अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवाद पाठ पढ्नुहोस् ।
पाठ ६
शीर्षक: अधिकार ठुलो कि कर्तव्य ठुलो ?
(विधा: वादविवाद)
लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लास्थित श्री राष्ट्रिय मावि बरकुलपुरमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिता आयोजना गरिएको छ । कार्यक्रम विद्यालयका प्रधानाध्यापक रमेश कुर्मीको अध्यक्षतामा हुँदै छ । कार्यक्रमका प्रमुख अतिथिको भूमिकामा बुद्धभूमि नगरपालिका प्रमुख रहनुभएको छ भने अभिभावक सङ्घका अध्यक्ष केशरी खरेलले अतिथिको आसनग्रहण गर्नुभएको छ । विद्यालयका शिक्षक तथा कर्मचारी मञ्चमा बसिसक्नुभएको छ । विभिन्न विद्यालयबाट प्रतिस्पर्धाका लागि छनोट भई आएका विद्यार्थी पनि बसिसकेका छन् । शिक्षक रामअबोध राय, हरिकला खनाल र सुमन परियारले निर्णायक मण्डलका रूपमा आसनग्रहण गरिसक्नुभएको छ । समयपालकको भूमिकामा १० कक्षाकी छात्रा सामना पन्थी र उद्घोषकको भूमिकामा सोही कक्षाकी छात्रा रमा पन्जियार छन् ।
(उद्घोषक मञ्चतर्फ जान्छन् ।)
उद्घोषक: यस कार्यक्रमका सभाध्यक्ष्यज्यू, प्रमुख अतिथिज्यू, अन्य अतिथिज्यू, प्रतिस्पर्धी तथा सम्पूर्ण विद्यार्थी मित्रहरू ! आजको वादविवाद प्रतियोगिताको विषय रहेको छ ‘अधिकार ठुलो कि कर्तव्य ठुलो ?’ । ‘कर्तव्य ठुलो’ भन्ने विषय वादविवादको पक्ष रहने छ भने ‘अधिकार ठुलो’ भन्ने विषय विपक्ष रहने छ । सहभागी वक्ताले आआफ्ना मन्तव्यका क्रममा पालना गर्नुपर्ने केही नियम छन् । सभाध्यक्ष्यको अनुमतिमा तिनलाई क्रमशः यहाँ प्रस्तुत गर्छु ।
(क) प्रत्येक वक्ताका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ । चार मिनेटमा जनाउ घन्टी बज्ने छ र पाँच मिनेटमा अन्तिम घन्टी बज्ने छ । अन्तिम घन्टीपछि वक्ताको समय समाप्त हुने छ ।
(ख) कुनै जाति, वर्ग, धर्म, समुदाय, क्षेत्र, लिङ्ग, अपाङ्गताप्रति भेदभाव हुने र आक्षेप लगाउने खालका विचार व्यक्त गर्न पाइने छैन ।
(ग) विपक्षका भनाइ खण्डन गर्दा आआफ्ना तर्क संयमित र शिष्ट ढङ्गले राख्नुपर्ने छ ।
(घ) वक्ताले कुनै लिखित टिपोट हेरेर बोल्न पाइने छैन ।
(ङ) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ ।
अब म यस वादविवाद प्रतियोगिताको विषयको पक्षमा आफ्ना तर्क राख्नका लागि चिदानन्द चौधरीलाई आमन्त्रण गर्छु ।
(चिदानन्द चौधरी मञ्चतिर जान्छन् र माइक समातेर बोल्न थाल्छन् ।)
आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निर्णयको भूमिकामा रहनुभएका निर्णायक मण्डल, गुरु, गुरुमा तथा मेरा प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू ! म जनज्योति माध्यमिक विद्यालय, चन्द्रौटाको १० कक्षाको विद्यार्थी चिदानन्द चौधरी विषयको पक्ष अर्थात् कर्तव्य ठुलो भन्ने विषयमा आफ्ना तर्क प्रस्तुत गर्दै छु ।
सभाध्यक्ष महोदय ! कर्तव्य शब्दले गर्नुपर्ने काम, गर्न लायक राम्रो आचरण वा क्रियाकलाप आदिलाई बुझाउँछ । कानुनी सन्दर्भमा कर्तव्य शब्दले विभिन्न प्रक्रिया वा कार्यलाई जनाउँछ । त्यसैले व्यक्ति स्वयम्ले गर्नुपर्ने असल कार्य भन्ने अर्थमा प्रयुक्त हुने कर्तव्यलाई अधिकारभन्दा ठुलो र महान् ठानेको छु ।
कर्तव्य अधिकारभन्दा महान् छ । हाम्रा पूर्वीय ग्रन्थमा कर्तव्यका बारेमा व्यक्त भएका गहन विचारले समेत यस कुरालाई पुष्टि गर्छन् । नीतिश्लोकमा भनिएको छ, “न्यायगतेन द्रव्येण कर्तव्यम् पारलौकिकम्” अर्थात् न्यायपूर्ण रूपमा आर्जन गरेको धनबाट पारलौकिक कर्तव्य गर्नुपर्छ । हेर्नुहोस् त, कर्तव्यबारे कति सारगर्भित कुरा छ यस कथनमा ! द्रव्य वा धन न्यायिक तरिका वा कानुनी तरिकाले आर्जन गर्नुपर्छ र त्यसरी आर्जन गरेको धनले नै असल कर्म गर्नुपर्छ । गैरकानुनी क्रियाकलापबाट आर्जन गरेको सम्पत्ति खर्चेर आर्जन गरेको धर्मको त फल पनि प्राप्त नहुने रहेछ । यसबाट कर्तव्यको पवित्रता र पावनताको महानता प्रस्ट हुँदैन र ? सबै उपनिषद्को सार मानिने गीतामा भनिएको छ, “कर्मण्येवाऽधिकारास्ते…” अर्थात् आफ्ना हातमा कर्तव्य गर्ने जुन अधिकार छ त्यसलाई इमानदारीपूर्वक पूरा गर्नुपर्छ । कर्तव्यप्रतिको निष्ठा, भक्ति वा उपासनाको सर्वोच्च रूप हो भन्ने विवेकानन्द कर्तव्यलाई नै पूजा मान्छन् ।
त्यस्तै पाश्चात्य चिन्तकले पनि कर्तव्यको महानतालाई उद्घाटित गरेका छन् । एउटा कर्तव्यको इनामबाट अर्को कर्तव्य पूरा गर्ने शक्ति प्राप्त हुन्छ भन्ने जर्ज इलियटका कथनअनुसार कर्तव्य पालन गर्दै जाँदा अरू पनि कर्तव्य गर्ने ऊर्जाले मानिसलाई थप उत्प्रेरित गर्छ र त्यसतर्फ दौडिन ऊर्जा भर्छ । साँचो अर्थमा भन्ने हो भने कर्तव्यले नै मानिसलाई जीवनवादी बन्न, मनमा सकारात्मक सोच पैदा गर्न उत्प्रेरित गर्छ । जब म सुतें अनि सपनामा जीवन सुन्दर छ भन्ने देखें, जब म ब्युझै तब मैले जीवन कर्तव्य हो भनी बुझै भन्ने लर्ड वायरनको कथन पनि यहाँ स्मरणीय छ । खुसी कर्तव्यको प्राकृतिक फूल हो भन्ने फिलिप्स रुब्सको कथनअनुसार कर्तव्य खुसीको फूल जस्तै हुँदोरहेछ भन्ने पुष्टि हुन्छ । कर्तव्य वेवास्ता गरेमा सधैं असफल भइन्छ भन्ने रोबर्ट बाडेन र कर्तव्य पालन गर्दा सधैं सफलताको अनुभूति हुन्छ भन्ने पावेलले समेत कर्तव्यको महानताको साक्ष्य प्रस्तुत गरेका छन् । यी महान् व्यक्तिका कथन आआफ्नो सङ्घर्षपूर्ण जीवन भोगाइका क्रममा अनुभव गरेका कुरा हुन् । यस्ता महान् कथनभित्र कर्तव्य के हो र त्यो कत्तिको गहन छ भन्ने स्वतः पुष्टि हुन्छ ।
अँ, अर्को कुरा कर्तव्य पालन गर्दा हरेक व्यक्ति जो जुन ठाउँमा छ त्यहीँ विन्दुबाट गर्न सकिन्छ । कर्तव्य पालन पद वा ओहदामा रहेर वा नरहेर पनि गर्न सकिन्छ । राष्ट्रप्रतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता कतिपय मौलिक कर्तव्य हुन्छन् । संसारका कैयौँ आदर्श व्यक्ति आआफ्नो ठाउँमा रहेर नै कर्तव्य पालनको अग्निपरीक्षामा खारिएर खरो उत्रेका र महान् बनेका अनेकौँ दृष्टान्त पाइन्छन् । तपाईं हामी सबैलाई थाहा भएकै कुरो हो, पिताप्रतिको कर्तव्य पालनका सन्दर्भमा जब राम वनवास जान तयार भए र गए, उनी मर्यादा पुरुषोत्तम बने र भगवान्का रूपमा पुजिए । सुकरातले पनि सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणका लागि हेमलक जस्तो विष पिउनुपर्यो । संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजसम्बन्धी कर्तव्य निर्वाह गर्दा गौतम बुद्ध पारिवारिक माया र मोहको घेरा नाघेर भिक्षु बने । यी सारा व्यक्तिको महानता कर्तव्यकै आलोकमा प्रज्वलित भएको तथ्य प्रस्ट हुन्छ ।
ससाना कार्यबाट प्राप्त हुने ठुलठुला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्ना कर्तव्यका दायरा छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । ससाना कुरा मात्र हेरौं न ! नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले झरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्कँदा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सेवाग्राहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ । यसरी एकअर्काले आआफ्नो स्थानबाट कर्तव्य निर्वाह गर्दा समाज सभ्य र व्यवस्थित हुन्छ । त्यसैले कर्तव्य पालन अधिकारप्राप्तिको लक्ष्यभन्दा विशिष्ट छ ।
(जनाउ घन्टी बज्छ ।)
अन्त्यमा म भन्छु, अधिकारभन्दा कर्तव्य नै ठुलो हो । कर्तव्यको कसीमा घोटिँदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षण हुन्छ । अधिकारको कुराले मात्र चिउरा भिज्दैन, चिउरा भिजाउन कर्तव्यकै रस जरुरी हुन्छ । खुसीको अजस्र स्रोत कर्तव्य भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो भन्दै आफ्ना भनाइ यहीँ बिसाउँछु, धन्यवाद ।
उद्घोषक: अब म विषयको विपक्ष अर्थात् अधिकार ठुलो हो भन्ने विषयमा आफ्ना तर्क प्रस्तुत गर्न भरत भण्डारीलाई आमन्त्रण गर्छु ।
(भरत भण्डारी मञ्चमा जान्छन् ।)
यस समारोहका श्रद्धेय सभाध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि एवम् नगर प्रमुखज्यू, अतिथिगण, निष्पक्ष निर्णायक मण्डल, सम्पूर्ण विद्यार्थी मित्रहरू ! गौतमबुद्ध मावि गोरुसिङ्गेको १० कक्षाको विद्यार्थी म भरत भण्डारी कर्तव्यभन्दा अधिकार ठुलो भन्ने विषयमा आफ्ना तर्क पेस गर्छ( ।
कर्तव्यभन्दा अधिकार नै ठुलो हो । सर्वप्रथम म अधिकार भनेको के हो ? भन्ने प्रश्नमा केन्द्रित हुँदै आफ्ना भनाइ प्रस्तुत गर्छु । कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्य, न्यायोचित दावी, स्वत्व वा हकलाई अधिकार भनिन्छ । मानिसको अधिकारका बारेमा थुप्रै महान् व्यक्तिले आआफ्ना विचार अगि सारेका छन् । वास्तवमा मान्छेले प्राप्त गर्नुपर्ने नैसर्गिक हक नै मानव जातिले प्राप्त गर्नुपर्ने अधिकार हुन् । ती स्वाभाविक रूपमा कर्तव्यभन्दा महान् हुन्छन् ।
मानिसले पाउनुपर्ने मानवीय अधिकार नै सबैभन्दा ठुलो कुरा हो । यो अधिकार मान्छेको स्वतन्त्रता र न्यायसँग एउटै सिक्काको दुई पाटा गाँसिएर रहेको हुन्छ । समाजका सबै वर्ग र समुदायका मानिसले न्यायको अनुभव गर्नुपर्छ र समान अधिकार पाउनुपर्छ । विश्वेश्वरप्रसाद कोइराला भन्छन्, “राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन ।” यसबाट मानिसका लागि अधिकार नै ठुलो हो भन्ने पुष्टि हुन्छ । नेल्सन मन्डेला अधिकार र स्वतन्त्रताका लागि २७ वर्षसम्म कठोर काराबास किन बसे ? अधिकार प्राप्तिका लागि सफलता पैसाले होइन स्वतन्त्रताले मात्र मिल्छ भन्ने नेल्सन मन्डेलाको विचार छ । स्वतन्त्रतालाई आत्माको अक्सिजन मान्ने मोसे डायन होउन् वा मानिसका आवश्यकता पूरा गर्न चाहिने शक्तिलाई अधिकार मान्ने गार्नर होउन् यी सबैका भनाइले मानिसका न्यूनतम आवश्यकता पूरा गर्न अधिकार नै चाहिन्छ भन्ने पुष्टि गर्छन् ।
अधिकार प्राप्तिका लागि हाम्रै देशमा जनताले पटक पटक आन्दोलन गरेका कुरा हाम्रासामु छर्लङ्गै छ । राणा शासनद्वारा कुण्ठित गरिएका जनताका हक र अधिकार पाउन नेपालमा दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले मृत्युदण्ड भोगे तर स्वतन्त्रता र अधिकारका विरुद्ध सम्झौता गरेनन् । वि.सं. २००७, २०४७, २०६२/६३ मा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका सङ्घर्ष अधिकार प्राप्तिका लागि भएका होइनन् र ? के त्यो सङ्घर्ष लहडमा गरिएको थियो त ? निजी लाभका लागि गरिएको थियो त ? त्यो त मुलुक र जनताको हक तथा अधिकार प्राप्तिका लागि गरिएको त्याग थिएन र ?
सभाध्यक्ष महोदय, हामी सबैलाई थाहा छ, अधिकारको क्षेत्र व्यापक छ । यसभित्र बाल अधिकार, श्रमिक अधिकार, महिला अधिकार आदि थुप्रै अधिकारका कुरा पर्छन् । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार र बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले अधिकारका बारेमा प्रस्ट उल्लेख गरेकै छ । बालबालिकाले जन्मनासाथ शिक्षा र सुरक्षाका अधिकार पाउनुपर्छ, श्रमिकले न्यूनतम ज्याला र सामाजिक सुरक्षाको अधिकार पाउनुपर्छ । आफ्ना अधिकार प्राप्तिका लागि श्रमिकले गरेको ऐतिहासिक विद्रोहको सम्झनामा संसारभर मे १ तारिखका दिन ‘मजदुर दिवस’ मनाइन्छ । किसानलाई पनि राज्यबाट बिउबिजन र मल जस्ता वस्तुमा सहुलियत पाउने अधिकार छ । अधिकार नै नभएमा मानिसले कसरी कर्तव्य पूरा गर्न सक्छन् । त्यसैले म भन्छु, कर्तव्यभन्दा अधिकार नै ठुलो हो । अधिकारबिनाको कर्तव्य नुनबिनाको तरकारी र अमिलोबिनाको अचार जस्तै हो ।
पूर्ववक्ता मित्रले अधिकारभन्दा कर्तव्य ठुलो भनेर आफ्ना तर्क राख्नुभयो । उहाँले भन्नुभयो “कर्मण्येवाऽधिकारास्ते” अर्थात् काममा तिम्रो अधिकार छ । यहाँ कर्तव्यभन्दा अगाडि अधिकारको कुरा जोडिएर आएकाले कर्तव्यभन्दा अधिकार नै ठुलो भएन र ? तसर्थ मान्छेलाई अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिनाहतियार लडाइँमा पठाउनु जस्तै हो । खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो । हातमा हत्कडी लगाएर काम गर भन्नु जस्तै हो । तसर्थ अधिकारबिना कर्तव्य पूरा गर्न कदापि सकिँदैन ।
(जनाउ घन्टी बज्छ)
अन्त्यमा एउटा बालक जन्मनासाथ उसलाई कर्तव्यभन्दा अधिकारको हक हुन्छ । त्यसैले अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय भएकाले कर्तव्यभन्दा अधिकारको महत्ता स्वतः सिद्ध हुन्छ भन्दै आफ्नो अभिमत यहीँ टुङ्ग्याउँछु, धन्यवाद ।
उद्घोषक: अब विषयको पक्षका तर्फबाट आफ्ना तर्क प्रस्तुत गर्न पदम गुप्ताज्यूलाई आग्रह गर्छु ।
(पदम गुप्ता मञ्चतिर जान्छन् ।)
यस कार्यक्रमका श्रद्धेय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निर्णायक मण्डल, शिक्षक वर्ग, मेरा प्रतिस्पर्धी साथी र अन्य विद्यार्थी मित्रहरू ! आजको वादविवाद प्रतियोगिताको पक्षमा म श्री बुद्धपद्म माध्यमिक विद्यालय, तौलिहवामा नौ कक्षामा अध्ययनरत विद्यार्थी पदम गुप्ता पक्षका तर्फबाट आफ्ना तर्क प्रस्तुत गर्दै छु ।
अधिकारभन्दा कर्तव्य महान् छ । कर्तव्यभन्दा ठुलो अर्को कुनै वस्तु हुन सक्दैन । त्यसैले त हाम्रा धर्मग्रन्थ र उपनिषद्मा कर्तव्यको महिमा र सर्वोच्चताको चर्चा छ । हाम्रा मात्र होइन संसारका सबै धर्मग्रन्थमा कर्तव्यलाई महान् ठानिएको पाइन्छ । आफ्ना माता, पिता र गुरुप्रतिको कर्तव्यलाई पूर्वीय ग्रन्थले ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ भनेर उल्लेख गरेका छन् । माता, पिता र गुरुलाई देवता समान मान्ने कर्तव्य पालनको गहन सन्देश प्रवाह गरेका छन् । अर्को कुरा संसारमा त्यही व्यक्ति आदर्श व्यक्तिका रूपमा चिनिन्छ जो कर्तव्य पालनको कसीमा खारिएको हुन्छ ।
सभाध्यक्ष महोदय, म कर्तव्यपरायणताका केही सन्दर्भसहित अधिकारभन्दा कर्तव्य महान् हो भन्ने सन्दर्भमा आफ्ना विचार प्रस्तुत गर्छु । आफ्ना दृष्टिविहीन मातापिताको तीर्थभ्रमण गर्ने चाहनालाई पूरा गर्न श्रवणकुमारले खर्पनमा एकातिर माता र अर्कातिर पितालाई राखेर तीर्थभ्रमण गराएको कर्तव्यपरायणताको त्यो वियोगान्त कथा नसुन्ने हामी को पो हौँला र ? त्यस्तै महाभारत युद्ध सुरु हुनुभन्दा अगाडि दुर्योधनले युद्धमा विजय प्राप्तिको आशीर्वाद माग्न आफ्नी आमा गान्धारीसँग गएछन् । गान्धारीले भनिछन् “तिमी मेरा पुत्र हौ त्यसैले तिमीलाई म स्नेह दिन्छु तर विजयको आशीर्वाद चाहिँ सत्य र न्यायको पक्षमा जो छ त्यसलाई मात्र दिन्छु ।” यसरी गान्धारीले सत्य र न्यायका पक्षमा नउभिने आफ्नै छोरालाई समेत विजयको आशीर्वाद दिइनन् र सत्यप्रतिको आफ्नो कर्तव्य पूरा गरिन् । कर्तव्यबाट पलायन हुँदै गरेको हुँदा आफ्नै छोरालाई समेत समर्थन गरिनन् । भनिन्छ, जिउँदै स्वर्ग जाने वेला युधिष्ठिर र迫 उनको साथमा गएको कुकार मात्र अन्तिम विन्दुमा पुगेछन् । स्वर्गबाट युधिष्ठिरलाई लिन विमान आएछ र युधिष्ठिरलाई मात्र लाने भनिएछ । उनले आफूलाई यात्रामा साथ दिने त्यस कुकुरको साथ नछोड्ने बरु स्वर्ग नजाने बताएछन् । आफूलाई साथ दिने कुकुरप्रतिको कर्तव्य पूरा गर्दा आफूले समेत स्वर्गको परित्याग गरेको कथा हामीले सुनेकै छौं । यी सबै प्रसङ्गले कर्तव्य कति महान् छ भन्ने स्वतः पुष्टि हुन्छ ।
सभाध्यक्ष महोदय, कर्तव्यको दायरा पनि निकै फराकिलो छ र यसका अनेकौँ प्रकार छन् । कर्तव्यलाई व्यक्तिगत, पारिवारिक, सामाजिक, कानुनी गरी विविध रूपमा वर्गीकरण गर्न सकिन्छ । मूलतः कर्तव्य दुई प्रकारका हुन्छन्; नैतिक र वैधानिक कर्तव्य । नैतिक कर्तव्यको आधार व्यक्तिको नैतिक वा समाजसेवा वा मानव कल्याणका निम्ति उद्बुद्ध चेतना हो । परोपकार गर्नु नैतिक कर्तव्य हो । समाजसेवा गर्नु नैतिक कर्तव्य हो । कुनै व्यक्तिले पाटीपौवा, धारा र विद्यालय भवन बनाउँछ भने त्यो पनि नैतिक कर्तव्य हो । यी कर्तव्य पालन गर्न र गराउन कसैले बाध्य पार्दैन । यो त हृदयदेखि नै निःस्वार्थ समाजसेवा जागृत भएर गरिने कर्म हो । आफैँले इमानदारितासाथ पालना गर्नुपर्ने कुरा हो । मदर टेरेसाको समाजसेवा निःस्वार्थ कर्तव्यपरायणताको परिणाम थियो । महावीर पुनको ‘आविष्कार केन्द्र’ मात्र होइन हाम्रो समाजमा परापरापूर्वकालदेखि हालसम्म बनेका पाटीपौवा र धर्मशाला जजसले बनाएका छन् ती सबै कर्तव्य पालनको अन्तःप्रेरणाकै प्रतिफल हुन् ।
मेरा पूर्ववक्ता मित्रले चर्को स्वरमा अधिकारको वकालत गर्नुभयो । अधिकारले मात्र मानव जीवन कस्तो होला ! सुनको थालीमा बिउ रोप्दैमा बिरुवा उम्रदैन । वास्तवमा जीवनलाई अर्थपूर्ण बनाउन कर्तव्य अपरिहार्य हुन्छ । म उहाँलाई छातीमा हात राखेर मनन गर्न अपिल गर्छु । राज्यले कानुन बनाएर बाध्य पार्न सक्ने वैधानिक कर्तव्यको महत्त्व झन् ठुलो छ । यस्ता वैधानिक कर्तव्य सबै नागरिकका लागि बाध्यकारी हुन्छन् । अधिकार प्राप्तिका नाममा आफ्नो कर्तव्य कदापि भुल्नुहुँदैन । त्यसैले त कतिपय सन्दर्भमा आन्दोलनका नाममा जथाभावी बन्द र हडताल गराउँदा राज्यले हस्तक्षेप गर्छ किनभने कसैको माग पूरा गर्ने हक प्राप्त गर्ने गराउने यस्ता आन्दोलनले धेरैको हक हनन भएको हुन्छ । यस्ता आन्दोलनमा कतिपय कलिला विद्यार्थी विद्यालय जान पाउँदैनन् । श्रमिकले श्रम गरेर बाँच्न पाउँदैनन्, देशको अर्थतन्त्रलाई टेवा पुर्याउने पर्यटक देशमा भ्रमण गर्न पाउँदैनन् । एउटाले अधिकार प्रयोग गर्दा अरू कति जनाको अधिकार हनन भयो ? यसरी अधिकार प्राप्त व्यक्तिले राम्ररी कर्तव्य पालन गरेका भए यी समस्या आउने थिएनन् । यसबाट पनि अधिकारभन्दा कर्तव्य नै ठुलो रहेछ भन्ने पुष्टि हुन्छ । वैधानिक कर्तव्य पालन नगर्ने यस्ता व्यक्ति र समुदायलाई सजाय गर्न राज्यले सुरक्षा संयन्त्र परिचालन गर्न पनि सक्छ र कर्तव्य पालन गर्न बाध्य पार्न सक्छ । यसै गरी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, राज्य सञ्चालनका लागि कर तिर्ने, वातावरण संरक्षण गर्ने आदि कुरा यसअन्तर्गत पर्छन् । सरकारी नियम कानुनको पालना गराउने, शान्ति र सुव्यवस्था कायम राख्ने जस्ता संविधान र कानुनले निर्दिष्ट गरेका कुरा यसमै समेटिन्छन् । तसर्थ यी सबै तथ्यले अधिकारभन्दा कर्तव्य नै ठुलो भन्ने साक्ष्य प्रस्तुत गर्छन् ।
सभाध्यक्ष महोदय, सम्पूर्ण प्रकृति र चराचर जगत्ले पनि कर्तव्यको उत्कृष्ट दृष्टान्त प्रस्तुत गरेका छन् । हामी बसोबास गर्दै आएको यस जगत्मा पनि नदी, वृक्ष, सूर्य, चन्द्र सबैले कसैलाई केही न केही दिएर र परोपकारी कार्य गरेर कर्तव्य पूरा गरेका छन् । नदीले जल दिएर, वृक्षले फलफूल दिएर, सूर्यले ताप दिएर र चन्द्रमाले शीतलता दिएर आफ्नो कर्तव्य पूरा गरेका छन् । यसबाट कर्तव्य पालन प्राकृतिक, नैसर्गिक र महान् कुरा हो भन्ने पुष्टि हुन्छ । अधिकारको मोलतोल त कमजोरको झुन्डमा मात्र हुन्छ । कर्मशील समाजमा त कर्तव्यको तेलबिना त विकासको रेल चल्दैन; कर्तव्यको चक्काबिना अधिकारको गाडी गुड्दैन ।
(जनाउ घन्टी बज्छ ।)
अन्त्यमा एउटा पक्षले आफ्नो कर्तव्य पूरा गर्दा अर्को पक्षले खुसी र सन्तुष्टि प्राप्त गरेको हुन्छ । यसरी आफूले कर्तव्य पालन गर्दा अरूलाई खुसी मिल्ने कर्तव्य महान् छ । त्यसैले अधिकारभन्दा कर्तव्य नै ठुलो हो भन्दै म आफ्ना भनाइ यहीँ टुङ्ग्याउँछु, धन्यवाद ।
(घन्टी बज्छ)
उद्घोषक: अब म कर्तव्यभन्दा अधिकार ठुलो भन्ने विपक्षका तर्फबाट आफ्ना तर्क प्रस्तुत गर्न श्रुति साहलाई आमन्त्रण गर्छु ।
(श्रुति साह मञ्चमा जान्छिन् ।)
समादरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिको आसनमा विराजमान नगर प्रमुखज्यू, उपस्थित अतिथिज्यूहरू, निर्णायक मण्डल र सम्पूर्ण विद्यार्थी मित्रहरू ! म ‘सिद्धार्थ मावि भेलाइ, कपिलवस्तु’ मा नौ कक्षामा अध्ययनरत छात्रा हुँ । म यस वादविवाद प्रतियोगिताको अधिकार ठुलो भन्ने विषयमा आफ्ना तर्क राख्दै छु ।
कर्तव्यभन्दा अधिकार नै महान् छ । व्यक्तिको व्यक्तित्व विकास र जीवनयापनका लागि अधिकार नितान्त अनिवार्य कुरा हो । हेक्का राखौँ, अधिकारले मात्र मानिसको स्वतन्त्रताको रक्षा गर्छ, कर्तव्यले होइन । अधिकारको बगैंचामा मात्र व्यक्तिको व्यक्तित्वको फूल फुल्छ । व्यक्तिले परिवार, समाज र राज्यबाट प्राप्त गर्ने अधिकार पाउनुपर्छ र मात्र त्यो व्यक्तिको समग्र व्यक्तित्व उज्यालो बन्छ । सानो छँदा राम्रो लालनपालन र पोषणयुक्त खाना पाउने अधिकार पाउनुपर्छ । अलिक हुर्कदै जाँदा शिक्षा र स्वास्थ्यको अधिकार पाउनुपर्छ । पढिसकेपछि उसले व्यवसाय र रोजगारको स्वच्छ प्रतिस्पर्धामा सहभागी हुने अधिकार पाउनुपर्छ । यसो भयो भने मात्र व्यक्तिको व्यक्तित्वको विकास हुन सक्छ । हरेक व्यक्तिको विकास हुनु नै त्यो परिवार, समाज र राष्ट्रको समेत विकास हुनु हो ।
सभाध्यक्ष महोदय, अधिकार कर्तव्यभन्दा ठुलो कुरो हो । अधिकार पाउनका लागि गरिएका ठुला ठुला सङ्घर्ष र आन्दोलन यसका प्रमाण हुन् । जनताका अधिकार कुण्ठित गर्न खोज्दा हिटलरले हार बेहोर्नुपरेको दृष्टान्त पनि ज्वलन्त नै छ । नेपालमा पनि पटक पटक अधिकार प्राप्तिका लागि भएका आन्दोलन र क्रान्ति यसका साक्षी छन् । अधिकार आवश्यक नहुँदो हो त यी आन्दोलन किन जरुरी थिए अनि खुरुखुरु सबैले आआफ्नो कर्तव्य पालन गरेर बसेको भए हुँदैनथ्यो त ? अर्को कुरा अधिकारको लडाइँले मुलुकलाई समृद्ध बनाउँछ । हामीलाई थाहा छ, दासत्व अन्त्य गर्ने र अधिकार प्राप्त गर्ने अमेरिकी स्वतन्त्रता सङ्ग्रामको लडाइँले अमेरिकालाई बलियो बनायो । त्यस्तै रङ्गभेदविरुद्ध दशकौँ लाङ्गो सङ्घर्षले गर्दा दक्षिण अफ्रिका रङ्गभेदमुक्त मुलुक बन्यो । मानव अधिकार, बाल अधिकार, पशु अधिकार जस्ता अधिकार प्राप्तिका अनेक लडाइँले देश र समाजमा परिवर्तन ल्यायो । यस्ता अधिकार र अधिकार प्राप्तिका लागि गरिने आन्दोलनले मुलुकको कायापलट गरेको हुन्छ । तसर्थ अधिकार नै सबैभन्दा ठुलो कुरा हो ।
अधिकार अनिवार्य भएकै हुँदा त्यसलाई हरेक लोकतान्त्रिक देशका संविधानमा निकै महत्त्वका साथ राखिएको हो । नागरिकका अधिकारलाई सङ्घ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा मौलिक अधिकारका रूपमा विभिन्न हकको व्यवस्था गरिएको छ । नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकार सम्पूर्ण नेपालीले बिनाभेदभाव प्रयोग गर्न पाएका छन् । राज्यका नागरिक भएर हरेक मानिसले प्राप्त गर्ने मौलिक मानव अधिकारका सम्बन्धमा मानव अधिकारको विश्वव्यापी घोषणापत्रले पनि परिभाषित गरेको छ । नेपालको संविधानको भाग ३ का धारा १६ देखि ४६ सम्म ३२ ओटा धारामा मौलिक हकको व्यवस्था गरिएको छ । यसरी प्रत्याभूत गरिएका ३१ ओटा मौलिक हकमध्ये चारओटा हक पहिलो पटक व्यवस्था गरिएको हो । यसरी थप गरिएका हकमा अपराध पीडितको हक (धारा २१), दलितको हक (धारा ४०), ज्येष्ठ नागरिकको हक (धारा ४१) र उपभोक्ताको हक (धारा ४४) रहेका छन् । खाद्यसम्बन्धी हकलाई पनि विशेष महत्त्व दिइएको छ । संविधानमा हक वा अधिकारका बारेमा ३२ ओटा धारामा उल्लेख गरिनुले पनि अधिकारको श्रेष्ठताको पुष्टि हुन्छ । म मेरा प्रतिस्पर्धी मित्रको भनाइ स्मरण गराउँछु । उहाँले प्रकृतिले आआफ्नो ठाउँबाट कर्तव्य पालन गरेको कुरा गर्नुभयो, प्रकृतिसँग त सम्पूर्ण अधिकार छ र त कर्तव्य पूरा गरिरहेको छ । प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त ? त्यसपछि प्रकृतिको ताण्डव थाहा हुने छ ।
(जनाउ घन्टी बज्छ ।)
अन्त्यमा मानिसले जन्मसिद्ध रूपमा प्राप्त, मानिसको समग्र व्यक्तित्व विकास तथा सम्मानपूर्ण र नैतिक जीवनयापनका लागि अपरिहार्य रूपमा रहेको अधिकार कर्तव्यभन्दा विशिष्ट छ भन्दै आफ्ना भनाइ यही समाप्त गर्छु, धन्यवाद ।
उद्घोषक: आजको वादविवाद प्रतियोगिता यहीँ सकिन्छ । निर्णायक मण्डलले निर्णय सुनाएपछि र सभाध्यक्षले सभा विसर्जन गरेपछि यो कार्यक्रम समाप्त हुने छ । पुरस्कार वितरण कार्यक्रम बालदिवसका दिन आयोजना गरिने छ । कार्यक्रमसम्बन्धी सूचना सम्बन्धित विद्यालयलाई जानकारी गराइने छ ।
शब्दार्थ (पाठ ६ का सबै पेजका शब्दार्थहरू एकै ठाउँमा):
- पारलौकिक: लोकभन्दा परको, परलोकसँग सम्बन्धित
- दृष्टान्त: प्रस्तुत गरिने उदाहरण
- निष्ठा: आस्था, भक्तिभाव, विश्वास
- न्यायोचित: न्याय सुहाउँदो, नीतिसम्मत
- स्वत्व: स्वामित्व, कुनै पनि विषयवस्तुप्रतिको स्वामित्व वा अधिकार
- महिमा: महत्त्व, गरिमा, प्रशंसा
- उद्बुद्ध: राम्ररी ज्ञान पाएको, बुझेको, जागेको
- अन्तःप्रेरणा: मनमा आफैँ उब्जेको प्रेरक भावना वा विचार
- बाध्यकारी: नगरी नहुने
- निर्दिष्ट: निर्देश गरिएको, तोकिएको
- साक्ष्य: साक्षी वस्ने काम
- हेक्का: सम्झना, याद
- श्रेष्ठता: उच्चता, उत्कृष्टता, विशिष्टता
- ताण्डव: उफ्राइ कुदाइ बेसी हुने शिवको नृत्य
