मेरो देशको शिक्षा निबन्ध पाठ पढ्नुहोस् ।
पाठ ९: मेरो देशको शिक्षा
शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ । यसलाई हाम्रो भित्री हृदयको नयन पनि भनिन्छ । यो हाम्रा बाहिरी आँखा अथवा चर्मचक्षुभन्दा पृथक्, महान् र तेजवान् छ । हामीसँग भएको यही ज्ञानचक्षुबाट हामीले शिक्षा आर्जन गछौँ अर्थात् कुनै कुरा सुन्छौँ र सिक्छौँ, समाज र प्रकृतिमार्फत सैद्धान्तिक र व्यावहारिक ज्ञान निरन्तर आर्जन गरिरहन्छौँ । प्रकृति, संस्कृति र सभ्यताका दृष्टिले सृष्टिको उषाकालदेखि सुसम्पन्न मेरो देश आज शिक्षाका दृष्टिले समेत प्रगतिपथतर्फ लम्कँदो छ । शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्छ । यसले समाज र राष्ट्रमा प्रचलित मान्यता र विश्वासलाई मानवताका आँखाले हेर्ने र तिनका बारेमा समालोचनात्मक चिन्तन गर्ने सोच प्रदान गर्छ । यसले सकारात्मक र मूल्यवान् विषयलाई ग्रहण गर्ने र कतिपय असान्दर्भिक कुराबारे आलोचनात्मक दृष्टि राख्ने चेत प्रदान गर्छ । विज्ञान र सूचना प्रविधिलगायत युग सुहाउँदा जे जति नवीन प्रयोग र मान्यता स्थापित भएका छन् तिनलाई आत्मसात् गर्दै समयानुकूल परिष्कृत गर्दै लैजाने काम शिक्षाले गर्छ । अनादि कालदेखि शिक्षाको उर्वर भूमि रहेको मेरो देशको शिक्षाले युगानुकूलका विशेषता ग्रहण गर्दै यो देशलाई समृद्ध बनाउने दिशामा प्रवृत्त छ ।
प्राचीन ऋषिमुनिले अनेकौँ सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिंजाए र मेरो देशको शिक्षालाई आलोकित गरे । वेदव्यासमा ज्ञानको स्फुरण यहाँ भयो र उनले अठार पुराणको रचना गरे । राजा जनकको दरबारमा याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्वान् विदुषीले शास्त्रार्थ गरेर जीवन र जगत्का यथार्थ र रहस्यका पाटा उजागर गरे । ज्ञानको तिर्खाले आकुलव्याकुल भएर घरपरिवार त्यागेका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे । फाल्गुनन्दले किराँत समुदायमा आफ्नो संस्कृतिको उत्थान र संवर्धन गर्न प्रेरणा दिने अनि समाजमा चेतना र जागरण फैलाउने ‘मुन्धुम’ जस्तो ग्रन्थ रचना गरे । यसरी मेरो देशको शिक्षाको प्रवर्धनमा परापूर्व कालदेखि विभिन्न ऋषिमहर्षि र विद्वान्ले विशिष्ट योगदान दिएका छन् । ज्ञानको मूलस्रोतका रूपमा रहेको र श्रुति परम्परामा आधारित अपौरुषेय रचना मानिने चार वेदको शिक्षासमेत मेरो देशको शिक्षाको गौरवमय मुहान हो । वेदमा निहित ज्ञान र शिक्षालाई विभिन्न ऋषिमुनिद्वारा कैयौँ उपनिषद् र सयौं ग्रन्थमा व्याख्या गरिएको मेरो देशको शिक्षाले विश्वलाई नै प्रज्वलित पारेको छ ।
मेरो देशको शिक्षाले अनेकौँ संस्कृति र तिनका मूल्य मान्यता ढकमक्क फुलाउन समयसापेक्ष रूपमा बदल्न अहम् भूमिका खेलेको छ । यसले पूर्वीय ज्ञान र चेतनाको किरण विश्वमा फिंजाएको छ । मेरो देशको शिक्षा आज आफ्नो वास्तविक पहिचान जीवन्त राखेर युगअनुकूलका विज्ञान र प्रविधियुक्त शिक्षालाई आत्मसात् गर्दै अगि बढ्न आतुर छ । बौद्धिक विकास, सभ्यताको परिष्करण र स्तरीय जीविकोपार्जनका लागि शिक्षा नितान्त आवश्यक छ । त्यसैले सनातन पूर्वीय सभ्यता र अनेकौँ मौलिक संस्कृति भएको मेरो देशलाई पूर्वीय ज्ञान तथा पाश्चात्य विज्ञान र प्रविधिसँग हातेमालो गर्दै अझै अगि बढाउनु जरुरी छ । मेरो देशको शिक्षालाई सिपले सुसम्पन्न बनाउने अहिलेको चुनौतीलाई अवसरका रूपमा बदल्नु छ । आज हामीले विभिन्न माध्यमबाट समयसापेक्ष सिप प्राप्त गर्नु छ । पुस्तक, सूचना र प्रविधि, इतिहास, प्रयोग र व्यवहारका माध्यमबाट जीवनोपयोगी सिपयुक्त थप शिक्षा प्राप्त गर्नु छ । म बदलिँदो युगसँगै आफूलाई समायोजन गर्न सक्ने शिक्षा चाहन्छु । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि श्रमलाई आधुनिक प्रविधिसँग जोड्ने शिक्षा आजको आवश्यकता हो भन्ने मैले अनुभूत गरिरहेछु ।
शिक्षालाई भूगोल र पर्यावरण अनुकूल व्यवसायमूलक शिक्षाका रूपमा विकास गर्नुपर्ने आवश्यकता मैले देखेको छु । यसो गर्दा देशमा रोजगारी सिर्जनामा थप बल पुग्थ्यो भन्ने मलाई लाग्छ । कफी र चियाखेती हुने ठाउँका विद्यालयमा तिनको उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिनु वाञ्छनीय हुन्छ । त्यसै गरी स्याउ खेती हुने ठाउँका विद्यालयमा स्याउ खेतीलगायत स्याउबाट जुस, जाम र जेली उत्पादन गर्ने व्यावसायिक ज्ञान र सिपयुक्त शिक्षा आवश्यक हुन्छ । कर्णालीका किसानलाई जडीबुटी पहिचान र प्रशोधनको शिक्षा दिनु सान्दर्भिक हुन्छ । ढोरपाटन, खप्तड र लुम्बिनीका विद्यार्थीलाई पर्यटकीय ज्ञान, सिपका साथै होटल व्यवस्थापनको शिक्षा दिएर स्वरोजगारका अनन्त सम्भावना खोज्न सकिन्छ । जुम्ला, डोल्पा, मुस्ताङ जस्ता जिल्लामा स्याउ खेती, धनकुटा, सिन्धुली, गोरखा जस्ता जिल्लामा जुनार तथा सुन्तला खेतीको प्राविधिक र व्यावसायिक शिक्षा विद्यालय तहमै समावेश गर्न उपयुक्त देख्छु । त्यस्तै झापा, सुनसरी, सिराहा, चितवन, रुपन्देही, बाँके, कैलाली जस्ता समथर भूभाग भएका जिल्लामा अन्नबाली र तरकारी उत्पादनको प्राविधिक शिक्षा दिन सान्दर्भिक ठान्छु । यसो गरेर सिपयुक्त शिक्षालाई प्राथमिकतासाथ अगि बढाउनैपर्छ भन्ने मलाई लाग्छ । यसो भयो भने मात्र आफ्नो सिपअनुकूलका व्यवसाय गरेर आफ्नै देशमा स्वरोजगारका अवसरको सदुपयोग गर्दै विद्यार्थीले यो देशमा पसिना बगाउने अवसर पाउने छन् ।
व्यवसायमूलक शिक्षाका लागि हाम्रो परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि लैजानु बढी सान्दर्भिक देख्छु । कृषिमा आधुनिक प्रविधि तथा अत्याधुनिक औजारको प्रयोग गर्ने व्यावसायिक शिक्षा विद्यालय तहमा नै प्रदान गर्न आवश्यक छ । यसका साथै परम्परागत कृषि औजारका बारेमा पनि ज्ञान र सिप उत्तिकै आवश्यक हुन्छ । यस्ता प्राविधिक ज्ञान र सिप प्राप्त गरेका विद्यार्थी व्यवसाय सञ्चालन गर्न सक्ने गरी आत्मनिर्भर हुन उत्प्रेरित हुन्छन् भन्ने मलाई लाग्छ । शिक्षाको मूल उद्देश्य आत्मनिर्भर शिक्षामा जोड दिनु हो भने आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो ।
मलाई मेरो देशको शिक्षामा सर्वसुलभ रूपमा सूचना प्रविधिरो पहुँच पुगोस् भन्ने लाग्छ । मेरो देशमा विज्ञान र प्रविधियुक्त शिक्षाको थप खाँचो छ । विज्ञान र प्रविधियुक्त शिक्षा नपुगेका गाउँठाउँमा त्यसको पहुँच सर्वसुलभ हुनु जरुरी छ । आजको युग सूचना र प्रविधिको युग हो । शिक्षामा सूचना र प्रविधिले युगान्तकारी परिवर्तन ल्याइदिएको छ । ती परिवर्तनलाई आत्मसात् गर्न सक्ने नागरिक उत्पादनमा जोड दिने शिक्षाको खाँचो छ । आज हामी मोबाइल एप्सबाट गाडी रोक्न, चढ्न र भाडा तिर्न सक्छौँ । जहाजको टिकट काट्न र तीर्थाटन गर्न, रेलको टिकट काट्न सक्छौँ । अनलाइन कारोबार गर्न सक्छौं, अनलाइनबाटै बैङ्क खाता खोल्न र घरमै सामान मगाउन सक्छौँ । आज जागिरका विज्ञापन अनलाइनबाटै खुल्छन् । व्यापार व्यवसाय अनलाइनबाटै गरिन्छन् । घरमा उत्पादन गरेका कृषिजन्य वस्तु अनलाइनबाटै बजारीकरण गरी आय वृद्धिमा सघाउ पुऱ्याउन सकिन्छ । चिठीपत्र विद्युतीय माध्यमबाट प्रेषण गरिन्छ । विश्वभरिको सूचना र जानकारीको अजस्र स्रोत इन्टरनेटभित्रै छ । मेरो देशको शिक्षाले हाम्रा विद्यार्थीलाई यी र यस्ता कुरामा दक्ष बनाउँदै युगीन आवश्यकता र आविष्कारसँग अझै जोड्न सक्नुपर्छ । यति हुँदाहुँदै पनि प्रविधिले हामीलाई दिएका सूचना सबै आधिकारिक, तथ्यपूर्ण र स्वस्थकर नहुन सक्छन्; त्यतातिर सचेत हुन र प्रविधिको दुरुपयोग हुन नदिन सचेतनासमेत आधुनिक शिक्षाले दिन आवश्यक छ । अतः आजका शिक्षित विद्यार्थी सूचना प्रविधिसँग पूर्ण रूपमा परिचित, पोख्त र दक्ष हुनुपर्छ ।
मेरो देशको शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ । यस्तो शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउँछ । मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्दै कुनै कुराका फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ । यसले मानिसलाई नैतिकवान्, सहिष्णु, दक्ष र विवेकशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक र वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिन्छ । ज्ञान र विज्ञानले युक्त शिक्षाआर्जन गर्ने आजका विद्यार्थीमा व्यक्तिगत जीवन र सामाजिक जीवनका बारेमा गहिरो ज्ञान हुने छ । यस्ता विद्यार्थीको व्यक्तित्व विकासमा समेत यसले टेवा पुऱ्याउँछ । मेरो देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ । त्यसैले शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ भन्ने मलाई लाग्छ । त्यस्ता व्यक्तिमा प्रतिकूल परिस्थितिमा शान्त रहने, संवेग र भावनाका विभिन्न अवस्थालाई आफैँ व्यवस्थापन गर्ने र परिस्थितिलाई धैर्यपूर्वक सामना गर्ने विशेषता हुनु जरुरी छ । साथै नेतृत्व गर्ने क्षमता, अनुशासन, सत्य र त्रुटि बुझ्ने क्षमता, निरन्तर सुधार गर्ने क्षमता शिक्षित व्यक्तिमा देखिनु जरुरी छ ।
मेरो देशको शिक्षाबाट दीक्षित व्यक्ति समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गर्न सक्ने हुनुपर्छ भन्ने मलाई लाग्छ । वास्तवमा समालोचनात्मक चिन्तनले कुनै पनि विचार, घटना वा परिवेशलाई आँखा चिम्लेर समर्थन गर्ने कुरालाई सही ठान्दैन । यो हरेक कुरालाई पूर्वाग्रह नराखेर अरूका भरमा मात्र नपरी आफ्नै विवेकका आँखाले हेर्नुपर्ने स्वस्थ चिन्तन हो । आजका समग्र वैज्ञानिक आविष्कार पनि यस्तै समालोचनात्मक चिन्तनकै उपज हुन् । यस्तो चिन्तन नहुँदो हो त न राइट दाजुभाइले हवाईजहाज आविष्कार गर्थे, न त न्युटनको गुरुत्वाकर्षणको शक्ति नै पत्ता लाग्थ्यो । समालोचनात्मक चेत भएको विद्यार्थीले शिक्षकको मतमा पनि प्राज्ञिक बहस गरेको हुन्छ । गुरुका मतमा फरक मत पनि राखेको हुन्छ । यसरी आफ्ना विद्यार्थीले आफैँसँग तर्क गर्दा गुरु गौरवान्वित भएका हुन्छन् । त्यतिमात्रै होइन यस मान्यताअनुसार ससाना बालबालिकाले संस्कृतिका नाममा जरो गाडेर बसेका अन्धविश्वासमाथि वैज्ञानिक प्रश्न गर्न सक्छन् । ती प्रश्न युग सुहाउँदा छन् कि छैनन् भनेर तर्क गर्न पाउने समालोचनात्मक चिन्तन पनि शिक्षाकै एउटा पाटो हो । यस्ता कतिपय विश्वास अन्धविश्वास रहेछन् भन्ने आलोचनात्मक चेतनाको बोध गर्ने शिक्षा मेरो देशको शिक्षाको मूल मर्म हो भन्ने मेरो धारणा छ ।
शिक्षाका क्षेत्रमा हिजोभन्दा आज कैयौँ सकारात्मक कार्य भएका छन् । माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था हुनु, थुप्रै विश्वविद्यालय खोलिनु चानचुने कुरा होइन । उच्च शिक्षा अध्ययन गर्न खर्च बोकेर सहर पस्ने वातावरणको अन्त्य हुनु अर्थात् गाउँ गाउँमा क्याम्पस खोलिनु र उच्च शिक्षा सुलभ हुनु मेरो देशका शिक्षाका लागि गर्व गर्न लायक कुरा हुन् । क्याम्पस र विद्यालयमा इन्टरनेट सेवा जोडिनु, सूचना र प्रविधिमा विद्यालयका विद्यार्थीको समेत पहुँच हुनुले मेरो देशका विद्यार्थीको ज्ञान प्राप्त गर्ने सूचनाको क्षितिज फराकिलो भएको छ । आज देशभरिका विद्यार्थीले सूचना प्रविधिलाई एउटा विषयका रूपमा पढ्न पाएका छन् । विद्यालय तहदेखि कम्प्युटर पाठ्यक्रम र तदनुरूप पाठ्यपुस्तकको व्यवस्था हुनुलाई मैले यो देशको विद्यालयीय शिक्षामा आएको युगीन फड्को ठानेको छु ।
यसरी प्राचीनकालदेखि नै ज्ञानको खानी रहेको मेरो देशको शिक्षाका जगमा राज्यको आर्थिक, भौतिक, प्राविधिक लगानी र दक्ष जनशक्तिका खम्बा ठडिएका छन् । मेरो देशको शिक्षा समृद्धपथतर्फ यात्रारत छ । मेरो देशको शिक्षा व्यावसायिक सिप र समालोचनात्मक चिन्तनले युक्त जनशक्ति तयार पार्न तल्लीन छ । परापूर्व कालदेखि यस पवित्र भूमिमा रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग हातेमालो गर्दै मेरो देशको शिक्षाले सुन्दर यात्रा गरेकै छ । नेपाली माटामा सुन फलाउन यसरी प्राचीनकालदेखि ज्ञानको खानी रहेको मेरो देशको शिक्षा आज आधुनिक वैज्ञानिक शिक्षा प्रदान गर्न आतुर छ । त्यसो त मेरो देशले आफूमा परापूर्व कालदेखि रहेको ज्ञानलाई आधुनिक विज्ञानसँग एकैसाथ सहयात्रा गरेकै छ । नेपाली माटामा सुन फलाउने गरी व्यावसायिक र आधुनिक कृषि शिक्षा दिन मेरो देशको शिक्षामा अझै लगानी र पहुँच विस्तारमा जोड दिनुपर्छ । मुलुकका उत्पादनलाई विश्वबजारमा पस्कने गरी हाम्रा विद्यार्थी उत्पादनलाई संसारमा चिनाउन सक्षम हुने परिस्थिति पैदा गर्नु जरुरी छ । सुदूर विगतदेखि भोजपत्र, धुलौटे पाटी, खरी, चक, डस्टर र मार्कर युगबाट गुज्रेको मेरो देशको शिक्षामा सूचना र प्रविधिको सहज पहुँच पुग्दै छ । यसो भएमा मेरो देशको शिक्षाले आफ्नो मौलिकतासहितको युग सुहाउँदो वैज्ञानिक युगमा थप फड्को मार्ने छ । यसरी मेरो देशमा प्राचीन ज्ञान र आधुनिक विज्ञानसहितको शिक्षा र ज्ञानको नयाँ सगरमाथा खडा हुने छ ।
शब्द र अर्थ (Words & Meanings):
- चक्षु : आँखा, नयन
- अनादि : आदि वा सुरु थाहा नभएको
- शास्त्रार्थ : शास्त्रसम्बन्धी विषयमा गरिने छलफल वा तर्कवितर्क
- विदुषी : विद्वान् महिला
- मुन्धुम : किराँतको धर्मशास्त्र
- अपौरुषेय : कुनै खास व्यक्तिले नबनाएको, अलौकिक
- उपनिषद् : आर्यहरूको दार्शनिक विचारले भरिएको आत्मा परात्माको निरूपण गर्ने शास्त्र
- जीवन्त : जिउँदो वा जीवित
- परिष्करण : कुनै वस्तु वा कुरालाई राम्ररी खार्ने, दोष वा त्रुटि हटाउने काम
- सनातन : धेरै पहिलेदेखि चलिआएको
- प्रशोधन : कच्चा पदार्थलाई खारेर, पेलेर वा पखालेर शुद्ध पार्ने काम
- अनन्त : कहिल्यै नाश नहुने, अनगिन्ती
- औजार : काम गर्ने साधन, हतियार
- उत्प्रेरित : हौसला प्राप्त, उत्साहित
- युगान्तकारी : एउटा युगको अन्त्य गरी अर्को युग ल्याउने
- पोख्त : कुनै काम गर्न दक्ष, सिपालु
- सहिष्णु : पीडा सहन सक्ने, सहनशील
- प्रतिबद्धता : वचनबद्ध भएको अवस्था, कुनै विचार, सिद्धान्त वा वाचा बन्धनबाट बाँधिएको अवस्था
- दीक्षित : दीक्षा वा मन्त्र प्राप्त गरेको
- प्राज्ञिक : प्राज्ञद्वारा सम्पन्न गरिने, दक्षतासम्बन्धी
- भोजपत्र : प्राचीनकालमा लेख्नका निम्ति प्रयोग गरिने पातलो कागज जस्तो पत्रैपत्र भएको एक जातको रुखको बोक्रा
