मातृत्व कथा पाठ पढ्नुहोस् ।
यहाँ ‘पाठ ८: मातृत्व’ को युनिकोड पाठ र त्यसको अन्त्यमा रहेको शब्दार्थ दिइएको छ:
पाठ ८ मातृत्व भागीरथी श्रेष्ठ
केही महिनाअघिको कुरा हो, एउटा शनिबार सदा झैँ म झ्यालमा बसेर उहाँको बाटो हेर्दै थिएँ । मेरो दशवर्षीय ठुलो छोरा भर्खर नुहाएर कोठामा पस्यो । उसले लुगा फेर्दै सोध्यो, “आमा ! के हेरिराख्नुहुन्छ तपाईं सधैं ?”
छोराको प्रश्न सुनेर मनमा लाग्यो, सानातिना कुरामा किन झुट बोल्नु ? हुन त कतिपय कुरामा छोरासँग झुट बोलेकी छु तर यसो गर्दा मलाई कत्ति सन्तोष लाग्दैनथ्यो । योभन्दा बढ्ता असन्तोष त्यति वेला लाग्थ्यो जति बेला छोराले मेरो कुरामाथि विश्वास गर्दैनथ्यो र उल्टो शङ्का गर्थ्यो । त्यतिखेर मेरो अनुहार जङ्गलमा झारिएको रुखको ठुटो जस्तै हुन्थ्यो । पश्चात्ताप र ग्लानिले मेरा दुवै नेत्र रसाउन थाल्थे ।
अहिले सोधेको प्रश्नको जवाफ हुन त जे भन्दिए पनि हुन्थ्यो तर नभएको कुरा भन्न मन लागेन । “केही हैन छोरा ! सुबोध अङ्कललाई”
“किन दिनदिनै आउनुहुन्छ हामीकहाँ ?” नरुचाए झै गरी उसले प्रश्न गर्यो ।
“किन तिमीलाई मन पर्दैन र ? उहाँले तिमीहामी सबैलाई माया गर्नुहुन्छ ।”
उसको मुख र प्रश्नमा झल्केको अरुचिमा विश्वास दिलाउनुपर्छ भन्ने विचारले म पूर्वाग्रह पीडित थिएँ ।
“आमा ! सुबोध अङ्कल मन पर्दैन मलाई” छोराको कुरा सुनेर म झस्कें। उसको भनाइमा नैराश्य विम्बित हुन्थ्यो ।
“किन छोरा त्यस्तो भनेको ? उहाँ राम्रो अङ्कल हुनुहन्छ । त्यसो नभन है छोरा !” सम्झाउँदै भनें ।
“तपाईं नहुँदा हामीलाई कस्तो हपार्नुहुन्छ, गाली गर्नुहुन्छ, बुवाले जस्तो माया गर्नुहुन्न । आमा ! अबदेखि सुबोध अङ्कललाई हामीकहाँ नआउनू भन्नुस् न ।” पिलपिलाउँदो र उपेक्षाको भावले छोराले आफ्नो बालसुलभ वास्तविकता पोख्यो ।
यो सत्यतालाई मैले बुझेर पनि बुझ पचाउँदै आइरहेकी थिएँ ।
“हुन्छ छोरा भन्छु तर अहिले होइन अलि पछि भन्ने छु ल !”
छोराको अनुहार खुसीले उज्यालो भएको स्पष्ट देखिन्थ्यो ।
छोराको भनाइले मेरो मन भने भित्रभित्रै चस्कन थाल्यो । मेरो मस्तिष्कमा अतीतका कुरा खेल्न थाल ।
सुबोध मेरो लोग्नेको मिल्ने साथी। एउटा दुःखदायी हवाईजहाज दुर्घटनाले मेरा छोराछोरीलाई टुहुरा बनायो । कलकलाउँदो उमेरमै मेरो सिन्दूर पुछियो। मेरा चुरा फोरिए ।
सुबोध मकहाँ बरावर आउनुहुन्थ्यो । आश्वासन दिनुहुन्थ्यो । माया दर्साउनुहुन्थ्यो तर पनि मैले अत्यन्त शून्यता र रिक्तता अनुभव गर्थे । लोग्नेको अभाव महसुस गर्थे। त्यो सिङ्गै घर मलाई सुरुङ जस्तै लाग्थ्यो । जिन्दगीमा धेरै कुरा हराए जस्तै थिए। यसरी मैले आफू र छोराछोरीलाई साहै असुरक्षित अवस्थामा पाएँ। मैले सुरक्षा चाहन्थें । टेक्ने हाँगाको खोजीमा थिएँ म। मायाको निर्मल आकाश चाहन्थें म । लाग्थ्यो, संसारमा एउटा कोही त माया गर्ने पुरुष चाहिन्छ, जुन माया शारीरिकभन्दा मानसिक रूपमा ज्यादा होस् । यसैको चाहनाले च्यापेर अनायास म सुबोधलाई बढी माया र सम्मान गर्न थालेथें। उहाँ नै हुनुहुन्थ्यो मेरो दुःख र सुखमा साथ दिनुहुने र मकहाँ बराबर सहानुभूति देखाउन आउनुहुने ।
एक दिन सधैं मेरो व्यथा र पीडाले मुर्भाएको अनुहार देख्दा सुबोधले सम्झाउँदै भन्नुभएथ्यो, ‘ममता ! तिमी किन पिर लिन्छ्यौं ? हुने कुरा भइहाल्यो । मन बलियो बनाउनुपर्छ ।”
‘तिमी’ सम्बोधनले मलाई झन् नजिक पुऱ्याएको अनुभव मैले गरें । त्यसैले त हमी निकै नजिक आइसकेका थियौँ एकआपसमा । मलाई उहाँले भित्रैदेखि चाहनुहुन्छ भन्ने पनि मैले अनुभव गरेकी थिए ।
“जिन्दगीमा पिरबाहेक सुख कहाँ देख्न पाउँछु र ? सहारा, सुरक्षा र माया गुमाइसकेकी एउटी स्वास्नीमान्छेको अनुहार कसरी उज्यालिन सक्छ र ? छोराछोरी सानै छन् । आफैँ सोच्नुस्, यत्रो लामो जिन्दगी लिएर म कसरी बाचूँ? यो सोच्दा मलाई पट्यार लाग्छ” सुस्केरा हाल्दै मैले भनें ।
“ममता । त्यसो भए तिमी के चाहन्छ्यौँ त ? के विचार छ तिम्रो ?”
“मेरो चाहनु नचाहनुमा फरकै के पर्छ र ? चाहेर पनि त सबै कहाँ पुग्छ र? नचाहेर पनि के हुन्छ र ? हुन त मान्छेकै मन त हो चाहनाले वेरिहाल्छ । एउटा पवित्र माया, पवित्र सहारा र सुरक्षाको कल्पना हुन्छ तर सबै कल्पना आखिर पानीको फोका पट्ट फुटेर बिलाउँछन् ।”
मैले यति भन्न के भ्याएँथे एक्कासि मैले आफूलाई सुबोधको आवेशपूर्ण अंगालामा पाएँ ।
“ममता ! तिम्रो भावना बुझै। यो अँगालो जिन्दगीभर फुत्कने छैन न त पानीको फोका फुट्ने छ ।”
लोग्नेको न्यानो अँगालो नपाएको एक वर्षपछि सुबोधको न्यानो अँगालो पाउँदा मलाई रमाइलो त लाग्यो तर म अकमकिएँ। के गरूँ के गरूँ जस्तो भयो । अनजानमै भलभल निस्केको आँसुलाई सुबोधले आफ्ना हातले पुछिरहनुभयो । धेरै बेरसम्म उहाँको हात पन्छाइनँ । विश्वास र मायाले घेरेपछि उहाँलाई देवता मान्न थालें, उहाँको मायालाई अनुपम उपहार सम्झै । प्रसन्नतापूर्वक हामीले एकअर्काको प्रेम स्विकाौँ । त्यो दिन मेरा लागि ढकमक्क भएर न्यानो घाम लाग्यो । नाङ्ङ्गिसकेका मियालका हाँगामा झकमक्क फूल फुल्न लागे। मेरो चारैतर्फ कनकचम्पाको मिठो बास्ना फैलिन थाल्यो ।
हामी धेरैबेर कोठामा वस्यौं । उहाँ फर्किनुभएपछि मनभित्र अनेक किसिमका विचार खेल्न थाले । के मैले कुवाटामा टेकेकी त छैन ? मैले राम्रो गरें त ? के निर्णय छिटो त भएन ? मेरा छोराछोरीको भविष्य के होला ? हिसाबै गर्ने हो भने मान्छको सोचाइले त ब्रहमाण्डै ढाक्छ । सोच्दैमा त्यो हुनैपर्छ भन्ने त थिएन । उहाँले त्यसो गर्नासाथ मैले उहाँलाई झट्ट स्विकार्न किन पर्थ्यो र ? के म आफ्नो लागि आफैले खाल्डो खनिरहेकी त छैन? आखिर सामाजिक प्रतिष्ठा पनि वैयक्तिक मर्यादा र महत्त्वका लागि नभइनहुने पक्ष हो। त्यसैले यो समाज र परम्पराको समर्थनको सम्भावित प्रतिकारले मलाई झन् डर लाग्न थाल्यो। आखिर हाम्रो धार्मिक, सामाजिक परम्पराले यही देख्न चाहन्छ कि विधवा स्वास्नी मान्छे सधैं विधवाकै रूपमा रहोस् ।
यसरी मनभरि कहिले खुसीका डोव देखिन्छन् भने कहिले शङ्का, उपशङ्का र लाजका छाया अगाडिपछाडि तेर्छिन थाले । सोचें, भोलि समाजले भन्ने छ, यो आइमाई लोग्नेको सत्मा छैन । लोग्नलाई नर्कमा पारी। यसरी सोच्दासोच्दै ममा विद्रोह उठ्यो, किन यसरी डर मान्नु ? लोग्ने हुँदा हाम्रो जिन्दगी कति मनमोहक थियो। लोग्ने मेरा लागि सर्वस्व हुनुहन्थ्यो । उहाँपछि आफ्नो र छोराछोरीका लागि सहारा र माया खोजें त के विराएँ मैले? परम्परा र बन्धनलाई तोडेर के अपराध गरेँ मैले ? समयको माग पनि यही हो। दुई दिनको जिन्दगीलाई किन मरुभूमि बनाउने ? नीरस जिन्दगीलाई रसाउन मायाको सङ्लो नदी चाहिन्छ। छहारीदार ओत चाहिन्छ। जिन्दगी हाँसो रोदन, दुःख पीडा, कथा व्यथाले भरिएको सामूहिक भेल हो। आपत् सुख र दुःख सवैलाई पर्छ । सबैले सबै कुरा भोग्नु नै पर्छ । पिरले तप तप चुहिएर बस्नुभन्दा खुसी खुसी भएर बाँच्नुपर्छ। यसरी सोच्दा मैले ठिक निर्णय गरे जस्तो लाग्यो ।
त्यसपछि सुबोध मकहाँ दिनदिनै आउन थाल्नुभयो । अग्लो, गोरो, स्मार्ट, ख्यालठट्टा गर्नुपर्ने सुबोधको स्वभाव थियो। मेरो लोग्नेमा पनि त्यस्तै व्यक्तित्व थियो तर धेरै चुरोट खाने एउटा बानी सुबोधको मन पर्दैनथ्यो तापनि भन्ने साहस भने गर्दिनथे । त्यसै त मेरो स्वभाव गम्भीर थियो, त्यसमा पनि आफ्ना चुरा फुटेपछि त म मूक नै जस्तै बनें। एक दिन उहाँको सास निकै गहनायो र अनायास अनुनय स्वरमा भर्ने, “चुरोटको गन्ध मलाई पटक्कै मन पर्दैन । तपाईं बढी नै चुरोट पिउनुहुन्छ । स्वास्थ्यका लागि पनि राम्रो हैन । छोड्न सकिन्न र ?”
“किन ममता ? किन नसक्नु ? मन बलियो हुनुपर्छ । गर्छु भन्ने प्रण गर्नुपर्छ । आफूलाई नियन्त्रण गर्नुपर्छ । म भोलि नै त भन्न सक्दिनँ। केही दिनमै छोडेर देखाइदिन्छु । “
नभन्दै त्यस्तै भयो । मलाई असाध्यै खुसी लाग्यो। मैले सोचें, चुरोटको कुआदत उहाँले मेरा लागि छोड्नुभयो । उहाँलाई पनि मेरा मन नपर्ने वानी रहेछ। एक दिन उहाँले भन्नुभयो, “ममता ! अब तिमीलाई सेतो र पहेंलो साडी त्यति सुहाउँदैन । गुलाफी रङको साडी तिमीलाई कत्ति आकर्षक हुँदो हो हगि ?”
त्यस दिनदेखि रातो रङको नभए पनि अरू रङ कलेजी, बैजनी, प्याजी रङको साडी लगाउन थालें । यसरी हामी एकअर्काको इच्छाअनुरूप बग्यौँ । कहिलेकाहीँ लाग्थ्यो, सुबोध दिनहुँ नआएर दुईतीन दिन विराएर आउनुभए राम्रो हुन्थ्यो तर यस्तो सोच्दा सोच्दै पनि उहाँ नआउनुहोला भन्ने डर र शङ्काले सताउँथ्यो ।
एक दिन सुबोधलाई खुब मन पर्ने आलुको अचार र काजु, किसमिस मिसाएको सुजीको हलुवा बनाएर दिएँ । हुन त सधैं केही न केही नखुवाईकन पठाउन्नर्थे । सुबोधले निकै मिठो मानी खानुभयो । यसरी मेरो हातले बनाएको खानेकुरा मिठोसँग खानुहुँदा मलाई झन् खुसी लाग्यो ।
“हलुवा साह्रै मिठो बनाइछ्यौँ, पुगेन । बाँकी छ भने अलिकति थपिदेऊ न ममता ” सुवोधले रिकापी बढाउँदै भन्नुभयो ।
थोरै हलुवा विद्यालयवाट फर्केपछि खाजाका रूपमा छोराछोरीलाई राखिदिएकी थिएँ । जीवनमा छोराछोरीलाई नछुट्याईकन मैले कहिल्यै केही खाएकी थिइनँ । म अकमकाएँ । हलुवा थोरै थियो सुजी थिएन ।
‘छोराछोरीका लागि मात्र छ। अरू खाने कुरा बनाइदिऊँ, के खानुहुन्छ ?”
‘बच्चाहरूलाई अरू दिए हुन्छ नि । यही देऊ न मलाई।” झर्केर भन्नुभयो ।
सुबोधको कुरा मलाई साह्रै तितो भयो । उहाँबाट यस्तो कुरा सुन्नुपर्ला भन्ने किञ्चित् शङ्का थिएन । छोराछोरीका लागि पहिले भाग छुट्याएर मात्र मेरो पतिले खाने कुरा खानुभएको झल्याँस्स सम्झन पुगें । यहाँसम्म कि मेरो पतिले छोराछोरीका लागि बरु खानुहुन्नथ्यो । यसरी मलाई मिठोचोखो बनाउँदा बच्चाहरूले खान पाएनन् भने दिनभरि घाम नलागे जस्तै हुन्थ्यो । बाध्यतावश एक्लै मिठो खानुपर्दा छोराछोरीलाई सम्झेर निल्न गाह्रो हुन्थ्यो तर सुबोधको कुरा काट्न सकिनँ, मन दुखाउन चाहिनँ । छोराछोरी विद्यालयबाट आइपुग्ने वेला भइसकेको थियो । छोराछोरीलाई अरू खाने कुरा बनाउन भान्सातिर लागें, सुबोधले हलुवा खाँदै हुनुहुन्थ्यो ।
“ममता यहाँ आऊ न ।”
म उहाँको नजिकै गएँ।
“एउटा कुरा सोधैं ?” सुबोधले प्रश्न गर्नुभयो ।
“के कुरा हो र त्यस्तो ?”
‘जेहोस् नढाँटेर भन्छ्यौ ?”
“भन्नुस् न त ! किन ढाँट्ने ?”
“तिमीलाई सवभन्दा बढी कसको माया लाग्छ ?”
सुबोधको अप्रत्याशित प्रश्नले म केही बोल्न सकिनँ, के भनूँ के भनूँ भएँ । स्वाट्ट शब्द छुट्यो, “संसारमा सवभन्दा वढी माया त मान्छेले आफैलाई गर्छ होइन र ? “
“त्यो त सबैले बुझेको र जानेको कुरा हो। त्यसपछि अझ कसको ?
‘तपाईंको, छोराछोरीको ….”
स्वाभाविक रूपमा मैले जवाफ दिएँ ।
“म त चाहन्छु, तिमी तिम्रा छोराछोरीलाई भन्दा पनि मलाई बढ्ता माया गर ।”
सुवोधको कुरा सुनेर एक छिन त चित्त दुख्यो ।
“छोराछोरीको माया, लोग्नेको माया, अरूको माया छुट्टाछुट्टै हुन् । मायाको आफ्नै विशेषता छ । तपाईंलाई माया मात्र हैन देवताका रूपमा स्विकारेकी छु तर छोराछोरीको माया पनि असाद्धे लाग्छ ।”
फुङ्ग उडेको मुख बनाउनुभयो सुबोधले । सुबोधको कुरा मन नपरे पनि व्यक्त गर्न सक्ने हिम्मत ममा थिएन ।
एकैछिनपछि छोराछोरी “आमा ! आमा !” भन्दै आइपुगे ।
“खाने कुरा दिनुस् आमा ! भोक लाग्यो।” दुवै छोराछोरी मलाई समात्दै चिच्याउन थाले। मन भारी भयो । सम्झै, छोराछोरीले हलुवा खान पाएनन् ।
“बच्चाले डिस्टर्व गरेको मन पर्दैन मलाई। पैसा दिएर बाहिर खान जाऊ भन ।” सुबोधले झिजो मानेको स्वरमा भन्नुभयो ।
‘भान्सामा गएर अरू खानेकुरा बनाइदिने इच्छा थियो। म केही बोल्न सकिनँ । मुटु ढ्याङढ्याङ वज्न थाल्यो । अशान्तको प्रवाह बग्न थाल्यो । अत्यन्त कठिनाइसँग बच्चालाई पर्सबाट पैसा झिकेर “बाहिर खान जाऊ” भनें। लाग्यो, छोराछोरी मन नपराई नपराई बाहिर खान गइरहेछन् । उनीहरूको अनुहारमा खिन्नता थियो । उनीहरूलाई पनि घरकै मिठो खानेकुरा खाने इच्छा थियो होला, पैसा दिएकामा उनीहरू खुसी थिएनन् । छोराले सम्झ्यो होला, आमाले खानेकुरा बनाइदिनुभएन । सोचें, के छोराछोरीको मन दुखाउनु राम्रो हो त ? सुबोधको कुरा पनि काट्न सक्दिनथें । यो कारण कि उहाँ पराइ भइदिनुहोला, मदेखि टाढा जानुहोला । सुबोधमा उदात्त भावना खोजेकी थिएँ, पावन पक्ष खोजेकी थिएँ ।
सम्झें, छोराछोरी आउँदा मेरो लोग्नेले दायाँ र बायाँ राखेर कतिपल्ट म्वाइँ खानुहुन्थ्यो, कतिपल्ट ‘मेरा छोराछोरी’ भन्दै मुसार्नुहुन्थ्यो। खै, आज सुबोधले मेरा छोराछोरीलाई म्वाइँ खानुभएको ? खै माया गर्नुभएको ? यस्तो मैले चाहन्थे कि मेरा छोराछोरीलाई मेरो लोग्नेले माया गरोस् तर यी मेरा सोचाइ आकाशमा बादल हराए जस्तै हराउँदै गए । यसरी जीवनका धेरै मोडमा सुबोधसँग बहाना गर्नुपर्यो, हाँस्न मन नलाग्दा पनि हाँस्नुपर्यो । चोटलाई पनि खपिदिनुपर्यो ।
छुट्टीको दिन म छोराछोरीसँग रमाउँदै बसेकी थिएँ । थाहा थियो उहाँ छिट्टै आउनुहन्छ भन्ने । उहाँ एकैछिनपछि आइपुग्नुभयो । उहाँले मेरो पर्स खोल्नुभयो । छोराछोरीलाई पैसा दिदै भन्नुभयो, “तिमीहरू सबै बाहिर खेल्न जाऊ” कति हतारोसँग मेरा दुवै छोराछोरीलाई लखेट्नुभयो । यसरी उहाँले सबै कुरामा अधिकार जमाइसक्नुभएको थियो। छोराछोरी पहिले त मानेनन् । सुवोधले आँखा तर्नुभएपछि दुवै छोराछोरी लुरुलुरु बाहिर गए तर छोराको अनुहारमा रिस उम्रिरहेको थियो जो मैले नबुझेको होइन । एक किसिमको डर तुरुन्तै मभित्र जन्मिहाल्यो कि छोरो मसँग रिसाउला अथवा सबै कुरा थाहा पाए मलाई घृणा गर्ला । छोराछोरीलाई टाढा राख्न सक्दिनथें । एकै छिन नदेख्दा पनि मन खल्लो भइरहन्थ्यो ।
त्यो दिन कपाल दुखिरहेथ्यो । जिउ भारी भइरहेथ्यो । मन चटक्चटक् भइरहेथ्यो । मलाई बोल्न मन लागेको थिएन ।
“ढोका लगाइदेऊ ममता ” सुबोधको आदेश थियो ।
‘छोराछोरी आइपुग्छन् । आज सन्चो पनि छैन ।” मैले भनें ।
“धेरै वहाना नगर । आजकाल तिमी निर्जीव जस्तै लाग्छ ।” मुख विगारेर भन्नुभयो सुबोधले ।
“कति सजीव भइराख्ने त ? जिउको पनि ख्याल गर्नुपर्छ, समयको पनि ध्यान दिनुपर्छ ।”
“अरू कुरा थाहा छैन । खुरुक्क ढोका लगाएर यहाँ आऊ ।” उहाँको कडा निर्देशन मान्नै पर्यो । मैले कोठाको ढोका लगाएँ ।
एकैछिनपछि छोराछोरी “आमा! आमा। भन्दै आइपुगे। ढोका खोल्नुपर्यो। सुबोध रिसले मुर्मुरिनुभयो, “वोर्डिङमा राखिदेऊ भन्दा मान्दिनौँ। मलाई त वाक्क लागिसक्यो ।” भन्दै वाहिर निस्कनुभयो ।
कति मन दुख्ने कुरा गर्नुभएको सुबोधले, मनमनै सोचें। त्यो दिन सुबोध फर्केर आउनुभएन । नमिठोसँग अनेक तर्कवितर्कमा रात काटें। भोलिपल्ट दश बजेतिर सुबोध आइपुग्नुभयो उही रोबिलो र ठाँटिलो पारामा । मन फेरि प्रफुल्लित भयो ।
“आज सिनेमाको कार्यक्रम राखेको छु। तयार होऊ । बच्चाहरूलाई घरैमा छोड ।”
“होइन, हामी घर वस्दैनौँ। हामी पनि सिनेमा हेर्न जाने ।” ठुलो छोरो चिच्यायो ।
“हुँदैन । तिमीहरू घरैमा बस्नुपर्छ ” सुबोधको चर्को स्वर थियो ।
धेरै दिन भएको थियो छोराछोरीलाई कतै घुमाउन नलगेको । मन लागेको थियो छोराछोरीलाई पनि लैजाऊँ । मेरो लोग्ने भएको भए छोराछोरीलाई आफैले सिँगारपटार गरिदिनुहुन्थ्यो । कति रमाउँदै हात समातेर लैजानुहुन्थ्यो । कहिल्यै छोराछोरीलाई हप्काएको थाहा थिएन । मैले हप्काउँदा, पिट्दा मलाई नै गाली गर्नुहुन्थ्यो । सुबोधको चर्को स्वरले मेरो लोग्नेको छोराछोरीप्रतिको माया सम्झै । केही भन्ने आँट भएन । वल्लतल्ल छोराछोरीलाई विस्कुट, चकलेट र खेलौना ल्याइदिन्छु भनेर सम्झाएँ । पैसा दिएँ । छोराछोरी रोइरहे ।
तयार भएर सिनेमा हेर्न गयौँ तर कुनै रमाइलो अनुभव गर्न सकिनँ। के हेरें थाहा भएन। सिनेमा कसरी सुरु भयो र कसरी समाप्त भयो मेरो दिमागले केही बुझेन । दुवै छोराछोरी रोएको दृश्य झलझली आँखाको नानीभित्र नाचिरह्यो । कहिले जाउँ जस्तो भयो । छोराछोरीप्रति असाद्धे माया र ममता जागेर आयो । सुबोधको जिस्क्याइ र चिमोट्याईले ममा केही मिठो असर गरेन । एउटा काँडाले घोचे जस्तै अनुभव गरें। कहिलेकाही हाँसे हुँला, बोले हुँला तर सबै वहानै थियो । फर्केर आउँदा बजारमा छोराछोरीलाई विस्कुट, चकलेट, खेलौना किनिदिएँ ।
‘कति छोराछोरी ख्याल गर्नुपर्छ तिमीलाई ?” सुबोधले खिसी गर्दै भन्नुभयो ।
“त्यही छोराछोरीको लागि बाँचेकी छु त के गर्ने? मैले माया नगरे कसले गर्छ ?”
“ए तिमी मेरा लागि बाँचेकी होइनौं ?” सुबोधको प्रश्नले मलाई फेरि ढुङ्गाले हिकांयो ।
“होइन, तपाईंका लागि पनि त बाँचेकी छु नि ! तर छोराछोरीका लागि पनि हो ।”
मेरो कुरा सुनेर सुबोधको मुख अँध्यारो भयो । लाग्यो, कस्तो सङ्कीर्ण विचार सुवोधको, किन सुबोधले आफ्नो माया र विचारलाई फराकिलो पार्न सक्नुहुन्न ?
घर फर्कंदा छोराछोरी रुदै बसेका थिए, मन चरचर्ती चिरियो ।
सुबोधले मेरो बिमारीमाथि पनि वास्ता गर्नुहुन्नथ्यो। सधैं मलाई कोपर्न, लुछन र चाट्न चाहनुहुन्थ्यो । यति वेला मलाई भयङ्कर द्वन्द्वले च्याप्थ्यो। यस्तो बेला बढ्ता माया मानसिक होस् भन्ने चाहन्थे । चाहे जस्तो कहाँ हुनु ?
एक दिन मेरी सानी छोरी बाहिर खेल्न निस्केकी नौ बज्दा पनि घर फर्किनँ । त्यति वेला सुवोध घरमैं हुनुहुन्थ्यो । मैले रुदै छोरीलाई खोज्न सुबोधसँग अनुरोध गरें । छोरालाई लिएर म झट्टै निस्किहालें । अरू चिनेका दाइ, भाइहरूलाई पनि सुनाएँ । कति ठाउँमा खोज्दा पनि छोरीलाई पाउन सकिनँ । पसिनाले बेसरी भिंजेर घर फर्कें। हातखुट्टा लल्याकलुलुक भइसकेका थिए । मुटुको धड्कन जोडसँग बजिरहेथ्यो । घर फर्कंदा सुबोध पलङमा पल्टेर किताव पढिराख्नुभएको थियो । मन साहै विक्षिप्त भयो ।
“किन पसिनै पसिना भएर खोज्न गएकी ? पुलिसले पाएपछि रेडियोबाट खबर दिइहाल्छ नि !”
सुबोधको वेवास्ताको र लापर्बाहीको कुरा सुनेर मलाई अचानामा राखेर खुकुरीले टुक्राए जस्तै लाग्यो । अत्यन्त सङ्कटमय वातावरण देखें । कांडैकाँडाको झाङमा फालिदिए जस्तो लाग्यो शरीरभरि नीलकांडा उम्र जस्तै लाग्यो । अब प्रश्न गर्नु, जवाफ दिनु अनर्थ सम्झै। बाघलाई गाई सम्झेर कहाँ हुन्छ र ? सम्झै आजसम्म मैले गाईलाई होइन वाघलाई माया गरिरहेछु । विश्वास र आशा गरिरहेछु । जीवनलाई सम्पूर्ण रूपमा उहाँलाई समर्पण गरेकी थिएँ। सबै लतरपतर भए । मेरा सम्पूर्ण भावना उदास उदास पोखरीमा फ्याँकिए। म रुंदै थिए तर त्यो आँसु मैले सुबोधलाई देखाइनँ । सुवोधलाई केही भनिनँ ।
एकै छिनपछि एक जना भाइ दगुर्दै आयो मकहाँ ।
“दिदी ! चन्द्रमा अस्पतालमा छिन् । मोटरसाइकलले धक्का दिएछ ।”
चन्द्रमा मेरी सानी छोरी। भाइको कुराले म बेहोस भएछु । कति वेला होसमा आएँ थाहा भएन । उठ्दा सुबोधको काखमा थिएँ । भाइले मेरो कपालमा पानी राख्दै थियो ।
“दिदी । चन्द्रमा वहिनीलाई खास चोट लागेको छैन । होसमै छिन् । नआत्तिनुस् । अस्पतालमा हिँड्नुस् ।”
त्यो भाइसँग ट्याक्सीमा बसेर अस्पतालमा आउन थालें । आउने वेलामा सुबोधले भन्नुभयो, “मलाई साहै पेट दुखेको छ । चन्द्रमालाई धेरै चोट लागेको रहेनछ। सँगै ल्याऊ ।” वास्तवमा सुबोध मसँगै जानुपर्थ्यो ।
अस्पतालमा विछ्यौनामा छोरीलाई देख्दा भक्कानो फुटेर आयो । छोरीलाई च्यापेर रुन थालें । दाहिने हात भाँच्चिएर प्लास्टर लगाइसकेको थियो । अरू खास चोट नभएकाले छोरीलाई त्यही दिन घरमा ल्याएँ ।
सुबोध पलङमै सुतिराख्नुभएको थियो । रिस उम्लँदा उम्लँदा मुखभरि आइसकेको थियो । यस्तो लाग्यो, धरतीभित्रबाट ज्वालामुखी फुटेर लाभा निस्कँदैछ । एउटा मृतविश्वास, आस्था र रिसको ज्वाला फ्याँकें सुबोधमाथि । उहाँको मुखै हेर्न मन लागेन जुन मुखलाई कति लोभी भएर हेर्ने गर्थे । यो मेरो पहिलो रिस थियो उहाँमाथि । घृणैघृणाको पर्खाल उभिदियो अगाडि । सद्भावनाको पुल भत्किदियो । साँचे, मेरी छोरी हराउँदा पनि सुबोधलाई चित्त दुखेन, अझ योभन्दा बढ्ता एक्सिडेन्ट भयो भन्ने सुन्दा पनि उहाँले पेट दुखेको वहाना गर्नुभयो । अस्पतालसम्म जानुभएन । आफ्नो रगतमाथि श्रद्धा, माया र करुणाको बदला घृणा राख्ने सुबोधसँग मैले किन सम्बन्ध राख्ने ? सम्बन्ध राख्नु पनि अब अपराध सम्झन थालें किनभने मेरा छोराछोरी मेरा लागि चन्द्र र सूर्य हुन् । सुबोधलाई जसरी मैले माया गरें, जुन विश्वास र आस्था राखें तर कहिले पनि मेरा छोराछोरीलाई मायाले बोलाउनुभएको सुनिनँ । छोराछोरीमाथि उहाँको ईर्ष्या थियो, जलन थियो। कत्रो दुर्भाग्य थियो मेरा लागि, मेरा छोराछोरीका लागि सुवोधसँग सम्बन्ध राख्नु मेरो आफ्नै स्वार्थ नभई छोराछोरीको स्वार्थ पनि गाँसिएको थियो ।
क्रोध मभित्र बढ्दै गयो । सुबोधको उपस्थिति अव मेरो लागि असन्तोषको रूप बन्यो । छोरीको दुर्घटनापछि मेरो मौनता व्याप्त हुँदै थियो। मेरा उल्लास र उमङ्ग हराउँदै थियो। अब कुनै पनि कुरा मनमा नराखेर व्यक्त गर्ने बाटो खोज्दै थिएँ ।
एक दिन सुवोधले मरो हात समात्दै भन्नुभयो, “ममता ! मलाई थाहा छ तिमी निकै परिवर्तन भइरहेछ्यौँ । यसको कारण के हो ?” मेरो अन्तरआत्माको असन्तोषको कोचिएको पोको पोख्ने ठिक ठाउँ थियो यो । मेरो वेदनाले पाकेको घाउ फुटिसकेको थियो। सत्य र न्यायका लागि कठिन जीवन सुरु भए पनि केही छैन । सुबोध मेरो जीवनरुखमा जोडिएको मसिनो हाँगा हो भने छोराछोरी मेरो जीवनरुखका जरा, हाँगाविंगा, फल सबै हुन् । छोराछोरीलाई लत्याएर सुबोधलाई सकारू यो मेरो जीवत्तको भयङ्कर भुल र अपराध हुने छ । त्यो भुल र अपराधलाई कसैले क्षमा गर्ने छैन । सुबोधलाई लत्याएर छोराछोरीलाई यो मेरो त्याग र धर्म हुने छ । स्वार्थ हुने छैन ।
“किन जबाफ नदिएकी हैं ?” सुबोधको प्रश्नले झस्कें र भन्ने आँट गरें। “आज म तपाईंसँग अन्तिम फैसला गर्दै छु जुन फैसलाले तपाईंलाई चोट पर्ला र मलाई पनि पर्न सक्छ। मैले आफ्ना छोराछोरीका लागि यो कुरा गर्दै छु जुन कुरा गर्छु भन्ने सपनामा पनि सोचेकी थिइन न त तपाईंले नै सोच्नुभएको थियो । अव मनमा गुम्स्याएर राख्नु उचित छैन । जुन विश्वास र आस्था लिएर तपाईंको सहारा खोजें त्यो सबै मृगतृष्णा रहेछ। अहिले थाहा पाएँ म कुवामा सडिरहेछु। गल्लीमा फ्याँकिइरहेछु । मेरा कमजोरीका पर्खालले मेरा शब्दलाई थिचिदिएका थिए। आज ती सबै पर्खाललाई भताभुङ्ग पारिएँ । बहानाको जिन्दगी लिएर बाँच्न चाहन्नँ । तपाईंको चित्त नदुखाउन धेरै यत्न गरें तर तपाईंले मेरो चित्त दुखाउन छोड्नुभएन । मेरा छोराछोरीप्रति तपाईंको व्यवहार कति रुखो थियो, कति उपेक्षापूर्ण थियो जसलाई सहन मलाई साहै गारो भयो। तपाईंप्रतिको मेरो विश्वास पतझरको पहेंलो पत्ता मेरो जीवनवाट झरिसकेको छ । हुन त एउटा सानदार र प्रेमपूर्ण जीवन नपाईंसँग बिनाउन निकै कोसिस गरें तर सबै तासको महल ढलिदियो। यो न सम्झनुस् कि सम्पूर्ण रूपमा मैले तपाईंलाई नै दोष दिँदैछु । तपाईंलाई यस्तो वातावरण तयार पारिदिने हाम्रो समाजका खराब रीतिरिवाज पनि दोषी छन् । हुन त तिनीहरूलाई हमी बदल्न सक्थ्यौं हामीले राम्रो कोसिस गरेको भए तर तपाईंले मलाई सघाउनुभएन । तपाईंको हस्तक्षेप र अधिकारभित्र बाँच्न चाहन्नँ । दुइटा छोराछोरीलाई आफ्नो जीवन आधार मानेर बाँच्ने छु । मेरा छोराछोरीको माया नै ठुलो हो र सम्पूर्ण छ । मलाई कसैको सहारा अब जरुरत छैन । मलाई छोडिदिनुस् । मलाई मुक्ति दिनुस् ।” भावावेशमा अविरल आँसु खसाल्दै मैले सबै कुरा पोखें ।
‘त्यसो भए हाम्रो नाटकीय जीवन तिमीले खतम गर्दै छौ, होइन !” रिसले आँखा रातो पार्दै सुबोधले भन्नुभयो ।
“आखिर जीवन नै नाटक हो। संसार नै रङ्गमञ्च हो ।”
“म तिम्रो जीवन बरबाद गरिदिन्छु । बदनाम गरिदिन्छु ।” आक्रोशपूर्ण धम्कीको स्वर थियो ।
“मलाई कुनै पर्वाह छैन । सबै कुरा सहने छु ।” शान्तभावले जवाफ दिएँ ।
सुबोध एक्कासि जुरुक्क उठ्नुभयो । मलाई गढेर आँखा तर्नुभयो तीर जस्तै वनाएर । सुइँसुइँती जानुभयो । केही बोल्नुभएन । राती भइसकेको थियो । मुटुको स्पन्दन शान्त भयो। विजयोल्लासको वातावरण चारैतर्फ फैलियो । छोराछोरी पलङमा सुतिसकेका थिए । यस्तो अनुभव गरें कि एउटा कालो पोलिने असत्यमाथि सत्यको चिसो पानी खन्याए जस्तो लाग्यो। धेरै समयदेखि पाकेको पिलो घाउ फुटेर सन्चो भए जस्तै ठानें। घाँटीमा वर्सों झुन्डिएको ढुङ्गा खसेर हलुङ्गो भएको सम्झै । सुबोध अब कहिल्यै पनि मेरो घरमा नआइदेओस् ।
दुइटा छोराछोरीलाई च्यापेर सुतें । मनमा उल्लासपूर्ण उत्साह फैलिदै थियो । निद्रामै छोरो बरबराएको सुनें, “आमा! आमा !! सुवोध अङ्कल मन पर्दैन ।”
“छोरा ! अब कहिल्यै आउने छैन । सुबोध अङ्कल ।” सुतिरहेको छोराको गाला मुसार्दै भनें अनि सुत्न खोजें ।
शब्दार्थ
-
ग्लानि: पछुतो, पश्चात्ताप
-
नेत्र: आँखा
-
अरुचि: रुचि नहुने अवस्था, चाहना नहुने भाव
-
नैराश्य: निराशा, आशा नभएको अवस्था
-
विम्बित: झल्केको, प्रतिविम्बित
-
पिलपिलाउँदो: आँखाबाट आँसु निस्किने अवस्था (अश्रुपूर्ण)
-
बालसुलभ: बालबालिकामा हुने स्वभाव
-
बुझ पचाउनु: थाहा पाएर पनि नपाए जस्तो गर्नु
-
अतीत: बितेको समय, विगत
-
टुहुरा: आमाबाबु गुमाएका (सन्तान)
-
शून्यता: खालिपन
-
रिक्तता: रित्तोपन, खाली ठाउँ
-
निर्मल: सफा, स्वच्छ
-
व्यथा: पीडा, दुःख
-
मुर्भाएको: ओइलाएको, निराश
-
आवेशपूर्ण: जोस वा रिसले भरिएको
-
अकमकिनु: अलमलमा पर्नु
-
कनकचम्पा: एक प्रकारको सुगन्धित फूल
-
वैयक्तिक: व्यक्तिगत
-
मर्यादा: मान, इज्जत
-
प्रतिशोध: बदला
-
उपशङ्का: शङ्काभित्रको शङ्का
-
विद्रोह: अन्यायका विरुद्धको आवाज
-
मूक: बोल्न नसक्ने, चुपचाप
-
अनुनय: विनम्र निवेदन, आग्रह
-
प्रण: प्रतिज्ञा
-
कुआदत: नराम्रो बानी
-
रिकापी: थाल, प्लेट
-
किञ्चित्: अलिकति पनि
-
व्यस्त: व्यस्तता (पाठमा ‘डिस्टर्व’ को अर्थमा)
-
उदात्त: उदार, उच्च विचार
-
पावन: पवित्र
-
खिन्नता: दुःख, उदासी
-
रोबिलो: रवाफिलो, ठालुपन
-
ठँटिलो: राम्रो देखिने, ठालुपन
-
प्रफुल्लित: खुसी भएको
-
खिसी: गिज्याउने काम
-
द्वन्द्व: मानसिक सङ्घर्ष, दुविधा
-
विक्षिप्त: विचलित, पागल जस्तो
-
नीलकांडा: शरीरमा आउने डाबर
-
अनर्थ: नराम्रो, असङ्गत
-
भक्कानो फुटेर आउनु: धेरै रुनु
-
ज्वालामुखी: पहाडबाट निस्कने आगो वा लाभा
-
लाभा: ज्वालामुखीबाट निस्कने तातो तरल पदार्थ
-
मृगतृष्णा: देखिने तर नपाइने भ्रम (मायाजाल)
-
भताभुङ्ग: भत्किएको, तहसनहस
-
पतझर: पात झर्ने ऋतु
-
अविरल: नरोकिने, निरन्तर
-
भावावेश: भावनाको भेल
-
स्पन्दन: मुटुको धड्कन
-
विजयोल्लास: जितको खुसी
