उज्यालो यात्रा कविता पाठ पढ्नुहोस् ।
पाठ १: उज्यालो यात्रा
लेखक: रामप्रसाद ज्ञवाली
मूल पाठ:
कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन
घोटिएर सयौंपल्ट दाउरो बन्छ चन्दन ।
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब ।
जसका कर्मले बन्छन् जिन्दगी हँसिला सुखी
अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी ।
ईष्यद्वेिष हटाएर जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
जसका भावना हाँस्छन् मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।
जसका कर्मले लिन्छन् उच्च जीवनका पथ
तिनैका पथमा हिँड्छन् मान्छेहरू सगौरव ।
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।
लोभलालचमा छैनन् जसका मनमस्तक
जो सदैव हुने गर्छन् त्यागका निम्ति उद्यत ।
उदात्त कर्मको यात्रा गर्छन् जो सधैं सधैं
आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।
यस्तो आदर्श यात्रामा कहिले चलूँला नि म ?
चन्द्रसूर्य बनी आफैँ कहिले बसुँला नि म ?
आफ्नै पौरखले बाटो कहिले खनँला नि म ?
सर्वोच्च कविता आफैँ कहिले बनूँला नि म ?
शब्दार्थ:
- नन्दन : स्वर्गको बगैंचा
- सङ्कल्प : कुनै काम, इच्छा आदि पूरा गर्ने अठोट, दृढ निश्चय
- द्वेष : डाह, शत्रुता
- सौरभ : सुगन्ध, सुवास वा बास्ना
- रागिनी : सङ्गीत शास्त्रअनुसार स्वर र गायन प्रक्रियाद्वारा सुन्दर र आकर्षक ध्वनिको विशेष संयोजन
- मनोहर : मनलाई लोभ्याउने खालको, आकर्षक
- मस्तक : माथ, शिर
- उद्यत : तयार भएको, तत्पर
- उदात्त : महान्, उदार
- पौरख : कमाइ, आर्जन
