व्यावसायिक चिठी पाठ पढ्नुहोस् ।
पाठ १०: व्यावसायिक चिठी
शीतोष्ण बागवानी केन्द्र
थाहा नगरपालिका ४
मकवानपुर, बागमती प्रदेश
मिति : २०८०।०५।२०
प.स.
च. न.
श्री शीतोष्ण बागवानी केन्द्र,
घरपझाँङ गाउँपालिका २,
मुस्ताङ, गण्डकी प्रदेश ।
महोदय,
विषय : बिउबिजन उपलब्ध गराइदिने सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा त्यस शीतोष्ण बागवानी केन्द्रबाट हिमाली क्षेत्रका लागि उपयुक्त बिउबिजन तयार गरी बिक्रीवितरण हुँदै आएको कुरा जानकारी भयो । शीतोष्ण बागवानी केन्द्रबाट उपलब्ध हुने फलफूल तथा सागपातका बिउबिजनको मूल्यसूची केन्द्रको वेबसाइटबाट प्राप्त भयो । दामन, टिस्टुङ र पालुङ क्षेत्रका उच्च पहाडी भेकका किसानले मार्फा बागवानी केन्द्रमा उत्पादन हुने त्यहाँको मार्फा रायोको सागको बिउ र अन्य बिउबिजनको माग गरिरहेका छन् । यहाँका किसानले तरकारी र फलफूल खेतीलाई नगदेबालीका रूपमा खेतीपाती गर्दै आएको छन् । नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा यस क्षेत्रको उत्पादन अत्यधिक मात्रामा खपत हुने गरेको छ । यस शीतोष्ण बागवानी केन्द्रले पनि विगत लामो समयदेखि यस क्षेत्रका कृषक दाजुभाइ तथा दिदीबहिनीका लागि कृषिजन्य सामग्रीको बिक्रीवितरण गर्दै आइरहेको छ । त्यसैले त्यस केन्द्रबाट बिक्रीवितरणमा राखिएका तपसिलबमोजिमका बिउबिजन यस केन्द्रमा उपलब्ध गराइदिनुहुन अनुरोध छ :
तपसिल
१. मार्फा रायोको बिउ — १ केजी
२. स्थानीय लसुनको बिउ — १० केजी
३. स्थानीय धनियाँको बिउ — ३ केजी
४. बन्दाको बिउ — ७ केजी
५. काउलीको बिउ — ५ केजी
६. ब्रोकाउलीको बिउ — ६ केजी
७. सिमीको बिउ — ८ केजी
पुनश्च : उल्लिखित बिउबिजन मुस्ताङ ट्रान्सपोर्टबाट उपलब्ध गराइदिनुहुन र सोको बिल भुक्तानीका लागि त्यस केन्द्रको नाममा रहेको बैङ्क खाता नम्बरसहितको विवरण उपलब्ध गराइदिनुहुन अनुरोध छ ।
भवदीय
निर्देशक
उमाकान्त ठाकुर
(चेक/खामको नमुना)
पठाउने: शीतोष्ण बागवानी केन्द्र, थाहा नगरपालिका ४, मकवानपुर, बागमती प्रदेश
पाउने: शीतोष्ण बागवानी केन्द्र, घरपझाँङ गाउँपालिका २, मुस्ताङ, गण्डकी प्रदेश
शब्द र अर्थ (Words & Meanings):
• शीतोष्ण : ठन्डा र गर्मी दुवै मिश्रित
• सङ्घीय : सङ्घ भएको, सङ्घसम्बन्धी
• बागवानी : फलफूल खेती, बगैंचासम्बन्धी
