त्यो फेरि फर्कला ? कथा पाठ पढ्नुहोस् ।
पाठ ६ : त्यो फेरि फर्कला ?
क्रमशः अग्लो हुँदै गएको कष्टप्रद, कठोर, दुर्गम पहाडको क्षीण पथलाई आँखाले भेटेसम्म हेर्दा मान्छे पो हो कि भ्रम पार्ने एउटा धब्बा जस्तो केही पनि देखिएन ।
सूर्यले पश्चिमतर्फको पर्वतपछाडि आफ्नो मुख लुकाए तापनि तिनको लाली कालो पहाडका टुप्पाहरूमा फैलिन गएको थियो । खोला आफ्नो अविराम गीत गाएकागाएकै थिए । उनीहरूलाई जगत्को चिन्तामा केही रस, अनुरक्ति थिएन । धमिलोपना अन्धकारतिर डुब्दै गइरहेको थियो । मधेसबाट आउन लागेको एउटा यात्रीले, यौवनको सिँढीमा खुट्टा अडाई घरको द्वारमा उभिएकी सानीसँग सोध्यो, “यहाँ वास पाइन्छ ?”
“कुन्नि, आमासँग सोध्नुपर्छ ।”
“आमा ! तिम्री आमा कता छिन्, को हुन्, मैले त चिनेको छैन । कोसँग सोध्ने ?”
अनि “आमा … ए आमा …!” पुष्ट कण्ठबाट निस्केको यो मिठो र तीव्र स्वर पर्वतको कुना कुनामा पस्न गयो । तर कोही पनि आएन । एकै छिन प्रतीक्षा गरेपछि, “पर्खनोस् है म अहिल्यै आमालाई डाकी ल्याउने छु” भन्दै सानी एकातिर गई र अलि बेरमै एउटी बुढीसँग यात्रीको सम्मुख आइपुगी ।
“Лौ आमा यिनै हुन्, तपाईंका भरिया कता छन् ?”
“भरिया एउटै छ । त्यो पनि बुढो, हिँड्नै नसक्ने ? त्यसैले गर्दा त यहाँ बस्नुपयो । नत्र आज चित्लाङ पुग्ने विचार गरेको थिएँ । त्यहाँ चिनाजानी भएका पसले पनि छन् । वास पनि राम्रै ठाउँमा पाइन्थ्यो । तर … खोइ । यो त भट्टी पसल पो हो क्यारे ?”
“हो…।” स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षा मिश्रित स्वरमा उत्तर दिई ।
“भट्टी पसल भएर के हुन्छ ? चित्लाङमा पनि त त्यही हो नि । छेउको कोठा त सफै छ ।” सानीले तुरुन्त भनी ।
बुढीले सोधी, होइन … “केही खानपिन पनि गर्नुहोला कि ?”
“पिउन त होइन, खान मात्रै । भाँडाबर्तन सँगै छन् ।”
सानीले आफ्नी आमाको मुखनेरै मुख लाएर भनी, “किन आमा चामल, दाल, घिउ, दाउरा त किन्ने नै छन्, नुन, तेल, मसला, तरकारी…। पर कोठामा भान्छा र छेउको कोठामा सुते त भइहाल्यो नि ।”
“एकपल्ट कोठा हेरूं । सफा छ कि, सफा नभए त … ।”
“किन हुन्नथ्यो ! हेर्नुस्, कोठामा के छ र ? भर्खर लिपिराखेको कोठा, चाहिए एउटा सुकुल पनि ओछ्याइदिउँला । लौ, भरिया पनि आइपुग्यो । बस्नुहुन्छ कि ?”
“ए सानी, आइज” भन्दै बुढी माथि उक्ली । सानी द्वारमै उभेकी थिई । आइपुगेको भरियाले मुखबाट एउटा सुस्केरा हाली भारी बिसाउँदै भन्यो, “यति गहुँगो भारी, यस्तो उकालो, नौ सुका ज्याला, उसैमा भरिया नाइके पनि, बाटो खर्च पनि … इसोर ।”
चुपचाप उभिएकी सानीको अनुहारमा छचल्किरहेको जिज्ञासामा पनि आशा, विश्वास र सन्तोषको पनि आभा देखियो ।
कोठासोठा हेरिसकेपछि यात्रीले त्यहीँ वास बस्ने निश्चय गर्यो र सानी पनि अलि स्वस्थ झै भई । भरियाको सहायताले एउटा कोठामा सुकुल हाली भुइँमै आफ्नो ओछ्यान ओछ्याएर त्यसले अलि अलि निश्चिन्तताको सास फेर्न लागेको के थियो, भरियाले भन्यो, “लौ त अब जाऊँ हजुर … थाकिराखेको छु, केही खानपिन पनि गर्नुपर्ला, खाना खानलाई दुई चार आना दिनुपर्ने हो ।”
“ला … ” भनेर यात्रीले चार पैसा फ्याँकिदियो । एउटा सन्तोषको दृष्टि हाल्दै बुढो भरिया भुइँबाट पैसाहरू टिपी जान लागेकै थियो, फेरि त्यो सानीले सोधी, “भान्छालाई के के ल्याउनुपर्ला, भन्नोस् न ! रात पर्न आँट्यो तपाईंसित लालटिन त छँदै छ, मटितेल पनि चाहिन्छ कि ?”
यस प्रश्नको उत्तर नदिएर त्यसले जान लागेको भरियालाई भन्यो, “ए बुढा, डोकोबाट भाँडाहरू झिकेर खोलामा पखाली ल्याऊ ।” अनि सानीतिर फर्केर भन्यो, “पानी ल्याउन एउटा गाग्री त दिनुपर्ला, पानी पनि ल्याइहालोस् । अब यो पनि खानपिनमा लाग्ने छ ।”
“हुन्छ, म अहिल्यै माथिबाट ल्याइदिन्छु ।”
“तर गाग्री सफा छ ?”
“लौ । गाग्रीमा के लागेको छ र ? चित्त बुझ्दैन भने खोलामा माझेरै पानी ल्याउनु भनेपछि त भैहाल्यो नि !” बालिकाको अनुहारमा अलि सङ्कोच छर्लङ्ग हुन गएको थियो ।
भरियाले डोकाबाट भाँडा झिकिसकेको थियो । सानीले माथिबाट तुरुन्तै एउटा सानो पित्ले गाग्री ल्याइदिई । त्योसमेत लिएर भरिया खोलातिर गयो । त्यसपछि युवा यात्रीले सन्ध्याको धमिलो प्रकाशमा हेर्यो, “त्यो भट्टी पसल्नीकी छोरीको परिचय, बाह्य आवरण मैलो र दरिद्रताको विज्ञापन भए पनि त्यसको अनुहार नराम्रो थिएन । गालामा पार्वत्य वायु र परिश्रमको सुन्दर उपहार, स्वाभाविक लाली र यौवनको सिँढीमा उक्लिरहेको त्यसको बैस छ । आँखा गोल, उज्ज्वल र भित्रका नानी निकै काला र चञ्चल छन् । तिनीहरूमा अपार जिज्ञासा औ उत्सुकता क्रीडा गरिरहेका थिए ।
“तब … भान्साका निम्ति के के ल्याऊँ?” प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो ।
यात्रीले भन्यो, “असल पुरानो मसिनो चामल एक माना, एक चौथाइ दाल, दुई पैसाको यहाँ पाइने तरकारी र दुई आनाको घिउ, बस यति मात्रै भए पुग्छ ।”
कुरा सुनेर त्यो माथि उक्ली र अलि बेरैमै भने जति जम्मै थोक ल्याइदी । भरियाले पनि भाँडा र पानी पल्लो कोठामा राखी गइसकेको थियो । त्यस कोठामा लिपपोत गरेको चुलो र ठाउँ दुवै सफा थिए । चामल हेर्दै यात्रीले भन्यो, “खोइ, यो त राम्रो चामल भएन ।” तर यसभन्दा राम्रो चामल त यहाँ कतै पनि पाइन्न । भएदेखि त म आफै ल्याइहाल्ने थिएँ । तरकारी पनि आलुबाहेक अरू केही पाइँदै पाइन्न ।”
अलि हाँसेर यात्रीले भन्यो, “ए, त्यसो हो भने के लाग्छ, पाए जत्तिकैमा सन्तोष गर्नुपर्ला ।”
“अब म जाऊँ त ?” सानीले सोधी ।
“हुन्छ , भन्दा भन्दै युवकलाई कुन्नि किन फेरि एकपल्ट त्यस सानीको अनुहारमा दृष्टि फेर्ने आवश्यकताको अनुभव भयो । दुवैका आँखा जुधे । बालिका लज्जावन्त भएर माथि उक्लन लागी । तुरून्तै फर्केर त्यसले अलि साहसको स्वरमा स्वाभाविकता ल्याएर सोधी, “तरकारी पकाउनलाई भुटुन र दाउरा चाहिन्यै छ । नुन, मसला र लालटिनमा मटितेल पनि ल्याउनुपर्छ कि ?”
“ए … … । यो त बिर्सेकै रहेछु । तरकारी त घिउमै भुटिहालुँला, मसला चाहिन्न । एक पैसाको अलिकति बेसार र नुन दुवै ल्याऊ अनि तिम्रो के रे, चार पैसाको दाउरा, लालटिनमा चाहिँ छ पैसाको तेल भए पुग्छ ।”
एकै छिनपछि सबै थोक ल्याई सानी माथि उक्ली । आफ्नी आमासँगै केही खानपिन गरेर पन्ध्रबिस मिनेटभित्रै आफ्नो सुत्नेकोठामा पसी भित्रबाट ढोका थुनिहाली ।
अहिले साँझको साढे सात मात्रै बजेको थियो तैपनि निकै अँध्यारो भएको थियो । सघन र विशाल पर्वतहरूको अङ्गमा भएका ती पुतली जस्ता दुईचारओटा घर यस्तरी स्तब्ध उभिरहेका थिए मानौं शरीरभित्रबाट प्राणै निस्किसकेको छ । खोलाको शृङ्खलाबद्ध गर्जन एकनाससित ध्वनित भइरहेको थियो तैपनि त्यस शून्यपनाको भयानकता बढिरहेकै थियो । ओछ्यानमा पल्टेकी कुन्नि के के सोचिरहेकी सानीले हठात् यात्रीको कोठाबाट आइरहेको खटपट ध्वनि सुनी । त्यो त्यही कुरा सोच्नमा मग्न भई, “अहिलेसम्म त्यसले खानपिन गरिसकेको रहेनछ क्यारे । भात पकाउन जान्दो हो कि होइन, पकाइसकेको तिहुन तरकारी चुल्होबाट उतार्दा खसाल्यो पो होला कि ! लोग्ने मान्छे भात पकाउन कहाँ जान्दो हो र त्यो त सधैं मधेसैमा बसिरहेको मान्छे हो । त्यहाँ कसले भात पकाई खुवाउँदो हो नि । अथवा कोही भान्से राखेको होला । कैले हुन्थ्यो मधेसमा खर्च निकै पो लाग्दछ, यसो हेर्दाखेरि यो कुनै साहुमहाजन जस्तो पनि छैन । त्यसो भए यतातिर धमाधम आउनेहरूको जस्तो ठुला ठुला टिनका भरिभराउ भएका गहुङ्गा बाकसहरू हुनुपर्थ्यो, छालाका तीनचारओटा साना ठुला ब्याग, भाँच्ने खाट, नोकर, धेरै जना भरिया, आफू तामदान वा कार्पेटमा बसेर आउनुपर्ने, खोइ त्यो त केही पनि छैन । यो त मधेसमा कतै जागिरे पो होला जस्तो छ । आफैं नोकरी गर्नेले भान्से कहाँ राख्न सक्छ र !”
विचारधारा अर्कैतिर बग्यो, “त्यसो भए त्यसकी स्वास्नी होली । अनि मुटुमा प्याट्ट एउटा थपडी जस्तो लाग्यो । च्याप्प गरे झै त्यो आफ्नो अन्तरैमा निस्तब्ध भई । बाहिर त्यही अविराम स्वरले गर्जिरहेको थियो खोलाको हर्रर ध्वनि । जम्मा भइरहेका विचार अलि विशृङ्खल जस्ता भए । त्यसले एउटा लामो सास फेरी तर त्यो अवस्था एकछिन पख्तानपख्ता लोभ्याइराखेका ती मधुर कल्पनाले फेरि छोप्न थाले । सास पर्यन्त अलि थामेर त्यसले सुत्ने प्रयत्न गरी, “यात्री भातसात खाई सुत्यो कि ?” तलबाट केही आवाज सुनिएन । “त्यसो भए त्यो सुत्यो ।” तर फेरि त्यही खटपट । “मुसाहरू होलान्, होइनन्, त्यही हो बिचरा अझ … ” तर अघि नै तर्सिसकेका ती मूक सहानुभूतिहरूलाई विचारहरूले समात्न साहस गरेनन् । एकै छिनपछि ओछ्यानबाट जुरुक्क उठेर सलाई कोरी र सिरानतिरको खोपामा राखेको टुकी बाली । धुम्रयुक्त क्षीण प्रकाशले अन्धकारमा छाम्न थाल्यो । टुकी लिएर बिस्तारै त्यो तल ओर्ली । त्यसको छाती हान्न लागेको थियो, “बुढी सुतिरहेकी छ कि ?” एउटा अव्यक्त र क्षीण डरले अन्तरको धेरै टाढाबाट चियाउने जस्तो प्रयत्न पनि गर्यो । त्यो तल पुगी । “तर … किन ओर्लेकी हुँली । केही काम छैन ।” यात्रीको कोठामा लालटिनको नीरव र मन्द प्रकाश थियो । त्यसतर्फ यसो झट्ट एकपल्ट हेरी, आँखा फर्के । त्यो आफ्नो सेतो ओछ्यानमा सुतिरहेको थियो, निश्चिन्त, निरुद्विग्न, निर्विकार ।
प्राणपर्यन्तलाई तीव्रताका साथ तानिलिने एउटा भयानक लोभ त्यसको भित्र मुटुको हनाइको साथै हान्न लाग्यो र कुनै अव्यक्त उल्लास, साहस, डर र पीडाको भन्न नसकिने मिश्रण त्यसको नसा नसामा दगुर्न थाल्यो, प्रवाहित भयो । त्यही हलचल, त्यही प्रवाह लिएर त्यो माथि पुगी । आफ्नो मैलो ओछ्यानमा लडी ।
यात्री चाहिने बिहानै उठेर गइहाल्यो । सानीको आँखामा आइसकेका र छचल्किरहेका मूक मोह र कुन्नि कस्ता अव्यक्त आकाङ्क्षा त्यसलाई निकै टाढासम्म पहाडको टुप्पामा पुर्याई फर्के । कुन्नि केले हो, त्यसको मन भारी हुँदै आयो । हृदयमा आर्द्र भावनाहरूमा गहुङ्गो प्रवाह बग्न थाल्यो र त्यसको भित्र मनमा लगातार एउटा प्रश्न उम्लन थाल्यो, “त्यो फेरि फर्कला ?”
तर सानीको त्यस प्रश्नको समाधान भएन । त्यो यात्री फर्केन । केही दिनपछि सानीको विवाह पनि भयो । त्यो आफ्नो घरमा गई । घर गृहस्थीको कर्तव्य र लोग्नेको प्रेम, माया, ममता इत्यादि पनि साधारण नियम जस्तै समातिन थाले । उनीहरूका कार्यमा सानीबाट केही अस्वाभाविकता पनि परेन । सानीको गाउँले संस्कृति भएको सुदूर अन्तरको एउटा मनले भगवान्को वरदान जस्तो समातेको त्यो प्रश्न, “त्यो फेरि फर्कला ?” ले दिनमा दुईचार पटक अवश्यै चियाउने प्रयत्न गरिहाल्थ्यो । लोग्नेको घरमा रहेका बखत कहिलेकाहीं एउटा शङ्काले भयानक अन्तर सङ्ग्राम मच्चाइदिन्थ्यो, “म यहाँ छु, यात्री फर्केर गइहालेको भए …?” तर यस प्रश्नको विश्लेषण गर्ने साहस त्यस बखतसम्म त्यसमा रहने जान्नथ्यो । कस्तो गहुङ्गो, कस्तो भयानक, कस्तो पीडाप्रद शङ्का हो । बरु यात्री कहिल्यै पनि नफर्कोस्, त्यसको पथ हेर्दा हेर्दै यस जीवनको पनि अन्त भइजाओस् तर सानीलाई नभेटी त्यो त्यसै गइहाल्ला भन्ने विधिविधानको स्वागत गर्ने शक्ति त्यसमा थिएन । त्यो तृष्णा, त्यो अनन्तकालीन प्रतीक्षा, त्यो दिनहुँको अभ्यस्त निराशाको धक्का त्यसको सासमा मिसिइसकेको थियो । त्यही त्यसको जीवन थियो, त्यही त्यसको जीवनक्रम । त्यसैलाई समातेर त्यो आफ्नो जीवन गृहस्थीको गृहिणी थिई, आफ्नी सासूकी बुहारी र पोइकी जोई । कदाचित् कुनै हठात् अभिशापले त्यहीं छिन्नभिन्न गरिदिएको अवस्थामा पनि त्यो सानी चाहिने गृहिणी, बुहारी र लोग्नेकी स्वास्नी भइरहन सक्ली ? कुन हृदयबाट यस्तो आशा गर्ने ?
यति भए पनि सानीबाट लोग्नेका प्रति पत्नीत्वमा केही बाधा व्याघात परेको थिएन । त्यस पत्नीत्वमा कुनै छल थियो, कतैबाट त्यसमा छिद्र थियो, यो कुरा भन्नेलाई भयानक श्राप दिने शक्ति पनि त्यस सानीमा अवश्य थियो । नारीको विशाल हृदयमा बालकप्रति, आमाबुबा प्रति, माइतका साथीभाइको प्रति, पतिगृहमा सासू, ससुरा, जेठाजु, देवर, भतिजा आदि सबैको प्रति ममता रहन सक्छ भने सानीको हृदयमा त्यस यात्री प्रति पनि कुनै प्रतिध्वनि थियो । नारी चाहिँ पतिकी स्वास्नी हो । यो कुरा प्रदीप्त सूर्य जस्तै सत्य छ तर पत्नीत्वको हदसम्म मात्रै । किन्तु नारी एक मात्र पत्नी नै त होइन । त्यो पत्नीभन्दा बाहेक पनि केही हो, बहिनी हो, बुहारी हो, दिदी हो, भाउजू हो, आमा हो र यी सबैभन्दा पर नारी मूर्तिमयी ममता हो । समस्त जगत्मा नारीकै महान् ममता छरिन नगएको भए यो विशाल विश्व शुष्क रुख वा निर्जीव काठ मात्र रहन जान्थ्यो ।
जाने बखतमा यात्रीले पन्ध्र दिनमा फेरि फर्कनुपर्ला भन्ने कुरा गरेको थियो । त्यस पन्ध्र दिनको प्रतीक्षा सानीलाई अझसम्म पनि याद छ । छसात दिन एउटा भयानक उदासीनता, महान् शून्यतामा समाप्त भएको थियो । आठौं दिनदेखि आजैका दिनमा त्यो फेरि फर्केला भन्ने आशाले अलि अलि चियाउने प्रयत्न गर्यो । सानीलाई सम्झना छ, त्यस दिन गाईलाई ख्वाउने घाँस काट्न जाँदा कुन्नि कुन भावना, कुन आशा, कुन उत्साहले त्यो पहाडको टुप्पासम्म पुगिछ । घाँसको भारी भुईंमा राखी एउटा ढुङ्गामा बसी आफ्नो अन्तरको सुखद कल्पनामा मग्न भइछ । आँखा एकाग्र भएर नेपालबाट आउने बाटो हेरिरहेका थिए । त्यतातिरबाट आउनेहरूलाई देख्दा त्यसको भित्री कल्पना एउटा उत्साह भरिन जान्थ्यो, अत्यन्त सुखद र प्राणप्रद “त्यस्तै आजैका दिन त्यो पनि संसारैको प्रसन्नता आफ्ना अङ्ग प्रत्यङ्गममा सञ्चित गरी आउला, आफ्नो पूर्वपरिचयको प्रसन्नता अलि अलि हाँसोमा छरिदेला र फेरि एक दिन त्यहीं वास बस्ला । तर वास नबसेदेखि त … ? छि यस्तो दुष्कल्पना । त्यसलाई कति पनि असुविधा र दुःख म कहाँ परेको थिएन । मैले जम्मै काम गरिदिएकी थिएँ । राम्ररी पकाई खाई सुतेको थियो । किन नबस्नु !” यस्तै प्रकारले नित्य नयाँ नयाँ कल्पना त्यसको आशालाई प्रदीप्त तुल्याउँदै दिनलाई बिताउँदै गए । अन्ततः त्यो चिर अभीप्सित पन्ध्रौं दिन पनि आयो । सानीलाई सम्झना छ, त्यस दिन बिहान हुनुभन्दा तीन घण्टा अगाडि राति नै त्यसको निद्रा खुलिहाल्थ्यो । ढोका खोलेर एकपल्ट बाहिरतिर हेर्दा रात धेरै बाँकी थियो । जून टहटह लागिरहेका र आकाश स्वच्छ थियो । खोलाको “हर्रर” ध्वनि उत्फुल्लताको स्वागत गान जस्तै लाग्न थाल्यो । भगवान्को वास गर्ने आकाश आफ्नो निर्मल जूनमा हाँसिरहेको जस्तो प्रतीत भयो । दुईतीन घण्टामै प्रदीप्त सूर्य निस्कने छन्, पहाडका टुप्पामा तिनका सुनौला किरणहरू फैलिन जान्छन् । यही दिन त्यसको आउने शुभोत्सव हुन्छ । “त्यो आउला, भोलि नै त्यो आउला, बिहान हुनेबित्तिकै त्यो हिँड्छ र सुखको भण्डार भएर सानीलाई भेट्टाउला ।” धेरैबेरसम्म त्यो त्यसै विचारमा मग्न, सुखकल्पना विभोर भएर बसिरही अनि एउटा आत्तिए जस्तो लामो सास फेरी आफ्नो कोठामा गएर ओछ्यानमा ओल्टेकोल्टे गर्न थाली । त्यसपछि बिहान पनि भयो, सूर्य पनि उदायो, सानीले उद्विग्न प्रतीक्षा पनि गरी, साँझ भयो, रात पनि पर्यो तर … तर … पन्ध्र दिनको अत्यन्त उद्विग्न प्रतीक्षाको परिणामस्वरूप सानीले पाई, “त्यो आएन ।” आँखामा आँसु, हृदयमा वेदना, प्राणमा अन्धकार, कण्ठमा भक्कानु र रोम रोमपर्यन्तमा आर्द्र रुदन भरेर त्यस यात्रीको सट्टामा सानीले यही चार अक्षरको स्वागत गरी आफ्नो मुटुमा बसाली, “त्यो आएन !”
कठैबरी, नारीको निर्बल हृदय तैमा उत्सर्गको परिमाण कति छ ? उत्सर्ग गर्नलाई तैले कति रस, कति माया, कति बन्धन र कुन्नि के के सञ्चित गरिराखेकी छेस् ?
त्यस्ता कैयौं पन्ध्र दिन बिते । जीवनमा र जीवनक्रममा आद्यन्त झै भिन्नता आइलाग्यो फेरि “त्यो आएन” को साथै “त्यो फेरि फर्कला कि ?” भन्ने पनि सम्बद्ध भई अभ्यन्तर यात्रा गर्न थाल्यो । यस यात्राको विराम कहाँ छ, लक्ष्य कहाँ छ र अन्त कहाँ छ, जीवनको शेषमा कि त्यसभन्दा पनि पारि, कुन्नि ?
क्रमशः अग्लो हुँदै गएको कष्टप्रद, कठोर, दुर्गम पहाडको क्षीण पथलाई आँखाले भेटेसम्म हेर्दा मान्छे पो हो कि भन्ने भ्रम पार्ने एउटा धब्बा जस्तो पनि केही देखिएन ।
हुँदाहुँदा युगैको परिवर्तन भयो । सानीकी आमा पनि अनन्तसँग भेट्न गइहाली जहाँ गएर कोही पनि फर्कन्न । सानीले आफ्नो माइतकै घरमा त्यही पुरानो व्यवसाय थामी बसी । त्यो लोग्नेकै घरमा भएका बखत “यात्री गइहालेछ कि ?” भन्ने सानीको साह्रै सम्भावनीय शङ्काको टुङ्गो लाग्यो । त्यसपछि नेपालबाट लाखौं यात्री त्यही मार्बुको बाटो भई तल मधेसतिर ओर्ले तर “त्यो यात्री” कहिल्यै त फर्कला । त्यसको निराश आशालाई डोर्याउने एउटा क्षीण, मसिनो धागाको छेउ प्राप्त हुन गयो र त्यसलाई त्यसले लम्याउँदै गई तर…! कति सुकुमार, कस्तो सुन्दर, कस्तो लोभ्याउने र कति लामो हुन्छ यो निराश आशाको मसिनो धागो त्यस धागाको बदला कसैले त्यसको जीवन, यौवन दुवैको धागो चाँडचाँडै तान्दै तान्दै गइरहेको थियो, तर सानीलाई यसको पत्ता थियो ? त्यो तो आफ्नो अतीतको मनोरम स्मृति केवल एक दिन मात्रको क्षणिक स्वप्नमा व्याप्त थिई । त्यो स्वप्निल सुकुमारता, त्यो मधुरिमा, प्रथम यौवनको पहिलो उपहारमा कृतज्ञता स्वरूप त्यसले गरेको उत्सर्गको सार्थकता कहिले फेरि पनि आउला !” यही विधिलाई नित्य निरन्तर नयाँ तुल्याउँदै तह लाइराख्नमा नै त्यो व्यस्त थिई । त्यसलाई जीवनसूत्र तानेको थाहै कसरी हुन्थ्यो र … ? प्रेम जीवनको बाटो हो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य; त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।
एक दिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्यमनस्क भई उभिरहेकी थिई । यस्तै उभिरहेको अवस्थामा, यस्तै शान्त क्लान्त सन्ध्याको धमिलोपनामा, अनुरागको प्रतीक झै आएको थियो “त्यो यात्री ।” तर आजै मात्र होइन कि जीवनका अनेकौं भग्न आकाङ्क्षा, सुस्याइरहेको आशा, मुटुको उदासीन पीडा लिई त्यसले कति कति पल्ट त्यसै द्वारमा उभिई आशाहीन व्यर्थ प्रतीक्षा गरी तर त्यो नआएको नआएकै भयो । यस्ता जम्मै मिथ्या स्वागतको उत्तरमा त्यसले पाएकी थिई, प्राणको तलबाट उम्लने एउटा नीरव आद्रता र गहभरि आँसु ।
आज पनि त्यो त्यसै उभिरही यात्रीको होइन कि त्यसको चिर परिचित त्यही आर्द्रता, त्यही आर्त, मूक रुदन र त्यही आँसुको प्रतीक्षा गरिरहेकी थिई र एउटा यौवनपारि पुगिसकेको मानवदेहले त्यसको सामुन्ने आइपुगी सोध्यो, “यहाँ वास पाइन्छ ?”
हृदयमा बगिरहेको रक्त थामिन गए जस्तो हुन लाग्यो । एउटा बज्रप्रहार वा अतीतको मुड्की हानिन गयो “धक्क” । आउनेको मुख हेरेको हेरकै भइछ “त्यो सानी ।”
“यहाँ वास पाइन्छ कि पाइँदैन ?” फेरि प्रश्न भयो । सानीको मुख एकपल्ट झन् प्रदीप्त भएर तत्क्षणै कालो निर्जीव झै भइहाल्यो । त्यसले अन्तरिक्षतिर हेर्दै अत्यन्त कष्टसाथ भनी, “पाइन्छ, भरिया कता छन् ?”
“आउन लागेका छन् ।” यात्रीले एउटा ढुङ्गामा बसेर भन्यो, “धेरै दिन भइसक्यो मधेसबाट नेपाल गएको, फर्कनै सकिनँ । आज बल्ल फर्कन लागेको छु, देख्छु बाटो, पहाड जम्मै नयाँ जस्ता भइसकेका रहेछन् । नेपाल जान लागेको बखत पनि यसै घरमा वास बसेको थिएँ, आज पनि त्यो घर भएदेखि यसैमा बसुँला भन्ने विचार गरी घरबाट हिँडेको, बल्ल आइपुगें । खोइ त्यो बुढी ? सानी चाहिने त तिमी नै हौ कि ……?”
बज्रादपि कठोर प्रलय गर्जनभन्दा पनि तीव्र कोलाहलमय त्यस आउनेको उपर्युक्त कुरा सानीको अन्तरमा उत्रिन गयो । त्यो त्रस्त भइहाली । यतिका दिनको दीर्घ प्रतीक्षा, यस्तो रौं रौलाई कल्पाइ राख्ने नैराश्यको रुदनको अन्तरलाई यस्तरी सजिलोपनामा स्वागत गर्न त्यो तयार थिइन ।
उफ् मानव ! सानीको यस्तो जीवनव्यापी समस्त आकाङ्क्षा, आशा, पीडा, रुदन, नैराश्य, तृष्णा, कल्पता, सुख, दुःख र समस्त आह्वानको प्रतीक जम्मै तिमी नै हौ, यो तिमीलाई थाहापर्यन्त पनि छैन । तिम्रो यो सजिलो प्रश्नमा, तिम्रो यो अप्रत्याशित आगमनमा, यो जीवनव्यापी कथा समष्टिमा एउटा नारी हृदयको के के कति कति चूर्ण विचूर्ण भइसकेको छ, तिमी किन, कसरी अनुमान गर्न सक्तछौ !
सुदूर क्षितिजबाट आएको ध्वनि झै सानीको मुखबाट निस्क्यो, “हो, सानी मै हुँ ।”
“हो, मैले चिनिसकेकै थिएँ । तर तिमी … तिमी त बुढी भइसकिछौ !” आउनेले मुसुमुसु हाँस्दै भन्यो ।
बल्ल सानीका आँखा उघे । त्यसलाई आफ्नो अङ्गप्रत्यङ्ग कसो खुम्चिन लागेको छाला देखेर बितेको दीर्घ समयको सम्झना भयो । झन् प्रत्यक्षमा त्यसले देखी, यात्राको तीन चौथाइ पूरा भएपछि त्यसले पाइछ, आशा समाप्तिको साथसाथै जीवनसन्ध्या पनि आइपुगेको रहेछ । दुनियाँ अर्कै भएको रहेछ, यस वर्तमानसँग त्यस सानीमा कुनै प्रकारको सामञ्जस्य रहेनछ । आशाले अझसम्म बुद्धिलाई धोखा दिइरहेको थियो, सानी शिथिल, क्लान्त झै हुन गई । उभिइरहनमा शरीर साह्रै नै गलेको जस्तो भान हुन लाग्यो र त्यसै द्वारमा थचक्क बसी ।
बिहान हुनेबित्तिकै त्यहीँ अतीतकै जस्तो यात्री फेरि हिँडिहाल्यो । त्यसै दिनदेखि त्यसको जीवनको उद्देश्यै हरायो । त्यसले अझसम्म आफ्नो अन्तरमा समाती, आफ्नो आशामा झुन्ड्याइराखेका त्यसका उमङ्ग, उत्साह र यौवनपर्यन्तलाई यात्रीको त्यही एउटै वाक्यले खाइदियो, “तर तिमी त बुढी भइसकिछौ !” त्यसपछि त्यो नारी, त्यो जीवनपर्यन्तको मूक आशा, त्यो आफैंमा निहित भइरहने गहुङ्गो वेदना, त्यो सानी आफ्नो दीर्घ प्रतीक्षामा आफैंमा समाप्त भइहाली । त्यति मात्रै होइन, आह ! प्राणभन्दा पनि बढ्ता माया गरी तह लाइराखेको त्यसको जीवनव्यापी परिचित, प्रिय त्यो प्रश्न पनि एउटा भयानक विषद्को अन्धकारमा विलुप्त हुन गयो, “त्यो फेरि फर्कला ?”
