सहकारी निबन्ध पाठ पढ्नुहोस् ।
पाठ ११ सहकारी
एकआपसमा मिलीजुली सहकार्य गर्ने साथी, बन्धुवान्धव वा अन्य जोकोही व्यक्ति सहकारी हो । सहकार्य भनेको सामाजिक, सांस्कृतिक, आर्थिक आदि क्षेत्रमा गरिने सोद्देश्य सामूहिक क्रियाकलाप हो । सहकार्यको यही अभिप्रायलाई लिएर आधुनिक अर्थशास्त्रीले आर्थिक समृद्धि र विकासका लागि पारस्परिक सहयोग र सहकार्य गर्ने उद्देश्यले स्थापित संस्थालाई सहकारी भनेका छन् । यसरी सहकार्य गर्ने व्यक्ति र संस्था दुवैलाई सहकारीले बुझाए पनि यहाँ चाहिँ यसले मुख्य रूपमा दोस्रो अर्थ सङ्केत गरेको छ । पहिलो अर्थलाई पनि यसले उपेक्षा गरेको चाहिँ छैन । दुवै अर्थको समन्वय गरेरभन्दा सहकार्य गर्ने साथीहरूले आर्थिक समृद्धि र विकासका लागि मिलीजुली स्थापना गरेको साझा संस्था सहकारी हो ।
आधुनिक सहकारीको अवधारणा उन्नाइसौँ शताब्दीको पूर्वार्द्ध (सन् १८४४) मा बेलायतबाट आएको मानिन्छ । बेलायती विद्वान् रोबर्ट ओवेन (सन् १७७१-१८५८) ले सर्वप्रथम यससम्बन्धी महत्त्वपूर्ण विचार प्रस्तुत गरे । यसैले उनलाई आधुनिक सहकारीका पिता भन्ने गरिएको छ । उनले सहकारीमा व्यक्तिगतभन्दा सामूहिक आर्थिक क्रियाकलापमा जोड दिएका छन् । यही सामूहिक आर्थिक क्रियाकलाप नै बेलायतको सुख, समृद्धि र विकासको कारक हो भन्ने गरिन्छ । सहकारीका माध्यमवाट बेलायतले छोटो समयमा हासिल गरेको आर्थिक समृद्धि लोभ लाग्दो छ । यसरी आर्थिक समृद्धिकारक संस्थाका रूपमा सहकारीको अवधारणा बेलायतबाट आए पनि यसको पूर्वरूप चाहिँ पूर्वीय सभ्यताको वैदिक वाङ्मयमा भेटिन्छ । एकआपसमा मिलेर सुरक्षित रहन, वस्तुको सामूहिक उपभोग गर्न र सशक्त भएर सहकार्य गर्न प्रेरणा दिने वेदको भनाइ ‘सहनाववतु, सह नौ भुनक्तु, सह वीर्यं करवावहै’ नै सहकारी चिन्तनको पूर्व रूप हो । सहकार्यमा जुट्न जागरुक बनाउने ‘सहयात्रा गरौं’ ‘सवैमा समभाव राखौँ’ र ‘सम्पूर्ण संसारलाई नै एउटा परिवार मानौँ’ जस्ता उदात्त विचार वेदमा रहेका छन् । वैदिक विचारकै विस्तार गर्ने पौराणिक वाङ्मयमा पनि मानिसको सुखसमृद्धिका लागि सहकार्य अपरिहार्य रहेको बताइएको छ । पौराणिक वाङ्मयमा खुसियालीका विभिन्न उत्सवमा, रोगले आक्रान्त गर्दा, प्राकृतिक प्रकोपले सताउँदा जस्ता सबै किसिमका सुखदुःखमा साथ दिने व्यक्तिलाई सहकारी भनिएको छ। यस्तै बौद्ध दर्शनको ‘सङ्घ शरणं गच्छामि’ ले पनि सहकार्यमा अग्रसर हुन आह्वान गरेको छ । यसरी मानिस एक्लो जीवनमा रहन नसक्ने प्राणी भएकाले उसका निम्ति समूहको बसाइ, सहयात्रा र सहकार्य आवश्यक छ भन्ने पूर्वीय वाङ्मय चिन्तनको सार हो ।
समूहमा रहेर परस्परमा सुखदुःखको साटफेर गर्दा नै मानिसलाई एक्लो भएको अनुभव हुँदैन । समूहमा रहँदा बस्दा नै ऊ आनन्दमय वातावरणमा आफ्ना कामलाई अघि बढाई सुखसमृद्धि हासिल गर्न सक्छ । वर्तमान मानव सभ्यताको विकास पनि व्यक्तिका बिचको पारस्परिक सहयोग र सहकार्यबाट नै सम्भव भएको हो। मानिसले एक्लैले पूरा गर्न नसक्ने आवश्यकता सहकार्यबाट पूरा गरेका धेरै उदाहरणहरू भेटिन्छन् । एकआपसमा सहयोग र सहकार्यको आवश्यकता महसुस भएपछि नै ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनाका साथ सहकार्यका लागि स्थानीय स्तरमा अनौपचारिक सङ्गठन खडा गरिएको देखिन्छ । हिन्दु संस्कृतिका समूह, मण्डल, गण, गुरुकुल एवम् बुद्ध धर्मका सङ्घ, नेवारी समुदायमा प्रचलित गुठी, मङ्का खल, नेवा दवू, ग्रामीण समाजमा प्रचलित भारोपर्म, धर्मभकारी, ऐंचोपैंचो, सरसापट सहकारीका आदि रूप हुन् । यस किसिमका सहकारीले पारस्परिक सहयोग र सहकार्यका माध्यमबाट पाटीपौवा, धर्मशाला, बाटोघाटो, चउरचौतारा आदिको निर्माण, वृक्षरोपण जस्ता मानवहितका कार्य गरेर सामाजिक विकासमा उल्लेख्य योगदान पुऱ्याएका छन् । सामाजिक विकासमा यिनले गरेको योगदानको महत्त्व बुझेर नै नेपालका कतिपय समुदायले अहिले पनि गुठी, भारोपर्म, पैंचोपैंचो, सरसापट, मेलापात आदि नामवाट सहकार्य गरिरहेका छन् । हाम्रा पुर्खाको यस किसिमको सहकार्यबाट अभिप्रेरित सामूहिक जीवनशैली नै नेपाली संस्कृतिको मुख्य आधार हो ।
सहकारीको उपादेयता समाजका हरेक क्षेत्रमा उत्तिकै भए पनि आर्थिक समृद्धि र विकासमा यसको महत्त्व निकै विशिष्ट रहेको छ । विकासको मुख्य आधार आर्थिक समृद्धि हो । विकासका लागि आवश्यक आर्थिक समृद्धिमा सहकारीको भूमिका अपरिहार्य ठानेर नै संसारका अविकसित, विकासोन्मुख र विकसित सबै देशले सहकारीको स्थापना र सञ्चालन गरिरेहका छन् । धेरै देशले सहकारीका माध्यमबाट आर्थिक समृद्धि हासिल गरिसकेका छन् । संयुक्त राष्ट्र सङ्घले पनि सहकारीलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारस्तम्भ स्वीकार गर्दै सबै देशलाई यसका माध्यमबाट आफ्नो देशको विकास गर्न सकिने भएकाले यसको अनुसरण गर्न सुझाव दिएको छ ।
नेपालमा सहकारीमार्फत आर्थिक समृद्धिको उद्देश्यका लागि सङ्गठित हुने कार्यको थालनी भएको धेरै समय भएको छ । सरकारी स्तरमा वि.सं. २०१० मा तत्कालीन योजना तथा विकास मन्त्रालयअन्तर्गत सहकारी विभागको स्थापना भयो । यो विभाग खुलेपछि वि.सं. २०१३ मा चितवनमा स्थापना गरिएको बखान ऋण सहकारी संस्था नै नेपालको पहिलो सहकारी संस्था हो । यो सँगसँगै अन्य १३ ओटा सहकारीको स्थापना त्यस समयमा भएको पाइन्छ । सहकारी स्थापना भएपछि तिनको सञ्चालन, निर्देशन र नियन्त्रण गर्ने कानुनको आवश्यकताबोध भएपछि वि.सं २०१६ मा सहकारीसम्बन्धी ऐन पनि बन्यो । यसपछि सहकारीसम्बन्धी विभिन्न ऐन, नियमावली, नीति र निर्देशिका तयार भएका छन् ।
नेपालको संविधानको धारा ५० (३) मा सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ । यस संविधानको धारा २९६ को उपधारा १ ले दिएको अधिकारको प्रयोग गरी व्यवस्थापिका संसद्ले पूर्ववर्ती ऐनका सकारात्मक पक्षलाई स्वीकार र कमी कमजोरीलाई निराकरण गरेर सहकारी ऐन, २०७४ जारी गरेको छ। यस ऐनले पनि सहकारीका माध्यमबाट आत्मनिर्भर, दिगो एवम् समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने मुख्य उद्देश्य लिएको छ । यसका लागि सहकारीका विश्वव्यापी मूल्यमान्यता र सिद्धान्तलाई अनुसरण गरी सहकारीको स्थापना, सञ्चालन गर्नुपर्ने निर्देशन ऐनमा दिइएको छ ।
सहकारीका माध्यमबाट बेलायतले उल्लेख्य आर्थिक समृद्धि हासिल गरेपछि विश्वका अन्य देशले पनि यसको अनुसरण गरेको देखिन्छ । विश्वका १४ देशको सक्रियता र सहभागिताबाट सन् १८०५ मा अन्तर्राष्ट्रिय सहकारी महासङ्घको स्थापना भएको छ । यस महासङ्घले सहकारीका आधारभूत र नैतिक मूल्यलाई समेटेर सहकारी स्थापनाका निर्देशक सिद्धान्त तयार पारेको छ । यस महासङ्घले तयार पारेको सिद्धान्तमा सन्निहित विचारमध्ये स्वैच्छिक तथा खुला सदस्यता, सदस्यको लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता, स्वायत्तता, स्वतन्त्रता, सहकारीबिच पारस्परिक सहयोग, समुदायप्रतिको सरोकार, शिक्षा, तालिम र सूचना मुख्य हुन् । अहिले विश्वका अधिकांश देशमा यिनै निर्देशक सिद्धान्तको अनुसरण गरी सहकारीलाई अघि बढाइएको छ । अन्तर्राष्ट्रिय सहकारी महासङ्घमा आबद्ध नेपालले पनि यसले प्रस्ताव गरेका मूल्यमान्यता र निर्देशक सिद्धान्तलाई स्विकारेर अघि बढ्ने कुरा ऐनमा नै समावेश गरेको छ । यसैले सहकारीका मूल्यमान्यता र मार्गनिर्देशक सिद्धान्तलाई बुझेर अघि बढ्दा यसबाट अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ ।
सहकार्यबाट व्यक्तिलाई आत्मनिर्भर बनाउने र समुदायको दिगो विकास गर्ने उद्देश्यले सहकारीको अवधारणा आएको हो । ‘स्वतन्त्रताका लागि स्वावलम्बन, समुन्नतिका लागि पारस्परिकता र दुवैका लागि सहकारिता’ सहकारीको नारा रहेको छ । सहकार्य गर्दा आम जनसमूहमाझ छरिएर रहेको पुंजी, प्रतिभा र प्रविधिको एकीकृत उपयोग भई यसबाट आर्थिक उन्नति हुने भएकाले व्यक्ति आत्मनिर्भर बन्नुका साथै समाजको उन्नति हुन्छ । सहकारीमा सहकार्यलाई महत्त्व दिइने भएकाले यसमा न्यून पूँजी भएका व्यक्ति पनि आबद्ध हुन सक्छन् । न्यून पूँजी भएका व्यक्तिलाई ‘एक थुकी सुकी सय थुकी नदी’ भने झै यसमा आवद्ध भएर एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ । सबै किसिमका व्यक्तिलाई समेट्न सक्ने हुँदा अविकसित, विकासोन्मुख र विकसित सबै देशमा सहकारी खुलेका छन् । आर्थिक स्थितिले कमजोर व्यक्तिलाई सहकारीले प्राथमिकतामा राख्ने भएकाले समानुपातिक आर्थिक समुन्नतिका लागि नेपाल जस्तो विकासोन्मुख देशका लागि यस किसिमको साझा संस्था निकै उपयोगी देखिन्छ ।
निश्चित समुदायका सदस्यले आफ्नो इच्छाअनुसार मिलेर सहकारीको स्थापना गर्ने भएकाले सहकारी स्वैच्छिक साझा संस्था हुन् । सहकारीबाट प्राप्त हुने सेवा उपयोग गर्न सक्ने र सदस्यता लिन चाहने सबै व्यक्ति सदस्य बन्न सक्ने भएकाले सहकारी खुला संस्था पनि हुन् । यिनमा सदस्यता लिने र सदस्यता त्याग गर्ने स्वतन्त्रता सबै सदस्यलाई उपलब्ध हुन्छ । कुनै पनि व्यक्ति अरूको करकापमा सदस्यता लिन बाध्य हुँदैन । सेवा उपयोग गर्न चाहने व्यक्तिलाई सदस्यता प्राप्त गर्न कुनै कृत्रिम छेकबार लगाउन मिल्दैन । यी संस्थामा आबद्ध सदबिच लिङ्ग, वर्ग, वर्ण, जातजाति, धर्म र राजनीतिक आधारमा भेदभाव हुँदैन ।
स्वैच्छिक तथा खुला सदस्यताको व्यवस्था भए पनि सहकारीमा सदस्य बन्नका लागि निश्चित मापदण्ड तयार पारिएको छ । सहकारीमा सदस्य बन्न चाहने हरेक व्यक्तिले संस्थाबाट जारी हुने सेयर अनिवार्य रूपमा खरिद गर्नुपर्छ । सहकारी ऐनको दफा ३० बमोजिम १६ वर्ष पुगेको नेपाली नागरिक सहकारीको सदस्य बन्न सक्ने प्रावधान रहेको छ । सदस्य बन्ने व्यक्तिले सहकारीको कम्तीमा एक कित्ता सेयर खरिद गरेको र सहकारीको तोकिएको कार्यक्षेत्रमा वसोबास गरेको हुनुपर्छ । उल्लिखित योग्यता पुगे तापनि एक व्यक्ति एकै समयमा एकभन्दा बढी समान प्रकृतिका सहकारीको सदस्य बन्न मिल्दैन । सहकारीमा एकदेखि लिएर थुप्रै सेयर पनि किन्न सकिने व्यवस्था हुन्छ । जति नै सेयर किने पनि भोटको सङ्ख्या भने एक मात्र हुन्छ । यसमा नयाँ सदस्य र पुराना सदस्यका विचमा पनि मतदान र विचार व्यक्त गर्ने काममा केही भेदभाव गरिदैन । संस्थाको पुँजीमाथि सबै सदस्यको समान स्वामित्व हुन्छ । सहकारीमा नाफा भएमा सदस्यले चुक्ता गरेको सेयर पुँजीका आधारमा सीमित बचत फिर्ता पाउँछन् । संस्थाले आर्जन गर्ने मुनाफाबाट संरक्षित पूँजी फिर्ता कोष, बोनस कोष, जगेडा कोष, शिक्षा कोष, घाटा पूर्ति कोष खडा गरी संस्थागत विकास र सदस्यको सेवा तथा सुविधा सुनिश्चित गरिएको हुन्छ । सहकारी सदस्यकेन्द्रित संस्था भएकाले यसमा सदस्यको विशिष्ट भूमिका रहेको हुन्छ ।
सहकारी लोकतान्त्रिक संस्था हुन् । सहकारीका सदस्य आफ्नो संस्थाको नीति तय गर्न र निर्णय गर्नमा सक्रिय रूपमा सहभागी हुन्छन् । निर्वाचित प्रतिनिधिका रूपमा चयन हुने जुनसुकै महिला तथा पुरुष सदस्यप्रति उत्तरदायी हुन्छन् । संस्थामा एक व्यक्ति एक मतको आधारमा सदस्यको समान मताधिकार हुन्छ । यिनीहरूको गठन पनि लोकतान्त्रिक पद्धतिका आधारमा हुने गर्छ । सामान्यतया सहकारी संस्था गठन गर्न कम्तीमा ३० जना व्यक्ति आपसमा सङ्गठित हुनुपर्ने व्यवस्था ऐनको दफा ३ (१) ले गरेको छ । सोही ऐनको दफा ३ (२) मा भने श्रमिक युवालगायतले आफ्नो श्रम र सिपमा आधरित भई व्यवसाय गर्ने सहकारी संस्थाको हकमा १५ जना नेपाली नागरिकले संस्था गठन गर्न सक्ने व्यवस्था रहेको छ। यसैले सहकारीले श्रम र सिपलाई बढी महत्त्व दिएको स्पष्ट हुन्छ ।
सहकारी स्वायत्त संस्था हुन् । संस्थाको सञ्चालन तथा कामकारबाहीमा सरकार तथा अन्य बाह्य निकायको हस्तक्षेप हुँदैन । सहकारीमा मूलतः कानुनी शासन, पारदर्शिता र जवाफदेही ढङ्गले संस्था चलाउने गरिन्छ । सङ्घसंस्थाले आफ्ना सदस्यवाट वचत तथा पुंजी सङ्कलन र वाह्य स्रोतबाट सम्झौता गरी ऋण प्राप्त गर्न सक्छन् । यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि यसका एकाइ साधारण सभा, सञ्चालक तथा लेखा समिति आदि विभिन्न उपसमितिको व्यवस्था सहकारी नियमावलीमा गरिएको छ ।
नेपालको आर्थिक विकासमा सहकारीले ठुलो योगदान दिन सक्ने कुरा केही वर्षाभत्र यसले गरेका विभिन्न कार्यबाट थाहा पाउन सकिन्छ । यसैले समाजका सबै क्षेत्रमा सहकारीको आवश्यकता सबैतिरवाट महसुस गरिएको छ । सहकारी विभागको वि.सं २०७७ को तथ्याङ्कअनुसार नेपालमा २९,८८६ सहकारी सञ्चालन भए पनि अहिलेसम्म सबै क्षेत्रमा सहकारीको सञ्चालन हुन सकेको छैन । सबैजसो क्षेत्रमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको खण्डमा नेपाल धेरै कुरामा स्वावलम्बी हुन सक्ने देखिन्छ। अहिले विश्वव्यापीकरणको बढ्दो प्रभावसँगै विदेशी वस्तुको बढ्दो प्रयोगले हाम्रा घरेलु उत्पादन सङ्कटमा पर्दै गएका छन् । हामीले स्वदेशी उत्पादनलाई प्राथमिकतामा नराखेसम्म हाम्रो आत्मनिर्भरताको यात्राको थालनी पनि हुँदैन । यस कार्यका लागि सहकारी नै प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ। यसका लागि सहकारीको प्रकृति तथा लाभबारे समुदायभित्रका सर्वसाधारणलाई सुसूचित गराउनुपर्छ । यसमा संलग्न भइसकेका सदस्यको चौतर्फी विकासका लागि अनवरत रूपमा शिक्षा र तालिमको व्यवस्था गर्नुपर्छ । सहकारीसम्बन्धी शिक्षाको अभावमा यसलाई विशुद्ध वित्तीय संस्था वा सामाजिक संस्थाका रूपमा लिने गरिएको पाइन्छ । सहकारीले वित्तीय र सामाजिक दुवै क्षेत्रमा काम गरे पनि यसका मूल्यमान्यता, सिद्धान्त, कार्यप्रकृति, नीति, उद्देश्य तथा कार्यक्रमका आधारमा यी दुवै किसिमका संस्थाभन्दा सहकारी नितान्त पृथक् छ । केही सञ्चालकले सहकारीका मूल्यमान्यता र सिद्धान्तको पूर्णतः उपेक्षा गरी वैयक्तिक स्वार्थबाट प्रेरित भएर संस्था सञ्चालन गरिरहेका छन् । उनीहरूले संस्थामा एकाधिकार कायम गरी रकम हिनामिना गरेर फरार हुँदा कैयौं सर्वसाधारण ठगिएका छन् । सञ्चालकका यस किसिमको गतिविधिबाट विपन्न वर्गका व्यक्ति सहकारीवाट लिन सक्ने फाइदाबाट वञ्चित भएको देखा परेको छ। यसर्थ सहकारीबाट सर्वसाधारण सबै समान रूपमा लाभान्वित होउन् भन्ने उद्देश्यले सरकार र सम्बद्ध सबै पक्ष यसप्रति समयमै सचेत हुनुपर्ने देखिएको छ ।
सहकारीबाट स्वदेशमै रोजगारीको सिर्जना हुने भएकाले यो आत्मनिर्भरता र विकासको प्रमुख माध्यम बन्न सक्छ । यो उद्यमशील संस्था भएकाले यसअन्तर्गत धेरै उद्यमशील र सिर्जनशील प्रकृतिका कार्य समाविष्ट छन् । सहकारी नीति, २०७४ मा उल्लेख गरिएअनुसार यसका उद्यमशीलताका क्षेत्र कृषि, पशुपालन, वन, वातावरण, विद्यालय, स्वास्थ्य, पर्यटन, सञ्चार तथा प्रविधि, वित्तीय सेवा, यातायात, जग्गा तथा आवास, ऊर्जा, बिमा, जडीबुटी आदि हुन् । अपार जलस्रोत एवम् उर्वरा भूमिले सम्पन्न र अनुपम प्राकृतिक सौन्दर्यले परिपूर्ण नेपालको जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा सहकारी सञ्चालनका सम्भाव्य अन्य क्षेत्र पनि पर्याप्त रहेका छन् । सहकारीका माध्यमबाट यिनको व्यवस्थापन गर्ने हो भने स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ । स्वदेशमै रोजगारी सिर्जना गर्न सके लाखौं युवा विदेसिनुपर्ने स्थितिको अन्त्य हुन्छ । सिर्जनशील युवाको सक्रिय सहभागितामा स्वदेशको विकास तीव्र रूपमा अघि बढ्छ । यसबाट परनिर्भरता घट्न गई आत्मनिर्भर संस्कृतिको विकास हुन्छ र राष्ट्रिय अर्थतन्त्र पनि सुदृढ हुन्छ । सहकारीका माध्यमबाट उपर्युक्त सबै उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै नयाँ क्षेत्रलाई समेत समेटेर अघि बढ्न सके नेपाल संसारकै समुन्नत र सुखी मुलुक बन्न सक्छ ।
शब्दभण्डार
सोद्देश्य: निश्चित उद्देश्यका साथ
समन्वय: एकभन्दा बढी कुराको मेल
उदात्त: महान्
उपादेयता: उपयोगिता
स्वावलम्बी: आत्मनिर्भर
स्वायत्तता: स्वाधीनता
बोनस: लाभांश
आधिपत्य: अधिकार
उर्वरा: धेरै उब्जनी हुने, उब्जाउ
अनुपम: अतुलनीय
