प्रश्नोत्तर २०८१ पूरै
एसईई नेपाली प्रश्नोत्तर
प्रश्न नं. १. शब्द–अर्थ: शमन–शान्ति, कर्जा–निश्चित अवधिभित्र फिर्ता गर्ने गरी लिइएको रकम वा ऋण, बरियात–जन्ती, नेपथ्य–पर्दा पछाडिको ठाउँ।
प्रश्न नं. २. (क) ‘धरणी’ को पर्यायवाची शब्द धरती हो। (ख) ‘अँध्यारो’ को विपरीतार्थी शब्द उज्यालो हो। (ग) अनेकार्थी शब्द सुर हो। (घ) ‘मानिस’ को समूहवाची शब्द भिड हो।
प्रश्न नं. ३. उखान (आँखामा राखे पनि नबिझाउने): असल र उपयोगी काम गरेर मदनले आँखामा राखे पनि नबिझाउने भन्ने प्रशंसा पाएको छ।
पारिभाषिक शब्द (कर्जा): ऋण लिएपछि समयमै कर्जा भुक्तानी गर्नु आवश्यक हुन्छ।
प्रश्न नं. ४. (क) (अ) विवेकशील (आ) पञ्चामृत। (ख) दुलहादुलही यज्ञमा बसेपछि दुलहीका बाबुले यताउति हेरेर भने, “खै, सम्धी पाल्नुभएको छैन ? अब मण्डपमा आएर बसिदिनुभएहुन्थ्यो।”
प्रश्न नं. ५. शब्द–शब्दवर्ग: परिश्रम–नाम, पाउँछन्–क्रियापद, परिश्रमी–विशेषण, तर–संयोजक, उनीहरू–सर्वनाम, अनुसार–नामयोगी।
प्रश्न नं. ६. (क) उपसर्ग लागेका शब्द (निर्माण प्रक्रिया): प्रभाव (प्र+भाव), अभियान (अभि+यान)। प्रत्यय लागेका शब्द (निर्माण प्रक्रिया): सामाजिक (समाज+इक), सांस्कृतिक (संस्कृति+इक)।
(ख) समस्त शब्द (विग्रह): सयपत्री (सयओटा पत्र छन् जसमा)। विग्रहित अवस्था (समस्त शब्द): पूजाको थाली (पूजाथाली)। द्वित्व शब्द (निर्माण प्रक्रिया): ससाना (साना+साना), पालैपालो (पालो+पालो)।
प्रश्न नं. ७. रमेश विदेशबाट घर फर्किएछ। आफ्ना खेतबारीमा आधुनिक कृषि पद्धतिअनुसार तरकारी खेती गरेछ। व्यावसायिक तरकारी खेतीबाट प्रशस्त आम्दानी गरेछ। स्वदेश फर्केर आफ्नै माटामा सुन फलाउन सक्ने प्रेरणा दिएछ।
प्रश्न नं. ८. (क) परीक्षाको तयारी(आज्ञार्थक वाक्य) : बाबु भाइ, परीक्षाको त्रास मनबाट हटाऊ। विगतका प्रश्नको नमुना उत्तर लेख्ने अभ्यास गर। परीक्षामा दिइएको प्रश्न राम्ररी बुझेर पढ। प्रश्न पढेर बुझेपछि उत्तर लेख।
(ख) पुलिङ्गी वाक्यमा परिवर्तन: ऊ काठमाडौँबाट पोखरा गएछ। उसले बाटामा थुप्रै मानिस देखेछ। उसले आफूसँगै बसेको एक जनालाई साथी बनाएछ। उसले लैङ्गिक अधिकारका बारेमा कुरा गरेछ।
प्रश्न नं. ९. (क) ऊ गीत गाउँछ र नाच्छ। (ख) म त विद्यालय गएँ। (ग) आमाले उनलाई खाजा खुवाउनुहुन्छ। (घ) आमाले सबैले असहायलाई सहयोग गर्नुपर्छ भन्नुभयो।
प्रश्न नं. १०. (क) त्यस दिनको जस्तो कुटामारी सधैँ भएको थियो। (ख) आपसमा अधिकरण कारक र सप्तमी विभक्ति। (ग) उद्देश्य: कृष्ण राय, विधेय: भए। (घ) जुन झगडामा तिनी मध्यस्थ भए त्यस झगडामा तिनले गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान्।
प्रश्न नं. ११. बोध प्रश्नोत्तर: (क) निबन्धमा सूचना, विचार वा अनुभूतिको व्यवस्थित र क्रमिक अभिव्यक्ति हुन्छ। (ख) कुनै विषय वा शीर्षकमा रहेर आत्मनिष्ठ वा वस्तुनिष्ठ विचार र अनुभूतिको सिलसिला मिलाएर गद्य लेखन गरेपछि निबन्ध रचना हुन्छ। (ग) वस्तुपरक निबन्धमा विषयको वस्तुपरक दृष्टिकोण र सूचनामूलकता तथा आफू वरिपरिको जीवन र सामाजिक विचार जस्ता विषयवस्तु रहेका हुन्छन्। (घ) निबन्ध लेखकको निजी विचार र अभिव्यक्तिमा आधारित हुने भएकाले नै निबन्धलाई स्वतन्त्र रचना भनिएको हो।
प्रश्न नं. १२. कथा लेखन
कागको बुद्धि
मेरो गाउँ नजिक समीको रुखमा एउटा काग बस्छ। त्यो अति बाठो छ। हिजो घाममा तिर्खाले आकुलव्याकुल भएर त्यो पानीको खोजीमा हिँडेछ। पानीको खोजीमा उड्दा उड्दा ऊ साथीको घरमा पुगेछ। उसले साथीलाई तिर्खा लागेको कुरा बताएछ तर साथीको घरमा पनि पानी नभएकाले साथीले उसलाई पानी खुवाउन सकेनछ। काग तिर्खाले छट्पटाउँदै त्यहाँबाट पनि उडेछ। त्यो काग उड्दै मेरो घर नजिक आइपुग्यो र बाहिर पानीको गाग्रो देखेर मेरै घरतिर आएर गाग्राको मुखमा बसेछ। काग गाग्रोमा बसेको आवाजले म झस्केँ र बाहिर आएँ। काग निन्याउरो मुख लगाएर बोल्यो, “दाइ, पानी पाऊँ न। म त तिर्खाले मर्न आँटेँ, अनि पानी खोज्दै हिँडेको।” मैले भनेँ, “त्यही गाग्रोमा पानी छ। काग भाइ, घरमा लोहोटा, गिलास छैनन्, कसरी खान्छौ त ?” कागले गाग्राको मुखमा बसेर पानी खान खोज्यो तर त्यसमा आधा मात्र पानी भएकाले उसको मुखको चुच्चो पानीमा पुग्न सकेन। त्यसले यताउति हेर्यो। केही पर एउटा पाइपको टुक्रो देख्यो र भुर्र उडेर उक्त पाइपको टुक्रो लिएर आयो। त्यस टुक्रालाई गाग्रामा छिरायो। आफ्नो मुखमा पाइपको मुख छिराई मुखले पानी स्वार्रस्वार्र पारी तान्न थाल्यो। उसले बुद्धि लगाएर पानी खाई तृप्त भयो अनि आफ्नो बाटो लाग्यो। बुद्धिले काम गर्न सके जस्तोसुकै समस्यालाई पनि समाधान गर्न सकिने रहेछ भन्ने सन्देश यस कथाले दिएको छ।
प्रश्न नं. १२. जीवनी लेखन
राष्ट्रकवि माधवप्रसाद घिमिरे
नेपाली साहित्याकाशका एक चम्किला तारा राष्ट्रकवि एवम् कविवर माधवप्रसाद घिमिरे वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मेका थिए। पिता गौरीशङ्कर शर्मा र माता द्रौपदीदेवी शर्माको कोखमा जन्मिएका कविवर घिमिरेले संस्कृत साहित्यमा स्नातकसम्मको अध्ययन गरेका थिए। पेसागत दृष्टिले कवि घिमिरे गोरखापत्र, इन्द्रेणी र कविता पत्रिकाका सम्पादकसमेत बन्न सफल भएका थिए। साहित्य आरम्भ गर्ने क्रममा नेपाल एकेडेमीका लेखक साथै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् उपकुलपति हुँदै कुलपति हुने अवसरसम्म उनले पाएका थिए। उनका सुप्रसिद्ध कृतिहरू नवमञ्जरी, घामपानी (कवितासङ्ग्रह), किन्नरकिन्नरी, सुनपङ्खी चरी (गीतिसङ्ग्रह), गौरी, राजेश्वरी, पापिनी आमा आदि (खण्डकाव्य), शकुन्तला, मालती मङ्गले आदि (गीति नाटक) छन्। उनी नेपाली गीत र छन्दोबद्ध कवितालाई जीवन्तता दिने एक कर्मठ सक्रिय गीतकार र कवि पनि हुन्। उनी प्रकृतिप्रेमलाई विषय बनाएर कविता लेख्ने प्रकृतिप्रेमी कविका रूपमा पनि चिनिएका छन्। उनका कविताहरू परिष्कृत एवम् परिमार्जित छन्। उनका कविताहरूमा कोमलताका साथै भावुकता पनि पाइन्छ। काव्यमा भावुकतालाई स्थान दिन रुचाउने कवि घिमिरेका विभिन्न काव्यहरू निकै उत्कृष्ट छन्।
प्रश्न नं. १२. संवाद लेखन (बढ्दो वातावरण प्रदूषण):
पात्र: जानकी, मिलन र रामदयाल।
स्थान: विद्यालयको चौर।
समय: खाजा खाने समय।
(विद्यालयमा खाजा समयमा कक्षा १० का तीन जना विद्यार्थी बढ्दो वातावरण प्रदूषणको विषयमा कुरा गर्दै छन्।)
रामदयाल: उफ्! हिजोआज कस्तो गर्मी बढेको छ है? मलाई त पोहोरभन्दा अहिले धेरै गर्मी अनुभव भएको छ। पृथ्वीको तापक्रम बढ्दै गएको छ भनेर गुरुले त भन्नुभएको थियो।
जानकी: सवारी साधन र उद्योगहरूबाट निस्किएको धुलो, धुँवा र चर्को आवाजले प्रदूषण बढाएको छ। अनेक प्रकारका विषादी र रासायनिक पदार्थले रोगहरू निम्त्याएको छ। (हात हल्लाउँदै) अनि किन नबढोस् त पृथ्वीको तापक्रम!
मिलन: हो नि।
जानकी: कोइला, दाउरा, पेट्रोल तथा डिजेलको सट्टा जलविद्युत्, सौर्य तथा वायु शक्तिको उपयोग गर्नुपर्छ। पानीका स्रोतहरूमा ढल फोहोर मिलाउनु हुँदैन। विकास निर्माणका काम गर्दा प्राकृतिक वस्तुमा बढी असर पर्न दिनु हुँदैन। विषादीको प्रयोगलाई नियन्त्रण गर्नुपर्छ। यसो गरियो भने पृथ्वीमा वातावरणीय सन्तुलन कायम हुन सक्छ नि!
रामदयाल: भनेपछि यसको नियन्त्रणका उपाय चाहिँ रहेछन् तर यो त पृथ्वीका सिङ्गो मानवजाति नै यस कार्यमा लाग्दा मात्र सम्भव हुने रहेछ नि।
जानकी: हो त रामदयाल! हामी प्रत्येक मानिस जुट्नुपर्छ। बरु अब हामी के चाहिँ गर्न सक्छौं भने आजैदेखि हाम्रो घर तथा समाजमा भएका त्यस्ता प्रदूषण गराउने वस्तुलाई उचित व्यवस्थापन गर्नतर्फ ध्यान दिऔँ न।
मिलन र रामदयाल: (एकै पटक) ल आजैबाट यो काम चाहिँ सुरु गरौं। (घन्टी बज्छ। उनीहरू यसै विषयमा कुरा गर्दै कक्षाकोठातिर लाग्छन्।)
प्रश्न नं. १२. मनोवाद लेखन (शिक्षकलाई गृहकार्य बुझाउन नसक्दा):
पात्र: दयाराम।
स्थान: सुत्ने कोठा।
समय: रातको १० बजे।
(दयाराम श्री भगवती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र हुन्। हिजो नेपाली विषयका गुरुले दिनुभएको गृहकार्य गर्न बिर्सिएकाले आज उनले गुरुलाई गृहकार्य बुझाउन सकेनन्। गृहकार्य गर्न बिर्सिएकामा पछुतो लागेर उनलाई आज निद्रा लागेको छैन।) (पश्चाताप मान्दै) उफ्! हिजो मैले कस्तो गृहकार्य गर्न बिर्सेछु? आजसम्म कहिल्यै यस्तो भएको थिएन। जस्तै व्यस्त हुँदा पनि म गृहकार्य त गरेर बुझाउँथे। (आँखा चिम्लिएर सोच्दै) अरू सबै विषयको गरेँ तर नेपालीको त भुसुक्कै बिर्सेछु। फेरि मलाई त गरे जस्तो पो लाग्थ्यो। अनि गुरुले चाहिँ मलाई किन गाली गर्नुभएको हो नि? अरू वेला त म सधैँ गरेरै जान्थें त! आजसम्म कुनै गुरु तथा गुरुआमाले पनि गृहकार्यको विषयमा गाली गर्नुभएको थिएन। एकछिन त मलाई क्या रिस उठ्यो तर के गर्नु आफैँले गृहकार्य बुझाउन सकेको थिइनँ। आ! (कोल्टे फर्किँदै) तर आज मेरो कक्षामा ठुलो बेइज्जत भयो। गुरुले मलाई पहिलोपटक गाली गर्नु भएको हो, सबै साथीहरूले मलाई हेरिरहेका थिए। आज साथीहरू पनि रमिते भएर बसे। कति त भित्रभित्रै खुसी पनि भए होला। प्रतिस्पर्धी साथीहरू त खुसी नहुने कुरै भएन। अझ गुरुले आन्तरिक मूल्याङ्कनबापतको नम्बर पनि कम दिन्छु भनेर पो धम्क्याउनुभयो। (उठेर बत्ती बाल्दै) मैले आज त गृहकार्य बुझाउन नसकेको हो नि, अबदेखि म कहिल्यै पनि बिर्सन्न। हुन त हो नि, हाम्रो जिम्मेवारी गृहकार्य गरेर विद्यालय जाने त हो नि। जति अभ्यास गर्यो त्यति मलाई नै राम्रो हुन्छ। गुरुले अभ्यासकै लागि कक्षाकार्य र गृहकार्य पनि प्रशस्त दिनुहुन्छ। गुरुवर्गले हामीप्रति कहिल्यै नराम्रो सोच्नुहुन्न। दिउँसो गाली गर्नुभएको पनि मेरै लागि त हो। ‘दयारामको पढाइ अझै राम्रो होओस्’ भन्ने गुरुवर्गको चाहना छ त्यसैले म कतै खराब बाटोमा त जाँदै छैन भनेर पनि उहाँले मलाई चेतावनी पो दिनुभएको हो। उहाँहरू मैले धेरै सिकेको जानेको कुरामा कति खुसी हुनुहुन्छ। उफ्! फेरि मैले गृहकार्य नगरी विद्यालय गएको र गुरुले मलाई गाली गरेको कुरा बुवाआमाले थाहा पाउनु भयो भने त फेरि मैले गाली खानुपर्छ। ओहो! यसरी त हुँदैन। (बिछ्यौनामा पल्टिएर सोच्दै।) अबदेखि म सधैँ गृहकार्य गरेर गुरुहरूकी प्यारी विद्यार्थी बन्छु। सबै जना गुरुहरूको गृहकार्य समयमा नै गरिसक्छु अनि मात्र अरू कुराहरूमा ध्यान दिन्छु। अब आउने परीक्षामा त अझ राम्रो नतिजा ल्याउँछु। कुन कुन गृहकार्य छ भनेर सम्झिएर गर्ने गर्छु। ओहो! आजको नेपालीको गृहकार्य के पो थियो? ला! अलिकति बाँकी पो थियो। भोलि त गर्न भ्याइँदैन। (झोलाबाट नेपाली किताब, कापी निकाल्दै।) आज नै गृहकार्य सकेर भोलि गुरुले नमागी सबैभन्दा पहिले म आफै गृहकार्य बुझाउँछु। (दयाराम नेपाली किताब कापी पल्टाएर भोलि सबैभन्दा पहिले गृहकार्य बुझाउने अठोटका साथ गृहकार्य गर्न थाल्छन्।)
प्रश्न नं. १२. वादविवाद लेखन
विलासी जीवनभन्दा सादा जीवन नै बेस
समादरणीय सभाध्यक्ष, श्रद्धेय गुरुवर्ग, आदरणीय निर्णायक मण्डल, प्रतिस्पर्धी र सहयोगी साथीहरू! आजको वादविवाद प्रतियोगितामा भाग लिने अवसर मिलेकोमा आयोजकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। वादविवादको विषय छ, विलासी जीवन ठिक कि सादा जीवन ठिक। म विषयको सादा जीवन ठिक भन्ने पक्षबाट बोल्ने अनुमति चाहन्छु।
‘सादा जीवन उच्च विचार’ भन्ने कुरा त सबैलाई विदितै छ। विलासीहरूले जीवनको मर्म बुझ्न सक्दैनन्। हामी जति सामान्य जीवन बिताउँछौं उति नै नयाँ नयाँ विचार र वस्तुहरू प्रतिपादन गर्न सक्छौं। विलासी जीवनले मानिसलाई सैतान, दुर्व्यसनी र दुराचारी बनाउँछ। पूर्ववक्ता साथीले भन्नुभयो, एकबारको जुनीमा आफैंलाई बेचेर भए पनि रमाउनुपर्छ। जमाना विलासिताको छ, फेसनको छ तर मेरो विचारमा जीवन धेरै बारको छ, त्यसैले सादा जीवन जिउनुपर्छ। गौतम बुद्धले दरबारिया विलासिता त्यागी सादा जीवन बिताएकाले आज पनि उत्तिकै आदरणीय छन्। महात्मा गान्धीले धोती र भोटोको भरमा विश्व प्रसिद्धि पाए। विलासी मानिसहरूले चरित्र नसुधारी कहिल्यै महान् बनेनन्। जस्तै: चरित्र सुधारेकैले डाकु रत्नाकर पछि गएर महर्षि वाल्मीकि बने। संसारमा विलासी चोरभन्दा साधारण साधुहरूको सम्मान बढी हुन्छ। विलासी जीवनले मान्छेको मूल्यलाई अन्त्य गर्छ। तसर्थ सादा जीवन व्यतीत गरी सभ्यताको परिचय दिनुपर्छ। यति भन्दै मेरो भनाइलाई यहीं विश्राम दिन्छु। धन्यवाद!
प्रश्न नं. १३. व्यावहारिक लेखन (कार्यालयीय चिठी):
श्री जनजागृति माध्यमिक विद्यालय,
भरतपुर १२, चितवन।
मितिः …।
प.स. / च.नं.।
श्री शिक्षा विकास तथा समन्वय एकाइ,
चितवन।
विषयः परीक्षा आवेदन फाराम सम्बन्धमा।
महोदय,
उपर्युक्त विषयमा त्यस कार्यालयको सूचनाअनुसार यस विद्यालयमा शैक्षिक सत्रमा कक्षा १० मा अध्ययनरत ५० जना विद्यार्थीको नियमानुसार परीक्षा आवेदन फाराम भराई फाराम बापतको दस्तुर तोकिएको बैङ्क खातामा प्रतिविद्यार्थी रु. ५०० का दरले जम्मा रु. २५०००। (अक्षरेपि रु. पच्चिस हजार मात्र) गरिएको बेहोरा जानकारी गराउँदै बैङ्क भौचरको सक्कलप्रति यसै पत्रसाथ संलग्न गरी परीक्षा आवेदन फाराम बुझाएको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु।
भवदीय,
श्री भक्ति बानियाँ,
प्रधानाध्यापक।
[खामको नमुना: टिकट। पठाउने: श्री जनजागृति माध्यमिक विद्यालय, भरतपुर १२, चितवन। पाउने: श्री शिक्षा विकास तथा समन्वय एकाइ, चितवन।]
प्रश्न नं. १३. निवेदन लेखन:
मिति: …।
श्री वडाध्यक्षज्यू,
फिदिम नगरपालिका २, फिदिम, पाँचथर।
विषय: फोहोर मैला व्यवस्थापन सम्बन्धमा।
महोदय, उपर्युक्त सम्बन्धमा हाम्रो यस फिदिम नगरपालिकाको रातमाटे टोलमा नियमित रूपमा फोहोरमैला उठाउने गरिएको थियो। हाम्रो टोल सफा सुग्घर पनि थियो तर केही दिनदेखि यस क्षेत्रको फोहोरमैला उठाउने काम रोकिएको छ। फोहोरमैला नउठ्नुको कारण पनि थाहा पाउन सकिएन। सडकका कुनाकाप्चामा जथाभावी थुप्रिएको फोहोरमैलाले टोल नै दुर्गन्धित हुनाका साथै विभिन्न प्रकारका सरुवा रोगको महामारी फैलिने खतरा पनि बढ्दै गएको छ। मानिसहरू दिनदिनै बिरामी पर्ने क्रम बढेको छ। त्यसैले टोल क्षेत्रमा रहेको फोहोर मैला यथाशीघ्र हटाएर हाम्रो टोल सफा राख्ने कार्यमा सघाउ पुर्याइदिनुहुन हार्दिक अनुरोध छ। आशा छ, यहाँले हाम्रो टोलको समस्या बुझेर सकभर छिटो फोहोर मैला हटाइदिनुहुनेछ।
भवदीय, चुरुङहाङ लावती,
रातमाटे टोल, फिदिम नगरपालिका २
फिदिम, पाँचथर।
[खामको नमुना: टिकट। पठाउने: चुरुङहाङ लावती, रातमाटे टोल, फिदिम नगरपालिका २ फिदिम, पाँचथर। पाउने: २ नं. वडा कार्यालय, फिदिम नगरपालिका, पाँचथर, फिदिम।]
प्रश्न नं. १३. व्यावसायिक पत्र लेखन:
राम्दी पुस्तक पसल,
राम्दी ३, प्युठान।
मिति: …।
पत्र सं./
च. नं.।
श्री महाप्रबन्धकज्यू,
साझा बिक्री कक्ष,
भृकुटीमण्डप, काठमाडौं।
विषय: पुस्तक उपलब्ध गराइदिनेबारे।
महोदय,
उपर्युक्त सम्बन्धमा यस राम्दी पुस्तक पसल, प्युठानले विगत लामो समयदेखि तपाईंको साझा बिक्री कक्षबाट पुस्तकहरू झिकाई बिक्री वितरण गर्दै आएको कुरा यहाँलाई अवगत नै छ। अहिले आएर निम्नानुसारका साहित्यिक पुस्तकहरूको माग भएकाले शीघ्रातिशीघ्र उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ। (१) मुनामदन (लक्ष्मीप्रसाद देवकोटा) १५० प्रति (२) जुँगा (हृदयचन्द्रसिंह प्रधान) १५० प्रति (३) अनिंदो पहाडसँगै (पारिजात) १५० प्रति (४) राधा (कृष्ण धरावासी) २५० प्रति (५) गौरी (माधव घिमिरे) १०० प्रति। उल्लिखित पुस्तकहरूको भुक्तानीका लागि त्यस बिक्री कक्षको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ०००००००००००००००१ मा पेस्की स्वरूप रु. १०,०००। (अक्षरेपि दश हजार रुपियाँ मात्र) जम्मा गरेको बैंक भौचरसमेत यसै पत्रसाथ संलग्न गरी पठाइएको बेहोरा अनुरोध गर्दै बाँकी हिसाबकिताब पुस्तकका साथै बिल प्राप्त हुनासाथ मिलान गरिने बेहोरासमेत अनुरोध गर्दछु।
भवदीय,
आकाश मगर, राम्दी पुस्तक पसल प्युठान।
[खामको नमुना: टिकट। प्रेषक: नाम/ठेगाना। प्रापक: नाम/ठेगाना।]
प्रश्न नं. १३. सम्पादकलाई चिठी लेखन:
मितिः …।
श्री सम्पादकज्यू,
गोरखापत्र राष्ट्रिय दैनिक,
धर्मपथ काठमाडौं।
विषय: ध्यानाकर्षण सम्बन्धमा।
गोरखापत्र राष्ट्रिय दैनिक नेपालको शिक्षा, संस्कृति तथा विकासका विविध विषय उठान गर्ने महत्वपूर्ण सूचनाको आधारस्तम्भ हो। यसले नेपालका विभिन्न खाले समस्यालाई उजागर गरी सम्बन्धित निकायलाई विकासका लागि घच्घच्याएको सर्वविदितै छ। यसै सन्दर्भमा ललितपुर महानगरपालिका वडा नं. १५ नमुना मच्छिन्द्र माध्यमिक विद्यालय पूर्वतर्फ रहेको बसपार्क क्षेत्र लामो समयदेखि प्रदूषित बन्दै गएको छ। बसपार्क क्षेत्रमा रातको समयमा स्थानीयले विभिन्न फोहोरजन्य सामग्री लथालिङ्ग फाल्ने गरेको पाइएको छ। जसले यस नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकामा झाडा बान्ताको समस्या देखिन थालेको छ भने बसपार्कमा आउने मान्छेलाई समेत असर गरेको छ। असरल्ल फोहोर तथा त्यहाँको दुर्गन्धित पदार्थले विभिन्न रोगको सिकार हुने क्रम बढ्दो छ। ललितपुर जिल्लाको मुटुमा रहेको यस बसपार्क क्षेत्रको व्यवस्थापनमा वडा कार्यालय र महानगरपालिका आँखा चिम्लेर बसेको देखिन्छ। पटक पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ भएको छैन। जसले गर्दा ‘स्वच्छ सहर महानगरको रहर’ भन्ने नारा नारामा मात्र सीमित भएको छ। कलाको सहर भनेर इतिहास कायम गरेको यो क्षेत्रलाई स्वच्छ सफा राख्नु हामी सबैको दायित्व हो। अतः यस समस्याको शीघ्रातिशीघ्र समाधान होस् भन्दै यसै पत्रिकामार्फत् सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन चाहन्छु धन्यवाद।
भवदीय,
सानुकान्छा महर्जन,
ललितपुर महानगरपालिका वडा नं. १५, लगनखेल, ललितपुर।
[खामको नमुना: टिकट। पठाउने: सानुकान्छा महर्जन, ललितपुर महानगरपालिका वडा नं. १५, लगनखेल, ललितपुर। पाउने: श्री सम्पादकज्यू, गोरखापत्र दैनिक, धर्मपथ, काठमाडौँ।]
प्रश्न नं. १३. समाचार लेखन
(जनज्योति माविद्वारा पाँच जना समाजसेवी सम्मानित):
त्रिवेणी समाचार संवाददाता,
मोरङ, असार २३ गते।
पथरी नगरपालिका, पथरीस्थित जनज्योति माध्यमिक विद्यालयले स्थानीय पाँच जना समाजसेवीलाई शुक्रबार सम्मान गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको हितका लागि विभिन्न समयमा सहयोग गर्नुहुने उहाँहरूलाई विद्यालयले एक समारोहको आयोजना गरी दोसल्ला र सम्मानपत्रसहित ‘जनज्योति समाजसेवा सम्मान’ प्रदान गरेको हो। सम्मानित हुनेहरूमा स्थानीय पुनदेव यादव, नमिता सिंह, रामलखन चौधरी, सन्जय राजवंशी र अनामिका शर्मा हुनुहुन्छ। उहाँहरूले विद्यालयमा दिवा खाजा व्यवस्थापनका लागि आवश्यक भाँडाकुँडा, खाद्यान्न, खाजा खानका लागि निर्माण, दलित र बस्ने ठाउँ निर्माण, जनजाति विद्यार्थीहरूलाई छात्रवृत्ति वितरणलगायतमा सहयोग गर्नुभएको विद्यालयका शिक्षक दीपक पौडेलले जानकारी दिनुभयो। उहाँहरूलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्लेले विद्यार्थीका लागि सहयोग गर्ने समाजसेवीलाई धन्यवाद दिनुभयो। नगरपालिकाले पनि शिक्षाको विकासका लागि प्रयास गरिरहेको भन्दै काफ्लेले शैक्षिक उन्नतिका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनाहाङ राईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वसन्त सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन नेपाली विभाग प्रमुख दीपक पौडेलले गर्नुभएको थियो। प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म सञ्चालित विद्यालयमा हाल ४५५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले नेपाल सरकारद्वारा प्रदान गरिने रु. १५ मा नगरपालिकाको सहयोगमा रु. १० थप गरी हरेक दिन कक्षा ५ सम्मका विद्यार्थीहरुलाई रु. २५ बराबरको दिवा खाजा खुवाउँदै आएको दिवा खाजा व्यवस्थापन उपसमितिका संयोजक रामजनम थारूले जानकारी दिनुभयो।
प्रश्न नं. १३. विज्ञापन लेखन:
भर्ना खुल्यो ! भर्ना खुल्यो ! भर्ना खुल्यो !!!
विगत २५ वर्षदेखि उत्कृष्ट नतिजाका साथ गुणस्तरीय शिक्षा प्रदान गरी देशकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित ललितपुर जिल्लाको लगनखेलमा अवस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रका लागि शिक्षा, मानविकी र व्यवस्थापन समूहतर्फका विभिन्न विषय अध्ययनका लागि कक्षा ११ मा नयाँ भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौं। सिट सीमित छ, चाँडै सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नुहोला।
विद्यालयका विशेषता:
१. गुणस्तरीय शिक्षा,
२. विद्यालय बसको सुविधा।
विस्तृत जानकारीका लागि: श्री नमुना मच्छिन्द्र माध्यमिक विद्यालय।
प्रश्न नं. १३. निमन्त्रणा पत्र लेखन:
श्री सुनखानी माध्यमिक विद्यालय,
सुनखानी, दोलखा।
श्री …….. ज्यू,
हाम्रो विद्यालयले स्थापनाको ५२ औं वर्षको यात्रा पूरा गरेको कुरा अवगत गराउँछौं। यस विद्यालयले शिक्षाको क्षेत्रमा अनवरत् उज्यालो प्रकाश छर्दै आएको कुरा यहाँका सामु घाम जस्तै छर्लङ्ग छ। यस वर्ष हाम्रो विद्यालयले वार्षिकोत्सव कार्यक्रम आयोजना गरी यस विद्यालयको शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्याउनुहुने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको हुँदा उक्त समारोहमा यहाँको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गर्दछौं।
कार्यक्रम: मिति: … ,
स्थान: विद्यालय प्राङ्गण,
समय: बिहान ११ बजेबाट।
प्रार्थी: प्रधानाध्यापक तथा विद्यालय परिवार।
प्रश्न नं. १४. बुँदा टिपोट:
- कर्तव्यभन्दा ठुलो अधिकार पाउनका लागि नेपालमा धेरै सङ्घर्ष र आन्दोलन भएको।
- सङ्घर्ष र आन्दोलनकै कारण हिटलरले समेत हार बेहोर्नुपरेको।
- अधिकारको लडाइँले मुलुकलाई समृद्ध बनाएको।
- स्वतन्त्रता सङ्ग्रामले अमेरिकालाई बलियो बनाउनुका साथै रङ्गभेदविरुद्धको सङ्घर्षले अफ्रिकालाई बलियो बनाएको।
प्रश्न नं. १५. सारांश लेखन
(गङ्गाधरको विशेषता):
गङ्गाधरका जेठा छोरा मुरलीधर पण्डित थिए र कान्छा छोरा श्रीधर राजनीतिक पार्टीका सदस्य थिए। दुई छोरीका बुबा मुरलीधर आध्यात्मिक प्रवृत्तिका भएका कारण परम्परागत पहिरनमा हिँड्थे। मानिसहरू उनलाई टाढा टाढाबाट बोलाएर सप्ताह पुराण सुन्थे।
(अनुच्छेदमा भएका शब्द सङ्ख्या: १०२,
सारांशमा हुनुपर्ने शब्द सङ्ख्या: ३४,
सारांशमा भएका शब्द सङ्ख्या: ३४)
प्रश्न नं. १६. (क)
(अ) सन्दुक रुइत नेपालका लागि मात्र नभएर विश्व मानव जगत्का लागि जीवित भगवान् हुन्। आँखा उपचारका क्षेत्रमा नवीन प्रविधि भित्र्याएर सर्वसुलभ र सस्तो उपचार पद्धतिमार्फत् उनले आम मानिसका आँखामा दृष्टि भर्ने काम गरेका छन्। मोतीबिन्दुको सरल ढङ्गबाट उपचार र रुइतेक्टोमी प्रविधिमार्फत् उनले दृष्टिविहीन र कम दृष्टियुक्त व्यक्तिको सफल उपचार गरेका छन्। संसारभरिका डाक्टरलाई आँखा रोगको उपचारसम्बन्धी प्रविधि सिकाउनसमेत अग्रसर रहेका रुइत विश्वमै परिचित छन्। तसर्थ रुइतेक्टोमी प्रविधिको प्रयोग, मोतीबिन्दुको सरल उपचार पद्धतिको विकास र संसारका डाक्टरलाई आँखा रोगको उपचार पद्धतिका बारेमा सिकाउनु नै उनका सफलता हुन्।
(आ) सन्दुक रुइत आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र नागरिकको सेवामा जुटेका समाजसेवी हुन्। उनले विश्वमै महँगो र जटिल मानिएको आँखा रोगको उपचारका लागि रुइतेक्टोमी नामक आँखा उपचार पद्धतिको विकास गरे। उक्त प्रविधिको विकाससँगै आँखाको उपचार विश्वमै सरल र सहज बन्न पुग्यो। नेपालमा उनले स्थापना गरेको तिलगङ्गा प्रतिष्ठान आँखा रोगीका लागि वरदानसावित भएको छ। उनले बनाएको प्रविधि संसारभर गुणस्तरीय र प्रशंसनीय बन्दै गइरहेको छ। संसारभरिका डाक्टरलाई आँखा उपचार पद्धतिको बारेमा जानकारी गराउँदै आएका छन् तसर्थ उनका यी समग्र कामको मूल्याङ्कन गरी रुइतका कामको प्रचार विदेशसम्म भएको हो।
प्रश्न नं. १७. तार्किक उत्तर लेखन:
साहित्यकार बदरीनाथ भट्टराईद्वारा लिखित ‘घर झगडा’ कथामा कथाका पात्रहरू राजेन्द्रलक्ष्मी र बहादुर शाहबिचको विवादलाई प्रस्तुत गरिएको छ। राजेन्द्रलक्ष्मी पृथ्वीनारायण शाहकी जेठी बुहारी हुन् भने बहादुर शाह पृथ्वीनारायण शाहका कान्छा छोरा हुन्। कथाको सन्दर्भअनुसार पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाहको अल्पायुमै मृत्यु भएपछि नेपाल दरबारमा अढाई वर्षका नाबालक रणबहादुर शाह राजा बनेका थिए। छोरा नाबालक भएको कारण राजेन्द्रलक्ष्मीले राजमाताको भूमिकामा सत्ता सम्हालेकी थिइन्। कथामा व्यक्त विचारलाई राम्ररी केलाउँदा राजेन्द्रलक्ष्मीका अधिकांश काम राष्ट्रियता र स्वाधीनताको पक्षमा देखिन्छन्। उदाहरणका लागि तत्कालीन समयमा श्रीमान्को निधन हुँदा श्रीमती सती जाने चलन थियो तापनि आफ्ना पति प्रतापसिंह शाहको निधन हुँदा उनी सती गइनन्। नाबालक छोरा र राष्ट्रको रक्षा गर्नुपर्ने कारणले गर्दा उनी सती नगएकी हुन्। राजेन्द्रलक्ष्मीले पतिको शोकलाई शक्तिमा बदल्दै नेपाल एकीकरणको अभियानलाई अगाडि बढाइन्। नारी भए पनि वीर सेनाहरूलाई साथमा लिएर यिनले केही चौबिसी राज्यलाई विशाल नेपालमा मिलाइन् र आफूलाई वीराङ्गनाको रूपमा चिनाउन सफल भइन्। भारतको बेतियामा निर्वासित जीवन बिताइरहेका बहादुर शाहलाई राजकाजमा सहयोग गर्न भनी नेपाल बोलाइन्। यी कार्यलाई हेर्दा राजेन्द्रलक्ष्मीले गरेका अधिकांश कार्य राष्ट्रियता र स्वाधीनताका पक्षमा छन् भनी पुष्टि गर्न सकिन्छ। राजेन्द्रलक्ष्मीको एउटै कमजोरी भनेको सत्यतथ्य कुरा नबुझी अरूको बहकाउमा लाग्नु हो। बिचौलिया, भारदारको कुरा सुनेर बहादुर शाह जस्ता निःस्वार्थी व्यक्तिलाई थुनामा राख्नु उनको दुर्बल मानसिकताको परिणाम हो। राजेन्द्रलक्ष्मीले अन्त्यमा बहादुर शाहलाई देश निकालाको निर्णय गर्नु उनको सबैभन्दा ठुलो भूल भए तापनि उनका समग्र कार्यको निष्पक्ष मूल्याङ्कन गर्ने हो भने राजेन्द्रलक्ष्मीका अधिकांश कार्य राष्ट्रियता र स्वाधीनताको पक्षमा छन् भन्न सकिन्छ।
प्रश्न नं. १८. व्याख्या / भाव विस्तार लेखन:
माथिको हरफ ‘लक्ष्मीप्रसाद देवकोटा’ जीवनी पाठबाट उद्धृत गरिएको हो। जतिवेला देवकोटाको कलमको जादु सुरु भयो, त्यतिवेला नेपालमा राणाहरूको निरङ्कुश शासन चलिरहेको थियो। खुलेर साहित्य सिर्जना गर्न नपाइएको त्यो प्रतिकूल समयमा उनको साहित्यकार व्यक्तित्व कहिल्यै मुर्झाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो। उनको कलम साँघुरो सुरुङभित्र सीमित रहेन। मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्किँदै थियो, त्यति वेला उनले पनि विद्रोहको बाटो समाते। उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए। उनले बनारसबाट प्रकाशित हुने ‘युगवाणी’ पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके। उनकै पालामा र उनको पनि संलग्नतामा काठमाडौँमा पुस्तकालय खोली जनतामा राणाविरोधी चेतना फैलाउन खोज्दा राणाहरूद्वारा लाइब्रेरी पर्व पनि घटाइएको थियो। यस्तो अवस्थामा पनि बिजुली वेगमा अनवरत् साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन्। स्वच्छन्दतावादी कवि देवकोटाले निरङ्कुश शासन व्यवस्था हुँदा पनि स्वच्छन्द बनेर सिर्जनामा लागिरहे। राणाहरूको धरपकड, डर धम्की र त्रासका बाबजुद पनि यो तह र सङ्ख्यामा साहित्य सिर्जना गर्नुले देवकोटाको प्रतिभा नरोकिएको स्पष्ट हुन्छ। जसरी महासागरको पानी साँघुरो सुरुङभित्र बग्न सक्दैन, त्यसरी नै राणाहरूको निरङ्कुशताभित्र देवकोटाको प्रतिभा सीमित हुन सकेन। उनको प्रतिभा विश्वभर फैलियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो।
प्रश्न नं. १९. समीक्षात्मक उत्तर लेखन:
नाटककार भीमनिधि तिवारीद्वारा लिखित ‘घरको माया’ देशप्रेमको भावना व्यक्त भएको उत्कृष्ट सामाजिक विषयवस्तुमा आधारित एकाङ्की हो। सामाजिक विषयवस्तुमा आधारित उनका एकाङ्कीमा नैतिकता, इमानदारी, आदर्श व्यवहार र यथार्थ चित्रण पाइन्छ। तिवारीले यस एकाङ्कीमा रोजगारीका लागि विदेश पसेका युवायुवतीको जमघट गराई देशभक्तिको भाव सम्प्रेषण गरेका छन्। सामाजिक विषयवस्तु तथा समस्यामा आधारित ‘घरको माया’ एकाङ्कीमा रहर र अर्काको बहकाउमा लागेर रोजगारीका लागि विदेश जाने प्रवृत्तिलाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ। विदेश पसेका आम नेपाली नागरिकको प्रतिनिधि पात्रका रूपमा लालबहादुर, जमानसिंह, कान्छो र बतासेलाई उभ्याइएको छ। यी पात्रको संवादका क्रममा जमानसिंहले सुरुदेखि नै आफ्नो गाउँ र परिवेशलाई स्मरण गरेको छ। नाताले मित भए पनि कुनै हालतमा देश नफर्कने धारणा राख्ने लालबहादुरको विचारभन्दा जमानसिंहले गाउँको मायाममताको भाव व्यक्त गरेको छ। कान्छो र बतासेसँगको भेटपश्चात् आफ्नो गाउँको वातावरणीय परिवेश र विदेशको वातावरणीय परिवेशको तुलना गर्दै आफ्नै गाउँप्रतिको आकर्षण व्यक्त भएको पाइन्छ। अनपढ तथा उमेरले काँचै भए पनि कान्छाको विदेशमा भाँडा माझेर इज्जत फाल्नुभन्दा गाउँ फर्कने र आफ्नै माटामा जति दुःख परे पनि गर्ने धारणाबाट देशप्रेमको भाव छचल्किएको छ। पोक्चेको लहैलहैमा लागेर गहनापात बेचबिखन गरेर देश पसेकी बतासेको कुरामा उत्कृष्ट देशप्रेमको भाव व्यक्त भएको छ। बतासेको विदेशी भूमिमा अरूको हेलाँहाँसोको पात्र भएर बस्नु भन्दा आफ्नै स्वदेशमा पसिना बहाउनु उचित हुन्छ। एक गेडो मकै मात्र उब्जाउन सके पनि आफ्नै माटामा उब्जाउनु पर्ने विचारले जमानसिंह र लालबहादुरको मनस्थिति बदलिएको छ। विदेशमा परचक्रीको पाउ मोल्नुभन्दा स्वदेशमा भोकै लम्पसार पर्नु बेस हुने धारणा एकाङ्कीमा अगाडि सारिएको छ। हामीले पनि हाम्रा पुर्खाले जस्तै आफ्नै मातृभूमिको सेवामा रमाउनु पर्ने, आफ्नै पौरख र पसिनाले स्वदेशलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने विचार एकाङ्कीमा प्रस्तुत गरिएको छ। यस एकाङ्कीमा रोजगारी र भविष्यको खोजीमा विदेश भासिएका आम नेपाली युवायुवतीलाई स्वदेशमै फर्केर पसिना बगाई स्वाभिमानी जीवन बिताउन प्रेरणा प्रदान गरिएको छ।
प्रश्न नं. २०. निबन्ध लेखन (वन्यजन्तु र वातावरण):
संसारमा अनेक प्रकारका जीवजन्तु छन्। तीमध्ये केही घरपालुवा छन् भने केही वन्यजन्तु छन्। घरपालुवा जन्तुलाई मान्छेले आफूसँगै घरमा पालेर तिनको स्याहारसुसार तथा रेखदेख गर्दै आएको छ। घरमा व्यवस्थित रूपमा पाल्न नसकिने र वनजङ्गलमै रमाउने जन्तुलाई चाहिँ वन्यजन्तु भनिन्छ। वन्यजन्तुको सुरक्षित वासस्थान जङ्गल हो। जमिनमा पाइने जन्तुमध्ये सिंह होस् वा बाघ, हात्ती होस् वा गैंडा, मृग होस् वा बाँदर सबैको सुरक्षित वासस्थान जङ्गल नै हो। जङ्गल वन्यजन्तुको सुरक्षित वासस्थान भएकाले यसको संरक्षण गर्नु नै वन्यजन्तुको सुरक्षा गर्ने प्रमुख उपाय हो। वातावरण संरक्षणको एउटा पाटो जङ्गल संरक्षण पनि हो। ‘वात’ र ‘आवरण’ शब्द मिलेर बनेको ‘वातावरण’ शब्दले वरिपरिको हावापानी भन्ने बुझाउँछ। वातावरणको स्वच्छताबिना कुनै पनि प्राणीलाई जीवन धान्न कठिन हुन्छ। त्यसैले वन्यजन्तुका लागि वनजङ्गल आवश्यक छ र वन्यजन्तुको संरक्षणबाट वातावरण जोगिन सक्छ भन्ने बुझ्न कठिन छैन। वन्यजन्तु र वातावरणको घनिष्ठ सम्बन्ध हुन्छ। एकको अभावमा अर्को पक्षको अस्तित्व सम्भव हुँदैन। त्यसैले वनजङ्गल जोगाएर वन्यजन्तुको संरक्षण गर्नु हामी सबैको दायित्व हो।
