मनोवाद लेखनको नमुना २ : जन्मथलो छोडी अध्ययनका लागि बाहिर जानुभन्दा अघिल्लो रात मनमा उब्जिएका भावनाहरू
विषय: जन्मथलो छोडी अध्ययनका लागि बाहिर जानुभन्दा अघिल्लो रात मनमा उब्जिएका भावनाहरू
स्थान: सुत्ने कोठा
समय: रातको १० बजे
पात्र: कोपिला
(कोपिलाले यसै वर्ष महालक्ष्मी माध्यमिक विद्यालयबाट सफलतापूर्वक एस्.ई.ई. परीक्षा उत्तीर्ण गरेकी छिन्। अब माथिल्लो तहको अध्ययनका लागि सहर प्रस्थान गर्ने दिन पनि आइपुग्यो। विद्यालयबाट मार्कसिट आउन ढिलाइ भएकाले उनको प्रस्थान केही दिन पर सरेको थियो, नत्र त उनी अस्ति नै काठमाडौँ पुगिसक्थिन्। उता सहरका कलेजहरूमा भर्ना प्रक्रिया सुरु भइसकेकाले मामाले छिटो आउन भन्दै निरन्तर फोन गरिरहनुभएको छ। सहरमा उच्च शिक्षा हासिल गर्न पाउने कुराले एकातिर खुसी लागे पनि अर्कोतिर अहिलेसम्म परिवार छोडेर कतै नबसेकाले आमाबुबा, भाइ र बालसखाहरूको न्यास्रो कति लाग्ने हो भन्ने चिन्ताले सताएको छ। आमाले छोरीका लागि घिउ, कुराउनी, मह, भटमासको गुदी जस्ता गाउँका चोखा कोसेलीहरू झोलामा मिलाएर राखिदिनुभएको छ। कोपिलाले पनि आफ्ना कपडा, जुत्ता र प्रिय डायरी ठिक पारिसकेकी छिन्। भोलि सबेरै उठेर यात्रा तय गर्नुछ। सरसामानहरू मिलाउँदा र परिवारसँग भलाकुसारी गर्दा रातको १० बजिसकेछ। बुबाआमा र भाइ सुत्न गइसकेपछि कोपिला पनि आफ्नो ओछ्यानतिर लाग्छिन्। खाटमा ढल्किएपछि उनको मानसपटलमा अनेक भावनाहरू सलबलाउन थाल्छन्।)
यो प्यारो कोठामा सुत्ने आज मेरो अन्तिम रात हो। अब त सिधै दसैंको बिदामा मात्र घर आउन पाइन्छ होला। त्यतिबेला पनि क्याम्पसले कति नै दिन पो बिदा देला र? हाम्रै गाउँको विद्यालयमा उच्च शिक्षाको पढाइ हुने व्यवस्था भइदिएको भए यसरी जन्मघर छोडेर टाढा जानुपर्ने नै थिएन। सबै साथीहरूसँगै बसेर रमाउँदै पढ्न पाइन्थ्यो। घरमा रहँदा आमाबुबालाई पनि एउटा बलियो सहारा हुन्थ्यो। भाइ अझै सानो छ, उसलाई घरव्यवहारको काम सघाउने बानी नै छैन। म हिँडेपछि आमा एक्लैले कति दुःख पाउनुहोला! सायद यही पिरले गर्दा होला, विगत केही दिनदेखि आमाको अनुहार मलिन देखिइरहेको छ।
(दायाँबायाँ कोल्टो फेर्दै) उता सहरमा मामा भने म आउने कुराले निकै प्रफुल्ल हुनुहुन्छ। मामाको छोरा त दिनमा दुई पटक फोन गरेर ‘हाम्री दिदी आउँदै हुनुहुन्छ’ भन्दै छिमेकीहरूलाई सुनाउँदै हिँडेको छ रे! मामाले फोनमा यो कुरा सुनाउँदा मलाई भित्रभित्रै हाँसो उठेर आयो। (मन्द मुस्कुराउँदै) अब जे जस्तो भए पनि जानैपर्छ, आफ्नो भविष्य सुधार्न र समाजका अगाडि एउटा उदाहरणीय छोरी बनेर देखाउन मैले यो कदम चाल्नैपर्छ।
यदि म यहीँ अल्झिएर बसेँ भने आउँदो वर्षदेखि गाउँमा मेरो विवाहको कुरा चल्न थाल्नेछ। हाम्रो समाजमा अझै पनि छोरीहरू बीस वर्षका नहुँदै पराई घर पठाउने चलन छ। तर मेरो लक्ष्य केवल घरजम गर्ने मात्र होइन; म त पढेलेखेर समाजको सेवा गर्न चाहन्छु। गाउँका पिछडिएका महिला, उत्पीडित र दलित वर्गको दुःख-कष्टलाई नजिकबाट बुझेर तिनीहरूको उत्थानका लागि एउटा आदर्श महिला बन्ने मेरो दृढ सङ्कल्प छ।
मेरा आमाबुबा पनि छोरी मान्छेले पढ्नुपर्छ र आत्मनिर्भर हुनुपर्छ भन्ने आधुनिक सोच राख्नुहुन्छ। उहाँहरूकै उदार भावनाले गर्दा नै म आज सहर जाने अवसर पाउँदै छु। छिमेकी राधिकाका बुबाआमाले त ‘छोरीलाई धेरै पढाउनु हुँदैन’ भन्दै उनको पढाइ नै रोकिदिएछन्। बिचरी हिजो मसँग अँगालो हालेर रोइरहेकी थिइन्! तर के गर्नु, उनका अभिभावकहरू अरूको कुरा सुन्ने खालकै छैनन्। मेरा आमाबुबाले मलाई कति धेरै स्नेह गर्नुहुन्छ, कहिल्यै चित्त दुखाउनुहुन्न। त्यसैले पनि उहाँहरूलाई छाडेर पाइला सार्न मन भारी भइरहेको छ।
म यसअघि कहिल्यै घरबाहिर एक्लै बसेकी छैन। सहरको माहोल त सुनसान हुन्छ रे, वरिपरि छिमेकी भए पनि आ-आफ्नै धुनमा व्यस्त हुन्छन्। कोहीसँग बोल्ने वातावरण नै नभएपछि बिदाका दिनहरू कसरी कटाउने होला? दिनभर कोठाभित्रै थुनिएर बस्नुपर्ला, बाहिर निस्कन पनि बाटोघाटो थाहा छैन। पोहोर साल तिहारमा आमासँग काठमाडौँ जाँदा त मलाई कति खेर गाउँ फर्कौँ जस्तो भइसकेको थियो। अब त लामो समय त्यहीँ बिताउनुपर्नेछ, खै के पो हुने हो! (एउटा लामो र चिसो सास तान्छिन्।)
तर म सधैंका लागि सहरमै हराउने त होइन नि! आफ्नो अध्ययन पूरा गरेपछि म आफ्नै गाउँ फर्किनेछु। यतै कुनै जागिर अङ्गालेर आफ्नो गाउँठाउँको मुहार फेर्न र समाजको सेवा गर्नमा समर्पित हुनेछु। अहिले पनि हाम्रा आमा र काकीहरूलाई आफ्नो नाम समेत लेख्न आउँदैन। म पढेर फर्केपछि यहाँका सम्पूर्ण निरक्षर दिदीबहिनीहरूलाई अक्षर चिनाउनेछु र लेख्न-पढ्न सिकाउनेछु। हाम्रा ग्रामीण महिलाहरू अझै पनि घरको चौघेरा र चुल्होचौकोमा मात्र सीमित छन्। म पढेर आफ्नै खुट्टामा उभिनेछु र महिलाहरूले अवसर पाए जे पनि गर्न सक्छन् भन्ने कुरा प्रमाणित गरेरै छाड्नेछु। यस महान् उद्देश्यका लागि आज मैले सहरको यात्रा तय गर्नैपर्छ।
(ओछ्यानबाट उठेर पर्दा सार्दै झ्याल बाहिर नियाल्छिन्।)
अहो! आकाशमा कस्तो टह-टह जुन लागेको! धर्ती सारै मनमोहक देखिएको छ। आकाशका यी चमचमाउँदा ताराहरू नियाल्दा मनका सारा दुविधाहरू मेटिएर शान्त भएजस्तो महसुस भइरहेछ। (मोबाइलमा समय हेर्दै) ओहो, कुरा खेल्दाखेल्दै रातको साढे एघार भइसकेछ! अब त नसुती हुन्न, भोलि बिहानै सबेरै ओछ्यान छोड्नुपर्छ।
(कोपिला सिरक ओढेर गुटुमुटु पर्छिन् र भोलिको सुन्दर सपना बुन्दै बिस्तारै भुसुक्क निदाउँछिन्।)
