व्यावसायिक पत्र व्यावहारिक लेखन पाठ पढ्नुहोस् ।
पाठ ४ : व्यावसायिक पत्र
कर्नाली उत्पादन तथा वितरण केन्द्र
चिसापानी, कैलाली
मिति : २०७८/०१/०२
प. स.
च. नं.
श्रीमान् प्रमुख
ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनी
कोहलपुर, बाँके ।
विषय : आपूर्ति सम्झौता सम्बन्धमा ।
त्यस कम्पनीको मिति २०७७/१२/२५ को पत्र प्राप्त भई पत्रको व्यहोरा अवगत भयो । यस कम्पनीबाट उत्पादित तथा सङ्कलित वस्तुको बिक्री वितरण गर्ने र दुई कम्पनीका विचमा सहकार्य गर्ने भनी त्यस कम्पनीले राखेको प्रस्तावलाई यो कम्पनी सहर्ष स्वीकार गर्छ । यस कम्पनीले विगतका दिनमा अन्य धेरै कम्पनीसँग सहकार्य गरिसकेको छ र त्यसवाट दुवै पक्ष लाभान्वित पनि भएका छन् । त्यसैले आगामी दिनमा अन्य कम्पनीसँग त्यस कम्पनीसँग पनि सुमधुर वातावरणमा सहयोग आदानप्रदान हुने अपेक्षाका साथ यथाशीघ्र सम्झौता गरी काम अघि बढाउनसमेत यो कम्पनी अनुरोध गर्छ ।
यस कम्पनीबाट उपलब्ध हुने वस्तुहरूको विस्तृत विवरण र मूल्यसूची हाम्रो वेवसाइटमा उपलब्ध छ। यस कम्पनीबाट उत्पादित तथा सङ्कलित सामानको विवरण यसप्रकार रहेको छ :
१. चामल, मकै, भटमास, दाल, आलु, तरकारी, फलफूल
२. माछा, खसी, भेडा, कुखुरा हाँस, खरायो, गाई, भैंसी, वाखा, घोडा
३. दुध, दही, घिउ, चिज
४. विभिन्न किसिमका बिउ, विजन
५. फर्निचर तथा विभिन्न किसिमका घरेलु सामान
भावना चौधरी
प्रबन्ध निर्देशक
खामको नमुना
- पठाउने: कर्नाली उत्पादन तथा वितरण केन्द्र, चिसापानी २, कैलाली
- पाउने: श्री ज्वालामाई उपभोग्य वस्तु सङ्कलन तथा वितरण कम्पनी, कोहलपुर ३, बाँके
(दाहिने कुनामा टिकटको कोठा)
शब्दभण्डार / शब्दार्थ (पाठ ४)
- प्रबन्ध: बन्दोबस्त, चाँजोपाँजो
- अवगत: जानेको वा बुझेको
- दीर्घकालीन: लामो समयसम्म रहने
- सङ्कलित: जम्मा गरिएको वा बटुलिएको
- वितरण: बाँडफाँड गर्ने वा फैलाउने काम
- सहकार्य: दुई वा दुईभन्दा बढी व्यक्ति वा संस्थाले मिलेर गरिने काम
- प्रस्ताव: कुनै कामको आरम्भ वा सम्पादनका लागि प्रस्तुत गरिएको विचार
- सहर्ष: खुसीसाथ, खुसीले युक्त
- यथाशीघ्र: जतिसक्दो चाँडो
