नेपाली पहिचान संवाद पाठ पढ्नुहोस् ।
पाठ १० नेपाली पहिचान
(सङ्गीता, सलिम, घनश्याम, बेखामान र सिम्मा सहपाठी हुन् । उनीहरू १२ कक्षामा पढ्छन् । फुर्सदको समयमा कुनै न कुनै विषयमा बहस, छलफल गर्ने उनीहरूको बानी छ । यस्ता छलफलमा पालैपालो कुनै एक जनाले विषयको उठान गर्ने र त्यसलाई निष्कर्षोन्मुख बनाउने कामको अगुवाइ गर्छन् । अरूले त्यस विषयमा आआफ्ना विचार र तर्क प्रस्तुत गर्छन् । उनीहरू आज कक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि नै विद्यालयमा आइपुगेका छन् । त्यसैले विद्यालयअगाडिको खुला चउरमा दुबोमाथि बसेर उनीहरू कुराकानी गर्दै छन् । आजको कुराकानीमा विषयको उठान गर्ने कामको जिम्मा घनश्यामले लिन्छ ।)
घनश्याम : मलाई हाम्रो समाजको अवस्था देख्दा अचम्म लाग्छ । एउटा सानो समाजमा पनि अनेक जाति, अनेक भाषा, अनेक संस्कृति छन् । यस्तो भएपछि अनेक मतमतान्तर हुने रहेछ । यसले हाम्रो समाजको विकासमा कस्तो असर गर्छ होला ? मलाई यो प्रश्नले सधैं सताइरहन्छ ।
बेखामान : तिम्रो प्रश्न ठिकै छ, घनश्याम । निश्चय नै हाम्रो समाजमा विविधता छ । विविधता भएपछि मतमतान्तर पनि होला । त्यसले केही फरक पर्दैन । हाम्रो समाजमा रहेका विविधता नै हाम्रा पहिचान हुन् । यी हाम्रा सम्पत्ति पनि हुन् । देशका यस्ता अमूल्य निधिलाई समस्याका रूपमा बुझ्नु हुँदैन ।
घनश्याम : जाति, भाषा, संस्कृतिमा विविधता भएपछि पहिचान कसरी खुल्छ ? पहिचान भनेको खास चिनारी हो। यदि समाज आफैँमा विविधता छ भने त्यसको पहिचान त छरपस्ट भएन र ? छरपस्ट भएर छरिएका कुराको पहिचान कसरी खुल्छ ? यो पनि त्यो पनि भन्ने भएपछि कुन चाहिँलाई पहिचान मान्ने ?
बेखामान : तिम्रो भनाइमै तिम्रो प्रश्नको उत्तर पनि लुकेको छ, घनश्याम । तिमीले ठिक भन्यौ, पहिचान भनेको चिनारी हो । कुनै मानिस कविता मात्रै लेख्छ भने उसको पहिचान कवि हो। यदि उसले कविताका साथै कथा, उपन्यास, निवन्ध पनि लेख्छ भने उसको पहिचान कवि, कथाकार, उपन्यासकार र निबन्धकार पनि हो। अब उसले चित्र पनि बनाउँछ भने उसको पहिचानमा चित्रकार पनि थपिन्छ । समाजको पहिचान पनि त त्यस्तै हो । कुनै समाजमा एउटा जाति छ भने त्यस समाजको पहिचान एकजातीय समाज हो । अब नेपाली समाज बहुजातीय छ । त्यसैले हाम्रो समाजको पहिचान बहुजातीय हो ।
सङ्गीता : ठिक हो, वेखामान । नेपाल प्राकृतिक रूपले जति सुन्दर छ त्यति नै सयौं जाति, सयौँ भाषा र अनेक संस्कृतिले सुसज्जित पनि छ । यस्तो विविधता संसारमा विरलै पाइन्छ । त्यसैले नेपाली समाज संसारमा अरूभन्दा भिन्न छ, विशिष्ट छ । आखिर पहिचान भनेको अरूभन्दा विशिष्ट हुनु नै त हो नि ।
सिम्मा : विविधता नै नेपालको पहिचान हो भन्ने कुरामा म स्पष्ट भएँ। अब अर्को कुरा चाहिँ मैले अझै बुझेको छैन । विविधता समस्या नभएर सम्पत्ति हो भन्ने कुरा चाहिँ कसरी नि ?
घनश्याम : यसको जवाफ म दिन्छु है। नेपालमा थुप्रै जाति छन् । हरेक जातिका आफ्नै प्रकारका परम्परा, संस्कृति, ज्ञान, अनुभव छन् । त्यस्तै नेपालमा अनेक भाषा छन् । भाषा भनेको मानव पुर्खाको आविष्कार हो । जातिमा जस्तै हरेक भाषामा पनि मानिसका ज्ञान, अनुभव, संस्कृति सुरक्षित हुन्छन् । हामी मानव सभ्यताका कुरा गछौं नि । वास्तवमा सभ्यता भनेको जाति, भाषा र संस्कृतिको समष्टि हो । त्यसैले जाति, भाषा, संस्कृतिमा विविधता हुनु भनेको सभ्यतामा पनि विविधता हुनु हो । यसैले जाति, भाषा, संस्कृतिमा विविधता भएको हाम्रो समाज विविध सभ्यताको सङ्गम पनि हो । त्यसैले विविधता आफैंमा सम्पत्ति भएन र ?
सलिम : सिम्माले भने जस्तै हामीसँग भएको विविधता हाम्रो सम्पत्ति हो । अर्को महत्त्वपूर्ण र हामीले गौरव गर्ने कुरा पनि छ । विविधता र अनेकताका बिचमा पनि आपसी सहिष्णुता र एकता छ । यो नेपाली समाजको विशिष्ट पहिचान हो । यो हाम्रो समाजको सौन्दर्य हो ।
घनश्याम : सलिमले फेरि यहाँ कताबाट सौन्दर्यको कुरा ल्याएर जोडे। नेपालको सौन्दर्य भनेका सुन्दर हिमाल हुन्, डाँफे, मुनाल हुन्, हरियाली जङ्गल हुन् । यिनै कुरा हेर्नका लागि त पर्यटक नेपाल आउँछन् ।
सङ्गीता : यसमा म भन्छु है। सौन्दर्यसम्बन्धी घनश्यामको बुझाइ अलिक अपुरो भयो । हिमाल, हरियाली जङ्गल, डाँफे मुनाल प्राकृतिक सौन्दर्यका साधन हुन् । सौन्दर्य भनेको सुन्दर वा राम्रो हुनुको भाव हो । जुनसुकै वस्तुवाट प्राप्त हुने सुन्दर कुरा नै त्यस वस्तुको सौन्दर्य हो । त्यसैले प्राकृतिक कुरा मात्रै सुन्दर हुने होइन, सांस्कृतिक कुरा पनि त सुन्दर हुन्छन् । त्यसैले पर्यटक खालि हिमाल र चरा मात्र हेर्न आउने होइनन् ।
सलिम : सङ्गीताले भनेकै कुरालाई मैले फेरि जोड्न चाहन्छु। संसारमा जाति, भाषा, धर्म, संस्कृतिका नाममा ठुला ठुला युद्ध भएका छन् । धनजनको ठुलो क्षति भएको छ, कतिपय मानव सभ्यताकै लोप भएको छ । हामीकहाँ भने यत्रो विविधता भएर पनि आपसमा मिलेर बस्ने, एकले अर्काको भाषा, संस्कृतिप्रति सम्मान गर्ने साह्रै राम्रो बानी छ । यो ज्यादै सुन्दर कुरा हो नि, होइन र ?
घनश्याम : आज धेरै महत्त्वपूर्ण विषयमा कुराकानी भिरहेको छ । धेरै कुरा स्पष्ट हुने मौका मिलेको छ । एउटा कुरा चाहिँ मलाई अझै खट्किरहेको छ । हामीसँग रहेका विविधताले पर्यटकलाई आकर्षण गर्छ भनेर सङ्गीताजीले अगि भनेको कुरामा अझै सहमत भइनँ । नेपालमा पर्यटक आउने भनेको हिमाल हेर्न र आरोहण गर्न आउँछन् । समाजमा रहेका विविधतासँग पर्यटकको के सरोकार हुन्छ र ?
सङ्गीता : यो कुरा चाहिँ तिमीले थाहा पाएर पनि थाहा नपाएको जस्तो गरेका हौ है घनश्याम । सायद तिमीले मेरो जांच गर्दै छौ । हेर घनश्याम, प्राकृतिक सौन्दर्यको मात्रै कुरा गर्ने हो भने पनि नेपालका हिमाल, जङ्गल र चरा मात्रै भनेर पुग्दैन। यहाँ असङ्ख्य पहाड, अन्नको भण्डार तराई, नदी, ताल, उपत्यका, सिमसार, जैविक विविधता आदि थुपै कुरा छन् । नेपाल आउने पर्यटक सबै हिमाल हेर्न र आरोहण गर्न आउने होइनन् नि । पर्यटनका पनि विभिन्न किसिम छन् भन्ने तिमीलाई थाहै छ । त्यसमध्ये सांस्कृतिक पर्यटन पनि त एक हो। नेपाल जस्तो सानो ठाउँमा सयौँ जाति, सयौँ भाषा, सयौँ संस्कृतिको अध्ययन गर्न पाउनु सांस्कृतिक पर्यटकका लागि ठुलो अवसर हो नि । त्यसैले नेपालको विविधतासँग पर्यटकको सरोकार हुने भएन र ?
सिम्मा : मानिसका आआफ्ना रुचि र चाहना हुन्छन् । कसैलाई हिमाल आरोहण गर्न मन लाग्छ । कसैलाई पहाड, तराई, उपत्यका, दुन, जङ्गल, जैविक विविधताको अध्ययन र अवलोकन गर्न मन लाग्छ। कसैलाई इतिहास, संस्कृति आदिको अध्ययन अवलोकन गर्ने रुचि र चाहना हुन्छ । कतिलाई विभिन्न परिकारका खानेकुरा खाने सोख हुन सक्छ । कतिलाई पढ्न, कतिलाई राम्रा राम्रा लुगा गहना लगाउन सोख हुन्छ । पर्यटकमा पनि त यही कुरा लागु हुन्छ नि ।
बेखामान : वास्तवमा हामीसँग भएको खानपानको संस्कृतिलाई मात्रै व्यवस्थित गर्न सके त्यसले पर्यटकलाई झनै लोभ्याउँछ । नेपालमा हरेक जातिका आफ्नै प्रकारका खानपानको परम्परा छ । हामीले थोरै ध्यान दिने हो भने पुरै अर्गानिक र प्राकृतिक खानपानको व्यवस्था गर्न सक्छौँ । त्यसो गर्न सके हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ, त्यसले पर्यटकलाई पनि लोभ्याउँछ ।
घनश्याम : ठिक छ, यी कुरामा म सहमत भएँ। एउटा कुरा चाहिँ हामीले विचार पुऱ्याउनै पर्छ । हामीकहाँ संस्कृतिका नाममा धेरै विकृति पनि छन् । धेरै अन्धविश्वास छन् । जातीय तथा लैङ्गिक विभेद छन् । चाडपर्व, संस्कार आदिमा अनावश्यक आडम्बर देखाउने जस्ता विकृति पनि छन् । हामीले संस्कृतिका नाममा यस्ता विकृत्तिलाई जोगाइरहने हो त ?
सलिम : घनश्यामजीको यस कुरामा मेरो पनि सहमति छ । विविधतामा एकता हाम्रो सौन्दर्य हो भनेर मैले अघि भनें र हो पनि। विविधता राम्रो कुरा हो तर विभेद चाहिँ राम्रो कुरा होइन ।
सिम्मा : मानिसलाई जात, वर्ग, वर्ण, लिङ्ग, क्षेत्रीयता आदिका आधारमा गरिने विभेद पटक्कै राम्रो होइन । हाम्रो समाजमा भएका यस्ता विभेद चाहिँ हटाउनुपर्छ ।
वेखामान : हो, कहीँ कतै अझै पनि समाजमा प्रचलित छुवाछुत, भूत, प्रेत, वोक्सी हुन्छ भन्ने मान्यता र दाइजो जस्ता कुराहरू अन्धविश्वास र कुपरम्परा हुन् । यस्ता मान्यता र परम्परालाई हटाउनै पर्छ ।
सलिम : गलत मान्यता, गलत परम्परालाई हामीले हटाउनुपर्छ तर कसरी पो हटाउने होला ? परापूर्व कालदेखि चलिआएको चलन हटाउनु हुँदैन भन्ने मान्यता नराम्रोसँग जरो गाडेर बसेको छ ।
सङ्गीता : मेरो विचारमा संस्कृति भनेको मानिसले मानिसको हितका लागि बनाइएका राम्रा चालचलन र व्यवहार हुन् । विकृति र संस्कृति नितान्त विपरीत कुरा हुन् । हामीले विकृति हटाउनुपर्छ संस्कृति अँगाल्नुपर्छ । विकृतिलाई संस्कृति मान्ने भुल गर्नुहुँदैन । यो सजिलो चाहिँ छैन ।
वेखामान : अब हामी आजको छलफलको चुरो कुरामा आयौँ भन्ने लाग्छ । सङ्गीताले भने जस्तै हामीले विक्तिलाई हटाउनुपर्छ र संस्कृतिलाई जोगाउनुपर्छ । यो काम सजिलो छैन तर असम्भव भने होइन । यसका लागि शिक्षा मुख्य कुरा हो ।
सिम्मा : वेखामानको कुरामा म सहमत छु। जब शिक्षाको राम्रो विकास हुन्छ तब अन्धविश्वास, कुसंस्कार, कुरीति जस्ता कुरा निर्मूल हुँदै जान्छन् । मानिस चेतनशील प्राणी हो । शिक्षाले मानिसको चेतनास्तरलाई बढाइदिन्छ । चेतनाको वृद्धिसँगै मानिसले आफू र समाजमा रहेका अन्धविश्वास, कुरीति, कुसंस्कार त्याग्दै जान्छ ।
घनश्याम : सिम्माका कुरा सोरै आना सही छन् । शिक्षाको विकाससँगै, मानिसको चेतनामा आएको विकाससँगै समाजमा, कतिपय संस्कृतिमा रहेका अनेक अन्धविश्वास, कुरीति, कुसंस्कार हट्दै पनि आएका छन् ।
सङ्गीता : घनश्यामले भनेको कुरा सही हो । कुनै समयमा सतीप्रथा थियो, त्यो हट्यो । दासप्रथा थियो, त्यो हट्यो। छुवाछुत प्रथा पहिलेभन्दा अहिले धेरै हट्दै छ, जनचेतना जगाउँदै अघि बढेमा हामी त्यसलाई चाँडै निर्मूल गर्न सक्छौं ।
सिम्मा : जातीय विभेद, लैङ्गिक विभेद, वर्ण, वर्ग र क्षेत्रका नाममा रहेका विभेदमा पनि कमी आउँदै छ । तिनलाई पनि पूर्ण रूपमा हटाउनुपर्छ। यसका लागि शिक्षाको खाँचो छ ।
सलिम : आजको छलफलबाट म धेरै उत्साहित भएँ। यसरी हामी जस्ता युवा पुस्तामा यस्तो बुझाइ रहेपछि हामीकहाँ रहेका विकृति, विसङ्गति, अन्धविश्वास, कुरीति हटाउन सकिन्छ । यसका लागि हामी जस्ता विद्यार्थी, युवा र शिक्षित वर्गले पहल गर्नुपर्छ ।
सङ्गीता : सलिमजीको कुरामा म पूर्ण सहमत भए । यस बारेमा समुदाय र कक्षामा पनि छलफल चलाउनुपर्छ । आजको छलफल भने यहीँ टुङ्ग्याऊँ होला । अब हाम्रो नेपाली विषयको कक्षा सुरु हुने बेला भयो, कक्षातिर जाऊँ होला ।
घनश्याम : (घडी हेर्दै) हो, कक्षा सुरु हुने बेला भएछ। अब हामी कक्षामा जानुपर्छ। त्यसभन्दाअधि आजको छलफलको निष्कर्षलाई नोटकापीमा टिपौँ कि भन्ने लाग्यो । आजको छलफलको निष्कर्षका बुँदा सङ्गीताजीले भनिदिने कि !
सङ्गीता : हुन्छ म भन्छु । विविधनामा एकता नेपाली समाजको पहिचान हो। यो हाम्रो सम्पत्ति र सौन्दर्य पनि हो । हाम्रो समाजमा संस्कृति, परम्पराका नाममा अनेक विकृति, विसङ्गति पनि छन् । तिनलाई हटाउनुपर्छ । त्यसका लागि शिक्षा अपरिहार्य छ । अन्धविश्वास, कुरीति, कुसंस्कार जस्ता विकृति हटाउन विद्यार्थी, युवा र सचेत वर्ग अग्रसर हुनुपर्छ ।
सलिम : वडो राम्रो संश्लेषण सङ्गीताजी ।
बेखामान : आजको छलफल फलदायी भयो ।
सिम्मा : मलाई त यस विषयमा एउटा लेख लेखौँ जस्तो लाग्यो ।
सङ्गीता : ठिक भन्यौ सिम्मा । तिम्रो लेखाइ धेरै राम्रो छ । तिम्रो लेख चाँडै पढ्न पाइयोस् ।
घनश्याम : ठिक छ, यस विषयमा सिम्माले लेख लेख्नुहोला, म चाहिँ एकाङ्की बनाउँछु । आज भने जाऊँ । गुरुआमा कक्षामा पसिसक्नुभयो । (सबै जना उठेर कक्षाकोठातिर लाग्छन् ।)
शब्दभण्डार
निष्कर्षोन्मुख: निष्कर्षमा पुग्न खोजेको
अर्गानिक: जैविक
सौन्दर्य: सुन्दर हुनुको भाव
लैङ्गिक: लिङ्गसम्बन्धी
विभेद: भेदभाव
आडम्बर: देखावटी, ठाँटबाट
कुपरम्परा: नराम्रो परम्परा
संश्लेषण: जोड्ने काम
निर्मूल: पूरै सखाप पारिएको
सान्दर्भिक: प्रसङ्गअनुसार मिल्ने
फलदायी: फल दिने, फाइदाजनक
