अभ्यास
पाठ : १
आमाको सपना (कविता) – गोपालप्रसाद रिमाल
शब्दभण्डार
१. उस्तै अर्थ दिने शब्दबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
उषा झिसमिसे उज्यालो
सपना रमाइलो भविष्यको आशा वा कल्पना
यौवन युवा अवस्था
कलिलो कलकलाउँदो
सङ्ग्राम लडाइँ
जडता मूर्खता
कण्ठ घाँटी
आशा चाहेको वस्तु पाउने इच्छा
२. अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
(क) राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला – शीत
(ख) ओठमा राखी दाहिने कुमतिर फर्काई बजाइने बाँस, निगालो आदिबाट बनाइएको बाजा – बाँसुरी
(ग) लिने वा समात्ने काम – ग्रहण
(घ) सिर्जना गर्ने क्षमता -सिर्जनाशक्ति
(ङ) सन्तुष्ट हुने वा पार्ने वचन – सान्त्वना
(च) वेगसित चलेको हावा – हुरी
३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् र तिनलाई वाक्यमा प्रयोग पनि गर्नुहोस् :
वायु – पवन, समिर, मारुत, अनिल, बतास,
पवन = मन्द-मन्द बहने पवनसँग मिसिएको फूलहरूको मीठो सुवासले गाउँघरको वातावरणलाई झन् मनमोहक बनाउँछ ।
आमा – माता, जननी, मुमा, माई
माता = मेरी माताले सधैं सत्य बोल्न र असल काम गर्न प्रेरणा दिनुहुन्छ।
मधुर – कोमल, मधुरो, मृदु, मन्द, स्वादिलो,
कोमल = साना बच्चाहरूको कोमल हातले मनमा माया र स्नेहको भावना जगाउँछ।
गरिमा – गौरव, इज्जत, महत्त्व, गुरुत्व, गहनता, गहकिलोपन
गौरव = एउटा राष्ट्रभक्त व्यक्तिले सधैँ राष्ट्रको गौरव कायम गर्नका लागि भूमिका खेलिरहेको हुन्छ ।
करुणा – दया, माया
दया = अरूको दुःख देख्दा मनमा उत्पन्न हुने करुणा नै दया हो ।
नगर – सहर, पुर, नगरी
दक्ष – योग्य, सक्षम, निपुण, कुशल, सिपालु
एकान्त- निर्जन, सुनसान, एकलास, निस्तब्ध, एक्लो, शून्य
धरती – पृथ्वी, भूमि, धरणी, वसुधा, वसुन्धरा, धरा, मेदिनी
शिशु – बालक, नानी, बच्चो
नेपाली बृहत् शब्दकोशमा शब्दहरुको प्रविष्टि वर्णानुक्रमअनुसार निम्नानुसार राखिएको छ :
१. सबैभन्दा पहिले स्वर वर्णहरु (अ, आ, इ….) र त्यसपछि व्यञ्जन वर्ण (क, ख ..) को क्रममा रहेको छ ।
२. स्वरवर्ण क्रममाः अ (अँ, अं, अ) आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ रहेको छ ।
३. व्यञ्जन वर्णमाः क, ख, ग, घ, हुँदै ह सम्म रहेको छ । यस क्रममा क्ष वर्ण क को क्रममा, त्र वर्ण त को क्रममा, ज्ञ वर्ण ज को क्रममा रहेको छ ।
क वर्णपछि क्ष (क्+ष्+अ = क्ष) आउँछ, त वर्णपछि त्र (त्+र्+अ = त्र) आउँछ, ज वर्णपछि ज्ञ (ज्+ञ्+अ = ज्ञ) वर्ण आउँछ।)
४. बाह्रखरीमाः क (कँ, कं, क), का, कि, की, कु, कू, कृ, के, कै, को, कौ, क्य, क्र, क्ल, रहेको छ ।
५. ब र व जस्ता लेखाइ र बोलाइ अलगअलग हुने तत्सम शब्दलाई लेख्य नियमानुसार सोही क्रममा खोज्ने ।
५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :
देवानी, फौजदारी, वारेस, सरजमिन, मुचुल्का, अध्यादेश, अधिवक्ता, विधेयक, जमानत, बिगो, इजलास, कायलनामा, हदम्याद सनाखत, तारिख
उत्तर : अधिवक्ता, अध्यादेश, इजलास, कायलनामा, जमानत, तारिख, देवानी, फौजदारी, विगो, मुचुल्का, वारेस, विधेयक, सनाखत, सरजमिन, हदम्याद
उपर्युक्त शब्दहरुको अर्थ निम्नानुसार छ :
१. अधिवक्ता : कम्तीमा बी. एल्. पास गरेको अदालतमा बहस गर्ने वकिल
२. अध्यादेश : संसद् वा विधायिकाको अधिवेशन नभएको बेला खास समयका निमित्त राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुखबाट विशेष अधिकारको प्रयोग गरी जारी भएको वा हुने कानुन सरहको मान्यता प्राप्त ज्ञापनपत्र
३. इजलास : हाकिम वा न्यायाधीश बसेर मुद्दाको फैसला गर्ने ठाउँ, न्यायालय
४. कायलनामा : अपराध, कसुर वा गल्ती स्वीकार गरेमा स्वीकार गरिएको बेहोरा लेखिदिने कागत
५. जमानत : मुद्दामामिलामा मुछिएको व्यक्तिलाई चाहेको बेलामा उपस्थित गराउने सर्तमा अड्डामा धनधरौटी राखी वा व्यक्ति नै जमानी बसी छुटाउने काम, धितो, धरौटी
६. तारिख : अड्डाअदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति, तारेख, इस्वी महिनाको गते वा दिन, मिति
७. देवानी : लेनदेन, अंशबण्डा, धनमालसम्बन्धी मुद्दामामिलाको निर्णय गर्ने वा फौजदारी मुद्दाबाहेक अरु मुद्दा हेर्ने वा सुल्झाउने (अदालत), धनमालसम्बन्धी मुद्दामामिला
८. फौजदारी : मारपिट, चोरी, डकैतीजस्ता अपराधको न्यायिक कारबाही गरिने कुरासँग सम्बन्धित घटना, मुद्दा
९. विगो : कसैले अनुचित रुपमा लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम
१०. मुचुल्का : सम्बन्धित घटना घटेको ठाउँका मानिसले जानेसुनेको कुरा लेखिदिएको कागज, बयान
११. वारेस : मुद्दामामिलामा कुनै पक्षका तर्फबाट कार्य गर्ने अधिकृत व्यक्ति, प्रतिनिधि, उत्तराधिकारी
१२. विधेयक : कानुनको प्रारुप वा मस्यौदा, प्रतिनिधि सभामा पेस गरिने ऐनको प्रस्तावित रुप
१३. सनाखत : अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम वा कुरो मैले गरेको हुँ भन्ने बेहोरा लेखी प्रमाणस्वरुप गरिने सहीछाप, अनिश्चित वा बेवारिसे लास आदि चिन्न लाउने काम
३. प्रश्नहरू
(क) त्यो र तिमी भनेका को को हुन् ?
त्यो भनेको क्रान्ति अथवा नेपाल आमाको भविष्यमा जन्मने वीर योद्धा वा क्रान्तिकारी सपूत हो र तिमी भनेको नेपाल आमाका सन्तान हुन् ।
(ख) किन क्रान्तिको आवश्यकता परेको हो ?
तत्कालीन निरङ्कुश सरकारको कुशासनले नेपालमा शोषण, दमन, अन्याय, अत्याचार र अधर्मजस्ता विकृति र विसङ्गति फैलाएको कारण क्रान्तिको आवश्यकता परेको हो ताकि मानव समाजका अँध्यारा पक्ष र जडताहरू अन्त्य होऊन् र सुशासन, सुव्यवस्था तथा प्रजातन्त्रको उज्यालो बिहानी आओस् ।
(ग) ‘त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ‘ भन्नुको तात्पर्य के हो ?
संसारमा हिउँ जत्तिको चिसो र आगो जत्तिको तातो अरू केही हुँदैन। जसरी हिउँको अत्यधिक ठन्डी र आगोको तीव्र रापमा ठूलो शक्ति हुन्छ, त्यसरी नै समाजमा जताततै फैलिएका अन्याय र दमनलाई जरैदेखि उखेल्नका लागि वीर क्रान्तिकारी योद्धाहरू जन्मनेछन् र तिनीहरूले एउधो परिवर्तनको आँधीबेहरी सिर्जना गर्नेछन् भन्ने आशयलाई नै यहाँ ‘त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ’ भनेर प्रष्ट पारिएको हो।
(घ) माथिको कवितांशमा कस्तो शैलीको प्रयोग गरिएको छ ?
उत्तर : माथिको कवितांशमा गद्यलयात्मक संवादात्मक शैलीको प्रयोग गरिएको छ ।
४. तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
हो र आमा !
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मिठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।”
प्रश्नहरू
(क) आमाको सपना के थियो ?
(ख) ‘त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ’ भन्नुको तात्पर्य के हो?
(क) आमाको सपना के थियो ?
गोपालप्रसाद रिमालद्वारा लेखिएको यस कवितामा नेपाल आमालाई आमाको रुपमा चित्रण गरिएको छ । यस कवितामा निरङ्कुशताको जञ्जिरमा बाँधिएकी नेपाल आमाको छातीमा मडारिएको शोषण, दमन, अन्याय, अत्याचार, एवं कुव्यवस्थाको पीडा र उत्पीडनलाई हटाई मुक्ति दिलाउनका लागि क्रान्तिकारी महान् योद्धा देशभक्त सपूतको जन्मको चाहना अनि सामाजिक परिवर्तनका लागि क्रान्तिको चाहना गर्नु नै आमाको सपना थियो । निरङ्कुशता, अन्याय, अत्याचारको अन्त्य गरी समतामूलक, शोषणमुक्त समाज निर्माणका लागि क्रान्ति अवश्यम्भावी भएकाले वर्तमानका सन्ततिबाट त्यो सम्भावना नदेखेपछि आमाले भविष्यमा क्रान्तिपुत्र जन्मने र त्यही क्रान्तिपुत्रले क्रान्तिको नेतृत्व गरी प्रजातन्त्रको सुनौलो बिहानी ल्याउने छ, समाज बदल्ने छ भन्ने नेपाल आमाको क्रान्तिप्रतिको विश्वास र क्रान्तिको अभिलाषा नै आमाको सपना थियो ।
(ख) “त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ” भन्नुको तात्पर्य के हो ?
प्रस्तुत कवितांशमा नेपाल आमाले आजसम्म आफूले क्रान्तिकारी देशभक्त योद्धा वा क्रान्तिकारी महान् सपूतलाई जन्म दिन नसकेकोमा दुःखेसो प्रकट गरेकी छिन् । आफूले जन्माएका सन्ततिमा क्रान्तिको छवि देख्न चाहे तापनि अहिलेसम्म देख्न नसकेको, क्रान्तिको मिठो गीतले प्रभाव पारी क्रान्तिकारी बनाउन नसकेको, क्रान्तिको मिठो गीत घन्काउने बाँसुरी बनाउन नसकेको, नेपाल आमाका वर्तमानका छोराछोरीहरुले कुशासन र कुव्यवस्थाको जन्जिरबाट नेपाल आमालाई मुक्ति दिलाई आमाको मुहार हँसाउन प्राणको बाजी थापी क्रान्तिमा होमिन नसकेको, तानाशाहका विरुद्ध गर्जन निकाल्न नसकेकोमा दुःखेसो प्रकट गर्दै आफूले सोचेजस्तो क्रान्तिकारी महान् योद्धा बनी राष्ट्रिय मुक्ति मार्गमा आफ्ना सन्ततिहरु हिँड्न नसकेको भन्नु नै “त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ’’ भन्नुको तात्पर्य हो ।
६. कवितामा कस्तो परिवेशको चित्रण गरिएको छ, छलफल गरी उत्तर दिनुहोस् ।
गोपालप्रसाद रिमालको विद्रोह चेतनाले ओतप्रोत यस रचनामा क्रान्ति हुनु अगाडि नेपाली जनतामा व्याप्त संशय र अन्योलसँगै क्रान्ति निश्चित रूपमा भएरै छाड्ने यथार्थलाई उजागर गरिएको छ। १०४ वर्ष लामो क्रुर राणाकालीन समय र तत्कालीन परिस्थितिलाई समेटिएको यस कवितामा राज्यका राजनीतिक, आर्थिक, प्रशासनिक र सामाजिक सबै क्षेत्रमा एकलौटी राज गरेको तानाशाह शासनको उत्पीडन, अत्याचार र बेथितिलाई देखाइएको छ। जहाँ नेपाल आमा तानाशाहीको साङ्लोमा जकडिएकी छिन् र शासकीय क्रूरता, हत्या एवं आतङ्कले सीमा नाघ्दा चारैतिर डर र त्रासको वातावरण छाएको छ। यस्तो पृष्ठभूमिमा मुलुक र नागरिकको स्वतन्त्रताका निम्ति विद्रोह अनिवार्य भइसकेको तर क्रान्तिको सफलतालाई लिएर जनमानसमा अझै दुविधा रहेको अवस्था चित्रण गरिएको छ। साथै, बिस्तारै जनतामा राजनीतिक चेतना जागृत हुँदै गएको, दमन विरुद्ध आवाजहरू बलियो बन्दै गएको र प्रजातन्त्र प्राप्तिप्रति भरोसा बढ्दै गइरहेको सुखद परिवेशका साथै क्रान्तिप्रति दृढ र सकारात्मक दृष्टिकोण यहाँ प्रस्तुत छ।
८. आमाको सपना कविताको समीक्षात्मक प्रतिक्रिया
नेपाली काव्यजगत्का प्रखर स्वच्छन्दतावादी प्रगतिशील स्रष्टा गोपालप्रसाद रिमाल (वि.सं. १९७५ – २०३०) को ‘आमाको सपना’ कविता वि.सं. २००७ को परिवर्तन अघि देशमा प्रजातन्त्र ल्याउने उद्देश्यले रचिएको क्रान्तिकारी रचना हो। यस कवितामा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा व्याप्त विसङ्गति, उत्पीडन र तानाशाही प्रवृत्तिको अन्त्य गर्दै एउटा सुन्दर समाज निर्माणका लागि विद्रोहको बिगुल फुँकिएको छ। गद्य शैलीमा आमा र छोराबीचको कुराकानीका माध्यमबाट बुनिएको यस कवितामा कविले नेपाल भूमिलाई आमा र यहाँका नागरिकलाई छोराका रूपमा चित्रण गरेका छन्। कवितामा प्रयोग भएको ‘त्यो’ सर्वनामले आउनेवाला क्रान्तिलाई जनाउँछ, जहाँ आमाले देखेको सपना वास्तवमा क्रान्तिको आगमन नै हो। उक्त क्रान्ति (वा क्रान्तिनायक) ले नेपाल आमालाई निरङ्कुशताको बन्धनबाट मुक्त गराउनुका साथै जनतालाई अधिकार सुम्पिन र समाजका सम्पूर्ण बेथिति, अन्याय तथा दमनलाई सखाप पारी शान्ति स्थापना गर्न आउने विश्वास आमाका माध्यमबाट व्यक्त गरिएको छ।
कविको परिकल्पनाअनुसार, त्यो महान् विद्रोही योद्धा कम्मरमा शीत जस्तै चम्किलो हतियार भिरेर, ओजस्वी रूपमा निरङ्कुशता विरुद्ध हिउँ र आगोभन्दा पनि बढी शक्तिशाली तथा प्रभावकारी भएर आउनेछ। उक्त क्रान्तिपुत्रको उदय सूर्यको सुनौलो प्रकाश जस्तै निश्चित छ, जसको पछि लाग्दै देशका युवा पुस्ता अघि बढ्नेछन्। क्रान्तिको सुरुवात भएपछि नेपाली युवाहरू अब पुरानै अवस्थामा अल्झिएर बस्ने छैनन्। बरु तिनीहरूले देशको वास्तविकता बुझ्नेछन् र हुरी चल्दा पातहरू उडेझैं क्रान्तिनायकको अभियानमा एकाकार हुनेछन्। जसरी सूर्यको पहिलो किरणले अन्धकार मेटाउँछ, त्यसरी नै यो क्रान्तिले समाजको जडता र विकृतिलाई नाश गरी उज्यालो छर्नेछ। यसरी कविले आमाका माध्यमबाट छोराको मनमा रहेको द्विविधा हटाउँदै, तत्कालीन क्रुर राणाशासनको शोषण र अत्याचार समाप्त पार्न एउटा निडर र वीर सपूतले नै क्रान्तिको आँधीबेहरी ल्याएर प्रजातन्त्रको ढोका खोल्ने दृढ विश्वास व्यक्त गरेका छन्।
११. दिइएको कवितांशलाई सामान्य पदक्रममा रूपान्तरण गर्नुहोस् र कवितांशले भन्न खोजेको कुरा के हो, छलफल गरी उत्तर दिनुहोस् :
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुने मैं सुन्ने छैनौ
तिमी त्यसलाई आफैं नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुने छौ ।
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै विदा हुने छौ ।
उत्तर : तिमी साँचो कुराप्रति यसरी मन्त्रमुग्ध भएर कथा सुने झैं अल्झिने छैनौ । बरु तिमी आफैं त्यसलाई नियाल्न, आत्मसात् गर्न र सामना गर्न सक्ने बन्ने छौ । मैले यसरी तिम्रो चित्त बुझाउनुको साटो, तिमी युद्धमा होमिन लाग्दा हजार सम्झाउँदा पनि नमान्ने आमाको मनलाई सम्झाइबुझाई र ढाडस दिँदै बिदा मागेर अघि बढ्ने छौ ।
