विरहिणी दमयन्ती कथा पाठ पढ्नुहोस् ।
पाठ २ : विरहिणी दमयन्ती (कथा)
– मदनमणि दीक्षित
मध्यरातमा कर्कोटक नागहरूको त्यो गाउँबाहिर घनघोर जङ्गलको एकान्त छाप्रामा उसलाई केही नभनी एक्लै परित्याग गरेर हिँड्ने निषधराज नललाई विदीर्ण हृदयले खोज्दै कोमलाङ्गी वैदर्भी दमयन्ती जङ्गलको गोरेटामा हिँडिरहिन् । दमयन्तीले नलसित आनन्दित र सुखी जीवन बिताएकी थिइन् । ती वर्षहरूमा तिनी आफ्नो चारैतिर जताततै नललाई मात्र देख्थिन् । कर्कोटक नागहरूको त्यो वनमा पनि तिनमा जताततै नलको भ्रम हुन थाल्यो ।
बौलाही प्रियतम नल ! कल्याणकर्ता निषधराज ! मेरी छोरी इन्द्रसेना र छोरो इन्द्रसेनका प्यारा पिता मेरा नल ! मलाई यसरी दुखित नतुल्याऊ, मबाट यसरी लुकेर नबस भन्दै बोटबिरुवासँग, फूल र लहरासँग रुदै, पुकारा गर्दै दमयन्ती एकातिर हिँडिरहिन् ।
आफूसँगै नल छैनन् भन्नेमा विश्वस्त रहेर पनि दमयन्तीले विश्वास नै गर्न सकिनन् । अश्रुधाराले छोपिएका तिनका आँखाबाट तिनी प्रत्येक फूल र हरिया पातमा, वनको प्रत्येक सुगन्धमा, वनमा देखिने चराचुरुङ्गी, मृग र पशुहरूमा नलकै रूप देख्थिन् र फेरि आफैंसित तर्सिंदै आफूलाई समाल्थिन् तैपनि वियोगको त्यो उत्कट ज्वालामा दमयन्तीको हृदय भस्मीभूत हुँदै गयो ।
भोकी, अर्धनग्न, विक्षिप्त र शिथिल भएकी दमयन्तीलाई हिँड्न पनि गाह्रो भयो । तिनले एउटा पिपलबोटको फेदमा आश्रय लिइन् र दाहिने पाखुराको सिरान गरेर शून्य आकाशतिर हेर्दै पल्टिएर आफ्नो मनभित्र जीवनको अर्थ खोज्न थालिन् । विहानदेखिकै शान्त तिनी एकान्तिक नारीका आँखा पनि शून्य आकाशमा नललाई खोज्दाखोज्दै निद्रालीन भए। सूर्य अस्ताउन केही समय बाँकी थियो । अस्ताउँदो सूर्यका कलिला पहेंला तेर्सा किरण दमयन्तीका मुहार र वक्षस्थलमा पर्न थाले ।
सपनामा दमयन्तीले नलको भाइ जुआडी पुष्करको कालो मुहारमा सेता दन्तपङ्क्ति र रातो पहेंलो आँखा देखिन् । सपनामा पुष्करले दमयन्तीलाई बोलाउँदै शिर सुम्सुम्याइरहेको थियो । दमयन्ती आतेसमा परेर निसास्सिएर व्युझिइन् । तिनले देखिन् एउटा भुसतिघे, कालो, बलिष्ठको, डरलाग्दो नागजातिको पुरुष तिनको मुहारतिर कामुक दृष्टिले हेर्दै कपाल सुम्सुम्याइरहेको थियो । आत्तिएर दमयन्ती झ्वाट्ट उभिइन् र रक्षा माग्दै एकातिर दौडिन थालिन् । कर्कोटक जातिको त्यो नागले पनि दमयन्तीलाई समात्न खोज्दै पछि पछि दौडदै आइरह्यो । “मलाई रक्षा गर !” जताततै चिच्याउँदै दौडिरहेकी दमयन्तीलाई केही बेरपछि त्यो कर्कोटकले समात्यो र जुरुक्क काँधमा बोकेर आफ्नो छाप्रोतिर दौडियो । दमयन्तीले आफूलाई पूर्णतः असुरक्षित र असहाय ठानिन् । कर्कोटकका काँधमा केही बेर छटपटाएपछि तिनी शान्त भइन् र आफ्नो रक्षाका उपायबारे विचार गर्न थालिन् ।
सूर्य अस्ता चुकेको थियो । कर्कोटकले आफ्नो छाप्राको पिंढीमा दमयन्तीलाई काँधबाट ओराल्यो । भुइँमा उभिएकी दमयन्तीले मुसुक्क हाँस्दै कर्कोटकलाई नमस्कार गरिन् र आफ्नो भोकबारे बताइन् । आफ्नो विजयमा त्यो नागयुवक प्रसन्न भयो। त्यसले पिँढीमा सुकुल ओछ्याएर त्यसमाथि बाघछाला हाल्दै “तिमी यहाँ सुखासनमा बस सुन्दरी, मसित नडराऊ। तिमी नारी । म पुरुष हुँ। नारी र पुरुषको संयोग सृष्टिकारी हुने गर्छन् । यो संयोगमा त्रास किन ? हामी वार्तालाप गरौं” भन्यो ।
नागयुवक दुष्टात्मा हो भन्ने कुरा त त्यसको कामुक आँखा र स्वरबाटै दमयन्तीले बुझिसकेकी थिइन् । उनले आफ्नो रक्षाको निम्ति उपाय खोज्न तिनले आफूलाई शान्त र संयत राखिन् र आफ्नो दुःख व्यथावारे बताउन थालिन् । नागयुवकलाई आफ्नो कथा बताउँदा दमयन्तीले नलले जङ्गलको बाटो बिराएर हराएको कुरा मात्र गरिन् ।
“यसको पति नल हरायो । वन एकान्त छ, त्यहाँका नाग नरनारीलाई यस्ती सुकुमारीलाई मैले नगरबाट हरण गरी ल्याएको हुँ भनी आफ्नो वहादुरीको बखान गरेर आफ्ना गाउँलेलाई प्रसन्न तुल्याउने छु। यी नारी मेरी भइसकिन् । यिनीसित राती सुखभोग गर्ने छु” भन्ने विचार गर्दै कर्कोटक नागले दमयन्तीसामु त्यहाँ कुरा गर्यो पनि । दमयन्तीले आफूले रक्षक पाएर सन्तुष्ट भएको छु भनी आफ्नो प्रसन्नता जस्तो समेत प्रकट गरिन् । नागले दमयन्तीको भोकको कुरा सम्झियो र तिनका निम्ति कन्दमूल र दुधको खिरका साथ मृगको सुकुटी पकाउने र पोल्ने कुरा गर्यो, दमयन्ती खुसी भइन् ।
छाप्रामा आगो बालेर कर्कोटक नागयुवक भोजन पकाउनमा लाग्यो । बाहिर पिंढीमा निस्पट्ट अन्न्धकार छ । उज्यालो चाहियो भनेर दमयन्तीले चुलाबाट एउटा अगुल्टो मागेर पिंढीतिर लागिन् । दमयन्ती पाएर उन्मत्त र प्रसन्न भएको नागयुवकले छाप्राको कुनाबाट जौको जाँडको घैटो ल्याएर आफू खाँदै दमयन्तीलाई पनि दियो । आफूलाई भोजनसँगै मात्र मदिरा मन पर्छ, त्यस वेला मात्र खाने छु बरु तिमी आफूले खाऊ भन्दै दमयन्तीले मायालु हातले नागयुवकलाई मदिरा खुवाउँदै रहिन् । कन्दमूलको खिर पकाउँदा पकाउँदै कर्कोटक उड्न थाल्यो । दमयन्तीले छाप्राको ढोका र पिँढीमा जाँड पोखेर अगुल्टाले ढोकाको जाँड र छाप्रामा आगो लगाइदिइन् र त्यहाँबाट पूर्व दिशामा सुइँकुच्चा ठोकिन् । कर्कोटक नागयुवकबाट त्यसरी छुटकारा लिए पनि एक कोस पूर्वतिर गएर दमयन्तीले शिंशपा रुखका हाँगामा सावधान बसी रात गुजारिन् ।
किंकर्तव्यविमूढ तथा सधैं अपराजिता रहेकी तर त्यस वेला आफूलाई पराजित अनुभव गरेर विह्वल भएकी दमयन्ती तीन दिनसम्म जङ्गलको माझ विह्वल हुँदै र बाटामा पाएका कन्दमूल खाँदै हिंडिरहिन् । जङ्गलविचका साना खुला ठाउँमा छसात घर भएका निषाद र नागको बसोवास देखिंदा ती घरसित समेत तर्सिएर दमयन्ती वन्यप्रान्तकै बाटो हिंडिरहिन् । एकान्त यात्रामा ती एक्ली नारीले आफू र वनस्पति तथा पशुपन्छी अनि नलबिच एकात्मकता रहे जस्तो अनुभव गर्ने गरिन् । वनको बाटामा आफ्नो सामान्य रक्षाका निम्ति तिनले हातमा एउटा लट्ठी लिएकी थिइन् । कुनै अजिङ्गर, कर्कोटक वा निषादयुवकले फेरि बलजफ्ती गर्न नपाओस् । त्यस्ता कुनैले देखिहाल्यो भने पनि कुरूप र बौलाही ठानेर त्यस्ताले आक्रमण नगरुन् भन्ने विचार गर्दै दमयन्तीले आफ्नो केशलाई धुलाले मुसारेर जगल्टा जस्तो बनाइन् । आफ्नो रूपलाई हिलो दलेर विकृत तुल्याइन् । मानिसको परिचय उसको शरीरले भन्दा पनि उसको मस्तिष्क र हृदयले दिने हुँदा शरीरलाई जतिसुकै क्षतविक्षत तुल्याए पनि दमयन्तीको हृदय र बुद्धि भविष्यको उज्यालो आशामा नलप्रति झन् झन् बढी मुग्ध र कोमल हुँदै गयो । जहिले जुन रूपमा भए पनि आफ्ना पति नललाई आफूले अवश्य नै फेला पार्ने छु भन्नेमा तिनको विश्वास झन् झन् दृढ हुँदै गयो। तेस्रो दिनको साँझ सूर्यास्तको समयमा वनका बिच खुला ठाउँमा रहेको खेतमा देखा परिरहेको एउटा ठुलो ढुङ्गानजिक पुगेर दमयन्ती अडिइन् । तिनले चारैतिर हेरिन् । टाढा पूर्वतिर पातलो जङ्गलको पारि केही छाप्रा रहे जस्तो तिनलाई लाग्यो । तीन दिनदेखि नरनारीको मुखसम्म नदेखेकी दमयन्तीमा मानिसको सान्निध्यको अनुभवले आनन्द दिन थाल्यो भने आशाका लहर पनि उठ्न थाले। सूर्यास्त हुँदै गयो । टाढाका तिनै छाप्रातिरवाट कुखुरा बासेको स्वर तिनले सुनिन् । त्यो स्वरले उल्लासमय मनोदशामा पुगेकी दमयन्तीको मनलाई तिनै छाप्राका नरनारीतिर, मानिसको सामीप्यतिर तान्न थालो। तथापि दमयन्तीले प्रवल आत्मनियन्त्रणलाई अँगालेर खेतका हरिया मुना र कलिला काँचा जौंका झारद्वारा भोकलाई शान्त पार्दै त्यही ढुङ्गामाथि लम्पसार परिन् ।
तीन दिनदेखि निद हराएकी दमयन्ती तुरुन्तै गहिरो निद्रामा परिन् । मध्यराततिर नललाई सम्झिएर बर्बराइरहेकी दमयन्तीको आँखा खुल्यो। कालोनिलो आकाशमा उत्तरतिर ध्रुवतारा त्यसको दाहिनेतिर साततारा र देब्रेतिर पाँच ताराका उज्याला तारामण्डलले तिनलाई मोहित तुल्यायो । पूर्वदेखि पश्चिमतिर केही दक्षिणतिर ढल्किएको आकाशगङ्गा दमयन्तीका दृष्टिमा सङ्गीतमय हुन थाल्यो । आकाश र पृथ्वी यस्ता सुन्दर छन् । तिनका विच आफू एक्ली विरहिणी अवस्थामा अनुभव गरेर दमयन्ती कोमल मधुर स्वरमा वियोग र पीडाको गीत गाउन थालिन् । कति बेरसम्म तिनले गीत गाइन्, तिनले आफैँ थाहा पाइनन् । आकाशमा विस्तारै विस्तारै उभ्रिएर आउँदै पातला बादलले त्यो सुन्दर आकाशलाई दमयन्तीका हृदयमा धुमिल तुल्याउँदै लग्यो । विस्तारै बिस्तारै दमयन्ती फेरि निदाइन् । यो पछिल्लो निद तिनका निम्ति बढी आनन्ददायी हुँदै गयो ।
आफ्नो सपनामा दमयन्तीले त्यो बाक्लो जङ्गलविच त्यस्तै एउटा फराकिलो खुला ठाउँमा ऋषिहरूका आश्रमका छाप्रा देखिन् । त्यो आश्रमको चारैतिर मृग, मयूर, सुगा र गाईवाच्छा चरिरहेका देखेर मानवसामीप्य खोज्दै दमयन्ती ती छाप्रातिर वढिन् । फेरि आक्रमण गर्छ कि कसैले भन्ने भयले गर्दा तिनका पाइला सुस्तरी उठिरहेका थिए । सपनामै तिनले मानव आवाज सुनिन्, “सुन्दरी ।” आफ्नो रूपलाई आफैले विकृत तुल्याइसकेकी तिनलाई सम्झना भयो तर पाइलो अघि सरिरह्यो । त्यही स्वर फेरि सुनियो, “तिमी को हौ ? वनदेवी, राक्षसी, यक्षी वा गन्धर्वी अथवा देवनारी कि मानवी ?” दमयन्तीलाई अचम्म लाग्यो, “सबै नै मानव नै त हुन् । मनुका सन्तान ।” सपनामा दमयन्ती मुसुक्क हाँसिन् । त्यो आश्रममा तिनले यथेष्ट मित्रता तथा सम्मानपूर्ण सत्कारका साथ भोजन गरिन् । सपनामा फेरि तिनले सुनिन्, “अझै उत्तरपट्टि हिँड्दै जाऊ, खोज्दै जाऊ, तिम्रो नल भेटिने छन् । नल पनि तिमीलाई खोज्दै अति पीडित हृदय लिएर तिमीतिरै आइरहेछन् ।”
“कहाँ थियौ यतिका दिनसम्म ?” भन्दै दमयन्ती चिसो ढुङ्गामाथि आफ्नो मुखमा सूर्यको सुनौलो प्रभाती किरणलाई अनुभव गर्दै व्यूँझिइन् । यथार्थ वस्तुस्थितिबारे दमयन्तीले बुझिन् । त्यस्तो सुखकारी सपना देखेकामा तिनी प्रसन्न भइन् र मुख पुछ्दै फेरि उत्तरतिरको बाटो लागिन् । केही बेरपछि एउटा सानो खोला देखियो । दमयन्तीले स्नान गरिन् । किनारामा केराको घारी थियो । केही काँचा, केही पाकेका केराको एक कॉगियो नै तिनले खाइन् । दमयन्तीमा शक्ति र साहस फर्कियो । तिनी उत्तरतिर लागिन् ।
निकै बेर हिँडेपछि जङ्गलका विचमा तिनले अस्पष्ट तर ठुलो आवाज सुनिन् । त्यो आवाज वन्यजन्तुको होइन भन्ने बुझेर तिनी केही पूर्वतिर त्यही आवाजतिर हिँड्दै रहिन् । केहीवेर हिँडेपछि दमयन्तीले घोडा, गोरु र गाडामा चढेका लगभग ५० देखि ६० जना मानिसको डफ्फा देखिन्, गाडा निकै थिए । गाडामाथि खरपातका घुमाउरा छाप्रा हालिएका थिए। सबै घोडा र गाईवस्तुका घाँटीमा साना घन्टी टिङटिङ बजिरहेको सुन्दा दमयन्ती हर्षोन्मत्त भइन् । त्यस्ती दमयन्तीलाई देखेर मानिस अगिल्लो गाडातिर डराउँदै, चिच्याउँदै, दौडिदै गए । अगिल्लो गाडामा तिनीहरूले केही बेर कुरा गरेपछि उज्यालो सेतो लुगामाथि सुनको मुकुटलाई पहेंलो फेटाले बाँधेको, कम्मरमा चाँदीको बुट्टे पाताको माला पहिरी एउटा प्रौढ पुरुष निस्केर दमयन्तीतिर आयो । त्यस पुरुषले दमयन्तीको परिचय सोध्यो । आफ्नो परिचय दिएर सबै कुरा बताएपछि दमयन्तीले त्यस पुरुषको नाम र गन्तव्यस्थलबारे सोधिन् । त्यो पुरुष शुचिभद्र भन्ने सार्थवाह रहेछ । यक्षराज कुवेरको मित्र मणिभद्रको कुलमा शुचिभद्र जन्मिएको रहेछ । त्यो सार्थ काशीवाट अयोध्या हुँदै चेदीतिर जान हिँडेको रहेछ । दमयन्तीले निषध नलबारे बताइसकेकै थिइन् । शुचिभद्रको सार्थले कतै कहीं नललाई देखेको थियो कि । राजा नलबारे केही सुनेको थियो कि भनी सोधिन् ।
शुचिभद्रलाई नलबारे केही थाहा थिएन । विदर्भकी कन्या दमयन्तीबारे सुनेर र कुरा गर्दा सेठ शुचिभद्रले तिनी शिथिल भएकीबारे बुझ्यो र भोजन गर्न आग्रह गर्यो । कैयौँ दिनपश्चात् दमयन्तीले मृगको सुकुटी, दही, भात र नुन हालेर उसिनेको कन्दमूल तथा दुध खाइन् । अचम्म मानेर तिनीतिर सेठ हेरिरह्यो । त्यसले भन्यो, “सुन्दरी वैदर्भी, चेदी ठुलो जनपद हो। नल त्यहीं फेला होलान् नत्र तिनका बारे त्यहाँ थाहा पाइने छ। अहिले तिम्रो अवस्था कुनै निषादी जस्तो छ । तिम्रो शरीरमा यी झारपात अवश्य नै सुन्दर देखिन्छन् तर म तिमीलाई वस्त्र अर्पित गर्छु। ती वल्कलको परित्याग गर र आफ्नो कपाल पनि काँगियोले सम्याऊ ।” नललाई भेट्ने आशामा दमयन्तीलाई आफ्नो पूर्वसौन्दर्यको सम्झना भयो । तिनले वस्त्र फेर्न स्वीकार गरिन् तर साँझको स्नान र सन्ध्योпасनापछि मात्र भनिन् ।
शुचिभद्र सेठ आफ्नो गाडामा गयो । दमयन्ती एउटा गाडाको पछ्ठिल्लो बाँसको सहारा लिएर सार्थसँगै हिंँड्न थालिन् । आधा कोसजति गएपछि मध्याह्नको सूर्यको रापले सेक्न थाल्दा शुचिभद्रको सार्थ पद्मसौगन्धिक भन्ने अति ठुलो तलाउको किनारमा जङ्गलबाट निस्केर पुग्यो । त्यो विशाल सरोवर अति रमणीय र सुन्दर थियो। राप र जङ्गलको उकुसमुकुसयुक्त निश्चलतामा पिल्सिएको र निस्सासिएको त्यो सार्थ एकैछिन सरोवरको किनारमा अड्यो । शुचिभद्रले भनेर केही युवकले सरोवरको किनारमा बस्न, नुहाउन र भोजन बनाउन मिल्ने ठाउँ खोजे । त्यस ठाउँमा पुगेपछि सार्थका खड्गधारी धनुर्धर रक्षक दलले आफ्नो ठाउँ लियो । सबै जना घोडा र गाडाबाट ओर्लिएर रुखका छहारीमा सुस्ताउन थाले । सार्थसँगसँगै पैदल आइरहेकामा विभिन्न रूप, रङ, भाषा र भेषका सातआठओटी नारी पनि थिए। ती नारीलाई देखेपछि दमयन्तीको मन चञ्चल भएर आँखा भिज्न थाले । दमयन्तीले तिनीहरूसित सामान्य कुरा गर्दै रुखका छहारीमा सुस्ताइन् । सार्थसँग गाडामा रहेका र पैदल यात्रीसमेतले केहीबेर सुस्ताएर सरोवरमा जलक्रीडा गरे । दमयन्ती पनि पानीमा उत्रिइन् र एक्लै पौडिदै निकै टाढा टाढासम्म गइन् । सरोवरमा स्नानपछि शुचिभद्रले दमयन्तीलाई कालो धोती र दुकूलको ओढ्ने दियो । भोजनपश्चात् त्यो सार्थले निकै बेरसम्म त्यही सरोवरछेउ विश्राम गर्यो । विश्राम गर्दा घोडा र गाईगोरुलाई समेत नुहाइदिएर चर्न यताउति छोडिदियो ।
यात्राका निम्ति फेरि तयारी गर्दा सूर्य ढल्किन थालिसकेको थियो । उत्तरतिरको अगाडिको जङ्गल साह्रै नै बाक्लो र जङगली पशुले गर्दा रातको निम्ति डरलाग्दो छ भनी सार्थरक्षकहरूले भनेपछि त्यो रात सार्थले पद्मसौगन्धिककै छेउमा विश्राम गर्नु उचित हुने छ भनी सेठ शुचिभद्रले निर्णय लियो । सरोवर किनाराको खुला ठाउँमा गहिरो निद्रामा शुचिभद्र सार्थ सुतिरहँदा मध्यराततिर जङ्गली हात्तीको एउटा डफ्फा पानी खान भनी सरोवरतिर आयो। मध्यरातमा हात्तीद्वारा कुल्चिएर शुचिभद्र सार्थ ध्वस्त र विनष्ट भयो। सार्थविच नरनारी तथा घोडा र साँढेहरूबिच हाहाकार मच्चियो । नारीहरूसँगै सुतेकी दमयन्तीले सुरुमै आफूलाई जोगाएर एउटा अग्लो रुखमा आश्रय लिइसकेकी थिइन् । तिनको सहायताले एउटी अर्की नारी रुखको अर्को हाँगामा वसिन् र हात्तीद्वारा भएको त्यो विनाशलाई दुवैले करुण दृष्टिले हेरिरहेका थिए। सार्थवाट उठेको हाहाकार चिल्लीविल्ली र क्रन्दनले हात्तीलाई झन् तर्साएर उन्मत्त तुल्यायो । त्यो मध्यरातमा कतै केही देखिदैन थियो। पानी खाएर हात्तीहरू तलाउबाट फर्किंदा बाँकी रहेको सार्थ झन् किचीमिची हुँदै गयो ।
विहानको सूर्योदय हुँदा पनि क्षतविक्षत भएका केही नरनारीको ऐया र रोदन चलिरहेको थियो । रक्षक दल र पदयात्रीमध्ये रुख चढेकाहरू दशवाह्र जनाबाहेक सबै मरिसकेका नत्र असाध्य घाइते भइसकेका दमयन्तीले देखिन् । शुचिभद्रको छातीमै हात्तीको पाइला परेको रहेछ। रुखवाट ओर्लिएकी दमयन्तीले रुखमा आफूसँगै रहेकी नारीलाई भनिन्, हेर त बहिनी, सृष्टिकर्ताले मेरो यो शरीर जीवनभरि दुखै भोग्नका निम्ति बनाएको रहेछ तर हेर आज मेरा आँखामा यो वीभत्स दृश्यसामुसमेत आँसु छैनन् । कति पीडा भोगिसकें मैले । शुचिभद्रले दिएको यो वस्त्र मेरा निम्ति यत्रो अशुभ भयो । यसलाई म फ्याँक्छु ।” अर्की नारीले एउटी मृत नारीको कम्मरबाट रगतका टाटा लागेको मैलो कपडा ल्याइन् । दमयन्ती त्यसैमा वेरिइन् । दुवै नारी चेदीतिर हिँडे। उज्यालो हुँदै जाँदा बाटामा तिनले वैदिक मन्त्र गुनगुनाउँदै गएका केही ब्राह्मण र क्षेत्रीय पदयात्रीलाई भेटे । कोही कसैसँग बोलेनन् । सबै आआफ्नो बाटो लागे ।
सरोवरमा दुर्घटना भएको केही दिनपछि ती दुवै नारी चेदी जनपदको छेउमा पुगे । अर्की नारी आफ्नो गाउँतिर हिँडिन् । दमयन्तीले आफ्नो बाल्यकालको कुरा सम्झिन् । निकै सानी वालिकाको अवस्थामा रहेकी दमयन्तीले आफ्नी आमाबाट ठुलीआमावारे कुरा सुनेकी थिइन्, “छोरी, तेरी ठूलीआमा मभन्दा निकै जेठी छन् । जन्मिनेभन्दा निकै वर्ष पहिले मेरी दिदी सुनन्दालाई चेदीराज सुवाहुले अपहरण गरेर लगी आफ्नी पत्नी बनाएका थिए ।” त्यो सम्झनाले दमयन्तीमा ठुलो शङ्का उत्पन्न गर्यो, “सामुन्ने चेदी छ । त्यहाँ सुबाहु र ठुलीआमा सुनन्दा छन् । तिनले मलाई चिने भने नमिठो हुने छ तैपनि चेदी जानैपर्छ। नल फेला परिहाल्छन् कि ।” दमयन्तीले फेरि आफ्ना केश, वस्त्र र मुहारलाई विकृत तुल्याइन् ।
निषधराज नलबाट विछोड भई हिँडेदेखि घाममा परेर तिनको मुहार र शरीर त्यसै पनि डढेर कालो भइसकेको थियो । चेदीभित्र पस्दा दमयन्तीलाई बौलाही जeste देखेर सडकका केटाकेटी हा हा हु हु गरी चिच्याउँदै गिज्याउँदै दमयन्तीका पछि लागे । चेदी नगरको मूल बाटाको पूर्वतिर काठको आफ्नो दुईतले घरको माथिल्लो बार्दलीमा बसेर रानी सुनन्दा सडकका रमिता हेरिरहेकी थिइन् । बौलाही जस्ती दमयन्तीमा ती वृद्धाको दृष्टि पर्यो । दमयन्तीको मुहारको ओज र देहयष्टितिर तिनको ध्यान गयो । आफ्नो सेवकलाई अराएर तिनले दमयन्तीलाई आफूछेउ बोलाइन् र परिचय सोधिन् । दमयन्तीले आफ्नो यथार्थ परिचय लुकाएर आफूले एउटा सम्भ्रान्त परिवारमा सेठकी पत्नीको सिँगारपटार गर्ने सुसारे भएर काम गर्ने गरेको बताइन् । आफ्नी युवती हुन लागेकी छोरीका निम्ति सुनन्दा कुशल सुसारेको खोजीमा थिइन् । सुनन्दाले दमयन्तीसामु आफ्नी छोरीको सुसारे सैरन्ध्रीको काम स्वीकार गर्न आग्रह गरिन् ।
“तपाईं रानी, मेरी मातासरह हुनुहुन्छ तथापि मेरा तीनओटा सर्तलाई स्वीकार गर्नुहुन्छ भने मात्र म यो काम गर्ने छु” भनिन् दमयन्तीले । “मैले कसैको जुठो खान नपरोस्, कसैको पाउ दाब्न नपरोस् र कुनै परपुरुषसित बोल्न नपरोस् ।” भन्ने आफ्नो सर्त प्रस्तुत गरिन् । सुनन्दाले तीनैओटा सर्तलाई स्वीकार गरेर छोरीलाई बोलाएर “तिमी सैरन्धी अबदेखि यिनको हेरविचार र स्याहारसुसारमा बस्नू” भनी आदेश दिइन् ।
निषधबाट नलसँगै निस्केकी दमयन्ती चेदी नगरमा आफ्नी ठुलीआमाको भवनमा सैरन्ध्रीका रूपमा रही निषधराज नललाई जसरी भए पनि खोजेर फेला पार्ने उपायबारे सन्तोषका साथ विचार गर्न थालिन् ।
शब्दभण्डार / शब्दार्थ (पाठ २)
- संयत: मर्यादा वा सीमाभित्र रहेको
- धूमिल: स्पष्ट नदेखिने / धमिलो
- कर्कोटक: पुराणप्रसिद्ध आठ नागमध्ये एक
- किंकर्तव्यविमूढ: बिलखबन्द, यसो गरूँ कि उसो गरूँ भई जिल्ल परेको
- निषाद: एक प्राचीन जाति (जङ्गली वा सिकारी)
- सैरन्ध्री: रूपसज्जाको काममा खटिएकी सेविका
- शिंशपा: एक जातको रुख, सिसौ
- वल्कल: रुखको बोक्राद्वारा बनेको पोसाक
- कन्दमूल: माटामुनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल
- देहयष्टि: दुब्लो वा लामो शरीर / शरीरको बनोट
- दुकूल: रेसमी पछ्यौरा / मसिना र राम्रा कपडा
- सार्थवाह: व्यापारी लस्करको मुखिया
- आकाशगङ्गा: आकाशमा उत्तरदेखि दक्षिणसम्म ज्योतिपुञ्जका रूपमा फैलिएका नक्षत्रको समूह
- गन्धर्वी: गाउने र बजाउने कलामा प्रवीण देवयोनि (स्त्री)
- पिँढी: थाम हाली बनाइएको घरको गाराको बाहिरी खुला भाग
- जनपद: जनसाधारणको बसोबास भएको ठुलो इलाका वा देश
