मनोवाद लेखनको नमुना – पहिलो पटक एस्.ई.ई. परीक्षाको तयारी
पहिलो पटक एस्.ई.ई. परीक्षाको तयारी
स्थान: सुत्ने कोठा
समय: रातीको १० बजे
पात्र: सुबोध
(सुबोधको घर गोरखा जिल्लाको सदरमुकाम नजिकै छ। ऊ अहिले आफ्नो परिवारसँग गोरखामा बस्छ। ऊ कक्षा १० मा अध्ययनरत विद्यार्थी हो। भोलिदेखि उसको एस्.ई.ई. परीक्षा आरम्भ हुँदै छ। त्यसैले अहिले उसको मानसपटलमा अनेकौं कुराहरू खेलिरहेका छन्।)
अहिलेसम्म त विद्यालयभित्र मात्र परीक्षा दिने अनुभव थियो। तर भोलिदेखि भने मेरो जीवनकै पहिलो राष्ट्रिय स्तरको एस्.ई.ई. परीक्षा सुरु हुँदै छ। यो मेरो भविष्य निर्माण गर्ने एउटा महत्त्वपूर्ण खुड्किलो हो र भोलिबाटै मैले आफ्नो लक्ष्यतर्फको पहिलो पाइला चाल्दै छु।
साँच्चै! भाग्य बलियो भए मानिसले संसारका जुनसुकै कठिन चुनौतीलाई पनि सहजै सामना गर्न सक्छ भन्छन्। (आफ्नो भाग्यको बारेमा घोत्लिँदै) मेरो भाग्यले मलाई कत्तिको साथ देला? यदि मेरो भाग्य बलियो रहेछ र मिहिनेतले रङ्ग ल्याएछ भने म यो परीक्षामा पक्कै उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेछु। यो एस्.ई.ई. परीक्षामा राम्रो नतिजा ल्याउन सकेँ भने भोलिका दिनमा जीवनमा आउने अरू जुनसुकै ठूला परीक्षा र अवरोधहरूलाई पनि सहजै पार गर्न सक्ने आत्मविश्वास बढ्नेछ। त्यसपछि म आफ्ना सपनाहरूलाई साकार पार्दै सफलताको शिखरमा पुग्न सक्नेछु। (मनमा अलिकति डर पैदा गर्दै) तर कदाचित् यो परीक्षा बिग्रियो वा म असफल भएँ भने मेरो आगामी जीवन कता मोडिइला? मेरो सम्पूर्ण भविष्य नै अन्योलमा पर्न सक्छ। (आफ्ना आमाबुबा र गुरुहरूलाई मनमा सम्झँदै) त्यस्तो अवस्था आएमा म कसरी आमाबुबा र शिक्षकहरूको अगाडि उभिन सकूँला? उहाँहरूलाई कुन मुख देखाउने होला? आमाबुबाले कति धेरै कष्ट झेलेर, दिनरात पसिना बगाउँदै मेरो स्कुलको शुल्क तिर्नुभएको छ। उहाँहरूको यत्रो त्याग र लगानी हुँदाहुँदै पनि यदि मैले सोचेजस्तो नतिजा ल्याउन सकिनँ भने म उहाँहरूको गुन कहिल्यै तिर्न सक्ने छैन र उहाँहरूले मप्रति राखेको ठूलो आशा एवं भरोसा निराशामा परिणत हुनेछ।
(लामो सास फेर्दै) यो मान्छेको मन पनि अचम्मकै हुदो रहेछ, जे पायो त्यही सोचेर आत्तिने। परीक्षाको डरले म त नचाहिँदा कुराहरू मात्र कल्पना गर्न पुगेछु। यदि मैले वर्षभरि इमानदार भई लगनशीलताका साथ पढेको छु भने परीक्षा बिग्रने कुरै आउँदैन। आखिर यो परीक्षाको पाठ्यक्रम र सोधिने प्रश्नहरू पनि त स्कुलमा दिइने जाँचहरू जस्तै त हुन् नि, बाहिरबाट त केही आउने होइन। (मनलाई बलियो र शान्त बनाउँदै) म दृढ छु कि यस परीक्षामा म अवश्य नै सफल हुनेछु।
(भित्ताको घडीतिर आँखा दौडाउँदै) ओहो! सोच्दासोच्दै रातको १२ बजिसकेछ, अब त ढिलो भइसक्यो। (ओछ्यानमा पल्टिँदै) भोलि बिहानै सबेरै उठेर थप केही नयाँ कुराहरू दोहोर्याउनु पर्छ। मलाई त बिहानको शान्त समयमा पढेको कुरा मात्र दिमागमा राम्ररी बस्छ र चाँडै कण्ठ हुन्छ।
(सुबोध सिरक ओढेर सुत्छ र बिस्तारै निदाउँछ।)
