अभ्यास
शत्रु कथा
कुनै पनि मध्यस्थ दुबै पक्षको समर्थक हुन सक्दैन ।
प्रस्तुत कथांश कक्षा १० नेपाली पाठ्यपुस्तकअन्तर्गत ‘शत्रु’ कथाबाट लिइएको हो। यस कथाका लेखक प्रसिद्ध साहित्यकार तथा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइराला हुन्। यस कथांशमा गाउँको भद्र मानिसका रूपमा झगडा मिलाउने मध्यस्थकर्ताको भूमिका निभाउँदा मुख्य पात्र कृष्ण रायले महसुस गरेको यथार्थ ज्ञानलाई प्रस्तुत गरिएको छ।
मानिस सामाजिक प्राणी भएकाले समाजमा बस्ने क्रममा विभिन्न वादविवाद र झगडाहरू भइरहन्छन्। ‘शत्रु’ कथाका मुख्य पात्र ४५ वर्षीय कृष्ण राय गाउँका सबभन्दा भद्र र शान्त स्वभावका मानिस थिए। गाउँलेमा झगडा पर्दा तिनी नै मध्यस्थ हुन्थे र तिनले गरेको फैसलाले कोही पनि असन्तुष्ट भएको देखिँदैनथ्यो भन्ने उनको सोचाइ थियो। आफूले कसैलाई नबिझाएको र आफ्नो कोही वैरी वा शत्रु नभएकोमा उनलाई ठुलो सन्तोष थियो। तर एक रात उनीमाथि लट्ठी प्रहार भएपछि उनी आफ्नो शत्रु को हुन सक्छ भनेर गम्न थाल्छन्। यसै क्रममा उनले गाउँमा आफू मध्यस्थ भएर मिलाएका झगडाहरूको सम्झना गर्छन्। गोरे जमदार र गोविन्द पण्डितको खेतको झगडामा मध्यस्थ बनेर सम्झाउँदा उनीहरू नमिल्दा करैले गोरे जमदारको पक्षमा न्याय दिनुपरेको र त्यसबाट गोविन्द पण्डित शत्रु बनेको हुन सक्ने उनले महसुस गर्छन्। त्यसैगरी मास्टर र कैयाँको झगडामा न्याय कैयाँको पक्षमा हुँदा मास्टर रिसाएको घटना पनि उनले सम्झन्छन्। झगडामा मध्यस्थ हुनु सबभन्दा निर्दोष काम भए तापनि न्याय सधैँ एउटाको पक्षमा जाने भएकाले हार्ने पक्ष सधैँ असन्तुष्ट र शत्रु बन्ने यथार्थ उनले बिउँझेर ज्ञान आर्जन गर्छन्। त्यसैले जतिसुकै निष्पक्ष भएर फैसला गरे पनि “शत्रु” कथामा भनिए जस्तै मानिसमा रहेको स्वार्थीपन र रिसका कारण मध्यस्थकर्ताले दुवै पक्षको चित्त बुझाउन वा दुवैको समर्थक बन्न सक्दैन भन्ने मनोवैज्ञानिक यथार्थलाई यहाँ चित्रण गरिएको छ।
अतः माथिको कथांशबाट के कुरा पुष्टि हुन्छ भने झगडा मिलाउने काम जतिसुकै पवित्र र निर्दोष भए तापनि मध्यस्थकर्ताले दुवै पक्षको समर्थक हुन सक्दैन र कुनै न कुनै पक्षको शत्रु बन्नैपर्छ भन्ने सत्यता व्यक्त गरिएको छ।
कस्तो अचम्म ! निर्दोष कुरामा पनि निर्दोष साँप जस्तो वैरी बनाउने साधन लुकिरहेको हुन्छ ।
प्रस्तुत कथांश कक्षा १० नेपाली पाठ्यपुस्तकअन्तर्गत ‘शत्रु’ कथाबाट लिइएको हो । शत्रु कथाका लेखक प्रसिद्ध साहित्यकार विश्वेश्वर प्रसाद कोइराला हुन् । कोइराला मनोवैज्ञानिक कथा लेख्ने कथाकार हुन् । ‘शत्रु’ कथाका मुख्य पात्र कृष्ण रायको मनमा उत्पन्न शङ्काको भावलाई यस कथांशमा समेटिएको छ । यस कथांशमा मानिसको जीवन शत्रुरहित हुन नसक्ने र कोही न कोही शत्रु हुने अवस्थालाई प्रस्तुत गरिएको छ ।
मानिस एक सामाजिक प्राणी भएको कारण उसका सम्पूर्ण क्रियाकलाप र गतिविधिहरु समाजमै घटित हुन्छन् । उसले समाजमा विभिन्न कार्यहरु गर्ने क्रममा उसका मित्र र शत्रु दुवै हुन सक्छन् । समाजसेवामा दत्तचित्त भई लाग्नेहरुको त झन् अनेकौँ मित्र र शत्रु हुन सक्छन् । शत्रुता बनाउनु मानिसको चाहना त होइन तर पनि मानिसमा रहेको स्वार्थीपन, ईर्ष्या, डाहा, लोभ, घृणा जस्ता भावनाहरुले मानिसलाई एक आपसमा मिल्न दिँदैन । यो मानिसको मानवीय कमजोरी हो । ‘शत्रु’ कथाका पुरुष पात्र कृष्ण राय समाजसेवी हुन् । उनको विचारमा उनले कसैलाई अन्याय गरेका थिएनन् । तर जब एक रात उनलाई अर्ध निन्द्रामा झटारोले आक्रमण गरिन्छ तब उनको मनमा अनेकौँ तरङ्ग उत्पन्न हुन्छ । उनको मस्तिस्कमा अनेकौँ शङ्का उपशङ्का उत्पन्न हुन्छन । उनी मास्टरदेखि आफ्नै धर्मपुत्रसमेतलाई शङ्का गर्छन् । आफ्नो शत्रु को हुन सक्छ भनी मनमा कुरा खेलाउँदै जाँदा धेरै व्यक्तिहरुप्रति कुनै कारणवश शत्रुताको भावना पैदा भयो होला भनी ठान्छन् । यसरी शङ्काको डोरीमा पिङ खेल्नु उनको कमजोरी होइन बरु मानवीय स्वभाव नै हो । हुन त मानिस आफूलाई निर्दोष ठान्छ र कोही शत्रु हुन सक्दैन भनी दावी गर्छ तर मानिसलाई डाहा गर्ने, रिस गर्ने थुप्रै मानिहरु हुन्छन् । जतिसुकै विवेक लगाएर काम गरेपनि जतिसुकै निष्पक्ष हुने कोसिस गरेपनि आखिर निर्दोष कुरामा पनि शत्रु बनाउने बिउ लुकिरहेको हुँदोरहेछ भन्ने यथार्थ यहाँ चित्रण गरिएको छ ।
अतः माथिको कथांशबाट के कुरा पुष्टि हुन्छ भने मानिसले आफूलाई जतिसुकै निर्दोष र निश्कलङ्क ठाने पनि आखिर कोही न कोही वैरभाव हुने र यसको सिकार हुने सत्यता व्यक्त गरिएको छ ।
प्रश्न १४: कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई ‘शत्रु’ कथाका आधारमा समीक्षा गर्नुहोस् ।
विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचित ‘शत्रु‘ एउटा उत्कृष्ट मनोवैज्ञानिक कथा हो जसमा मानिसको मनभित्र उत्पन्न हुने शङ्का, भय र अन्तर्द्वन्द्वको सूक्ष्म विश्लेषण गरिएको छ । यस कथाका मुख्य पात्र कृष्ण रायको मनमा एउटा अप्रत्याशित घटनापछि उब्जिएका मानसिक उतारचढाव र शङ्काका छालहरूलाई कथाकारले अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।
कथाका मुख्यपात्र कृष्ण राय आफूलाई निकै शान्त, भद्र र ‘आँखामा राखे पनि नबिझाउने’ प्रकृतिको मानिस ठान्छन् । ४५ वर्षको उमेरसम्म आइपुग्दा उनले सानोतिनो पुँजी, यश र सम्मान सबै कमाएका थिए र आफ्नो कोही पनि वैरी वा शत्रु नभएकोमा उनी पूर्ण रूपमा सन्तुष्ट थिए । उनी गाउँमा झैझगडा पर्दा मध्यस्थकर्ताको रूपमा न्याय गर्थे र सबैले उनको सम्मान गर्थे। तर, एक रात सुत्न लाग्दा उनीमाथि अचानक लट्ठी प्रहार हुन्छ, जसले उनको ‘मेरो कोही शत्रु छैन’ भन्ने सन्तुष्टिलाई चकनाचुर पारिदिन्छ । लट्ठी प्रहारलगत्तै कृष्ण रायको मनमा मानसिक उतारचढाव सुरु हुन्छ। सुरुमा त उनलाई आफूमाथि कसैले आक्रमण गरेको हो भन्ने कुरामा विश्वासै लाग्दैन र त्यो घटना तन्द्रा अवस्थाको भ्रम जस्तो लाग्छ । तर, भित्तामा लागेर भाँचिएको लट्ठीको टुक्रा देखेपछि उनी यथार्थमा फर्कन्छन् र “को मेरो शत्रु हुन सक्छ?” भनी गम्न थाल्छन् । यो नै उनको मानसिक अशान्तिको प्रस्थान बिन्दु हो । त्यसपछि उनको मस्तिस्कमा शङ्काका शृङ्खलाहरू सुरु हुन्छन् । सबैभन्दा पहिले उनी आफ्नै पुरानो नोकर रामेमाथि शङ्का गर्छन्, जसलाई उनले त्यही बिहान काम बिगार्दा हप्काएका थिए र उसको अनुहार रिसले रातो भएको देखेका थिए । तर यत्रो पुरानो नोकरले सानो हप्काइमा मार्नै नखोज्नुपर्ने भन्दै उनी बलभद्रतर्फ शङ्कालु हुन्छन् । बलभद्रलाई उनले हिसाब गोलमाल गर्दा फेला पारेर लज्जित बनाएका थिए । त्यसपछि उनको मन नोकरी खोज्न आएको तर आफूले उपदेश र अप्रिय शब्द भनेर पठाएको स्वाभिमानी युवकतर्फ मोडिन्छ । यसै क्रममा कृष्ण रायले आफूलाई अकलुषित र दुर्गुणरहित ठान्ने आफ्नो मान्यताविपरीत ‘समय असमयमा अर्कालाई नाहक आदेश र सल्लाह दिइरहने’ आफ्नै ठुलो दोषको पहिचान गर्छन् ।
मानसिक उतारचढावकै क्रममा, हिजोसम्म आफूले गर्व गर्ने गरेको ‘मध्यस्थकर्ता’को भूमिकालाई उनले अर्कै दृष्टिकोणले हेर्न थाल्छन् । गोरे जमदार र गोविन्द पण्डितको झगडामा गोरेको पक्षमा न्याय दिँदा गोविन्द पण्डित शत्रु बनेको, र मास्टर तथा कैयाँको झगडामा कैयाँको पक्ष लिँदा मास्टर रिसाएको घटनाले उनलाई झस्काउँछ। मध्यस्थकर्ताले दुवै पक्षलाई खुसी पार्न नसक्ने र एउटा न एउटाको शत्रु हुनैपर्ने यथार्थ ज्ञान उनले बल्ल आर्जन गर्छन् । अन्ततः उनको यो शङ्का र मानसिक उतारचढावले चरम रूप लिन्छ। रेलको डब्बामा झगडा भएको मान्छे, हाटमा धक्का खाएको मान्छे, निकालिएका नोकरहरू, डाह गर्ने दाजुभाइदेखि लिएर आफ्नै पोष्य पुत्र (धर्मपुत्र) माथि समेत उनी भरोसा गर्न छोड्छन्। निर्दोष कुरामा पनि विषालु साँप जस्तै वैरी बनाउने साधन लुकेको हुने रहेछ र दुनियाँमा कोही पनि मित्र हुँदैनन् भन्ने निराशाजनक निष्कर्षमा उनी पुग्छन्। भोलिपल्ट पुलिस इन्स्पेक्टरले शङ्कास्पद व्यक्तिबारे सोध्दा उनी गाउँका धेरैजसो मानिसहरू (रामे, केदार, युवक, गोविन्द पण्डित, कन्हैया, मास्टर, बुधे, लीला, पुष्पराज, रामचन्द्र पराजुली) को नाम एकै सासमा लिन्छन् ।
निष्कर्षमा भन्नुपर्दा, कृष्ण रायको मनमा उब्जिएको यो मानसिक उतारचढावले मानिसको मन कति छिटो शान्त अवस्थाबाट चरम शङ्का र अविश्वासको भुमरीमा फस्न सक्छ भन्ने देखाउँछ। एउटा सामान्य लट्ठी प्रहारले ‘अजातशत्रु’ ठान्ने मानिसलाई ‘सबै मेरा शत्रु हुन्’ भन्ने मानसिक अवस्थामा पुऱ्याउनु नै यस कथाको प्रमुख मनोवैज्ञानिक पक्ष हो ।
