विलियम हकिङ
✦ स्टिफन हकिङ
पाठ ६: स्टिफन विलियम हकिङ
शारीरिक रूपमा अशक्त भए पनि दृढ इच्छाशक्ति तथा प्रतिभाको साथ पाएको र सधैं साधनामा रमाउने व्यक्ति कहिल्यै शक्तिहीन हुँदैन । शक्तित्रयको साथ पाएपछि शारीरिक अशक्तताका कारण सिर्जित जस्तोसुकै विषम परिस्थितिमा पनि सिर्जनशील हुँदै ऊ सफलताको शिखर चुम्न सफल हुन्छ । त्यस्तो व्यक्ति मानवहितमा समर्पित हुन्छ भने ऊ आफूले गरेका योगदानका कारण समाज विशेषमा मात्र नभई सिङ्गो संसारभरि नै उदाहरणीय बन्न पुग्छ । यस्तै शारीरिक स्थिति अत्यन्त नाजुक भए पनि मानवहितका लागि केही गर्ने तीव्र चाहना, त्यसलाई साथ दिने प्रतिभा र निरन्तरको साधनाका कारण भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर सिङ्गो संसारलाई नै आश्चर्यचकित बनाउने व्यक्ति हुन्, स्टिफन विलियम हकिङ । नाम सुन्नेबित्तिकै उनको भौतिक रूप देखेका सबैको मानसपटलमा एउटा स्वचालित हिवलचेयरमा बसेको, टाउको निहुराएको, हातखुट्टा नचल्ने, बोल्न नसक्ने र शारीरिक रूपमा अत्यन्तै अशक्त व्यक्तिको चित्र प्रतिबिम्बित हुन्छ । उनले गरेका योगदानका बारेमा थाहा पाएपछि चाहिँ जो कोही छक्क पर्छ ।
हकिङको जन्म सन् १९४२ जनवरी ८ का दिन आमा इसाबेल र बुवा प्रयाङ्कको पहिलो सन्तानका रूपमा भएको हो । उनको जन्मस्थल बेलायतको प्रमुख शैक्षिक केन्द्रका रूपमा परिचित अक्सफोर्ड सहर हो । यही ठाउँको नामका आधारमा नै विश्वप्रसिद्ध विश्वविद्यालय अक्सफोर्डको नाम रहेको हो । उनी जन्मँदा बेलायत दोस्रो विश्वयुद्धको विभीषिकाबाट आक्रान्त थियो । उनी जन्मने समय नजिकिदै जाँदा उनका आमाबुवा बेलायतको उत्तरी क्षेत्रमा अवस्थित हाइगेट नामको सहरमा बस्थे । उनीहरू पहिलो सन्तानको जन्म हुन लागेकामा निकै खुसी थिए । त्यही समयमा उनीहरू बसेको क्षेत्र वरिपरि जर्मनीले बम आक्रमण गरिरहेकाले उनीहरू दुःखी पनि थिए । यस अवस्थामा युद्धको सन्त्रासबाट बच्न र बचाउन उनका आमाबुबा उनी जन्मनुभन्दा केही समयअघि बेलायतकै अत्यन्त सुरक्षित मानिएको अक्सफोर्ड सहरमा बसाइ सरे। शैक्षिक केन्द्रमा आक्रमणकारीको आक्रमण नगर्ने योजना रहेकाले त्यतिखेर अक्सफोर्ड सहर निकै सुरक्षित मानिन्थ्यो । इसाबेल र प्रयाङ्क दुवैले अक्सफोर्ड विश्वविद्यालयमै अध्ययन गरेकाले उनीहरूका लागि यो स्थान परिचित पनि थियो । यसैले पनि उनीहरूले अक्सफोर्ड रोजेका थिए। मध्यम वर्गीय परिवारका उनीहरू यतिखेर आर्थिक अभावबाट गुज्रिरहेका थिए। यस्तो स्थितिमा पनि धैर्यका साथ प्रयाङ्कले पत्नी इसाबेलको हेरचाह गर्दै, अर्थराशि जुटाउँदै होटलमा बसेर अस्पतालमा आफ्नो पहिलो सन्तानको प्रतीक्षा गरे। ‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल’ भने होनहार प्रतिभाको जन्म हुनु नै थियो र संसारलाई उल्लेख्य योगदान दिनु नै थियो । प्रतिभाशाली हकिङ पनि यो विषम परिस्थितिमा सकुशल जन्मे र हुर्के पनि । हकिङका फिलिप्पा र मेरी नामका दुई बहिनी र एडवार्ड नामका एक भाइ छन् ।
हकिङको विद्यालयीय शिक्षाको प्रारम्भ लन्डन हाइगेटस्थित बायरन हाउस विद्यालयबाट भएको हो । उनले त्यहाँ धेरै समय पढ्न पाएनन् । उनी आठ वर्षको छँदा उनका आमाबुबा जागिरका सिलसिलामा बेलायतको अक्सफोर्डबाट ३२ किलोमिटर उत्तरपश्चिममा रहेको अल्वान्स सहरमा बसाइ सरे । यसैले आमाबुबाका साथमा रहेका हकिङ पनि त्यहीँको सेन्ट अल्वाल्स नामको विद्यालयमा भर्ना भए । विद्यालयमा भर्ना भए पनि उनी पढाइमा त्यति ध्यान दिँदैनथे । उनी नौ वर्षको छँदा आफ्नो कक्षामा कमजोर विद्यार्थीको श्रेणीमा परेका थिए। उनले आफ्नो परिवारबाट भने पूर्ण शैक्षिक वातावरण पाएका थिए। उनका आमाबुबा दुवै शिक्षित थिए । इसाबेल अर्थशास्त्र र प्रयाङ्क जीव विज्ञानका विद्वान् थिए । पक्कै पनि आमाबुबाको आनुवंशिक गुण र संस्कारको प्रभाव छोराछोरीमा पर्छ नै । विद्यालयीय पढाइमा ध्यान नदिए पनि उनी आफ्नो घरको पुस्तकालयमा रहेका राम्रा राम्रा किताबमध्येबाट आफूलाई मन परेका किताब पढिरहन्थे । उनको झुकाव विद्यालयभन्दा बाहिरका अन्य काममा धेरै रहन्थ्यो । हकिङ १३ वर्षको छँदा उनका बुवाले उनलाई त्यस बेलाको राम्रो मानिएको वेस्टमिनिस्टर विद्यालयमा पढाउन चाहेका थिए । बिरामी परेकाले उनले त्यस विद्यालयबाट लिइएको छात्रवृत्तिको परीक्षा दिन पाएनन् । छात्रवृत्तिविना त्यस विद्यालयमा पढाउन सक्ने आर्थिक स्थिति हकिङको थिएन । त्यसैले उनले सेन्ट अल्वान्सबाटै विद्यालयीय शिक्षा पूरा गरे ।
हकिङ बाल्यकालदेखि नै निकै जिज्ञासु र सिर्जनशील स्वभावका थिए। कुनै पनि यान्त्रिक वस्तुलाई गहिरिएर हेर्ने, त्यसको भित्री संरचनालाई बुझ्ने र तिनबाट बन्न सक्ने नयाँ वस्तुका बारेमा परिकल्पना गर्ने उनको बानी थियो। साथीहरूको सहयोग लिई उनले पुराना घडी तथा रेडियोका पार्टपुर्जाबाट कम्प्युटर बनाएका थिए र यसैबाट उनी अवधारणात्मक गणितीय समीकरणको समाधान गर्ने गर्थे । उनले आफूले खेल्ने गेम र हवाईजहाज, डुङ्गा आदिको नमुना पनि आफैँ बनाएका थिए । यस्तो सिर्जनशील कार्यवाट प्रभावित भएका उनका साथीहरू हकिङ आफ्नो संसारको रचना गरेर त्यसलाई चाहिने नियम आफैं बनाउन सक्छन् भनेर उनलाई थप हौसला दिन्थे । उनका यस्ता कामवाट प्रभावित भएका शिक्षक उनलाई जन्मजात प्रतिभा भएको व्यक्ति मान्थे । साथीहरू चाहिँ उनलाई आइन्स्टाइन भनेर बोलाउँथे । घरमा बस्दा पनि उनी प्रायः शोधखोजमा नै तल्लीन भइरहन्थे । उनी आफ्ना साथीलाई लिएर साँझको समयमा घरको पछाडि जान्थे र आकाशका तारालाई हेरिरहन्थे । ब्रहमाण्डप्रतिको जिज्ञासाले उनलाई वाल्यकालदेखि नै घच्घच्याइरहेको थियो ।
हकिङ ‘मानिसलाई जेमा रुचि छ त्यसैमा प्रगति गर्न सक्छ’ भन्ने भनाइका आदर्श दृष्टान्त हुन् । हकिङका बुवा प्रयाङ्कले उच्च तहको अध्ययनमा छोराले जीवविज्ञान पढे राम्रो हुन्थ्यो भन्ने चाहेका थिए । बुबाको इच्छा पूरा गर्नकै लागि उनले सुरुमा केही दिन जीवविज्ञान पढे । आफूलाई मन नपरेको विषय भएकाले त्यसमा उनले प्रगति गर्न सकेनन् र त्यो विषय छोडिदिए । अन्त्यमा उनले गणित र भौतिक शास्त्रलाई आफ्नो विषय बनाए । आफूलाई मन परेको विषय पाएपछि उनको पढाइमा रुचि बढ्दै गयो। जति नै गाह्रो भए पनि आफूलाई मन परेको विषय पढ्न पाउँदा त्यसमा सजिलै सफलता प्राप्त गर्न सकिन्छ भन्ने भनाइलाई हकिङले प्रमाणित गरिदिए । धेरैका लागि गाह्रो विषयका रूपमा चिनिने गणितका गाहा प्रश्न र भौतिक शास्त्रका जटिल सिद्धान्त उनी सजिलै बुझ्थे । गणितका कठिन समस्या समाधान गर्न पनि उनी आफ्ना साथीभन्दा निकै अघि थिए । गणित विषय नै लिएर अक्सफोर्ड विश्वविद्यालयवाट स्नातक गर्ने स्टिफनको सपना थियो । आफूले अक्सफोर्डबाटै पढेकाले छोराले पनि त्यहीँबाट स्नातक गर्दा राम्रो हुने इच्छा उनका बुवाको पनि थियो । यसैले उनी १७ वर्षको छँदा उच्च अध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालयको युनिभर्सिटी कलेजमा भर्ना हुन भनेर गए । त्यति वेला विश्वविद्यालयमा गणित विषयको अध्ययन अध्यापन हुँदैनथे । आफूलाई मन परेको गणित विषय लिन नपाएपछि उनले भौतिक शास्त्र पढ्न थाले । उनले सन् १९६२ मा त्यहीँबाट प्राकृतिक विज्ञानमा प्रथम श्रेणीमा स्नातक तह उत्तीर्ण गरे । अक्सफोर्डमा स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत छँदा हकिङले सामान्य हिँडडुलमा पनि आफ्नो नियन्त्रण नभएको जस्तो महसुस गर्न थाले। यो उनको बिमारीको पूर्वसङ्केत थियो । यति बेला उनी २१ वर्षका थिए । उपचारका सामान्य प्रक्रिया पूरा गर्दै उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहेका थिए । स्नातक तह उत्तीर्ण गरिसकेपछि विद्यावारिधिका लागि उनी क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना भए । उनलाई रोगले भने झन् झन् च्याप्दै लग्यो । सन् १९६३ तिर आँखा तिर्मिराउने र आवाज पनि लटपटिएको जस्तो हुन थालेपछि परीक्षण गराउँदा उनलाई ‘अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस’ नामक स्नायुसम्बन्धी रोग भएको पत्ता लाग्यो। यो रोग लागेको मानिसका सबै अङ्गले बिस्तारै काम गर्न छोड्ने र अन्ततः श्वासनली बन्द भएर उसको मृत्यु हुने गर्थ्यो । यसैले चिकित्सकले उसको आयु दुई वर्ष मात्र रहेको बताएका थिए। यस्तो अवस्थामा सुरुका दिनमा उनमा निराशा छाउनु स्वाभाविक नै थियो तर पनि उनीभित्रको इच्छाशक्तिले विद्यावारिधिको अध्ययनलाई अघि बढाउन प्रेरित गरिरहेको थियो । अत्यन्त मानसिक पीडा हुँदा उनी चुपचाप घन्टौँसम्म सङ्गीत सुनिरहन्थे ।
विषम परिस्थितिमा सकारात्मक सोच लिंदा समस्याबाट सहजै उम्कन सकिन्छ भन्ने भनाइका उत्कृष्ट दृष्टान्त हकिङ हुन् । रोग ठिक नहुने खालको छ र यसको कुनै उपचार छैन भने पनि यस बारेमा चिन्ता नलिने बरु यस अवधिमा समाजका लागि केही गर्ने सोचका साथ उनी अध्ययनमा दत्तचित्त भइरहे । यता रोग भने दिनप्रतिदिन बढ्दै थियो । विस्तारै अङ्गले काम गर्न छोड्दै गए । सन् १९६५ मा उनी लट्ठीको सहाराविना हिँड्न नसक्ने भए । यस्तो विषम परिस्थितिमा पनि रोगसँग सङ्घर्ष गर्दै उनले सन् १९६६ मा क्याम्ब्रिजबाट नै विद्यावारिधि गरे । विद्यावारिधि पूरा गरिसकेपछि क्याम्ब्रिजमा विद्वत्वृत्ति प्राप्त गरी अनुसन्धाताका रूपमा काम थाले । सन् १९६८ मा उनी क्याम्ब्रिजमा खगोल अध्ययन संस्थानको सदस्यमा नियुक्त भए । सन् १९६९ तिर हातखुट्टा चल्न छाडेपछि उनी ह्विलचेयरविना कतै जान नसक्ने भए । उनलाई काम गर्न सजिलो होस् भनेर उनको ह्विलचेयरमा कम्प्युटर पनि जडान गरिएको थियो । ह्विलचेयरको सहारामा उनी आफ्नो विभाग गएर आफ्नो नियमित काम सम्पन्न गर्न थाले । अध्ययन र अध्यापनको कामलाई निरन्तरता दिँदै उनी एकपछि अर्को सफलता पनि चुम्दै गए । सन् १९७४ मा उनी विश्वकै प्रतिभाशाली वैज्ञानिक सम्मिलित भएको रोयल सोसाइटीको सभामा सामेल भए । सन् १९७९ मा गणित विषयमा क्याम्ब्रिजकै प्रसिद्ध पद ‘ल्युकेसियन प्रोफेसर’ मा नियुक्त भए। सन् १९८५ मा उनी धेरै विरामी परेपछि चिकित्सकले यस रोगको उपचारका लागि श्वासनलीको शल्यक्रिया गर्नुपर्ने र यो शल्यक्रिया गरेपछि हकिङको पूरै आवाज गुम्न सक्ने वताएका थिए। शल्यक्रियाबिना उनलाई बचाउन असम्भव भएकाले शल्यक्रिया गरियो । शल्यक्रियापछि उनको आवाज पुरै हरायो । यसपछि उनले आफूले गरिरहेको काम अघि बढाउन सकेनन् । यसले गर्दा उनलाई धेरै जनाबाट टाढा रहनुपर्ने अवस्था आयो । दृढ इच्छाशक्ति छ भने चिता म पुऱ्याउँछु भने झै केही समयपछि उनको मस्तिष्कको तरङ्ग र अनुहारका भावका आधारमा सञ्चालन हुने कम्प्युटरको निर्माण भयो । यसैका सहायताबाट उनी आफ्ना अनुसन्धानसम्बन्धी लेख प्रकाशित गर्ने एवम् प्रवचन र अन्तर्वार्ता दिने गर्थे ।
हकिङलाई जीवनमा साथ दिने र सहयोग गर्ने कार्यमा पत्नी जेनको महत्त्वपूर्ण भूमिका रहेको छ । हकिङ क्याम्ब्रिजमा विद्यावारिधि गरिरहँदा उनले जेन वाइल्डसँग प्रेम गर्न थालेका थिए । जेन पनि हकिङलाई निकै मन पराउँथिन् । रोग लागेको थाहा पाउँदा पनि जेनले हकिङलाई प्रेम गर्न छोडिनन् । पछि सन् १९६५ मा विवाह गरेपछि उनीहरूको प्रेमसम्बन्ध दाम्पत्य सम्बन्धमा परिणत भयो । उनीहरूका लुसी नामकी छोरी र रोबर्ट र तिमोथी नामका दुई छोरा जन्मे । उनीहरूको दाम्पत्य सम्बन्धमा खटपट आएपछि सन् १९९० मा सम्बन्धविच्छेद भयो । त्यसपछि सन् १९९५ मा उनले आफ्नो स्याहारसुसार गर्ने नर्स एलेन मेसनसँग विवाह गरे । मेसनसितको दाम्पत्य सम्बन्ध पनि लामो समयसम्म रहन सकेन । सन् २००६ मा उनीसँग पनि हकिङको सम्बन्धविच्छेद भयो । शारीरिक रूपमा अशक्त र पारिवारिक जीवनमा खटपट आए पनि हकिङले आफू शक्तिहीन भएको महसुस गरेनन् । ‘आशा राख र व्यस्त बन’ लाई मूल मन्त्र बनाएका उनले शारीरिक अशक्ततालाई अनुसन्धान गर्ने उपयुक्त अवसरका रूपमा लिए। जीवनप्रति आशावादी बनेर निरन्तर अनुसन्धानरत उनले शारीरिक अशक्तताकै समयमा पनि भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गर्न सफल भए । हकिङले आफ्नो जीवनकालमा दर्जनभन्दा बढी पुस्तक र कैयौं शोधपत्र तयार गरी प्रकाशन गरे । उनले लेखेका पुस्तकमध्ये सन् १९८८ मा प्रकाशित ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ सर्वाधिक चर्चित पुस्तक हो । यस पुस्तकलाई सन् १९९८ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डद्वारा सदावहार सर्वाधिक विक्री हुने पुस्तक घोषणा गरियो । यो पुस्तक २३७ सातासम्म सन्डे टाइम्सको सर्वाधिक विक्री हुने सूचीमा रहन सफल भएका कारण पनि धेरै चर्चित बन्यो। यस पुस्तकले हकिङलाई पनि निकै चर्चित बनायो । यस पुस्तकमा उनले ब्रह्माण्डको उत्पत्ति, संरचना, विकास र भविष्यसम्बन्धी कठिन विषयलाई पनि आम मानिसले सजिलै बुझ्ने भाषामा प्रस्तुत गरेका छन् । ४० भन्दा बढी भाषामा अनुवाद भइसकेको यस कृतिमा आधारित चलचित्र पनि बनेको छ ।
हकिङले ब्रहमाण्डको उत्पत्ति र संरचनासम्बन्धी गहिरो अध्ययन गरी यससम्बन्धी आफ्ना मौलिक मान्यता प्रस्तुत गरेका छन् । ब्रह्माण्डको उत्पत्ति निश्चित परिभाषित सिद्धान्तअनुसार भएको मान्यता राख्ने हकिङले यसको उत्पत्ति सर्वाधिक घनत्वको अवस्थामा रहेको कुनै विन्दुबाट भएको र त्यसको अन्त्य पनि त्यस्तै विन्दुमा हुने बताएका छन् । यस विन्दुलाई वैज्ञानिकले सिगुलारिटीको संज्ञा दिएका छन् । क्वान्टम पुञ्जका रूपमा रहेकाले सर्वाधिक घनत्वको अवस्थामा रहेको यस विन्दुलाई हकिङले ब्ल्याकहोल भनेका छन् । उनले ब्ल्याकहोल अत्यन्त भारयुक्त ताराको अवसानपछि निर्माण हुने भएकाले तारा अनन्त भए झै ब्ल्याक होल पनि अनन्त हुन सक्ने र तीमध्ये केही ब्ल्याकहोलमा महाविस्फोटन भई ब्रह्माण्डको उत्पत्ति हुने मान्यता राखेका छन् । हकिङले सुरुमा आइन्स्टाइनले भने झै ब्ल्याकहोलभित्रको स्थान, समय र गुरुत्वाकर्षणको प्रबलताका कारण त्यसभित्र छिरेको प्रकाशसमेत बाहिर ननिस्कने र त्यसले सबै चिज आफूमा समाहित गर्ने भएकाले त्यसको भार बढ्छ भन्ने धारणा राखेका थिए। पछि उनले यस सम्बन्धमा आफ्ना मौलिक विचार प्रस्तुत गरे । उनले अधिक गुरुत्व शक्तिले गर्दा ब्ल्याकहोलभित्र हरेक चिज खुम्चिएर रहेका हुने र अझ खुम्चदै जाँदा त्यसबाट विकिरण उत्सर्जन हुन्छ भन्ने पत्ता लगाए । उनकै नाममा यस विकिरणको नाम पनि ‘हकिङ रेडिएसन’ राखियो । ब्ल्याकहोलमा महाविस्फोटन भएर उत्पन्न भएको ब्रह्माण्ड खुम्चदै गएर पुनः ब्ल्याकहोलमा परिणत भएपछि त्यसको अन्त्य हुने विचार पनि उनीले प्रस्तुत गरे । हकिङले प्रस्तुत गरेको यो विचार र संसारकै प्राचीनतम ग्रन्थ ‘ऋग्वेद’ मा प्रस्तुत भएको सृष्टिसम्बन्धी दृष्टिमा निकै समानता रहेको देखिन्छ । ‘ऋग्वेद’ मा ‘यस संसारको सृष्टि हुनुपूर्व अन्धकारले ढाकिएको अत्यन्त सघन ऊर्जाशील अन्धकार थियो। यही अन्धकारबाट चारैतिर फैलिएको किरण पदार्थमा परिणत भएपछि संसारको सृष्टि भयो।’ भनिएको छ ।
हकिङले ब्रह्माण्डशास्त्री रोजर पेनरोजसँग मिलेर अल्वर्ट आइन्सटाइनको ‘सामान्य सापेक्षताको सिद्धान्त’ बारे थप व्याख्या गरे । आइस्टाइनले सापेक्षता भनेको आफू स्वतन्त्र नभएर अर्कासित सम्बद्ध हुने गुण वा अवस्था हो भनेका थिए। यही भनाइका आधारमा हकिङले ब्रह्माण्डका सबै वस्तु स्वतन्त्र नभएर एकअर्कासित सम्बद्ध हुने विचार अघि सारे । यही क्रममा उनले अदृश्य उपपरमाणुको अध्ययन गर्ने क्वान्टम सिद्धान्त र स्थूल दृश्य प्रपञ्चको अध्ययन गर्ने सापेक्षता सिद्धान्तलाई एउटै सूत्रबाट व्याख्या गर्ने प्रयास गरे । ब्रह्माण्डको व्याख्यामा यी दुवै सिद्धान्तलाई जोड्ने उनी पहिलो वैज्ञानिक हुन् । यस्तै हकिङले वार्महोलको पनि व्याख्या गरेका छन् । उनले वार्महोलका माध्यमबाट समययात्रा गरी एउटा ग्यालेक्सीबाट अर्को ग्यालेक्सीमा छोटो समयमा पुग्न सकिने बताएका छन् । यो पनि उनको अनुसन्धानको अर्को उपलब्धि हो । पछिल्लो समयमा उनी ब्रह्माण्डका सबै शक्तिलाई एकीकृत व्याख्या गर्ने एउटै सिद्धान्त बनाउने प्रयत्नमा तल्लीन थिए । यस कार्यमा उनी पूर्णतः सफल हुन चाहिँ सकेनन् । उनले पछिका अनुसन्धाताका लागि मार्गचित्र भने कोरिदिएका छन् ।
हकिङले पृथ्वीमा आइपर्ने सम्भावित विपत्तिबाट बच्न मानव समुदायलाई बारम्बार सचेत गराउने गर्थे । उनले परमाणुयुद्ध, विश्वव्यापी तापक्रम वृद्धि, प्रकृति विरुद्धका मानवीय गतिविधिका कारण पृथ्वीमा मानव जीवन खतरामा रहेको बताएका छन् । यसैले यसतर्फ समयमै सचेत हुन आग्रह गरेका छन् । यस्तै उनले मानिसलाई कृत्रिम बुद्धिमत्तापूर्ण रोबोटको निर्माणमा सचेत हुनुपर्ने बताएका छन् । कृत्रिम बुद्धिमत्तापूर्ण रोबोट मानिसको दिमागका उपज भए पनि स्मरण र विश्लेषणात्मक सामर्थ्य मानिसको भन्दा धेरै हुँदै गइरहेको छ। मानिसले गर्न सक्ने सबै काम यी यन्त्रहरू सजिलै गर्न सक्छन् । यसैले उनी कृत्रिम बुद्धिमत्ताले मानिसलाई नभई मानिसले कृत्रिम बुद्धिमत्तालाई नियन्त्रण गर्नुपर्ने मान्यता बारम्बार दोहोर्याइरहन्थे ।
हकिङ एक प्रेरक वक्ता पनि थिए । आफ्नो ह्विलचेयरमा जडित कम्प्युटरको सहयोगले समय समयमा उनले दिएका प्रेरणादायी वक्तव्य अत्यन्तै जीवनोपयोगी छन् । उनले बालबालिकालाई आफूभन्दा तलको पैतालालाई नभई सधैं तारालाई हेर्न, विनाकाम जिन्दगी खाली हुने भएकाले सधैं कर्मशील बन्न र कसैले प्रेम गरेमा त्यसलाई स्वीकार गर्न सुझाव दिएका छन् । उनले विनागल्ती संसारका कोही पनि मानिस अघि वढ्न नसक्ने भएकाले गल्तीलाई प्रगतिको पथप्रदर्शकका रूपमा लिनुपर्ने बताएका छन् । यस्तै उनले शारीरिक रूपमा अशक्त व्यक्तिलाई काम गर्ने क्षमतामा अपाङ्गता हुनु मात्रै नराम्रो हो, शरीरमा होइन भन्दै शारीरिक अशक्ततालाई कहिल्यै पनि दुर्भाग्य सम्झन नहुने सुझाव दिएका छन् । ज्ञानशक्तिले नयाँ तथ्य पत्ता लगाउन, क्रियाशक्तिले उद्देश्यलाई कार्यान्वयन गर्न र इच्छाशक्तिले सधैं काम गर्न प्रेरित गर्छ भन्ने मान्यता राख्ने उनी इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिका त्रिवेणी थिए । यिनै शक्तिका आधारमा शारीरिक अशक्ततामाथि उनले विजय प्राप्त गरेका थिए ।
आफ्नो जीवनमा गरेका योगदानका कारण हकिङले थुप्रै पुरस्कार पाएका छन् र धेरै सम्मानबाट उनी विभूषित भएका छन् । उनले अल्वर्ट आइन्स्टाइन मेडल (सन् १९७९), ह्युज मेडल अफ रोयल सोसाइटी (सन् १९७६), मेडल अफ रोयल एस्ट्रोनोमिकल सोसाइटी (सन् १९८५) लगायतका दर्जनभन्दा बढी स्वर्ण पदक र पुरस्कार प्राप्त गरेका छन् । सन् १९८२ मा ब्रिटिस महारानी एलिजाबेथले उनलाई ‘कमान्डर अफ द ब्रिटिस एम्पायर’ कदरवाट सम्मान गरेकी छन् भने सन् २००९ मा अमेरिकी सरकारले त्यहाँको सर्वोच्च नागरिक सम्मान ‘राष्ट्रपति’ पदकबाट सम्मान गरेको छ ।
जीवनका अधिकांश क्षण ब्रह्माण्डको अनुसन्धानमा बिताउने हकिङको पारिवारिक जीवन र व्यक्तित्वका विविध पाटालाई झल्काउने विभिन्न चलचित्र र वृत्तचित्र बनेका छन् । ‘द थेओरी अफ एभ्रिथिङ’, ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ नामका चलचित्रका साथै ‘स्टिफन हकिङस युनिभर्स’, ‘होराइजन : द हकिङ प्याराडक्स’, ‘मास्टर अफ साइन्स फिक्सन’, ‘इन टु द युनिभर्स विद स्टिफन हकिङ’ लगायतका वृत्तचित्रको निर्माण भइसकेको छ ।
निरन्तर सङ्घर्षशील हकिङले सन् २०१८ मार्च १४ मा ७६ वर्षीय जीवनसङ्घर्षबाट सदाका लागि विश्राम लिए । उनी भौतिक रूपमा यस संसारमा नभए पनि उनका सिद्धान्त, उनले लेखेका दर्जनौँ पुस्तक र उनीमाथि बनेका चलचित्र एवम् वृत्तचित्रले उनलाई सदैव अमर राख्ने छन् । शारीरिक रूपमा अशक्त हुँदा पनि निरन्तर अनुसन्धान गर्दै भौतिक शास्त्रमा नयाँ तथ्य उजागर गरेर मानवीय चेतनालाई नयाँ उचाइमा पुऱ्याउन उल्लेख्य योगदान गर्ने हकिङ वैज्ञानिक जगत्का विशिष्ट प्रतिभा हुन् ।
शब्दभण्डार (पाठ ६ को तलको शब्दार्थहरू)
शब्द अर्थ
विभीषिका भय
मानसपटल मानसिक तह
आनुवंशिक पुख्र्यौली
जिज्ञासा जान्ने इच्छा
अवधारणात्मक कुनै विषयप्रति विचारपूर्वक निश्चय गरिएको
खगोल आकाशमण्डल
घनत्व खदिलोपन
कृत्रिम बनावटी
साधना सफल हुनका लागि कुनै काम बारम्बार गर्ने क्रिया
पाठ ६
स्टिफन हकिङ
त्रिवेणी
भौतिक शास्त्र
