पाब्लो पिकासो जीवनी पाठ पढ्नुहोस् ।
पाठ १२: पाब्लो पिकासो
मानवीय संवेदनाको युगीन लय पक्रेर कलाकृति सिर्जना गर्ने कलाकार संसारमा बिरलै जन्मिन्छन् । कलाका जादुले विश्व जगत्मा नयाँ नयाँ कीर्तिमान स्थापित गरेसँगै उन्नाइसौँ शताब्दीको उत्तरार्धतिर युरोपको स्पेनमा एउटा अद्भुत प्रतिभाशाली बालकको जन्म भयो । तिनै बालकले पछि गएर परम्पराभन्दा पृथक् शैलीका सघन कलाकृति सिर्जना गरे । थोरै रङको प्रयोग गर्दै मानव मस्तिष्कमा धेरै झङ्कार पैदा गरे । उनैले बिसौँ शताब्दीका आरम्भमै कलाकारिताको आगो ओकले । पाब्लो पिकासो नामक विलक्षण प्रतिभाशाली तिनै बालक बिसौँ शताब्दीका सबैभन्दा महान् र सर्वाधिक प्रभावशाली कलाकारका रूपमा विश्वविख्यात बने । बहुमुखी प्रतिभाशाली पाब्लो पिकासो कलाकार, चित्रकार, मूर्तिकारका साथै मञ्च सजावटका समेत अद्भुत शिल्पी थिए । कलाकारिताको प्रतिभा यिनका नसा नसामा जन्मजात प्रवाहित थियो ।
सन् १८८१ अक्टोबर २५ तारिखका दिन स्पेनको मलागामा मध्यमवर्गीय परिवारमा पिकासोको जन्म भएको हो । जन्मदा औसत शिशुभन्दा सानो भएकाले नर्सले यो बालक जीवित छैन भन्ने ठानिछन् । आमाको हेरचाह गर्न जाँदा उनले पिकासोलाई मृत सम्झेर आमाको शय्यानजिकको टेबुलमा छोडिछन् । उनका काका डन साल्भाडोरले त्यो बालक जीवित छ भनी नर्सलाई सूचित गरेछन् अनि बल्ल पिकासोले जीवन प्राप्त गरेका रहेछन् । पिकासोका आमाबुबाको नाम मारियो पिकासो लोपेज र जोसो रुइज ब्लास्को थियो । पिकासोका बुबा जोसो रुइज एक स्थानीय विद्यालयमा कलाका कुशल शिक्षक थिए । पिकासोले शैशवावस्थाको चुलबुले उमेरमा नै आफ्ना बुबाले सिर्जना गरेका सुन्दर कला बालसुलभ आँखाले देखे । यसैबाट प्रेरणा प्राप्त गरी पछि हुर्कंदै जाँदा उनीभित्रको जन्मजात कलाकारिताले टुसाउने, हुर्कने र मौलाउने अवसर पायो । उनले बाल्यकालदेखि चित्रकलाको प्रारम्भिक तालिम घरबाटै पाउन सुरु गरेका थिए । बाल्यकालमा उनी विभिन्न प्रकारका आकृति बनाएर आफ्ना साथीलाई चकित पार्थे । आफ्ना बुबाबाट कलाको प्रारम्भिक शिक्षा लिएका पिकासोले १४/१५ वर्षको उमेरमै उत्कृष्ट चित्र बनाउन थालिसकेका थिए ।
पिकासोले ‘पिकाडोर’ नामको आफ्नो पहिलो पेन्टिङ नौ वर्षको हुँदा तयार पारेका थिए । साँढेको लडाइँमा घोडा चढिरहेको मान्छेको यो चित्र निकै आकर्षक थियो । उनी १५ वर्षका हुँदा उनले ‘कम्युनियन’ चित्र पूरा गरे । उनका आमा, बुबा र बहिनीको चित्रण गरिएको यो अत्यन्तै प्रसिद्ध चित्र थियो । पिकासोका बुबाले आफ्नो छोरा आफूभन्दा राम्रो चित्रकार भएको महसुस गरे । आफूले चित्र बनाउन तयार पारेका क्यानभासमा छोराले असाध्यै राम्रा चित्र बनाएको देखेर बुबा चकित भए । त्यसपछिका उनका बुबाले छोराको प्रतिभाबाट प्रभावित भई आफ्नो चित्रकलाका सम्पूर्ण सरसामान उनैलाई सुम्पिए । पिकासो १३ वर्षका हुँदा उनका बुबाले चित्रकलाबाट सन्न्यास लिने निर्णय गरे । त्यसपछि उनलाई चित्रकलामा उच्च शिक्षाका लागि म्याड्रिड एकेडेमी पठाइयो । पिकासो त्यहाँको वातावरणबाट बिरक्तिएर उनले आफ्नो औपचारिक पढाइ छोडे र पूर्णकालीन रूपमा कलाकारितामा नै आफूलाई समर्पित गरे ।
आफ्ना बुबाबाट सुरु भएको कलायात्राका क्रममा पिकासोले मलागादेखि बार्सिलोना, म्याड्रिड र युरोपेली कलाको राजधानी मानिने पेरिससम्म आइपुग्दा महान् कृति जन्माइसकेका थिए । सन् १८९२ मा उनको परिवार ला कोरुनामा बसाइँ सर्यो । त्यसको एक वर्षपछि पिकासोलाई त्यहाँ ललित र व्यावहारिक कला अध्ययनका लागि विद्यालयमा भर्ना गरियो । सन् १८९४ को प्रारम्भमा १३ वर्षको उमेरमा उनले आफ्नो परिवारको चित्रसहित प्रारम्भिक तैल चित्रहरू सिर्जना गरे । सन् १८९५ देखि उनले आफ्ना चित्र प्रदर्शन गर्न र बेच्न थाले । सोही वर्ष पिकासोकी सात वर्षकी बहिनी कोन्चिटाको मृत्यु भयो । यो पिकासोको जीवनमा एउटा कहालीलाग्दो घटना बन्न पुग्यो । बहिनीको मृत्युपछि उनको परिवार बार्सिलोनामा सर्यो । सन् १८९० तिरका उनका चित्रमा यथार्थवादी शैलीको प्रयोग हुन्थ्यो । उनले यस्ता केही प्रोट्रेट चित्र बनाए । सन् १८९७ मा सिर्जित उनका चित्रकलाबाट विश्वकलाको आधुनिक काल सुरु भएको मनिन्छ । पिकासो त्यसपछि सन् १९०० मा युरोपको कलाको राजधानी भनिने पेरिस प्रस्थान गरे । त्यहाँ उनले पत्रकार तथा कवि म्याक्स ज्याकबलाई पहिलो पेरिस साथीका रूपमा भेटे । म्याक्स ज्याकबले पिकासोलाई पनि भाषा र साहित्य सिक्न मदत गरे ।
पिकासोका कलाकृति सिर्जना प्रवृत्तिगत दृष्टिले विविध प्रकारका छन् । स्पेनिस चित्रकार पिकासोद्वारा सन् १९०१ र सन् १९०४ का बिचमा सिर्जित कलाकारितालाई परिभाषित गर्न ‘ब्लु पिरियड’ पदावली प्रयोग गरिन्छ । पारिवारिक तथा आर्थिक सङ्कटजन्य परिस्थितिका कारण उनमा एकप्रकारको मानसिक तनाब र असामान्य अवस्था सिर्जना भयो । यसैको प्रभावस्वरूप उनले मुख्य रूपमा ब्लु र ब्लुसँगै हरियो कठोर रङका धर्काहरूमा अन्य केही रङसमेत मिश्रित मोनोक्रोमेटिक चित्रकला प्रस्तुत गरे । समाजका गरिब र बहिष्कृतका शान्त र व्यग्र मनस्थितिलाई ब्लु रङका साथ जोडेर विचित्रका चित्र बनाए । एक्लोपन, गरिबी र चरम अभाव उनका चित्रकलाका विषयवस्तु बने । गरिबीले आक्रान्त महिला, दुधे बालकसँगका आमाका चित्र र दृष्टिविहीनका चित्रले उनका क्यानभासमा प्राथमिकता पाउन थाले । यस्ता विषय खोज्न उनी कहिले जेलमा थुनिएका मानिस हेर्न जान्थे । कहिले बाटामा भिख मागिरहेका भिखारीसँग घन्टौँ बसेर उनका आकृतिमा पोतिएको गम्भीर अवसादलाई आफ्ना चित्रमा उतार्थे । जीवनका निराशा र विसङ्गत अवस्थाको भव्य चित्रण गरिएका उनका यस्ता चित्र सर्वसर्वसाधारणबाट निकै रुचाइए । यस्ता चित्र सम्पन्न वर्गले भने त्यति रुचाएनन् । तत्काल तिनको बिक्री भएन तर कालान्तरमा अनमोल बनेका यिनै चित्र करोडौँ मूल्यमा बिक्री भए ।
पिकासोको ‘पिङ्क पिरियड’ सन् १९०४ देखि १९०६ को समयावधि हो । यस पिरियडमा पिकासो आफ्नी प्रेमिका फर्नान्डो ओलिभरसँग सँगै थिए । यिनका कलाले बजार पाइसकेका थिए । सप्रिंदो आर्थिक अवस्था र प्रेम जीवनको प्रभाव यस पिरियडका कृतिमा देख्न सकिन्छ । प्रेमिकाको सल्लाहले उनले ब्लु काल त्यागेका हुन् भन्ने भनाइ पनि छ र यसलाई उनको आफ्नै जीवनको प्रतिबिम्ब पनि भन्ने गरिन्छ । शान्त पृष्ठभूमि र खुसीपूर्ण वातावरणमा सुन्तला र गुलाफी रङ प्रयोग गरिएका उनका चित्रमा सर्कसका नायक र हेपिएका मानिस चित्रित हुन्थे । यस पिरियडमा उनले ऐतिहासिक महत्त्वका कृति रचना गरे ।
उनको चित्रकलामा ‘घनवाद’ को सशक्त प्रयोग भएको पाइन्छ । घनवादको प्रयोग भएको यस काललाई ‘निग्रो काल’ पनि भनिन्छ । घनवादी कलाकृतिमा वस्तुलाई विश्लेषण गरिन्छ, टुक्रा टुक्रा पारिन्छ । ती टुक्रालाई अमूर्त रूपमा पुनः संयोजन र संश्लेषण गरिन्छ । यसमा कलाकारले वस्तुलाई एउटै दृष्टिकोणबाट चित्रण नगरी बृहत्तर सन्दर्भमा प्रतिनिधित्व गर्न धेरै दृष्टिकोणबाट विषयलाई चित्रण गर्छन् । यसरी मूर्त वस्तुलाई भाँच्ने, टुक्र्याउने अनि जोडेर फेरि वस्तु र विषयलाई व्यापक अर्थमा र अमूर्त रूपमा प्रयुक्त गर्ने यही वाद नै घनवादी कलाका रूपमा चिनिन्छ । यसरी जुनसुकै कालमा लेखिएका भए पनि उनका हजारौं चित्रकला र मूर्तिकला आज पनि जीवन्त छन् । पिकासोको वैवाहिक र पारिवारिक जीवन एकैनासले अगाडि बढेन । उनका जीवनमा जुन जुन महिला आए तिनले उनको कलाकारितालाई कुनै न कुनै रूपमा प्रभावित पारेको देखिन्छ । उनले आफ्ना जीवनका सफल वा असफल प्रेम सम्बन्धलाई विभिन्न ढङ्गले चित्र र मूर्तिमा अङ्कित गरेका छन् । ती चित्र निकै चर्चित र मूल्यवान् पनि बनेका देखिन्छन् । (अपूर्ण पाठ)
शब्द र अर्थ (Words & Meanings):
- संवेदना : मानिसका मनमा हुने मार्मिक अनुभूति
- झङ्कार : वीणा, गितार आदि तारका बाजा बजाउँदा सुनिने सुमधुर ध्वनि, झनझनाहट
- विलक्षण : अनौठो, असाधारण
- कम्युनियन : पिकासोले बनाएको एक चित्रको नाम
- क्यानभास : चित्रपट, चित्र बनाइने कपडा, भित्तो वा ठाउँ
- प्रोट्रेट : मुहार चित्र
- ब्लु पिरियड : ब्लु पिरियड भनेर चिनिने पिकासोको चित्र निर्माणको एक कालखण्ड
- मोनोक्रोमेटिक : धेरै रङ मिसाएर बनाएको एउटै रङयुक्त, एकरङ्गी
- व्यग्र : व्याकुल, विह्वल
- आक्रान्त : हमला गरिएको, घेराउमा परेको, पराजित
- अवसाद : मनमा पर्ने पछुताउ, उत्साह, आशा आदिको अभाव
- पिङ्क पिरियड : पिङ्क पिरियड भनेर चिनिने पिकासोको चित्र निर्माणको एक कालखण्ड
- घनवाद : चित्रकला एवम् मूर्तिकलाका क्षेत्रमा खास गरी हरेक चिजलाई गोलाकार वस्तुका रूपमा हेर्ने एक शैली
