घरझगडा कथा पाठ पढ्नुहोस् ।
पाठ २: घरझगडा
लेखक: बदरीनाथ भट्टराई
बडो मुस्किलसँग नजरबन्दबाट छुटेपछि लामो सास फेरेर राजेन्द्रलक्ष्मीले भनिन्, “दयाको फल मैले पाएँ । कुपात्रमा परेको अमृत पनि विष बन्दोरहेछ । देवर भनेर यी बहादुर शाहलाई मैले हुनेसम्म गरेकी हुँ । घरमा पनि यी बाघ बने, अस्मानमा पुऱ्याउँदा पनि बाजको रूप लिए । अब पातालमा पुऱ्याउँदा क्या हुने हुन्, हेरौं । नाग बनेर आए पनि यिनीसँग म डराउन्नँ । यिनको विष शमन गर्ने वैद्यहरूको सहायता नपाएकी भए अहिले पनि म उम्कन सक्ने थिइनँ । मेरो व्यक्तित्वको प्रभावमा आकर्षित भएका र न्यायका बाटामा हिँड्ने भारदारहरू जति भने पनि छन् । यस्तोमा हरेस खानु कमजोरी हो । शङ्काको डोरीमा पिङ खेल्नु नादानी हो, जुम्सो बन्नु बेकुफी हो ।”
खास आफ्नो बच्चामाथि अरूले जाइलाग्न लागेको देखेपछि कुन चाहिँ सिंहिनी कानमा तेल हालेर बस्ली ? यदि बसी भने पनि साराले उसलाई थुकिदिनेछन् । मेरो उही हालत हो । अरू तो के, समझदार भएपछि यही छोरो रणबहादुर शाहले पनि के भन्ला ! उसैले यसको बचाउका निमित्त आगामा कुद्नु र पानीमा हामफाल्नु परे पनि तयार छु । मेरो धन, जन, तन, मन अर्थात् जे भने पनि सर्वस्व नै यही एउटा छोरो हो । यदि पुत्रस्नेहलाई सजीव तुल्याउन सकिनँ भने मातृत्वलाई पनि तिलाञ्जली दिए हुन्छ । हुन त तीन वर्षअगाडि नै मुर्कट्टा बनिसकेकी छु । त्यस बखतमा सती गइनँ भनेर कतिले कुरा काटे, कतिले थुरे, कतिले षड्यन्त्रमा फसाउनसमेत खोजे तर सन्तान र देशका लागि क्षमा र स्थिरताको अवतार बनेर आफ्नो आदर्शलाई कार्यरूपमा ढालें । हो, त्यो वेलामा बेतियाबाट आएर यिनले मदत दिएका हुन् तर यसरी शासन नै हत्याउन आँट गर्ने यिनको कालो मनलाई आँसुको पर्दाले छोपिएको हुँदा मैले देख्न सकिनँ । खास दाजुमाथि समेत दलजित शाहसँग मिलेर जाल बुन्न सक्ने यिनले नाबालक भतिजमाथि पुत्रस्नेह राख्लान् भनी आशाको पासामा फस्ने म कस्ती ग्वाँग्री ! त्यही अपराधमा न हो यिनलाई मातृभूमिले गलहत्ती दिएको । हुन त विष संशोधन गरेपछि रसायन बन्छ भन्ने प्रयत्न गरेकी हुँ । त्यो माटामा मिल्यो अनि केही सिप नलागेर यिनलाई नजरबन्द गराइदिएँ ।
बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो भन्ने वाक्यको ठुलो टीकाटिप्पणीसमेत गुरु गजराज मिश्रले गर्नुभएपछि मेरो मनले पनि त्यसमा पुस्ट्याइँ गर्यो । यता चौबिसीहरूले सङ्गठन गर्न थालेको गुप्ती खबर सुनियो । हुँदाहुँदै पाल्पा, पर्वत र तनहुँको सङ्गठनको बल्दो अग्निमा हाम्रा सरदार बलि बानियाँ र केही फौजले समेत देशका निमित्त बलिदान दिएको कुरा हुरी बनेर आयो । चितवनको रक्षाका निम्ति बसेका रामकृष्ण कुँवर केही फौज लिई तनहुँतिर गएको खबरले केही आश्वासन दियो । त्यसपछि मानवता र परिस्थितिको समेत ख्याल राखी यी देवरलाई नुवाकोटबाट छुटाई यहाँ ल्याएर भनें, “राजकुमार, यसरी हामीले आगो पानी बन्नु ठिक होइन । आपसी फुट नै जातिको पतनका चिह्न हो । यसले गर्दा व्यक्ति र समाजलाई मात्र होइन किन्तु देशलाई पनि गहिरो चोट लाग्ला जस्तो देखिन्छ । यदि ससुराज्यूबाट उठाइबक्सेको एकताको र राष्ट्रियताको जगमा मन्दिर खडा गर्न सकेनौं भने हामीले बाँच्नु मर्नु हो । त्यसैले अब अतीतका सारा विरोधी विचारलाई बिर्सेर खालि देशभक्तिको सोझो बाटो लागौँ ।”
त्यो वेला एकछिन वाल्ल परेर बहादुर शाहले भने, “मेरो पनि त्यही विचार हो । आमा समानकी हजुरलाई पूजा गरेर जन्मभूमितलाई शिरमा राखी सिँगार्दै उन्नत शिखरमा पुऱ्याउने नै मेरो मनसाय हो । यदि योबाहेक कुनै कुभावना लिएको मात्र रहेछु भने पनि हजुर हत्या गरेको पाप मलाई लागोस्, तर के गरूँ ? कनसुत्ला जस्ता कुरौटेले नै हाम्रो वैमनस्य बढाइदिएका हुन् । उनीहरू तिललाई पहाड बनाइदिन्छन् त्यसैले थिचिएका हुँदा घाममा बसेर धोइफोइ हामी गर्दैनौँ अनि त्यही नै विस्फोट बनेर निस्कन्छ ।”
काँडा झरेको गुलाफको बोट भए होलान् भन्ने आशा गरेकी थिएँ तर झन् फूल झरेर काँडा मात्र बाँकी रहेका बनेर आएछन् । बालुवाले तिललाई पनि बालुवा नै सम्झन्छ भने झै उनका आँखामा म बिझाउन थालें । मैले बर्साएका अमृतका कण कणमा उनले विष देख्न थाले, दिएको चिनीलाई गेगर सम्झे, पथ्य वचनले पनि तिखो वाणको रूप लियो । उसैले घातप्रतिघात चल्दै गयाे । अन्त्यमा उनले बुनेको जालमा म पो परें । थुनुवा कैदी जस्तो भएर बस्नुपर्दा खसमले त्यागेकालाई घरभित्र हुलेको पापको फल हो भनी चित्त बुझाएँ । भोजमाथि काका मुञ्जले गरेको दानवी व्यवहारको कथा सम्कँदा मेरो मनमा झन् झन् औडाहा छुट्यो । छोराको रक्षाका लागि गहन किल्ला फोरेर मैदानमा उत्रिरहेकी छु । हुन त तरबारको धारमा हिँड्दा मलाई निकै कष्ट होला तर व्याधाले खेदिएकी बघिनी जस्तोसुकै दुःसाहसमा पनि पछि हट्दिनँ तर बाहिरी शत्रुलाई नदबाई घरमा रडाको मच्चाउनु ठिक होइन । उसैले घनघोर जङ्गलमा एक्लै छोडिदिने लक्ष्मणसँग पछि सीताले गरेको व्यवहारलाई फेरि दोहऱ्याऊँ कि अथवा अर्कै बाटो लिऊँ ।
राजेन्द्रलक्ष्मीले बहादुर शाहलाई डाकेर भनिन्, “क्या हो राजकुमार, मिलेर काम गर्छु भनी शपथ गरेको कहाँ गयो ? नायबीमा राल काढेर सोझी भाउज्यूलाई छक्याउनु के राजनीति हो ? शाही कुलमा ऐरेलु बन्नुहुन्छ भने तितो अनुभव आफैँ भोग्नुहोला । सुतेकी सिंहको टाउकामा टेक्नु के बुद्धिमानी हो । कमलपित्त भएको दृष्टिले आइमाई भनेर तपाईंले हेप्नुभएको होला तर यो तपाईंको भुल हो । डोरीले हात्तीलाई हलचल गर्न दिँदैन भन्ने तपाईंलाई थाहा छैन ? कम्मर कस्यौं भने छहरा, पहरा, ढाल, तरबार अनि हिउँ र ज्वाला पनि बन्न सक्छौँ । आँधी भएर उडाउन सक्छौँ अनि व्याधि भएर पछार्न पनि, नागिनी बनेर पातालमा पस्न सक्छौं अनि गरुडनी भएर आकाशमा उड्न पनि । शक्ति नभएका भए महाकाली, महालक्ष्मी र महासरस्वतीलाई कसैले पुज्ने थिएनन् । खेलौना सम्झी आगो खेलाउनेको कुन गति हुन्छ आफैँ विचार गर्नुहोस् ।”
एकछिन वाल्ल परेर बहादुर शाहले भने, “खुब विचार गरिरहेको छु । खास जननीकै रूपमा नारी जातिलाई पाएको हुँ । नारी सिर्जना र शक्तिको अवतार हो भन्ने खुद मलाई थाहा छ । के गरूँ उज्यालाका निम्ति बालेको बत्तीले आगलागी हुने सम्भावना देखिएपछि देश बचाउनका लागि उपचार गर्नैपर्ने रहेछ । व्यक्तिगत विरोधलाई अँगालेर यसो गरेको होइन । मुमाको मूर्ति सम्झेर हजुरमाथि मेरो पूरा श्रद्धा छ । हाम्रो आपसी घात प्रतिघातले मातृभूमिको अँध्यारो भविष्य देखापर्दा बाध्य भएर नै यो काम मैले गरेको हुँ । वास्तवमा नायबी सिनोको निम्ति मरिमेट्ने गिद्ध म होइन । यदि छोड्दे भन्ने हुकुम हुन्छ भने अहिले नै तयार छु ।”
बहादुर शाह बेतिया पुगेको खबर राजेन्द्रलक्ष्मीको कानमा कनसुत्लो पसे जस्तै भयो । एकछिन अल्तालिएर उनले विचार गरिन् । अब तेल हालेर बस्ने वेला छैन । बरु कसरी कुन चाहिँ ओखतीका प्रयोग गर्ने हो ? कुन जाल रच्नलाई उनी गएका हुन् त्यो पनि त पत्तो छैन । यदि हुरी भएर आए भने धेरै भारदार पतिङ्गर बनेर उनलाई पछ्याउने छन् । यदि आएनन् भने पनि आफ्नो हातको ढाल तरबार मैले गुमाएँ । कदरका साथ राख्नुपर्ने हिरालाई हुत्याउनेको चहक बढ्न सक्दैन । सदुपयोग गर्न नजान्नु ठुलो भुल हो । अहिले ठिक ठाउँमा राखेर तेल बेसार घसिएका वचनले लडाइँका खटाइदिएको भए धेरै बेस हुन्थ्यो । उनी बाहिर सभा समाल्थे, म भित्र मिलाउँथें । वास्तवमा देवर खराब होइनन् । यदि यिनले मानवताको साँध नाघेको भए उहिले नै सती जानुपर्ने भासमा फसाइदिन्थे । त्यो वेला यिनले सहायता नदिएको भए मेरो के दैया चल्थ्यो ? अर्कै पासामा पार्न पनि सक्थे, सधैं गुन लाउन कल्ले सक्छ र ? तर जताको जित होला जस्तो देखिन्छ उतैतिर गएर चोचोमोचो मिलाउने यी चमेराले नै भँड़्खारो पारेका हुन् । स्वार्थसिद्धिका लागि उनीहरूले रचेको षड्यन्त्रको भेउ पाउन सकेको भए यसरी निःसहाय हुनुपर्ने थिएन । अब झन् फुकी फुकी मैले पाइला चलाउनुपर्छ । घरझगडाको बिउ निभाउन खोज्ने मैले झन् राँको सल्काएँ, मनमा पाकेको जौतिललाई डढेलो बनाइदिएँ, वेदनाको एक धारालाई समुद्र तुल्याइदिएँ । उता पर्वत, लमजुङ, तनहुँ मिलेर गोरखामा हमला गर्न लागेको खबर आइरहेछ । पाल्पा पनि आफ्नो हात नपारिभएको छैन । पूर्वतिर पनि उस्तै हालत छ । अब गर्ने के ?
शब्दार्थ:
- अस्मान : धेरै माथिको ठाउँ, आकाश
- शमन : शान्त पार्ने काम, शान्ति
- नादानी : समझदारी वा होस नभएको काम, मूर्ख्याइँ
- तिलाञ्जली : त्याग गर्नु
- मुर्कट्टा : शिर नभएको
- रसायन : एक धातुलाई गालेर अर्को वस्तुमा बदल्ने विज्ञान
- नजरबन्द : कुनै निश्चित ठाउँबाट बाहिर निस्कन नपाउने गरी नियन्त्रणमा राखिएको अवस्था
- गुप्ती : गोप्य रूपमा जानकारी पत्ता लगाउने, गुप्तचर
- पतन : उन्नति, वैभव, पद, मर्यादा आदिबाट तल झरेको अवस्था, अवनति
- मनसाय : अभिप्राय
- वैमनस्य : शत्रुता, दुस्मनी
- गेगर : मसिना ढुङ्गा वा खस्रो बालुवाका कण
- पथ्य : खानयोग्य हलुका किसिमको खाना
- खसम : पति, श्रीमान्
- औडाहा : चिन्ता, व्यथा आदिबाट मनमा हुने जलन, छटपटी
- व्याधा : सिकारी
- ऐरेलु : जङ्गलमा पाइने तितो स्वाद भएको काँक्रो आकारको फल
- कमलपित्त : कलेजोमा हुने एक प्रकारको घातक रोग, जन्डिस
- खुद : वास्तविक, खास
- श्रद्धा : मान्यजनप्रतिको आस्था, विश्वास, भक्तिभाव
- पतिङ्गर : भुइँमा झरेका पात
- चहक : प्रकाश, कान्ति
- साँध : सिमाना, सीमा
- भास : भासिने वा गाडिने खालको हिलो वा फुको ठाउँ
- दैया : पैतृक सम्पत्ति आदिका निमित्त सम्बन्धित व्यक्तिमा रहेको हक वा अधिकार, दाबी
- हमला : आक्रमण, युद्ध
