पर्यापर्यटनका सम्भावना र सम्भावना
मान्छे, प्रकृति र वातावरणबिचको सम्बन्ध र सन्तुलनलाई लिएर आजभोलि ‘इकोफ्रेन्ड्ली’, ‘इकोटुरिजम’, ‘इकोटोरोरिजम’ आदि ‘इको’ उपसर्ग जोडिएका थुप्रै लवज प्रयोग हुन थालेका छन् । यस्ता अभिव्यक्तिको आधार ‘इकोलोजी’ र ‘इकोसिस्टम’ शब्द हुन् । सन् १८६९ मा अर्नस्ट हिकेल नामक एक जर्मन वैज्ञानिकले ‘इकोलोजी’ शब्द प्रयोगमा ल्याएका हुन् । यसमा ग्रिक भाषाका ‘ओइकस’ र ‘लोगस’ दुई शब्द समाविष्ट छन् । शाब्दिक अर्थमा घरलाई बुझाउने ‘ओइकस’ लाई अङ्ग्रेजीमा ‘इको’ लेखिन थालियो । त्यस्तै अध्ययन, अनुसन्धान, चर्चा, परिचर्चा हुने विद्यालाई जनाउने शब्द ‘लोगस’ ‘लोजी’ प्राप्त गरेर ‘इकोलोजी’ शब्द निर्माण भयो । यो विद्या अर्थात् ‘इकोलोजी’ अनुसार हामी बस्ने घर अर्थात् वासस्थानका विषयमा अध्ययन, अनुसन्धान, चर्चा, परिचर्चाले गर्दा त्यहाँको प्राकृतिक परिवेशभित्रको सम्पूर्ण जैविक पदार्थ (जीव, प्राणी र वनस्पति) तथा निर्जीव पदार्थ (जल, जमिन, हावापानी, घामपानी एवम् रासायनिक द्रव्यहरू) को आपसी सम्बन्धबारे बुझ्ने काम हुन्छ । कुनै वासस्थानका प्रणाली निरन्तर चलिरहनका लागि त्यहाँ सृष्टि र उत्पादनसँगै तिनको खपत र सम्भारको प्रक्रिया पनि निरन्तर चलिरहनुपर्छ । अर्थात् जन्म र जीवनको चक्रसँगै मृत्यु र संहार पनि चल्दै गर्नुपर्छ । संहार कार्यले पुनः सृष्टिलाई सघाइरहेको हुन्छ । सृष्टि, पालन र संहारको कार्य सम्पादन प्रणालीलाई वातावरण विज्ञानले ‘इकोसिस्टम’ अर्थात् पारिस्थितिक प्रणाली भन्छ ।
कुनै एउटा पोखरी, ताल वा सिमसारको पारिस्थितिक प्रणालीलाई हेर्यौँ भने त्यहाँ वनस्पति घाँस, पात, लेउ, भ्याउ एवम् सूक्ष्म जीवात्माले सौर्य शक्तिको सहायतामा खाद्य पदार्थ निर्माण गरिरहेका हुन्छन् । ती खाद्यवस्तु खपत गरेर जलचर प्राणी र माछाहरू मौलाउँछन् । माछा एवम् अन्य किराफट्याङ्ग्रा खान चराचुरुङ्गी वा गोही सर्पहरू त्यहाँ विचरण गरिरहेका हुन्छन् । त्यहाँ पशुपन्छी वा वनस्पति मरेर, सडेर जल र जमिनलाई पोषण गरिरहेका हुन्छन् । यसै गरी समुद्रको पारिस्थितिक प्रणालीमा पनि सूक्ष्म वनस्पति र अरू भ्याउ लेउले सौर्य शक्तिको सहायतामा माछाको आहारा निर्माण गर्छन् । माछालाई आहारा बनाएर ह्वेल माछालगायतका विभिन्न प्राणी बाँचिरहेका हुन्छन् । विश्वको सबभन्दा ठुलो प्राणी ह्वेलको आहाराको आधार ससाना माछामा निहित हुन्छ । सानो पोखरी होस् वा विशाल सागर त्यहाँको पारिस्थितिक प्रणालीभित्र आहाराको सञ्जाल निकै जटिल हुन्छ । सबैसँग सबै गाँसिएका हुन्छन् । त्यस्तै कुनै वनजङ्गलभित्रको पारिस्थितिक प्रणाली अध्ययन गर्यो भने सौर्य शक्ति र वनस्पतिले आहाराको प्रारम्भिक आधार खडा गरेपछि तिनलाई खपत गर्ने तृणाहारी हरिण, मृगहरू त्यहाँ जीवन निर्वाह गर्न आइपुग्छन् । तिनलाई आहार बनाउने बाघ, चितुवा हुन्छन् । बाघ, चितुवा एवम् अरू पशुपन्छी र वनस्पति मरेपछि सडेर गलेर फेरि माटो र हावाकमा लीन हुन्छन् । पारिस्थितिक प्रणाली यसरी ही चलिरहन्छ । यही प्रणालीलाई आफ्नो वासस्थान बनाएर जीवात्मा पृथ्वीमा जन्मन्छन्, बाँच्छन् र मर्छन् ।
विहङ्गम दृष्टिले विचार गर्दा सम्पूर्ण पृथ्वी एउटा घर हो । यहाँ जल, स्थल, वायु, आकाश र तेज (प्रकाश) यी पाँच तत्त्व (पञ्चतत्त्व) का बिच जलचर, स्थलचर, नभचर र सबै चराचर आफ्नो जीवन बिताउँदछन् । पृथ्वीलाई छोडेर अन्य ग्रहमा जीवात्माको अस्तित्व भेटिएको छैन । त्यसैले हामी सबैले यहीं बाँच्नुपर्छ, यहीं मर्नुपर्छ । यो सिवाय अरू जाने ठाउँ छैन । पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व सङ्कटमा पर्छ । हालका दिनमा जलवायु परिवर्तनका विषयमा विशेष गरेर वायुमण्डल प्रदूषणका कारण पृथ्वी सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर विशेष चिन्ता र चासो हाम्रा सामु तेर्सिएको छ ।
पृथ्वी एउटा जीवन्त ग्रह हो । यसको पारिस्थितिक प्रणालीभित्र विभिन्न उपप्रणाली छन् । पृथ्वीको भूगोलमा यी प्रणालीलाई सञ्चालन गर्ने जलवायुका प्रमुख चार कटिबन्ध छन् । भूमध्यरेखाको उत्तर तथा दक्षिणतिर क्रमैले उष्ण, उपउष्ण, शीतोष्ण एवम् हिमाच्छादित ध्रुवीय कटिबन्ध रहेका छन् । पृथ्वीमा जलवायुको विविधता अक्षांशका आधारमा वर्गीकरण गरिन्छ । पर्वतीय परिवेशमा चाहिँ जलवायु विविधता उचाइअनुसार कायम हुन्छ । हिमालय क्षेत्रमा १००० मिटरभन्दा होचो भागमा उष्ण जलवायु त्यसभन्दा उच्च भूभागमा २००० मिटरसम्म उपउष्ण जलवायु, त्यसभन्दा उच्च क्षेत्रमा ३०००० मिटरसम्म शीतोष्ण कटिबन्ध, त्यसभन्दा माथिको शीतप्रधान कटिबन्ध उपलेकाली ४००० मिटरसम्म र त्यहाँबाट ५००० मिटरसम्म लेकाली हावापानी हुन्छ । ५००० मिटरभन्दा उच्च भागमा हिमाच्छादित क्षेत्र हुन्छ । त्यसैले हिमालयलाई तेस्रो ध्रुव पनि भनिन्छ ।
जलवायुका कटिबन्धभित्र विभिन्न प्रकारका पारिस्थितिक प्रणाली पहिचान गर्न सकिन्छ । पारिस्थितिक प्रणालीको पहिचानमा वन्य पारिस्थितिक प्रणाली, घाँसे मैदान अर्थात् तृणप्रधान पारिस्थितिक प्रणाली, सिमसार पारिस्थितिक प्रणाली एवम् कृषि पारिस्थितिक प्रणाली छुट्याउन सकिन्छ । लेकाली क्षेत्रमा बुट्यान पारिस्थितिक प्रणाली पनि पहिचान हुन्छ । वन पनि विभिन्न प्रकारका हुन्छन् । चितवन राष्ट्रिय निकुञ्जभित्रको वन्य पारिस्थितिक र अन्नपूर्ण संरक्षित क्षेत्रमा वन्य पारिस्थितिक बिलकुलै भिन्न हुन्छन् । चितवनको घाँसे मैदान र मुस्ताङको घाँसे मैदान एकै हुँदैन । रारा दहको सिमसार र बेगनास तालको सिमसार पनि बेग्लै प्रकृतिका हुन्छन् ।
नेपालको पर्यावरण र यसका पारिस्थितिक प्रणालीलाई सरलसँग बुझ्न र बुझाउन नेपाललाई बार्दलीसहितको एउटा पाँच तले घर कल्पना गर्न सकिन्छ । भुइँतलामा तराई, पहिलो तलामा चुरे मधेस तथा टारबेंसी, दोस्रो तलमा पहाडी प्रदेश, तेस्रो तलामा पर्वतीय (उपलेकाली) प्रदेश, चौथो तलामा उच्च पर्वतीय (लेकाली) भाग र त्यसको शिरमा हिमाच्छादित छानाका रूपमा हिमाली शिखरहरू अवस्थित रहेको कल्पना गर्न सकिन्छ । यस भवनको उत्तरी मोहडामा बार्दली झै निस्किएको भोट प्रदेश पर्न आउँछ । पर्वतीय धरातले गर्दा यस घरको पर्यावरणीय जटिलतालाई पर्वतीय पारिस्थितिक प्रणाली भन्ने चलन छ । पर्वतीय धरातले प्रदान गरेको प्राकृतिक विविधता र तिनका विलक्षण छटाहरूको आकर्षणका कारण विश्व समुदायबाट नेपाल आउने पर्यटकहरूको घुइँचो बढ्दो छ । पर्यावरण, प्राकृतिक सम्पदा तथा सांस्कृतिक विविधताको आकर्षणमा मौलाउने पर्यटनलाई विशेष प्रकारको व्यवस्थापन आवश्यक हुन्छ । त्यसलाई चलनचल्तीमा पर्यापर्यटन भन्ने गरिन्छ ।
पर्यापर्यटनको प्रमुख दायित्त्व पर्यावरणलाई शुद्ध राख्ने र तिनका बिथोल्ने कुनै क्रियाकलाप नगर्ने जिम्मेवारी वहन गर्नु हो । यस व्यवसायले प्रकृति संरक्षण कार्यलाई आर्थिक एवम् प्राविधिक स्रोत साधन जुटाएर सहयोग पुर्याउनुपर्छ । त्यसका अतिरिक्त स्थानीय जनसमुदायको जीविकामा आर्थिक टेवा पनि अनिवार्य रूपमा पुग्नै पर्ने हुन्छ । प्रकृति संरक्षण र पर्यटनबिच सामाजिक सद्भाव कायम भएन भने पर्यापर्यटन विफल हुन्छ, भत्किन्छ । पर्यापर्यटनका विशेषतालाई निम्नलिखित दृष्टिले हेर्नुपर्छ :
यो व्यवसाय प्रकृति र पर्यावरणको आकर्षणमा आधारित हुनु आवश्यक हुन्छ । त्यो सगरमाथा पनि हुन सक्छ वा सारस पनि हुन सक्छ ।
यस उद्योगको दिगोपनलाई पर्यावरणले सघाउनुपर्छ । जल, जमिन र स्वच्छ वातावरण कायम हुनुपर्छ ।
यसका क्रियाकलाप प्रकृति, प्राकृतिक सम्पदा र स्थानीय सांस्कृतिक निधि संरक्षण गर्ने हुनुपर्छ । संरक्षण शिक्षामा यसको योगदान कायम हुनुपर्छ । पर्यटक अनुपम अनुभव र नयाँ चेतना लिएर फर्कन पाउनुपर्छ ।
यस उद्योगले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउनुपर्छ ।
यस उद्योगबाट प्रकृति संरक्षण र संवर्धनलाई आर्थिक रूपमा सहयोग पुग्नुपर्छ । चितवन राष्ट्रिय निकुञ्ज होस् वा स्याङ्जाको सिरुबारी पर्यटनको आम्दानी नै संरक्षण कार्यमा खर्च हुने व्यवस्था मिल्नुपर्छ ।
यसका सम्पूर्ण क्रियाकलाप र व्यवस्थापनबाट पाहुनाहरू सन्तुष्ट र खुसी हुनुपर्छ । बर्दिया राष्ट्रिय निकुञ्जका बाघ देखेर अमेरिकी एक अभिनेताले नेपालका बाघ संरक्षणमा तीन लाख डलर सहयोग गरेको घटनाबाट प्रेरणा लिएर अरू दाता पनि उत्साहित हुने परिस्थिति बनाउनुपर्छ ।
यस उद्योगमार्फत अन्तर्राष्ट्रिय सद्भाव र भाइचारालाई सहयोग पुर्याएर नेपालको छवि उच्च बनाउन सफल हुनुपर्छ । विश्व बन्धुत्वमा नेपालको प्राकृतिक सम्पदाले पुर्याएको योगदानलाई अहिले हामीले लेखाजोखा गर्न सकेका छैनौं ।
वर्तमान तथ्याङ्कले प्रतिवर्ष लगभग ११ लाख विदेशी पर्यटक नेपाल भित्रिने गरेको देखाउँछ । नेपाल सरकारले त्यसलाई अझ वृद्धि गर्ने लक्ष्य राखेको छ । पर्यटक ती हुन्, जो नेपालको पुरातात्त्विक, प्राकृतिक र सांस्कृतिक पक्षको अवलोकन गर्न र मनोरञ्जन लिन आउँछन् । जे जस्तो लक्ष्य लिएर आए तापनि हामी अतिथिको स्वागत गर्छौं, हाम्रो वासस्थान अर्थात् हाम्रो घर नेपालमा । हाम्रो घर व्यवस्थापन अर्थात् हाम्रो पारिस्थितिक प्रणालीभित्र तिनको स्वागत हुन्छ । तिनको उपस्थितिले हाम्रो वातावरणलाई प्रतिकूल प्रभाव पर्न र पार्न दिनुहुँदैन । पर्यटन व्यवसायमा घरधनी र पाहुना दुवै सचेत हुनुपर्छ । पर्यावरणसम्मत क्रियाकलापका आधारमा सम्पन्न हुने पर्यटन व्यवसायलाई पर्यापर्यटनको दायराभित्र व्याख्या गर्न सकिन्छ ।
पर्यटकीय गतिविधि जल, स्थल र आकाशमा समेत सञ्चालन हुने गर्छन् । पर्वतारोहण, पदयात्रा, जङ्गल सफारी, वन्यजन्तु अवलोकन, भिर माहुरीको मह सङ्कलन जस्ता अद्वितीय परम्पराको दृश्यावलोकन, पर्वतीय बाइक यात्रा, घोडसवार, रक क्लाइम्बिङ, प्राकृतिक गुफा अन्वेषण र अवलोकन, हिउँचिप्लेटी, गल्फलगायतका अरू खेलकुद पनि स्थलगत क्रियाकलाप हुन् । ती सबै प्रकारका क्रियाकलाप सम्पन्न गर्न पर्यापर्यटनका विभिन्न आचारसंहिता पृथक् रूपमा निर्माण गरेर तिनको सम्मान गर्न र गराउन सक्नुपर्छ । त्यस्तै जलक्रीडा याफ्टिङ, कायाकिङ, क्यानोइड, बोटिङ, मत्स्य विहार आदिका सम्बन्धमा पनि पर्यापर्यटनका सिद्धान्त र आचारसंहिता पालना हुनुपर्छ । आजभोलि नेपालको आकाशमा पर्वतीय उडानहरू, ह्यान्ड ग्लाइडिङ, पाराग्लाइडिङ, अल्ट्रा लाइट एयर क्राफ्ट, हट एयर बेलुन, स्काइ डाइभिङ आदि विभिन्न पर्यटकीय क्रियाकलापसँगै बन्जी जम्पिङ जस्तो साहसी पर्यटन पनि लोकप्रिय बन्दै छ । पर्यावरणको दृष्टिले स्वच्छ वायु र स्वच्छ आकाश कायम गर्न पर्यटकीय क्रियाकलापलाई पर्यावरणमैत्री बनाउनै पर्ने हुन्छ ।
पर्यापर्यटनको बृहत् दायराभित्र ग्रामीण पर्यटन, सांस्कृतिक पर्यटन, तीर्थाटन, धार्मिक तथा आध्यात्मिक पर्यटनलगायत शैक्षिक भ्रमण एवम् अनुसन्धानमूलक पर्यटन पनि फस्टाउन थालेको छ । यी सबै क्रियाकलाप हाम्रो पारिस्थितिक प्रणालीभित्रै सम्पन्न हुने कुरा हुन् । हाम्रो पारिस्थितिक प्रणालीलाई स्वस्थ र दिगो बनाइराख्न पर्यावरणमैत्री नीति, नियम, कानुन र आचारसंहिताको पालना हुनुपर्छ ।
आफ्नो गाउँ र ठाउँका पर्यटकीय आकर्षण (प्राकृतिक एवम् सांस्कृतिक) का बारेमा हामी आफै सचेत हुनुपर्छ । स्थानीय गौरव र गाथाका प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरूको छायाबाट नयाँ पिँढीलाई रोजगारका अवसर मात्र हैन, स्वाभिमानसमेत हौस्याउने अवस्था सिर्जना हुन्छ । नयाँ पिँढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो, हाम्रो नेपालको ।
परिस्थितिका कारण निम्तिने प्रणाली
आकाशमा उडिरहेको चराले जस्तै कुनै कुरालाई हेर्ने काम
दुबो, पराल, खर आदि घाँसपात खाने
पृथ्वीका दुई ध्रुवका बिचका भूभागलाई हावापानी आदिका हिसाबले बाँडिने भाग
पर्यावरण, प्राकृतिक सम्पदा तथा सांस्कृतिक विविधताका कारण हुने पर्यटन
पानीमा गर्न सकिने विभिन्न खेल, मनोरञ्जन
वातावरण सुहाउँदो
पक्षमा नभएको प्रभाव
हिउँ नै हिउँले ढाकिएको छाना
