आयाम कथा पाठ पढ्नुहोस् ।
पाठ १६ आयाम
बिना थिङ
सहरको त्यो व्यस्त चोकको मध्यभागको दृश्य मेरो कार्यालयको झ्यालबाट लगभग पूरै देख्न सकिन्थ्यो । त्यहाँबाट अनेक रङ, अनेक आकृति मात्र होइन, थरी थरीका गतिविधिसमेत मेरा आँखामा वेला वेला ठोक्किन आइपुग्थे । कुनै दृश्य निकै लोभलाग्दा हुन्थे त कुनै दृश्य बिछट्टै पट्यारलाग्दा ! कम्प्युटरको स्क्रिनलाई छलेर वेला वेला मेरा चञ्चले आँखा भयालतिर हुत्तिन्थे । मलाई थाहा थियो ! आजभोलि मलाई मेरा आँखा निकै लोभी हुन थालेका छन् । मेरा लोभी आँखाले कोठाको भित्तामा टाँगिएको वृत्ताकार घडी हेरे । त्यहाँ हरियो पृष्ठभूमिमा सेता सुई आआफ्नै लयमा सामूहिक नृत्यमा मस्त थिए । घडीका सुईको त्यो नीरस नाचले न त मेरो मनमा कुनै तरङ्ग ल्यायो न त कुनै उमङ्ग नै । हृदयमा कसैले मेरो बोझिलो दैनिकीको सुन्दर तर हलुङ्गो फूलको बुकी राखिदिए जस्तो मात्र आभास भयो ।
‘शुभकामना, याजी ! आज तिम्रो जन्मदिन । भरे साँझको भान्छा केही विशेष बनाउँछु । छिट्टै घर आऊ है !’ घरबाट निस्कँदानिस्कँदै आमाले भन्नुभएको थियो । आमा हुनुहुन्थ्यो करिब ४९ वर्षकी बाटुलो मुखाकृतिकी । उहाँको अनुहारमा चिउँडाको चुच्चो कतै हराए जस्तै देखिन्थे । गोलै जोर आँखाको बिचमा डल्लो आकारको नाक थपक्क बसेको थियो । सेतो चिमालो फूलको रङ लाग्ने नरम छाला जिउभरि ओढेकी । भाग्यलाई आमन्त्रित गरिएको हो कि लाग्ने सिनित्त परेको निधार । आँखाका चेप भने केही असजिलोसँग खुम्चिएका छन् र हाँस्दा ती अझै खुम्चन्छन् । उमेरभन्दा निकै ढिला हिँडिरहेको जस्ता देखिने छोटा छोटा, मोटा मोटा र पुटुक्कका हातगोडा ।
घरमा आमा र म मात्रै थियौँ । आमा र म दुबै जागिरे थियौँ । म निजी कार्यालयमा काम गर्थे भने आमा सरकारी कार्यालयमा । म बिहान आठ बजे निस्कन्थें; आमा नौ बजे निस्कनुहुन्थ्यो । पदको प्रकृति र कदका दृष्टिले मेरोभन्दा अलिक होलो थियो उहाँको जागिर । म बिहानको चियाखाजा बनाउँथें; साँझको खाना आमा तयार पार्नुहुन्थ्यो । भान्छा, बरन्डा, आँगन र बगैंचामा मेरोभन्दा बेसी आमाका हात चल्थे ।
“कति चल्छ्यौ कमलकी आमा तिमी ? याजीलाई पनि अह्नाऊ न ! यसो घरधन्दा, बारीमा याजीलाई सघाउन भन !” आमाको हैरानी र धपेडी देखेर हुनुपर्छ, छिमेकी काकी आमालाई यसो भन्नुहुन्थ्यो ।
“म अहिल्यै बुढी भइसकँ भन्ने ठानेको ? यति काम गर्न सक्दिनँ सोचेछ । हातगोडा तगडै छन् । याजीलाई कामको धपेडी छ । म कामबाट अलिक छिटो आइपुग्छु । मलाई फुर्सद भएरै गरेकी हुँ ।” यसो भन्दाभन्दै मानौँ आमाका अनुहारमा बाबर पाक्थ्यो । यसो भनेर आमा अनुहारमा बाबर पकाउनुहुन्थ्यो । सेतो, फराकिलो, नरम र स्वादिलो बाबर । आमाको अनुहार जस्तै हृदय पनि उज्यालो थियो । मैले आमालाई अँधेरो रङमा कहिल्यै देखिनँ । अपवादमा एक पटक बाहेक । सायद एउटा विषादपूर्ण समय थियो त्यो । त्यस यता आमा पर परसम्म फैलिएको निलो आकाश सफा र शान्त देखिनुहुन्थ्यो । आमालाई देख्दा मेरो हृदयको क्षोभ एक एक गरेर मरेर जान्थ्यो । आमा मेरो उत्प्रेरणाको केन्द्रविन्दु हुनुहुन्थ्यो ।
पहिले म बढारकुढार, सरसफाइ र पकाइतुल्याइ मात्र गर्ने एकदम घरेलु महिला थिएँ । मैले गर्ने काम त्यति नै थिए । दराजमा स्नातक तहको प्रमाणपत्र सुरक्षित राखेकी थिएँ । दराजबाट ती प्रमाणपत्र झिकेर दरखास्त हाल्न मलाई आमाले नै उत्प्रेरित गर्नुभएको थियो । त्यस वेला म २५ वर्षकी युवती थिएँ तर मेरो दैनिकीबाट भने आमा आत्तिनुभएको थियो । मेरा लागि हताश समय थियो त्यो । त्यो उमेरमा पनि म साथीसँगीबाट टाढा, आफन्तबाट टाढा र छिमेकीबाट पनि टाढा । त्यतिमात्रै कहाँ हो र ? म आफैंबाट पनि टाढा थिएँ । कौसीमा घन्टौँ अडिन सक्थें । घामको आकार हेरेर, क्षितिजको रङ हेरेर नियालेर घन्टौँ हराउन सक्थें । सीमित दायराभित्र थियो मेरो असीमित एकाकीपन । सायद मेरो यही स्वभाव नै आमाको टाउको दुखाइको विषय बनेको थियो ।
“तिमीले अब जागिर वा व्यवसाय गर्नुपर्छ याजी, यसरी घोत्लिएर हुँदैन ।” आमाले मेरो हातै समाएर भन्नुभएको थियो; नरमसँग र मायालु स्वरमा !
आमा मलाई कतै कुनै काममा व्यस्त राख्न चाहनुहुन्थ्यो । उहाँको हातमा पत्रिका थियो । त्यसको तेस्रो पृष्ठको पुछारमा जागिरका लागि दरखास्त आह्वान गरिएको थियो । घरेलु कामदार व्यवस्थापनको कार्यालयमा सहायक व्यवस्थापक पदको विज्ञापन रहेछ त्यो ।
“त्यहाँ विभिन्न मानिस आउँछन्, कामको खोजीमा । मान्छे घर घरमा काम खोज्न हिँड्दैनन् अचेल । यस्तै कार्यालयबाट सम्पर्क गर्ने हो । जस्तो कि हाम्रो घरमा काम गर्ने मान्छे राख्नु छ भने हामीले त्यस्तो कार्यालयमा सम्पर्क गर्नुपर्छ । उनीहरूले समय, सेवा सुविधाअनुसारको मान्छे पठाइदिन्छन् । त्यसबापत कमिसन लिन्छन् । आमाले त्यस कार्यालयको कामको प्रकृति र जिम्मेवारीबारे बुझाउनुभएको थियो । त्यसपछि निकै विश्वस्त भएर मलाई कामका लागि निवेदन लेख्न भन्नुभएको थियो ।
दुई वर्षअगि
कार्यालय रहेको भवन चोकको दाहिने मोडमै थियो । जम्माजम्मी चार तलाको खरानी रङको भवन थियो त्यो । जागिरका लागि निवेदन र प्रमाणपत्र बोकेर म दोस्रो तलाको एउटा कोठामा पुगें । मूल ढोकाबाट प्रवेश गर्नेबित्तिकै प्रतीक्षा कक्ष थियो । त्यससँगै अरू तीनओटा कोठा थिए ।
त्यस दिन मैले हरियो रङको कुर्थासलवार लगाएकी थिएँ । कपालको जुरो फुकाएकी थिएँ । अगाडिको स्यागी कपाललाई अनुहारमा छरिन दिएकी थिएँ । यो शैलीले मेरो चेप्टो अनुहार लाम्चो देखिन्थे । म आफूलाई विश्वस्त देखाउन चाहन्थें ।
“के म भित्र आउन सक्छु सर ?” मैले सक्दो नरम आवाजमा अनुमति मागें । सुरज कुमार, प्रमुख व्यवस्थापक । ढोका अलिकति घचेडें । “आउनुहोस् !” भित्रबाट भद्र आवाज आयो । म भित्र पसें ।
निलो रङका भित्ता छन् ! पूर्वपट्टिको भित्तामा चकलेटी खापा भएको भ्याल छ र त्यसले बैजनी तर पारदर्शी पर्दा ओढेको छ । उत्तरपट्टिको भित्तामा घडी छ र त्यस घडीको देब्रेतर्फ मनमोहक चित्र टाँगिएका छन् । त्यहाँ भएका झरना, ढुङ्गा, घाँस आदिका चित्र निकै कलात्मक थिए । तिनै चित्रको ठिक मुनि खरानी रङको पाइन्ट र निलो चेक सर्टमा सजिएका भेटिए व्यवस्थापक । भर्खरै अमिलो पसाउन लागेका भोगटे जस्तै पुक्क परेका उनका गाला । उनका चिम्सा आँखा भने गहिरो खाडलभित्र पसेका जस्ता देखिन्थे । उनको बडेमाका निधार र दुई हातले एकसाथ सोहोरेर पछाडि हुत्याए जस्तो शैलीको कालो कपाल छ । मध्यम आकारको दुई फक्लेटा परेको चिउँडो छ र कोदाको पिठो जस्तो अनुहारको छालाको रङ छ ।
“कमल पनि यस्तै शैलीमा कपाल राख्थ्यो । चिउँडाको बुनोट र आँखाका आकार लगभग मिल्दा रहेछन् ।” क्षणभरलाई म एकोहोरिएछु ।
“बस्नुहोस् !” म उभिएको देखेर व्यवस्थापकले अनुरोध गरे ।
धन्यवाद !
नाम ?
याजी ।
बसाइ ?
सल्लेरीटार ।
हामीबिच करिब १५ मिनेट संवाद भयो । त्यसै दिन थाहा भयो, सुरज सञ्चालक पनि हुन् र व्यवस्थापक पनि । भोलिपल्टदेखि मैले सहव्यवस्थापकको जिम्मेवारी सम्हाल्ने भएँ । मैले अनुहारमा जति सक्दो गुलाफ फुलाएँ ।
अब मेरो दिनचर्याको अनुहार बदलियो । मेरो दैनिकी छाँटियो । बिहानको नास्ता गरेर म कार्यालय निस्कन्थें । पकाउने काम पूर्णतया आमाको भागमा पर्यो । म कामबाट फर्किंदा साँझ अबेर हुन्थ्यो । शरद र शिशिरका दिनमा रात नै पर्थ्यो । कार्यालयमा सुरज सर, भाइ, मलगायत अन्य कर्मचारी थियौँ । त्यो भाइले कार्यालयको ढोका खोल्थ्यो, कोठा सफा गर्थ्यो, पानी तताउँथ्यो ।
कार्यालयमा घरेलु कामका लागि मानिस सम्पर्कमा आउँथे । म तिनीहरूको व्यक्तिगत विवरण लिन्थें । कम्प्युटरमा डाटा राख्थें, डकुमेन्ट बनाउँथें र सुरज सरलाई जानकारी गराउँथें । सहरमा कामदारको माग बढ्दै गएको थियो भने विश्वासिलो कामदारको आपूर्ति हाम्रो जिम्मेवारी थियो । सुरज सर यस विषयमा एकदम सचेत हुनुहुन्थ्यो । कामदारको माग गर्ने घरधनीका बारेमा उत्तिकै सचेत र गम्भीर पनि ।
एक पटक एक जना महिला कामको खोजीमा कार्यालयमा आएकी थिइन् । निलो ओठ भएकी, कपाल घुमुर्किएर काँधमै हराएको जस्तो र कचौरा जस्तै कान एकदमसँग खुम्चिएका । शरीरको छाला चुन जस्तो निक्खर सेतो र फुस्रो देखिन्थ्यो । गहिरो तलाउ जस्ता हरिया आँखा थिए । गालाका हाड घोच्लान् जस्ता पटुस्स उक्सिएका ।
“तपाईंको नाम ?”
“शन्तमाया ।” दुई हात जोडेर नमस्कार भावमा जबाफ दिइन् ।
“यहाँ कसले भनेर आउनुभएको ?”
“सुनमायाले भनेकी, मेरी साथी । पहिले हामीसँगै ज्यामी काम गरेका । उसले राम्रो घरभित्र काम गारेको मोइले थाहा पायो । त्यस्तै घर पायो भने मो नि गार्छु । बाहिर ता डार लाग्छ, घामको, पानीको, ठेक्दारको । उसैले ता हो यता जाऊ भानेको । जासारी भाए नि मोलाई काम मिलाइदिनु मिस ।” पात जसरी हल्लिरहेको थियो शन्तमायाको शरीर ।
शन्तमाया २३ वर्षको हुँदा उनको श्रीमान् बितेका रहेछन् । श्रीमान् बितेको १३ दिनदेखि ज्यामी काममा हिँडेकी रहिछिन् । उफ् कठैबरा ! उनी शारीरिक रूपले अत्यन्तै कमजोर देखिन्थिन् ।
मैले शन्तमायाको व्यक्तिगत विवरण बनाएँ ।
नाम : शन्तमाया तामाङ
उमेर : ३० वर्ष
सन्तान : एक छोरा, एक छोरी
ठेगाना : भोर्ले गाउँपालिका, ३
एक हप्तापछि शन्तमायाले काम गर्न थालिन् । उनले काम गर्ने घर सेवानिवृत्त डाक्टर दम्पतीको थियो । घरमा दम्पती मात्रै थिए । दुई भाइ छोरा देशबाहिर गएका थिए । फराकिलो कम्पाउन्ड र बगैंचा । साढे दुईतले घर । ती दम्पतीलाई घर व्यवस्थापनमा सकस थियो । बगैंचामा चल्ने मिहिनेती हातको खाँचो थियो । भान्छामा, बाथरुममा र कौसीमा जताततै चल्ने छरिता पैतालाको आवश्यकता थियो । समग्रमा इमानदारिताका साथ काम गरिदिने कामदारको आवश्यकता थियो । हाम्रो अफिसमा दम्पती नै आएका थिए । उनीहरूले महिला कामदारलाई प्राथमिकता दिएका थिए । शन्तमायाको व्यक्तिगत विवरण हेरेर उनीहरू खुसी भएका थिए । शन्तमायाले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म त्यही घरमा काम गर्न थालेकी थिइन् । उनी पनि डाक्टर दम्पतीले उपलब्ध गराएको पारिश्रमिकमा खुसी थिइन् । त्यसमापि पनि चाडबाडमा थप रकम र कपडा पाउन थालिन् शन्तमायाले ।
एक पटक शन्तमाया हाम्रो कार्यालयमा आएकी थिइन् ।通को अनुहारमा चिल्लोपन बढेको थियो । शरीरमा हेर्नु हुने गरी मासु पसेको थियो । गालाका हाड पुरिन लागेका थिए । निधारमा बडेमाको कालो मखमली टीका लगाएकी थिइन् ।
“याजी तिमीलाई हरियो कुर्था र टीका खुब सुहाउँछ ।” कुनै दिन सुरज सरले भनेका थिए । त्यस दिन मैले आफूलाई निकै हलुका महसुस गरेकी थिएँ । जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दोरहेछ । मैले त्यस दिन आभास गरेकी थिएँ ।
“अहो ! तपाईं त अझै राम्री देखिनु भएछ ।” मैले जिस्कँदै भनें । शन्तमाया थोरै लजाइन् । ओढिरहेको पछ्यौराको छेउ गाँठो पार्न थालिन् ।
“मोइले ब्या गारें मिस । उसले मोलाई धेरै माया गार्छ । मो काम गार्ने घरमै ड्राइभर काम गार्छ ।” शन्तमायाले आधा घण्टामा वर्ष दिनको घटना अगाडि पछाडि गरेर सुनाइन् । खुसी हुनुको कारण अर्को पनि थियो । डाक्टर दम्पतीका ड्राइभर रहेछन्, नुवाकोटका सानु तामाङ । उनी ४१ वर्षका रहेछन् । सानु तामाङकी श्रीमती तीन वर्षअगि बितेकी रहिछन् । दुई छोरीका बाउ सानुसँग शन्तमायाले बिहे गरिछिन् । व्याकरण नमिले पनि शन्तमायाको प्रस्तुतिमा लय मिलेको थियो, जीवनको लय । एक्लो हुँदाको अनुभव, हैरानी र अभावका छन्द भङ्गका बिच अहिलेसँगै हुँदाको अनुभवको सुरिलो लय । सानुसँगको संसर्गले दिएको चिरन्तन खुसी । कहिलेकाहीँ हुने खटपटले दिएको क्षणिक पीडा । कहिले स्वादिलो छेडखानी त कहिले गहिरो मायापिरती । यस्तै यस्तै …. ।
पुसको महिना, घाम दिउँसो मात्र क्षितिजमा झुत्ती खेल्न पुग्छ । साँझ हुँदा नहुँदै झमक्क रात पर्छ । कार्यालयको भित्तामा समय लगातार उकालो उक्लिरहेको थियो । अगिपछि त्यो उक्लेर पाँचमा पुग्दा पनि मलाई हतारो लाग्दैन थियो तर आज चार बजेर पन्ध्र मिनेट हुँदा म अधैर्य भएँ । म जुरुक्क उठें । सुरज सरको कोठाको ढोका ठेलें ।
“याजी, डिनरमा जाने होइन ?” सुरज सरले हाँस्दै सोधे ।
“उम ।” मैले टाउको हल्लाएँ । दुई पटक चिउँडाले छाती छोउँला गरी । म सुरज सरको टेबुलअगाडि ठिङ्ग उभिएकी थिएँ ।
“तिमीले आज आमालाई भनिनौ ? साँझ बाहिर खाना खाएर आउँछु भनेर ।” यो प्रश्न सोधिरहँदा सुरज सरको अनुहारमा हैरानी देखिन्थ्यो ।
“वर्ष दिन भइसक्यो । तिमीले अब खुलस्तसँग आमालाई भन्नुपर्छ । हाम्रो सम्बन्धलाई निकास त दिनैपर्छ ।”
पछिल्लो दुई महिनादेखि सुरज सर लगातार यसै भनिरहेका थिए तर मेरो मनमा आतङ्कको तुवाँलो मडारिरहेको थियो । आमाले कति विश्वासले जागिर खान पठाउनुभएको छ । म भने सुरजसँग प्रेममा छु । आमालाई कसरी भन्ने यस्तो कुरा ? भनिहालें भने के सोच्नुहोला ? कसरी सामना गर्ने त्यो परिस्थितिको ? यही रिले सोचाइले मेरो टाउको रिङ्गाइरहेको थियो ।
“आज भन्छु । जसरी पनि ।” मैले छोटोमा उत्तर दिएँ । सुरजको अनुहारमा गुलाफी रङ छरियो । सुरज र म नन्तरैको रेस्टुराँमा खाना खाएर फर्कियौँ ।
घर पुग्दा रातको साढे आठ बज्यो । बरन्डामा स्कुटी पार्क गरें र घरभित्र पसें । आमा बैठक कोठामा हुनुहुन्थ्यो । उहाँको हातमा टिभीको रिमोट थियो । दाहिने हातको बुढीऔंलाले किचिक्किचिक पारेर रिमोट थिचिरहनुभएको देखें । म एक पटक फिस्स हाँसँ तर आमा एक पटक अलिकति पनि हाँस्नुभएन । म सरासर सुत्ने कोठामा पसें । कपडा परिवर्तन गरें, बाथरुम पसें र हातमुख धोएर निस्किएँ । आमाको हातको औंलो अझै टिभी रिमोट थिच्न व्यस्त थियो ।
“आमा, रिसाउनुभयो ? आज साथीहरूले साहै कर गरे । उनीहरूसँगै बाहिरै जन्मदिन मनाउन बाध्य भएँ, क्षमा गर्नुहोला !” रिमोट समाइरहेको आमाको हात च्याप्प समाएर मैले भनें ।
“तिम्रो जन्मदिन भनेर मैले मिहिनेत्ले भान्छा तयार गरें । आज मात्रै होइन तिमीले धेरै पटक यस्तो गरिसक्यौ ।” आमाका आँखाका परेला पर्लकपर्लक भए । आँसुका ससाना ढिक्का देखिए ।
“आमा, मैले निकै दिनदेखि तपाईंसँग झुट बोलिरहें । साँच्चै भन्नुपर्दा म प्रेममा छु, कसैसँग । आज ऊसँगै खाना खाएर फर्किएकी हुँ । ऊ मसँग बिहे गर्न चाहन्छ ।” मैले एकै सासमा भनें । भएभरको साहस बटुलेर ।
आँखाहरू भने लज्जाबोध गर्दै भुइँमा झरिहाले । आमाको अनुहार कस्तो देखियो ? मैले हेर्नै सकिनँ । अब आमाले के भन्नुहुन्छ ? मेरो उकुसमुकुस बढेर आयो । निकासका लागि मेरा आँखा बग्न थाले । आमाले हठात् मेरो हातबाट आफ्नो हात छुटाउनुभयो । रिमोट थिचेर टिभी बन्द गर्नुभयो । कोठामा हामी दुईको सुक्कँसुँक्क टड्कारो सुनियो । त्यसपछि कोठामा निकैबेर शून्यता छायो । बिस्तारै आमाले टाउको उठाउनुभयो । मेरो चिउँडो उचाल्नुभयो । आमाका आँखा भने एकाग्रताका साथ भित्तामा टाँसिएका थिए । भित्तामा हाँसिरहेको फोटो थियो कमलको ।
“याजी, त्यो दुर्घटनामा कमल नबितेको भए तिमी मेरो बुहारी नै रहन्थ्यौ । अहिले तिमी मेरो छोरी हौ । म महसुस गर्न सक्छु एक्लो बाँच्न कति सकस हुन्छ भनेर । मैले कमलको बुबाबिना बिताएको यो १९ वर्षले बोध गराएको छ । म बुझ्छु तिम्रो मनस्थिति । तिमी ऊसँग भावी जीवन बिताउन तयार छ्यौ भने मैले रोक्ने कुरै छैन । तर एउटा सर्त छ ।” आमाले अगिपछि भन्दा मसिनोसँग भन्नुभयो । निकैबेर सम्म मेरो टाउकामा आमाका हात सल्बलाइरहे ।
यो अप्रत्यासित परिस्थितिले म अवाक् भएँ । कमल मेरो अमूल्य रत्न थियो । जो मैले हेर्दाहेर्दै विलीन भएर गयो, सपना जस्तो । एक झमक निदाएर बिउँझदा मसँग कमल थिएन । उसको यादले मेरो छाती गहुङ्गो भएर आयो । त्यो दिन मेरो जीवनको सबैभन्दा भयानक दिन थियो । त्यो आँधीबेहरी र हुरी जस्तो समय । अचानक कताबाट चल्यो । मेरो सुन्दर संसार तहसनहस पार्यो । कमल कार्यालयबाट फर्कंदा भएको त्यो मोटरसाइकल दुर्घटना । उफ् ! ऊसँग मैले छोटो समय व्यतीत गरें । छोटो समयमै गहिरो माया दिएर ऊ गयो । कमलको अनुपस्थितिले दिएको छटपटी असह्य थियो । निकैपछि मैले सुरजमा कता कता कमलको प्रतिछाया भेटें । सुरज मेरो प्यारो कमलको आभास लिएर जीवनमा आए । मभित्र कतै फेरि एक पटक बाँच्ने चाहना जागृत भएको छ ।
“म सारा सर्त मान्छु आमा ।” म भक्भकाएँ ।
“तिमी दुई जना बिहेपछि पनि मसँगै बस्नुपर्छ । यो बुढेसकालमा आमालाई छाडेर जान पाउन्नौ ।” आमाले मेरो चिउँडो उचाल्दै भन्नुभयो । उहाँका आँखा ओभाएका थिए । खुसी घाँटीमा अड्किए जस्तो भयो । बोल्नै गाह्रो भयो । मैले आमालाई गम्ल्याङ अँगालो हालें । आमाको छातीबाट न्यानो प्रसार भएर मेरो भित्र हृदयमा पुग्यो । म निकै बेरसम्म अँगालोमै बेरिइरहें । मेरो हिक्क झन् झन् बढेर आयो ।
आमासँगको मातृवात्सल्यको अभिनव आयाममा म प्रेमको महासागरमा डुबिरहेकी थिएँ ।
शब्दार्थ:
आभास : भान, झझल्को
सिनित्त : केही नरहने गरी हटाइएको, समाप्त गरिएको
धपेडी : काम वा अत्यधिक परिश्रमबाट हुने थकान
क्षितिज : पृथ्वी र आकाश जोडिएको जस्तो देखिने स्थान
सकस : सास्ती, दुःख
पारिश्रमिक : परिश्रम वा कुनै काम गरेबापत दिइने धन, ज्याला
अथाह : धेरै, अगाध
चिरन्तन : प्राचीनकालदेखिको, पुरातन
अभिनव : नवीन, आलो
