गाउँमाथि एउटा कविता पाठ पढ्नुहोस् ।
पाठ १५ : गाउँमाथि एउटा कविता
सेताम्य कपाल फुलेकी बुढीका थोता दाँतहरू
टक्रक्क यता एउटा
टुक्रुक्क उता एउटा
र यदाकदा अङ्गुरका झुप्पाहरूकै भाँतिमा
धेरै पराले र थोरै ढुङ्गे छानाको टोपी लगाएर
एकै ठाउँमा गुजमुजिएका केही घरहरू छन्
घरभित्र
अन्धविश्वासलाई विश्वास मानेर उग्राइरहेका
केही मान्छेहरू छन्
समय, जहाँ घडीले हैन कुखुराको भालेले बताउने गर्छ
परदेश गएकाहरूको कुशल मङ्गल
जहाँ अगेनामा नुन पड्काएर अन्दाज गर्न सकिन्छ
विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा
र आङमा घाम लाग्ने नलाग्ने कुराको ठेगान
बारीको उब्जाउ हेरेर यकिन गर्न सकिन्छ
यो मेरो देशको सुदूर पूर्वको गाउँ !
यो मेरो देशको सुदूर पश्चिमको गाउँ !
छिमेकी अगेनाबाट आगो ओसारेर सुरु हुने यहाँको दिन
गोठमा, वस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ
खेतमा गोरु नारेर तन्नेरी हुन्छ
र बेग्लाबेग्लै मान्छेका ओठहरू भएर
दिनभरि फलाकिरहन्छ दिनभरि हतारिरहन्छ
आज जन्त जानुपर्छ, दलबिरेको बिहे छ
आज पर्म जानुपर्छ, घिसिङको छानो छाउनु छ
आज धामी बसाउनुपर्छ, हिरेको छोरो सिकिस्त छ
आज माइलीलाई नचाउनुपर्छ, भरे जात्रा छ
राम ! राम !! जिम्दार बुढाको प्राण गएछ ।
जहाँको चपरी त्यहीँको दुवाली मरेर के लानु छ…
एउटै इनार छ सम्पूर्ण गाउँमा
र पनि कसैले पानी पिउन नपाएको गुनासो छैन
मेलापात जानुपर्छ
काखको नानीलाई मजेत्रोले पिठिउँमा बाँधेर
निस्कन तयार छे जो कुनै पनि आमा
आफ्नै सन्तान पनि भार हुन सक्छ भन्ने उसलाई थाहा छैन
छ भने सबैलाई
भकारो सोहोर्ने शैली थाहा छ
अनौ समात्ने तरिका थाहा छ
कोदालो अर्जाप्ने कुरा थाहा छ
बाली लगाउने र भित्र्याउने याम थाहा छ
भाकल चढाउने दिन थाहा छ
कुलो लगाउने पालो थाहा छ
न चुनावले रोक्छ यसलाई
पट्याँस ! पट्याँस !!!
नाङ्लो भएर यो अहिले पनि कनिका निफनिरहेकै छ ।
प्रिय सम्पादक !
फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं
बम वर्षाका खबरहरू
बालिग मताधिकारका कुराहरू
साहित्यिक आन्दोलनका इतिहासहरू
अन्तरिक्ष यानका गतिविधिहरू
तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ !
तपाईंलाई नागरिकताको प्रमाणपत्र बाँड्ने देशको जन्मदाता यो गाउँ !
अहिले पनि यो
ढिकीच्याउँ ! ढिकीच्याउँ !!
एउटा खुट्टो उचालेर ढिकीमा उभिइरहेकै छ
घुर्र ! घुर्र !!
अहिले पनि यो
जाँतामा टाउको अड्याएर निदाइरहेकै छ
के गर्नु चुनावका घोषणापत्रहरू ?
सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई
के पढ्नु अन्तरिक्ष यानका गतिविधिहरू ?
दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई ।
शब्द र अर्थ
थोता: दाँत पूरै वा खण्ड रूपमा नभएको
भाँति: कामको तौरतरिका, पद्धति, किसिम
उग्राइ: गाई, भैंसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउने काम
पर्म: आफू आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन
धामी: तन्त्रमन्त्र गरी झारफुक गर्ने व्यक्ति, झाँक्री
जिम्दार: जमिनदार, भूपति, जिम्मावाल
मजेत्रो: महिलाले टाउकामा ओढ्ने एकसरो कपडा, पछ्यौरा
भकारो: गाई, भैंसी आदि पशुको मल, गोबरको थाप्रो
अनौ: हलाको हातो वा मुठ
अर्जाप्ने: हतियारमा साँध लगाउनु, धारिलो पार्नु
बालिग: बाल्यावस्था पार गरेको, उमेरदार, जवान
अन्तरिक्ष: पृथ्वी तथा ग्रह, नक्षत्र आदिका बिचको वा दुई ग्रह र ताराका बिचको खाली स्थान
ढिकीच्याउँ: खुट्टा खोच्याएर हिँड्ने
ढिकी: मान्छेले खुट्टाले थिचेर उचाल्दै छोड्दै गरी धान, चिउरा आदि अन्न कुट्ने काठको चारपाटे यन्त्रविशेष
कामयाब: सफलता प्राप्त भएको, इच्छा पूरा भएको, सफल
