आमाको सपना कविताको मूलभाव
कवि गोपालप्रसाद रिमाल र ‘आमाको सपना’ कविता
गोपालप्रसाद रिमाल नेपाली कविताका प्रथम गद्यकवि हुन् । प्रकृति, प्रेम, विसंगति र विकृतिलाई कविताको विषय बनाउने रिमालका कवितामा जातीय स्वाभिमान, व्यङ्ग्य र देशभक्तिको भावलाई कवितामा व्यक्त गरिएको पाइन्छ । उनका कवितामा नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार आदिका विरुद्धमा क्रान्तिकारी आवाज उठाइएको छ । त्यसैले रिमालका कवितामा मूलरुपमा क्रान्तिकारी विचार व्यक्त भएको छ । यस्तै गरी उनका कवितामा नेपाली जनजीवनका इच्छा, आकांक्षा, आशा, क्रान्ति, विद्रोह र सामाजिक परिवर्तनका आवाजहरु मुखरित भएका छन् । सरल भाषा, बिम्ब, प्रतीक र अलंकारको संयोजन गरी कविता सिर्जना गर्ने रिमालका कवितामा गद्यलयको प्रयोग पाइन्छ ।
‘आमाको सपना’ कवितामा कविले नेपाली समाज निरंकुश शासकको अन्याय, अत्याचार, विकृति, विसंगतिरुपि फोहोरबाट दुर्गन्धित बनेको छ र यसलाई स्वस्थ तुल्याउन क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा उपस्थित आमा र छोराका बीचको संवादको माध्यमबाट व्यक्त गरेका छन् । आमा र छोराका बीचमा संवाद गराई क्रान्तिकारी परिवर्तन आउने र क्रान्तिका पछाडि सबै जनताहरु लाग्ने विचारलाई आशावादी चिन्तनमा ढालेर व्यक्त गरिएको आमाको सपना सामाजिक परिवर्तनका लागि क्रान्ति आवश्यक भएको विचार राख्ने कविता हो । शोषण, अन्याय, अत्याचार, विकृति र विसंगतिबाट पीडित भएकी नेपाल आमाले परिवर्तनको आशा गरेकी छन् तर त्यो परिवर्तन वर्तमान सन्ततिहरुबाट सम्भव नभई भावी पुस्ताबाट मात्र सम्भव हुने कुरालाई यस कवितामा उठाइएको छ । नेपाल आमा प्रत्येक पटकको प्रश्रव वेदनाबाट आफूले जन्म दिएको सन्तानलाई वीर योद्धाका रुपमा हेर्न चाहन्छिन् तर त्यस किसिमको परिवर्तन आफ्ना वर्तमान सन्ततिबाट सम्भव नहुने र भावी सन्ततिबाट मात्र सम्भव भई आफूले मुक्ति प्राप्त गर्ने कुरालाई कवितामा सशक्त रुपमा उठाइएको छ । नेपाली आमाले जन्माउने भावी सन्तान यति क्रान्तिकारी हुन्छन् कि हिउँ र आगो भन्दा बढ्ता भएर बिहानको सूर्य जस्तै उज्यालोरुपि क्रान्ति छर्दै आउँछ भन्ने भाव व्यक्त गरिएको छ । नेपाल आमाले प्रश्नकर्ता शिशुकै कलिलो मुहारमा क्रान्तिको छाप देख्न चाहन्छिन् र बालकको तोते बोलीमा क्रान्ति पुरुषकै मधुर वाणी सुन्न चाहन्छिन् । यस कवितामा नेपाल आमाले आफ्नै सन्तानलाई वीर योद्धा बनाएर क्रान्तिकारी गीत घन्काउन चाहेको भाव पनि व्यक्त भएको देखिन्छ । क्रान्तिको अवतरण भएपछि क्रान्तिचेतना शुन्य शिशुपनि यसको अनुयायी हुनेछ अनि क्रान्तिको शक्ति सर्वव्यापी र सर्वग्राह्य हुनेछ । परिवर्तनको लागि क्रान्तिको विगुल फुकेपछि सत्यमाथि हुने अन्याय, अत्याचार विरुद्ध सबै जनताहरु लागि पर्नेछन् । यसरी कविले नेपाल आमाका तर्फबाट उनका सन्तानलाई माध्यम बनाएर आफूभित्र रहेको क्रान्तिकारी भावलाई व्यक्त गरेका छन् । क्रान्तिविना समाजमा प्रजातन्त्र आउन नसक्ने, नेपाली जनता स्वतन्त्र बन्न नसकिने र नेपाल आमालाई स्वस्थ तुल्याउन नसकिने कुराको उल्लेख गरी यस कविताका माध्यमबाट कविले क्रान्तिपुरुषको आवश्यकता नेपाल आमालाई भएको कुराको आह्वान गरेका छन् । विं.सं.२००० को आसपासमा रचना गरिएको यस कविताद्वारा कविले हाम्रो समाज युगीन राजनैतिक दुर्गन्धको जालोमा फसी थलिएको अवस्थामा रहेकाले त्यसलाई स्वस्थ तुल्याउन क्रान्ति गर्नुपर्ने सन्देश व्यक्त गरेका छन् । समाजमा विद्यमान अन्याय, अत्याचार, दमन, शोषणका विरुद्ध सबैलाई क्रान्तिमा होमिन आह्वान गर्ने उद्देश्यले यस कविताको रचना भएको देखिन्छ । देशमा क्रान्तिरुपी हुरी आएर विकृति, विसंगति, अन्याय, अत्याचार र निरंकुशतारुपी फोहोरलाई उडाएर समतामूलक समाजको स्थापना हुन्छ भन्ने आशावादी भावको विस्तार गर्नुमा यस कविताको मुख्य विषयवस्तु केन्द्रित रहेको पाइन्छ । न्यूनतम चार तथा अधिकतम तेइस अक्षर र अठ्चालीस हरफहरुमा यस कविताको संरचना फिँजिएको छ । यस कवितनामा सरल, सहज एवम् प्रश्नोत्तरात्मक भाषा शैलीको प्रयोग गरिएको छ । सूर्य, हतियार, बाँसुरी, हुरी, जुनजस्ता सन्दर्भयुक्त बिम्बहरुको प्रयोग गरिएको छ । अन्याय गर्नेभन्दा अन्याय सहने दोषी हो भन्ने भनाइलाई यथार्थरुपमा प्रस्तुत गर्दै शोषण र दमनका विरुद्ध आन्दोलित हुन प्रत्येक नेपाली आमाले आफ्ना छोराहरुलाई सम्झिरहेका छन् । प्रत्येक नयाँ युगको सुरुवात गर्न प्रत्येक पिँढीले आ–आफ्नो अवस्था अनुसार आन्दोलन गर्नुपर्छ भन्ने क्रान्तिकारी भाव कविले यस कवितामा व्यक्त गरेका छन् ।
