हामीलाई बोलाउँछन् हिमचुली कविता पाठ पढ्नुहोस् ।
पाठ ७: हामीलाई बोलाउँछन् हिमचुली
(माधवप्रसाद घिमिरे)
हामीलाई बोलाउँछन् हिमचुली राम्रा
उकालीमा उचालिन्छन् हल्का पाइला हाम्रा ।
उकालीको चिसो पानी अँजुलीले खाउँला
देउरालीको बिसौनीमा सुसेलीले गाउँला
वनभित्र ढुङ्गामाथि गाउलिन् गोठालिनी
गाईलाई बोलाउलिन् लाला, ओदी, निनी !
उनी सोध्लिन् हामीलाई कहाँ जाने दाइ
भन्नुपर्ला हिमालको बुटी खोज्नलाई
डोरेटामा कस्तूरीले तिरिन च्यापी हेर्लान्
पातपातै चरा नाच्ने पातलले घेर्लान् ।
टाकुरामा कुहिराको दौडादौडी होला
लेकदेखि इन्द्रनीले वनवेंसी छोला
भेडा चर्लान् निगालाको टुप्पा हिलाएर
चम्री चर्लान् चमरको झुपा झुलाएर ।
मग मग बुकी फूलको वासनाले ढाक्ला
उत्तरमा झुक्ने धुपी उत्तरैमा डाक्ला
नागियुमा उक्लियौंला नेटो काटी आफैं
जहाँबाट प्वाँख खोल्छ नउरङ्गे डाँफे ।
हाम्रो होला राती राती ओडारमा वास
जहाँबाट फुटी आउँछ कस्तूरीको वास
भेट हुने छैनन् अव मान्छे कोही पनि
खालि वज्ला पहरामा छहराको ध्वनि ।
छङ्गाछुर भिरैभिर तलतिर होला
हावा आफैँ हराएर खगरमा होला
हामी खाउँला सामलतुमल झारझुर पारी
एकै बाजि फर्की हेरी जाउँला माया मारी ।
हिउ बगी बगी हाम्रो बाटो रोकिदेला
विष लागी लागी सारा सास रोकिदेला
अघि बढौँ पाइलैपिच्छे मुटु हाम्रो हान्छ
पछि फकूँ यतिन्जेलको दुःखै खेर जान्छ ।
कल्ले आई हेर्छ हिउँमा पाइलाको छाप
के हिँडेछौँ नगरेर आफ्नो नापजाप
जो उठायौँ पाइला यो सो उठाइहाल्यौं
ज्यान जोखिमको वाजी थाप्नु थापिहाल्यौं ।
मर्नैपर्छ भने पनि पर पुगी मरौं ।
नझुक्ने यो हिमालमा किन झुकी मरौं
जति चढ्यो उति बाँकी हिमचुली शिखर
नदेखेको कुरा हेर्ने हामीलाई रहर ।
शब्दभण्डार (पाठ ७ को तलको शब्दार्थहरू)
शब्द अर्थ
तिरिन घाँस, पराल आदिको थोरै अंश
डोरेटो एक दुई जना मात्र हिँड्न हुने सानो बाटो
निनी गाईका ससाना बाछाबाछीलाई प्यारो गरेर भनिने शब्द
पातल सधैं हराभरा भइरहने लेकको सेपिलो एवम् घना जङ्गल
बुकी हिमाली भेगमा पाइने झारविशेष
नागियु देउराली
छङ्गाछुर ज्यादै अग्लो र विकट खालको भिर वा पहरो
खगर वर्षभरिमा नौ महिना हिउँले ढाकिने ठाउँ
सामलतुमल अन्न आदि खाने कुरा
चौँरी गाई चर्ने ठाउँ चौँरी गाईहरू चर्ने हिमाली खर्क क्षेत्र
ध्वनि आवाज
