रारा भ्रमण दैनिकी पाठ पढ्नुहोस् ।
पाठ १२ : जलस्रोत र ऊर्जा
विद्यालयको सभाकक्षमा जलस्रोत र ऊर्जा विषयक वक्तृत्वकला प्रतियोगिता सुरु हुन लागेको छ । उक्त प्रतियोगितामा विद्यालयका विद्यार्थीले भाग लिएका छन् । कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापकले गर्नुभएको छ । मञ्चको एकापट्टि तीन जना शिक्षक निर्णायकको भूमिकामा बस्नुभएको छ । अर्कापट्टि प्रतियोगी विद्यार्थी बस्नुभएको छ । एक जना शिक्षक समयपालकको भूमिकामा हुनुहुन्छ । कार्यक्रम ११ कक्षामा अध्ययनरत एक जना विद्यार्थीले सञ्चालन गर्नुभएको छ । कार्यक्रम सञ्चालकले प्रतियोगिताका नियम प्रस्ट पार्दै पहिलो प्रतियोगी मिना अयरलाई मञ्चमा निम्त्याउनुहुन्छ :
मिना अयर
आदरणीय सभाध्यक्ष, निर्णायक मण्डल, मञ्चासिन विशिष्ट व्यक्तित्वहरू, श्रद्धेय गुरुवर्ग, प्रतियोगी साथीहरू र अन्य उपस्थित सम्पूर्ण विद्यार्थी साथी !
जलस्रोत र ऊर्जा विषयक यस वक्तृत्वकला प्रतियोगितामा म मिना अयर आफ्ना भनाइ राख्दै छु ।
आदरणीय महानुभावहरू !
हामी सबैलाई थाहा छ, नेपाल प्राकृतिक सम्पदाका दृष्टिले संसारकै धनी देश हो । जलस्रोतका दृष्टिले यो देश एसियाको सबैभन्दा सम्पन्न देश मानिन्छ । सिङ्गो विश्वमा हाम्रो देश जलस्रोतमा ब्राजिलपछिको दोस्रो धनी राष्ट्र हो । हिमाल, समुद्र, नदीनाला, झरना, छहरा, तालतलैया, आफै पानी निस्कने मूल, इनार, ट्युबवेल तथा वर्षालाई जलस्रोत मानिन्छ । यस्ता स्रोतमध्ये समुद्रबाहेक सबै स्रोत हाम्रो देशमा उपलब्ध छन् । त्यसैले हाम्रो देशको द्रुततर विकास गर्ने हो भने जलस्रोतको समुचित दोहन गर्न सक्नुपर्छ ।
नेपालमा जलस्रोतको अत्यधिक उपयोग जलविद्युतीकरणबाट गर्न सकिने कुरा विभिन्न सर्वेक्षणले देखाएको हामी सबैलाई थाहा छ । बाह्रै महिना परिरहने हिउँ, नित्यनिरन्तर बगिरहने अथाह जलराशि र भिरालो भौगोलिक बनोटको सहमिलनबाट ८३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गर्ने सामर्थ्य नेपाली जलस्रोतमा सुरक्षित छ । वि. स. १९६८ मा फर्पिङमा चन्द्रज्योति नामक ५०० किलोवाटको जलविद्युत् आयोजनाबाट सुरु भएको विद्युतीकरणको अभियान हाल करिब १५०० मेगावाट उत्पादन हुने क्रममा छ । काली गण्डकी ए जलविद्युत् आयोजना जस्तो १४४ मेगावाट क्षमताको विशाल आयोजना सञ्चालनमा छ । यस्ता आयोजनामार्फत हाम्रो जलस्रोतको सम्पूर्ण क्षमताको ५० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्न सक्ने हो भने यस देशको आर्थिक उन्नति हुन बेर लाग्दैन । भर्खरैसम्म लोडसेडिङ र विभिन्न किसिमको ऊर्जा सङ्कट बेहोरिरहेको हाम्रो देशलाई त्यसबाट मुक्त गर्न सक्ने सामर्थ्य केवल जलस्रोतसम्बद्ध विद्युतीकरणले मात्र गर्न सक्छ । त्यसैले हाम्रो देशको उज्यालो भविष्य देख्न चाहने जुनसुकै निकायले जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र विस्तारमा ध्यान दिनु जरुरी छ । यसका लागि आवश्यक नीति नियम तयार पार्नु वा आवश्यक परे फेरबदल गर्नु जरुरी छ । जलविद्युत्मा लगानी गर्ने वातावरण बनाउनुपर्छ । जलविद्युत्सँग सम्बद्ध उद्योग, कलकारखाना खोल्ने वातावरण बनाउनु जरुरी छ । घरायसी रूपमै पनि जलविद्युत्को खपत बढाउन हौस्याउने नीति अख्तियार गर्नुपर्छ । अझ बढी हाम्रो देशमा उत्पादित जलविद्युत् विदेशसम्म पुऱ्याएर बेच्ने वातावरण तयार गर्नुपर्छ ।
जलस्रोतको परम्परागत उपयोग सिँचाइसँग सम्बद्ध छ । नेपाली जलस्रोत नेपाली भूमिसँग मात्र होइन, छिमेकी मुलुकको भूमिको उर्वरासँग पनि गाँसिएको छ । नेपाली भूगोलभित्र छ हजार जति नदीनाला छन् र तीमध्ये छ सयभन्दा बढी नदी बाह्रै महिना निरन्तर बगिरहन्छन् । यस्ता नदीनालाबाट कुलो, पैनी वा नहर निर्माण गरेर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुऱ्याइएको छ र तिनै जमिनमा उब्जेको अन्न खाएर हामी बाँचिरहेका छौं। यसरी भूमिको उर्वरा बढाउँदै राष्ट्रको कृषिजन्य उत्पादन बढाउन पनि हाम्रो जलस्रोतको उपयोग भइरहेको छ । यस्तो उपयोगलाई अझ आधुनिक र प्रविधिमैत्री बनाउँदै कृषि आत्मनिर्भर बनाउने अभियानमा हामी सफल हुने हो भने हाम्रो विकासको फाँट अझ बढी फराकिलो हुनेमा शङ्का छैन ।
श्रद्धेय श्रोतागण !
नेपाली जलस्रोतको उपयोग पर्यटन र मनोरञ्जनका क्षेत्रमा पनि गर्न सकिन्छ । हामीसँग संसारकै सबभन्दा अग्लो ठाउँमा रहेको तिलिचो ताल र सुन्दर प्राकृतिक वातावरण भएका हिमताल तथा अन्य तालतलैया छन् । त्यस्ता तालतलैयालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी बर्सेनि लाखों पर्यटक भित्र्याउन सकिन्छ । फेवाताल, वेगनास ताल, बुलबुललगायतका तालतलैयाको प्रचारप्रसार र तिनको सौन्दर्यलाई खलल नपुऱ्याउने गरी विस्तार गरिएका नौका विहार आदिको सुविधाले नेपालको पर्यटनलाई दरिलो बनाउँछ । तीव्र गतिमा बग्ने नेपाली नदीमा राफ्टिङको विस्तारले साहसिक पर्यटनमा विदेशीहरूलाई निम्तो दिइरहेको छ । यसका साथै विभिन्न ठाउँमा स्विमिङ पुल, पानीसम्बद्ध खेलहरू खेल्ने ठाउँ विकास गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटनको विस्तारसँगै र नेपाली अर्थतन्त्र चलायमान हुन्छ र देशोन्नतिका सिँढीहरू थपिन्छन् ।
(जनाउ घन्टी बज्छ ।)
अन्त्यमा नेपालको जलस्रोत देशको समृद्धिको आधार हो । यसको सदुपयोग गर्न सके हाम्रो अर्थतन्त्र बलियो बन्छ । आजका देशले ऊर्जा सङ्कट बेहोरिरहेको छ । यस्तो ऊर्जा सङ्कटले हाम्रा दैनिक गतिविधि प्रभावित हुन्छन् । पेट्रोलियम ऊर्जा खरिदका लागि दैनिक करोडौं रुपियाँ खर्च हुन्छ । विश्वबजारमा दिनप्रतिदिन बढिरहेको पेट्रोलियम पदार्थको भाउका कारण हाम्रो देशको अर्थतन्त्रले थाम्नै नसक्ने अवस्था आउन सक्छ ।
(घन्टी बज्छ ।)
यस्तो महासङ्कटबाट हामीलाई सेतो सुनका रूपमा परिभाषित हाम्रै जलस्रोतको सही सदुपयोग मात्र मुक्ति दिन सक्छ । यसका अतिरिक्त, सिँचाइ, सरसफाइ र स्वच्छ पिउने पानीको आधार पनि जलस्रोत नै हो। त्यसैले नेपालको विकासमा जलस्रोतको सर्वोपरि महत्त्व छ भन्दै मेरा भनाइ यही अन्त्य गर्छु, धन्यवाद !
कार्यक्रम सञ्चालकले अर्का प्रतियोगी राजन सार्कीलाई आफ्नो वक्तृताका लागि मञ्चमा निम्त्याउनुहुन्छ ।
राजन सार्की
आदरणीय सभाध्यक्ष महोदय, गुरु तथा गुरुआमाहरू, निष्पक्ष निर्णायक मण्डल, प्रतिस्पर्धी मित्रहरू, उपस्थित सम्पूर्ण मेरा साथी !
आज आयोजित यस वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन पाएकामा गौरवको अनुभूति गर्दै आयोजकप्रति हार्दिक आभार प्रकट गर्छु । आजको वक्तृत्वकलाको विषय रहेको छ ‘जलस्रोत र ऊर्जा’ ।
उपस्थित महानुभावहरू ।
हाम्रो देश सुन्दर पृथ्वीको अलौकिक आनन्दमा अपार प्रकृतिको छटासँगै हाँसिरहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा मुस्कुराउँदै विराजमान छ । अपार जलस्रोतले सम्पन्न राष्ट्र नेपालमा सम्भावनाका चुली हिमाल झै अटल छन्, उच्च छन् । प्रकृतिको काखमा कोसी, रोसी, दुधकोसी, तामाकोसी, सुनकोसीका सपनामा विश्वलाई झलमल्ल पार्न सक्ने कञ्चन जलप्रवाह हाम्रो इच्छाशक्तिलाई कुरेर बसिरहेको छ । गण्डकीको गहनता, कर्नालीको कर्मयोग, मेचीको महानता, कालीको मौनता, तिलिचो, गोक्यो र राराको उच्चता, फेवाको फैलावट, वेगनासको शालीनता, तमोरको तमासा हाम्रा जलस्रोतका अजस्र भण्डार हुन् । यिनीहरूको सही सदुपयोगले हाम्रो धरती हराभरा बन्छ । पोषणयुक्त अन्नामृत प्राप्त हुन्छ । जलस्रोतबाट बिजुली निकालेर धरती झलमल पार्न, उद्योग कलकारखाना खोल्न सकिन्छ । विद्युत् निर्यात गरेर आयआर्जन गर्न सकिन्छ । नेपालकै भूधरातलमा रहेका जीवनदायिनी नदीबाट उत्पादित जलविद्युतीय ऊर्जाको उपभोगबाट पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गरी देशको व्यापारघाटा रोक्न सकिन्छ । आजको डिजिटल प्रविधियुक्त विश्वमा देखा परेको ऊर्जा सङ्कट हटाएर, विश्वबजारमा नवीकरणीय जल ऊर्जा बिक्री गरेर प्रशस्त आय आर्जन, रोजगारी तथा सम्पन्नताका ढोका खोल्न सकिन्छ ।
जलका विभिन्न स्वरूप हुन्छन् । पग्लिने, अग्लिने र उड्ने सक्ने क्षमता पानीमा हुन्छ । हिउँ पग्लिएर नदी बन्दा नदीको पानी बाफ बन्छ र हिमालका थाप्लामा हिउँ जम्छ। ठोस, तरल, ग्याँस मात्र होइन पानीमा आगो ओकल्ने ऊर्जा हुन्छ । विद्युत् पानीबाटै निकालिन्छ । यस्तो महत्त्वपूर्ण चमत्कारी पानी सदुपयोग गरे बन्दछ सुखी जिन्दगानी, दुरुपयोग भए दुःखमै बित्छ जिन्दगानी। ठोस, तरल, ग्याँस, राप, ताप, तेजसँगैको ऊर्जाले विश्वमा अविकासका सारा स्वरूपलाई चुनौती दिइरहेको छ ।
उपस्थित महानुभावहरू ।
आज हामी आफैंसँगको बिना नचिनेर भौंतारिइरहेको कस्तुरी जस्तै भएका छौं। जलस्रोतमा धनी राष्ट्र भए पनि दिगो पूर्वाधार विकासका योजनाका अभावले गर्दा हामी स्रोत र साधन भए पनि अँध्यारामा बस्न बाध्य छौँ । उर्वराभूमि भएर पनि सिँचाइका आधुनिक प्रविधि अपनाउन नसक्दा जग्गा बाँझै छन्, जनता भोकभोकै छन् । युवाशक्ति बिदेसिन बाध्य छन् । विकास निर्माणले विश्वलाई चकित पार्ने छिмеकीलाई टुलुटुलु हेरेर गाँस, वासकै समस्यामा पिरोलिन बाध्य छ हाम्रो समाज । यो अवस्थालाई बदलेर विश्व प्रतिस्पर्धामा होमिन सक्ने बनाउने क्षमता जलस्रोतमा मात्र छ । हामी अमृत समान हिमालको कञ्चन पानी बोतलमा बेचेर विश्वका मानिसको तिर्खा मेटाउन सक्छौ । कर्नालीमा जलविहार, कोसी र तामाकोसीमा सिँचाइका उचित व्यवस्थापन गरेर धर्ती उर्वरा बनाउन सक्छौं ।
आज सुनदेखि लसुनसम्म, चामलदेखि प्याजसम्म अर्को देशबाट किनेर उपभोग गर्ने हाम्रो स्वभावमा परिवर्तन गर्न यो मुख्य आधार बन्न सक्छ । परिश्रम र पसिनालाई विवेकमा परिवर्तन गरेर विकासको पहार बन्न सक्छ ।
यहाँका उर्वर भूमिमा सिँचाइको व्यवस्थापन गरेर यहाँ उत्पादित अर्गानिक फलफूल खाद्यान्न विश्व बजारमा बेच्नुपर्छ । युवाको पसिना स्वदेशमै पोख्नुपर्छ । यहाँको माटो, यहाँको पाटो, यहाँको बाटो सुन्दर छ, पवित्र छ, अनमोल छ । मात्र यसलाई सजाउने, सिङ्गार्ने सदुपयोग गर्ने सिप, प्रविधि, कला र जाँगर हामीलाई चाहिएको छ । यो स्वच्छ हावापानीमा हुर्केका फलफूल, बगरमा फल्ने तरबुजो, पहाडमा कागती, सुन्तला, स्याउ, नास्पातीलगायतका फलफूलको अझ बढी उत्पादन जलस्रोतको सही सदुपयोगबाट सम्मिश्रण छ ।
(जनाउ घन्टी बज्छ ।)
हामीले आफ्ना घरका हजारौं सम्भावना लत्याएर मरुभूमिमा भेडा चराउन दौडिनुपर्ने बाध्यताबाट मुक्ति दिलाउन जलस्रोतको उपयोगितालाई बढाउनुपर्छ । यदि जलस्रोतको सदुपयोग गर्न सके विश्वका बेरोजगार यहाँका फाँटमा भेडा, बाख्रा, चौंरी चराउन आउने छन् । जल पर्यटन विहारका लागि पर्यटक आउने छन् । त्यसैले उठौं, जागौं र जलस्रोतको सही सदुपयोगमा लागौं । धरतीमा ऊर्जा थपौं। आउनुहोस्, हातेमालो गरौं । ह्यातुङमा पर्यटक पुऱ्याऔं । राराको रमिता विश्वलाई देखाऔं । कर्नालीको लम्बाइ, गण्डकीको गहिराइसँगै कोसीको विशालतामा नेपाली जनमनलाई फैलाऔं, धन्यवाद ।
अन्य वक्ताले पनि आफ्नो वक्तव्य राख्नुहुन्छ । निर्णायकले निर्णय सुनाउनुहुन्छ र सभाध्यक्षको भूमिकामा रहनुभएका प्रधानाध्यापकले पुरस्कार वितरण गरिसकेपछि आफ्नो मन्तव्यसहित कार्यक्रम टुङ्ग्याउनुहुन्छ ।
शब्दभण्डार (पाठ १२ का शब्दार्थ)
- अथाह: ज्यादै धेरै, गहिराइ थाहा पाउन नसकिने।
- नौका: डुङ्गा।
- अलावा: अतिरिक्त, बाहेक।
- अख्तियार: नियम कानुनद्वारा दिइएको अधिकार, प्रयोग गर्ने अधिकार।
- नित्य: सधैं, निरन्तर।
- सर्वेक्षण: कुनै विषयको तथ्यपूर्ण जानकारीका लागि गरिने निरीक्षण वा अध्ययन।
