आमाको सपना कविता पढ्नुहोस् ।
पाठ १ आमाको सपना कविता
गोपालप्रसाद रिमाल
आमा, त्यो आउँछ र ?
“हो, बा, त्यो आउँछ
त्यो बिहानको सूर्य झै उज्यालो छर्दै आउँछ
त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने
तिमी एक हतियार देख्ने छौ
त्यसैले ऊ अधर्मसित लडने छ
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्ने छौ तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ”
हो र आमा !
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मिठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै होला भन्ने
मेरो यौवनभरिको सपना थियो
जे होस् त्यो आउँछ
म आमा हूँ, सारा सिर्जनाशक्तिको मुख भएर
म भन्न सक्छु
त्यो आउँछ
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुने झै सुन्ने छैनौ
तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुने छौ
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुने छौ
मैले यसरी रोगीलाई झै तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन
हेरौंला, त्यो हुरी भएर आउने छ
तिमी पात भएर पछ्याउने छौ
उहिले त्यो जीवनलोकबाट झरेर जून जस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा,
त्यो आउने छ, तिमी उठने छौ ।”
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरूको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई कुत्कुत्याइसक्यो आमा !
“हो, त्यो आउँछ,
त्यो बिहानको सूर्य झै उज्यालो छर्दै आउँछ,
अब म उठेँ, गएँ
तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !”
शब्दभण्डार / शब्दार्थ (पाठ १)
• उषा: झिसमिसे उज्यालो
• सपना: रमाइलो भविष्यको आशा वा कल्पना
• यौवन: युवा अवस्था
• कलिलो: कलकलाउँदो
• सङ्ग्राम: लडाइँ
• जडता: मूर्खता / गतिहीनता
• कण्ठ: घाँटी
• आशा: चाहेको वस्तु पाने इच्छा
• शीत: राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला
• बाँसुरी: ओठमा राखी दाहिने कुमतिर फर्काई बजाइने बाँस, निगालो आदिबाट बनाइएको बाजा
• ग्रहण: लिने वा समात्ने काम
• सिर्जनाशक्ति: सिर्जना गर्ने क्षमता
• सान्त्वना: सन्तुष्ट हुने वा पार्ने वचन
• हुरी: वेगसित चलेको हावा
