जीवन मार्ग रिपोर्ताजमूलक रचना पाठ पढ्नुहोस् ।
पाठ १२ जीवन मार्ग
आजभोलि गाउँसहर जताततै चोमोलुमा औद्योगिक प्रतिष्ठानबाट उत्पादित वस्तुको चर्चा छ । नभन्दै देशविदेशमा रहेका नेपालीका घरमा यस औद्योगिक प्रतिष्ठानबाट उत्पादित कुनै न कुनै सामान पुगेकै छन् । केही वर्षअघिसम्म पनि हामी भन्ने गथ्यौँ “हाम्रो घरभित्र नेपाली ब्रान्डका कुनै पनि सामान छैनन् ।” तर अब त्यस्तो स्थिति छैन । हाम्रा घरभित्र कोठा कोठामा नेपाली उत्पादनका अनेक सामान छन् । त्यसमा पनि चोमोलुमा औद्योगिक प्रतिष्ठानका उत्पादनको बाहुल्य रहेको छ । हिजो मात्र अमेरिकामा बस्ने साथीसँग भिडियो च्याटमा उसले आफ्नो कोठाको दृश्य देखायो । नेपाली उत्पादनका सामानलाई बडो जतनसँग सजाएर राखेको रहेछ । अस्ट्रेलिया, जापान, क्यानडा, स्पेनतिरका साथीसँगको भिडियो च्याटमा पनि नेपाली उत्पादनका सामान सजिएको देखिएकै छ । नेपाली उत्पादनका सामानमध्ये पनि चोमोलुङ्गाका उत्पादनको बाहुल्य देखिन्छ । त्यसो त नेपाल आउने अधिकांश विदेशीले यस प्रतिष्ठानका सामान नेपालको चिनाका रूपमा लैजान थालेका छन् । हेदहिदै नेपालबाट विदेश निर्यात हुने वस्तुमा यस औद्योगिक प्रतिष्ठानका सामानको वर्चस्व हुँदै छ ।
चोमोलुमा सगरमाथाको अर्को नाम । सगरमाथा संसारको सर्वोच्च शिखर, नेपालीको मान, सान र पहिचान। यही नाममा औद्योगिक प्रतिष्ठान खोल्ने र नेपालको मौलिक पहिचानमा आधारित अनि स्थानीय कच्चा सामानको सदुपयोग गर्दै उद्योग स्थापना गर्ने सोचलाई मान्नैपर्छ। त्यति मात्र होइन त्यस्तो सोचलाई मूर्त रूप दिँदै सामान उत्पादन, विक्री वितरणमा पनि चोमोलुङ्माको शिखर चुम्न सफल बन्नु चानचुने कुरा होइन ।
‘चोमोलुङ्ङ्मा औद्योगिक प्रतिष्ठान’ यो नाम पहिलो पटक सुन्दा मलाई गज्जब लागेको थियो । केही समयपछि त्यस प्रतिष्ठानका उत्पादन मेरो घरमा भित्रिन थाले। सुरुमा मेरी जीवन सङ्गिनीले बाँसको काइँयो, थाँक्रो, फिपी, नाङ्लो, डालो, चाल्नो, थुन्से ल्याइन् । केही दिनपछि बुवाले ठेकी, मदानी, सुरो, चम्मर ल्याउनुभयो । उहाँले निगालाबाट बनेका पूजा सामग्री राख्ने ढक्की र धार्मिक किताब राख्नका लागि सानो प्यक पनि ल्याउनुभयो । विस्तारै गलैंचा, राडी, लुकुनी, थाङ्का, खाँडीको कपडा, भाङ्ग्राको झोला, अम्रिसाको कुचो, बाँसका कुर्सी र सोफा आए । चौंरीको घिउ, मह, गुराँसको जुस, मान्द्रेको अचार, कटुसका दिउल आदिको स्वाद सबैको जिब्रामा बस्न थाल्यो । गहत, सतीबयरको सातु, सिन्की, गुन्द्रुक, कोदो र फापरको पिठो, मार्सी चामल, बुङको आलु, पिँडालु, जिम्बु, सिस्नुको धुलो, किनामा आदि भित्रिन थाले । हुँदाहुँदा चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानका सामान भएनन् भने भातभान्सै नहुने स्थिति बन्न पुग्यो ।
चोमोलुङ्गा ब्रान्डका सामानसँगको घनिष्ठतासँगै त्यस औद्योगिक प्रतिष्ठानप्रति चासो जाग्नु स्वाभाविक थियो । त्यसमाथि आफू परियो सगरमाथा शिखरको हिउँ पग्लिएर बनेको दुधकोशीमा धेरै पटक मकर नुहाएर हुर्किएको मान्छे । त्यसैले चोमोलुमा औद्योगिक प्रतिष्ठानका वारेमा रिपोर्ताज तयार पार्ने हुटहुटी जाग्यो ।
गत शनिबार बिहान रिमरिम उज्यालो हुँदै गर्दा म काठमाडौँको कोटेश्वरबाट सोलु दुधकुण्ड जाने माइक्रोबसमा चढें । बस भक्तपुर, बनेपा, धुलिखेल, नेपालथोक, खुर्कोट, घुर्मी, हिलेपानी, ओखलढुङ्गा, ठाडे हुँदै वेलुका ४ बजे सोलुसल्लेरी पुग्यो । सोलुखुम्बु जिल्लामा मेरा धेरै साथी छन् । बसवाट ओर्लनासाथ गणेश, रुद्र अनि डेन्डी मलाई भेट्न आइपुगे । साथीहरूले मेरा लागि एउटा होटलमा बस्ने व्यवस्था मिलाइदिएका रहेछन् । होटलमा केही बेर बिसाएँ, साथीहरूसँगै सुचिया पिएँ अनि झोला थन्क्याएँ। मित्र गणेशले मोटरसाइकलमा राखेर सल्लेरी बजार परिक्रमा गराए । चोमोलुमा औद्योगिक प्रतिष्ठानका निर्देशक छिरिङसँग फोनमा कुरा भयो। उनी घर गएका रहेछन् । भोलि विहान १० बजे मात्रै सल्लेरी आइपुग्ने रहेछन् । “भोलि खानासाना खाएर भेट गरौं, भोलिको समय तपाईंका लागि” उनले भने । बेलुका अबेरसम्म साथीहरूसँग गफ गरियो र राती ११ बजे सुत्न गइयो । यात्राको थकानले होला राम्रो निद्रा परेछ । विहान आँखा खुल्दा झ्यालबाट सूर्यको प्रकाश छिर्न लागेको रहेछ ।
वैशाखको दिन, सल्लेरीमा जाडो गएको रहेनछ। विहानको चियाखाजापछि गणेशजीले मोटरसाइकलमा चढाए । हामी मोटरसाइकलबाट खरीखोलासम्म र त्यसपछि पैदल हिँड्दै लुक्ला विमानस्थल पुग्यौँ । विमानस्थलमा भिडभाड रहेछ । हामीले केही फोटा खिच्यौँ । गणेशजीसँग मैले स्थानीय एफएम रेडियो र पत्रपत्रिकाका कार्यालय, क्याम्पस र केही सरकारी अड्डामा पुग्ने अवसर पाएँ। यस्तैमा विहानको खाना खाने वेला भयो। खाना खाएर केही समय आराम गरेपछि छिरिङजीको फोन आयो । त्यति वेला दिउँसोको एक बजेको थियो ।
चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानका मुख्य परिकल्पनाकार, मुख्य परियोजनाकार, मूल लगानीकर्ता अनि निर्देशक छिरिङले मलाई प्रतिष्ठानको गेटमै स्वागत गरे । टेलिफोनमा धेरै पटक कुराकानी भए पनि आमनेसामनेमा भेटघाट भने पहिलो पटक हुँदै थियो। मैले प्रतिष्ठानका बारेमा विस्तृतमा बुझन चाहेको कुरा बताएँ। छिरिङ मलाई सहयोग गर्न इच्छुक र उत्सुक देखिए। उनले औद्योगिक प्रतिष्ठानको परिकल्पनादेखि त्यसको स्थापना, सञ्चालन, उत्पादन, बिक्री वितरण सविस्तार बताए । मैले आवश्यक कुरा टिप्दै गएँ । मित्र गणेशले हाम्रो कुराकानीलाई भिडियोमा कैद गरे ।
चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानको मुख्य कार्यालय सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा स्थापित रहेछ । यसका शाखा, उपशाखा देशका विभिन्न भागमा रहेछन् । “प्रतिष्ठानले विगत पाँच वर्षदेखि स्थानीय कच्चा पदार्थको प्रयोग गरी नेपालको मौलिकता र पहिचानमा आधारित वस्तुको उत्पादन गर्दै आएको छ । हाम्रा उत्पादन स्वदेश र विदेशमा समेत लोकप्रिय हुँदै आएका छन् ।” छिरिङले भने ।
औद्योगिक प्रतिष्ठानको समग्र अवलोकन र त्यस बारेको आवश्यक जानकारी लिएपछि मैले निर्देशक छिरिङको कामको प्रशंसा गरें र बधाई दिएँ। उनले नम्रतापूर्वक धन्यवाद दिए। ताइचिन चामलको चिउरा, चौंरीको घिउमा तारेको बुङको आलुको चाना, टिमुर र जिम्बुको चटनी, लालीगुराँसको जुस, स्याउको सलाद र सुकुटी जस्तै विभिन्न परिकार खाँदै हमिले कुराकानी गर्यौँ ।
“म आमाबुबाको सबैभन्दा जेठो सन्तान हुँ। मेरो बुबा भारी बोक्ने काम गर्नुहुन्थ्यो । आमा घरको काम गर्नुहुन्थ्यो । हामीसँग थोरै मात्र जग्गाजमिन थियो र त्यसको उब्जनीले तीनचार महिना पनि धान्दैनथ्यो । बुवाले भारी बोकेर अनि आमाले बनीबुतो गरेर हाम्रो जीवन चलेको थियो । म र भाइबहिनीहरू विद्यालयमा पढ्दै थियौँ । हाम्रो परिवारको दुर्भाग्य, एक साँझ बुवा भारीसहित हिउँमा चिप्लिएर भिरबाट खस्नुभयो र उहाँको जीवन समाप्त भयो । त्यति वेला म आठ कक्षामा पढ्थें । त्यसपछि मैले बुवाको उत्तराधिकारी भएर उहाँले गरिआएका काम सुरु गर्नुपर्यो। मेरो पढाइ रोकियो । भारी बोक्न कहिले कटारी, कहिले जिरी र कहिलेकाहीं चाहिँ हिमाल चढ्नेको भरिया भएर बेसक्यामसम्म जानुपर्थ्यो । हिमाल चढ्न आउने पर्यटकको भारी बोक्न पाउँदा कमाइ अलिक राम्रै हुन्थ्यो तर त्यस्तो अवसर कम पाइन्थ्यो। बाँकी समयमा नाम्चेका व्यापारीका लागि सामान बोक्न जानुपर्थ्यो । यस्तैमा केही वर्ष विने। संयोगवश, एक दिन एक जना विदेशी पर्यटकले मप्रति दया देखाए । मेरो बारेमा सबै कुरा थाहा पाएपछि उनले मलाई दश कक्षासम्म पढ्नका लागि छात्रवृत्ति दिने भए । उनले विद्यालयमा कुरा गरेपछि मलाई विद्यालयमा सरसफाइ गर्ने र बाँकी समय पढ्ने जागिर पनि मिल्यो । त्यही जागिरको पैसा र विदेशी पर्यटकले दिएको छात्रवृत्तिले मेरो घरखर्च र पढाइखर्चमा सहयोग भयो। मैले राम्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरें ।”
केही बेर रोकिएर सुचियाको चुस्की लिंदै उनले भने, “एसएलसी पास गरेपछि मैले विद्यालयमा पढाउन पाएँ। जागिरसँगै उच्च शिक्षालाई पनि अघि बढाएँ। स्नातक सकेपछि केही समय सरकारी जागिरे पनि भएँ । जागिर छोडेर केही समय ट्रेकिङ व्यवसायमा लागें । विभिन्न देशको भ्रमणको अवसर पनि मिल्यो तर मलाई अझै चित्त बुझेन । म जापानतिर हान्निएँ । त्यहाँ गएपछि मैले श्रमको महत्त्व थाहा पाएँ। स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने लाग्यो । दुई वर्षपछि म स्वदेश फर्किएँ।”
“त्यसपछि के के गर्नुभयो? कसरी यस क्षेत्रमा आउनुभयो ?” मैले उत्सुकतापूर्वक सोधें । उनले भने, “त्यसपछि केही साथीहरूको लहलहैमा लागेर मैले काठमाडौँ उपत्यका र तराईतिर जग्गा प्लटिङ गर्दै बेच्ने काम गरें । त्यसबाट पैसा त कमाइयो तर मन सन्तुष्ट हुन सकेन । खेतीयोग्य जमिन मासेर घडेरी बनाउने अनि महँगोमा बेच्ने। साहूको रिन काढेर विदेश गएका युवाले बसौं परिश्रम गरेर दशविस लाख जम्मा गर्छन् । त्यसरी कमाएको रुपियाँ सहर र सदरमुकामतिर घडेरी किनेर सक्छन् । कहिले र कसरी घर बनाउने भन्ने उनीहरूलाई थाहा हुँदैन । यदि फेरि आठदश वर्ष दुःख गरेर एकतले घर बनाए भने त्यसपछि के खाने भन्ने कुनै योजना र आधार हुँदैन । यसले त नेपाली कमाइलाई बर्बाद बनाउने रहेछ भन्ने थाहा पाएँ । खेतीयोग्य जमिन मासेर कङ्क्रिटको जङगल बनाउने त्यो पेसामा मन रमाएन । त्यसलाई चटक्कै छोडेर अनेक विकल्पको खोजी गरें । अन्ततः यतातिर आइपुगें ।”
मेरो जिज्ञासा बढ्दै गयो। “चोमोलुमा औद्योगिक प्रतिष्ठानको परिकल्पना चाहिँ कसरी गर्नुभयो ?” मैले सोधे ।
“विभिन्न देशको भ्रमण गरेपछि अनि जापानमा केही वर्ष काम गरेपछि मलाई थाहा भयो, जुन देशले आफ्नो देशको मौलिकतालाई, पहिचानलाई, स्रोत साधनलाई अनि श्रम र सिपलाई सदुपयोग गर्दै त्यसलाई विश्व बजारमा बेच्न सके तिनीहरू नै आत्मनिर्भर भएका रहेछन् । तिनीहरूले नै विकास गरेका रहेछन् । नेपालमा आएर केही व्यापार व्यवसायमा हात हालेपछि थाहा भयो, नेपाललाई प्रकृतिले अपार स्रोत साधन दिएको छ । मरुभूमिको तातो बालुवामा श्रम बेच्दा पनि खुसी हुने श्रमशक्ति पनि हामीसँग छ। यो त ठुलो कुरा हो नि । तर हामीले यसको सदुपयोग गर्न सकेनौँ । यतिसम्म कि हामी हाम्रो खेतबारी बाँझो राख्छौं र विदेशबाट अन्न आयात गछौँ । यत्रा खोलानाला छन्, करोडौँको माछा आयात गछौं । यत्रा पाखापखेरा, जमिन बाँझै छन्, अरवौँको फलफूल र तरकारी आयात गछौं। यो त साह्रै लाजमर्दो कुरा हो नि होइन र ? यो कुरा बुझेपछि मैले नेपाली मौलिकतामा, नेपाली स्रोतसाधनमा उद्योग खोल्नुपर्छ र त्यस्ता उद्योगबाट उत्पादित सामान मात्रै हामीले विदेशमा निर्यात गर्न सक्छौं भन्ने ज्ञान प्राप्त भयो । त्यसपछि चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानको परिकल्पना जन्मियो। केही नजिकका साथीहरूलाई यसको अवधारणा बताए । उनीहरूले सुरुमा शङ्का गरे। गहन छलफलपछि साथीहरूले साथ दिए र अन्ततः त्यसले मूर्तता पायो ।”
“यो कामबाट चाहिँ सन्तुष्ट हुनुहुन्छ ?” मैले सोधें ।
“एकदमै । कतिपय व्यापार व्यवसायले आफू मात्र धनी भइन्छ। यो कामबाट भने आफूले पनि केही न केही कमाइन्छ र अरूलाई पनि कमाउने अवसर सिर्जना भएको छ । स्वदेशी कच्चा पदार्थको सदुपयोग, देशभित्रै रोजगारी सिर्जना, उपभोग्य वस्तुमा आत्मनिर्भर बन्ने प्रक्रियामा केही न केही योगदान अवश्य पुगेको छ । यसबाट मुलुकको अर्थतन्त्रको विकासमा सहयोग पुग्नका साथै हाम्रो मौलिकता र पहिचानको पनि संरक्षण, संवर्धन र विकास हुने छ ।” उनले ढुक्कसँग भने ।
यस प्रतिष्ठानका उत्पादनको विक्री वितरण बढेसँगै देशका विभिन्न क्षेत्रमा यस्तै प्रकृतिका उद्योग खुलेको मलाई थाहा छ । त्यसैले मैले छिरिङलाई सोधे, “तपाईंहरूका प्रतिस्पर्धी त थपिदै छन् नि । यसवाट तपाईंहरूलाई घाटा हुँदैन ?”
“हेर्नुहोस् सर, आजको युग प्रतिस्पर्धाको युग हो, एकाधिकारको होइन । हामीले राम्रा र उपयोगी वस्तुको उत्पादन गर्न सक्यौं भने बजारको समस्या हुँदैन । विश्वव्यापीकरणको आजको युगमा नेपाली संसारभर छरिएर रहेका छन् । विश्वको जुनसुकै कुनामा पुगे पनि नेपालीले आफ्नो मौलिकता र पहिचानलाई भुलेका छैनन् । उनीहरू उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन् । आज विश्वभर कृत्रिम र विषादीयुक्त खानपानका कारण अनेक रोग निम्तिएका छन् । नेपाल जस्तो प्रकृतिको सुन्दर देशमा हामीले अर्गानिक तथा प्राकृतिक वस्तुको उत्पादन गर्न सक्यौं भने हाम्रा उत्पादन संसारभर विक्ने छन् । त्यसैले प्रतिस्पर्धीहरू थपिँदैमा आत्तिनु पर्दैन । बजारको विस्तारसँगै कुनै एउटा उद्योगका उत्पादनले मात्र सबैको माग र आवश्यकता पूरा गर्दैन । कुनै एक क्षेत्रमा स्थापित उद्योगले सबैको चाहना र आवश्यकताको परिपूर्ति सम्भव छैन ।” यत्ति भनेर उनले एउटा स्याउको टुक्रा मुखमा हाले ।
“हामीकहाँ नयाँ कुराको परिकल्पना गर्ने, जोखिम मोल्ने भन्दा पनि अरूले गरेको हेरेर त्यसैको अनुसरण गर्ने र अस्वस्थ प्रतिस्पर्धा गर्ने चलन छ। कुनै चोकमा एउटा मम पसल राम्रोसँग चल्यो भने एकैसाथ आठदशओटा मम पसल खुल्छन् । एउटा मासु पसलमा राम्रो विक्री भयो भने एकैसाथ पाँचसानओटा मासु पसल खुल्छन् । अरू विषयतिर मानिसको ध्यानै जाँदैन । तपाईंहरूले नाफा कमाएको देखेर अरूले पनि उही प्रकृतिमा उद्योग खोलेको देखिन्छ नि । यसले तपाईंहरूलाई असर गर्दैन ?” गुराँसको जुसको चुस्की लिंदै मैले भनें ।
“तपाईंले भनेको ठिक हो । हामीले विकल्प खोज्नुपर्छ । सबैले उही काम गरेर हुँदैन । हाम्रा आवश्यकता असीमित छन् । तिनको परिपूर्तिका लागि विविधता आवश्यक हुन्छ तर नगर्नुभन्दा केही गर्नु राम्रो हो । ‘देखासिकी गरी खा आरिसे मरी जा’ भन्ने हाम्रो उखान पनि छ । जहाँसम्म हाम्रो जस्तो उद्योगको कुरा छ, त्यसमा भने अहिले कति पनि काम भएकै छैन । हामीले गरेका काम त हात्तीका मुखमा जिरा जस्ता मात्रै हुन् । यस्ता हजारौं उद्योग हुनुपर्छ । केही कुरामा भने हामीले ध्यान दिनैपर्छ । पहिलो कुरा हो गुणस्तरमा सम्झौता गर्नुहुँदैन । दोस्रो कुरा स्वस्थ प्रतिस्पर्धा, सहकार्य और आदानप्रदानको संस्कृति बसाउनुपर्छ । त्यसो गर्न सके हामी जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा जान्छौँ ।” यसो भन्दै गर्दा छिरिङको अनुहारमा गम्भीरता झल्किन्थ्यो ।
मैले आजको अन्तिम प्रश्न भन्दै उनलाई सोधें, “उद्यम गर्न चाहनेहरूलाई के सुझाव दिनुहुन्छ ?”
केही बेर सोचेर उनले भने, “आफू मात्र धनी बन्ने काम कुनै ठुलो कुरा होइन, कुनै पुरुषार्थ होइन र त्यो त उद्यम पनि होइन । दुनियाँलाई ठगेर आफू धनी बन्ने काम उद्यम होइन, अधम हो । उद्यमी हुनु भनेको आफूसँगै अरूलाई पनि धनी बनाउने काम हो। हरेक उद्यमीका लागि उन्नतिको मार्ग नै यही हो ।”
पत्तै नपाई सूर्य अस्ताचलमा डुब्ने वेला भइसकेछ । सूर्यका किरण पश्चिम क्षितिजमा लुकिसक्दा पनि लुम्बुर हिमालमा ठोकिएर आएको रातो आभाले उज्यालो दिइरहेको थियो । त्यही आभाको उज्यालोमा छिरिङको अनुहार धपक्कै बलेको थियो। मैले उनको अनुहार गहिरोसँग हेरें । एउटा मझौला कदको गहुँगोरो वर्णको छिरिङको मुहारमा नेपालको सुन्दर आकृति देख्न सकिन्थ्यो । हामीले कुराकानी छोट्यायौं । औद्योगिक प्रतिष्ठानको मूल गेटमा उभिएर फोटो खिचायौं अनि फेरि फेरि पनि भेट्ने वाचा गर्दै हात मिलाएर बिदा भयौं ।
वेलुका सातै वजे खाना खाएर होटलको कोठामा छिरेको म अहिले रातको एघार बज्दा पनि ल्यापटपको किबोर्डमा झुन्डिरहेको छु । पल्लो कोठामा वास बसेका विदेशीको घुराइको घुर्रघुर्र आवाजबाहेक सबैतिर सुनसान छ । अँ, भर्खरै पर कतै स्याल कराएको सुनियो। लौ, कुकुर पनि एक सुरले भुक्न थाले । होइन, अहिलेसम्म कता गएका थिए यी कुकुर ! अब त यो रिपोतार्ज पनि तयार भयो । ए, ‘उद्योग दैनिक’ का सम्पादकले एसएमएस गरेका रहेछन्, “सर त्यो लेख भोलि नै जाओस् भनेको । रातीको १२ बजेसम्म पाउन सके हुन्थ्यो ।” “हुन्छ, मैले लेखिसकें, अब एक पटक खरर पढ्छु र पठाइदिन्छु ।” मैले एसएमएसको जवाफ फर्काएँ और लागें ल्यापटपको मनिटरमा आँखा दौडाउन । केहीबेरमा पढिसकेर सम्पादकलाई इमेलमार्फत रिपोर्ट पठाएँ । रिपोर्ट पठाएको केही बेरमै सम्पादकबाट फोन आयो शीर्षक के दिने होला भनेर । छिरिङसँगको वार्ताबाट पाएको सन्देशले मलाई साँच्चिकै प्रभाव पारेको थियो । यो जनजीवनलाई सहज बनाउने मार्ग वन्न सक्छ भन्ने लाग्यो र भनिदिए ‘जीवन मार्ग’ ।
शब्दभण्डार
मौलिक: कसैको आधार नलिएको, सिर्जनात्मक
बाहुल्य: धेरै हुनाको भाव वा अवस्था
जतन: सुरक्षित
चिनो: चिह्न, निसान
निर्यात: स्वदेशबाट विदेशमा सामान पठाउने काम
वर्चस्व: नियन्त्रण, अधिकार
मूर्त: स्पष्ट आकार भएको
किनामा: भटमासबाट बनाइएको एक प्रकारको परिकार
मकर नुहाउनु: माघे सङ्क्रान्तिमा नुहाउने काम
हस्तक्षेप: आफ्नो अधिकार बाहिरको कुरामा गरिने दखल
