घनघस्याको उकालो काट्ता नियात्रा पाठ पढ्नुहोस् ।
पाठ ३ : घनघस्याको उकालो काट्ता (नियात्रा)
– तारानाथ शर्मा
विक्रम संवत् २०२४ पुसको अन्तिम हप्तामा म महाकाली अञ्चलमा थिएँ । मेरो जन्म मेची अञ्चलमा भएको थियो। म सुदूरपूर्वको इलामे शरीर बोकेर सुदूरपश्चिमको बैतडीबाट डॅडेलधुरातर्फ हिँडेको थिएँ ।
म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेको राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु । म खप्तडमा वसन्त बिताउन चाहन्छु, तुम्लिङमा हिउँ खेल्न चाहन्छु र राजापुरको काँसे घारीमा भ्याउरे गाउन चाहन्छु । मलाई तिल्केनीको उकालो, घनघस्याको उकालो र चन्दनीको उकालोसित जति प्रेम छ उति नै प्रेम अघोरी गाड, पुवा खोला र टुकुचासित छ । सतबाँझको लेक होस् वा ट्याम्के डाँडो होस्, अन्तु डाँडो होस् वा चन्द्रागिरि होस् जहाँ पनि उस्तै पाराको आफ्नोपनले मेरो मुटु ढुक्ढुक्याउँछ ।
जीवनमा कति उकाला काटियो होला र कति ओराला झरियो होला तर थोरै व्यक्तिले मात्र घनघस्याको उकालो चढेका होलान् । यो यस्तो उकालो हो जो कठोरतामा अद्वितीय छ । अघोरी गाडदेखि उकालिन थालेको यो डाँडो सहारा मरुभूमिको तिर्खालाई विर्साउँछु भने झै तपाईंतिर हेरेर खिस्स हाँस्छ । संसारले अनेकौँ काँचुली फेरिसक्यो, देशका अरू भागले हजारौं नयाँ दृश्य देखिसके तर यो उकालो अनन्तदेखि उस्तै छ । युगहरू विते र समयले टाप लगायो तर घनघस्याको उकालो उत्तिकै घोसेमुन्टो लगाएको लगाएकै छ ।
टाउकामा चिप्लो न चिप्लो बरफको केश फुलाएर आफ्नो अररो वृद्ध शरीरमा काला रुखहरूको जिग्रिडे भुत्ला ठड्याई यो घनघस्या गजधुम्म परेर बसेको छ। यो मान्छेसित रिसाएको छ, अग्घोरै रिसाएको छ, अघोरी गाड जत्तिकै रिसाएको छ अनि पोखरेली सेती जत्तिकै रिसाएको छ। सेती नदी पृथ्वीको पेटमा भासिदै जाओस्, यो चाहिं ठडिएको ठडियै छ। यसले कहिल्यै त टाउको झुकाउला कि भनेर मैले निरीक्षण गरिहेरें तर त्यस्तो लक्षण कतै भेटिएन । उल्टो यो झन् झन् दृढ हुँदै गइरहेको पो मैले पाएँ ।
प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ । बैतडीको शाहीलेकमा अवस्थित विद्यालय भवनमा दुई रात बसेपछि डॅडेलधुरा जान तम्सिँदा भरिया पाइएन । नौ बजे भात खाएर हिँड्न तयार भएका हामी चार जना व्यक्ति साढे दश बजेसम्म वाल्ल परेर दुई भरियाको खोजोमा यता र उता दुगुर्दे नै थियौं ।
झट्ट मलाई सहायक अञ्चलाधीशको सम्झना भयो। हामी दुगुर्दे सहायक अञ्चलाधीशलाई भेट्न माथि बैतडी बजारतर्फ गयौं । सहायक अञ्चलाधीश यमुनाराज पौड्यालज्यूले तत्कालै दुई जना मानिसको बोलाएर सत्र सत्र रुपियाँमा पाटनसम्म भारी बोक्न मिलाइदिनुभयो । ११ बजे हामी दशरथ चन्दको सालिकलाई श्रद्धाका दुई थोपा आँसु चढाएर सतवाँझको लेकतर्फ उकालियौं ।
वाटामा एउटा रमणीय ठाउँ भेटियो। देब्रेपट्टि पर्खालले घेरेको ढिस्कामा राम्रो मन्दिर थियो, जसको छानाको मर्मत हुँदै थियो। पर्खालबाहिर फलामे सालीको अग्लो पिङ थियो। त्यसमा मच्चिएर मैले उत्तर पश्चिमतिरका हिमचुचुरा देखें। सात आठ पसल थिए, जसका वरिपरि भेडाका बथान नुन र चामलका बोरा बोकेर उग्राइरहेका थिए । ठाउँ ठाउँका बारी थिए, वन थिए र चरनहरू थिए । गाई चराउँदै गोठाला गोठाल्नी विरहलाग्दो गीत कुर्लिरहेका भेटिन्थे । आउने जाने मान्छेका समूह पनि प्रशस्तै देखिन्थे । धेरैमाथि पुगेपछि हिउँले ढाकेको पाखो देखियो ।
नेपाल हिमाली मुलुक हो तापनि धेरैजसो नेपालीले हिउँ कुल्चन पाएका हुँदैनन् । मैले २००१ सालको विशाल हिउँ वर्षा हुँदा फक्कलमा हिउँमा खेल्नवाहेक र दार्जिलिङमा एक दुई पटक हिउँ फुस्फुसाएको देखेबाहेक हिउँको राम्रो परिचय बेलायतमा मात्र पाएको थिएँ। बेलायतती हिउँभन्दा सतबाँझका लेकको हिउँ बेग्लै थियो। यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।
मेरा साथी प्रेमवहादुर प्रधान र म यस हिउँमा निकै वेरसम्म खेल्यौं । कहिले चिप्ली खेल्दै कहिले हिउँका डल्लाले एक अर्कालाई हिर्काउँदै र कहिले हिउँका रमाइला थुप्रामा आकृति बनाउँदै र लेख्दै हामीले सतबाँझमा समयलाई जिस्क्यायौं । डाँडामा पुगेर पूर्वतर्फ दृष्टिपात गरेपछि पो हामीलाई थाहा भयो, हामीले सतबाँझलाई छोडेर धेरै टाढा जानु रहेछ। जीवन एउटा नटुङ्गिदो यात्रा रहेछ । जतिसुकै प्यारो लागे पनि सतबाँझ जस्ता रमणीय स्थानलाई छाड्नुपर्दो रहेछ । ओरालो झरेर तेसैतेर्सो बाटो हामी हिंँडिरह्यौं, हिंँडिरह्यौँ ।
सल्लैसल्लाको घारीको मध्य भागबाट हिँडेपछि एउटा चौतारो आइपुग्यो। झमक्क साँझ परिसकेकाले तल जङ्गलमुनिको टार अलेलि मात्र देखिन्थे । पहाडबाट झर्दा मधेस पुग्ने वेलाको दृश्य थियो त्यो । वास नपाइएला भनेर भरियाहरू र दुई साथीलाई त्यहीँ छाडी प्रधान र म ओरालो दुगुऔं वासको व्यवस्था गर्न । फेदीमा जङ्गल सकिएपछि रमाइलो विशाल चउर आइपुग्यो । त्यसै चउरलाई पाटन भन्दा रहेछन् । फट्याकफुटुक घरहरू देखा परे । बाटामा घरेलु विभागका एक कर्मचारीसँग भेट भयो । कास्कीतिरका ती व्यक्तिले अरूतिर बस्ने ठाउँ पाइँदैन भनेर आफ्नै डेरातिर लगे । डेरामा काठमाडौँ घर भएका दाह्री नै दाह्रीले ढाकिएका स्वास्थ्य केन्द्रका कर्मचारी पनि रहेछन् । ती दुई दयालु सज्जनका पाहुना भएर हामी उनीहरूकै दालभात खाई त्यस रात राम्ररी सुत्यौं ।
भोलिपल्ट ती भरियाहरू डॅडेलधुरा जान मानेनन् । सहायक अञ्चलाधीशले पाटनका प्रधानपञ्चलाई भरिया बन्दोबस्त गर्न लगाउनुहोला भनेकाले खोज्दा खोज्दा साढे एघार बजेतिर मात्र प्रधानपञ्चसित भेट भयो । उनले दुई जना भरिया खोजिदिए तर त्यतिन्जेलमा दिउँसोको १२ बजिसकेको थियो । घरेलु विभागका कर्मचारीले भोलि मात्रै जानोस्, आज मरे पनि डॅडेलधुरा पुगिदैन भनेर जिद्दी गरे पनि हामी १२ वजे पाटनबाट हिँड्यौँ ।
ठिक दुई बज्दा त्यस दिन हामी तेसैतेर्सो हिँडेर अघोरी गाड पुगेका थियौँ। अघोरी गाडमाथि अग्लो पारेर तेर्स्याएको फलेकको साँघु तरेर हामीले टोपी खस्ने उकालामा पाइला राख्यौं । डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी वाटाले मुटु ढक्क फुल्यो । यही थियो घनघस्याको विकट उकालो ।
मेरो शरीर अलिक मोटो भएकाले उकालो देख्नेबित्तिकै सातोपुत्लो उड्छ । तेर्सो र ओरालो बाटामा म निकै छिटो हिँड्न सक्छु तर उकालो भने मेरा लागि जेमराज जत्तिकै भयावह हुन्छ । म विवश थिएँ । मैले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदयी व्यक्तिहरूले दिएका दुई लाँक्रा उखु पहिले टेक्तै र पछि चबाउँदै हामी एकोहोरो उकालिइऱ्ह्यौँ, उकालिइऱ्ह्यौँ ।
जोगबनीदेखि धरानसम्मको अलकत्रे बाटालाई धिक्कार्दै र भादगाउँदेखि बाह्रविसेसम्मको फराकिलो कालो वाटालाई सराप्तै हामी ठसठस कनिऱ्ह्यौँ । सिंहदरबार अगाडिको चिप्लो बाटो त्यहाँ थिएन, न त्यहाँ भैरहवाबाट बुटवल जाँदा जस्तो तेर्सो सोझो बाटो नै थियो । त्यहाँ त चुच्चे ढुङ्गाहरू पहरामा तेर्सिएका थिए काला रुखका छायामा कच्पल्टिएर । पसिनाले निथुक्क भिजेर हामी छ जना अभागी आकाशतर्फ उचालिइरह्यौँ, उचाइलिइरह्यौँ ।
निल आर्मस्ट्रङहरूलाई त्यति फिटफिटी परेन होला किनभने चन्द्रमामा पुग्दा उनीहरूसित यथेष्ट वैज्ञानिक उपकरण उपलब्ध थिए । हामी भने पानीसमेत नपाएर रोयौँ । निकै माथि पुगेपछि दुइटा पानीका कुला भेटिँदा स्वर्ग पुगेको अनुभव भयो। मरुभूमिका यात्रीले एक्कासि मरुद्यान भेटे झै हामी फुलेल भयौँ । त्यत्ति हो, अरू पानी कतै भेटिएन । धेरै धेरै माथि हिउँ प्रारम्भ हुने ठाउँमा पो एउटा असाध्यै चिसो धारो रहेछ । बाटामा एक दुई ठाउँ घर भेटिए तर तिनमा मान्छे थिएनन् । धुरामा पुग्ने वेला तीन माइल जति बाटो जमिसकेको हिउँले ढाकिएको थियो ।
चिसो धारामा पानी खाएपछि दुई भरिया लागे हिउँ नै हिउँको पहरातिर । म पनि तिनको पछि लागें । चिप्ला हिउँका ढुङ्गा खाली खुट्टाले टेक्दै रामसिंह भरिया र उसको भतिजो उकालिए । म तिनको सहनशीलता देखेर मक्ख पर्दै ठाउँ ठाउँमा चिप्लेर लड्दै तिनीहरूसित धुरातर्फ चढें । रामसिंह, उसको भतिजो र म टुप्पामा पुग्दा पाँच बजेको थियो। अरू साथीहरूको पत्तो थिएन । पूर्वपट्टि डॅडेलधुरा कुइरामा कता हो कता चन्द्रमा जस्तै टाढा भएर बिलाएको थियो । उँधोतिर कहालीलाग्दो कालो जङ्गल थियो, जसलाई छिचोलेर एउटा खोलो तरेर एउटा उकालो चढेपछि मात्र डॅडेलधुरा पुग्न सकिन्थे ।
डरलाग्दा चितुवा र भालु लाग्ने पट्टेर जङ्गललाई सेतै ढाकेको हिउँमा खाली खुट्टाका औंलाले मान्छेको आकृति कोरेर रामसिंहले भन्यो, “आज डडेलधुरा पुग्न सकिदैन, पोखरातिर राती १२ बजेतिर सम्ममा पुगिएला ।”
“पोखरा पनि पुगिदैन । तल कतै रित्तो गोठ पाइएछ भने त्यहाँ रात काट्नुपर्छ ।” भतिजो चाहिँले हिउँका डल्लाले छेवैको रुखलाई हिर्काउँदै भन्यो ।
म चाहिँ साथीहरू हिउँमा हराए कि भनेर विचलित भएर कराएँ, “प्रेमबहादुर भाइ ।”
प्रत्युत्तरमा हावा मात्र सुइयय गर्यो ।
“जाऊँ त कसरी जाऊँ, बसूँ त जाडाले सिध्याइसक्यो !” भन्दै मैले हिउँको ढिस्को थुपारें ।
बल्ल साढे पाँचतिर साथीहरूले जवाफ दिए तल भिरतिरबाट, “हामीले बाटो हरायौँ !” हाम्रा आवाजलाई पछ्याउँदै साथीहरू डाँडामा निस्किसकेपछि मैले भनें, “आज डडेलधुरा त कुनै अवस्थामा पनि पुग्न सकिँदैन रे। रामसिंह पोखरासम्म पुगिहालिन्छ कि भन्छ भने उसको भतिजो चाहिँ तल गोठनिर अलपत्रै सुत्ने कुरो गर्छ । त्यसैले छिटो हिँड्न नसक्ने साथी चाहिँ दुई जना भरियासित विस्तारै आउनुहोस् । हामी तीन जना चाहिँ दुगुर्दे पोखरा जान्छौँ अनि वासगाँसको व्यवस्था मिलाउँछौँ । जस्तै अवस्थामा पनि र जति रात परे पनि तपाईंहरू अवश्य आइपुग्नुहोला ।”
मेरो योजना सवैलाई मन परेकाले प्रेमवहादुर प्रधान, एक जना साथी र म ओरालो कुद्यौँ। लड्दै पछारिंदै धेरै हिँडेपछि बाटो तेर्सियो र फेरि उकालियो। अनेकौँ ओराला र उकाला बाटा हिँड्दाहिँड्दै अँध्याराले झ्याप्पै छोप्यो । चोर, डाँका, भूत, प्रेत र जङ्गली जनावरका आक्रमणको आशङ्काले ढक्क भएको छातीलाई दुई हातले थिचेर हामी तीन जना एक प्राण र एक मुटु भएर दगुरिरह्यौँ ।
हामी यति पछारियौँ, भनेर साध्य छैन । हामीलाई यति तिर्खा लाग्यो, भनेर साध्य छैन । भोक, डर र बाटो विरियो होला भन्ने आशङ्काले थुर्थंर हुँदै दश बजे रातीतिर एउटा डाँडामाथिको गाउँमा हामी पस्यौँ। निकै घरमा बोलाएपछि एउटाबाट थाहा पाइयो, बाटो विरिएको रहेनछ। अनेकौँ घरमा प्रयत्न गरेपछि एउटा छाप्राकी खड्किनी मकै भुट्न तयार भइन् । लोग्ने परदेश लागेको रहेछ । तल्लो तलामा गाई बाखा थिए र माथ्लामा ससाना भन्ट्याङभुन्टुङ छोराछोरी यत्रतत्र पसारिइरहेका थिए ।
दियालाको छेस्को वत्ती जस्तै वालेर ती आइमाईले अँगेनामा विट नभएको ताप्के जस्तो भाँडामा कुचाले चलाएर तीन घान मकै भुटिदिइन् । पैसा पहिले दिएपछि मात्र उनले मकै हाम्रा रुमालमा हालिदिइन् । प्रशस्त पानी लोहोटाबाट खाएर त्यो अमृत जस्तै मकै खाँदै हामी पोखरातिर लाग्यौँ । खड्किनीले भनेकी थिई, “वाटामी गाड पडन्छ ।”
साँच्चि नै बाटामा एउटा खोलो रहेछ । त्यहाँ मन ढक्क फुल्यो । खोलो वास्तवमा मसानघाट हो किनभने मरेका मानिसलाई खोलाकै किनारमा जलाउँछन् । त्यसै हुनाले खोलो भन्ने बित्तिकै दिउँसै पनि मेरो सातोपुत्लो उड्छ भने रातीको त कुरै भएन । त्यहाँबाट केही उकालो लागेपछि नै रमाइलो डाँडो टुप्लुक्क देखापर्यो जसमा बाटामा दुवैतिर पन्ध्रसोर ढुङ्गाले छाएका घर थिए । घर सबै बन्द थिए । एक दुई घरका बाहिरपट्टि सिकुवामा मान्छे सुतिरहेका थिए ।
मैले सोधे, “पोखरा कता पर्छ ?”
“यही हो !” एउटाले ओढ्ने भित्रैबाट भन्यो ।
“दोकान सबै थुनिएका छन् नि ? यहाँ कतै पनि वास पाइँदैन कि क्या हो ?” प्रेमबहादुर प्रधानले सोध्नुभयो ।
“दोकानमा राती कोही बस्दैनन् । दिउँसो बेचबिखन गरेर बेलुका ती गाउँतिर आफ्ना घरमा सुत्न जान्छन् । बरु अलिक पर्तिर जानोस्, एउटा पसले त्यहीँ सुत्छ । त्यहीँ वास पाइन सक्छ ।” त्यस मान्छेले ओढ्ने झिकेर हामीलाई राम्ररी नियाउँदै भन्यो ।
हामी अघि बढ्यौँ । साँच्चि नै एउटा घरभित्र लालटिन बलिरहेको हामीले देख्यौँ । ढोका निकै घचघच्याएपछि एउटा बुढाले ढोका उघारी लालटिन उचालेर हामीलाई हेर्दै सोध्यो, “रातीहुँदो के चाहियो ?”
मैले घडी हेरें, रातीको १२ बजेको रहेछ ।
“हामीलाई एक रातको वास चाहियो ।” मैले भनें ।
“यहाँ वास पाइँदैन ।” बुढाले ढोका ढप्क्याउन लागे ।
“त्यसरी निठुरी बन्न तपाईं पाउनुहुन्न । हेर्नोस्, हामी टाढा पूर्ववाट आएका । वास नदिए पनि केही खानेकुरा भए दिनोस्, हामी किनेर खान्छौँ ।” प्रधानले भन्नुभयो ।
बुढासित खाने कुरो केही रहेनछ। चिउरा, मकै, चामल, आलु केही रहेनछ । ससाना सुन्तलाहरूले भरिएको एक डालो रहेछ ।
“कास्की पोखराका सुन्तला रहेछन् नि त तारा दाइ ।” अर्को साथीले व्यङ्ग्य गर्नुभयो ।
हामीले दुई दुई रुपियाँका तिस तिस दाना जति ती चिचिले सुन्तला खायौँ । बुढाले कति गर्दा पनि त्यहाँ वास दिन मानेनन् । उसकै घरअगाडिको चिसो छानु ह्वाङ्गै भएको र फोहोरी कटेरो उनले देखाए । तिनैसँग दुई रुपियाँका तीन अंगाला दाउरा किनेर हामी आगो ताप्दै साथीलाई पर्खन लाग्यौँ ।
राती दुई बजे सास मात्र वाँकी राखेर भरियाहरू र साथी आइपुगे । रामसिंह र उनको भतिजो आगाको छेउमा पातलो तन्ना ओछ्याएर र हामी चार भाइ आआफ्ना सुत्ने थैलाभित्र पसी चिसो न चिसो ढुङ्गाको सिरानी लगाएर भोलि रमाइलो डॅडेलधुरा पुग्ने स्वादिलो कल्पना गर्दै साढे दुई बजेतिर कच्पल्टिलो निद्रा सुत्यौँ ।
शब्दभण्डार / शब्दार्थ (पाठ ३)
- सुदूर: धेरै टाढाको
- स्नेह: माया, प्रेम
- सँगाल्नु: कुनै कुरा जोगाएर वा बटुलेर राख्नु
- अद्वितीय: उत्तम, अतुलनीय
- सहारा मरुभूमि: संसारको एउटा ठुलो मरुभूमि (अफ्रिकामा रहेको)
- दृष्टिपात: हेर्ने काम, आँखाले ठम्याउने काम
- काँचुली: शरीरबाट अलग हुने सर्पको पातलो छाला
- अनन्त: कहिल्यै अन्त नहुने
- गाड: खोलो वा नदी (स्थानीय भाषामा)
- ढुङ्ग्यानी: ढुङ्गाढुङ्ग भएको बाटो
- विकट: अप्ठेरो, कठिन
- यथेष्ट: पर्याप्त, चाहिँदो, पुग्दो
- भयावह: डरलाग्दो / भय उत्पन्न गराउने
- विरहलाग्दो: दुःखद वा खिन्न बनाउने
- मरुद्यान: मरुभूमिभित्र पानी र हरियाली भएको ठाउँ
- यत्रतत्र: जताततै / यहाँ त्यहाँ
- अररो: कडा / हलचल नगर्ने
- अग्घोर: अत्यधिक / साह्रै धेरै
- उग्राउनु: खाएको कुरा फेरि मुखमा ल्याएर चबाउनु
- चरन: पशुहरू चरने ठाउँ
- कुर्लनु: चरा वा गोठालाहरूले ठुलो स्वरले चिच्याउनु वा गाउनु
- आकृति: रूप, ढाँचा वा बनोट
सहृदय: दयालु वा असल हृदय भएको
