गोर्खे कथा पाठ पढ्नुहोस् ।
पाठ ९: गोर्खे
पेशल कम्प्युटर प्रविधिज्ञ हो । उसलाई केही गरेर देखाऊँ भन्ने लाग्यो । त्यसका निम्ति सानै कुराबाट सुरु गर्न खोजेकाले उसको रोजाइमा एन्टिभाइरस पर्यो । भाइरस भनेको सानो प्रोग्राम हो तर यसले कम्प्युटर प्रयोगकर्तालाई सबैभन्दा बढी दुःख दिन्छ । पेशलले गोर्खे नामक एन्टिभाइरस बनायो ।
एक दिन सतपाल आएर भन्यो, “पेशल भाइ । मेरो कम्प्युटरले साह्रै दुःख दियो । लौ न, गएर बनाइदिनुपर्यो ।”
पेशलले सिडी, पेन ड्राइभ, ड्राइभर, धुलो पुछ्ने ब्रस, पुछपाछ पार्नलाई कपडा राखेर झोला बोक्यो । सतपालले मोटरसाइकल स्टार्ट गर्यो । पेशल पछाडि बस्यो । गुटुटुटु…, आधा घण्टा दौडेपछि मोटरसाइकल एउटा घरका अगाडि थामियो । त्यसबाट झरेपछि सतपालले पेशललाई ‘आउनुस्’ भन्ने सङ्केत गरेर आफू अगाडि लाग्यो । ती कम्प्युटर भएको कोठामा पुगे । कम्प्युटरका अगाडि घुम्ने कुर्सी थियो । पेशललाई त्यसैमा वस्ने सङ्केत गरेर सतपालले कम्प्युटर देखायो । आफू अर्को कुर्सी ल्याएर छेवैमा बस्यो ।
पेशलले कम्प्युटर चलाएर चेकजाँच गर्यो । भाइरसले ग्रस्त भएको रहेछ। पेशलले आफैँले बनाएको एन्टिभाइरस गोर्खेको सिडी निकालेर इन्स्टल गर्यो । इन्स्टल हुन पाँच मिनेट लाग्यो । त्यसपछि स्क्यान सुरु गर्यो । एउटा डाइलग वक्स खुल्यो । टाउकामा सिङ भएको, आङमा रुखका बोक्रा लगाएको, दाह्रा कटकटाइरहेको, महाविकराल अनुहारको मान्छे आयो । उसले काँधमा एउटा झोला पनि बोकेको थियो । त्यो देखेर सतपालले पेशलतिर हेर्यो, फेरि कम्प्युटरतिर । आफूले कहिले नदेखेको अनोठौ देह र विचित्र भावभङ्गी भएको विलक्षण मान्छे कम्प्युटरमा क्रीडामग्न भएको देखेपछि त सतपाल खित्का छोडेर हाँस्न पो लाग्यो । हाँसो रोकिनेवित्तिकै उसले “सोनम” भनेर डाको लगायो । उत्तिखेरै एउटी महिला निस्किन् ।
“बस न, कम्प्युटर बनाएको हेर त ।” सतपालले भन्यो । पछाडि पलङ थियो, सोनम त्यसैमा बसिन् । चिकित्सकले अति सतर्क भएर कोरोना सङ्क्रमित रोगीको परीक्षण गरे एन्टिभाइरस गोर्खे पनि वडो होसियारीका साथ आफ्नो काम गर्दै थियो। उसले काँधको झोला निकालेर भुइँमा राख्यो । आफू पनि बस्यो र झोलाबाट एउटा पत्रिका निकाल्यो । अर्कोतिरवाट कम्प्युटर तान्यो र त्यसबाट हार्डडिस्क निकाल्यो । हार्डडिस्कका सबै फाइल पत्रिकामा खन्यायो । फेरि झोला खोलेर रक्सीको सिसी निकाल्यो र ठाडो घाँटी लगायो। दुई घुट्का घुट्काएपछि “ओओ….” कराएर एक्कासि काम्न थाल्यो । कम्प्युटरमा फोर इन वन हुफर जोडिएको रहेछ । एन्टिभाइरस गोर्खेको स्वरले सोनम त तर्सिन् । पेशल हाँस्दै पछाडि फर्थ्यो । पेशललाई देखेपछि सोनममाथि अर्को आश्चर्य थपिएछ । छक्क पर्दै भनिन्, “त्यो कम्प्युटरभित्र सिङ भएको यमराजको दूत पनि… !”
“हो, म नै हुँ।” पेशलले नाक चेप्यायो । अक्षता हेरे पत्रिकाका फाइल हेर्दै हार्डडिस्कमा राख्दै गर्न थाल्यो एन्टिभाइरस गोर्खे । आधाजति पुऱ्याएपछि राक्षस जस्तो घिन लाग्दो देखिने भाइरस भेट्यो। झोलाबाट खरानी निकाल्यो । मन्त्र फुकेर रेखा हाल्यो । त्यस भाइरसलाई उठाएर खरानीको घेराभित्र थेचार्यो । फेरि स्क्यान गर्न थाल्यो । स्क्यानिङ गर्न थालेपछि केही भाइरस भागेर कुना कुनामा पस्दा रहेछन् । करिब एक लाख फाइल स्क्यान गरेपछि पाँच थरीका भाइरस भेट्यो। ती भाइरसले लगभग चार सय फाइलमा सङक्रमण गरेका थिए । थुप्रै फाइल मर्मत भए, मर्मत हुन नसकेकालाई एन्टिभाइरस गोर्खेले डिलिट गर्न सुझाव दियो । पेशलले ‘ओके’ लेखेका ठाउँमा माउसको चुच्चो लगेर थिच्यो । भाइरसले बिगारेका र मर्मत हुन नसकेका फाइल जति स्वात्तै उडायो । त्यसपछि सुरुमै समातेको भाइरसलाई खरानीको रेखावाट बाहिर तान्यो र सोध्यो, “तँ को होस् । के गर्न आएको हँ ?”
“म ब्रोन्टक नामक भाइरस हुँ । डुब्लिकेट फोल्डर बनाएर तिनलाई अगाडि राखिदिने र सक्कली फोल्डरलाई लुकाइदिने काम हो मेरो। अत्यधिक मात्रामा डुब्लिकेट फाइल बनाएर ओभरलोड गर्छु र कम्प्युटरलाई कामै गर्न नसक्ने गरी थला पारिदिन्छु ।” हाहाहा…, ब्रोन्टक हाँस्यो । “तँलाई ब्रोन्टक ।” एन्टिभाइरस गोर्खेले एक लात बजाएर लडाएपछि त्यसको छातीमा बसेर घाँटी थिची थिची मार्यो । अर्को भाइरसलाई समातेर खरानीको घेराबाट बाहिर निकाल्यो र सोध्यो, ” किन आएको ?”
दोस्रो नम्बर भाइरस केही बोलेन, उसले रातो, पहेंलो, कालो, खैरो रङले पोतिए जस्ता दाँत देखाउँदै झन् जिस्क्यायो एन्टिभाइरस गोर्खेलाई । “छ्या । कस्तो घिनलाग्दो, यसले त टोकेरै पनि विगार्छ होला फाइलहरू !” आँखा तर्दै कड्केर सोध्यो एन्टिभाइरस गोर्खेले, “वोल् न, तेरो काम के हो ?” “ह्याङ,” एन्टिभाइरस गोर्खेलाई काट्ला जस्तो दाँत देखाएर झाँक्रे कपाल हल्लाउँदै भाइरसले भन्यो, “मेरो नाम मेमोरी भाइरस हो । मेमोरीमै ढुकेर बस्छु म । त्यसको सम्पर्कमा आउने एक्सटेन्सन फाइलको रगत चुस्ने र तिनलाई हिँड्नै नसक्ने बनाइदिने काम हो मेरो !”
एन्टिभाइरस गोर्खे जुरुक्क उठ्यो । “ला, चुस अब रगत !” त्यसको मुखमा खुट्टो राखेर थिच्न खोज्दै थियो खुट्टै चपाइदियो भाइरसले । दुखाइले इन्तु न चिन्तु भयो एन्टिभाइरस गोर्खे । दाहा किटेर कुहिनाले भाइरसको टाउकै टाउकामा हिर्काएर मार्यो । त्यसपछि आफ्नो रक्ताम्मे खुट्टो समाएर आत्या आत्या गर्न थाल्यो । त्यो देखेर पेशलले “म कुनै सहयोग गर्न सक्छु ?” टाइप हान्यो । “धन्यवाद, तपाईं चिन्ता नगर्नुस् ।” सान्त्वना स्वरूप एन्टिभाइरस गोर्खेले हाँस्ने कोसिस गर्यो । ऊ दुखाइले रन्थनिएकै थियो । आफ्नो पीडालाई विर्सेर उसले तेस्रो भाइरस निकाल्यो । तेस्रो भाइरस डराएको हुनुपर्छ, उसलाई केही सोध्नै परेन । फटाफट भन्न थाल्यो, “मेरो नाम अन्य भाइरस हो । टेम्पोररी फोल्डरमा गएर बस्छु । त्यहाँ भएका फाइलले खुलिरहेको प्रोग्राम चल्नमा मदत पुर्याइरहेका हुन्छन् । म पनि त्यही फोल्डरमा बसेर फाइललाई ऱ्याम, सी.पी.यु., हार्डडिस्कमा दौडाइरहन्छु । यसले गर्दा चलिरहेको फाइल अचानक बन्द भइदिने, पेज तलमाथि हुने र कम्प्युटर अनावश्यक रूपमा व्यस्त भइराख्ने हुन्छ ।”
“भन्नाले तं कुकर्मी होस्। ला,” एन्टिभाइरस गोर्खेले झोलाबाट एउटा केराउको दाना जत्रो गोली निकालेर भाइरसको हातमा राख्दै भन्यो, खाइदे ।” अन्य भाइरसले मुखमा हालेको मात्र के थियो गोली विस्फोट भएर त्यसको नामोनिसान मेटाइदियो । चौथोलाई निकालेर सोध्दा उसले आफ्नो नाम “चोर” भन्यो । उसको जन्मदाताले कम्प्युटरका पासवर्ड, इमेल एड्रेस, क्रेडिट कार्ड नम्बर, खाता नम्बर जस्ता गोप्य डकुमेन्ट मेरो ठेगानामा पठाइदिनु भनेको रहेछ, दुरुपयोग गर्नलाई । घाइते एन्टिभाइरस गोर्खेले एउटा खुट्टो टेक्नै सकेको थिएन, खोच्याउँदै गएर जगल्ट्याउन खोज्दा चोर भाइरसले सद्दे खुट्टामा दाँत गाड्यो। अतालिएर लड्यो एन्टिभाइरस गोर्खे । लड्दा खरानीको घेरा भत्कियो । पाँचौं भाइरस खरानीको रेखाभित्र थियो, जङ्गिएर निस्क्यो । त्यसले एन्टिभाइरस गोर्खेको पेटमा बसेर काउकुती लगाउँदै भन्यो, “म को हुँ र किन आएको हुँ सोध् न । कड्केर सोध् ?”
एन्टिभाइरस गोर्खे खुट्टाको पीडा र काउकुतीको हाँसोले छटपटिदै घोप्टो पर्यो । “देखिस्, म… म नै हुँ बुट सेक्टर भाइरस कम्प्युटर अन हुनेवित्तिकै ऱ्याममा गएर बस्छु । विन्डोज रन गर्न थालेपछि कुनै फाइललाई उल्टो पारेर कम्प्युटरलाई अगाडि बढ्नुको साटो पछाडि फर्काइदिने (रि स्टार्ट) गर्छु ।” चौथो भाइरसले खुट्टाबाट रगत चुस्न छोडेको थिएन । “गुहार गुहार ।” एन्टिभाइरस गोर्खे चिच्यायो । “म के सहयोग गरूँ ?” पेशलले हतार हतार टाइप हान्यो । “कृपया तुरुन्त अपडेट गर्नुस् ।” एन्टिभाइरस गोर्खे अतालिएको थियो । भाइरसले रगत चुस्न छोडेको थिएन । एन्टिभाइरस गोर्खे सुकेको दाउरा जस्तो सेतो हुँदै गयो । सतपालले पनि हेरिरहेको थियो। हतार हतार ऱ्याक खोलेर सिडिएमए डिभाइस निकालेर पेशललाई दियो । पेशलले त्यसलाई यु.एस्.बी. पोर्टमा घुसार्यो । इन्टरनेट कनेक्सन गर्यो र एन्टिभाइरस गोर्खेलाई अपडेटमा लगाइदियो ।
“सोनम ! हाम्रो इन्जिनियरसाबलाई केही खुवाऊ त ।” सतपालको स्वर सुन्नासाथ महिला उठेर अर्को कोठामा गई । दुई गिलास लस्सी ल्याएर कम्प्युटर टेबुलमा राखी । सतपालले एउटा गिलास पेशललाई उठाउन सङ्केत गर्यो र अर्को आफूले उठायो । फेरि चिया बिस्कुटको पालो आएछ। ती चियाको गिलास र प्लेटको विस्कुट खाली गर्न थाले। अपडेट हुँदै गर्दा एन्टिभाइरस गोर्खेको जिउमा रगत भरिन थाल्यो। त्यो देखेर ती चार र पाँच नम्बरका भाइरस टाप कसे । अपडेट पूरा भएपछि डङ्ग्रङ्ग लडेको एन्टिभाइरस गोर्खे जुरुक्क उठ्यो । आङ बटार्यो । पाखुरा फुलाएर देखाउँदै भन्यो, “बुबा ! फेरि स्क्यान गर्नु त, म ती भाइरसलाई निमोठनामोठ बनाउँछु ।” पेशलले स्क्यान चलायो । यस पटक स्क्यान पनि छिटै गर्यो र ती दुइटा भाइरसको गालामा चट्कनका चट्कन दिएर लडायो । खुट्टाले किचेरै मार्यो । त्यसपछि आफ्नो झोला काँधमा झुन्ड्यायो अनि ‘गुड लक’ भन्ने सङ्केतमा बुढी औंलो देखाउँदै हिँड्यो एन्टिभाइरस गोर्खे । पेशलले कम्प्युटर रिस्टार्ट गर्यो र चेकजाँच गर्यो । कम्प्युटर खररर काम गर्न थालेपछि सतपालका जिम्मा लगायो ।
शब्दार्थ
शब्द अर्थ
प्रविधिज्ञ विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति
भाइरस कम्प्युटरको कार्यक्षमतालाई कमजोर पार्ने वा अवरुद्ध गर्ने प्रोग्राम; रोग सार्ने जीवाणु
नामोनिसान नाम र त्यसलाई जनाउने लक्षण वा चिह्न
सङ्क्रमण एक वस्तुबाट अर्को वस्तुमा फिंजिनु
अत्यधिक एकदमै धेरै
सान्त्वना आश्वासन
महाविकराल अत्यन्त डरलाग्दो
दाहा मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँत
भावभङ्गी मनका भाव व्यक्त गर्ने शारीरिक चेष्टा वा मुद्रा
परीक्षण रोग लागेको छ कि छैन भनी जाँच गर्ने काम
विलक्षण सामान्यभन्दा भिन्न खालको, अचम्मको
