अभ्यास
अभ्यास
शब्दभण्डार
१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् :
शब्द अर्थ
रुजु कुनै कुरा ठिक छ कि छैन भनी जाँच्ने काम
कविराज आयुर्वेदिक उपचार गर्ने चिकित्सकको एक उपाधि
पेस्की काम पूरा हुनु पहिले दिइने रकम
तल्सिङ मोहीलाई जग्गा कमाउन दिने व्यक्ति, जग्गाधनी
समवेदना उस्तै दुखको अनुभव
निर्दयी – दया नभएको
अकर्मण्य केही पनि काम नगर्ने, निस्क्रिय
मुराद भित्री आशय
सान्त्वना आश्वासन, ढाडस
हथुङ्गा हातको नाडीदेखि औँलाका टुप्पासम्मको भाग
दागबत्ती शवका मुखमा राख्ने बत्ती
कृतज्ञता अरुले गरेको गुनप्रति धन्यवाद दिने भाव
२. पाठमा प्रयोग भएका दिइएका शब्दको अर्थ पहिचान गरी लेख्नुहोस् :
शब्द अर्थ
गुभाजु नेवार समुदायको तान्त्रिक व्यक्ति, एक तान्त्रिक बौद्ध आचार्य, बज्राचार्य
उघाड आडम्बरीपन हटाउनु, प्रतिकार गरी अमान्य सिद्ध गर्नु, निर्मूल पार्नु
फोने मगनीबिना आफैं दिन खोज्नु
माचाछी लोग्नेस्वास्नी र बालबच्चा भएको एकल परिवार, आमा र बालबच्चा
नङके कहिल्यै नपाएको वा अनुभव नभएको कुरा प्राप्त हुनु
बिचाः मर्दा नाता, सम्बन्धीले किरियापुत्रीलाई सिधा दिने प्रथा, श्रद्धाञ्जली
डल्लेठो डल्ला फोर्ने काठको साधन
खर्पन नेवार समुदायमा प्रचलित मालसामान बोक्ने साधन
क्वेना नदीको किनार, खोंच वा कुना
३. दिइएका शब्दको उस्तै अर्थ दिने शब्द पहिचान गरी लेख्नुहोस् :
दीक्षा, सितिमिति, उपचार, पेटपालो, मृत्यु, मन्त्रोपदेश, बोली, वाणी, इलाज, गुजारा, निधन, मौन, तत्काल, चुप, तत्क्षण, शक्ति, फजिती, मुस्किल, हत्तपत्त, सावगास | उत्तर :
शब्द अर्थ
दीक्षा मन्त्रोपदेश
सितिमिति हत्तपत्त
उपचार – इलाज
पेटपालो गुजारा
निधन मृत्यु
बोली वाणी
मौन चुप
तत्काल तत्क्षण
शक्ति सावगास
फजिती मुस्किल
५. दिइएका शब्दको श्रुतिसमभिन्नार्थक शब्द लेख्नुहोस् :
उदाहरण : कृति – कीर्ति
दिन, दिशा, शव, बाँस, व्यसन, प्रदान, कोस, जाति, फेरि, खालि, पाश, गर्भ, विष, आदि, पाइन्, ताप, देखि, सिता
श्रुतिसमभिन्नार्थक शब्द :
दिन (दिउँसो) – दीन (गरिब)
खालि (मात्र, केबल) – खाली (रित्तो)
दिशा (पूर्व, पश्चिम..) – दिसा (विष्ठा)
पाश (पासो, जाल) – पास निकट, सफलता)
शव (लास) – सब (सबै)
गर्भ (पेट) – गर्व (घमण्ड)
बाँस (रूखविशेष) – बास (बस्ने ठाउँ)
विष (बिख) – बिस (२० सङ्ख्या )
व्यसन (कुनै कुराको लत)- बेसन (चनाको पिठो)
आदि (प्रारम्भ) – आधी (आधा)
प्रदान (दिनु) – प्रधान (प्रमुख)
पाइन् (पाउने काम) – पाइन (सामर्थ्य, तुजुक)
कोस (दुई माइलको दुरी) – कोश (सङ्ग्रह)
ताप (उष्णता, पिर) – टाप (घोडाको खुर)
जाति (जात विशेष) – जाती (असल)
देखि (बाट) – देखी (देख्नु)
फेरि (अर्को पटक) – फेरी (पहिरिने काम)
सिता (भातको सिता) – सीता (आदर्श नारी)
६. दिइएका शब्दको समूहवाचक शब्द लेख्नुहोस् :
उदाहरण : उखु – कुयेर, केरा – घारी कमिला, गाईवस्तु, मौरी, बारूला, बाँस, दाउरा, डोरी, मानिस, मकै, भेडा, पराल, पर्वत, सिपाही, मित्र, धुवाँ
समूहवाचक शब्द :
कमिला – ताँती
गाईवस्तु – बथान
मौरी – गोलो
बारूला – गोलो
बाँस – घारी
दाउरा – हार, खलियो
डोरी – माला
मानिस – भिड, जमात
मकै – सुली, झुत्तो
भेडा – बथान
पराल – टौवा
पर्वत – शृङ्खला, माला
सिपाही – फौज, पल्टन,
मित्र – गण, वर्ग
धुवाँ – मुस्लो
७. शिक्षकसँग सोधेर दिइएका प्रतीकात्मक शब्दको अर्थ लेख्नुहोस् :
उदाहरण : अगस्ती – खन्चुवा,
पानी- तागत/बल
छेपारो, कुवेर, रामराज्य, दुर्वासा, दधिची, सुदामा, भीष्म, बाँदर, साँढे, जुको, सावित्री, गङ्गा, स्याल, ब्वाँसो, आकाश, एकलव्य, मौरी, लक्ष्मण रेखा, महाभारत, कर्ण, भेडो, कुम्भकर्ण, भगीरथ प्रयत्न, विदुर, युधिष्ठिर, शकुनि, नारद
प्रतीकात्मक शब्दको अर्थ :
छेपारो – रङ बदल्ने
कुवेर – धनी
रामराज्य – असल शासक भएको राज्य
दुर्वासा – रिसाहा
दधिची – त्यागी
सुदामा – निर्धन, गरिब
भीष्म – भयानक, भयङ्कर
बाँदर – न आफ्नो घर बनाउने न
अरूको घर बन्न दिने
साँढे – मिचाहा
जुको – परजीवी
सावित्री – पतिब्रता, सति
गङ्गा – पवित्रता
स्याल – चतुर
ब्वाँसो – धूर्त,
आकाश – विशाल, शून्य
एकलव्य – लगनशील
मौरी – परिश्रमी
लक्ष्मण रेखा – सीमा अथवा मर्यादा
महाभारत – झगडा, युद्ध, लडाइँ
कर्ण – दानी
भेडो – एकोहोरो, मूर्ख
कुम्भकर्ण – सुताहा
भगीरथ प्रयत्न – कठिन प्रयास
विदुर – नीतिज्ञ, विवेकी
युधिष्ठिर – धर्मात्मा
शकुनि – कपटी
नारद – कुरौटे
८. कक्षामा छलफल गरी दिइएका सिङ्गो शब्दको अर्थ लेख्नुहोस् :
उदाहरण : बेठी – रोपाइँमा बजाइने बाजा, थकाली – समाजको जेठोबाठो व्यक्ति शाकाहारी, मांसाहारी, पुङमाङ, गृहस्थी, अल्लारे, पेवा, दशक, शताब्दी, सहस्राब्दी, शाश्वत, वात्सल्य, न्वाँगी, नाबालक, लैनो, बर्नो, सत्पात्र, आद्योपान्त, क्षितिज, उपवास, सर्वभक्षी, ढडिया, अभेद्य, कटुभाषी, अल्पभाषी, मृदुभाषी, बहुभाषी, बहुरुपी, अघोरी, कायममुकायम, कार्यवाहक, पर्म, अवर्णनीय, अन्यक्त, थाती, कलस्यौली, अलौकिक
उत्तर :
शाकाहारी – सागपात, फलफूल, दुधदही आदि सात्त्विक भोजन मात्र गर्ने
मांसाहारी – मासु खाने, मासु खाएर जीवननिर्वाह गर्ने,
पुङमाङ – मुख र पिँध खुला भएको दुङ्ग्रोजस्तो भाँडो, दुवैपट्टि खुला भएको दुङ्ग्रो गृहस्थी – घरबार गरेर बस्ने व्यक्ति, गृहस्थाश्रममा रहेको व्यक्ति
अल्लारे – बेकाममा यताउति हिँडिरहने, आलोकाँचो अवस्थाको
पेवा – लोग्नेको घर, माइती वा मावली आदिले लिखत गरी दिएको धन अथवा दाइजो दशक – दश दश वर्षको समूह
शताब्दी – सय वर्षको समय वा अवधि, शतक
सहस्राब्दी – कुनै संवत्को एकदेखि हजार वर्षसम्मको अवधि वा दश शताब्दीको समूह
शाश्वत – कहिल्यै पनि नाश नहुने, नित्य, चिरस्थायी
वात्सल्य – बाबुआमाको सन्तानका प्रति हुने स्नेह वा ममता
न्वाँगी – हरेक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामल र दहीकेरा एकै ठाउँमा मिलाएर बनाइएको देवतालाई चढाएपछि खाइने वस्तु वा दहीचामल
नाबालक – ऐनमा बालिग हुन निर्धारित उमेर नपुगेको व्यक्ति, बाल्यावस्था पार नगरेको, बालक
लैनो – भर्खर बियाएको गाईबस्तु, भर्खर जन्मेको, नवजात, दुधे (पाडो, बाछो, पाठो आदि) ।
बकेर्नो – दुध थाक्ने बेला भएको दुहुनो गाईभैंसी अथवा त्यसैको बाछो वा पाडो
सत्पात्र – कुनै वस्तु अर्पन वा विश्वास गर्न योग्य पात्र, असल व्यक्ति, सज्जन
आद्योपान्त – सुरुदेखि अन्त्यसम्म, आदिदेखि आखिरीसम्म
क्षितिज – चारैतिर पृथ्वी र आकाश जोरिएजस्तो देखिने स्थान वा गोलो परिधि
उपवास – दिनभर वा अहोरात्र भोजन नगर्ने काम, केही पनि नखाई व्रत बस्ने काम, निराहार
सर्वभक्षी – भोज्य र अभोज्य विचार नगरीकन सबै कुरा खाने
ढडिया – नदीनालामा माछा समात्न वा थाप्न प्रयोग गरिने बाँसका कप्टेराको सोलीजस्तो पासो वा खोर
अभेद्य – छेड्न नहुने वा प्वाल पार्न नसकिने, भाँच्न नहुने वा नसकिने
कटुभाषी – कठोर वचन बोल्ने, रूखो वचन बोल्ने
अल्पभाषी – थोरै बोल्ने, कम बोल्ने
मृदुभाषी – मिठो बोल्ने, मधुरभाषी
बहुभाषी – धेरै भाषा बोल्ने
बहुरुपी – विभिन्न रूप धारण गर्ने, अनेक रूपको, अनेकरूपी
अघोरी – नराम्रो वा जे पायो उही खाने
कायममुकायम – कुनै पदको स्थायी कर्मचारी अनुपस्थित रहेमा वा पद खाली भएमा काम चलाउनका लागि सोही पदमा काम गर्ने व्यक्ति, कार्यवाहक
कार्यवाहक – कुनै व्यक्तिको अनुपस्थितिमा नियमानुसार त्यस व्यक्तिको अधिकार लिई अस्थायी रूपमा काम गर्ने कर्मचारी वा पदाधिकारी, कामको जिम्मा लिने, कार्यकारी, कायममुकायम
पर्म – आफू आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन, परेली, पालो
अवर्णनीय – वर्णन गर्न नसकिने वा नहुने, वर्णन नै गर्नु नपर्ने
अव्यक्त – व्यक्त वा प्रकट नभएको, अज्ञात, अथाहा, प्रतिपादन गर्न नसकिने
थाती – धरौटी, धितो, जमानत
कलस्यौली – विवाह आदि मङ्गल कार्यमा सगुनका रूपमा विशेष किसिमले सजाइएको कलश बोकेर जन्तीमा बेहुलाबेहुलीका अगाडि हिँड्ने कन्या वा सधवा स्त्री
अलौकिक – यस लोकमा नहुने वा नपाइने, अद्भूत
९. अन्तरिक्षसँग सम्बन्धित तलका शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाई लेख्नुहोस् र तिनको अर्थ पनि पत्ता लगाउनुहोस् :
सौर्यमण्डल, ग्रह, धूमकेतु, उल्का, उल्कापिण्ड, तारापुञ्ज, ब्रह्माण्ड, नक्षत्र, राशि, शेय उत्तर:
१. उल्का – कुनै बेला रातमा आकाशबाट खस्न लागेको वा एक दिशातिर गइरहेको देखिने तेजःपुञ्ज, आकस्मिक रूपमा हुने उत्पात, उपद्रो, आकाशमा अचानक प्रकट हुने ज्वालाको पुञ्ज
२. उल्कापिण्ड – आकाशमा अचानक प्रकट हुने उल्काको समूह
३. ग्रह – सूर्य र सूर्यका वरिपरि घुम्ने सौर्य परिवारकै आकाशीय पिण्ड, सूर्यको परिक्रमा गर्ने तारा
४. ज्ञेय – जान्नुपर्ने, जान्न सकिने, जान्न लायक, सिक्न लायक
५. तारापुञ्ज – आकाशमा देखिने ताराहरूको समूह, तारामण्डल
६. धूमकेतु – पुच्छ्रेतारो, उल्का
७. नक्षत्र – चन्द्रमाको मार्गमा देखिने, सौरजगतदेखि अलग रहेका सत्ताइस नक्षत्र वा ताराहरूको समूह
८. ब्रह्माण्ड – पृथ्वी, अन्तरिक्ष, ग्रहनक्षत्र आदिले युक्त वा अनन्त लोक र भुवनहरू भएको विश्व, संसार
९. राशि – कुनै वस्तुको रास वा थुप्रो, क्रान्तिवृत्तमा रहेका मेष, वृष, मिथुन आदि बाह्र ताराहरूको समूह
१०.सौर्यमण्डल – सूर्य र सूर्यको वरिपरि घुम्ने ग्रहहरूको समूह
(क) अष्टनारानले श्रीमती, छोराहरु र छोरीलाई के भनेर सम्झाउँछन् ?
उत्तरः प्रगतिवादी एवं सामाजिक यथार्थवादी उपन्यासकार हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ उपन्यास आदर्शवादी, निष्कपट श्रमजीवीहरूको जीवनको वृत्तान्तमा आधारित छ । यो उपन्यास सामाजिक रूपान्तरणका लागि गरिएको व्यावहारिक क्रान्तिको नमुना हो । यस उपन्यासको सहायक पात्र अष्टनारान सर्वहारा वर्गको प्रतिनिधिमूलक पात्र, काठमाडौँको ज्यापू, परिवारको मुली, श्रमजीवी गरिब कृषक, रूढिवादी विरोधी, क्रान्तिकारी एवं प्रगतिशील, आदर्शवादी, स्वाभिमानी, व्यावहारिक, बृद्ध, रोगी, ऋण गर्न डराउने, छोराछोरीको भविष्यप्रति चिन्ता गर्ने तर भाग्यबाट ठगिएको निरीह पात्र हो । आर्थिक अवस्था कमजोर भएकै कारण औषधोपचार गर्न नसकी रोगले थलिएर मृत्युलाई पर्खिरहेको अष्टनारानले आफ्नो अन्तिम अवस्था सम्झेर श्रीमती, छोराहरू र छोरीलाई सम्झाउँदै उनीहरूको लागि गासबासको कुनै बन्दोबस्त गर्न नसकेको दुःखेसो पोख्छन् । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवानले आफ्नो केही कुरा नसुनेको, आमा र बहिनीलाई अन्यथा नगरी दुःख सहेर पनि खुवाउनु, उनीहरूको आँखामा आँसु नपार्नु भनी छोराहरूलाई सम्झाउँछन् । सांसारिकताको बोध गराउँदै आफ्नो उमेरले भित्ता छोइसकेको र जीवनको आखिरी समय आइसकेकाले सबैले चित्त बुझाउनुपर्छ,व्यथा बढी आफ्नो जीवनावस्था झन्झन् खस्कँदै गएकाले साक्षात् धन्वन्तरी भगवान् नै आएर औषधी उपचार गरे पनि आफूलाई रोग निको नहुने भएकाले औषधीमा न्यर्थ खर्च नगर भनी सम्झाउँछन् ।
६. ‘एक चिहान’ उपन्यासमा नेपाली समाजको कुन प्रकारको सामाजिक अवस्थाको प्रस्तुति गरिएको छ ? स्पष्ट पार्नुहोस् ।
प्रगतिशील साहित्यिक चेतनाबाट प्रभावित आदर्शोन्मुख सामाजिक यथार्थवादी धाराका उपन्यासकार हृदयचन्द्रसिंह प्रधान (१९७२–२०१६) को ‘एक चिहान’ (२०१७) सामाजिक सुधार, आदर्श जीवनदृष्टि र श्रमजीवी वर्गको जीवन भोगाइलाई केन्द्रमा राखेर तयार गरिएको उपन्यास हो । परम्परादेखि चलिआएका सामाजिक, आर्थिक, धार्मिक तथा व्यवहारगत मान्यताभित्र रहेका कमजोरी हटाई परिवर्तनशील समाज निर्माण गर्नुपर्ने विचार यस कृतिमा व्यक्त भएको छ । त्यसैले समाज सुधारको स्पष्ट चाहना बोकेको भए पनि यसको कथावस्तु अन्ततः दुःखान्त परिणामतर्फ पुग्छ । नेपाली समाजमा जरा गाडेका अन्धविश्वास, कुरीति, जातीय असमानता तथा आर्थिक विभेदलाई उजागर गर्दै सामाजिक रूपान्तरणका लागि व्यवहारमै परिवर्तन आवश्यक हुन्छ भन्ने सन्देश यसमा पाइन्छ । गरिबीको चरम अवस्थामा बाँचेका श्रमजीवी तथा सर्वहारा मानिसहरूको आर्थिक कष्ट र जीवन सङ्घर्षलाई उपन्यासले आवाज दिएको छ । अन्तर्जातीय विवाह, मर्दापर्दाका नाममा गरिने अनावश्यक दान, धर्म, भोजभतेर, दाइजो र असमान प्रेमसम्बन्धजस्ता सामाजिक गतिविधिबाट ग्रस्त तत्कालीन नेपाली समाजको चित्र पनि यहाँ प्रस्तुत गरिएको छ ।
विशेषतः वि. सं. २०१५ भन्दा अघिको काठमाडौँ र त्यस वरपरको समाजलाई आधार बनाएर उपन्यासले वर्ग, जात, लिङ्ग, भाषा र संस्कृतिसँग जोडिएका विभेद तथा रूढिवादी परम्पराको अवस्था देखाएको छ । समाजमा आर्थिक रूपमा सम्पन्न सम्भ्रान्त तथा अभिजात वर्ग र अभावमा जीवन बिताउने श्रमजीवी निम्न वर्गबीच रहेको ठूलो दूरीलाई कथाले स्पष्ट पार्छ । साहु, महाजन र शोषक सामन्त वर्गको प्रतिनिधित्व सुब्बा सुरमान तथा डा. गोदत्तप्रसादले गर्छन् भने गरिब, श्रमजीवी र पीडित वर्गको प्रतिनिधि अष्टनारान बनेका छन् । सम्पन्न वर्गले आफ्नो स्वार्थ पूरा गर्न छलकपट, षड्यन्त्र र विभिन्न उपाय अपनाएर कमजोर मानिसमाथि गर्ने दमन, अन्याय तथा शोषणको चित्रण पनि गरिएको छ । पैसालाई प्रधानता दिने डा. गोदत्तले शुल्क नपाएसम्म उपचारमा रुचि नदेखाउनु र पैसा पाउने आशामा बिरामीको घर पुग्दा नानीथकुँको सौन्दर्यप्रति आकर्षित भएर उसलाई आफ्नो अधीनमा पार्न खोज्नु उसको अमानवीय चरित्र हो । त्यसैगरी वृद्ध सुब्बा सुरमानले पनि नानीथकुँलाई प्रलोभन र झुटा आश्वासनका माध्यमबाट विवाह गर्न खोज्नु उच्च वर्गीय स्वार्थ र शोषणको अर्को रूप हो । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा समेत सम्पन्न वर्गको प्रभाव र पहुँच कायम रहेको सामाजिक असमानता यहाँ देखिन्छ । सर्वहारा मानिसलाई दुई छाक जुटाउन र सामान्य लुगाफाटा लगाउनसमेत कठिन हुने दयनीय अवस्था चित्रित छ । अष्टनारानजस्ता गरिब किसान दिनरात परिश्रम गर्दा पनि रोग, भोक र पारिवारिक शोकबाट मुक्त हुन नसकी जीवन गुमाउन बाध्य हुन्छन् ।
उपन्यासले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाज भएको तथ्य पनि देखाउँछ, तर आर्थिक रूपमा कमजोर मानिसहरू आफ्नै संस्कार र सामाजिक संरचनाभित्र दबिएर बस्नुपरेको अवस्था उजागर गरिएको छ । भरिया, मजदुर, सिकर्मी, डकर्मी, ज्यामी तथा कृषकले गरेको श्रमअनुसार उचित मूल्य नपाउने र उनीहरूको जीवनमा अपेक्षित सुधार नआउने यथार्थ यहाँ प्रस्तुत हुन्छ । अर्कोतर्फ अष्टनारानको परिवारमा क्रमशः चेतना विकसित हुँदै जान्छ । परिवारका सदस्यहरू कुसंस्कार र अन्यायको विरोधमा उभिन थाल्नु, शोषण तथा दमनविरुद्ध सोच विकसित हुनु सामाजिक परिवर्तनको सुरुआती संकेतका रूपमा देखिन्छ । यसरी ‘एक चिहान’ ले तत्कालीन समाजका विकृति मात्र देखाउँदैन, तिनलाई चुनौती दिँदै नयाँ सामाजिक चेतनातर्फ अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याउँछ ।
एक चिहान उपन्यासको कथासार
एकतीस खण्डमा फैलिएको ‘एक चिहान’ को कथा अष्टनारान नामका किसान गम्भीर बिरामी परेको अवस्थाबाट आरम्भ हुन्छ । घरका सदस्यहरू परिवारका अभिभावक बिरामी भएकाले चिन्तित हुन्छन् । तर वृद्ध अष्टनारान आफू बाँच्ने सम्भावना कम देखेकाले आफ्नो उपचारमा अनावश्यक पैसा खर्च नगर्न र आफू मरेपछि पनि काजक्रिया तथा अन्य कर्मकाण्डमा खर्च नगर्न परिवारलाई सम्झाउँछन् । त्यस्ता खर्चले आर्थिक भार थप्ने उनको धारणा हुन्छ । मृत्युपछि लास बोक्न आवश्यक कात्रो किन्नसमेत पैसा नपुग्ला भनेर उनले जमिनमुनि २५ रुपैयाँ लुकाएर राखेको कुरा पनि परिवारलाई बताउँछन् । उनको इच्छा विपरीत परिवारले ऋण खोजेर सुरुमा स्थानीय गुभाजुकहाँ झारफुक गराउँछ, तर त्यसबाट रोगमा सुधार आउँदैन । त्यसपछि चर्चित चिकित्सक डा. गोदत्तप्रसादसँग उपचार गराउने निर्णय हुन्छ र छोरा शिवनारान उनलाई बोलाउन जान्छन् । पैसालाई बढी महत्त्व दिने गोदत्तले सुरुमा खासै चासो देखाउँदैनन् । त्यही टोलको गुभाजुलाई देखाए पुग्ने बताउँदै उनी अष्टनारानको घर जान अस्वीकार गर्छन् । पछि पुननारानले चिकित्सकको शुल्क घरमै पुग्नेबित्तिकै दिने आश्वासन दिएपछि उनी उपचारका लागि आउन तयार हुन्छन् । घरमा पुगेर अष्टनारानको स्वास्थ्य जाँच्छन्, औषधि र इन्जेक्सन प्रयोग गर्न सुझाउँछन् । उपचारकै क्रममा अष्टनारानकी जवान छोरी नानीथकुँप्रति उनको आकर्षण बढ्छ । त्यसपछि कार्यालयबाट सिधै घर नफर्की अष्टनारानको घरमा पुग्ने क्रम बढ्छ र उपचारको पैसा तत्काल नदिए पनि पछि हुने कुरा बताउँछन् । डाक्टरले बारम्बार निःशुल्क उपचार गरिरहेको सुनेपछि अष्टनारानलाई उसको नियतमाथि शङ्का लाग्छ । छोराछोरीलाई ऋणको बोझ नपरोस् भन्ने चिन्ता गर्दै उनी बाजेबराजुको पालामा पनि ऋणकै कारण जग्गाजमिन गुमेको घटना सम्झाउँछन् र समयमै सचेत हुन आग्रह गर्छन् । केही समय स्वास्थ्यमा सुधार आएपछि परिवारले राहत महसुस गर्छ । त्यस अवसरमा अष्टनारानले किसानको प्रमुख जिम्मेवारी खेतीपाती गर्नु भएकाले आफ्नो हेरचाहका लागि श्रीमती लतमाया एकजना मात्र बसे पुग्ने बताउँछन् । स्वास्थ्य फेरि बिग्रँदै गएपछि डा. गोदत्तले अवस्था गम्भीर रहेको भन्दै एक जना कुरुवा सधैँ साथमा राख्न सुझाव दिन्छन्, तर बिरामीलाई भने निको हुने आश्वासन दिन्छन् । अष्टनारान भने काजक्रिया, दानदक्षिणा र अनावश्यक कर्मकाण्डमा विश्वास नगर्ने भएकाले परिवारका सबैलाई आफ्नो काम र पेसाप्रति इमानदार रहन सल्लाह दिन्छन् । अन्ततः लामो समयदेखि रोगले थलिएका अष्टनारानको मृत्यु हुन्छ र घरमा शोक छाउँछ ।
अष्टनारान सरल, मिलनसार र समाजप्रति सहयोगी स्वभावका भएकाले उनको निधनले गाउँटोलका मानिसहरू पनि दुःखी हुन्छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले अन्त्येष्टिका लागि चाहिने कात्रो किन्नसमेत रकम जुट्दैन । त्यसपछि पुननारान र नानीथकुँ पैसा माग्न डा. गोदत्तप्रसादकहाँ पुग्छन् । नानीथकुँप्रति आकर्षित भएका डाक्टरले सहजै २५ रुपैयाँ दिन्छन् र आवश्यक परे थप सहयोग गर्ने संकेत गर्छन् । तर उनको सहयोगको उद्देश्य शुद्ध मानवीय हुँदैन; नानीथकुँको यौवन र सरल स्वभावको फाइदा उठाएर आफ्नो चाहना पूरा गर्ने योजना बनाउँछन् । सोझी नानीथकुँ पनि उनको बनावटी प्रेमको प्रभावमा पर्न पुग्छे । उता तल्सिङ सुरमान सुब्बाले पनि नानीथकुँलाई आफ्नो वशमा पार्न खोजिरहेको हुन्छ । उसले दलाल रामबहादुरमार्फत विदेशी तान किनिदिएर नानीथकुँलाई प्रभावित पार्ने प्रयत्न गर्छ । साथै एक वर्षको कुत मिनाहा गरिदिने प्रलोभन देखाएर पनि उसलाई आकर्षित गर्न खोज्छ । आमा लतमाया सुरमानसँग नानीथकुँको विवाहका लागि सकारात्मक भए पनि दाजु शिवनारानले सावधानी अपनाउन चेतावनी दिएपछि सुब्बाको योजना सफल हुन सक्दैन ।
यसैबीच डा. गोदत्तप्रसाद र नानीथकुँबीच प्रेमसम्बन्ध रहेको चर्चा गाउँटोलभरि फैलिन्छ । गोदत्तकी श्रीमतीले नानीथकुँलाई भेटेर नारीको गरिमा, सम्मान र आफ्नो अस्तित्वबारे सचेत गराउँछिन् । त्यसपछि शिवनारानले नानीथकुँको विवाह तराईका रामखेलावन राउतसँग गरिदिन्छन् । हर्षनारानको विवाह तामाङ समुदायकी पुतलीसँग हुन्छ । उनीहरू जातीय विभेदभन्दा माथि उठेर अन्तर्जातीय सम्बन्ध र सामाजिक एकताको पक्षमा उभिन्छन् । विवाहका अवसरमा पनि जातीय सद्भावलाई सहयोग पुग्ने गरी आवश्यक सामग्री उपहार दिने काम गरिन्छ । त्यसपछि शिवनारानको परिवारको मुख्य ध्यान खेतीकिसानीतर्फ केन्द्रित हुन्छ । शिवनारान र उनकी श्रीमती खेतमै गोठ बनाएर बस्न थाल्छन् भने परिवारका अरू सदस्य पुरानै गाउँघरमा बस्छन् ।
वि. सं. २०११ सालमा लगातार तीन दिन तीन रात परेको भीषण वर्षाका कारण ठूलो बाढी आउँछ । त्यस बाढीमा शिवनारानको परिवार बगेर विनाश हुन्छ र पुरानो घरसमेत भत्किन्छ । बाँकी परिवारमाथि पनि विपत्तिको अन्तिम प्रहार पर्छ र उनीहरूको जीवन एकै चिहानमा परिणत हुन्छ । यही दुःखद घटनासँगै ‘एक चिहान’ उपन्यासको कथा समाप्त हुन्छ ।
‘एक चिहान’ उपन्यासमा सामाजिक यथार्थ
हाम्रो समाजमा देखिने अनेक किसिमका सामाजिक दोष, विकृति र विसङ्गतिलाई सुधार गर्ने उद्देश्य ‘एक चिहान’ मा रहेको छ । समाजमा जरा गाडेका अन्धपरम्परा तथा रूढिवादी मान्यताको विरोध गर्नु र तिनको ठाउँमा विवेकपूर्ण सोच स्थापित गर्न चाहनु यसको प्रमुख भाव हो । समाजमा रहेका कपटी, स्वार्थी तथा शोषक सामन्तहरूले सरल र कमजोर मानिसलाई दुःख दिने प्रवृत्तिबाट सचेत रहनुपर्ने सन्देश पनि उपन्यासले दिन्छ । नारीलाई समान सम्मान र प्रतिष्ठा दिने चेतना अझै पर्याप्त विकसित नभएको अवस्थालाई देखाउँदै त्यसमा क्रमिक सुधार आवश्यक रहेको विचार व्यक्त गरिएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण कुनै मानिस सामाजिक सुरक्षाबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता पनि कृतिमा प्रस्तुत हुन्छ । समाज वर्गका आधारमा विभाजित भएकाले धनी र गरिबबीच द्वन्द्व उत्पन्न हुन्छ, तर अन्ततः श्रमजीवी तथा पीडित वर्गको विजय हुनुपर्ने विश्वास उपन्यासमा व्यक्त भएको छ । आर्थिक रूपमा कमजोर र आवाजविहीन मानिसहरू सामाजिक संरचनाभित्र लामो समयदेखि दबिएका छन् । त्यसैले यस्ता समस्याविरुद्ध चेतना फैलाउँदै कमजोर वर्ग एकताबद्ध र सङ्गठित हुन आवश्यक छ भन्ने विचारलाई कृतिले अघि सारेको छ ।
यस कृतिमा देखाइएको समाज मूलतः अर्धसामन्ती र वर्गीय संरचनामा आधारित छ । एकातिर अत्यन्त न्यून आम्दानीमा खेती गरेर जीवन धान्ने किसानहरू छन् भने अर्कातिर अरूमाथि शोषण गरी पर्याप्त धनसम्पत्ति जोड्ने सम्पन्न वर्ग पनि देखिन्छ । यही असमान सामाजिक संरचना ‘एक चिहान’ को सामाजिक परिवेशको मुख्य आधार हो । जीविकाको प्रमुख माध्यम खेतीकिसानी भएका मानिसहरूको दैनिक जीवन, समस्या र संघर्षलाई केन्द्रमा राखिएकाले किसान समुदाय नै यसको सामाजिकताको केन्द्र बनेको छ । एउटै समाजमा सम्पन्न र विपन्न दुवै वर्गको उपस्थिति देखिन्छ । आर्थिक हैसियतमा रहेको यो ठूलो अन्तरले वर्गीय द्वन्द्वलाई जन्म दिइरहेको छ । त्यसैले उपन्यासको परिवेश ग्रामीण जीवन र किसान समाजसँग नजिक छ । धनाढ्य तथा गरिब वर्गबीच आर्थिक कारणले बढ्दै गएको दूरी र त्यसबाट उत्पन्न हुने संघर्षलाई पनि लेखकले सामाजिक यथार्थका रूपमा प्रस्तुत गरेका छन् । कुनै साहित्यिक रचना समाजबाट अलग रहन नसक्ने भएकाले यस कृतिमा तत्कालीन राणाकालीन सामाजिक व्यवस्थाका अवशेष, मूल्य–मान्यता र जीवनपद्धतिको प्रभावसमेत देखिन्छ ।
‘एक चिहान’ प्रगतिशील चेतनालाई आधार बनाएर सिर्जना गरिएको सामाजिक उपन्यास हो । लेखकका दृष्टिमा जस्ताको तस्तै यथास्थितिमा अडिनु विकासको बाधक हो र त्यस अवस्थामा वास्तविक प्रगति सम्भव हुँदैन । समाजमा रहेका विकृति, विसङ्गति तथा विभिन्न विरोधाभासले पतनतर्फको संकेत गर्छन् । त्यसैले सामाजिक उन्नतिका लागि यस्ता अवरोध पार गर्दै अगाडि बढ्न आवश्यक हुन्छ । पुराना कुरीति र कुसंस्कारलाई हटाएर तिनको स्थानमा नयाँ मूल्य, व्यवहार र परम्पराको स्थापना गर्नुपर्ने धारणा कृतिमा पाइन्छ । आदर्श र विवेकपूर्ण बाटो अपनाउँदै समाजलाई अग्रगतिको दिशामा लैजानुपर्छ भन्ने लेखकको उद्देश्य स्पष्ट छ । हृदयचन्द्रसिंह प्रधान समाजलाई परिवर्तन र प्रगतितर्फ प्रेरित गर्न चाहने सचेत साहित्यकारका रूपमा प्रस्तुत भएका छन् । उनले रूढिवादी प्रथा र सामाजिक कुसंस्कारको आलोचना गर्दै सुधार तथा जागरणको सन्देश दिएका छन् । अन्धपरम्परा, देखावटी आडम्बर, जातीय सङ्कीर्णता तथा कट्टर सोचलाई प्रगतिका प्रमुख अवरोधका रूपमा चित्रित गरिएको छ र यस्ता सामाजिक खराबीविरुद्ध लेखकले दृढ असहमति व्यक्त गरेका छन् ।
यस उपन्यासमा विशेष रूपमा गरिब तथा निमुखा किसानको दैनिक जीवन र उनीहरूले भोग्ने कठिनाइलाई स्थान दिइएको छ । खेतीमा निर्भर परिवारले दिनहुँ सामना गर्नुपर्ने आर्थिक समस्या, श्रमको उचित मूल्य नपाउने अवस्था र सामाजिक अवरोधलाई लेखकले कथामार्फत प्रस्तुत गरेका छन् । समाजमा धनी र गरिबबीचको वर्गीय अन्तर स्पष्ट भएकाले यस्तो विभेद कायम रहेसम्म वास्तविक सामाजिक उन्नतिको बाटो खुल्न नसक्ने तथ्यतर्फ पाठकलाई सचेत गराइएको छ । यसरी किसान जीवनको यथार्थसँगै वर्गीय असमानताको अन्त्य र न्यायपूर्ण सामाजिक व्यवस्थाको आवश्यकता पनि उपन्यासले औँल्याएको छ ।
