको विषय थियो । हरेक घटनाबाट तानिनु र डोरिनुको रमाइलाले म समयसँग अभ्यस्त हुन थालेको थिएँ । महान् पत्रकारका जीवनी पढेर त झन् उत्साहित हुन्थें । यस पेसाप्रतिको गौरवले म झन् बढी समर्पित हुन थालेको थिएँ । काममा डुब्न पाए भोक, तिर्खा र थकाइ बिर्सनु मेरो दिनचर्या नै भएको थियो। कहिले पहिराको कथा बनाउन सिन्धुपाल्चोक पुग्थें त कहिले बालबालिका गृहको निर्माणको व्यथा लेख्न विराटनगर दौडन्थें । समय मसँगै दौडिरहे पनि त्यसको लयलाई समात्न म सधैं लालायित थिएँ ।
काठमाडौंको एउटा छेउ लाग्छ मलाई गोठाटार । विमानस्थल नभए सायद यो दुर्गम नगर हुने थियो । नगर पनि के भन्ने हिजोसम्म यो एउटा गाउँ थियो । अहिले विस्तार भएका बस्तीले यसको प्राचीनपन फेरिन थालेको छ। यही गोठाटारको पल्लो छेउमा मेरो डेरा थियो । काठमाडौंको कोटेश्वर काटेर जडीबुटीबाट उत्तर लागेपछि मलाई कोलाहलबाट मुक्त भए झै हुन्थ्यो । यहीं कारण म डेरा नै भए पनि यो स्थान छोड्न सक्दिनथें । तराईबाट काठमाडौं आउँदा र क्याम्पसमा पत्रकारिताको छात्र हुँदा मलाई पुतलीसडक प्यारो लाग्थ्यो । समयले मलाई एकान्तप्रिय बनायो र त्यसकै छालमा डोरिएर म गोठाटार पुगें । पहिलो पटक गोठाटार पुग्दा मलाई तान्ने सानो वन, केही पर रहेको पशुपतिको जङ्गल र गोठाटारको प्रतीक बनेर उभिएका पिपलका रुख थिए । हिजोआज मलाई यहाँका सबै कुरा प्यारा लाग्न थालेका छन् । पत्रकार भएर पनि म लेखक हुँ र लेखक हुन नै पत्रकार भएको पनि हुँ । मलाई यही लेखकीयपन मेरो गोठाटार मोहको कारक पनि हो जस्तो लाग्न थालेको छ । यही गोठाटारको पिपलको रुखमुनि टहलिँदै गर्दा अचानक अफिसबाट फोन आयो । बिहानको आठ बजेको थियो । एक्लो ज्यान जहाँ खाए पनि हुने । त्यसैले खाना नखाई अफिसले दिएको पुरानो मोटरसाइकल घ्यार्र घ्यार्र पार्दै अफिसतिर लागें । “तपाईं स्वास्थ्यको कथा लेख्न धुलिखेल जानुपर्ने भयो अमितजी” हाकिमले भन्नुभयो। “अफिसमा राम्रो फिचर स्टोरी बनाउने तपाईं नै त हुनुहुन्छ” उहाँले थप्नुभयो ।
मलाई स्वास्थ्यको समाचारमा त त्यति रुचि थिएन । स्टोरी भनेपछि चाहिँ स्वाभाविक रूपमा म तानिएँ । मैले खाना खाएको छैन नि भन्न पनि मेरो विनम्रताले दिएन। केही समयपछि आफैलाई गाली पनि गरें । लाग्यो चाहिनेभन्दा बढी विनम्रताले अरूलाई नभएर आफैलाई दुःख दिन्छ तैपनि मैले बिस्तारै भोक बिर्से र कथा मात्रै सम्झेर धुलिखेलतिर लागें ।
“कस्तो कथा होला ?” मेरो मनमा स्मृति दौडन थाल्यो। यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ । स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ । स्मृतिले मानिसलाई मानिस बनाउँछ र पुनर्जीवित गर्छ । मेरो स्मृतिमा मेरा आफ्नै पिता जोडिनुभयो, जसलाई म सानो छँदा नै क्यान्सरका कारण गुमाएको थिएँ । यो बेला स्मृति मेरा लागि सानो भ्याल थियो जसले बाहिर र भित्रलाई जोड्छ । बाहिरको विश्व परपरसम्मै फैलिएको छ । त्यहाँ गर्मी छ, जाडो छ, हावा छ, पानी छ र जङ्गल छ । यस बेला मेरो भित्री विश्वमा चाहिँ अथाह मौनता जमेको थियो। म आजको पात्रको कथा सोच्दै थिएँ । मेरो आँखाको सीमित परिधिमा न म कथाको पात्र सम्झन सक्थें न उसको सुखद वा दुखद कथा, मेरो स्मृतिमा त मौनता मात्रै थियो ।
“तपाईं पत्रकार ?” एक जना अधबैंसे महिलाले छेउमै आएर सोध्नुभयो । “हजुर” म धेरै नबोली छेउमा गएर बसें । कार्यक्रम योग र स्वास्थ्यका बारेमा थियो। थोरै अतिथि र धेरै दर्शक भएको कार्यक्रमका प्रमुख अतिथि एक जना युवा थिए । केही श्याम वर्णका ती युवक सुन्दर थिए । बिस्तारै उद्घोषकले केही अतिथि पनि बोलाए । यसो हेरें, कार्यक्रम त स्वास्थ्यका बारेमा हो । ठिकै छ, मनमनै सोचें तर यसका लागि म आइरहनुपर्ने थियो र ? अब मसँग भन्नु केही थिएन किनकि आइसकेको थिएँ । मनलाई सम्झाउन धुलिखेललाई मनभरि हेरें । आकाशमा बादल थियो र त्यसले बेला बेलामा आकार र रङ फेरिरहेको थियो। नजिकै वन थियो र त्यसले मायावी सङ्गीतको चम्किलो स्वरलाई वनस्थलका पत्र पत्रमा गुन्जाइरहेको थियो । उसको स्वप्निल, निस्पन्द र हावादार पड्ङ्खाले मलाई हम्किरहेको थियो । त्यो प्रकृति निर्मित स्वप्नले मलाई स्पर्श गरेकै क्षणमा यता कार्यक्रमको शङ्काले म झसङ्ग भएँ र त्यस अकथारूपी कथाको व्यग्र प्रतीक्षामा रहे ।
म पत्रकार भए पनि कार्यक्रमको औपचारिकताले त्यति तान्दैन । मलाई यस्ता कुरा समयको बर्बादी लाग्छन् । त्यही भएर साथीहरू मलाई “कहाँको भवानी भिक्षु हुनुपर्ने मान्छे, यहाँ अमित ठाकुर बनेर आएछ” पनि भन्छन् । हुन पनि कार्यक्रमको यस अनुत्पादक शैलीमा मेरो कति रुचि छैन । अतिथिको लामो ताँती देखेपछि मलाई त कहिलेकाहीँ कार्यक्रमकै बिचमा झोलाको पुस्तक निकालेर पढूँ पढूँ लाग्छ । त्यही भएर मलाई कति साथीहरूले “दर्शनशास्त्रको प्राध्यापक हुनुपर्ने पत्रकार हुन आएछ” पनि भन्छन्। यी सबै कुरामा त म वास्ता गर्दिन तर समयप्रति चाहिँ सचेत हुनुपर्छ भन्ने लाग्छ ।
योग, ध्यान र स्वास्थ्यका बारेको रुचि मेरो सानैदेखिको रुचि हो। एक पटक तौलिहवाको घरमा छँदा एक जना बौद्ध भिक्षुले ध्यान र मनको सम्बन्धका बारेमा दिएको प्रवचन मेरो मनमा ताजै छ । यसैबाट लोभिएर मैले लुम्बिनीका स्तूप र चैत्य पनि चाहारेको छु । अहिले सामाजिक सञ्जालभरि यसका बारेका शिक्षा पनि पाइन्छन् । म त्यसमा लोभिएर कति बिहान बिताउँछु पनि । साँच्चै मलाई गोठाटारले तान्ने कुरा पनि त यही हो । पिपलको रुखमुनि बसेर गरिने प्राणायाम र नजिकैको देवालयको खुला मैदानमा गरिने योगासन मेरो दिनचर्या नै भएको छ । कहिले पशुपतिछेउको मैदानमा पुग्ने आकर्षण पनि यही हो। यही कारण म धुलिखेलको आजको यस कार्यक्रमका बारेमा पनि तानिदै गएँ । डाक्टर युरेन्द्र झाले “हजारौं माइलको यात्रा एउटा सानो पाइलाबाट सुरु हुन्छ” भन्ने उखानबाट आफ्ना कुरा सुरु गरेको मलाई रमाइलो लाग्यो । “योग र ध्यानको यात्रा पनि यस्तै हो” उनले भने । “त्यसको उदाहरण यस मञ्चमा रहनुभएका सुन्दर छन्त्याल हुनुहुन्छ। उहाँको जीवन योग साधनाले नै फेरिदियो। आज उहाँ योग साधना र स्वास्थ्यका बारेमा राम्रो प्रवचन दिन सक्ने हुनुभएको छ । युवाहरूले समयमै स्वास्थ्यका बारेमा ध्यान दिनुपर्ने कुरालाई उहाँ राम्ररी बुझ्न र बुझाउन सक्ने हुनुभएको छ । “योग चिन्तन हो, ज्ञान हो, मनको एकाग्रता हो र यो समाधितर्फको यात्रा पनि हो।” उनले थपे । त्यसपछि वक्ताहरूको लामो ताँती सुरु भयो ।
कार्यक्रमका अन्तिम वक्ता सुन्दर छन्त्याल नै थिए । उनले थोरै बोले तर मिठो बोले । “मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ । योगबाट यो प्राप्त हुन्छ । म त्यही कथाको नायक हुँ जसले निराशालाई जितें र मृत्युलाई समेत जितें । म अहिले तपाईंहरूलाई सबै कथा सुनाउन सक्दिनँ । यति भन्छु योगले मलाई जीवन दियो । यसको श्रेय आयुर्वेद र योगका आचार्य गुरु युरेन्द्र झालाई छ ।”
कहाँ कथा बनाउन गएको पत्रकार म भाषणको भुमरीमा पो परें। मन केही खिन्न भयो तर हारिनँ । सुन्दर छन्त्यालको कथा नै मैले खोज्ने कथा थियो । यसमा म विश्वस्त भएपछि उनको फोन लेकर केही खिन्नताका साथ गोठाटार फर्के । रातको समय थियो । गोठाटारको आकाश सफा थियो । म कोठामा पुगें र फेरि त्यही पिपलको फेदमा पुगेर घोरिन थालें । मैले वरिपरिका पहाड हेरें । काठमाडौँलाई आँखा लगाइरहने चन्द्रागिरि साँझको प्रकाशमा टल्कँदै थियो । अन्न्धकार बढ्दै जाँदा वरिपरिका पहाड गणितका रेखाचित्र जस्तै स्तब्ध र निश्चल थिए । उनीहरूका मन मेरो जस्तै मलिन र म्लान थिए । आकाश तल तल झर्दै थियो र धरतीलाई छुला छुला झै झुकेको थियो । धरती अद्भुत चित्रलाई छातीमा समेटेर वात्सल्यमयी बन्दै सारा प्राणीलाई आफ्ना वक्षस्थलमा लपेटेर सुतेको थियो। म भने भोलिको कथाको चित्र र पात्रको रेखा कोरिरहेको थिएँ ।
बिहान आठ बजे सुन्दरलाई फोन गरें । एक जना अधबैंसे महिलाले फोन उठाउनुभयो । उहाँ हिजोकै महिला हुनुहुन्छ र सुन्दरकी आमा हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त बनें। सुन्दरकी आमाले सहज निम्तो दिएपछि म खुसीसाथ आरुबारी लागें । केही माथि पुगेपछि फेरि फोन गरें । घरमा पुगेर घन्टी बजाएँ। “ए बाबु आउनु न “उहाँले भन्नुभयो र म उहाँकै साथ भित्र पसें ।
म भित्र पस्दा सुन्दर ध्यानमा मग्न थिए । आमाले म आएको खबर गर्नासाथ ध्यान छाडेर आए र म नजिकै कुर्सीमा बसे। म केही हतारमै थिएँ। “बाबु चिया खाऊँ है।” मैले विनम्रता पूर्वक “हुन्छ” को सङ्केत गरें । “लौ कथा सुरु गरौं।” मैले सुन्दरलाई आग्रह गरें ।
“म म्याग्दीको गाउँमा जन्मेको हुँ।” उनले कथा सुरु गर्दै भने । “मध्यमवर्गीय परिवारको एक्लो छोरो दुःख खासै थिएन ।” “दिदीबहिनी नि ?” जिज्ञासु हुँदै मैले सोधे। उनी भन्दै गए “अँहँ, म एक्लो छोरो हुँ । बुबा सरकारी अधिकृत, आमा माध्यमिक तहमा पढाउने, जीवन सुखी थियो । मैले काठमाडौंको नाम चलेको विद्यालयबाट एसएलसी सकें । त्यसपछि उच्चमाध्यमिक तह विज्ञान लिएर उत्तीर्ण गरें ।”
त्यही बेला आमा चिया लिएर आइपुग्नुभयो । उहाँ पनि छेउमा बस्नुभयो र चिया खाँदै कथा अगाडि बढायौं ।
“अनि स्नातक नि त ?” मैले सोधे । “स्नातक थापाथली क्याम्पसबाट सिभिल इन्जिनियरिङ लिएर पूरा गरे ।” उनी भन्दै गए, “स्नातकोत्तरको लागि फाराम पनि भरें र नाम पनि निस्कियो ।”
“ओहो बाबु ! सुन्दरको नाम निस्केको दिनका बुबाले गाउँभरिका मानिसलाई खुसी बाँड्नुभएको नि ! कति खुसी हुनुभएको थियो उहाँ” आमाले थप्नुभयो । मैले त्यही बेला झ्यालबाट परको पहाडी चुचुरो हेरें । घामको प्रकाशले उज्यालिएको आरुबारी हेरें र सुन्दरलाई कथाको शृङ्खला बढाउन भनें ।
सुन्दरको जीवनमा अचानक पहिरो गयो । यता काठमाडौंमा पढाइ सुरु भएको तेस्रो दिन सुन्दरका बुबाको हृदयाघातका कारण मृत्यु भयो । सुन्दर म्याग्दी गए । बुबाको काम सकेपछि उनलाई काठमाडौं फर्कन मन नै भएन। “मैले कति सम्झाएँ बाबु तर मानेको होइन ।” आमाले भन्नुभयो । गाउँमा आमा विद्यालय जाने सुन्दर भने घरमा एक्लै बस्ने भयो ।
“म साह्रै उदास भएँ दाइ” सुन्दरले भने । उनको दाइ शब्दले म पनि पग्लें । यस बेला मलाई सुन्दर आफ्नै भाइ र आमा आफ्नै आमा झै लाग्यो। मैले पनि आफ्नो कथा सम्झें र रुन मन गरें । त्यसै त साथीहरू “साहित्यकार होस्, पग्लिन्छस्” भन्छन् । त्यसैले मन दह्रो बनाएर सुनें ।
“दाइ, म यस्तै उदासीमा थिएँ । अचानक आमा बिरामी पर्नुभयो । काठमाडौं लिएर आएँ र डाक्टरलाई देखाएँ । क्यान्सर भएको रहेछ। धेरै आत्तिनुपर्दैन तर नेपालमा होइन दिल्ली लैजानुपर्छ भनेर डाक्टरले भने । म त छानाबाट खसे झै भएँ । आफ्नो सर्वस्व गुमेपछि पीडाको आहालमा डुबे जस्तै भयो । धन्न सुरुमै रहेछ, उपचार भयो ।” उनले भने ।
“बाबु, ऋणको आहालमा डुबियो नि। त्यसले पनि सुन्दरलाई डिप्रेसन जस्तै भएको हो ।” आमाले भन्नुभयो । “डिप्रेसन त रोग नै हो आमा। अहिले तो उपचार पनि छ नि ।” मैले सम्झाउने पाराले भनें । “त्यही त बाबु, मेरो छोरो त्यही भएर सग्लो भयो नि ।” आमाले भन्नुभयो । “दिल्लीबाट फर्केपछि त सुन्दरमा झन् बढी उदासीनता बढ्यो ।” आमाले भन्नुभयो । “यो कहिलेको कुरा आमा ?” मैले सोधे । “भयो बाबु अस्ति चैतमा ठ्याक्कै पाँच वर्ष भयो ।” आमाले भन्नुभयो । यो असारको महिना थियो । “पाँच वर्ष दुई महिना भएछ ।” मैले मनमनै हिसाब गरें । “त्यसपछि मैले यहाँ डेरा लिएँ र नेपाल मेडिकल कलेजका मनोचिकित्सकलाई देखाएँ । सामान्य उपचार हुँदै थियो । एक दिन डाक्टर युरेन्द्र झाको चिकित्सा केन्द्र नयाँ वानेश्वर जाने कुरा भयो । आमाछोरा भएर गयौं ।” आमाले भन्नुभयो ।
“उहाँले योग र ध्यानका सबै विधि सिकाउनुभयो र गर्न पनि लगाउनु भयो । आयुर्वेदिक औषधी पनि दिनुभयो ।” अमितले भने । “मनोचिकित्सकलाई पनि सोधियो, उहाँले पनि त्यो पनि एउटा राम्रो पद्धति हो । आराम पनि हुन्छ भन्ने सल्लाह दिनुभयो । नभन्दै बिस्तारै मन शान्त हुन थाल्यो । मैले योगको विषय पनि बोध गर्दै गएँ । यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा र ध्यान हुँदै समाधिसम्मको यात्रा गरिन्छ भन्ने पनि बुझे । यस बोधले त मेरा मनका विकार हट्दै गए र जीवनमा बाँच्ने इच्छाशक्ति जागृत भयो ।” सुन्दरले भने । “अनि त म झन् योग र ध्यान सिक्न थालें र प्रशिक्षक बनें। डाक्टर झा मेरा डाक्टर मात्रै नभएर गुरु पनि हुनुभयो ।”
“कसरी यस्ता भयौ त भाइ ?” मैले सोधे । “जस्तो परिस्थिति छ, त्यससँग सहमत भएर अघि बढे जीवन स्वाभाविक रूपमा चल्छ । सहमत हुन नसक्दा मानसिक चिन्ता सुरु हुन्छ । आफ्नो मन आफै मिलिहाल्छ भनियो भने हुन्न । यसका लागि समग्रता र एकाग्रता चाहिने रहेछ । मनलाई शान्त र स्थिर पार्नुपर्ने रहेछ । मनको एकाग्रता नै शान्तिको आधार हो । गहिरो शान्ति ध्यानबाट प्राप्त हुन्छ र शारीरिक शान्ति योगाभ्यासबाट प्राप्त हुन्छ । त्यसैले सुखी र निरोगी जीवनका लागि योगाभ्यास आवश्यक छ ।” सुन्दरले सबै कुरा एकै स्वरमा सिध्याए ।
“अनि ऋण कसरी तिर्ने त अब ?” मैले सोधे । “पहाडको जग्गा केही बेचियो केही तिरियो । धेरै त तिर्न सकिएको छैन । हेरौं, सकिएला नि केही पौरख गर्न ।” सुन्दरले भने ।
म एउटा युवाको नयाँ जीवनको कथा बोकेर फर्कने तरखरमा थिएँ। खाना नखाई जान पाइन्न भन्ने आग्रह टार्न नसकी खाना खाएर कार्यालय फर्के । दिनभरि कार्यालयमा बसेर शनिबारको लागि सुन्दरको कथा तयार पारें र बेलुका डेरामा फर्के। शीर्षक के राख्ने भन्ने पिरलोले चाहिँ मलाई रातभर छाडेन ।
भोलिपल्ट बिहान मेरो मोबाइलको घन्टी बज्यो । हेरें, सुन्दरको रहेछ । “दाइ म पास भएँ नि ।” उनले भने । “केमा पास भयौ नि भाइ ?” मैले सोधें । “प्राविधिक अधिकृतमा, अब त म ऋण तिर्न सक्छु दाइ र म योगको प्रशिक्षक पनि भएर समाज सेवा पनि गरिरहन्छु ।” उनको स्वरमा दहो दृढता थियो ।
मैले उनकी कथामा यो सफलता पनि जोड्न पाएँ । त्यसपछि म मेरा बिहानका साथी तिनै पिपल र चउरतर्फ लागें । मनमा भने कथाको शीर्षक के दिऊँ भन्ने कुरा खेलिरहेको थियो । मैले मनमनै सोचें, यो कथा विफलताबाट सफलताको यात्राको कथा हो। दिउँसो कार्यालय पुगें । हाकिमले सोधे, “तपाईंको कथाको शीर्षक के राख्ने अमितजी ?” अनायास मेरो मुखबाट निस्क्यो, सफलताको कथा ।
शब्दभण्डार (पाठ ९ का शब्दार्थ)
- यम: मन, वचन र कर्मलाई नियन्त्रण गर्ने योगको पहिलो अङ्ग।
- नियम: शौच, सन्तोष, तप आदि योगका सदाचारसम्बन्धी नियमहरू।
- आसन: शरीरलाई स्थिर र सुखपूर्वक राख्ने योगको एक प्रक्रिया।
- प्राणायाम: श्वासप्रश्वासको गतिलाई नियन्त्रण र नियमित गर्ने योग प्रक्रिया।
- प्रत्याहार: इन्द्रियहरूलाई बाह्य विषयबाट हटाएर अन्तर्मुखी बनाउने काम।
- धारणा: मनलाई कुनै एक निश्चित वस्तु वा स्थानमा स्थिर राख्ने अभ्यास।
- ध्यान: एकाग्र चित्त भएर निरन्तर ईश्वर वा आत्मचिन्तनमा लीन हुने अवस्था।
- समाधि: चित्तका सबै वृत्तिहरू निरुद्ध भई परमात्मामा लीन हुने योगको अन्तिम अवस्था।
- निश्चल: हलचल नगर्ने, स्थिर।
- म्लान: ओइलाएको, कान्तिहीन, मलिन।
- चैत्य: बौद्ध स्मारक वा स्तूप।
- आयुर्वेद: प्राचीन चिकित्साशास्त्र।
- एकाग्र: एकचित्त, केन्द्रित।
- अकथा: कथाहिनता, भन्न नसकिने कथा।
- स्नातकोत्तर: एम.ए. वा सो सरहको उच्च शैक्षिक उपाधि।
