एक चिहान उपन्यास पाठ पढ्नुहोस् ।
एक चिहान उपन्यास – हृदयचन्द्रसिंह प्रधान
YouTube Video Link by Achyut Ghimire
एक
छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- “मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्ले मेरो केही सुनिदिएन । बाबूहो ! तिमीहरूकी आमा यो बुढिया र एक्ली बहिनीलाई अन्यथा नगर । जस्तै दुःख सहेर पनि यी अबलालाई खुवाइराख । यिनीहरूका आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।”
अशक्तताले धावा गर्दै ल्याइरहे तापनि उनले बोल्न बल गरिरहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुं पछिल्तिर फर्किएर आँसु चुहाइरहेकी थिई ।
“चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता लिनुहुन्छ ।” जेठा छोरा शिवनारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।
“अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? म अब निको हुन्नँ । उमेरले पनि त भित्ता छोइसक्यो, त्यसैले सबैले चित्त बुझाउनुपर्छ ।” अष्टनारान फेरि पनि बोल्न खोजिरहेका थिए, लतमायाले रोकेर भनिन्- “जनी गरेर बिन्ती, नबोल्नुहोस्, औषधी पनि नगरौं यस्तो बेलामा ? कस्तोकस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !”
“मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै औषधी गर्न आए पनि निको हुन्नँ । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन्झन् खस्कँदै आइरहेको छु । ‘सास रहेसम्म आस’ भन्ने एउटा कुरा मात्र बाँकी छ ।” यति भनी अष्टनारान एकाएक टक्क रोकिए । यत्तिकैमा सबै हडबडाइसकेका थिए, फेरि अष्टनारानले बोल्न सुरु गरे-
“कस्तरी घाँटी सुकेको, टक्कै रोकियो ।”
“बा !” नानीथकुंले बोल्न खोजेर पनि यतिसिवाय उनको कण्ठबाट बक फुट्न सकेन ।
“किन बा, के बोल्न खोजेको ?” बडो मायालु भावमा अष्टनारानले भने ।
“धेरै नबोल्नुहोस् भनेको बा ! परिश्रम होला ।”
“मलाई केही परिश्रम भएको छैन, यति त बोल्न सक्छु । तिमीहरूले मलाई यति बोल्न दिनुपर्छ । अहिले मेरो जिन्दगीको आखिरी समय आइरहेको छ, त्यसैले मलाई बोल्न रहर पनि लागिरहेको छ ।”
“बा !” अष्टनारानको मुखैनिर शिर निहुराएकी नानीथकुंले भनिन् ।
यतिन्जेल रोक्तारोक्तै पनि नानीथकुंको आँखाबाट आँसु टप्किहाल्यो । अष्टनारानका माहिला छोरा पुननारान र कान्छा छोरा हर्षनारान दुवैले एकै चोटि बोले- “बा ! चुप लाग्नोस् भन्या ।”
“लौ, लौ, अब बोल्दिनँ, तिमीहरूको चित्त बुझाउँछु । मेरो सबभन्दा आखिरी कुरा एउटा भनिहाल्छु- बाबूहो ! मैले तिमीहरूका निम्ति केही गर्न सकिनँ । गएको दुई वर्षदेखि दुई पैसा, चार पैसा जति सक्यो नखाएर पनि केहीकेही पैसाको दरले दिनहुँ जम्मा गर्न थालेको थिएँ, जम्मा पच्चिस रुपियाँ मोहर हुन आएको छ । ती रुपियाँ मैले तल छिँडीमा ढिकीनेर उत्तर भित्तातिर खाल्टो खनेर गाडिराखेको छु । म मरेँ भने त्यसबाट मेरो काजक्रिया गरिदिनू त्यतिभन्दा बढ्ता खर्च ऋण लिने काम नगर ।”
बुढाको यो कुरा सुनेर सबैले पछिल्तिर फर्केर आँसु पुछे ।
*****
दुई
अष्टनारान बिरामी भएको आज ठ्याम्मै दुई महिना भइसक्यो । उनले आफ्नो स्वास्थ्य एक महिनासम्म आफ्नै टोलका गुभाजुलाई देखाएका थिए । बिचराले हुनसम्मको उपाय गरिसकेका थिए । उनीबाट केही जोर नचलेर असनका तुयु गुभाजुलाई पनि देखाइसके । तुयु गुभाजु नेपालका नामी झारफुके वैद्य हुन् । डाक्टर, कविराजहरूले झैं उनी पनि फिस लिन्थे । त्यसैले पनि उनीप्रति मानिसहरूको विश्वास बढेको थियो ।
तर, एक्काइस दिनसम्म तुयु गुभाजुबाट इलाज गराउँदा पनि अष्टनारानको व्यथा बिसबाट उन्नाइससम्म पनि गरेन ।
अष्टनारानका छोराहरूले माहिला कविराजलाई देखाउने विचार गरेर तुयु गुभाजुलाई बोलाउन छाडे । जे गरेर पनि बाबुलाई निको पार्नुपर्छ भन्ने भावनाले अष्टनारानका छोराहरूले सकेसम्म ऋण लिएरै पनि बाबुलाई औषधी गराइरहेका थिए । एक हप्तासम्म रोज माहिला कविराजको औषधी गर्दा पनि केही सिप लागेन, व्यथा बढ्दै आयो । फिस, औषधी गर्दा पच्चिस रुपियाँ पनि सिद्धियो ।
अन्तमा केही सिप नलागेर लतमायाले आफ्ना पोइले आफ्नो अन्त्येष्टि क्रियाका निम्ति खाइनखाइ ‘मेरो अन्त्येष्टि क्रियासिवाय यस रुपियाँले अरू केही नगर्नू’ भनेर गाडिराखेको पच्चिस रुपियाँ खर्च गरेर भए पनि एक चोटि डाक्टरलाई देखाउने इच्छा गरिन् ।
लतमायालाई दृढ विश्वास भएर आयो- जिन्दगी नै दिन्छ भने त्यो पच्चिस रुपियाँ अन्त्येष्टिका निम्ति राख्नु बुद्धिमानी होइन, बरु पाप हो ।
यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई देखाउने र औषधी गर्ने सल्लाह गरिन् । लतमायाले भनेको कुरा राम्रो त सबैलाई लाग्यो तर त्यसले सबैलाई अफसोस पनि गरायो । विशेष गरेर जेठा छोरा शिवनारानलाई झन् बढ्ता अफसोस भयो । बाबु बिरामी हुँदासमेत डाक्टरलाई देखाएर औषधी गर्न नसकेकामा उनलाई चोट लाग्यो । तर अन्त्येष्टिभन्दा बाबुलाई बचाउने कुरा महत्त्वपूर्ण भएकाले आमाको सल्लाह साह्रै बुद्धिमानी पनि लाग्यो शिवनारानलाई । साथै शिवनारानको दृढ विश्वास थियो- डाक्टरी औषधी पाएपछि बाबु अवश्य निको हुन्छन् ।
डाक्टर गोदत्तप्रसादको घर आफ्नै टोलको छेडोमा छ । नजिकका डाक्टर भएका र अलि नाम पनि चलेका हुनाले उनैलाई देखाउने निधो भयो । डाक्टरकहाँ पुगेर शिवनारानले भने- “डाक्टरसाहेब ! दुई महिनादेखि बाबु बिरामी हुनुहुन्छ । डाक्टरसाहेबले एक चोटि हेरिदिनुभयो भने निको हुने आशा गरेर आएको हुँ, डाक्टरसाहेब !”
तर डाक्टर गोदत्तप्रसादले आफ्ना कुरामा बिलकुलै ध्यान नदिएको देखेर शिवनारानको आफैँ घाउ भइरहेको मनमा अझ बढ्ता चोट पयो, तैपनि ठुला मानिस भएका हुनाले शिवनारानले फेरि एक बाजि भन्ने साहस गरेर बोले- “डाक्टरसाहेब !”
टेबिलमा राखिछाडेको एउटा पुस्तक पल्टाएर शिवनारानप्रति ‘पख, नकराऊ’ भन्ने इसारामा डाक्टर गोदत्तप्रसादले केवल देब्रे हात हल्लाए । आशा लाग्दो अनुहारमा शिवनारान त्यसै उभिरहे । डाक्टर किताब हेदहिर्दै ‘कोही आयो कि, कोही आयो कि’ भन्ने ध्याउन्नमा बाहिर ढोकातिर, भर्याङतिर बराबर हेर्दथे । यस्तैमा आधा घण्टा बितिसक्यो । शिवनारानमा अब धैर्य रहन सकेन किनभने बाबु सिकिस्त छन् । चिन्ताले उनलाई केही गरे पनि टिक्न दिएन । अनि यही आवेगमा शिवनारानले फेरि बोल्ने साहस गरिहाले- “डाक्टरसाहेब बाबु सिकिस्त हुनुहुन्छ, ढिलो गर्न भएन डाक्टरसाहेब !”
शिवनारानतिर पुलुक्क दृष्टिपात गरेर डाक्टरले केवल यति बोले- “अँ ।”
डाक्टरको यो निठुरी व्यवहार देखेर शिवनारानलाई एकछिन त ‘डाक्टरलाई मारिहालूँ’ भन्ने झोंक चलिसकेको थियो तर डाक्टरसित रिसाउन सक्ने अवस्था पनि त शिवनारानको थिएन । बाबु सिकिस्त छन्, आफू एक दीनहीन, अरूको निगाह र मद्दत नै उनको जीवन थियो; त्यसैले रिसमा पनि होस राख्न सक्ने बुद्धिमानी पनि उनको प्रवृत्तिमा दौडिरहन्थ्यो । त्यसैले रिसलाई दबाएर शिवनारानले डाक्टर गोदत्तप्रसादसित फेरि अनुरोध गरे- “डाक्टरसाहेब ! आधा घण्टा भैसक्यो म आएको… ”
“एकछिनपछि एक घण्टा पनि हुन्छ । तिमीलाई चाहियो भनेर के समय पर्खिरहन सक्छ ?” डाक्टर गोदत्तप्रसादले तिरस्कारको भावमा भने ।
“बाबु साह्रै सिकिस्त हुनुहुन्छ डाक्टरसाहेब !”
“ज्यादै बिरामी भएपछि सबै सिकिस्त हुन्छन् ।”
“के गर्ने त डाक्टरसाहेब ! साह्रै चिन्तामा छु, सिकिस्त बिरामी मानिसलाई छोडेर आएको !”
“पख, कचकच नगर, किताब हेरिरहेको छु, ध्यान खलबल नगर ।” डाक्टरको व्यवहारमा भयङ्कर अमानवता देखेर चिन्ताग्रस्त भएर पनि शिवनारान नहडबडाईकन टोलाइमा वाल्ल परेर डाक्टरमा मानवता पर्खन लागे ।
*****
तीन
अष्टनारानको व्यथा बढ्दै आयो । शिवनारान डाक्टर बोलाउन गएको आधा घण्टाभन्दा बढ्ता भइसक्यो, अझै पनि आएका छैनन् । लतमाया अलि हडबडाइन् । उनले पुननारानलाई पनि डाक्टरकहाँ पठाउन चाहिन् ।
किसानका छोरा भए पनि पुननारान आफ्नो पुग्दो खेत नभएको हुनाले सिकर्मीको काम गर्थे । पुननारानका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुननारानको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई सिकर्मीको काम सिकाएका थिए ।
ससुरा छउन्जेल त पुननारानको काम कहिल्यै खाली हुँदैनथ्यो, किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे । जहाँतहीँ बोलावट आइरहन्थ्यो तर ससुरा बितेदेखि पुननारानको रोजगारी अलि लडखडाउन थाल्यो । तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न परे पनि ज्यूँत्यूँ गुजारा चलिरहेकै थियो ।
तर यता दुई महिनादेखि बाबु बिरामी भएर पुननारान आफैँले पनि काम खोज्ने प्रयास कम गरेका हुनाले झन्डै बेरोजगारजस्ता भए पनि उनले एक जना साहुकहाँबाट आठ दिनको ज्याला पेस्की ल्याइसकेका थिए । आर्थिक सङ्कटका लागि उनले बाबुको त्यो अवस्था र बाबुबाट एकछिन पनि नअलग्गिएर काम गर्न जाने आँट गरी पेस्की ल्याएका थिए । तर पेस्की ल्याएको भोलिपल्टदेखि बाबुको व्यथा बढेर आइदियो । पेस्की ल्याएको पनि आठ दिन भइसक्यो ।
पेस्की ल्याएदेखि बेपत्ता भएको हुनाले साहुले उनलाई समात्न आइरहेका थिए । साहुले अनेक भनाइको सिलसिलामा भनिरहेका थिए- “यस्तो बेइमानी गर्नु मनासिब छैन ।”
“बेइमानी गरेको होइन साहुजी ! के गरुँ परिस्थिति नै यस्तो हुन आयो । म बेइमानी कहिल्यै गर्दिनँ ।” पुननारानले बडो नम्रतासाथ भने ।
“खुब इमानदार काम गर्यौ, यही हो तिम्रो इमानदारी ? पेस्की लिइसकेपछि बेपत्ता ?”
“अब एक हप्ता पर्खिदिनोस् साहुजी ! बाबुलाई बिसेक भएपछि म काम गर्न सुरु गरिहाल्छु । आजदेखि डाक्टरको औषधी परेपछि त निको भैहाल्छ ।”
“तिम्रा बाबुलाई ठीक नहुँदासम्म बर्सादले पर्खिरहे त केही छैन ।”
“एक महिनाजति अझै बेला छ, जेठै लागेको छैन । एक-दुई हप्तापछि त झन् दिन लामो हुन्छ । घर बनाउने मुख्य बेला नै त्यही हो, साहुजी !”
“तिमीलाई त्यस्तो छ भने पेस्की फर्काइदेऊ । म अर्कैलाई काम लाउँला !”
“पेस्की ल्याएको रुपियाँ सकिएरै त तपाईंका सबै कुरा सहिरहनुपरेको । बाको यस्तो अवस्था छ, खर्चले मुस्किल परिरहेको थियो, तपाईंले दिनुभएको पेस्कीले मलाई ठुलो काम दियो । यसको पनि मैले गुन सम्झेको छु, साहुजी !”
पुननारानको अति नम्र कुरा सुनेर साहुजीले प्रतिवाद गर्न सकेनन् । लतमायाले पुननारानलाई डाक्टर गोदत्तप्रसादलाई झट्टै ल्याउने ताकिता गर्न पठाइन् । पुननारान र साहुजी दुवै सँगै बाहिर निस्के ।
पुननारान जाँदा पनि डाक्टर गोदत्तप्रसाद किताब नै हेरिरहेका थिए । शिवनारान अघिदेखि उभिएकोउभियै थिए । पुननारान पुग्नासाथ उनले आफ्ना दाजु शिवनारानलाई भने- “बालाई बढ्दै आएको छ, किन ढिलो गरिरहनुभको ?”
पुननारानबाट बाबुको झन् खराब स्थिति सुनेर शिवनारानले हडबडाउँदै डाक्टरलाई भने- “डाक्टरसाहेब ! बालाई झन् बढिरहेको छ रे । झट्टै हिँडिदिनोस् न ।”
“गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन खोज्यौ ।” डाक्टर गोदत्तप्रसादले प्रस्टै भने ।
“डाक्टरसाहेबलाई नै देखाउन चाहेका छौं, डाक्टरसाहेबले हेरिदिनुभयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौं ।” शिवनारानले आशाजनक भावमा भने ।
“त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइहाल न त, मेरो यस्तै दस्तुर छ ।”
“यहाँ त रुपियाँ लिएर आएको छैन डाक्टरसाहेब ! हडबडमा दगुरेर आएको, घर पुग्नासाथ टक्याउँला ।” शिवनारानले भने ।
“हो ?”
“हो, डाक्टरसाहेब !”
“त्यसो भए लौ हिँडौं त ।”
*****
चार
राम्ररी जाँचबुझ गरिसकेपछि डाक्टर गोदत्तप्रसादले प्रेस्क्रिप्सन लेखिदिए । प्रेस्क्रिप्सन लेख्तालेख्तै बाबुले लाएको लुगाको तुना बाँधिरहेकी नानीथकुंप्रति हेरेर डाक्टरले भने- “झट्ट लुगा लगाई खास्टोले छाती छोपिहाल । हावा लाग्न दिनुहुन्न, अलिअलि निमोनियाले पनि छोइसकेको छ ।”
प्रेस्क्रिप्सन लेखिसकेपछि डाक्टरले भने- “दिनको दुई मात्रा मिक्स्चर ख्वाउनू, पुरिया औषधी पनि लेखिदिएको छु, त्यो दिनको दुई मात्रा खाना खानुभन्दा अगाडि ख्वाउनू अनि दुई दिन लगातार एउटा इन्जेक्सन पनि दिन लाउनू, इन्जेक्सन राम्रो जान्ने कम्पाउन्डरबाट दिन लाउनू ।”
बिरामीको कोठाबाहिर आएर जान लाग्दालाग्दै डाक्टरले भने- “राम्ररी हेरविचार गर्नू, व्यथा अलि कडै छ, म भरे पनि एक चोटि आएर हेर्ने छु । बिरामीलाई एक्लै नछाड्नू ।”
बिरामीको बारेमा बाहिर गएर अवश्य केही कुरा बोल्ने शङ्का भएर हिँड्नासाथै नानीथकुं पनि सँगसँगैजसो गएकी थिइन् । डाक्टरको कुरा सुनेर नानीथकुंले मुख अँध्यारो पारिन् ।
नानीथकुंले त्यस्तरी मुख अँध्यारो पारेको देखेर डाक्टरले भने- “किन यस्तरी मुख बिगारेकी नानी ? धन्दा नमान, म सकेसम्म कोसिस गर्नेछु ।”
नानीथकुंसित यति बोली डाक्टर गोदत्तप्रसादले लतमायातिर फर्केर भने- “यिनी को हुन् आमै ? तिम्री छोरी हुन् कि ?”
लतमायाले भनिन्- “हो ।”
“ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले । के यिनको बिहे भैसक्यो ?”
“भएको छैन ।”
“ओहो ! बिहे भइसकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने । बिचरा बुढालाई छोरीको पनि चिन्ता हुँदो होला ।” शिवनारानतिर हेरेर डाक्टरले भने- “भैगो, भरे मै आएर इन्जेक्सन दिउँला, कम्पाउन्डरलाई किन मफतमा एक रुपियाँ फिस ख्वाउने, बुझ्यौ ?”
डाक्टर गोदत्तप्रसाद सरासर हिँडे । हिँड्न लाग्दा शिवनारानले पाँच रुपियाँ फिस हातमा राखिदिए ।
नानीथकुं सत्र वर्षकी तरुनी थिइन् । उनको यौवन पुस्टिएर ढकमक्क फुलिसकेको थियो । किसानकी छोरी भए तापनि उनको अनुहारमा सौन्दर्य बलिरहेको हुनाले उनी भेष बदलेकी शाहज्यादीजस्ती थिइन् । नानीथकुंलाई थाहा नभईकनै उनको चेहरामा हिसी भरेको मुस्कान सधैँ नाचिरहन्थ्यो । नानीथकुंको यो विशेषता देखेर डाक्टर गोदत्तप्रसाद मुग्ध भए ।
नानीथकुंमा स्वत: उदाइरहेको प्राकृतिक सौन्दर्यका साथ आजको विज्ञानले आविष्कार गरेको सुन्दरताको चमत्कार पनि थपियो भने उनको रूप, यौवन कस्तो होला भनी नानीथकुंको पुलुक्क दर्शनमै डाक्टर गोदत्तप्रसादको कल्पना दौडिसकेको थियो ।
डाक्टर गोदत्तप्रसाद घर फर्किसकेर पनि कति बेरसम्म नानीथकुंको अनुहार सम्झिरहेका थिए ।
अस्पतालमा विशेष ध्यान दिनुपर्ने कामकाज गर्दैगर्दा पनि गोदत्तप्रसादका आँखाअगाडि नानीथकुंको अनुहार नाचिरहेको थियो र भरेको सपना देखिरहेका थिए । काम गर्दागर्दै उनी आफ्नो नाडीघडी बराबर हेरिरहन्थे । एघारदेखि पाँच बजेसम्ममा उनले हजार चोटि त घडी हेरे होलान् । जसै घण्टाघरमा पाँच ट्वाङट्वाङ हान्यो, कैदबाट मुक्त भए डाक्टर गोदत्तप्रसादलाई लाग्यो । दङ्ग भएर उनी घर नगईकनै सरासर अष्टनारानका घरतिरको बाटो तताए ।
पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै ‘अहिले कस्तो छ ?’ भन्दै बिरामीको अगाडि बसे ।
डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचिसकेपछि बिहान लेखिदिएको इन्जेक्सन आफैँले दिए । अनि एकछिन केही नबोली गम्भीर मुद्रामा बिरामीको मुख हेरिरहे- बीचबीचमा एकाध सोधनी गर्दै डाक्टर गोदत्तप्रसाद बिरामीको अगाडि करिब एक घण्टा बसे होलान् ।
डाक्टर आउनुभन्दा अगाडि नानीथकुं आफ्ना बाबुको गोडा मिचिरहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद बिरामीको सिरानतिर बसेका हुनाले नानीथकुंको ठीक सामुन्ने पर्थे । त्यसैले नहेरे तापनि डाक्टर गोदत्तप्रसादले नानीथकुंको श्रीमुख देखिरहेका थिए, धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन अगाडि डाक्टर गोदत्तप्रसादले नानीथकुंतिर हेरेर भने- “धेरै गोडा मिच्नु पनि ठीक छैन नानी !”
डाक्टरले त्यति भन्नासाथ नानीथकुंले चट्ट हात थामिन् अनि ढोकातिर उभिन गइन् । एक चोटि नानीथकुंतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे । कोठाबाहिर पुगिसकेपछि अष्टनारानको परिवारका सारा सदस्य डाक्टरको अगाडि उभिए अनि डाक्टर गोदत्तप्रसादले बिस्तारै भने- “व्यथा अलि कडा हुँदै आएको छ, होस गर्नुहोस् है । तैपनि म जहाँसम्म सक्छु, कोसिस गर्न छाड्दिनँ र आस पनि गर्छु ।”
डाक्टर जान लागेको बेलामा शिवनारान फिस हातमा दिन अगाडि बढे । एकछिनपछि अनकनाएजस्तो गरेर डाक्टर गोदत्तप्रसादले भने- “निको नै गरूँ ।”
डाक्टर गोदत्तप्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित भएर लतमायाले भनिन्- “यो एक चोटि लिइहाल्नुहोस् डाक्टरसाहेब । अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन ।”
डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- “मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।” शिवनारानको फिस दिइरहेको हात पन्छाउँदै हिँड्न खोजीकन डाक्टरले भने- “भोलि बिहान ठीक आठ बजे आइपुगुँला । त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नुहोला, रातमा भए पनि म आउनेछु ।”
यति भनी डाक्टर गोदत्तप्रसाद हिँड्न लागे, दुई पाइला के गइसकेका थिए, फेरि फरक्क फर्केर नानीथकुंतिर हेरेर उनले भने- “अँ, धेरै गोडा मिच्ने काम पनि नगर्नुहोला है ! आजलाई पुग्यो ।”
लज्जापूर्ण भावमा नानीथकुंले ‘हओस्’ भन्ने सङ्केतमा केवल शिर हल्लाइन् ।
*****
पाँच
डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको बेला बिरामी अष्टनारान नसकीनसकी बोले- “होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा युवक पनि त होइन, पूरा आयु पुगिसकेको गरिब घरको बुढो बिरामी हुँदा डाक्टरलाई देखाएर ऋण लिईलिई यसरी खर्च गर्नु बुद्धिमानी होइन । आमाबाबुउपर छोराछोरीले श्रद्धाभक्ति गर्नैपर्छ, यो तिमीहरूले दिलैदेखि गरेको देखिहालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा एक दिन सबैले जानैपर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबूहो ! मेरो कुरा सुन, डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक ।
कसैले केही जबाफ नदिएको देखेर अष्टनारान फेरि बोले- “के मैले बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ?”
शिवनारानले भने- “डाक्टरले चाँडै निको हुन्छ भनेका छन् बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले नै ठीक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।”
अष्टनारानले सम्झाएको भावमा भने- “हाम्रा निम्ति थोरै नै धेरै छ बाबू ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।”
“हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !” शिवनारानले भने ।
“त्यसो भए डरलाग्दो कुरा छ बाबू ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरिदिएका पनि छैनन् ।” सशङ्कित भावमा अष्टनारानले भने ।
वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिवनारानको हृदयमा पनि शङ्काको बीजारोपण भयो तापनि आपत्मा काम दिएको हुनाले उनको गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिवनारानले आफ्ना पिताज्यू अष्टनारानलाई सम्झाएर भने- “डाक्टर गोदत्तप्रसाद सायद अगि खराबै थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।”
“ठीक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।” अष्टनारानले भने ।
“त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा सुर्ता लिनुपर्दैन, केवल मन खुसी पारेर बस्नुहोला ।” अलि नम्रतापूर्ण भावमा लतमायाले भनिन् ।
*****
छ
बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइसकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्टनारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परिदिएकाले उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।
अष्टनारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइसकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।
भोलिपल्ट बिहानको छ बजेतिर मात्र अष्टनारान बिउँझेछन्, बिउँझँदा उनले आफ्ना वरिपरि सबै छोराछोरी र जहान लतमाया पनि छरिएर बसिरहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परिरहेको थियो । पानी परिरहेका कारण अष्टनारानलाई ठन्डा भएर आनन्द लागिरहेको थियो ।
सर्वप्रथम उनले जेठा छोरा शिवनारानलाई सम्बोधन गरेर भने- “शिवनारान ! यतिका दिन भैसक्यो, खेतमा नगएर किन मलाई कुरिरहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नुपर्छ । बाबू ! असार बिग्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।”
मरणासन्न बावुको प्राणदायी कुरा सुनेर शिवनारान जिल्ल परेर बसिरहे । अनि फेरि अष्टनारान बोले- “किन चुप लागिरहेको शिव ? मैले गरेको कुरा तिमीलाई ठीक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबू ! यसलाई तिमी दीक्षा पनि सम्झ ।”
“धेरै नबोल्नुहोस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।” शिवनारानले भने ।
“डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्तअनुसार बोलिरहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबू !” अष्टनारानले अलि हाँस्न खोजेर भने ।
जबाफ दिएपछि र बोलिरहेपछि अष्टनारानको झन् बोलिरहने बानी थाहा पाएर शिवनारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने विचार गरे । एकछिनपछि शिवनारान त्यहाँबाट उठेर गए ।
शिवनारान गइसकेपछि अष्टनारानले माहिला छोरा पुननारानलाई भने- “तिमी पनि आफ्नो काममा जाऊ पुननारान ! घर बनाउने काम अब धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई कुरिरहनुपर्दैन । आफ्नो काममा डटिरह, यही तिम्रो परम कर्तव्य हो ।”
“हातखुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइरहिन्न । बाको सेवा गर्न पाए त्यस्ता काम त लाख आउँछन् ।” पुननारानले भने ।
अलि हाँसेर अष्टनारानले भने- “लाटा ! सधैँ नपाइने हुनाले नै मैले भनेको, त्यस्ता कुरालाई कुरिरहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले कुरिरहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि सक्तैनौ । हाम्रो यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन नसकेको ।”
बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुननारान पनि केही बोल्न सकेनन्, उनी चुप लागिरहे । अष्टनारान पनि एकछिन चुप लागे ।
अष्टनारान फेरि बोले- “भैगो लौ, मलाई नकुरिनहुने भए एक जना बस । जम्मैका जम्मै कामकाजै छोडेर कुरिरहनाको केही मतलब छैन । लौ जाऊ, हर्षनारान पनि जाऊ, नानीथकुं पनि जाऊ, मलाई कुर्नै परे जाँगर कमी भइसकेकी यही बुढिया बसिरहोस् । सबै किन बस्नुपरेको छ ?”
यति बोलिसकेपछि अष्टनारानलाई थकाइ लागेर आएजस्तो पनि भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसिरहेपछि फेरि अष्टनारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे गरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र त्यहाँ बसिरहिन् ।
*****
सात
डाक्टर गोदत्तप्रसाद ठीक आठ बजे आइपुगे । उनलाई देख्नासाथ अष्टनारानले एक चोटि नमिठो आँखाले पुलुक्क हेरे । बिरामीको हेराइ देखेर डाक्टर गोदत्तप्रसाद एकछिन टोलाए । एकछिन जिल्लिएर बिरामीतिर हेरिसकेपछि डाक्टर गोदत्तप्रसाद बिरामीको नाडी हेर्न थाले । नाडी हेरिसकेपछि छाती जाँचे । अनि बिरामीसँग सोधे- “आज तपाईंलाई कस्तो छ ?”
“अलि अप्ठ्यारो भएको छ ।” बिरामीले डाक्टरको अनुहार हेरेर भने ।
“धन्दा नमान्नोस्, केही हुन्न ।” अलि आश्वासनको भावमा डाक्टर गोदत्तप्रसादले भने ।
अष्टनारानले डाक्टरको मुख क्वारक्वारती हेरे, केही बोलेनन् । “केही खान मन लाग्छ ?” डाक्टरले सोधे ।
नकारात्मक भावमा अष्टनारानले टाउको हल्लाए ।
एकछिन चुपचापीले छायो । डाक्टरले बडो गौरसित बिरामीको प्रकृति अध्ययन गरिरहे । बिरामीले पनि डाक्टरको अनुहार एकटकसित हेरिरहे । यसरी समय करिब पाँच मिनेट बित्यो होला अनि एकाएक बिरामी अष्टनारान बोले- “डाक्टरसाहेब ! अब म कति दिन बाँचुँला ? आज सोमबारे औंसी परेको छ, कडा दिन छ !”
“यस्तो कुरा गर्नलाई के भएको छ र तपाईंलाई ? दुई दिन बिरामी हुँदैमा मानिस मरे भने त संसार चाँडै शून्य हुन्छ । मैले भनेजस्तो बस्नोस् न, अझ बिसासय वर्ष तपाईं बाँच्नुहुन्छ ।” डाक्टरले हाँस्तै भने ।
“तपाईं त्यस्तो भन्नुहुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला कि भोलि जाउँला जस्तो मैले देखिरहेको छ ।” शिथिल भावमा अष्टनारानले भने ।
“तपाईं निश्चिन्त हुनुहोस्, केही भएको छैन ।” यति भनेर डाक्टर गोदत्तप्रसाद जुरुक्क उठी बाहिरतिर गए । डाक्टर बाहिर जानासाथ लतमाया पनि डाक्टरलाई सत्कार गर्ने भावमा पछिपछि गइन् ।
अष्टनारानको कोठाबाहिर शिवनारान, पुननारान, हर्षनारान र नानीथकुं ढोकाबाट चियाएर डाक्टर गोदत्तप्रसादले भनेका कुरा सुनिरहेका थिए । डाक्टर गोदत्तप्रसादले उनीहरू सबैलाई पल्लो कोठामा लगेर भने- “व्यथा बढ्दै छ, मैले हेर्दा आजको दिन काट्न गाह्रै छ ।”
डाक्टर गोदत्तप्रसादले एकाएक यसो भन्दा सबैको होसहवास गुम भयो ।
अनि डाक्टर गोदत्तप्रसादले भने- “तपाईंहरूले अब यसरी चिन्ता गर्ने बेला छैन, जानुहोस् बिरामी कुरुवा बस्न गैहाल्नोस् । बेहोससेहोस केही पनि हुने छैन, बोल्दाबोल्दै घुत्रुक्क हुने रोग हो ।”
डाक्टरको कुरा सुनेर लतमायाले रुँदै भनिन्- “डाक्टरसाहेब ! कुनै उपायले पनि ठीक हुन सक्तैन ?”
“मेरो विचारमा त अब औषधी गर्नुसम्म पनि फजुल छ, किनभने व्यथा असाध्य भइसकेको छ । अब तपाईंहरूले एकछिन पनि नछाड्नुहोला ।” गम्भीरतापूर्वक डाक्टर गोदत्तप्रसादले भने ।
लतमायाले दुवै आँखाबाट बरबर आँसु चुहाइन् । नानीथकुंको आँखाबाट पनि आँसु टप्किहाल्यो । डाक्टर गोदत्तप्रसादले सम्झाएर बिरामीकहाँ कुरुवा बस्न पठाए । लतमाया र उनका सबै सन्तान एकएक गरेर बिरामी अष्टनारानको सेवाशुश्रूषामा उपस्थित हुन गए । उनीहरू सबैलाई सम्झाइबुझाइ गरी डाक्टर गोदत्तप्रसाद आफ्ना घरतिर फर्के । डाक्टरले जाने बेलामा भनेर गएका थिए- “भरेसम्म पनि यस्तै स्थिति रहिरहे बेलुकीतिर एक चोटि बोलाउन पठाउनुहोला ।”
डाक्टर गोदत्तप्रसादको भनाइ सुनेर सबै छटपटाए । डाक्टर जानासाथ लतमाया र उनका छोराछोरीहरू सबै हुल बाँधेर भित्र पसे ।
‘आफ्नो अर्ती सुनेर काममा गइसकेका छोराछोरीहरू किन फेरि एकाएक फर्केर मलाई कुर्न आएका हुन् ?’ अष्टनारानको चिरकाल रोगग्रस्त हृदयमा स्वास्स लाग्यो । एक चोटि क्वारक्वारती सबैलाई हेरे । अनि सहसा बोले- “किन तिमीहरू सबै एकै चोटि एकसाथ फर्केर आएका ? कि काममा जाँदै गएनौ ?”
अष्टनारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै गाह्रो र अप्ठ्यारो पर्यो । सबै बाबुको मुख हेरेर चुप लागिरहे ।
अनि फेरि अष्टनारान बोले- “लौ, तिमीहरू सबै भावुकताको वशमा परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य कामकर्तव्य (ड्युटी) लत्त्याइरहेछौ ।”
अष्टनारान बोलिरहेको देखेर लतमायाले बीचमा कुरा काटेर भनिन्- “अलि बेस भएर आएको बेला ‘धेरै बोल्न नदिनू’ भनेका छन् डाक्टरले ।”
“डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको छैन, बरु झन्झन् बिग्रँदै गएको देख्तछु ।” अष्टनारानले भने ।
अष्टनारानको यो कुराले लतमायालाई साह्रै चोट पर्यो । लतमायाको वेदना थाहा पाएर अष्टनारानले भने- “लतमाया ! जन्मेपछि मर्नुपर्छ, अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छयौ, यदि तिमी अगाडि मरे पनि त म विधुर हुन्छु, दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त असम्भवजस्तै कुरा हो । त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन लतमाया !”
बोलेकै सिलसिलामा अष्टनारानले छोराहरूतिर हेरेर भने- “मलाई जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दानदक्षिणा र काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका पुस्तौंपुस्ताका सन्तान-दरसन्तानले बाह्रै महिना आधा पेटको गुजारा पनि गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।”
तत्क्षणात् अष्टनारानको वाणी टक्कै रोकियो । अष्टनारानको यो स्थिति देखेर स्वास्नी, छोराछोरी सबै हडबडाउन थाले । उनीहरूको यो प्रकृति देखेर बोल्न असमर्थ भएका अष्टनारानले हातले सङ्केत गरेर धैर्यधारण गराए । तत्क्षणात् प्रकृति बदली अष्टनारानले छिटोछिटो चारैतिर आँखा घुमाएर हेर्न थाले । यस्तैमा एक-दुई हिक्का पनि आउन सुरु भयो अनि दुई मिनेट पनि नबित्तै अष्टनारानले सधैंका निम्ति आँखा चिम्ले ।
*****
आठ
अष्टनारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो । परिवार शोकविह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोकसन्तप्त भए । त्यसकै कारण अष्टनारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलिरह्यो
शोकसन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र टोलियाहरू आआफ्ना घर फर्के । दाहसंस्कारको कामका लागि गुठियारहरू पनि फाटफुट रूपमा आइसकेका थिए । तर शिवनारानलाई भने पिताको मृत्युले भएको वेदनाभन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । ‘अब कसरी दाहसंस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिवनारानलाई सर्पले डसेझैँ डस्न थाल्यो ।
शिवनारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई समेत पैसा थिएन । भएको दुई-चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्टनारानको औषधी खर्चमा सिद्धिसकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई-तीन पाथी चामल, पाँच-छ पाथी पिठो अनि बिस-पच्चिस धार्नी आलु बाँकी थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो ।
यो कुराको ताप र चिन्ता शिवनारानलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइरहेको थियो । गुठियारहरूको ताकेताले उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले ‘अब के गर्नु ?’ भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पिठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला छोरा पुननारानले दिए ।
“कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।” सुस्केरा लिंदै शिवनारानले भने ।
“हामी बेच्न जान नहुने किन ?” कान्छा हर्षनारानले भने ।
“बाबुको दाहसंस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?” शिवनारानले भने ।
“के गर्ने त अब, यस्तै पर्न आयो ।” पुननारानले भने ।
“गुठियारहरू सबै जम्मा भइसके । उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नुपर्ने कुरा ! साह्रै सर्म र बेइज्जत हुन जान्छ पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?” शिवनारानले भने ।
“के लाग्यो, सहनैपर्यो, अरू थोक उपाय नै के छ त ?” पुननारानले भने ।
“के गर्ने आमा ! यसै गरौं त ?” शिवनारानले लतमायासँग सोधे । लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु चुहाइरहिन् ।
बरबरती चुहिरहेको आँसु पुछ्तै नानीथकुंले भनिन्- “सबको अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त साह्रै नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान् ?”
“अरू के उपाय छ त भन न तिमी नै ?” शिवनारानले भने ।
“जुठो नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नैपर्छ । त्यतिन्जेल एकछाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनैपर्छ । अर्को कुरा भाइभताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानुपर्ने हुन्छ ।” वेदना सहँदै गम्भीरतापूर्वक नानीथकुंले भनिन् ।
“तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !” शिवनारानले अलि लामो सास फेरेर भने ।
“डाक्टर गोदत्तप्रसादले हामीमाथि सहानुभूति प्रकट गरिरहेको देखिन्छ । दिएको फिससमेत नलिईकन आफैं आई बालाई उनले त्यत्रो मिहिनेतसाथ औषधी गरिदिए, उनीसितै बिस-पच्चिस रुपियाँ सापट मागौँ कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्नेछन् ।” नानीथकुंले भनिन् ।
नानीथकुंको यो सल्लाह सुनेर शिवनारान, पुननारान, हर्षनारान, लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन् – “उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो ।”
“मलाई पनि अलि कस्तोकस्तो नै लाग्यो !” शिवनारानले भने ।
“अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तै खानु छैन, चाँडै तिरौंला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।” पुननारानले भने ।
“हुन्छ, हुन्छ, सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो । ‘भरे भोलि’ भनी पर्खने बेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइसक्यो ।” हर्षनारानले भने ।
एकछिन फेरि सब चुप लागे । अनि मनमन गौर गरिसकेपछि शिवनारानले भने- “के लाग्यो त, हुन्छ, डाक्टर गोदत्तप्रसादसँग सापट लिऔं । तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।”
“अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?” नानीथकुंले भनिन् ।
“हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔं, कसलाई पठाउने ? हामीमध्येबाट कोही जानु बेस होला ।” शिवनारानले भने ।
“हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।” नानीथकुंले भनिन् ।
“हुन्छ त, तिमीहरू जाओ । गइहाल त, अबेर गर्ने किन ! नदिए रोएर, बिन्तीभाउ गरेर पनि सापट लिएर आओ, अलि छिटोछिटो जाओ ।” शिवनारानले भने ।
शिवनारानको आज्ञा पाएर हर्षनारान र नानीथकुँ डाक्टर गोदत्तप्रसादकहाँ रुपियाँ सापट माग्न गए ।
*****
मरेको चार घण्टा भइसक्यो, अझसम्म केही सुरसार नभएको देखेर एउटा गुठियारले अलि फर्केर भन्यो- “शिवनारान । साह्रै अबेर भयो, के गर्न लाग्नुभएको यो तपाईंहरूले ? कहिले मुर्दा लैजाने, कहिले दाहसंस्कारको काम सिद्ध्याउने ? हुन त यस्तो अवस्थामा केही बोल्न ठीक छैन तर साराको कामकाज बर्बाद हुन लागिसक्यो, त्यसैले नबोल्न सकिनँ ।”
“सब ठीक हुन लाग्यो, एकछिन पर्खिदिनोस्, मालसामान जोरिँदै छ । के लाग्छ, जिउँदो छँदै मर्ने सम्झेर जोरजाम गर्नु भएन ।” शिवनारानले वेदना भरेको आवाजमा भने ।
“मेरो भनाइ त्यस्तो होइन, तर मरेको पनि त धेरै समय बितिसक्यो । यसरी धेरै बेर मुर्दालाई पर्खाइराख्नु पनि ठीक छैन । यसैले पनि हामीले ताकिता गरेका हौँ ।”
“तपाईंले भन्नुभएको कुरा मनासिब हो । बन्दोबस्त हुँदै छ, एकछिन तपाईंहरू नरिसाइदिनुहोला ।”
” होइन, कोही पनि रिसाएको छैन । यस्तो बेलामा पनि रिसाउने कस्तो मूर्ख होला ? अबेर भएर ताकितासम्म गरेका हौं ।”
“बरु अरथी बनाउनलाई बाँससाँस दिनोस्, दाउरासाउरा पनि ठीक गर्दै गरौँ ।” अर्को एक जना गुठियारले भने ।
घरमा भएका बाँसहरू खोजेर दिँदै- “अरथी बनाउँदै गर्नुहोला, दाउरा किन्न गएका छन्, एकै चोटि सबै तयार हुनेछ ।”
गुठियारहरू बाँस काटकुट गरी अरथी बनाउन थाले ।
*****
हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- “बालाई कस्तो छ ?”
डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्षनारानले तत्क्षणात् भने- “बा त गइसक्नुभयो ।”
“हँ ! राम ! राम !! कुन बेला ?” डाक्टर गोदत्तप्रसादले आश्चर्यचकित भएर शोकयुक्त स्वरमा सोधे ।
“अगि एघार बजेतिर ।”
“मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।” यहाँ किन आउनुभएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइसक्यो ?”
हर्षनारान र नानीथकं दुवै अनकनाएको देखेर डाक्टर गोदत्तप्रसादले फेरि भने- “भन्नुहोस्, केही भन्नु छ मसित ?”
हर्षनारानले बोल्न इसारा गरेपछि नानीथकुंले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्तप्रसादले आश्वासनको भावमा भने- “भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।”
डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुंले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो ।
अनि डाक्टर गोदत्तप्रसादले अझै आफन्तको भावमा भने- “किन लजाउनुपर्छ भन्या, मलाई परचक्री सम्झेकी ?”
हर्षनारान पनि लज्जाले मुन्टो निहुराएर उभिइरहेका थिए । यसपालि भने नानीथकुंले बल गरेर भनिहालिन्- “अलिकति रुपियाँ मागौं भनेर आएका हौं ।”
पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्तप्रसाद तत्क्षणात् बोले- “कति रुपियाँ चाहियो नानी ?”
“पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।” लज्जापूर्ण भावमा नानीथकुंले भनिन् ।
मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्तप्रसादले भने- “यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनुपर्छ ? मद्दत भनेको सबैसित सबैले लिनुपर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य मद्दत माग्नु पनि मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनुपर्छ ? चाहिए अझ अरू पनि मद्दत गर्न म तयार छु ।” नानीथकुंको हातमा रुपियाँ अर्पंदै उनले भने- “चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !”
नानीथकुंले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृतिसूचक टाउको हल्लाइन् ।
हर्षनारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभिरहे । लज्जावश रुपियाँ पाइसकेर पनि नानीथकुं र हर्षनारान जान सकेनन् । दुवै त्यसै उभिरहे ।
अनि डाक्टर गोदत्तप्रसादले उनीहरूभित्र उब्जिरहेको भाव जानी भने- “जानुहोस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनुहोस् ।”
डाक्टर गोदत्तप्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता जाहेर गर्दै त्यहाँबाट आए ।
*****
नौ
चलनअनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा भक्ति मात्र होइन, खानमा इच्छा पनि कसैको थिएन ।
भोलिपल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव हो । त्यसैले ‘सबै सबैलाई असल लाग्न सक्तैन’ भनेअनुसार अष्टनारान असल नलाग्ने टोलका एकाध मानिसहरूसमेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए । लोग्नेमानिस नभएका र मानिसअनुकूल नमिलेका घरका स्वास्नीमानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए । समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्टनारानको परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो ।
अष्टनारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार मानिस डाक्टर गोदत्तप्रसाद हुन् । उनी पनि अष्टनारानको निधन भएको भोलिपल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइपुगे । अरू सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर गोदत्तप्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक सान्त्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए, त्यसैले उनले अरूले भन्दा बढ्ता अष्टनारानको परिवारलाई धैर्य र सान्त्वना दिलाउन सके । गोदत्तप्रसाद पूरा एक घण्टा बसेर गए । उनले अष्टनारानकी धर्मपत्नी लतमायालाई पनि निकै सम्झाइबुझाइ गरी वेदना बिर्साइदिए ।
आफ्नो जाति र समाजमा भएको मर्दापर्दा दानदक्षिणा दिने र भोजभतेर खुवाउने इत्यादि करै लाग्ने चालचलनमाथि अष्टनारान घृणा र आलोचना मात्र गर्ने होइन, आक्रमण गरी उघाड नै खुवाई आइरहेका थिए। मर्दा नजिकका नाता, सम्बन्धीहरू रोएर बिचा: आउने प्रथालाई उनले बन्द गरिदिएका थिए । शिवनारान र उनका अरू भाइहरू पनि बाबुको क्रान्तिकारी विचारबाट प्रभावित थिए । यसैले उनीहरूले पनि बाबुको नाममा दानदक्षिणा दिने र भोजभतेर खुवाउने कुनै पनि काम गरेका थिएनन् । ‘बाबुप्रतिको हाम्रो परम श्रद्धा यही हो’ भन्ने उनीहरूको भनाइ थियो ।
पितृशोकको तेस्रो दिनदेखि शिवनारान आफ्नो खेतको कामधन्दामा हिँडे । ‘बाबुको सिद्धान्त पनि हमेसा आफ्नो कामकर्तव्यमा रुजु हाजिर भएर पूर्णत्व प्राप्त गर्नु हो, यसैले बाबुको मरण भनेर हामीले अकर्मण्य भएर बस्नु ठीक छैन’ भन्ने बोध गराई शिवनारानले भाइहरूलाई पनि आआफ्ना कामधन्दामा हाजिर गराउन पठाए ।
*****
दश
अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ खेतमा पुग्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिवनारानले अनुचित ठहर्याई आमालाई घरैमा आराम लिन लगाइराखेका थिए । उनले बहिनी नानीथकुंलाई पनि आमाको साथमा घरैमा राखेका थिए ।
आमाछोरी घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइराख्थे । मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिवनारानले लतमाया र नानीथकुंलाई पनि घरमा बसीबसी कपडा बुन्ने काम मिलाएका थिए । आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिवनारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको दिन आजपछि भोलि, भोलिपछि फेरि भोलि भएर गुज्रिरहेको थियो । तर अफसोस, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन ।
एक दिन लतमाया र नानीथकुं तानमा कपडा बुनिरहेका थिए । दिउँसो दुई बजेको थियो । रुमालले गालाका पसिना पुछ्तै सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । उनी सुब्बाको अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन जाने काम पनि तल्सिङका तर्फबाट रामबहादुर नै गर्दथे । रामबहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर रामबहादुरले भने- “आजकल देशी तान आइरहेको छ, ज्यादै नयाँ किसिमको, कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैय्यन् गज बुन्न सकिन्छ, त्यही किन न ।”
“कहाँ पाऊँ रुपियाँ ?” लतमायाले अलिकति हाँसेर भनिन् ।
“इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।” रामबहादुरले मुसुमुसु हाँस्तै भने ।
“त्यो पनि धनीहरूकै निम्ति हुन्छ, गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडिसकेँ ।” अलि मलिन भावमा लतमायाले भनिन् ।
“भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइदिन सक्तछु । सुब्बासाहेबसँग ऋण मागिदिउँला, त्यसैबाट कमाएर तिरिदेऊ ।”
“सुब्बासाहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त कहिले कसरी तिर्ने भइरहेछ, कुन मुखले फेरि रुपियाँ पैंचो माग्ने ?”
“म लिइदिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।” रामबहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर ‘हुन्छ’ भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने उनी सुब्बा सुरमानकी पटके ऋणी थिइन् ।
सफलताको छाया देखेर रामबहादुरले भने- “म सुब्बासाहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइदिनेछु । बडो गजबको सजिलो तान छ, मेसिनजस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ; चलाउन पनि बडो सजिलो, बल पनि कत्ति खर्च नहुने । क्या विज्ञानको चमत्कार ! क्या मान्छेको मगज !”
“तान मात्र भएर के गर्ने ? कसले सिकाइदिन्छ नि चलाउन, आफैं जानिन्न होला !” अलि खुसी भएको भावमा नानीथकुंले भनिन् ।
“केही पनि गाह्रो छैन चलाउन, नेपाली तानभन्दा पनि सजिलो छ, गुरु राख्नाको केही जरुरतै छैन, आफैं सिक्न सकिन्छ । जो पनि कुनै तान चलाइरहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।” रामबहादुरले सोरत्र भाव झिकेर भने ।
“सुब्बासाहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि छुच्चाजस्ता देखिन्छन् । आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा पच्चिस बढाएर कागज गरिदिएपछि बल्ल तिनले छोडेर गए। दुई पैसा फाइदाको लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले ‘चौटा खान गएकी बुढी झोलैमा डुबेर मरी’ गरिदिए भने ?” लतमायाले अलि गम्भीर भावमा भनिन् ।
“त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो कागज लेखाई ल्याएको हुनाले सुब्बासाहेब छोरादेखि ख्याल रिसाउनुभएको थियो ? त्यो कागज पनि सुब्बासाहेबले उनकै अगाडि च्यातचुत पारिसक्नुभैसक्यो ।” रामबहादुरले भने ।
“कागज च्याते पनि हामीले तिर्नुपर्ने कुरा तिरिहाल्छौं ।” लतमायाले भनिन् । “तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बासाहेबले पनि छोरामाथि त्यस्तरी रिसाएर कागज च्यातिदिनुभएको !”
“त्यस्तै असल भएको हुनाले पनि त सुब्बासाहेबको दिनपरदिन जय भइरहेको !” लतमायाले खुसी मानेर भनिन् ।
“सुब्बासाहेबले बालीको नाम पनि लिनुभएको छैन, सुब्बासाहेब त्यस्तो मानिस पनि होइन । भन, सुब्बासाहेबलाई बिन्तीभाउ गरेर पोहोरको बाली म माफी गरिदिऊँ ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनुहुने म देख्तछु ।…” आश्वस्त भावमा रामबहादुरले भने ।
“तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !” अलि विनीत भावमा लतमायाले भनिन् ।
“हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरिदिनेछु । लौ त है म जाऊँ पनि, भोलि तान बोकाएर आउनेछु ।”
“हवस्, साँच्ची के कुरालाई आउनुभएको हो कुन्नि ? कुरैकुरामा सोध्न पनि भुसुक्क बिर्सेछु !”
“केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ, यहाँसम्म आइसकेको हुनाले त्यसै पसेको ।’
‘लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आएजस्तो पो भयो ।’ भन्दै रामबहादुर सरासर हिँडे ।
*****
एघार
यता केही दिनदेखि शिवनारानको घरमा डाक्टर गोदत्तप्रसाद दिनदिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्लिहाल्थिन् । नानीथकुंचाहिँ भात खाने बेला नभएसम्म तानैमा बसी कपडा बुनिरहन्थिन् । आज पनि डाक्टर गोदत्तप्रसाद दिनहुँ पाँच बज्नासाथै टुप्लुक्क आइपुगे । नानीथकुं एक्लै तानमा कपडा बुनिरहेकी थिइन् । डाक्टर गोदत्तप्रसाद आउनासाथ नानीथकुंले स्वागतसत्कारको भाव जाहेर गरिन् । गोदत्तप्रसाद दिनहुँ आउने थाहा भएको हुनाले झ्यालको फलैँचामाथि परालको चकटी बिछाइराखिएको हुन्थ्यो । दिनहुँ डाक्टर गोदत्तप्रसादले आज पनि सोधे- “आमा खै नि ?”
“माथि भान्छामा ।” नानीथकुंले पनि दिनहुँ सरल उत्तर दिइन् ।
“दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलिरहने ? यो त पच्चिसै आना अन्याय भयो ।” अलिक ठट्टाको भावमा हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
अलि लज्जाको भावमा नानीथकुंले मुसुक्क हाँस्तै भनिन्- “कपडा बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानुभएको ।”
“निकै बाठी रहिछ्यौ तिमी, तान चलाउने काममा खेलको रस भरिएको हुन्छ, त्यो आफूले रोजेर धुवाँमा आँसु चुहाउनुपर्ने, एकदमै नरमाइलो र बोझा काम आमालाई, अझ त्यही सजिलो भनेर बिचरी बुढियालाई फुरुङ्ङ पारिराखेको ? कत्रो बठ्याइँ !” ठट्टाकै भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“मैले हो र, दाजुले नै भात पकाउन सजिलो भनेर आमालाई बाँड्नुभएको । तपाईंहरू जस्तो हुनेखाने भए पो बुढी भएको नातामा काम गर्न पर्दैनथ्यो, हामी गरिबको घरमा त बुढा र रोगी भएर पनि सुख छैन ।”
“वाह, वाह । तिमीहरूको हकमा, अझ विशेष गरेर तिम्रो दया तारिफ गर्नलायकको छ । अझ भोलिपर्सि तिमीले खेत कोरेर फूल रोप्नुभन्दा ढकी बोकेर फूल टिप्नु गाह्रो भन्नलाई पनि बेर छैन ।”
खित्त हाँसेर नानीथकुंले भनिन्- “भो, बाबा भो, आज एक दिनलाई माफ गर्नोस्, भोलिदेखि मै भात पकाउन जानेछु ।”
अलि सतर्क भावमा डाक्टर गोदत्तप्रसादले भने- “होइन ब्यारे, ठट्टा गरेकोसम्म हुँ, फेरि भोलिदेखि भात पकाउन गएर मलाई दर्शन नपाउने सजाय देउली नि !” अलि हाँसेर- “मेरो यो कुरा आफैँ पछुताउनुपर्ने मूर्ख कुरा हुन नजाओस् है, नानीथकुं !” लोलाएका आँखामा खिस्स हाँसेर “तिमीलाई ‘थकुं’ झिकेर म खालि ‘नानी’ मात्र भन्न सक्छु ?”
मुसुक्क मुस्कुराएर नानीथकुंले भनिन्- “किन ?”
”नानी’ मा भएको मिठास ‘थकुं’ ले अलि खल्लो पारेको छ ।” नानीथकुंले केही पनि जबाफ दिइनन् खालि सुन्दर कर्के आँखाले एक चोटि पुलुक्क मात्र हेरिन् ।
“रिसायौ कि ? तिमीलाई नमिठो लागे माफ गर, ‘नानीथकुं’ नै भन्ने गरुँला ।” खिस्स हाँसेर गोदत्तप्रसादले भने ।
यो पटकमा पनि नानीथकुंले जबाफ दिइनन्, केवल लजाएको आँखाले पुलुक्क मात्र हेरिन् ।
“मैले त तिमीलाई सम्मानको भावमा पो ‘नानी’ मात्र भनेको, ‘थकुं’ कट्टा गरेको तिमीलाई त्यति मन परेको रहेनछ !”
“अँ हो !” लज्जामिश्रित हाँस्तो अनुहारले नानीथकुं बोलिन् ।
“लौ लौ, तिम्रो प्राणझैँ मन परेको ‘थकुं’ लाई म खान्नँ, ‘नानीथकुं’ नै भन्ने गरुँला, अब त भो ?” आँखा नचाउँदै डाक्टर गोदत्तप्रसादले भने ।
“अँ हो !”
“अझ रिस मेटिएको छैन तिम्रो दिलमा ?” आँखा नचाएर डाक्टर गोदत्तप्रसादले भने ।
“अँ हो, रिसाएको ।”
“मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूलझैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्किरहन सकेको नि !” मुस्कुराइरहेको नानीथकुंको अनुहार नियाल्दै डाक्टर गोदत्तप्रसादले भने ।
“अँ हो !”
“होइन भने ‘नानी’ मात्रै भनूँ है त, ‘थकुं’ नभनूँ ?”
“हुन्छ ।”
“साँच्चै हो त ? ”
“हो ।” अलि लजाएको भावमा हाँसो चोर्दै- “मलाई पनि ‘नानी’ नै भन्ने मिठो लाग्छ ।”
“साँच्चै ? नढाँटीकन भन नि !”
“साँच्चै हो !”
“हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको ‘नानी’ सिवाय भन्दिनँ नि कहिल्यै !”
विनम्र भावमा मुस्कुराउँदै नानीथकुंले भनिन्- “अर्काको अगाडि त होइन नि !”
“बाठी !” प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्तप्रसादले भने- “मलाई के भन्न मन लाग्छ नि तिमीलाई, ‘गोदत्त’ मात्र कि, सिङ्गै नाम ?”
“डाक्टरसाहेब !” खित्त हाँसेर नानीथकुंले भनिन् ।
“कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?”
“डाक्टरसाहेब नै ।”
“नाइँ, नाइँ !”
“के भन्ने त ? ”
“त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई खालि ‘नानी’ मात्र भन्न मलाई मन लाग्छ ।”
“हो त ?”
“हो भनेको ।”
“रिसाउन पाइन्न नि !”
“रिसाएँ भने तिमीले जित्यौ, लौ भो अब ?”
“मैले जितेर के पाउँछु ?”.
“मलाई पाउँछ्यौ, अनि जे काम अराउन पनि नोकरलाई झैं ‘उठ् भने उठ्, बस् भने बस्’ भइदिन्छु ।”
“चाहन्नँ म कोही पनि ।”
“मलाई जित्न देऊ न त अनि त्यस जिताइमा तिमीलाई पाउने वाचा होस् अनि म हाँसुँला खुब खुसी भएर- चकोरले चन्द्रमा पाए, चातकले वृष्टि पाएझैं, कवि र कोइलीले वसन्त पाए अनि प्यासीले पानी पाएझैं आनन्दित हुँला ।”
“आफू हार्ने मूर्खता पनि कोही गर्ला ?” बसिरहेको ठाउँबाट उठी झ्यालबाट हेर्न जाँदै नानीथकुंले भनिन् ।
“म हार्छु भन्ने कबुल गर्दै छु, तिमी नै जित बाबा ! तिमी नै ।”
“जित्ने अभिमान पनि छैन ममा, तपाईंले जित्नुभयो भने के गराउने नि मलाई ? लडाइँमा हारेको कैदीलाई दुःख दिएझैँ दुःख दिने कि ?” झ्यालबाट फर्कंदै नानीथकुंले भनिन् ।
“मैले जितें भने, भनूँ त ?”
“भन्नुहोस् न लौ ।”
“तिम्रो मधुर कण्ठबाट एउटा मिठो गीत गाउन लाउने ।”
“अहो ! को गाइरहोस्, त्यसो भए मै जित्छु । मैले जितें भने त
तपाईंलाई गाउन लाउँदिनँ ।”
“के गराउने त ?”
“लाखेनाच नचाउँछु ।” खित्त हाँसेर नानीथकुंले भनिन् । “’लाखे’ हुँ र म ‘लाखेनाच’ नाच्नलाई ?”
“म चरी हुँ त गीत गाउनलाई ?”
“उ: क्या तिम्रो वाणी अर्थात् बोलीमा नै लय छ, मिठास छ, अनि पूरा सङ्गीतको प्रकार छ ।”
“तपाईंको अनुहारमा पनि झम्टिहाल्ला झैं लाखेको ‘पन’ छ, आँखा लाखेझैं उफ्रीउफ्री नाचिरहेको छ ।”
“तिमीले नै जित्यौ, लौ तिमीले नै, लौ त म लाखेनाच नाचूँ त ?”
“टुम्टुम् छयाँय् !” हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् ।
“अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।”
“के ?”
“’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले मलाई के भन्न चाहेको ?”
“हो त ? रिसाउन पाइन्न नि ?”
“हो हो लौ, रिसाउँदिनँ ।”
“नाइँ, तपाईं रिसाउनुहुन्छ ।”
“रिसाउँदिनँ भन्या’ तिमी मारे हत्या ।”
“भैगो लौ, अरू कुरा गर्नोस् ।”
“नभने म मारे हत्या ।”
“भनिहालूँ त ? तपाईंलाई…?”
नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन् ।
“अँ मलाई ?” डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए । “तपाईंलाई !” लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार पुलुक्क
हेरी अलि खिस्स हाँसेर – “तिमी भन्छु” नानीथकुंले भनिन् ।
“मोरी !” अँगाल्न हात बढाउँदै डाक्टर गोदत्तप्रसादले भने । “नकच्चरा !” फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुं छुट्टिइन् । डाक्टर गोदत्तप्रसाद मस्त भएर नानीथकुंको अनुहार हेर्दै हाँसिरहे । यत्तिकैमा माथिबाट “नानीथकुं ! भात खान आऊ” भन्ने सम्बोधन सुनियो । “लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?” नानीथकुंको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्तप्रसादले भने ।
“नबिर्सीकन !” अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् ।
*****
बाह्र
आज लतमाया र नानीथकुंले भात नखाँदै काममा गएका घरका सबै जहान एकै समयमा धमाधम घर आइपुगे । सबै आइपुगेका देखेर लतमाया र नानीथकुंले घरका सबै जहानलाई भात पस्कन थाले ।
सबैले भात खान लागेको बेलामा लतमायाले ‘सुब्बा सुरमानका मानिस आएका र उनले देशी तान किनेर मद्दत गर्नेबारे दिउँसो भएका सारा कुरा छोराहरूलाई बताइन् । पोहोर सालको बाली बाँकी भएको लेखाइराखेको तमसुक च्यातिदिइसकेको कुरा पनि भनिन् ।
ती कुरा सुनेर शिवनारानलाई अलि आश्चर्य लाग्यो । सुरमान सुब्बा अगि त्यस्तो उदार नभएको कुरा शिवनारानलाई राम्रै थाहा थियो । ‘पोहोर साल असार नराम्रो भएकाले बाली तिर्न नसक्ता कडिकडाउसाथ ताकिता गर्दै सयकड़ा पच्चिसको दरले बढाई तमसुक लेखाएर लिने दानव आज एकाएक कसरी देवता भएर निस्क्यो ?’ उनले अलि सोचिसकेपछि भने- “आमा ! तपाईंले मन्जुर नगर्नुपर्ने ।”
“हामी कति ठुला मानिस हौं र त्यत्रो ठुलो तल्सिङले यस्तो दया गरेकोमा तिरस्कार गर्न सक्छौं ? दिनेले दिन सक्छ भने लिनेले किन हटिरहने ?” लतमायाले भनिन् ।
शिवनारानले गम्भीरतापूर्वक ‘अँ अँ’ को रूपमा टाउको हल्लाए तर केही बोलेनन् ।
“पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गाह्रो छ ।” कृतज्ञताको भावमा लतमायाले भनिन् ।
“तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक च्यातिइसक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु छ र तिर्ने कबुल पनि गरिसकेका छौं ।” शिवनारानले भने
“त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा चित्त बुझेन दाइ !” पुननारानले भात खाँदै भने
“यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्तिअस्तिसम्म दैत्य भइरहेको मानिस आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।” गम्भीर मुद्रामा शिवनारानले भने ।
“त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?” लतमायाले अलि चित्त नबुझ्दो भावमा बोलिन् ।
“मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।” शिवनारानले भने ।
“डाक्टर गोदत्तप्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्यौं पनि ।” हर्षनारानले भने ।
“उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट थिचिसकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन । डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नुभएको थिएन ।” शिवनारानले चुठेको मुख पुछ्तै भने ।
‘डाक्टरको मद्दत मिठो नमानेको’ भनेको सुन्दा नानीथकुंलाई तितो लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन ।
*****
तेह्र
शिवनारान आफैँले तमाखु भरेर मस्तसित खाइरहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागिसकेको थियो । ठट्टाको भावमा उनी बोलिन्- “छिः कति मात्र तमाखु खाइरहन सकेको ! मिठो चिज भए पनि एउटा कुरा !”
“तिमीलाई मिठो नलागे के त, मलाई मिठो लागेको छ । तिमी सुत न मजासित कुम्भकर्णै बनेर !” शिवनारानले पनि ठट्टाकै भावमा भने ।
भर्न आँटेको तमाखु नभरीकन शिवनारानले भने- “लौ, लौ आजलाई सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।”
जिस्क्याएको भावमा हाकुमायाले भनिन्- “खाइरहनुहोस् न रातभरि नै, मैले किन कपाल दुखाइरहनुपरेको छ !”
हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिवनारान नाजबाफ भए । तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिरजबाफलाई बधाई दिएको भावमा हाँसेर छोप्न खोजे ।
सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- “होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नुभएको ?”
“हतारै के छ त ? पैसा पनि त हुनुपर्छ बिहे गर्नलाई !” साधारण भावमा शिवनारानले भने ।
“हो, उड्नलाई पखेटा नचलाइरहे त ।”
“किन ?”
“मैले त आज उनको नराम्रो कुरा सुनेँ ।”
“के सुन्यौ हँ ?” अलि झस्केको भावमा शिवनारानले भने । “आज साँझमा धारामा पानी लिन जाँदा पुन्वा दाजुकी स्वास्नीले भनेकी थिइन्- नानीथकुंको डाक्टरसित प्रेम छ रे !”
“को डाक्टर ?”
“अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका गोदत्तप्रसाद !”
लाजले हो कि रिसले हो, शिवनारान त्यति सुन्नासाथ केही प्रश्न नगरीकन चुप लागे ।
हाकुमायाले फेरि भनिन्- “त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे, घण्टौं ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नुभएकोमा त उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुंलाई अँगालेको पनि देखे रे, नानीथकुँ हाँसी रे !”
“साँच्ची हो रे ?” शिवनारानले भने ।
“साँच्चै हो । एक-दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनिरहन सकिनँ भन्थिन् ।”
“मलाई पनि अलिअलि शङ्का त अस्ति नै लागेको थियो ।”
“विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडिराखेको त उनीहरूलाई सोह्रमा तान्दा एक्का भयो ।”
“फिस नलिनु डरलाग्दो कुरा छ, ‘मलाई शङ्का लाग्छ, अब उनलाई नबोलाउनू’ भनी बाले त पहिल्यै भन्नुभएको थियो । बुढापाकाको कुरा सितिमिति फुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।”
“डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत होला । ‘आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू’ भनेझैं नानीथकुंलाई भोलिदेखि खेतैमा लगिराखे त कुरै मेटिन्छ- न रहे बाँस, न बजे बाँसुरी !” हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।
“त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुंलाई पनि म के गर्छु ?”
*****
चौध
भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । “भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।” शिवनारानले एक्कासि आदेश जाहेर गरेजस्तो गरी आमालाई भने ।
लतमाया एकछिन टोलाइन् र भनिन्- “किन ?”
“दिनहुँ डाक्टर गोदत्तप्रसाद आएर नानीथकुंसित ख्यालठट्टा गरिरहन्छन् भन्ने मैले सुनेँ ।” एकाएक शिवनारानले दिक्दारी भावमा भने ।
“यता केही दिनदेखि डाक्टर गोदत्तप्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरिरहेको मैले देखेकी छैन ।” लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।
“तपाईं माथि भात पकाइरहनुहुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नुहोला ?” शिवनारानले भने ।
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । “आजदेखि त्यसै गर्नुहोस् ।” शिवनारानले भने ।
अहिले पनि लतमाया चुप नै लागिरहिन् । तर उनलाई नानीथकुंदेखि अलि घृणा र डाक्टर गोदत्तप्रसाददेखि रिस उठेर आयो । एकैछिनपछि लतमायाले सोधिन्- “तिमीलाई यो कुरा कसले भनेको शिवनारान ?”
“जसले भने पनि भैगो, तर होसियारी त हामीले गर्नैपर्छ ।”
“यो कुरा त ठीक हो, तर नसहेर र अर्काको बदनाम गर्न पनि दुर्जनहरूले नचाहिँदो बकबास गरिदिन सक्छन् ।”
“तर जे भए पनि केही नराम्रो कुरा सुनियो, सकेसम्म सतर्क त हुनै पन्यो । बरु सतर्क र सावधान भएर हो/होइन बिस्तारै बुज्दै गरौंला ।”
“हो, तिमीले भनेको कुरा मनासिब छ । तर मलाई भनेर के हुन्छ, को हो त्यसो भन्ने ?”
“पुन्चाकी स्वास्नीले भनेकी रे ।”
“उसले कसलाई भनेकी रहिछ ?”
“बाबुचाकी आमालाई ।’
“जेठी बुहारीलाई नै भनेकी रहिछ ?”
“अँ !”
“बाबु मरेको दुई महिना भएको छैन, हेर छोरीको चाल ! साँच्चै हो भने हरेराम ! कसरी मैले छिमेकीहरूलाई मुख देखाउने ?”
“डाक्टर गोदत्तप्रसादलाई ठाडै ‘अबदेखि नआउनू’ पनि कसरी भन्ने ? त्यसो भन्नु पनि राम्रो कुरा होइन । तर उनी सकेसम्म आउँदै नआऊन् अथवा बहुतै कम आऊन्, यही अक्कल हामीले गर्नुपयो । तपाईं घरमा बसिरहने, त्यसैले तपाईं नै यसको पनि इन्तजाम गर्नुहोस् ।” शिवनारानले गम्भीर मुद्रामा भने ।
अबेर भइसकेको हुनाले यति भनी शिवनारान सबलाई लिएर खेतमा गए । जानुभन्दा अगाडि उनले लतमायालाई यो पनि भनेका थिए- “सुरमान सुब्बाले दिन खोजेको विदेशी तानको मद्दतलाई पनि स्वीकार नगर्नुहोला किनभने डाक्टर गोदत्तप्रसाद सुब्बा सुरमान पनि अगाडि असल मानिस थिएनन् । चलाख मानिसको स्वार्थ र धुर्त्याइँ असल कुराभित्रै लुकेको हुन्छ ।”
पन्ध्र
शिवनारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगिहाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै टोलाएटोलाए जस्तो हुँदै उनी आखिरमा तानकोठामा प्रवेश गरिन् । त्यहाँ नानीथकुं अगाडिदेखि नै पुगेर तान चलाउन लागिसकेकी थिइन् । लतमायाले पुन्चाकी स्वास्नीलाई हाँसेजस्तो गरी झ्यालमा हेर्न आएको देखिन् । उसलाई देख्नासाथ लतमायालाई लाज भएर आयो । अनि उनी एकछिन टोलाएझैं उभिई तानको आसनमा बसिन् ।
तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा जान सकेन । तानको आसनमा बसेर पनि तान नचलाईकन त्यसै बसिरहेको देखेर नानीथकुंले सोधिन्- “किन आमा ! आज तपाईं दिक्क जस्तो हुनुहुन्छ ?”
“खुसी हुने ठाउँ नै छैन मेरो ।” दिक्दारी भावमा नै लतमायाले भनिन् ।
यत्तिकैमा भर्याङमा मानिसहरू उक्लेको आवाज सुनियो । लतमाया र नानीथकुं दुवैले भर्याङतिर आएको आवाजप्रति उत्सुकतासाथ ध्यान दिएर हेर्न थाले । दुई जना भरियालाई विदेशी तान बोकाएर रामबहादुर उक्लेका देखिए ।
रामबहादुरले हिजो बसेको ठाउँमा बसी हाँस्तै भने- “हिजो मैले भनेको तान यही हो । हेर, कति मज्जाको छ ।”
“अँ !” अलि अप्रसन्न भावमा लतमायाले भनिन् ।
खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै रामबहादुरले भने- “यो तान चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।”
नानीथकुंले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै दृष्टिपात गरिनन् ।
त्यति भनेपछि रामबहादुरले भरियाहरूप्रति हेरेर भने- “लौ जाओ तिमीहरू, सुब्बासाहेबकहाँ गएर ज्याला लेओ ।”
भरियाहरू फर्कन नपाउँदै लतमायाले रामबहादुरतिर हेरेर भनिन्- “साहेब ! तान पनि फर्काइदिनुहोला ।”
“किन ? हिजो हुन्छ, ल्याइदिनोस् भनेर आज एक्कासि यस्तो कुरा ?” आश्चर्यका साथै शङ्कालाग्दो भावमा रामबहादुरले भने ।
“आफ्नो तान छँदै छ, बिनसित्ति अर्कालाई दुःख दिनु ठीक छैन भन्ने छोराहरूको भनाइ छ ।” लतमायाले भनिन् ।
“समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि नलिनू ? ठुलठुला सामन्तले त मद्दत लिनुपर्छ भने तिमी-हामी जस्ताको तुजुक अझ कति दिन टिक्न सक्ला ?” रामबहादुरले भने ।
“त्यसो त अहम् भावका कारण छोराहरूले ‘मद्दत लिन्नँ’ भनेका होइनन्, धेरैजसो मद्दतगारहरूले मद्दतको बाटो गरी मद्दत लिनेहरूको जिन्दगीमा हमला गरेर डराएका मात्रै हुन् ।” लतमायाले भनिन् ।
“हाम्रा सुब्बासाहेब त्यस कोटिका मानिस हुनुहुन्न । उहाँले त तिमीहरूलाई मद्दत गर्न धर्म देखेर साथसाथै अनिवार्य पनि भएको हुनाले मात्र मद्दत दिन खोज्नुभएको हो ।” रामबहादुरले आफन्ती भावमा भने ।
“उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको ?” लतमायाले सोधिन् ।
“ल, तिमीलाई थाहै होला नि । ‘आफन्त’ भन्ने नै चाहिन्न । ‘सम्बन्ध’ भनेको केही कुरा होइन भन्न मानिसले सक्ला ? त्यसैले आफूले सकेको सहायता उहाँले दिन खोज्नुभयो ।” रामबहादुरले भने ।
“तपाईंको भनाइ मैले केही पनि बुझ्न सकिनँ ।”
“त्यसो भए उता हिँड, म तिमीलाई बुझाइदिउँला ।”
लतमाया र रामबहादुर दुई जना पल्लो कोठामा गए । त्यहाँ पुगेर रामबहादुरले भने- “तिमीलाई थाहै होला नि, अष्टनारानले नानीथकुं हाम्रा सुब्बासाहेबलाई कन्यादान दिने वचन दिइसकेको छ । सुब्बासाहेबलाई नानीथकुं ज्यादै मन परेको पनि रहेछ । उसको हातबाट सुब्बासाहेबले भात पनि खान कबुल गर्नुभएको छ । यी सबै कुरा अष्टनारानलाई पनि मन परेर उसले दिन मन्जुर गरेको थियो ।”
“अहँ, मलाई त यो कुरा बिलकुलै थाहा छैन; उहाँले पनि कहिल्यै केही भन्नुभएको थिएन ।” अलि आश्चर्यमिश्रित भावमा लतमायाले भनिन् ।
“हुन सक्छ, अष्टनारानले भनेको थिएन होला, किनभने त्यो गम्भीर मानिस थियो । कसैलाई नभनीकन काम गर्ने उसको बानी थियो । तर जे भए, पनि लोग्ने हुन्, ‘मलाई बताएनन्’ भनेर रिसले लोग्नेको विरोधमा जानु स्वास्नीमानिसको धर्म होइन, यसलाई सम्झीबुझी तिमीले लोग्नेको वचन खेर नजाने गरी कर्तव्य पालन गर्नुपर्छ ।” रामबहादुरले भने ।
“होला र उहाँले वचन दिनुभएको ? त्यत्तिको उमेर फरक छ ।” लतमायाले अलि अविश्वासको भावमा भनिन् ।
“सत्ते हो हेर ! आज एकादशीको दिन, त्यसमाथि निधारमा पशुपतिको चन्दन र टाउकोमा गुह्येश्वरीको फूल लाइराखेको छु, इमानदार मान्छेले झुटो बोलेर नरकमा जाने साहस गर्न सक्ला र ? म त मामुली कारिन्दा भनुंला, त्यत्रो दर्जामा पुगिरहेका सुब्बासाहेबजस्ताले यस्तो कुरामा झुटो बोल्नुहोला ?” विश्वासलाग्दो भावमा रामबहादुरले भने ।
रामबहादुरको भनाइले लतमायालाई अलि विश्वास पायो । तैपनि लतमायालाई सुरमान सुब्बा बुढा भइसकेको राम्रै थाहा भएकाले अलि चित्त बुझेन र भनिन्- “नानीथकुं साह्रै कलिली छ, भर्खरै सत्रमा टेकेकी ।”
“सुब्बासाहेब पनि त बुढै भइसक्नुभएको छैन, सत्तरी होइन, साठी होइन सन्ताउन्न वर्षको भनेको त लोग्नेमानिसका लागि जवानीकै अवस्था छ । मानिसको उमेरमा पच्चिस र पचासको कुरा छैन, जो बलियो हुन्छ उही जवान हो । बल र फुर्ती छैन भने बिस वर्षकै पनि बुढो हुन्छ । म त भन्छु बरु तिम्री छोरी चाँडै बुढी होली तर सुब्बासाहेब अझ बिस वर्षपछि पनि त्यस्तै लायक हुनुहोला । मैले धेरै बयान गर्नु व्यर्थ छ, किनभने तिमीले नदेखे नचिनेका मानिस होइनन् ।” साधारण भावमा रामबहादुरले भने ।
रामबहादुरको कुरा खुब विश्वस्त भावमा लतमायाले सुनिरहेकी थिइन् ।
उनको कुरा लतमायालाई पनि पत्यार लाग्यो । उनलाई आफ्नो प्रभावमा आएको देखेर रामबहादुर मनमनै खुसी भएर बोले- “कसो, मेरो कुरा तिमीलाई पत्यार लागेन कि ?”
“किन नलाग्ने ? तपाईंले किन झुट बोल्नुहुन्थ्यो ? तर उहाँ श्रेष्ठ हुनुहुन्छ, यो पनि त अप्ठ्यारो कुरा छ ।”
“यसको फिक्री तिमीलाई किन ? सुब्बासाहेबको भन्दा तिम्रो जात ठुलो भए न तिम्रो निम्ति अप्ठ्यारो कुरा हो । त्यसै लगेर भित्रिनी मात्र गरिराख्ने भए पनि चित्त नबुदो कुरा हुने थियो । तर भातसमेत खाइदिने कबुल गर्नुहुन्छ भने तिम्रो र तिमीहरूका निम्ति अहोभाग्यको कुरा हो ।”
रामबहादुरको यो कुरा सुनेर लतमायाले एकछिन गौर गरिन् । उनले केही पनि जबाफ दिन नपाउँदै रामबहादुरले फेरि भने- “सुब्बासाहेबलाई दियौ भने तिम्री छोरीलाई मैले ‘तिमी’ भन्नसमेत नहुने हुन्छ, आज ‘तिमी’ भनिरहेको मानिसलाई भोलि ‘सुब्बिनीसाहेब’ भनेर सलाम गर्नुपर्ने हुन्छ, यो पनि एउटा गौरवको कुरा हो ।”
यो कुरा सुनेर लतमाया एक चोटि खिस्स हाँसिन् ।
“भएको कुरा गरेको हुँ मैले ।” रामबहादुर यही सिलसिलामा भन्दै गए- “सुब्बासाहेबबाट अनेक मद्दत पाएर तिमीहरूको दुःख पनि हट्छ । मैले हेर्दा त यो समाजका अगाडि राम्रो भएर आफ्नो दुःख पनि मेट्ने सौभाग्यको कुरा हो । यही देखेर त अष्टनारानले वचन दिएको होला, किनभने ऊ एउटा किसान भए पनि बुज़ुक मानिस थियो ।”
लतमायाले फेरि पनि जबाफ दिइनन्, सोचि नै रहिन् । आफ्नो चलाखी ठीक ठाउँमा परेको देखेर रामबहादुरले फेरि भने- “सुब्बासाहेबसित यो वैवाहिक सम्बन्ध जोड्न सकियो भने भोलिपर्सि तिम्रा सन्तानहरू पनि जागिरदार र पढैया भएर, इज्जतदार भएर आउनेछन् किनभने तिमीहरू सुब्बासाहेबका ससुरालीखलक हुनेछौ । मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको सास फेर्न औताइरहेकी लतमाया रामबहादुरको भनाइमा स्वर्गको मृगतृष्णा
देख्न थालिन् । उनलाई रामबहादुरको षड्यन्त्री प्रस्ताव र बुट्टादार कुरा मन्जुर भयो, तैपनि ‘हुन्छ’ नै भनेर सहसा स्वीकार गर्न लतमायाले आँट गर्न सकिनन् । त्यसैले उनले रामबहादुरलाई यति मात्र भनिन्- “छोराहरूसित पनि एक चोटि सल्लाह गरूँ।”
छोराहरूमा पनि अष्टनारानको स्वाभिमानी आत्माको छाया परेको छैन होला भन्ने रामबहादुरलाई विश्वास भएन । त्यसैले झट्ट रामबहादुरले भने- “छोराहरूसित सल्लाह गरेर तिमीले आफ्नो हक गुमाउने मूर्खता किन गर्ने ? तिमीले ‘हुन्छ म यस्तै गर्छु’ भनेपछि उनीहरूको के लाग्छ ? मेरो सल्लाह मान्छ्यौ भने उनीहरूसँग सल्लाह गरिरहने होइन कि ‘तिमीहरूको पिताज्यूको वचन गइसकेको हुनाले मैले पनि वचन दिइसकें’ भनी सरासर भनिदेऊ । उनीहरूले खिचोला गरे तिमीले कत्ति पनि धन्दा सुर्ता मान्नु पर्दैन, सुब्बासाहेबले तिम्रो पूरा बन्दोबस्त गरी सुखमा राख्नुहुनेछ ।”
लतमाया रामबहादुरतिर हेरेर केवल मुसुक्क हाँसिन्, उनले केही जबाफ दिइनन् । तर उनलाई रामबहादुरको सल्लाह मिठो लागिसकेको थियो । “मैले भनेजस्तै गर, अरू सब ठीक हुन्छ ।” जान खोज्दै रामबहादुरले भने ।
अहिले पनि लतमाया केवल मुसुक्क हाँसिन् ।
“है त, ‘हुन्छ भनी’ भनेर सुब्बासाहेबलाई भनिदिऊँ ?” रामबहादुरले फेरि भने ।
“पर्खनुहोस् !” लतमायाले अलि सङ्कुचित भावमा भनिन् । “त्यसो भए कहिले आऊँ त ?”
“आइरहनुहोस् न, तपाईंलाई के छ र !” लतमायाले हाँसेर जबाफ दिइन् । “लौ त्यसो भए म पर्सि नै आउँछु ।” लतमायाले केवल टाउको हल्लाएजस्तो गरिन् ।
रामबहादुर हाँस्तै सरासर गए ।
सोह्र
नानीथकुंलाई सुनाउन नहुने भएर रामबहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुंको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्- ‘घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि मलाई थाहा नदिनुपर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नुपर्ने जरुरत थिएन, गुठीगानाको भनूँ भने रामबहादुर कोही सम्बन्धी मानिस होइनन्; बन्द-व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनुपर्ने केही छैन; खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ-संस्था, दलविशेषको कुरा मानूँ भने आमा त्यस्ती मानिसै होइनन्, न त रामबहादुर नै त्यस किसिमका मानिस हुन् ।’
उनले अनेक सोचिन् तर आफूलाई अलग्ग राख्नुपर्ने कुनै कुरा पाइनन् ।
झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि ‘अरू कुनै कुरा होइन, कुरा मेरै विषयको होला, नत्र मलाई अलग्ग राख्नुपर्ने कारणै के छ र ?’
उनले फेरि सोचिन् – ‘मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ र मेरो विषयमा कुरा होला ? मैले के काम गरिराखेकी छु र ? राजनीतिमा मेरो हात छैन; सङ्घ- संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीं जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले थाहा नपाउने गरेर कुरा नै किन र के होला ?’
उनले फेरि सोचिन्- ‘म आफ्नो घरपरिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे जति छ परिवारको दुःखसुख कुरामा बराबर छु, केही फरक दशा र स्थितिमा छैन ।’
सबै यस्तै धेरै बेर अनेक कुरा सोचिसकेपछि नानीथकुंले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडिरहेको यौवन पाइन्; आफ्नो आङमा एकएक भागमा अटेसमटेस भई पुस्टिएर फुट्न खोजेको जवानी पाइन्; एकान्तमा हाँस्तै नाच्न बोलाइरहेको तिखो तारुण्य पाइन् र दुःख भुलेर सुखको बढ्ता अनुभव गराई जीवनमा पूर्णत्व प्रदान गराउने आत्मसात् साथी प्राप्त गर्ने उत्सुकता पाइन् । उनलाई शङ्का भयो कि उनकी आमाले सायद उनको यही यौवनसम्बन्धी कुरा गर्न लागेकी त होइनन् ? अनि उनी सुन्न जान तम्सिन् ।
अगाडिका अलिकतिबाहेक नानीथकुंले जम्मै कुरा सुनिसकेकी थिइन् । यो कुरा लतमाया र रामबहादुर दुवै जनालाई पत्तो भएन । त्यो कुरा रामबहादुरले पत्तो पाएका भए अझै उनले कुरामा फूल जड्ने थिए । हुन त नानीथकुंलाई यो कुरा मन परेको थिएन; किनभने उनको जवानीले डाक्टर गोदत्तप्रसादलाई अँगालिसकेको थियो, तैपनि उनको मनमा जवानीको उम्लाइ पोखिइरहेको हुनाले नानीथकुंलाई त्यो कुरा नमिठो लाग्न पनि सकेन । कान ठाडाठाडा पार्दै खुब चाख लिएर नानीथकुं एकएक कुरा सुनेर जवानीको आँच तापिरहेकी थिइन् ।
त्यसैले कुराकानी सिद्ध्याएर रामबहादुर गइसकेर आफ्नी आमा आफूतिर आइरहेको पनि उनलाई पत्तो भएन । लुकेर कुरा सुनिरहेका ठाउँमा आमा आइपुगेपछि मात्र झसङ भएर नानीथकुं तानकोठातिर लागिन् ।
हाँस्तै गएर लतमायाले ठट्टाको भावमा भनिन्- “कत्ति नलजाईकन आफ्नो बिहेको कुरा सुन्न आउन सकेकी नि नकच्चरी । लौ, पाथीभात खाएर मनभरि सुत्न सक् अब ।”
दबाउन कोसिस गर्दा पनि स्वभावतः आउन खोजेको हाँसो लुकाउन चेष्टा गर्दै नानीथकुंले लाजले मुन्टो निहुराइन् ।
लतमायाले ठट्टाकै भावमा फेरि भनिन्- “कुरा जम्मै सुनिहालेकी छयौ, अब तिमी तल्सिङ भएर हामी तिम्रा मोही हुन लागेका छौं ।”
“बिनसित्ति !” नानीथकुंले नखराउँदै भनिन् ।
यसपछि लतमायाले आफ्नी छोरीलाई भनिन्- “आजदेखि बेलुकीको भात तिमीले पकाउने गर, म तान चलाइरहुँला ।”
“किन आमा ?” अलि आश्चर्य भएर नानीथकुंले भनिन् ।
“मलाई भात पकाउन गाह्रो भयो ।”
“तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?” मायालु भावमा नानीथकुंले भनिन् ।
“केही पनि भएको छैन । भात पकाउन अलि गाह्रो लाग्यो ।”
यत्तिकैमा डाक्टर गोदत्तप्रसाद आइपुगे । उनलाई अगिअगि लतमाया र नानीथकुं आमाछोरी दुवैले स्वागतसत्कार गरे ।
“आज त सबेरै आउनुभयो ।” सत्कार गर्दागर्दै लतमायाले भनिन् ।
“आज बिदा छ ।” डाक्टरले भने ।
“ए !”
“आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।”
“यस्तै निगाह सधैँ राख्नुहोला डाक्टरसाहेब !”
“हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलिरहेको आवाज सुन्न र त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागिरहेछ ।”
“यो त ज्यादै असल कुरा हो डाक्टरसाहेब !”
“हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।”
“डाक्टरसाहेबले ज्यादै ठीक भन्नुभयो ।”
“म पनि अब यस्तै घरबुना कपडा लाउँछु । दौरासुरुवाललाई हुने एक थान कपडा बुनिदिनोस् न मलाई। चाहिएका सरजाम म आफैँ जुटाइदिन्छु ।” लतमाया खिस्स हाँसिन् । नानीथकुं पनि मुसुक्क हाँसिन् ।
“किन, तपाईंहरूले पत्त्याउनुभएन र ?” मुसुक्क हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
“किन, नपत्याउनु नि, तपाईंजस्ता बडादमीले बोल्नुभएको कुरा पनि नपत्याउन सक्छौं ?”
“होइन, तपाईंहरू हाँस्नुभएकाले पो मैले भनेको हुँ ।”
“हुन्छ, हुन्छ, जरुर बुनिदिउँला डाक्टरसाहेब !”
एक्कासि लतमायाले नानीथकुंलाई भनिन्- “जाऊ नानीथकुं ! भात पकाउन, आज शिवनारानहरू अलि चाँडै आउँछन् ।”
लतमायाको यो वाक्यले नानीथकुं र डाक्टर गोदत्तप्रसाद दुवैलाई ‘एक तीरले दुई सिकार’ भएजस्तो भयो । दुवैलाई साह्रै नमज्जा लाग्यो । दुवैलाई ‘लौ मार्यो !’ भइहाल्यो ।
यी सब हुँदाहुँदै पनि नानीथकुंले स्वाभाविक भावमा भनिन्- “किन, आमा भात पकाउन नजाने ?”
“भात पकाउन मलाई अलि गाह्रो लाग्यो । म तान बुनिरहन्छु, यही मलाई सजिलो लाग्यो ।” लतमायाले पनि स्वाभाविक तवरले भनिन् ।
“तान चलाउनुभन्दा त भात पकाउन सजिलो होला कि ?” नानीथकुंले भनिन् ।
मौका सम्झेर डाक्टर गोदत्तप्रसादले पनि भनिहाले- “हुन त हो, तान चलाउनुभन्दा भात पकाउन नै सजिलो होला ।”
“डाक्टरसाहेबले भन्नुभएको कुरा मनासिब छ, तर भात पकाउँदा ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।” लतमायाले भनिन् ।
“परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !” डाक्टर गोदत्तप्रसादले भने ।
“डाक्टरसाहेबले ‘हुँदैन’ भनेपछि जिद्दी नगर्नुहोस् आमा ! जानोस् तपाईं नै भात पकाउनुहोस् । तानको काम म गरिरहुँला ।” नानीथकुंले भनिन् ।
“होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै सकिनँ । तान चलाउँदा मलाई सुबिस्तै छ ।” लतमायाले भनिन् ।
नानीथकुंलाई पर्यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुं चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर वज्रपात हुन लागेकाले डाक्टर गोदत्तप्रसादले फेरि एक चोटि आखिरी बुद्धिचाल गोटी चाल्न लागे ।
नानीथकुं जान तम्सनासाथ झट्ट उनले भनिहाले- “तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो छ ।”
डाक्टर गोदत्तप्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्- “केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै सुबिस्ता छ ।”
यस पटक त पर्यो फसाद डाक्टर गोदत्तप्रसादलाई पनि । अब त चाईंचुइँ बोल्ने ठाउँ भएन उनलाई । त्यसैले डाक्टर गोदत्तप्रसाद केही पनि बोलेनन् ।
नानीथकुंको अनुपस्थितिले वा नानीथकुंसित बस्न नपाएर फर्केर आउनु साह्रै भद्दा काम नै भयो । त्यहाँ बसिरहनु पनि डाक्टर गोदत्तप्रसादलाई त्यति मज्जा भएन । तर भलादमीको नाममा उनले त्यहाँ बसि नै रहेर लतमायासित कुराकानी जारी गरिरहे । बीचबीचमा नानीथकुं कुनै न कुनै निहुँ गरेर आइरहने गरेकीले डाक्टर गोदत्तप्रसादलाई नमज्जामा पनि मज्जा लाग्न थाल्यो ।
डाक्टर गोदत्तप्रसादलाई भने नानीथकुंसित एकबाजि नभेटीकन कसरी जाने भइरह्यो । उनको एक चोटि दर्शन गरेर, उनलाई थाहा दिएर मात्र डाक्टर गोदत्तप्रसादले जान चाहेका थिए तर उनको त्यो मुराद पूरा हुन सकेन ।
आखिरमा मन नलाईनलाईकन डाक्टर गोदत्तप्रसाद जान लागे । जान लाग्दा उनले लतमायासित भने- “आज जान्छु, भोलि फेरि हाजिर हुँला ।”
“भैगो डाक्टरसाहेब ! यस्तरी फुर्सद नहुने मानिसले किन हामीजस्ताकहाँ बेकारमा कष्ट गरिरहनुहुन्छ ? चाहेको बेलामा बरु हामीले दुःख दिन छाड्ने छैनौं ।” मौका भेट्टाई लतमायाले भनिन् ।
“केको दुःख छ र मलाई यहाँ आइरहँदा ? बरु आनन्द लाग्छ ।” डाक्टर गोदत्तप्रसादले भने ।
“भैगो डाक्टरसाहेब ! बेकारमा तपाईं यसरी हामीकहाँ आइरहनुभयो भने हामीलाई पाप लाग्छ, किनभने तपाईं बिरामीहरूका देवता हुनाले एकछिन पनि तपाईंले यसरी बेकारमा समय बर्बाद गर्न हुँदैन ।”
लतमायाको कुरा साह्रै मनासिब लागेकाले अलि लाज मानेजस्तो गरी जाँदाजाँदै डाक्टर गोदत्तप्रसादले भने- “फुर्सदको मौका हेरेर आउने गरुँला ।”
सत्र
त्यस दिन शिवनारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्तप्रसादलाई भेट्टाइहाल्नुपर्छ भन्ने मनसाय गरी शिवनारान हत्तरपत्त फर्किरहेका थिए । नानीथकुंले भात पकाउन नगई लतमायाले नै साबिक भात पकाएको भए डाक्टर गोदत्तप्रसाद घरमा भेटिने पनि थिए ।
तर शिवनारानले डाक्टर गोदत्तप्रसादलाई आफ्नै घरमुनि भेट्टाए । डाक्टर गोदत्तप्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि ज्यालख्यालमा झुम्मिरहेका थिए । यो दृश्य पनि शिवनारानले आउँदाआउँदै देखे । यो देखेर उनलाई झन् झौंक चल्यो ।
शिवनारानले डाक्टर गोदत्तप्रसादलाई वास्तै गरेनन् । बरु डाक्टर गोदत्तप्रसाद नै अडेर शिवनारानसँग बोले- “आज त सबेरै आउनुभयो !”
शिवनारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिवनारानले ठीक देखेनन् । एकछिन के गरूँ, कसो गरुँ गरेर शिवनारान बोले- “अँ ।”
“धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनुभएको मौकामा एकछिन कुराकानी गरिहालूँ” भन्दै डाक्टर गोदत्तप्रसाद शिवनारानसाथ फेरि माथि आउन खोजे ।
शिवनारानलाई पर्यो फसाद । उनी भित्रभित्रै रिसले चुर भए तर केही भन्नु पनि असभ्यता हुने भयो । के गरूँ, के गरूँ, के भनँ, के भनूँ गर्दैमा झटपट शिवनारानले भने- “भैगो, फर्किसक्नुभएको मानिसले किन फेरि दुःख गर्ने !”
“केही दुःख छैन मलाई, तपाईंजस्तासित कुराकानी गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै सौभाग्य जीवनले पाइरहोस् न ।” मन्द मुस्काउँदै डाक्टर गोदत्तप्रसादले भने ।
शिवनारानले केही पनि भन्न सकेनन् । डाक्टर गोदत्तप्रसाद पनि शिवनारानसँगसँगै फेरि माथि उक्लन थाले ।
शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् फर्किसकेको डाक्टर गोदत्तप्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुईदुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइरहेकी नानीथकुं पनि जिल्ल परेर तल ओर्लिन् ।
डाक्टर गोदत्तप्रसादलाई देखेर त नानीथकुं मनमनै हाँसिन्, तर शिवनारान पनि साथै देख्ता नानीथकुंलाई अलि कस्तोकस्तो लाग्यो ।
शिवनारान सरासर तानकोठामै गए । लतमाया तान चलाइरहेकी थिइन् । एकछिन त्यसै उभिएर शिवनारान त्यहाँबाट सरासर आफ्नै कोठामा गए । डाक्टर गोदत्तप्रसाद तानकोठामा बसिरहे तर शिवनारान त्यहाँ आएनन् । धेरै बेर बस्ता पनि शिवनारान नआएपछि डाक्टर गोदत्तप्रसादलाई गजब लाग्यो ।
अब धेरै बसिरहनु ठीक नदेखेर डाक्टर गोदत्तप्रसाद जान खोजे तर उनी जानुभन्दा अगाडि एक चोटि शिवनारानलाई भेट्न पुगे । सहानुभूति प्रकट गर्दै डाक्टरले भने- “तपाईंलाई आज सन्चो भएन कि कसो ?”
“केही पनि भएको छैन ।” बडो गाह्रो मानीकन शिवनारानले बोले ।
“किन त चेहरा अलि मलिन छ नि ?”
खालि मुख बिगारेर शिवनारान एक शब्द पनि बोलेनन् ।
“शरीरमा केही असजिलो जस्तो भए भन्नुहोस्, म तुरुन्तै ठीक गरिदिउँला ।” डाक्टर गोदत्तप्रसादले बडो मायालु भावमा भने ।
“केही भएको छैन, तपाईं जानुहोस् ।” शिवनारानले भने ।
“कपाल दुख्यो कि ?”
“केही भएको छैन, तपाईंले दुःख गर्नुपर्ने कुरा केही छैन । तपाईं जानुभए पनि हुन्छ ।” अलि उपेक्षाको भावमा शिवनारानले भने ।
शिवनारानको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई ज्ञान भयो । अनि चुप लागी वाल्ल परेर डाक्टर गोदत्तप्रसाद त्यहाँबाट रमाना भए ।
डाक्टर गोदत्तप्रसादलाई देखेर शिवनारानलाई यति रिस बढिसकेको थियो कि न्वारानदेखिको बल झिक्ता पनि उनले थाम्न सकेनन् । यही रिसको
आवेशमा शिवनारानले भात खाँदाखाँदै लतमायासित सोधे- “होइन, डाक्टर दिनका दिन किन आइरहेको ? को बिरामी परेका छन् र हामीकहाँ त्यसले दिनका दिन आउनुपरेको छ ?”
“किन किन आइरहन्छन्, आइरहेका मानिसलाई त्यसै के भन्नु ?” लतमायाले भनिन् ।
“तैपनि काम न काज त्यसै किन आइरहने ? यो त म ठीक मान्दिनँ आमा !”
लतमायाले केही पनि जबाफ दिइनन् । डाक्टरप्रति शिवनारानको उपेक्षा भाव देखेर नानीथकुंले एकाएक मुख अँध्यारो पारिन् । एक्कासि शिवनारानको यस्तो कुरा सुनेर पुननारान, हर्षनारान पनि जिल्ल परे । “अर्काको घरमा काम न काज दिनका दिन आइरहने ?” शिवनारानले फेरि भने ।
“के कुरालाई लिएर तपाईं यसरी रिसाउनुभएको ?” पुननारानले सोधे ।
“हेर न, पाजी डाक्टर दिनका दिन हाम्रो घरमा त्यसै त्यसै आइरहेको आउनलाई पनि एउटा कारण चाहिन्छ नि !” शिवनारानले भने ।
“आउन त उनी अगिदेखि नै, बा बिरामी भएदेखि नै दिनका दिन आइरहेका छन् । अस्ति अस्ति तपाईं यसरी कहिल्यै पनि रिसाउनुहुन्नथ्यो, आज किन एक्कासि यसरी रिसाउनुभएको ?” पुननारानले सोधे ।
“हुन त उनी गिद्धेदृष्टि राखेर हामीकहाँ पसेका हुन् । उनको धूर्त नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता देखिरह्यौं, तैपनि अस्ति अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन ।” यति भन्दाभन्दै शिवनारान एक्कासि नानीथकुंप्रति झम्टन पुगे- “हेर नानीथकुं ! म साफ भनिदिन्छु, डाक्टरसित तिमीले कुराकानी गरी उनलाई आवतजावत गर्ने मौका दिइरह्यौ भने म ठीक मान्ने छैन ।”
शिवनारान यति रिसाएको नानीथकुंले अगाडि कहिल्यै देखेकी थिइनन् । यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठ कण्ठसम्म आइसकेको जबाफलाई पनि घुटुघुटु निलेर नानीथकुं एक शब्द नबोली चुप लागिरहिन् ।
तर शिवनारान बोलि नै रहे । भातको गाँस मुखमा हालेर पनि उनी कराइरहे । शिवनारान यति कराइरहे; पुननारानलाई अति लाग्यो । हर्षनारानलाई पनि दिक्क लाग्यो । यहाँसम्म कि शिवनारानकै स्वास्नी हाकुमायालाई समेत शिवनारान बढ्ता बोलिरहेको अनुभव हुन थाल्यो । एकोहोरो कराइरहेको देखेर उनले खिस्स हाँस्तै भनिन्- “भैगो नि, कति बोलिरहनुपरेको ! चुप लाग्नोस् ।”
“तिमी चुप लाग ! तिमीलाई बोल्न केही सरोकार छैन ।” अलि रिसाएको भावमा शिवनारानले भने ।
“अहो ! बोल्ने सरोकार पनि मलाई भएन ?” मुस्काएकै अनुहारमा हाकुमायाले भनिन् ।
“चुप लाग, एक शब्द नबोल, म जोइटिङ्ग्रे होइन कि जे पनि तिमीले भनेको मानिरहूँ र सहिरहूँ । म फेरि भन्छु, फेरि एक शब्द नबोल ।” आँखा र अनुहार दुवै रातो पारेर शिवनारानले भने ।
अहिले त हाकुमाया पनि डराइन् । शिवनारान यसरी दुर्वासा बनेको त हाकुमायाले कहिल्यै देखेकी थिइनन् । उनी झटपट चुठेर आफ्नो कोठामा गइन् । शिवनारान अझै पनि चुप लागेका थिएनन् ।
अनि पुननारानले भने- “भैगो नि, डाक्टरले अहिलेसम्म केही नराम्रो गरिसकेका त छैनन्, ‘अबदेखि नबोलाईकन नआउनुहोला’ भनिदिउँला, कुरै मेटियो ।”
“बचावट भनेको अगावै गरिसक्नुपर्छ, बिग्रिसकेपछि के बचाउने ?” शिवनारानले भने ।
“त्यही त म भन्छु ‘अबदेखि नआउनुहोला’ नै भनिपठाऔं !” पुननारानले भने ।
“आइरहेका मानिसलाई ठाडै नआउनू भन्नु सभ्य व्यवहार होला ?” हर्षनारानले भने ।
“यसो भए उसबाट हमला गराउन हामीले स्वागत गरिरहने ? बदमासी गराउन उसलाई हौसला गराइरहने ?” शिवनारानले जङ्गिएर भने ।
“काम न काजसित डाक्टर दिनहुँ आइरहनाले छरछिमेकमा हाम्रो ख्याल तितो पिरो आलोचना र टीकाटिप्पणी चलिरहेछ ? तरुनी छोरीबेटी भएको घरमा यसरी बिनाकाम कोही मानिस आइरहनु राम्रो कुरा होइन ।”
शिवनारान बोलिरहेका बेला पुननारानले नानीथकुंतिर हेरेर भने- “अबदेखि डाक्टर गोदत्तप्रसाद केही गरी आएका खण्डमा अथवा आइ नै रहे तापनि तिमीले उनीसित बिलकुल नबोल्नू, उनलाई वास्तासम्म पनि नगर्नू ।”
नानीथकुंलाई भन्दाभन्दै पुननारानले आफ्नी आमा लतमायालाई पनि भने- “डाक्टर आउँदा तपाईंले पनि वास्ता नगर्नू । केही दिन वास्ता नगरेपछि आफैँ कायल भएर आउन छोड्लान् ।”
भाइको साथ पाएर शिवनारानको थकालीपन झन् हौसलादार भयो । चुठ्न उठ्ताउठ्तै शिवनारानले नानीथकुंलाई सम्बोधन गरेर यहाँसम्म पनि भनिदिए- “हेर नानीथकुं ! भोलिदेखि डाक्टर यहाँ आइरहेको पाएँ भने म निको मान्ने छैन । उनको पनि म खुट्टा नभाँचीकन छोड्दिनँ ।”
शिवनारानको यो भनाइले नानीथकुंलाई पनि साह्रै झोंक चलेछ । सहन खोज्दा पनि उनले सहन सकिनन् र प्वाक्क बोलिहालिन्- “उनको घरमा खबर दिनुहोला, अनि उनी यहाँ आउन सक्तैनन्, नत्र उनी आएमा मेरो के दोष ? उनी आएमा मलाई सजाय किन ?”
“तिमी उसलाई आउन रोक्न सक्छ्यौ ।” शिवनारानले भने ।
“म कसैलाई रोक्न सक्तिनँ ।”
“भनिदेऊ न ‘अबदेखि तिमी यहाँ नआऊ रे’ मैले भनेको छ ।”
“त्यसो पनि म भन्न सक्तिनँ ।”
“तिमीले भन्नैपर्छ ।”
“कसरी मैले लोग्नेमानिससित त्यत्रो कडिकडाउ र जबरजस्ती कुरा गर्ने ?” अलि रुन्चे स्वरमा नानीथकुंले भनिन् ।
“हाँसीहाँसीकन ख्यालठट्टा गर्ने बेलामा भने ऊ लोग्नेमानिस भएन ?” ठुलठुला आँखा गरी शिवनारानले भने ।
शिवनारानको यो उक्ति नानीथकुंलाई बाणजस्तो भयो । रातोरातो आँखा गरी मुखभरि जबाफ लिएर नानीथकुंले शिवनारानप्रति हेर्न थालिन् । शिवनारान गर्जिरहे । नानीथकुं तर्सिइन् । रात छिप्पिँदै गयो । शिवनारान जुरुक्क उठे । उनी जसोतसो रिसलाई काबुमा राख्ने कोसिसमा लागे “बिस्तारै उनको रिस सितलो भयो। उनी निदाए । नानीथकुं छटपटाइरहिन् । उनी निदाइनन् ।
*****
अठार
बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइरहेका थिए तर ‘कपाल दुखेको छ’ भनी नानीथकुं भात खान गइनन् । ‘अलिकति भए पनि खाऊ’ भनी लतमायाले कति जिद्दी गर्दा पनि नानीथकुंले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमायाबाहेक अरू कसैले गरेनन् ।
बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । दिनहुँ लतमाया र नानीथकुं केवल दुई जना घरकुरुवा भइरहे । दिनहुँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुं आज तानकोठामा आउनसम्म पनि आइनन् ।
डाक्टर गोदत्तप्रसादको प्रेम नानीथकुंको यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइसकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुं यति प्रभावित भइसकेकी थिइन् कि डाक्टर गोदत्तप्रसादबाट प्रेमप्लावित हुँदाहुँदै उनीप्रति नानीथकुंको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइसकेको थियो । डाक्टर गोदत्तप्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुंको दिलमा घाउ गराउँथ्यो ।
त्यसै रोइरहनाले र भात नखाइरहनाले अनि सहिरहनाले र बसिरहनाले आफ्नो समस्या हल हुने नानीथकुंले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्तप्रसादकहाँ सरासर गइन् ।
डाक्टर गोदत्तप्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क परीक्षा गर्ने बेला थियो । नानीथकुं पुग्दा डाक्टर गोदत्तप्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरिरहेका थिए । बिरामी एक जना पनि थिएनन् । नानीथकुंलाई यसरी एकाएक पाएर डाक्टर गोदत्तप्रसाद हर्षले पुलकित भए । उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्तप्रसादले भने- “अहो नानीथकुं ! आज कत्रो निगाह !”
नानीथकुंले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइरहिन् । अनि झटपट उनी फेरि बोले- “नानीथकुं ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद है, म साह्रै कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?”
रोक्न चेष्टा गर्दा पनि नानीथकुंको आँखामा आँसुको छाया पर्न आइहाल्यो ।
नानीथकुंको यो दृश्य देखेर डाक्टर गोदत्तप्रसाद एकछिन जिल्ल परे ।
उनले सोधे- “किन नानीथकुं ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?”
“अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टरसाहेब !” अलि सुस्केरा भरेको आवाजमा नानीथकुंले भनिन् ।
“जबसम्म म तिम्रो कृपा कटाक्ष पाइरहन्छु, तबसम्म जीवनमा कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई घमन्ड छ नानीथकुं !” डाक्टर गोदत्तप्रसादले पूरा आश्वासन दिएर भने ।
“यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरिरहेकी छु, डाक्टरसाहेब !”
“नानीथकुं ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा आगमनमा केही कुरा कारण भएर बसिरहेको छ जस्तो मलाई लाग्यो ।” डाक्टर गोदत्तप्रसादले बडो मायालु भावनामा भने ।
“अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।” रुँदै नानीथकुंले भनिन् ।
“कुरा के पर्यो नानीथकुं ! प्रस्ट बुझ्न पाऊँ ?”
“अब तपाईं मकहाँ आउन नपाउने हुनुभयो ।”
“किन ?”
“जेठा दाइ तपाईंदेखि साह्रै रिसाउनुभएको छ । अब तपाईंलाई हामीकहाँ आउन नदिने रे !”
“किन ?”
“उहाँलाई सब थाहा भएछ ।”
“के थाहा भएछ ?”
“हामीहरूको प्रेम भएको सबै थाहा भएछ !”
“कसरी, कसले भन्यो रे ?”
“हामी दिनदिनै ख्यालठट्टा गरिरहन्छौं रे, तपाईं पनि दिनहुँ आउनुहुन्छ रे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् ।” नानीथकुंले वृत्तान्त भनिदिइन् ।
“अनि तिमीले के भन्यौ नि ?”
“रिसले भुतुक्क भएर पहिले त मैले पनि अलिअलि बोलेकी थिएँ तर झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठीक पनि लागेन ।” नानीथकुंले भनिन् ।
“म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?” अलि खिन्न भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“बिन्ती छ, तपाईं नआउनुहोस् ।” डराएको भावमा नानीथकुंले भनिन् ।
“त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै छोडिहाल्ने त ?”
“किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ, तपाईंले मलाई छोडि नै दिनुभए पनि म तपाईंलाई छोड्ने छैन । यो शरीरमा प्राण मात्र होइन, सास भएसम्म पनि तपाईंलाई छोड्दिनँ ।” ममतापूर्ण भावमा नानीथकुंले भनिन् ।
“के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन बुझाइरहने त ?” मायालु भावमै डाक्टर गोदत्तप्रसादले भने ।
“तपाईं मकहाँ नआउने भए म नै तपाईंकहाँ आइरहुँला । कि म पनि तपाईंकहाँ आउन सक्तिनँ ?”
“किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइरहने स्वतन्त्रता तिमीले पाइरहन सकौली ?”
“सोधेर र थाहा दिएर मैले किन आइरहनुपर्छ र ?”
“अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानीथकुं !”
“थाहा भए के त ।”
“आउन रोकिदेलान् ।”
“म पशु त होइन, बाँधिराख्न सक्लान् ?”
“मनाही गरिदिए भने तिमी के गछर्यौ ?”
“म मान्दिनँ ।”
“नमानेर के गछर्यौ ?”
“के तपाईंको मलाई शरण दिने विचार छैन त ?” अलि निराशापूर्ण भावमा नानीथकुंले भनिन् ।
“त्यसो भनेको होइन नानीथकुं ! शरण त के तिम्रा लागि म ज्यान दिन पनि तयार छु ।” आश्वस्त भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न, थुन्न सक्ला ? फगत मलाई तपाईंको प्रेमको चाहना छ । त्यही मैले पाएँ भने मलाई छेक्ने को ? संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने छैन ।”
नानीथकुंले यति भनेपछि डाक्टर गोदत्तप्रसाद एकछिन घुर्न थाले ।
अनि बाहिर घाम हेरेर नानीथकुंले भनिन्- “तपाईंलाई अबेर भयो कि ?”
“भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुं !” भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
“अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !”
“एक घण्टा मात्र के, तिमी चौबिसै घण्टा बस न नानीथकुं । फुर्सत कुन कुरा हो र ? बनाए छ, नबनाए छैन ।”
“अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानैपर्छ होला !”
“क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।” हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
डाक्टर गोदत्तप्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुंले भनिन्- “मलाई त घर जानै मन लागेन डाक्टरसाहेब !”
“तिमी मदेखि साह्रै खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुं ?” प्रेमपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नुभयो भने प्रेम गरिरहनुभएको छ भन्ने मलाई विश्वास हुन गाह्रो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको अदबले ठाउँ नपाओस् डाक्टरसाहेब !” मुस्काउँदै नानीथकुंले भनिन् ।
“बातपिच्छे ‘डाक्टरसाहेब, डाक्टरसाहेब’ को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?” व्यङ्ग्यमय भावमा डाक्टर गोदत्तप्रसादले भने ।
आफ्नो छेडले आफैँ लडी नानीथकुं सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।
“किन उता फर्केकी नानीथकुं ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?” डाक्टर गोदत्तप्रसादले व्यङ्ग्य हानेर भने ।
“हारेको हर्जाना के तिर्ने नि ?” मन्द मुस्कानमा नानीथकुंले भनिन् ।
“हारेकोमा हर्जाना ?”
“अँ ।”
“मैले भनेजस्तो एक चोटि हाँस न त ।”
“छि: भैगो डाक्टरसाहेब ! धेरै नजिस्क्याउनुहोस् ।” अलि नखराएको भावमा नानीथकुंले भनिन् ।
ल, फेरि ‘डाक्टरसाहेब ?’ कति ‘डाक्टरसाहेब’, ‘डाक्टरसाहेब ?’ ठट्यौलो अनुहारमा डाक्टर गोदत्तप्रसादले भने ।
“के भन्ने त ?” ठट्यौलो अनुहारले नानीथकुंले पनि सोधिन् ।
“बस गोदत्त ।”
“खालि गोदत्त ?”
“के त अब सिङ पुच्छर पनि जोड्नुपयो ?”
“तैपनि ठाडै ‘गोदत्त’ मात्र कसरी भन्ने ? नाइँ म त ‘गोदत्तसोदत्त’ केही पनि भन्दिनँ, ‘डाक्टरसाहेब’ नै भन्छु, त्यही सम्बोधन मलाई मिठो लाग्छ ।” मुसुक्क हाँसेर नानीथकुंले भनिन् ।
नानीथकुंको यो अन्तिम वाक्य सुनेर डाक्टर गोदत्तप्रसाद अनौठोसँग प्रभावित भए ।
डाक्टर गोदत्तप्रसादकी स्वास्नी रञ्जनादेवी सशङ्क भएर यिनीहरू दुई जना कुरा गरिरहेकोमा बराबर चेवा गरिरहेकी थिइन् । यिनीहरूलाई यसरी अब धेरै बेर कुरा गर्ने मौका पनि दिन भएन भन्ने पनि रञ्जनादेवीले विचार गरिन् । त्यसैले उनी वार्ता भङ्ग गराई नानीथकुंलाई चाँडै धपाई पठाउने अभिप्राय गरी सरासर डाक्टर गोदत्तप्रसादले बिरामी हेर्ने कोठामा आइन् ।
रञ्जनादेवी बिरामी हेर्ने कोठामा एक्कासि आएको देखेर डाक्टर गोदत्तप्रसाद र नानीथकुं दुवै जना झस्के । सहसा रञ्जनादेवीले यसरी आएर रङ्ग भङ्ग गरिदिएकीमा झोंक चले पनि गोदत्तप्रसादले केही भन्न सकेनन् । नम्र भावमा उनले रञ्जनादेवीसँग खालि यति मात्र भने- “किन रञ्जना ! भात पाकिसक्यो कि ?”
“भातले छोराछोरीसमेत पाइसक्यो, किन यस बेलासम्म पनि आज बिरामीकोठामा अल्झिरहनुभएको भनी बुझ्न आएकी ।” रञ्जनादेवीले भनिन् ।
“हिँड, जाँदै गर रञ्जना । म आउँछु।” डाक्टर गोदत्तप्रसादले भने ।
“आइहाल्नोस् त, आज झट्टै भान्छाको काम सकेर मलाई पनि एकछिन बाहिर जानु छ ।” रञ्जनादेवी गइन् ।
*****
उन्नाइस
डाक्टर गोदत्तप्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका छोपी रञ्जनादेवीले भनिन्- “होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलैपिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बडादमी भएर कस्तो चाला यो ? कसैले थाहा पाए के भन्ने होला ? यस्तो पनि बानी ! धेरै आँखा चिम्लिसकेँ, अब पनि आँखा चिम्लिरहनु त फसाद मोल्नु सम्झेर आज त भनिहालेकी – होस गर्नोस् है, टाउको फोरेर कमाइराखेको इज्जत पानी भएर नपोखियोस् ।”
“के ?” अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्तप्रसादले भने ।
“मलाई थाहा छैन ? तपाईंका एकएक कुरा मलाई थाहा छ ।”
“थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार ।” मुसुक्क हाँसेर गोदत्तप्रसादले भने ।
“नरिसाईकन मुसुमुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्, त्यस्ता मुसुमन्डलीले मानिसको ज्यान पनि लिन बेर छैन ।” अलि रिसाएको भावमा रञ्जनादेवीले भनिन् ।
“हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त बहुला कुकुर रिसाए रिसाएको तिमीलाई राम्रो लाग्छ त ? तिमी यस्तै नराम्रो बानी सिकाउँछयौ भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिन्नौ रञ्जना !” हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
“चुप लाग्नोस्, धेरै चिप्लो कुरा नगर्नोस्, मुख मिठो भएर के गर्ने, करनीले अर्काको कलेजा कटकट काटिसकेको छ । यसरी मिठो कुरा गरेर ढिलो मार्नुभन्दा बस, खुकुरीले एक चोटि छिनालिदिनु धेरै जाती देख्छु ।” अलि अफसोसको भावमा रञ्जनादेवीले भनिन् ।
“होइन, मैले तिमीउपर के अपराध गरेको छु र एकाएक आज ममाथि यत्रो प्रहार ?”
“केही गर्नुभएको छैन, फूल बिछ्याएर आनन्दसित सुत्न दिइराख्नुभएको छ । योभन्दा सुख अरू के होला ।”
“के दुःख दिएको छु त भन न, होस नभईकन केही दुःख पुऱ्याएको रहेछु भने समालुँला ।”
“किन दुःख दिनुहुन्थ्यो । तपाईंले पनि मलाई दुःख दिनुहोला ? दिनदिनै दूधभात ख्वाइराख्नुभएको छ- राम्रो, मसिनो, लत्ताकपडा लगाउन दिइराख्नुभएको छ, अनेक सुख सामग्री जुटाइराख्नुभएको छ । सारा भौतिक सुखले मलाई छोपिराख्नुभएको छ । तर तपाईंलाई थाहा छ ? यी सब भौतिक सुखलाई तुच्छ सम्झेर, तृणबराबर मानेर अर्कै एक विशेष सुख वा भोगलाई मात्रै स्वास्नीमान्छेहरू खास सुख सम्झन्छन् र मान्छन् । उनीहरू आफूमाथि प्रेम गर्नेलाई एकलौटी गर्न चाहन्छन् । आफ्नो हृदयका व्यक्तिलाई कसैले हेरेकोसम्म पनि देख्न चाहँदैनन् । तर अफसोस ! लोग्नेमानिसहरूले यसमा कृतज्ञता प्रकट नगरीकन उल्टो यसलाई आफ्नो अधिकार सम्झने भुल गरिरहेका छन् ।” बडो गम्भीर भएर आवेशपूर्ण भावमा रञ्जनादेवीले भनिन् ।
रञ्जनादेवीले त्यति लामो कुरा छेड्दा पनि डाक्टर गोदत्तप्रसादले चुइँक्क एक शब्द पनि बोलेनन् । सुनेकोनसुन्यै गरी खुरुखुरु भात खाइरहे । मानौं भातका साथसाथै रञ्जनादेवीले बोलेका कुराहरू पनि निलिरहेका छन् ।
डाक्टर गोदत्तप्रसादको थालमा भात पनि सकिनै लागिसकेको थियो, ‘आज यिनलाई कायल नगरी छाड्न हुन्न’ भन्ने विचार गरी रञ्जनादेवी फेरि बोल्न सुरिइन् ।
उनलाई यो पनि प्रतीत भएर आयो कि ‘गेडा नफुटेका मिठातिता लवजले मात्रै उनीबाट कुरा उकेलाउन सकिन्न, प्रस्टै सिधा कुराको डोरीले उनको बदमासीलाई बाँध्न सके मात्र उनले भएको कुरा बक्लान् ।’
यस्ता अनेक सम्भावना सोच्तै रञ्जनादेवीले भात खाइसक्नै लागेका डाक्टर गोदत्तप्रसादमाथि ठाडै हमला गरिन्- “बिरामी हेरी मानिसहरूको सेवा गर्नाका निम्ति तपाईं बिरामीकोठा खोलेर बसिरहनुभएको हो कि गालामा गुलाफ फुलेका तरुनीहरू फसाउन जाल थापिरहनुभएको हो ?”
रञ्जनादेवीको तीरसमान यो तिखो वाक्य सुनेर डाक्टर गोदत्तप्रसाद छटपटाउन थाले । भित्र पूरा बल सञ्चारित भएर पनि उनको आँखाले तोरीको फूल देख्न थाल्यो । सहसा अकमकिएर उनी बिनाप्यासमा पनि पानी पिएर बोल्न लागे- “के ?”
“के पनि कुनै प्रश्नको उत्तर हो ? मैले सोधिसकेकी छु कि तपाईं बिरामीकोठामा किन बसिरहनुभएको ?” अलि फर्केको भावमा रञ्जनादेवीले भनिन् ।
“बिरामी हेर्न ।” सरल भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“खुब हेर्नुभयो बिरामी !” रोषपूर्ण भावमा रञ्जनादेवीले फेरि भनिन्- “मलाई थाहा छैन ? एकएक देखेकी छु मैले, तपाईंको साधु भेषमा कृष्णलीला ! अगि आउने ‘नानीथकुं’ भन्ने किसान बालासित के गरिरहनुभएको ? कि उसमा अटाइनअटाई बगिरहेको उसको वर्षाकालीन यौवन यमुनादेखि मस्त भएर आफू एउटा बिरामी हेर्न बसिरहेको डाक्टर हुँ भन्ने नै बिर्सनुभयो ?”
रञ्जनादेवीको झम्टाइ सुनेर डाक्टर गोदत्तप्रसादले मुसुमुसु हाँसेर उनको मुख एक चोटि हेरे तर केही बोलेनन् ।
“अझ खिस्सखिस्स हाँसिरहन तपाईंलाई लाज छैन ? मानिसको शोभा र सभ्यताको रक्षा गर्ने कुरा लाज हो । मानिसमा लाजै छैन भने त्यस नाङ्गो मानिससित कसको के लाग्छ ? बरु ज्यानमारादेखि डर छैन, साहुमारादेखि बच्न सकिन्छ, तर मुसुमुसु हाँसीकन बिताउने हँसमारादेखि बच्न गाह्रो छ । यस्तो पनि भलादमी मानिसको ताल हो ?” रञ्जनादेवीले भनिन् ।
“के…?” त्यसै टारेर पठाउने भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“के के… के… भनिरहनुभको ? लाज छैन, सरम छैन, तीन तीन जना छोराछोरीको बाबु भैसकेर पनि, उसमाथि डाक्टरजस्तो भएर सितिमिति आजकल जवान मानिसले पनि नगर्ने गुन्ड्याइँ काम गरिरहने ?”
“तिमीजस्ती पढेलेखेकी स्वास्नीमान्छेले पनि अझ चेवाचर्चा गर्ने निर्घिनी काम गर्न सुहाउँछ ? चेवाचर्चा गर्ने बानी छउन्जेल जतिसुकै विद्याको उन्नति गरे पनि हामीले सुखशान्ति पाउन सक्तैनौं रञ्जना ! यस कुराको तिमीले खुब विचार गर विचार गर ।” अलि गम्भीर मुद्रामा डाक्टर गोदत्तप्रसादले भने ।
“वा ! ‘उल्टा चोर कोतवालको डाँटे !’ आफू बदमासी गर्ने, उल्टो अर्काको दोष खोज्ने ? छिः, यस्तरी पनि मानिस निर्लज्ज हुनु हुन्छ ?” अलि घृणाको भावमा रञ्जनादेवीले भनिन् ।
रञ्जनादेवीको ओठेजबाफले डाक्टर गोदत्तप्रसाद अवाक् भए । उनको मुख थुन्ने शक्ति डाक्टर गोदत्तप्रसादले आफूमा देखेनन् । अनि उनले आत्मसमर्पणको दाउ खेल्न सुरु गर्न थाले । ख्याल गर्दाको भावमा मुसुमुसु हाँस्तै डाक्टर गोदत्तप्रसादले भने- “उनले ठट्टा गर्न कुतकुत्याएपछि कसरी मैले लाछी भएर मुर्दा बनिरहने नि ?”
“त्यसो भए कसैले मसँग ठट्टा गर्न कुतकुत्याएमा बहादुर भएर मैले पनि अगाडि बढ्ने त ? त्यसरी म जिउँदो भएर निस्केमा भन्नुहोस् त तपाईंलाई मन पर्छ ?” बाघ झम्टाइमा रञ्जनादेवीले भनिन् ।
“बोल्नोस्, तपाईंकी स्वास्नीलाई कसैले ठट्टा गर्न कुतकुत्याएकोमा चाख मानेर जिस्किन तपाईंलाई एकदम मन पर्दैन भने कुनै नवयुवती ठिटीले ठट्टा गर्न कुतकुत्याएकोमा मेरो लोग्ने कुखुरी काँ गरेर दौडन पुगेको मलाई मन्जुर होला ?” चेहरा मुस्कुराउँदै रञ्जनादेवीले भनिन् ।
“मेरो कुरालाई त्यसै लऱ्याकलुरुक पारी हाँसोमा उडाएर जान पाइन्न, सफा जबाफ दिनोस् तपाईंको के विचार छ ?” चुठेर भाग्न लागेका डाक्टर गोदत्तप्रसादलाई राम्ररी सुनाएर रञ्जनादेवीले भनिन् ।
*****
बिस
डाक्टर गोदत्तप्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जनादेवीले नानीथकुंलाई बोलाउन पठाइन् । उनले सोचिन्- ‘नहुनुपर्ने कुरा भइरहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइरहला, सुख अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो डढेलोमा सुकेका पात सल्केर गएझैं जान सक्छ ।’ यही सोचविचारको निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुंलाई बोलाउन पठाएकी हुन् ।
डाक्टर गोदत्तप्रसादको घरको कुकुर पनि नानीथकुंलाई देवतासिद्ध भइरहेको थियो ! त्यसैले ‘आउनू’ भन्ने सन्देश पाउनासाथ फाल हालेर नानीथकुं डाक्टर गोंदत्तप्रसादको घर पुगिन् ।
तुरुन्तै आइदिँदा बडो खुसी भएर रञ्जनादेवीले नानीथकुंलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुंको मनमा अनेक तर्क-वितर्क उठ्न थाल्यो । तर बाहिरबाहिर खुब समालेर उनी रञ्जनादेवीसँगै हाँस्तै आफूलाई लगेको कोठामा गइन् ।
रञ्जनादेवीले भनिन्- “नानीथकुं ! तिमी त सिधासाधा किसानकी सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।”
रञ्जनादेवीको यो कुराले साँच्चीकै सिधीसोफी नानीथकुं जिल्ल परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।
रञ्जनादेवीले फेरि भनिन्- “किसानको जीवन वास्तवमा दुःखी भएर पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैं तितोपनमा डुबिरहेको हुन्छ, ठीक त्यसको उल्टो तिमीहरूको किसानी जीवनचाहिँ हेर्दा दुःखी देखिन्छ तापनि सधैँ सुखशान्तिको इन्द्रेनी दौडिरहेको हुन्छ ।”
बिचरी किसान बालिका नानीथकुंले बनारस विश्वविद्यालयमा आई. ए. सेकेन्ड इयरसम्म पढेकी रञ्जनादेवीको कवितामय कुरो के बुझ्न सक्थिन् ? खालि पक्क परेर सुनिरहिन् ।
रञ्जनादेवीले सोधिन्- “तिमी बिरामी भएर जँचाउन आएकी मानिस अगि किन डाक्टरसाहेबसँग ख्यालठट्टा गरिरहेकी ? परपुरुषसित स्वास्नीमान्छेले त्यसरी ख्यालठट्टा गर्नु ठीक छ ? स्वास्नीमान्छेको इज्जत स्वास्नीमान्छेले नै राख्न जान्नुपर्छ । यसरी सस्तो र खैराँती हुनु हुन्न, नानीथकुं !”
रञ्जनादेवीले फेरि भनिन्- “त्यस्ता तीनवटा छोराछोरीका बाबु, कपालमा जौतिल पाकिसकेका बुढासित पनि तिमीजस्ती भरभराउँदी तरुनीले प्रेम गर्ने ? ‘जात फ्याँक्नु गहतको झोलमा’ भनेको यही हो ।”
रञ्जनादेवीका एक एक शब्द नानीथकुंले खुब ध्यान दिएर सुनिरहिन्, तर एक शब्दको पनि जबाफ दिइनन् । अनि रञ्जनादेवीले अर्कै किसिमबाट भन्न थालिन् । आफ्नो भनाइमा उनी भएभरको शक्ति र बुद्धि खन्याउन लागिन्- “हामी स्वास्नीमान्छेले आफ्नो जीवन भोगका निम्ति अर्पनु हुँदैन; हामी कुनै लोग्नेमानिसको भोगका निम्ति जन्मेका वा सिर्जेका जीव होइनौं । हाम्रो उमेरमा यौवन छ, हाम्रो गालामा रगत छ, हाम्रो ओठमा पानी छ, हाम्रो शरीरमा सौन्दर्य छ, हाम्रो चेहरामा मुस्कान छ, हाम्रो वाणीमा माधुरी छ, हाम्रो हेराइमा लालित्य छ, हाम्रा प्रत्येक अङ्गप्रत्यङ्गमा हिसी छ । के लोग्नेमान्छेलाई भोगाउनका लागि ती सबै गुण हामीले पाएका हौं ? कदापि होइन, ती सबै गुण हामीले हाम्रै निम्ति पाएका हौं ।”
रञ्जनादेवीले बोलेका यी सब कुरा सुनेर नानीथकुं निहुरिरहेकी थिइन् । उनले फेरि भनिन्- “किन नानीथकुं ! एक शब्द पनि तिमीले बोलिनौ ? मैले भनेको कुरा तिमीलाई ठीक लागेन ? तिमीलाई मन परेन ? भन, मेरो भनाइ तिमीलाई कस्तो लाग्यो ? ठीक लाग्यो कि बेठीक ?”
नानीथकुं केवल एक चोटि मुसुक्क हाँसिन्, तर एक शब्द पनि बोलिनन् ।
“भन न, आफूलाई लागेको कुरा बोल्नुपर्छ, नत्र आफैँलाई धोका हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।” अलि मुसुक्क हाँसेर रञ्जनादेवीले भनिन् ।
नानीथकुंले केही पनि भनिनन् खालि गम्भीर भावमा मुसुमुसु हाँसिरहिन् अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर रञ्जनादेवीले भनिन्- “तिमी मेरो आफ्नो जातिकी मानिस हुनाले मेरो नातेदार हौ । हरेक स्वास्नीमान्छेले दुनियाँभरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके पनि कमसेकम स्वास्नीमान्छेको इज्जत र गौरवको मात्र ख्याल राख्न सके पनि दुनियाँमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र होइन, बाटोबाटोमा सुख हाँसिरहेको हामी पाउनेछौं । तसर्थ नानीथकुं ! तिमी नारी भएर नारीको मूल्य पहिचान गर, नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको मूल्यमा निर्भर छ । भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख मात्र प्राप्त हुन सक्छ, तर नारीको चरित्र पाउनाले मानिसको जीवनमा अलौकिक आनन्द आउँछ । त्यसैले सभ्यताको मापदण्ड भौतिक उन्नति वा विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो । नारीको चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ, त्यस्ता ठाउँमा नै हौसला फुल्न आइरहन्छ, फुर्ती मुस्कुराइरहन्छ र अभिमान बाँचिरहन्छ ।”
रञ्जनादेवीले यति कुरा छाँटिसकेपछि बल्ल मुन्टो उठाएर नानीथकुं बोलिन्- “तपाईंको कुरा ज्यादै राम्रो छ, जति सुने पनि पेट नभर्ने, अझ सुनिरहूँ जस्तो लाग्छ । तर मलाई यो पनि गजब लागिरहेको छ कि तपाईंले मलाई बोलाउन पठाएर किन यो सब कुरा गरिरहनुभएको हो ?”
“तिमी बिग्रन आँटेको देखेर।” बडो मायालु भावमा गम्भीर भएर रञ्जनादेवीले भनिन् ।
“म किन बिग्रन्छु ? मैले के बिग्रने काम गरेकी छु ?” नानीथकुंले विनम्र भावमा भनिन् ।
हाँस्तै नानीथकुंको चिउँडो समातेर रञ्जनादेवीले फेरि भनिन्- “लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरिरहेकी हुँ र ?”
नानीथकुं फेरि मौन हुन लागेकी देखेर रञ्जनादेवी फेरि बोलिन्- “डाक्टरसाहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानीथकुं ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ ।”
नानीथकुं फेरि अगिजस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जनादेवीले भनिन्- “जाऊ, मैले तिम्रो धेरै समय लिइदिएँ । मैले भनेको कुरा कत्तिको ठीक-बेठीक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्ता पनि खुब गुनेर हेर्नू । ठीक लागे तिमीलाई नै सुख हुन्छ, बेठीक लागे तिम्रो दशा बिग्रेको म सकुँला । तर नानीथकुं ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।”
नानीथकुं रातो मुख लाएर सरासर गइन् ।
*****
एक्काइस
नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन खलबल पारिदियो । डाक्टर गोदत्तप्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा दृश्यले आफूलाई गिज्याइरहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गाजस्तो साह्रो उनलाई मालुम भयो । फेरि जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजेजस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागेजस्तो लाग्यो ।
केही नलागेर नानीथकुं माथि गइन् । लतमाया तानकोठामा बसी तान चलाइरहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्यो । “आज मलाई बिघ्नै कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुतिरहेकी थिएँ ।” नानीथकुंले भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्तप्रसादकहाँ गएको बिलकुल थाहा भएन, उनी पत्याइरहेकी थिइन् ।
चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर नानीथकुंले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान चलाउँदाचलाउँदै नानीथकुंलाई घरी डाक्टर गोदत्तप्रसादउपरको प्रेम नै वियोगमा रुन मन लाग्ने, घरी रञ्जनादेवीले भनेको कुरा ‘हो’ प्रतीत भएर पछुताउ लागेर आउने, घरी शिवनारानको डर लागेर आउने; यस्तै अनेक अन्तर्द्वन्द्व नानीथकुँको मनभित्र चल्न थाल्यो । प्रेमले उनलाई तुरुन्तै डाक्टर गोदत्तप्रसादकहाँ दौडाउन खोज्ने, सामाजिक परम्पराले समाजका सम्पूर्ण चित्र आँखाअगाडि नचाइदिने जस्ता अन्तर्द्वन्द्वको अगाडि बिचरी नानीथकुंको केही लागेन । तानमा मन नडुबेको हुनाले बुन्नुको सट्टा धागो अल्झेर बिग्रने मात्र भइरह्यो अनि त्यहाँबाट पनि जुरुक्क उठेर नानीथकुं जान खोजिन् । नानीथकुंको यो अभूतपूर्व परिस्थिति देखेर लतमायाले भनिन्- “के भयो, नानीथकुं ! आज तिमीलाई कपाल दुखेको मात्र होइन, अलि दिक्दार पनि देखिन्छयौ ?”
“केही भएको छैन अरू थोक त, तर अगिभन्दा पनि अहिले झन् कपाल दुखेर आयो आमा ! जान्छु म पल्टन एकछिन फेरि ।” नानीथकुं फेरि कोठामा सरासर गइन् र बिछ्यौनामा पल्टिन् ।
उता डाक्टर गोदत्तप्रसादको पनि उही हालत । नानीथकुंलाई एक बजेको समय दिएको भए तापनि कुनै जरुरी विशेष काम आइपर्दा उनले दुई घण्टा बढी अस्पतालमा अलमलिनुपरेको थियो । एक बजेको ठाउँमा तीन बजिसक्यो, छटपटाएर उनी कुद्दै घर आए । घर आउँछन् त नानीथकुं नदारत । रञ्जनादेवीसँग त सोध्नै भएन । नसोधेजस्तो गरी उनले घरमा नोकरचाकरहरूबाट नानीथकुं आएर घण्टौं बसेर गएको खबर पत्ता लगाए । अनि त झन् उनको मनमा बेमज्जा बढ्यो । किताब, अखबार पढेर दिक्दारी बिर्साउन खोजे तर पढ्नमा ज्यान गए पनि मनै गएन ।
यत्तिकैमा रञ्जनादेवीले दिउँसोको खानेकुरा ल्याएर डाक्टर गोदत्तप्रसादको अगाडि राखिदिइन् । खान पनि डाक्टर गोदत्तप्रसादलाई बिलकुलै मन लागेको थिएन तर रञ्जनादेवीको डरले, उनले केही भन्लिन् भन्ने सम्झेर मन नलागे तापनि कोचीकोचीकन उनले खानेकुरा खाए । खाना उनलाई ज्यादै नमिठो लागेको थियो ।
खानपिन गरी जेसुकै होस् भन्ने मनमा राखी डाक्टर गोदत्तप्रसाद सरासर नानीथकुंको घरमा लम्कँदै गए ।
डाक्टर गोदत्तप्रसाद नानीथकुंको घरमा पुगे । नानीथकुंले उनको हिँडाइको आवाजसमेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ उक्लनासाथ डाक्टर गोदत्तप्रसाद आएको नानीथकुंले चाल पाइन् अनि दौडेर गई नानीथकुंले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्तप्रसादलाई उनले कोठामा लगिन् र बिस्तारै भनिन्- “किन आउनुभएको ? तपाईं यहाँ नआउनोस् भनेको होइन ?”
“आज एक बजे घर आउँछु भनेको, कहाँकहाँबाट एउटा अत्यन्त जरुरी काम आइलागेर आउन पाइनँ । बडो अफसोस लाग्यो नानीथकुं ! जरुर क्षमा गर है !” डाक्टर गोदत्तप्रसादले पनि बिस्तारै भने ।
“हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइसकेँ ।” नानीथकुंले बिस्तारै भनिन् ।
“मैले थाहा पाइसकेँ, त्यसैले म तिमीले ‘नआइज’ भने पनि फालहालेर आएको ।” डाक्टर गोदत्तप्रसादले भने ।
“अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसिरहूँ भयो !” अलि नखराएको अनुहारमा नानीथकुंले भनिन् ।
“त्यसैले दौडदौडीकन क्षमा माग्न आइपुगेको ।”
“खुब आउनुभएको होला क्षमा माग्न ! ‘तिमीप्रति मेरो कत्ति प्रेम छ’ भनी धक्कु त छोड्न आउनुभएको होला !” नखराकै भावमा नानीथकुंले भनिन् ।
“लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !”
“अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !”
“डाक्टर आइपुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको के लाग्छ ?”
“त्यसैले त सेखी बढेको तपाईंको । ‘एक बजे आउँछु’ भन्ने मानिस तीन बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई होला । तक्मा दिनुपर्ने डाक्टर हुनुहुँदो रहेछ तपाईं !” आनन्दमा मस्त भएर नानीथकुंले भनिन् ।
“ओ ! माफ गर नानीथकुं ! होसै भएनछ ।”
“माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट कट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नुपर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।” अलि गम्भीर बन्न खोज्दै नानीथकुंले भनिन् ।
“प्रेम वापस लिने ? म तिमीले भने पनि पत्याउन सक्तिनँ, प्रेम वापस लिइन्न, न लिन सकिने नै कुरा हो, कुनै चुनाउमा उम्मेदवार हुनु त होइन कि मन नलागेपछि नाम वापस लिइन्छ । प्रेम ठट्टाको कुरा त होइन, गरेपछि छोड्न सकिन्छ ? तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानीथकुँ ?” मन्दमन्द मुस्कुराउँदै डाक्टर गोदत्तप्रसादले भने- “त्यसरी नतर्साऊ न हत्तेरी !”
“भैगो, ठीक पार्नु पर्दैन । खुब नाटक गर्न जान्दछन् तपाईंजस्ता लोग्नेमान्छेहरू । यता मसित प्रेम, उता नोकरनीसित प्रेम, फेरि उता अर्कैसित, झन् उता फेरि अर्कैसित, यस्तरी पनि भाउ नराखेर हिँड्नु ? मैले एकएक सुनिसकेँ तपाईंको यमुनातटमा बज्ने वंशीको धुन ?” मुसुक्क हाँस्तै खुब व्यङ्ग्य भावमा नानीथकुंले भनिन् ।
“ओहो ! पाठ त खुब पढाएर पठाएको रहेछ । मलाई शङ्का मात्र लागेको थियो । त्यत्तिका बेर मौका पाएको किन छोड्थी । तर नानीथकुं ! तिमी कसैका कुरामा नलाग, मलाई विश्वास गर, कहिल्यै धोका खानुपर्ने छैन ।” आश्वासनको भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“भो, मलाई धोका नदिनुहोला तर मलाई एकतर्फी भएर गर्नुभएको निगाह, अनुग्रह, कृपा, दया, माया तपाईंको चाकरनीका निम्ति त धोकै हुन जाला । उसलाई पनि त तपाईंले यस्तै विश्वास गराउनुभएको होला ! उसले पनि त तपाईंको विश्वासमा एकोहोरिएर प्रेम गरिरहेकी होली !”
“हत्तेरी ! तिमी अर्काको कुरा जे पनि यसरी पत्याइरहन्छ्यौ भने मेरो के लाग्छ !” अलि खेद प्रकट गरेर डाक्टर गोदत्तप्रसादले भने ।
“बतास नआईकन पात हल्लन्छ त ? कहाँबाट आयो यो कुरा ?” नानीथकुंले भनिन् ।
“यही त अफसोसको कुरा छ । हो, बतास नआईकन पात हल्लन सक्तैन, यो म पनि मान्दछु, तर कोही बलियो मानिसले फेदमा बसेर रूख हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?” अलि हाँसेको भावमा डाक्टर गोदत्तप्रसादले भने ।
जबाफ नदिईकन नानीथकुं चुप लागिरहिन् । एकैछिन उनको मनस्थिति हेरेर डाक्टर गोदत्तप्रसादले भने- “किन नबोलीकन चुप लागिरहेकी नानीथकं ?”
“मैले नकाम गरिरहिछु डाक्टरसाहेब !” अलि दिक्दारी भावमा नानीथकुंले भनिन् ।
“किन नानीथकुं । मैले केही बुझिनँ तिम्रो कुरा ?” मायालु भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“मैले प्रेम नगरीकन पाप गरिरहिछु, यस कारण तपाईंलाई चाहेर पनि मैले छोड्न बल गरिरहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नुहोला, यद्यपि तपाईं मलाई ज्यादै चाहनुहुन्छ ।” अलि अफसोसको भावमा नानीथकुंले भनिन् ।
एकछिन पुलुक्क डाक्टर गोदत्तप्रसादको अनुहारमा हेरी नानीथकुं मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्- “भात पकाउने बेला भइसक्यो, तपाईं जानोस् डाक्टरसाहेब ! कदाचित् आमा आउनुहोला ।”
डाक्टर गोदत्तप्रसाद एकछिन अलमल्ल परेजस्ता भए । अनि फेरि नानीथकुंले भनिन्- “आज जानोस्, भोलि भेटुँला नि फेरि ।”
बाइस
आफ्नो खेतको काममा अलमलिँदा पनि शिवनारानले नानीथकुं र डाक्टर गोदत्तप्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिवनारान पाँच बज्दानबज्दै घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्तप्रसाद फर्कंदै गरेको देख्ता डाक्टर गोदत्तप्रसादलाई समातेर निमोठिहानूँजस्तो उनलाई भयो । डाक्टर गोदत्तप्रसादलाई पनि एकाएक शिवनारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर एकदम अतासिइसकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव गरी शिवनारानसँग भने- “किन हँ, निकै चाँडै फर्क्यौ नि शिवनारान ? तिम्रो खेतमा रोपाईं सिद्धियो ?”
डाक्टर गोदत्तप्रसादले पनि बोलिदिँदा त शिवनारान झन् रिसले भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता ‘नमस्ते’ सम्म पनि गरेका थिएनन् ।
उनी सरासर तानकोठामा गए । झन् नानीथकुंलाई नदेख्ता उनको रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिवनारानले क्रुद्ध भावमा भने- “नानीथकुं खोइ नि ?”
“कपाल दुखेर कोठामा पल्टिरहेकी छ ।” स्वाभाविक स्वरमा लतमायाले भनिन् ।
“तपाईं छोरीको रखवारी भइरहनुभएको हो कि कुटुनी ? घरमा गुन्डा नाचेर गइसक्यो, तपाईं छोरीलाई कपाल दुखिरहेको छ भनी यहाँ सुतिरहनोस् !
दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसीबसी द्यौता भाकल गरिरहनोस् । हिजो पनि यहाँबाट ओर्लिरहेको देखें, आज आउँदा पनि फर्किरहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा नदेखाईकन छोड्दिनँ ।” अग्नि शर्मा भएर शिवनारानले भने ।
सधैं रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि नचलाईकन त्यसै बसेको बस्यै गरिरहिन् । उनी केही पनि बोलिनन् ।
लतमायालाई तानमा त्यसै बसिरहेको देखेर झन् रिसाएर शिवनारानले भने- “छोरीले पट्ठा खेलाइरहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिएला, तीनतीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !”
“भैगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर ठीक गर्नेछु ।” सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् ।
“अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी ढुक्क भइरहनुभएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला भन्ठान्नुभएको ?” रिसको आवेशमा शिवनारानले भने ।
‘योसित अहिले नबोल्नु बेस’ भन्ने विचार गरी लतमाया चुप लागिन् । शिवनारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै ‘आज म छ्यास्नसम्म नछ्यासी छोड्दिनँ’ भन्ने विचार गरी नानीथकुंलाई शिवनारानले नै बोलाए । दुई-तीन बोलावटसम्मलाई नानीथकुंले वास्तै नगरीकन सुन्यानसुन्यै गरेकी थिइन् तर लगातार बोलाइरहेपछि केही सिप नलागेर नानीथकुं डराईडराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुं तानकोठामा पुग्नासाथै शिवनारानले एटम बम छोडिहाले- “क्या हो, क्या हो यो ? डाक्टर गोदत्तप्रसाद दिनदिनै किन आइरहेको, किन आउँछ, त्यो दिनदिनै ?”
“म के थाहा पाऊँ ?” बडो साहस गरेर नानीथकुंले भनिन् ।
“म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज गर्न आउँछ ?”
नानीथकुं एक शब्द बोलिनन् । शिवनारानले बोलेका कुरा भित्ताको मयूरले झैं केवल सुनिरहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुननारान, हर्षनारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । उनीहरू आउँदा पनि शिवनारान कराइ नै रहेका थिए । एकछिन जिल्ल परेर पुननारानले भने- “किन दाइ ! मामिला के छ ?”
“उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्बाह गरिनन् ।” शिवनारानले रन्केर भने ।
“यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइराख्न त हुँदैन । यो त म पनि सहन्नँ ।” पुननारानले भने ।
“तिमी चाहन्छौ भने हामी उहीसँग बिहे गराइदिन सक्छौं तर यसरी लुकीचोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।” हर्षनारानले भने ।
कान्छो दाजु हर्षनारानको कुरा सुनेर नानीथकुंलाई आश्वासन भयो । तर उनले शिवनारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौँतारिनुपर्यो- “के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइदिन्छु ।”
“तैपनि उनको पसन्दलाई हामीले हेर्नैपर्ला । स्वतन्त्रताको कदर गर्ने जमाना आइसकेको छ ।” हर्षनारानले फेरि भने ।
“तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?” हर्षनारानदेखि पनि अलि रिसाएर शिवनारानले भने ।
“युगको गति हेरेर मैले भनिरहेको हुँ ।’
“मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानवइच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ, सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी पुऱ्याउनुपर्छ ।” शिवनारानले बडो गम्भीर भएर भने ।
“दाइले ठीक भन्नुभयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन गर्दछु ।” पुननारानले हर्ष प्रकट गर्दै भने । शिवनारानले फेरि हर्षनारानलाई ताकेर भने- “अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी तथा बच्ची भएर बेजोडा नभएकी जोकोही स्वास्नीमान्छेसित प्रेम गर्न सक्तछौ, ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्नबाधा नगरीकन तिमीलाई पूरा स्वतन्त्रता दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ । त्यो सरासर बदमासी हो, चोरी हो, डकैती हो ।”
दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग नै मेटाउन खोजेर भनिन्- “अहो ! हुनसम्मको अबेर भइसक्यो, कुन बेला भात पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भैगो, अब गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुंलाई पनि दिनभरि खेतैमा लगी काम गराइराख्ने गर । म एक्लै घरमा बसी तान चलाइरहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, ‘न रहे बाँस न बजे बाँसुरी ।’
पुननारान, हर्षनारान दुवैले एकै स्वरमा भने- “ठीक छ, आमाले ठीक भन्नुभयो । त्यसै गर्नुपर्ला अनि आफैँ समस्या हल हुन्छ ।”
शिवनारानले रिसाएर चुरचुर भइरहेको आफ्नो चेहरामा मुस्कानको भाव नचाएर यस कुरालाई अभिवादन गरे ।
अनि सबै आआफ्नो काम र ठाउँमा गए ।
तर नानीथकुं हृदयमा वेदना बोकेर तानकोठामा त्यसै उभिरहिन् । त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइसक्यो, नानीथकुं त्यही अँध्यारो कोठामा बसी आफूमाथि गुज्रिरहेको सबै कुरा मनमनै गुनिरहेकी थिइन् ।
*****
तेइस
आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुननारान र हर्षनारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुं पनि रोपाइँमा लागिरहेका छन् । काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर रोपाइँ गरिरहेछन् । नानीथकुंउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरूसरह नै नानीथकुं पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरूसरह नाच्तै-गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने नानीथकुंलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि ‘आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो’ भन्ने सम्झेर नानीथकुं दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् ।
अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ । धरतीका रतिकहरूले गाएको गीतको गुञ्जनरूपी प्रवाहको बदला आकाशका बादलले वृष्टिदान गरी आदानप्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ गरिरहेको देखिन्छ ।
आज शिवनारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरिरहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरिरहेका छन् । शिवनारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि नेपालमा यसपालि सर्वप्रथम रोपाइँ नै शिवनारानको खेतमा हो भने पनि अत्युक्ति नहोला ।
रोपाइँमा ज्यादै आनन्द लागेको र जाँडरक्सीको सुरले गर्दा एकछिन त नानीथकुंको मनमा वज्रलेप भएर टाँसिरहेको पिर पनि उप्केर गएको भान भयो । बस, यसै बखत रोपाहारहरूलाई पानसुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी डाक्टर गोदत्तप्रसाद पनि टुप्लुक्क आइपुगे । लागछाडको रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले गोदत्तप्रसाद छाता ओढेर आएका थिए ।
मस्तसित जाँडरक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पानसुपारी खुवाउन आएका डाक्टर गोदत्तप्रसादलाई देखेर नानीथकुंको निदाउन खोजिसकेको व्यथा एक चोटि फेरि जागेर आयो ।
डाक्टर गोदत्तप्रसादलाई देख्नासाथ शिवनारानलाई रोपाइँको मस्तीमा पनि झसङ्ग रिस उठिसकेको थियो, तर तत्क्षणै उनलाई सभ्यताको पनि याद भएर आयो र केही वास्ता गरेनन् ।
डाक्टर गोदत्तप्रसाद पानसुपारी खुवाउन आएको देखेर अरू खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पानसुपारी खुवाउन आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे ।
डाक्टर गोदत्तप्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत गर्दै बडो गहिरो शुभेच्छा भाव देखाएर पानसुपारी बाँड्न थाले । पानसुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा बेरिएका होइनन्; आठ-आठ पैसा जाने खुला बिरा; पानमा मगमग बास्ना आउने मसला पनि हाल्न लगाइएको थियो ।
डाक्टर गोदत्तप्रसादले सबभन्दा पहिले शिवनारानलाई नै पान अर्पण गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिवनारानले पानसुपारी अँजुलीमा थापेर लिए । यस क्रियाले डाक्टर गोदत्तप्रसादलाई बडो सन्तोष र आनन्द भयो । अनि उनले शिवनारानको परिवारका अरू सदस्यलाई पनि यस्तै भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानीथकुंको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्तप्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए ।
रोपाइँको काम अन्तिम समयमा पुगिसकेको हुनाले त्यसबाट रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगिरहेको थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतारचढाउ, आरोहअवरोह अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढिरहेको थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुंले पनि हिलेपानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्तप्रसाद उभिइरहेको ठाउँमा हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्तप्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँडरक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्तप्रसाद उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्तप्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुं उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।
नानीथकुंको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिवनारानलाई खट्कन थाल्यो । अनि नानीथकुंमाथि आँखा तरेर अलि रिसाएको भावमा शिवनारानले भने- “नानीथकुं ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।”
डाक्टर गोदत्तप्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी फर्कंदा खेतालाहरूले बडो सत्कारसाथ अभिवादन गरेका थिए । नानीथकुंका अरू दाजुहरूले पनि डाक्टरलाई सत्कारसाथ अभिवादन गरे । त्यस दिन शिवनारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।
*****
चौबिस
हिजोको रोपाइँको थकाइ मेट्न आज शिवनारानहरू कोही पनि खेतमा गएनन् । अब दुई-चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज एक दिन आरामै लिऔं भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुननारान र हर्षनारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू घरमै थिए ।
आज शिवनारान घरमा बसेको मौका र नानीथकुंको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिवनारानसँग नानीथकुंको विवाहको कुरा चलाइन् । उनले शिवनारानलाई भनिन्- “नानीथकुंलाई अब यसै राखिछोड्न भएन, शिवनारान ! लक्का जवान भइसकी, झट्टै बिहे गरिदिनुपर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो । योभन्दा पनि नराम्रो कुरा सुन्नुपर्ला भनेर बिघ्नै डर भइसक्यो, मलाई त । जे गरेर, जे सहेर पनि यो एउटीको बिहे गरिदिऔं, हर्षनारानको बरु पछि गर्दै गरुँला, त्यस्तो कुनै हतारो छैन ।”
“मैले पनि यही सोचिरहेको छु, आमा ! बदमास डाक्टर गोदत्तप्रसादको बिघ्नै डर भइसक्या छ, मलाई ।” शिवनारानले अलि गम्भीर भावमा भने ।
“मलाई पनि डर भइरहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरिहाल्नुपर्यो ।” लतमायाले भनिन् ।
“खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो मन मान्दैन । अलि जान्नेबुऊनेलाई फसादै हुँदो रहेछ । फोने’ गरेर कसैलाई दिन जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुं आफैँले आफूलाई चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरिरहेको थिएँ, उनले भने अर्काको पोइ, बाबु भएर बुढा भइसकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम सिल्पट दुलाहा खोज्न आँटिरहिछ । त्यो डाक्टरसित गएपछि जुलुम हुँदैन ? हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि ‘आफैँले छानेर जाओस्’ भन्ने विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइरहेको देखेँ मैले आमा !” शिवनारानले अलि दिक्क मानेर भने ।
“रामबहादुरको कुरालाई नै सुनौं कि ? उनी धेरै चोटि आइ पनि सके ।’ “उसको के कुरा ?”
“उही सुरमान सुब्बाको कुरा । नानीथकुंका निम्ति सुरमान सुब्बाले ज्यान थापिरहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुं भाग्यमानी होली ।”
“ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुं आफैँले पनि मन पराएर रोजेको डाक्टर गोदत्तप्रसाद कति कुराले चित्त बुझेन त ? मैले हेर्दा त डाक्टर गोदत्तप्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धनदौलत, मानमर्यादाको आँच, चहकमहक, रबाफरौनक देखेर भन्नुभएको होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने बेबकुफलाई दिने कुरा मसँग गर्दै नगर्नोस् आमा ! म त्यस्तो अवैधानिक विवाहको समर्थन कहिल्यै गर्दिनँ ।”
“नानीथकुंको चिना उनलाई साह्रै मिल्छ रे, सरदार नभई छोड्दैनन् रे, त्यसैले दिऔं कि भन्ने विचारसम्म पोखेकी ।” सरल भावमा लतमायाले भनिन् ।
“राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।” सम्झाएको भावमा शिवनारानले भने ।
“उनलाई दिए नानीथकुं र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।” लतमायाले भनिन् ।
“यस्तो पाप कहिल्यै पनि नचिताउनुहोला आमा । हामीले अलिकति सुख पाउने आशामा उसलाई बेच्ने ? यस्तो कुरा भुलेर पनि नसोच्नुहोला हामी जीवनभर दु:खैमा फसेर, अल्झेर, रगडिएर मरौं तर हाम्रो सुखको बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।” सम्झाएकै भावमा नम्रतासाथ शिवनारानले भने ।
“ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ, सास्ती गर्ला भन्ने पनि मलाई डर लाग्छ बाबू !”
“यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति नानीथकुंको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?” शिवनारानले भने ।
“के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? ‘हुन्न’ भन्ने जबाफ दिइपठाऊँ त ?” लतमायाले सोधिन् ।
“यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?” शिवनारानले भने- “मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिनामागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै महात्मा होइनन्, जोकसैको दु:खपिरमा सहसा रुन्छन्, जहाँसम्म मेरो अनुभव छ, उनी एउटा धूर्त, बदमास, बेबकुफ हुन्, उनले बालाई मर्न लाग्दासम्म पनि रुवाएका छन् । आखिर त्यस्तै सिद्ध भयो कि भएन ?”
एकछिन चुप भएर लतमाया बोलिन् – “त्यसो भए के गर्ने त ? भन्न आउने, भन्न पठाउने कोही छैन, आएका हामीलाई चित्त बुझ्दैन । पूरा तरुनी भइसकी । फेरि डाक्टर गोदत्तप्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।”
लतमायाका यी कुरा सुनेर शिवनारानले अलि गौर गरेर भने- “हामीजस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नुपर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनुपर्छ । म त भन्छु, भरसक अऊ नानीथकुं आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।”
लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । आउँदाआउँदै रामबहादुर बोल्दै आए- “अहो, शिवनारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसिराखेका रहेछौ ।”
शिवनारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागतसत्कार गर्ने बानी पनि भएको हुनाले शिवनारानले रामबहादुरलाई खुब सत्कार गरे । रामबहादुरलाई बसाइसकेपछि शिवनारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । रामबहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई अर्कै कारण बताउने चलाखी गर्दै भने- “रोपाइँको बेला भएको हुनाले सुब्बासाहेबले पठाउनुभएको । उहाँलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ-पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले ‘एक चोटि हेरेर आऊ’ भनी उहाँले मलाई पठाउनुभएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनुहुन्छ ।”
“उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर रामबहादुरजी ! हिजो मात्रै रोपाइँ सकियो । आशा छ, यसपालि त सुब्बासाहेबको पोहोरको बाँकी तिरोसमेत तिर्न सकुँला, सुब्बासाहेबको अनुग्रह देखेर साह्रै खुसी भयो भनी सुनाइदिनुहोला ।” शिवनारानले हाँसेर सोमतसाथ भने ।
“बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यसपालि राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने भन शिवनारान । सुब्बासाहेबसित म बिन्ती गरिदिनेछु ।” स्नेहपूर्ण भावमा रामबहादुरले भने ।
“धन्यवाद छ तपाईंको यो कृपालाई पनि रामबहादुरजी । अहिले मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइहाल्नुहुन्छ नि भन्ने याद गरी म भरोसा गर्नेछु ।” खुसी मान्दै शिवनारानले भने ।
“कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिवनारान ? सायद सबभन्दा पहिले रोपाइँ भएको यसपालि तिम्रै खेतमा हो कि ?” रामबहादुरले भने । “सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ तर यसपालि मेरो रोपाईं चाँडै नै सिद्धियो भन्नुपर्छ ।” हाँस्तै शिवनारानले भने ।
“त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बासाहेबलाई त्यही बिन्ती चढाइदिऊँ है त ? हाम्रा सुब्बासाहेबको दिल ज्यादै फराकिलो छ हगि शिवनारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो विवेक हेर उहाँको ! भन त शिवनारान ! तिमीलाई कस्तो लाग्छ सुब्बासाहेब ?” रामबहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने ।
“अँ, त्यसै भन्नुपर्छ, त्यस्ता मानिस कहाँ पाउनु !”
“त्यसैले मैले पनि जोर गरेको शिवनारान ! तिमी सधैँ खेतमा हुने हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ । ‘आज पक्का जबाफ दिन्छु’ भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।” सिलसिला मिलाउँदै रामबहादुरले मौका छोपेर भने ।
“ए रामबहादुरजी ! तपाईं नरिसाउनुहोला ।” विनम्र भावमा शिवनारानले भने- “तपाईंले गर्नुभएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति फुलाएर आशा देखाइराख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा भनिदिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नुभएको कुरा हामीलाई बिलकुल मन्जुर भएन ।”
“किन ?” दिक्क लागेको भावमा रामबहादुरले सोधे ।
“किन ? प्रश्नको फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन, बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनुहोला ।” शिवनारानले गम्भीर जबाफ दिए ।
“तैपनि केकति कुरामा तिमीहरूलाई चित्त बुझेन, भन न ।” रामबहादुरले कोट्टयाएर सोधे ।
“कुन कुरा चित्त नबुझेको बताऊँ रामबहादुरजी ! प्रस्ट थाहा पाउन चाहनुहुन्छ भने चित्त बुझेको कुरै कुनै छैन, यसरी भने अझै प्रस्ट होला- एउटा पनि कुरा हामीलाई चित्त बुझ्दैन ।” शिवनारानले प्रस्ट भनिदिए ।
“तिमीले सुब्बासाहेबको साह्रै अपमान गरिरहेछौ शिवनारान !”
“तपाईं जे सम्झनोस् ।”
“तैपनि तिमीले समालिएर बोल्नुपर्ने । यसरी बेसोमत प्रकट गर्नु मनासिब छैन ।”
“निधो जबाफ माग्नुभएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई नै तपाईं अपमान, बेसोमत इत्यादि सम्झनुहुन्छ भने अफसोसको कुरा छ रामबहादुरजी ! यसको फेरि म कुन शब्दले जबाफ दिइरहूँ !”
“तैपनि तिमीले होसियार भएर जबाफ दिनुपर्ने । उहाँ र आफ्नो अवस्था पनि त तिमीले हेर्नुपर्छ ! ‘सानो मुख ठुलो कुरा’ नहुनुपर्ने !” अलि रिसाएर रामबहादुरले भने ।
“अलि मुख समालेर बोल्न सिक्नोस्, रामबहादुरजी ! धेरै सहनु भनेको जल्लाई पनि गाह्रो हुन्छ, तपाईं यसको पनि विचार गर्नुहोला ।” शिवनारानले पनि अलि रिसाएर जबाफ दिए ।
“त्यसो भए त सुब्बासाहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त ? अलि ठन्डा मगजले सोच्ने काम गर शिवनारान ! पछुताउनु नपरोस् ।” धम्क्याएर रामबहादुरले भने ।
“के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ? किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?” शिवनारानले पनि अलि दह्रो भएर जबाफ दिए ।
“किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।” व्यङ्ग्य भावमा रामबहादुरले भने ।
“किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला रामबहादुरजी ! तपाईंलाई म यो पनि बताइदिन चाहन्छु- एक चोटिलाई मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइरहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा पनि बढ्ता तपाईं थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।” बडो गर्वसाथ शिवनारानले भने ।
“साह्रै बढ्ता भयो, शिवनारान ! झट्टै तिमी समालिएनौ भने म तिमीलाई साफ भनिदिन्छु, मलाई अब सहन गाह्रो हुन्छ ।” खुब रिसाएर रामबहादुरले भने ।
“धम्की देखाउने बानी हटाउनोस्, रामबहादुरजी ! किसानका छोरामा जागृति आइसकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।” गर्वसाथ शिवनारानले भने ।
“के त ? तिमी आफ्नी बहिनी सुब्बासाहेबलाई दिँदै नदिने भयौ ?” अलि नरमजस्तो भएर रामबहादुरले भने ।
“म फेरि पनि एक चोटि क्षमा गर्छु, रामबहादुरजी ! कदापि फेरि यस्तो लबज ननिकाल्नुहोला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनिदिन्छु- फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।” निकै रिसाएर ठुलो स्वरमा शिवनारानले भने ।
ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुं सबै उनीहरू कुरा गरिरहेको ठाउँमा आइपुगे । शिवनारानका घरमा भएका मानिस जम्मा भएको देखेर रामबहादुरलाई अलि सरम भयो । उनले नरम भावमा भने- “तिम्रो बा अष्टनारानले दिने वचन दिइसकेको छ, शिवनारान ! मरिसकेका आफ्ना इमानदार बाबुको वचन राख्ने काम गर, तिम्री आमा लतमायाको पनि मन्जुरी छ । सोध, तिम्री आमा त मौजुद छिन् ।”
“मेरो पिताज्यूले यस्तो अनुचित मन्जुरी कहिले पनि दिनुभएन, यो बिलकुल फुट कुरा हो । कदाचित् भुलले उहाँले वचन दिनुभएको साँच्ची हो र आमाको पनि मन्जुरी छ नै भने पनि म यस्तो कुरा कदापि समर्थन गर्दिनँ । यस्तो अनुचित कुरामा आमाबाबु कसैको पनि कुरा सुन्ने र मान्ने कमजोरी कदापि गर्दिनँ । अरूको त के साक्षात् नानीथकुंले मन्जुर गरेकी भए पनि म विरोध गरेर बिथोलिदिन्छु । त्यसैले रामबहादुरजी । तपाईंले कसैको पनि दुहाई गर्नु फजुल छ ।” शिवनारानले प्रस्ट भनिदिए ।
“शिवनारान । म तिमीलाई समय दिन्छु, राति सुत्ता अलि ठन्डा मगजले एक चोटि विचार गर र आफ्नो परिवारसँग पनि एक चोटि सल्लाह गर । अहिले मात्र होइन, तिम्रो भविष्य र तिमीहरूका सन्तानहरूको पनि सुख पाउने कुरा तिम्रो हातमा आइरहेको छ ।” केही सम्झाएर भनेको भावमा रामबहादुरले भने ।
रामबहादुरले यति भन्नासाथ शिवनारान रिसले आगो भई जुरुक्क उठेर उसको गर्दन समाउन पुगे । दुवै हातले बेसरी रामबहादुरको गर्दन ङयाँच्च समाउँदै शिवनारानले भने- “भन् साले ! अब के चाहन्छस् तँ ?”
लतमाया, हाकुमाया, नानीथकुं सब छुट्टयाउन दगुरे । उनीहरूले शिवनारानलाई तानिरहे, रामबहादुर डरले थरथरी भएर ‘ऐय्या !’ भनी कराउँदै मुस्किलसित गर्दन चलाउँदै शिवनारानको मुखतर्फ हेरेर भने- “छोड् !”
रामबहादुरको गर्दन छोड्दै शिवनारानले भने- “साले ! यस पटकलाई पनि तँलाई दया भयो, माफ भयो, जा ।”
“के त पोहोर सालको बाँकी बाली पनि आफ्नो यही पशुबलको भरमा पचाउन हिम्मत गरेको ?” दुखेको गर्दन यताउता चलाउँदै रामबहादुरले भने- “तानमा परेको तीन सय रुपियाँ के गर्छौ नि ? सुब्बासाहेबले अहिल्यै लिएर आइज भन्नुभएको छ ।”
“कसले भनेर ल्याइस् तान ! हामीले ‘ल्याइदे’ भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।” शिवनारानले कड्केर भने ।
रामबहादुरसँग यति बोलिसकेपछि शिवनारानले लतमायातिर हेरेर भने- “दिएर पठाइदिनोस् उसको तान ।”
शिवनारानले फेरि रामबहादुरतिर हेरेर भने- “लैजा तेरो तानको तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !”
रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो, मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिवनारानले उसको तान दिइपठाउने कुरा गरेपछि हाकुमायाले भनिन्- “के खाँचो त्यस बदमासलाई तान बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको पुरस्कार- स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने मूर्खता किन ?” रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्- “जा, पच भयो तेरो तान ! कागज भएको होइन, ‘जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो । जा, पच भयो तेरो तान, नालिस गर्न जा ।”
हाकुमायाको कुरा सुनेर नानीथकुं खिस्स हाँसिन् । लतमाया केही बोल्न सकिनन् । शिवनारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी हाँसिरहे । रामबहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति उभिएर त्यसै जिल्ल परिरहे । एकछिन वाल्ल परेर ‘देखा जाएगा’ भनी रिसले चुर भएर गए । “देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैंले ?” हाकुमायाले जबाफ दिइन् ।
*****
पच्चिस
शिवनारान आज साबिक समयमा खेतमा गए । आजदेखि उनले नानीथकुंलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिवनारानले गरे । खास गरेर शिवनारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्यो । नानीथकुं र पुननारानकी स्वास्नी, अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।
शिवनारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।
आज पनि हाकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्, शिवनारानले ठट्टा गर्दै भने- “छि: कति सुत्नुपर्ने मानिस ! एकछिन ठट्टा त गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपयो भने मलाई शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपिराखेको जस्तो लाग्छ ।”
“छि: बुढो भएर पनि कति ठट्टा गर्नुपर्ने !” हाकुमाया मुसुक्क हाँसिन् ।
“तिम्रो यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो भन्छ्यौ ?” शिवनारानले पनि हाँसेर भने ।
“गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी थोरैमा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता मलाई काउकुती लागेर आउँछ ।” ठट्टाको भावमा हाकुमायाले भनिन् ।
“म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि ‘हा !’ भन्ने छैन के म ।” ठट्टाकै भावमा शिवनारानले भने ।
“छिः चुप लागेर सुत्नोस्, बाह्र बजिसक्यो होला, अर्कालाई नीद आइसक्यो ।” अलि नखराउँदै हाकुमायाले भनिन्
“नीद आएको देखेर त ‘नसुत, ठट्टा गर’ भनेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।” शिवनारानले मुस्कुराउँदै भने
“छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइसक्यो ज्यादै ।” मुस्कुराउँदै हाकुमायाले भनिन् ।
“एकछिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर होइन त सुतेर बिताउनलाई मेरी हाकु रानी !” ठट्टाको भावमा शिवनारानले भने । “ज्यापूकी छोरी ज्यापुनीलाई केको ‘रानी’ भन्नुपर्छ !”
“त्यसो भए मलाई भन त ‘राजा’; मलाई त मन पर्छ ।
“तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी ‘राजा’ हुन सक्नुहोला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म ‘रानी’ हुन सक्छु ।” ठट्टाको भावमा हाकुमायाले भनिन् ।
यत्तिकैमा खेतमा बस्तुभाउ चरेको आवाज सुनेर शिवनारान हातमा लौरो लिएर कुद्दै गए । रातको बेला हुनाले हाकुमाया पनि शिवनारानको पछिपछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिवनारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा उनले गाईलाई साह्रै नै पिटे ।”
“भैगो, भोलि गाईलाई थानामा बुझाइदिनुहोला । लिलाम भैहाल्छ, यसका धनीलाई पनि सजाय भैहाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।” हाकुमायाले सम्झाउँदै भनिन् ।
बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने- “आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइसक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइदिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !”
भोलिपल्ट उठ्नासाथ शिवनारानले गाई थानामा बुझाइदिए ।
*****
छब्बिस
आज भर्खर जेठको १५ गते, तर यसपालि बर्सात् खुब भइरहेकाले जेठ १५ गतेभित्रै पनि धेरैको असार सिद्धिसकेको छ । यसपालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिवनारानको खेतमा त झन् एक हप्ताअगाडिदेखि नै रोपाइँ सिद्धिसकेकाले उनको परिवार विजेताझैँ प्रफुल्ल भएर फुलिरहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइरहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइरहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ भत्किहाल्ला, खसिहाल्लाको अवस्थामा पुगिसकेको । अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइसकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालिहाल्छ । यस कारण पानी परेको, बतास आएको दिन शिवनारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।
रोपाइँ सकेदेखि शिवनारान खेतमा खान्थे, खेतमै सुत्थे । उनको माचाछी बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे । आज वर्षा भइरहेकाले पानी चुहिरहेको थियो, सबै सँगै भात खाइरहेका थिए । भात खाँदै लप्तमायाले पुननारानतिर हेरेर भनिन्- “खाइ-नखाइ गरेर पनि यसपालि त घर बनाउने कोसिस गर है बाबू ! मलाई त बिघ्नै डर भइरहेको छ । यस्तरी दिनका दिन पानी परिरहेको छ, अझ मुख्य पानी पर्ने याम आएकै छैन ।”
“मैले पनि त्यही विचार गरिरहेको छु आमा ! जे गरेर पनि यसपालि घर नबनाईकन त हुँदैहुँदैन । मलाई पनि बिघ्नै फिक्री लागिरहेको छ ।” पुननारानले भात खाँदै भने ।
“यसपालि पनि बनाउन सकिएन भने त जगैदेखि भत्कन बेर छैन ।” हर्षनारानले भने ।
“सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यसपालिलाई बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबू हो !” अलि मायालाग्दो भावमा लतमायाले भनिन्- “अब त म पनि धेरै दिन बाँचुला जस्तो लाग्दैन, नानीथकुं र हर्षनारान यी दुई जनाको व्यवहार सिद्ध्याउन पाए मरे पनि हुने भइसकें । खोइ, नानीथकुंलाई पनि कसैले भन्न आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबू हो ! त्यसो गर्दैमा केही नराम्रो देख्तिनँ म । हर्षनारानलाई पनि कति जना केटी खोजिसकें, हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्तअनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानीहो ! त्यही म पनि बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।”
खिस्स हाँसेर हर्षनारानले भने- “नानीथकुं त्यसै गरोस्, म त अहिले बिहे गर्न चाहन्नँ । घरै बनिसकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत आइसकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै भोकै राख्न त ठीक छैन ।”
“घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खिरहन त सक्तैन । के त मैले तिम्रो बिहे नहेरीकनै मर्ने ?” लतमायाले अलि दुःखित भएर भनिन् ।
“घर बनेको पनि देख्नुहोला, बिहे पनि हेर्न पाउनुहुनेछ । अहिल्यै हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन नचिताउनुहोला आमा !” हर्षनारानले श्रद्धापूर्ण भावमा भने ।
“मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।” लतमायाले भनिन् ।
आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुंको मनभित्र केके आवाज आएजस्तो भयो, उनलाई कसैले बोलाएजस्तो, कुरा गरेजस्तो, कोही कसैको प्रतीक्षामा बसिरहेजस्तो, केके जस्तो, केके जस्तो उनको मनभित्र भावतरङ्ग तरङ्गिन थाल्यो ।
अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइसकेको थियो । साँझ झमक्क परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुंले पनि खुब गहिरोसँग नियालेर बाटोमा हेरिरहेकी थिइन् ।
नानीथकुंको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी लोग्नेमानिस जति तमाखु खानेतिर लागे, पुननारानकी स्वास्नी सिन्तलीले जुठाभाँडा माझिरहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै फ्याँकिरहिन् । नानीथकुं आफूले खाएको जुठो माझेर गइसकेकी थिइन्, त्यसैले उनलाई ध्यान गर्नुपर्ने कुरा पनि थिएन ।
नानीथकुं उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, एकैछिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्तप्रसाद टुप्लुक्क आँखाअगाडि आइपुगेको नानीथकुंले देखिन् । उनलाई देख्नासाथ नानीथकुं फाल हालेर तल छिँडीमा दगुरिन् । छिँडीमै गएर डाक्टर गोदत्तप्रसादलाई राम्रो स्वागतभाव देखाउँदै उनले भनिन्- “यस बेला किन हस्याङफस्याङ गर्दै आउनुभएको डाक्टरसाहेब ?”
अलि सानो स्वरमा गोदत्तप्रसादले भने- “तिमीलाई बोलाउन आएको आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठीकठाक भइसकेको छ, अर्कै एउटा राम्रो र गुप्त घरमा । त्यहाँ तिमीले कुनै कुराको फिक्री र नमज्जा मान्नुपर्ने छैन । रेडियोलगायतको व्यवस्था मिलाइसकेको छु ।”
“दाइहरूले सुन्नुहोला, अझ अलि सानो स्वरमा बोल्नुहोस् । के भन्नुभएको ?” अलि उत्सुकतासाथ नानीथकुंले भनिन् ।
“तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुं !” कानैनिर गएर बिस्तारै डाक्टर गोदत्तप्रसादले भने ।
नानीथकुं एकछिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अनि एकैछिनपछि डाक्टर गोदत्तप्रसादले फेरि भने- “हिँड, नानीथकुं ! केही धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।”
“म आउन्नँ ।” सरल भावमा नानीथकुंले बिस्तारै भनिन् ।
“तिमीले डराउनु पर्दैन नानीथकुं । केही चिन्ता छैन । तिमी आए पुग्छ ।” विनीत भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“म आउँदिनँ, डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।”
“बहुलाही । सब ठीकठाक गरिसकें भन्छु त ।”
“साँच्चै हो डाक्टरसाहेब । अब मलाई प्रेम गर्न मन भएन ।”
“सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुं । एकछिनमा यो दिक्दारी मेटिनेछ ।”
“जिद्दी नगर्नोस् डाक्टरसाहेब । साँच्चै हो, म आउँदिनँ ।”
“आफ्ना शाखासम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुं । यसको तिमी पर्बाह नगर, एकैछिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।” डाक्टर गोदत्तप्रसादले सम्झाएर भने ।
“म स्वास्नीमान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म नारीत्व गिराउन चाहन्नँ ।” नानीथकुंले भनिन् ।
“नारीत्वको महत्त्व यो होइन कि नानीथकुं ! कोही पुरुषसित पनि सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरिसकेर, यहाँसम्मको बरबन्दोबस्त गराइसकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै भयो ।” प्रभावपूर्ण भावमा डाक्टर गोदत्तप्रसादले भने ।
नानीथकुंलाई डाक्टर गोदत्तप्रसादमाथि माया बसिसकेको छ, तर रञ्जनादेवीको भनाइ र आफ्ना दाजु शिवनारानको कुरामा नानीथकुंले सत्य देखिन् । त्यसैले नानीथकुं दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइरहेकी छिन्, वाल्ल परिरहेकी छिन् ।
यही दोमन दोधारको चक्करमा परी नानीथकुं अकर्मण्य भएर त्यसै जिल्ल र वाल्ल परिरहिन् । नानीथकुंबाट केही जबाफ नपाएर डाक्टर गोदत्तप्रसादले फेरि भने- “जाऔं हिँड नानीथकुं। दोमनमा फसेर मौका नगुमाऊ । बाहिर मोटर छोडिआएको छु, जाऔं ! शुभसाइतले तिमीलाई हाँसेर पर्खिरहेको छ ।” नानीथकुंको पाखुरा तान्दै डाक्टर गोदत्तप्रसादले भने ।
“आजलाई भैगो डाक्टरसाहेब ! भोलिपर्सि विचार गरुँला ।” नानीथकुंले नम्रतासाथ भनिन् ।
“प्रेममा विचार गरिन्न, नानीथकुं । त्यो त आफैं हुन्छ र ग्रहण गरिन जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम त्याग्न खोज्दा पो गर्नुपर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?” प्रेमप्लावित भावमा डाक्टर गोदत्तप्रसादले भने ।
“डाक्टरसाहेब ! आजलाई माफ गर्नुहोला । आज मेरो मन ठीक छैन । बरु गई पनि हाल्नोस्, डाक्टरसाहेब ! दाइहरू आउनुभयो भने नचाहिँदो आपत्ति बोक्नुपर्ला ।” यति भन्दै नानीथकुं सरासर माथि उक्लिन् ।
अझ पनि एकछिन डाक्टर गोदत्तप्रसाद छिंडीमा पर्खि नै रहेका थिए । नानीथकुंले फेरि तुरुन्त ओर्लेर भनिन्- “जानोस् भन्या डाक्टरसाहेब ! कान्छा दाजु तल ओर्लनै आँट्नुभएको छ । गैहाल्नोस्, गैहाल्नोस् !”
यति भनी नानीथकुं फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्तप्रसाद पनि बडो खिन्न भएर फर्के ।
*****
सत्ताइस
आज हर्षनारानको अनुहारमा सहसा प्रसन्नता फलिफुलिरहेको देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइरहेकी थिइन् । उनले हर्षनारान एक्लै हाँसी भऱ्याङ उक्लिरहेको देखिन् । माथि बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइनसक्नु भई झुसीबाट पोखिइरहेको लतमायाले पाइन् ।
लतमायाले अनौठो मानेर सोधिन्- “किन हर्षनारान ! तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म देखेकी थिइनँ ।”
“मलाई, भन्नै लाज लाग्छ आमा ।” सङ्कोचवश हर्षनारान बोले ।
“के भन न, मदेखि पनि लाज ?” लतमायाले भनिन् ।
“आमा ! म पनि अब बिहे गर्छु ।”
“अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज एकाएक बिहे गर्न तम्सिरहेछौ । भन हर्षनारान ! कुरा के छ ?”
“अब मलाई बिहे गर्न मन लाग्यो आमा !”
“केटी पाइसकेका छौ ?”
“त्यसैले आमा । मलाई झट्टै बिहे गर्न मन लागेको । कसैले मलाई प्रेम गरेको पाएँ आमा ।” दङ पर्दै हर्षनारानले भने ।
“कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल खोज्छ र उसमा आफ्नो दिल पनि पाउँछ भने त्यही प्रेम हो ।” लतमायाले पनि दङ भएर भनिन् ।
“ठीक भन्नुभयो आमा । मैले पनि रोजें, मलाई पनि रोजी, यो तपाईंले भन्नुभएकै कुरा हो ।” हर्षनारानले अझ दङ भएर भने ।
“तिमीले भनेका थियौ, घर नबनाईकन बिहे गर्दैगर्दिनँ । अब फेरि बिहे गर्ने कुरा गर्यौ । घर बनाउन कोसिस गर न, यस्तो झुत्रो घरमा कसरी ल्याउने, मनै खिन्न नहोला ?” लतमायाले अलि व्यङ्ग्य हालेर भनिन् ।
“अस्ति त नपाएर पो त्यसो भनेको, अब पाइहालें, बिहे नै किन नगर्ने ? बिहे गरेपछि घर बनाउने तत्परता पनि झन् बढ्ला ।” हर्षनारानले भने ।
“एक-दुई दिनमै प्रेम तौलिइन्न हर्ष ! केही दिन जाँच्नु पनि पर्छ, त्यसैले झट्ट ल्याउन हडबडाउनु पनि ठीक छैन ।” लतमायाले भनिन् ।
“हो आमा ! पूरा जाँचिसकेको छु, ऊ मलाई बिघ्नै मन पर्छ, म उसलाई उस्तै मन परेँ, त्यसैले मलाई बिहे गर्न रहर लाग्यो ।” हर्षनारानले भने ।
“अस्ति किन गर्दिनँ भनेको त ?”
“अस्ति जाँच गर्दै थिएँ ।”
“लौ हुन्छ, तिमीलाई मन पर्छ भने ल्याऊ, मेरो त ज्यादै राजी छ, म यो कुरा सुनेर अत्यन्त खुसी छु । यस्तै आफैंले रोजेको हेर्न म बढ्ता चाहन्छु । तर दाजुहरूसँग पनि एक चोटि सोध, अदब राख्नु राम्रै कुरा हो । उनीहरू पनि यो सुनेर खुसी भइहाल्छन् ।” लतमायाले भनिन् ।
“तपाईंले नै सोधिदिनोस् आमा ! मलाई लाज लाग्छ ।”
“प्रेम गर्ने मानिसले लजाउन हुन्छ ? लजाइरहने त आमाबाबुले बिहे गराइमाग्ने मानिस मात्रै हुन्छन् ।” अलि व्यङ्ग्यको भावमा लतमायाले भनिन् ।
“नाइँ, म भन्दिनँ, तपाईं नै भन्नोस्। यो पनि एउटा अदब सम्झन्छु म ।” हर्षनारानले हाँसेर भने ।
“कसकी छोरी नि ? को नि यस घरमा लक्ष्मी बनेर आउने केटी ?” लतमायाले सोधिन् ।
“मै काम गर्न जाने ठाउँकी, ऊ पनि एउटी ज्यामी काम गर्ने ठिटी हो; माहिला तामाङ रे उसको बाबुको नाम ।” हर्षनारानले भने ।
“ए तामाङकी छोरी ? झन् बेस, तिम्रा बा पनि यस्तै दुई जात, दुई सम्प्रदायमा सम्बन्ध राख्न चाहने, यस्तै भए मात्र साम्प्रदायिक भाव हटी देशको उन्नति होला भन्ने उहाँको विचार थियो, भनौँ हाम्रो घरभरिको नै यही विचार छ, यसैले तिम्रा दाजुहरू पनि खुसी नै होलान् ।” खुसी भएको भावमा लतमायाले भनिन् ।
====
एकाएक बेलुकी पुननारानलाई देखेर शिवनारान तर्सेका थिए । ‘के पो भयो’ भन्ने उनलाई सहसा चिन्ता भएको थियो । पुननारान आएर बस्न पाउँदानपाउँदै शिवनारानले सोधे- “यति बेला किन पुननारान ?”
“हर्षले दुलही भेट्टाएछ । दुई जनाका बीचमा राम्रै प्रेम भएको रहेछ । भोलि नै ल्याओस् भन्ने आमाको र अरू सबैको पनि विचार छ, त्यही सोध्न आएको !” खुसीयालीको भावमा पुननारानले भने ।
“बडो खुसीको कुरा सुनाउन आयौ तिमीले पुननारान ! कसकी छोरी र जात के नि ?” शिवनारानले पनि खुसीयाली प्रकट गरेर भने ।
“डिल्लीबजार डेरा गरी बस्ने माहिला तामाङकी छोरी रहिछ । हर्षले काम गर्न गएकै ठाउँमा ऊ पनि ज्यामी भएर काम गर्न आइरहने ।” पुननारानले भने ।
“बेस भयो, नेवार-पर्वतेको सम्बन्ध अझ बलियो हुन आँटेछ । यस्तै नेवार, पर्वते र मधेसी तीन जाति र संस्कृति मिसिएर एक हुँदै गएपछि नेपाल अऊ सुन्दर र विशाल हुँदै जान्छ । यो काममा हाम्रो घर धेरै अगाडि बढ्ने भयो । हुन्छ, भोलि नै दुलही भित्र्याएर हाम्रो छाप्रोलाई स्वर्ग बनाउन कोसिस गर भन, भोलि नै । म पनि भोलि बिहानै घर आउनेछु ।” शिवनारानले भने ।
*****
अट्ठाइस
आज शिवनारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ । हुन त उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसिरहेको महल खडा भइरहेझैँ आज उनको घरले भव्यता प्रदान गरिरहेको छ । हर्षनारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइरहेको देखिन्छ ।
शिवनारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए । घरका थकाली शिवनारान भए तापनि आजका नायक हर्षनारान नै बनिरहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्षनारानको हिँडाइफिराइ, बसउठ, रूपरङ, बोलीवचन, चालढाल एकएक कुरा बडो चाख लाएर हेरिरहेका छन् ।
दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । ‘कमसेकम अरू केही बन्दोबस्त नभए पनि डोलीमा राखेर त अवश्य ल्याउनुपर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधिविधानसम्म त गनैपर्यो । दुई दिनको पाहुना आएको होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्षनारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने जिम्मेवार मानिस, कुलवधू, घरकी लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै डोली अड्याई, ढोकैदेखि स्वागतसत्कार गर्नुपर्छ’ भन्ने राय स्वास्नीमानिसहरूबाट आयो ।
स्वास्नीमानिसहरूको रायमा शिवनारानले घोर विरोध गरे- “हाम्रो समाजमा दुलही भित्र्याउँदा होस् वा छोरीबेटी अन्माउँदा उनीहरूलाई विवाहको दुई-चार दिन निकै स्वागतसत्कार, मानमर्यादाको व्यवहार हुन्छ, अवश्य हो । तर, डोलीमा हाली ल्याएर ढोकामा रोकी अनेक स्वागतसत्कार गर्दैमा स्वास्नीमान्छेले हाम्रो समाजमा के मानमर्यादा र स्थान पाएका छन् ? त्यसैले बरु हामी डोलीमा हालेर सम्मान गर्ने ढोंग नगरौं, ढोकामा उभ्याई दुनियाँको अगाडि स्वागतसत्कार गरेको स्वाङ पनि नगरौं । त्यसको सट्टा उनलाई हामी लोग्नेमानिसहरूले आफूले चाहेको हक दिन र मर्यादा गर्न नभुलौँ, नबिर्सौं र त्यसका निम्ति दृढसङ्कल्पी बनौँ । यही मेरो विचार छ ।”
शिवनारानको यो विचार पुननारानलाई ज्यादै मन पर्यो, हर्षनारानले त अझ बढ्ता स्वागत गरे । आखिरमा हर्षनारानको स्वेच्छाले डोलीमा हालेर नल्याईकन हिँडाएर नै ल्याउने निर्णय भयो ।
*****
माहिला तामाङ भरियाको जीविका गरेर खाइरहेका, बुद्धिमान् मानिस नभए तापनि विशाल हृदयका उदार व्यक्ति हुन् । आफ्नी छोरी पुतली हर्षनारान
ज्यापूसँग रोजेर जान लागेकी देखेर उनी बिछट्टै खुसी छन् ।
सात-आठ सालतिर काठमाडौँमा भएको जनविद्रोह र आन्दोलन देखेर माहिला तामाङले नेवार र पर्वतेबीच सम्बन्ध जोड्ने भावना र प्रेरणा पाएका हुन् । उस बेला टुंडिखेलमा विशाल जुलुसले ‘नेवार पर्वते एक हौं, नागरिक अधिकार पाउनैपर्छ, प्रजातन्त्र हुनैपर्छ’ भन्ने जोडदार नारा लाएको थियो । जुलुसले लगाएका अनेक नारामध्ये अरूको त माने र महत्त्व माहिला तामाङले बुझेका थिएनन्, तर ‘नेवार पर्वते एक हौं’ ले उनको हृदय एकदम घचघच्यायो, उम्मिएको आकाशमा एकाएक घाम चर्किएजस्तो भयो उनलाई ।
हर्षनारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् । उनका साथमा दाजु पुननारान पनि छन् । दिनभरि भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको शिष्टता देखेर पुननारानहरू ज्यादै खुसी भए ।
छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट लिएर माहिला तामाङले गौनको फरिया, मखमलको चोलो र खास्टो पहिराएर सुसज्जित पारिराखेका थिए । पुतलीले यति धेरै लुगा एकै चोटि लाउन पाएको उनको जिन्दगीमा पहिलो पटक हो । आफ्ना अनन्य प्रेमीका साथसाथै यस्ता नयाँ लुगा लाउन पाएकाले आज पुतली साहै प्रफुल्ल छिन् । उनी घरी आफूलाई लैजान आफ्नो अगाडि हाँसिरहेका आफ्ना जीवनधनलाई लुकीछिपी हेरिरहन्छिन्, घरी आफ्ना लुगातिर आँखा घुमाएर आह्लादित भइरहन्छिन् । पुतलीले आज रातो धागो हालेर कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई ‘स्वर्गकी परी’ जस्तै राम्री ठानेकी छिन् ।
हर्षनारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए ।
बिदाइको बेला उनकी आमाले केवल यतिसिवाय मुखबाट बोली निकाल्न सकिनन् – “राम्रोसँग बसी सबैलाई खुसी पार !”
माहिला तामाङले छोरीलाई दिन ल्याएको डोको, नाम्लो र हँसिया सुम्पिँदै भने – “छोरी ! लौ यो डोको, नाम्लो र हँसियालाई कहिले पनि नबिर्स र खर्पन, नोल, कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने कोशिश गर ।”
हर्षनारानतिर हेरेर माहिला तामाङले फेरि भने- “छोरी केही नजानेकी सिधासाधा छ, विराएकोमा माफ गरी तालिम गर्नुहोला ।”
पुननारानले हाँसेर भने- “केही धन्दा नमान्नुहोला, हामी छोरी सम्झनेछौं ।”
बिदा भएर पुतलीहरू जान खोजे अनि रुँदै पुतलीकी आमाले भनिन्- “पर्सि आऊ त है नानी !”
पुतलीले रुँदै स्वीकृतिसूचक टाउको हल्लाइन् ।
माहिला तामाङले गहभरि आँसु गरी पुननारानसित विनीत भएर भने- “पर्सि पठाइदिनुहोला ।”
“हवस् ।” नम्रता साथ पुननारानले भने ।
हर्षनारानको घरमा नयाँ दुलहीका निम्ति सबै जना भारी उत्कण्ठासाथ बाटो पर्खिरहेका छन् ।
नयाँ दुलही घरमुनि आइपुगिन् । “ईः । डोको बोक्ने पखिनी पो रहिछ । नयाँ दुलही भएर पनि डोको बोकी हँसिया समाएर आउने गरिबकी छोरी रहिछ ।” झ्यालमा बस्ने छिमेकी आइमाईहरूबीच कुरा चल्न थाल्यो । कसैले “छिः । कस्ती ल्याएको नि, ल्याएपछि अलि गतिली त ल्याउनुपर्छ, कस्ती पखिनी ।” पनि भने ।
नयाँ दुलही गृहप्रवेश गरेको दिन भएकाले सानोतिनो रूपमा भए पनि हर्षनारानको घरमा आज भोज गरिएको थियो । भातको सट्टा चिउरा, अलिकति मासु र तीन-तीन थोक तरकारीहरू पनि थिए, जाँडरक्सी पनि केही मात्रामा थियो । यी सबैका निम्ति शिवनारानले दश रुपियाँ सापट लिनुपरेको थियो । परिवारका सबै मानिसहरूको प्रसन्नता र नाचगान, ख्यालठट्टा देखेर पुतली पनि निकै प्रसन्न र प्रभावित भइन् ।
करिब रातको दश बजिसक्यो, अलि अबेर भइसकेकाले शिवनारानले आजको रमाइलो भङ्ग गर्नुपर्यो, किनभने उनलाई खेतमा सुत्न जान निकै अबेर भइसकेको थियो ।
हर्षनारानको कोठामा आज बत्ती नभए पनि उज्यालो हाँसिरहेको छ, केही नभएर पनि परिपूर्णता देखा परिरहेछ । कोठामा गएर ढोका बन्द गरिसकेपछि हर्षनारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट दौडिसकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्षनारानले भने- “बोल न पुतली ! के नबोली मलाई सम्मान गरिरहेकी ?”
मन्द मुस्कानको गम्भीर चेहराले हर्षनारानलाई पुलुक्क हेरिन् पुतलीले । “तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?” हर्षनारानले स्नेह भरेको आवाजमा सोधे ।
हर्षनारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्षनारानले बत्ती निभाए ।
*****
उनन्तिस
सबैलाई होसियारीको चेतावनी दिँदै नानीथकुंलाई घरमै छोडेर खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिवनारान एक्लै त्यति बेलै खेततिर दौडे ।
रातभरिको छर्लङ्ग अनिद्रामा शिवनारानले नानीथकुंको बारेमा निक्कै चिन्ता गरे, नाना सोचविचार गरे । अब नानीथकुंलाई झट्ट एउटा सुपात्रसित बिहे गरेर नदिई यसै राखिछोड्नु उनले ठीक ठानेनन् । यसैले आफैले नानीथकुंलाई एउटा सुयोग्य वर खोजी गरेर पनि दुई-चार दिनमै विवाह गरी निश्चिन्त हुनुपर्यो । रातभरि नानीथकुंका बारेमा यस्तै केके, अनेक सोचविचार शिवनारानले गरेका थिए ।
यही फिक्रीको फेरमा दौडादौड गरी शिवनारानले एक हप्ताभित्रै नानीथकुंलाई एउटा सुयोग्य वर फेला पनि पारे। दुलाहा हुने केटो म्याट्रिक पास पनि भएको, एउटा मौजाको जिमिदार पनि, उमेर मिल्दो नै थियो । सबभन्दा हर्षको कुरा आफ्ना बाबु अष्टनारान र आफूहरूको पनि विचार र सिद्धान्तअनुसार केटो मधेसी थियो । प्रायः चाहिँदा गुनहरूले परिपूर्ण भएको मधेसी केटो पाएको र आफ्नो र तराईका मधेसी जातिसित वैवाहिक सम्बन्ध जोडिन पुग्ने कुराले शिवनारान चौपट्टै सन्तुष्ट र प्रफुल्लित भए । नेवार, पर्वते, मधेसी यी तीनै जाति र संस्कृतिको मेल झन् आफ्नै घरमा हुन लागेकोमा शिवनारान अत्यधिक खुसी भए । किनभने यी तीन जाति र संस्कृतिको समन्वय वा स्थापना नभईकन नेपालको उन्नति हुँदै हुँदैन भन्ने उनलाई विश्वास थियो ।
दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई ‘राउत’ पनि भन्छन् । रामखेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र आमा- बस, परिवारको नाममा यत्तिकै । घुमीघुमीकन काठमाडौँ उपत्यकाको खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने र उहाँका किसानहरूलाई सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए ।
खेतका खेत डुल्दै गर्दा रामखेलावन राउतको भेटघाट र चिनजान भएको थियो शिवनारानसँग । नानीथकुं पनि खेतमै काम गरिरहने हुनाले रामखेलावनले देख्न पाइरहेकै थिए । नानीथकुंमा पनि गुणको कमी थिएन । केही कम थियो त पढाइ मात्रै हो, तर पढेर, शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुंमा देखिरहेका थिए । नानीथकुंको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी रामखेलावन मुग्ध भएर भित्रभित्रै लोभिइरहेका थिए । झन् विवाहको कुरा पेस भइदिँदा त उनी एकाएक आह्लादित भए ।
दुनियाँमा सब थोक हुन गाह्रो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि खर्चिनुपर्छ, तर प्रेम हुन केही गाह्रो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एकछिनमै प्रेम सम्बन्ध जोड्नाका निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि बढाउने परम साधन भाषासमेत मिल्नेनमिल्ने र जानेनजानेको वास्ता गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर हुन्छन् र अगाडि बढ्छन् ।
रामखेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुं मन पर्न गएजस्तै नानीथकुंलाई पनि पुलुक्क हेराइमै रामखेलावन राउत राम्रो लाग्न गएछन् । झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई सोह्रमा तान्दा एक्का आएको जस्तो भयो ।
रामखेलावन राउत शिवनारानको खेतमा दुई-चार चोटि आउँदैमा शिवनारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउनुपर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले र आफ्ना सिद्धान्तले चाहेजस्तै संयोग मिलिरहेको थियो । त्यसैले शिवनारान मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरिरहन्थे ?
प्रसङ्ग पेस हुनासाथै रामखेलावन राउतले मन्जुर गरे, नानीथकुंले पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुंलाई एक चोटि त अलि कस्तोकस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुं प्रसन्न नै थिइन् ।
चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झट्टै तोक्ने प्रार्थना रामखेलावन राउतले गरे । शिवनारान आफैँ झट्टै बिहे सिद्ध्याउन चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । रामखेलावन राउतको अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि नै बिहे गर्ने शिवनारानले राय दिए । रामखेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले ।
* * * * * *
अस्ति मात्र ‘पर्सि’ भनेर तीन दिन बाँकी भएको तिथि अहिले ‘आज’ भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागिरहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुंको सौन्दर्य झन् चम्केको देखियो । क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुंलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुंलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक मायाममताका कारण बिदाइको बेलामा लतमायाले रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुंको मायाममताले चिमोटेको थियो ।
करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुंलाई बिदाइ गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, खालि – एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए ।
ढोगभेट र बिदाइसँगै नानीथकुं घरका सबै मानिसबाट पाएका आशिष् शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । रामखेलावन राउत पुतलीसडकमा बसिरहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । नानीथकुंलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एकछिन बसी फर्के । रामखेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवनसँगिनी नानीथकुंबाहेक अरू कोही छैन ।
यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइरहेका छन् ।
*****
तिस
भाइबहिनीहरूको व्यवहार सिद्धिई हलौं भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिवनारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिवनारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा गरेअनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालिसकेका छन् । धानका बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू मुजुराउन पनि थालिसकेका हुन् कि जस्तो लक्षण देखा परिसकेको छ ।
शिवनारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरिरहन्थे । किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी छिन् । शिवनारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरिरहन आह्वान गरिरहन्थे । उनी हाकुमायालाई भन्थे- “हाकुमाया ! तिमी अलि अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनुपर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो ।”
“तपाईं त मलाई सधैं सुतेर खाइरहेकी छ जस्तो कुरा गर्नुहुन्छ, के त्यस्तो आराम लिइरहेकी छु मैले ?” एक दिन हाकुमायाले फर्केर भनिन् । “लौन त आराम लिएकी छैनौ भने जाऔं न काम गर्न ।” अलि ठट्टाको भावमा शिवनारानले भने ।
“के काम गर्नु छ र अहिले ?” हाकुमायाले भनिन् ।
“खेतमा धानको शत्रु फार केलाउनु छ । एउटाएउटा फार खोजीखोजीकन उखेल्नुपर्छ हाकुमाया । फार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ, उसले प्रथमतः विरुवाको स्वास्थ्यलाई खान्छ, फार बढ्नाले बिरुवाको स्वास्थ्य नष्ट भई धानका बालामा भुस, दमराहरू बढ्ता हुन्छन्, फलिरहेको धानमा पनि रस कम हुन्छ, गेडामा पुष्टता हुँदैन अर्थात् मोटामोटी भनूँ भने धान एकदम कम हुन्छ ।” शिवनारानले भने ।
“भो भो ! धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन सकेका छौं ? कुन किसानले दरबार बनाउन सकेको छ ? ‘खेत’ भनी सधैं यसरी मरिरहेका छौं । खाने बेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौँ, अझ वर्षामा कति दिन बिनाएकादशी पनि उपवास र निराहार उत्तिकै बस्नुपर्छ ।” मुसुक्क हाँस्तै हाकुमायाले भनिन् ।
“खान त पाएनौँ हामीले, लौ हो भनौं, तर संसारलाई ख्वाउन त पाएका छौँ- यो हाम्रो सानो अहोभाग्यको कुरा हो ?” शिवनारानले पनि हाँस्तै भने ।
“लौं हिँड्नोस्, तपाईंसित को कुरा गरिरहन सक्छ ?”
हाकुमाया र शिवनारान दुवै मिलेर खोजीखोजीकन खेतमा झार, घाँस उखेल्न थाले । उनका केटाकेटीहरू पनि नाङ्गै भएर फार उखेल्ने काममा लागिरहेका थिए, जसलाई दुःख होइन, शिवनारानले तालिम सम्झेका थिए । खेतमा घाँस उखेल्दै शिवनारानले आफ्ना छोराछोरीहरूसित कुरा गरिरहेका थिए- “यसपालि त असार ज्यादै राम्रो भएको हुनाले हाम्रो मिहिनेतअनुसार खेतमा पूरै बाली फल्नेछ । घर पनि हामी यसपालि काइदासाथ मर्मत गर्नेछौं । हर्षनारान र नानीथकुंको बिहेको भोज पनि ख्वाउन बाँकी छ । बाली काटिसकेपछि अलिकति धान बेचेर भए पनि यसपालि त एक चोटि सिनेमा पनि नहेरिछोड्दिनँ ।”
“बा ! हामी पनि सिनेमा हेर्छौं ।” लाडे भावमा केटाकेटीले भने ।
“हुन्छ, हुन्छ, घरभरिका जहान सबैलाई यसपालि म बाइस्कोप देखाउन लैजान्छु ।” शिवनारानले भने ।
“साँच्ची, एक चोटि मात्र भए पनि सिनेमा हेर्न नङ्के’ गर्नैपर्छ । नेपालमा सिनेमा आएको यतिका वर्ष भइसक्यो, आजसम्म हेर्न पाएको छैन ।” हाकुमायाले भनिन् ।
“हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।” अलि अफसोसको भावमा शिवनारानले भने ।
“बा ! यसपालि धान काटेपछि हामीले सधैं दुई छाक भात खान पाउने छौं ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन बा ! दाल तर्कारी हालेर सुरुसुरु भात मात्तै खान मन लागिरहेछ !” छोराचाहिँले भन्यो ।
“लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर भनेको !” सुस्केरा हाल्दै शिवनारानले भने ।
“म पनि सधैं भात खान्छु बा ! ई मैले पनि त घाँसै उखेलिरहेकी छु ।” छोरीले भनी ।
“लौ, लौ, तिमीलाई पनि भातै ख्वाउँछु ।” गहका आँसु पुछ्तै हाकुमायाले भनिन् ।
“तपाईंहरू पनि भातै खानोस् ।” छोरीले फेरि भनी ।
घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै शिवनारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परिरहेको थियो, उनीहरू पनि काम गरिरहेका थिए । बढ्ता तोडमा पानी परेको बेला छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे ।
*****
एकतिस
पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोको ओसारामा बसी कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु घिउसित खाइरहेका थिए । भात पाक्यो । भात खाइसकेपछि पनि पानी परिरह्यो, राति पनि परिरह्यो । बीचबीचमा बिउँझेर शिवनारान खेतको हेरचाह गरिरहन्थे । भोलिपल्ट पनि पानी परि नै रह्यो । बढ्ता पानी परेकाले खेतमा पानी पनि बढ्ता भयो । खेतका निम्ति बढ्ता पानी पनि हितकर छैन तर पानी परिरह्यो, परिरह्यो, पर्सि पनि परिरह्यो, परिरह्यो ।
*****
यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको साह्रो जमिन नै पानी भएर दौडदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका ढिस्का नै बगेर आएका हुनाले रूखसमेत खडिखडाउ भएर बग्दै आइरहेको पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइसकेको थियो, आफ्नै घरमुनि पनि समुद्र आइसकेको थियो । आफ्नो छाप्रो पनि छोप्लाछोप्ला जस्तो हुन थाल्यो । कैय्यन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा, गाई, भैंसी पनि बग्दै आएका देखिन थाले ।
बग्दाबग्दा मानिसै पनि बगेर आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरिसक्यो । डर, त्रास, भयको कुरा गरी साध्य भएन । शिवनारान, हाकुमाया र दुई छोराछोरी समेत चारै प्राणी ओसारामा उभिई बाढी बगिरहेको भयङ्कर दृश्य हेरीहेरीकन कोलाहल मच्चाउन थाले । आकाशबाट पानी परि नै रहेको थियो । घर्रघर्र घरहरू भत्केको आवाज पनि सुनिन थाल्यो । समुच्चा खेत जलमग्न, विष्णुमती र खेतको कुनै हद छुट्टिएको थिएन । भागेर पनि कहाँ जाने ? तपतप आँसु चुहिरहेको आँखाले एक बाजि आफ्नो खेतको चारैतिर हेरेर त्रस्त भावमा शिवनारान सोचिरहेका थिए- ‘पोहोरको समेत कुत तिर्नुपर्छ । अब तल्सिङले के गर्ने हो । उसलाई कसरी रिझाउने ?”
बाढीले असङ्ख्य माल, वस्तु, खेत, घर बगाउँदै ल्याएको देख्तादेख्तै, हेर्दाहेर्दै बाढीले आफ्नो खेत मात्र होइन, आफूहरू बसिरहेको छाप्रो समेत बगाउन थाल्यो । दुई छोराछोरी समेत शिवनारान र हाकुमायाहरू एकै डल्ला भई बाढीको भयङ्करता देखी चीत्कार गरिरहेकै थिए । कराउँदाकराउँदै गरर्र छाप्रो भत्किन थाल्यो र भँगालोको अँगालोमा बाढीले शिवनारानहरूलाई छाप्रोसमेत हरर्र बगाएर लग्यो ।
बाढीमा बग्दै मृत्युको सास फेर्दाफेर्दै शिवनारानले चिन्ता लिइरहेका थिए- ‘घरमा रहेका मेरा भाइहरूलाई यस पालिको कुतसमेतको बोझ लादिने भयो ।’
एकैछिनमा अँगालोमा बाँधिइरहेका चार प्राणी शिवनारान, हाकुमाया र दुई सन्तान लास भएर बग्दै बेपत्ता भए ।
अब तिनीहरूले तिरो तिर्न पनि ताप मान्नु पर्दैन, अनि तल्सिङले तिनीहरूलाई समात्न पनि सक्तैनन्
*****
अष्टनारान ज्यापूको परिवार अब यस दुनियाँमा छैन । उनीहरूको नामसम्म पनि यहाँ रहँदैन । यहाँसम्म कि एघार सालको भयङ्कर बाढीको इतिहासको पानामा समेत पनि उनीहरूको नाम रहँदैन किनभने उनीहरू गरीब थिए, किसान थिए ।
भोलिपल्ट शिवनारानहरूका लास बग्दै क्वेनामा जम्मा भइरहे । त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइरहेका छन् । मानिसका लासहरूका साथसाथै गाई, गोरु, भैंसी, बाख्रा आदिका लास पनि सँगसँगै छन् । हिजो बाढीले बगाएका र हराएका मानिसहरूका हकवालाहरू आई क्वेनामा लासको थुप्रो छानिरहेका छन् । चिनिएका जति लास अलगअलग राखी कति मानिसहरू छाती पिटीपिटीकन रोइरहेका छन् ।
परन्तु शिवनारान, हाकुमाया र दुई बालबालिका यी चार लासको हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् ।
भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट पुननारान, हर्षनारान, पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो हृदय- विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले थिचिएर एक चिहान भए !
*****
